२०२९ कात्तिक २९ गते आयोजित मदन पुरस्कार वितरण समारोहमा ‘कर्णाली लोक संस्कृति’का लागि पाँच जना रचयिताहरूलाई संयुक्त रुपमा प्रदान गरिएको ‘मदन पुरस्कार’ ग्रहण गरेपश्चात् अन्य चार सहकर्मीहरूका तर्फबाट समेत सत्यमोहन जोशीले राखेकाे मन्तव्यः
नेपाली भाषा साहित्यको विकास एवं उन्नति गर्ने उद्देश्यले स्थापना भएको ‘मदन पुरस्कार गुठी’ को यो ऐतिहासिक बैठकमा आज समेत गरी तीनपल्ट यसरी उभिएर मदन पुरस्कार थाप्न पाउनु मेरो निमित्त जीवनमा एक महत्त्वपूर्ण कुरो भएको छ। मैले सर्वप्रथम साहित्यतर्फ ‘हाम्रो लोक संस्कृति’ नामक ग्रन्थमा २०१३ सालको मदन पुरस्कार पाएको थिएँ, त्यसपछि दोस्रो पल्ट सामाजशास्त्रतर्फ ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थमा २०१७ सालको र आज तेस्रो दर्शन-विज्ञान तर्फ ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थमा २०२८ सालको।
बरु, मैले पहिले दुई चोटी पाएका पुरस्कार र आज पाएको यो पुरस्कारमा केही अन्तर छ। किनभने, पहिलेका दुई पुरस्कार पाउँदा आफ्ना पुरस्कृत ग्रन्थहरूमा म एक्लो थिएँ। तर आजको यो पुरस्कृत ग्रन्थमा भने म आफ्ना चारजना सहकर्मी मित्रहरू स्थिरजङ्गबहादुर सिंह, विहारीकृष्ण श्रेष्ठ, प्रा. चुडामणि बन्धु र प्रदीप रिमालका साथमा सम्मिलित भएको छु। अनि आजको यो पुरस्कार संयुक्त प्रयासमा संयुक्त रुपले काम गरी एकै विषयअन्तर्गतको संयुक्त कृति ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थमा पाएको छु।
आजको यस समारोहमा एउटा कुरो विशेष उल्लेख गर्न चाहन्छु । २०२६ साल मार्गमा साहित्यानुरागी कविराजा स्वर्गीय श्री ५ महेन्द्रको असीम अनुकम्पाबाट नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा काम गर्ने सौभाग्य पाएँ । त्यसवेला प्रज्ञा-प्रतिष्ठानको पञ्चवर्षीय योजनाअन्तर्गत ‘लोक संस्कृति सर्वेक्षण’को एक परियोजना पनि थियो। पछि, त्यही परियोजनाभित्र ‘लोक संस्कृति सर्वेक्षण’ को एक कार्यक्रम बन्यो।
अनि नेपाली भाषा उद्गमस्थल मानिएको कर्णाली अञ्चलको सिँजाखोला उपत्यकामा ‘लोक संस्कृति सर्वेक्षण’ को एक कार्यक्रम बन्यो। अनि नेपाली भाषा उद्गमस्थल मानिएको कर्णाली अञ्चलको सिँजाखोला उपत्यकामा ‘लोक संस्कृति सर्वेक्षण’ गर्ने निधो भयो। यस काममा अन्य संस्थाहरूबाट पनि सम्बन्धित विषयका ज्ञाता एवं विशेषज्ञहरूलाई सरिक गरी, मिलीजुली काम गर्ने नीति बन्यो।
यसअनुसार श्री ५ को सरकार, गृह पञ्चायत मन्त्रालय, अनुसन्धान शाखाबाट एक जना नेतृत्व शास्त्री, राष्ट्रिय आयोगबाट एक जना मानव भूगोल विशेषज्ञ, अनि त्रिभुवन विश्वविद्यालयबाट एक जना भाषाशास्त्रीको समेत सेवा उपलब्ध गरी त्यसमा प्रज्ञा-प्रतिष्ठानका दुई जना लोक संस्कृति सम्बन्धी कार्यकर्ता थपी पाँच जनाको एक लोक संस्कृति सर्वेक्षण टोली बन्यो। राजकीय प्रज्ञा-प्रतिष्ठानको तत्वावधानमा त्यसको नेतृत्व गर्ने सौभाग्य मैले नै पाएँ।
दुर्गम क्षेत्र कहलिएको कर्णाली अञ्चलको सिँजाखोला उपत्यकामा हामीले आफ्नो कार्यदल-भावनामा योजनाबद्ध पद्धतिले काम थाल्यौं। सर्वेक्षण कालमा अनेक बाधा कठिनाइहरू पनि आइपरे। तर हामीहरूको सामूहिक कार्य-लगनशीलताको अगाडि ती सब नगण्य भए।
हामीले आफ्ना काम लक्ष्य मुताबिक तोकिएको समयभित्र सिध्यायौं। बरु सिंजाखोलाको काम समाप्त गरी काठमाडौंमा फर्केपछि चाहिं हामीहरूलाई त्यहाँको अन्वेषण र अनुसन्धानको कार्य समाप्त गर्नमा झण्डै एक वर्ष लाग्यो।
आखिर हामीले ‘कर्णाली लोक संस्कृति’ नामले पहिलो खण्डमा संस्कृतिको ऐतिहासिक पृष्ठभूमि, दोस्रो खण्डमा संस्कृतिमा परेका भौगोलिक प्रभाव, तेस्रो खण्डमा सामाजिक आर्थिक जनजीवनमा टाँसिएका सांस्कृतिक मान्यताहरू, चौथो खण्डमा सांस्कृतिक जनजीवनमा भाषाको भूमिका र पाँचौ खण्डमा लोकगीत, लोकसङ्गीत, लोकनृत्व र लोककथा, लोक चाड पर्व आदि विषयमा सचित्र पाण्डुलिपिहरू तयार गरी कर्णाली लोक संस्कृतिलाई पाँच खण्डमा सम्पूर्ण पार्यौं।
पछि ती पुस्तकहरू प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित भए। अनि ती पुस्तकहरूको नाम सम्पूर्णमा ‘कर्णाली लोक संस्कृति’ भए पनि, वास्तवमा त्यो नेपाली संस्कृतिकै रुपरेखा तथा एक परिचयात्मक ज्वलन्त उदाहरण भएको छ। किनभने मेचीदेखि महाकालीभित्रका हाम्रा लोकसंस्कृतिका निधिहरू नेपाली मात्रको साझा श्रीसम्पत्ति हुन्।।
आजको यो रमाइलो समारोहमा दुर्गम क्षेत्र कहलिएको कर्णाली अञ्चलको सिँजाखोला उपत्यकामा बसोबास गर्ने र गरिरहेका जनताको झलझली सम्झना गर्नु पनि युक्तिसङ्गत हुनेछ, किनभने तिनीहरूले नै त्यहाँ वरिपरिका डाँडा-काँडा, लेक-पाटन, वन-जङगल, खोला-नाल, बगर फाँटका सेरोफेरोमा परम्परागत रुपमा लोक सांस्कृतिको सिर्जना र जगेर्ना गरेका छन्।
अनि हामीहरू आजको यो सदा स्मरणीय समारोहमा स्वर्गीय ले.ज. मदनशमशेर जबराको स्मृतिमा स्थापना गरिएको मदन पुरस्कार गुठीप्रति विशेष अभार व्यक्त गर्दछौं। गुठीले नेपाली भाषामा उच्चकोटीका ग्रन्थहरूको सिर्जनाद्वारा भाषा-भण्डार बढाउन लेखकवर्गलाई अविरल प्रेरणा र प्रोत्साहन दिइआएको छ। त्यसै लहरमा, हामीले लेखेका यी कृतिहरूको यसरी कदर गरी पुरस्कार प्रदान गरेकोमा हामी गुठीप्रति चिरकृतज्ञ भएका छौं।
अन्त्यमा, म मेरा चार जना सहकर्मी साथीहरूको तर्फबाट पनि सम्माननीया रानीसाहेक, गुठीका माननीय सदस्यहरू र उपस्थित सबै सज्जनवर्गमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। धन्यवाद।
‘नेपाली’ त्रैमासिक, अङ्क ५४३ बाट साभार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।