
बेन कोहेन
वर्षमा एउटा यस्तो समय आउँछ, जुन बेला आफ्नो काममा जिनियस कहलिएकाहरूको मुटुको ढुकढुकी बढ्छ । कुनै नचिनेको नम्बरबाट फोन आउला र फ्याट्ट नसोचेको कुरा‑ नोबेल पुरस्कार पाउनु भएकामा बधाई भनिदेला भन्ने तनाव हुन्छ ।
कुनै पनि व्यापारमा चुलीमा पुगेको व्यक्ति र विज्ञान जगत्का प्रख्यात व्यक्तित्वमा प्रायः समानता भेटिन्छ । उनीहरू त्यहाँ पुग्नुमा उनीहरूको प्रतिभाको ठूलो भूमिका छ । तर प्रतिभाले मात्र उनीहरू त्यहाँ पुग्न सम्भव हुँदैन । उनीहरू भाग्यशाली पनि हुनुपर्छ ।

बेन कोहेन
सन् १९९१ यता एउटा अनौठो पुरस्कार दिइन्छ भन्ने तपाईंलाई थाहा नहुन सक्छ । त्यो पुरस्कारको नाउँ हो, इग नोबेल पुरस्कार । यो पुरस्कार त्यस्ता व्यक्तिलाई दिइन्छ, जसले विज्ञान जगत्मा अनौठो उपलब्धि हासिल गरेको होस् । त्यो रोचक पनि होस्, केही हास्य पनि उपलब्ध गराओस् ।
जस्तो कि त्यो वर्षको साहित्यमा पुरस्कार एरिक भोन डनिकेनले पाएका थिए । उनको च्यारियट्स अफ द गड्सले प्राचीन सभ्यताबाट अहिलेसम्म आइपुग्न भगवान्ले खेलेको भूमिकालाई सप्रमाण पेश गरेका थिए । सो पुस्तक सन् १९६८ मा प्रकाशित भएयता कयौँ डकुमेन्ट्री, फिल्म तथा पुस्तकहरूको प्रेरणा रहिसकेको छ ।
यस वर्ष चाहिँ साहित्यतर्फ तीन जनालाई यो पुरस्कार दिइएको छ । एरिक मार्टिनेज, फ्रान्सिस मोलिका र एडवार्ड गिब्सनले कानुनी डकुमेन्टहरू के कारणले बुझ्न अप्ठेरो पारिन्छ वा बनाइन्छ वा के कारणले त्यस्तो हुन्छ भनी एउटा अध्ययन गरेका थिए । सो अध्ययन प्रतिवेदनका लागि यस वर्ष उनीहरूलाई इग नोबेल साहित्य दिइएको थियो ।
यी दुवै उदाहरण सुन्दा तपाईंलाई शुरूमा पक्कै हाँसो उठ्यो होला । त्यसपछि तपाईंले पक्कै केहीबेर सोच्नु भयो होला, यो त नयाँ कुरा, नयाँ कोणबाट सोचिएको हो भन्ने लाग्ला । र, हास्नै पर्ने कुरा त होइन भन्ने महसुस पनि भयो होला ।
यस वर्षको इग नोबेल अर्थशास्त्रतर्फ यस्तो विषयलाई दिइएको छ, जुन कुरा तपाईंले पढिरहनु भएको छ । विषय छ, गज्जबले सफल भएका व्यक्तिहरू उनीहरूको मिहिनेतले होइन, भाग्यका कारण पनि सफल भएका हुन् भन्ने अध्ययन गरिएको थियो । उनीहरू ज्यादै प्रतिभाशाली होइन, उनीहरू सिर्जनशील पनि थिएनन् अथवा सधैँ उनीहरू ऊर्जावान् पनि होइनन् भन्ने निष्कर्ष निकालिएको र यसका पछाडि सबैभन्दा ठूलो कारण चाहिँ भाग्य नै हो भनिएको थियो ।
भाग्य सबैभन्दा मूल्यवान् शक्ति हो तर यही कुरालाई समाजले कम आँक्ने गर्छ । वरिपरि एउटा ज्यादै सफल व्यापार हेर्नुस् । त्यसका लागि तपाईंले त्यति धेरै मिहिनेत पनि गरिरहनु पर्दैन ।
वारेन बफेले प्रायः सधैँ आफू भाग्यमानी भएको कुरा भन्न बिर्सदैनन् । इलन मस्कले त कयौँ पटक ट्विटरमा भाग्य नै सबैभन्दा ठूलो सुपरपावर भएको बताउने गरेका छन् । उनीहरूले कहिल्यै बिजनेस फिलोसफीका बारेमा ठूला कुरा गरेको पाउनु हुन्न । भलै, अरूले उनीहरूको सफलतामाथि फिलोसफी लेख्ने गर्छन् । भाग्यले नै उनीहरूको करियर बनाएको र बिगारेकोमा उनीहरू विश्वस्त देखिन्छन् ।
प्रतिभाले कसरी भाग्यसँग प्रतिक्रिया जनायो भन्ने मियो नै सफलता हो ।
भाग्य चम्कियो भने तपाईं काममा सधैँ अगाडि हुनुहुन्छ र त्यतिबेला मात्र तपाईंले नसोचेको सफलता हात पार्नुहुन्छ । यदि यो तपाईंसम्म आइपुग्यो भने सफल हुनुहुन्छ, आएन भने तपाईंको करियर सकिन्छ ।
सन् २०१८ मा सिसिलीस्थित क्याटानिया विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. बियान्डो (अर्थशास्त्री) र उनको टोली डा. रेपिसर्डा र डा. प्लुचिनो (दुवै फिजिसिस्ट)ले एउटा कम्प्युटर प्रोग्रामिङ गरे । सो प्रोग्रामिङको उद्देश्य कसरी प्रतिभा र भाग्य एकअर्कासँग गाँसिएको हुन्छ भनी अध्ययन गर्नु थियो । उनीहरूले हावामा एउटा व्यक्तिसमूह उभ्याए, जसको प्रतिभा फरक फरक थियो । ती सबैको प्रतिभा घण्टी आकारको कर्भ बनाएका थिए, जसले हरियो थोप्लो र रातो थोप्लो राखिएको थियो । हरियो, भाग्यको र रातो दुर्भाग्यको । प्रत्येक सफलतामा रातो थोप्लो आधामा घट्थ्यो र हरियो दोब्बर हुन्थ्यो । जति प्रतिभाशाली व्यक्ति भयो, उसले उति नै बढी अवसर पाउँथ्यो र त्यसले भाग्यलाई जनाउँथ्यो ।
उनीहरूको यो प्रयोगले देखाउँथ्यो, गज्जबको प्रतिभा र सामान्य भाग्यभन्दा सामान्य प्रतिभा तर गज्जबको भाग्यले मान्छे बढी सफल हुन्छ । यो प्रयोगले ठीकैको प्रतिभा र उम्दा भाग्य भएको व्यक्ति जिन्दगीमा सबैभन्दा बढी सफल हुने देखाएको थियो ।
मेरिटोक्रेसी अर्थात् गुणवत्तामा आधारित जागिरले जहिले पनि प्रतिभाशालीलाई अगाडि ल्याउँछ भन्नु वास्तवमा वाहियात तर्क हो । भाग्यशालीले नै सफलता हात पार्छ । मिहिनेत र प्रतिभा बराबरी भएका व्यक्तिबीच प्रतिस्पर्धा गर्ने हो भने भाग्यशाली व्यक्तिले त्यो प्रतियोगिता जित्छ, कम भाग्यशालीले हार्छ ।
र, यही कुरा मान्न र सबैका सामु बोल्न हरकोही हिच्किच्याउँछ । यदि तपाईं ज्यादै सफल व्यक्ति हुनुहुन्छ भने कुन सन्दर्भमा भन्ने कुरा बढी महत्वको भएर आउँछ । उसो भए त्यो सन्दर्भलाई यताउति गरेर बढाईचढाई गर्न सकिएला त ? त्यस सन्दर्भमा डा. बियान्डोको अध्ययन सान्दर्भिक देखिन्छ ।
अनियमिततामा फाइदा उठाउने एउटै मात्र काइदा छ, त्यसलाई अँगाल्नु । मानौँ, तपाईं प्रतिभामाथि जुवा खेल्ने व्यापारमा हुनुहुन्छ भने तपाईंले आफ्नो लगानीलाई बढीभन्दा बढी व्यक्तिमाथि दाउ लगाउनु हुन्छ । यस्तोमा कोही न कोही भाग्यशाली निस्कन्छन् तर दुःखको कुरा, यस्तो भाग्य पहिल्यै पत्ता लगाउन गाह्रो हुन्छ ।
केही सफल व्यक्तिहरूका अनुसार, सफल हुनका लागि तीन वटा कुरा प्रमुख हुन्छन् । आफूलाई तयार गर्ने (लायक बनाउने), सफलताको खोजी गर्ने र प्राप्त सफलतालाई बढीभन्दा बढी निचोर्ने अर्थात् त्यसलाई बढीभन्दा बढी उपयोग गर्ने । एक्सपोज, एक्स्प्लोर र एक्स्प्लोइट ।
धेरैभन्दा धेरै कुरामा प्रयास गरिरहने । आफूलाई के मन पर्छ, त्यसलाई चेपिरहने, आफू जुन कुरामा उम्दा छु भन्ने लाग्छ, त्यसैमा मरिहत्ते गर्ने । त्यसपछि तपाईंको प्रतिभालाई त्यसैमा केन्द्रित गरेर अघि बढ्ने । यस्तोमा भाग्य दह्रो छ भने तपाईंअनुसार संसार अघि बढ्छ ।
यस पटकको नोबेल विजेता भान्ते पाबोलाई चिन्नुहुन्छ ? उनले यस पटक फिजियोलजी (औषधविज्ञान)मा पुरस्कार जितेका थिए । उनले मानव उत्विकास (ह्युमन इभोल्युसन)मा भूमिका खेल्ने जिन सिक्वेन्सिङमा काम गरेका थिए । उनले नियान्डरथल प्रजातिको जिनोमलाई क्रमबद्धता गरेका थिए । उनले ती प्रजातिको डिएनए हाडको टुक्रामा रहेको जीवाष्मबाट निकालेका थिए । यसो गर्न उनको बौद्धिक प्रतिभाले मात्र सम्भव थिएन । उनले सो कुरा पत्ता लगाउन त्यो निश्चित गुफामा पुगेका थिए, र, उनी नै किन पुगे, अरू किन पुगेनन् ? यो एउटा गम्भीर प्रश्न उठ्छ । र, यसैमा उनले आफ्नो नियन्त्रण थिएन भनी स्वीकारेका छन् ।
उनले भनेका थिए, यस्ता दुर्लभ कुरा पत्ता लगाउन पनि तपाईं भाग्यमानी हुनुपर्छ ।
यही कुरा सन् १९७० मा लरेन्स जे. पिटर र उनका साथी रेमन्ड हलले द पिटर प्रिन्सिपल नामक पुस्तकमा हरेक व्यक्ति आफ्नो असमर्थताको तहसम्म माथि पुग्ने र त्यसपछि खस्ने उल्लेख गरेका थिए । यो एउटा नियमित आकस्मिकताझैँ हुने गर्छ । यसलाई धेरैले बिजनेस म्यानेज्मेन्टमा एउटा गज्जबको मन्त्रझैँ पढ्ने गर्छन् ।
उसो भए खस्ने तहसम्म माथि पुग्नेहरूको सन्दर्भमा के उपचार गर्न सकिन्छ त भन्ने प्रश्नमा सन् २००९ मा डा. प्लुचिनो र रेपिसार्डाले नयाँ उपाय अपनाए । जसलाई सामान्यतः रेन्डम प्रोमोसन भनियो । यही कारणले उनीहरूले सन् २००९ मा इग नोबल पुरस्कार हात पारेका थिए ।
एउटा सफल ब्रेकपछि भिन्दाभिन्दै भूमिकाका मानिसलाई ल्याएर ठाउँमा बसाल्ने । यसो गर्दा असमर्थताको तहमा पुगेको कुनै व्यक्ति पछि अर्को व्यक्तिको नियुक्तिसँगै त्यहाँबाट माथि लैजाने सम्भावना रहन्छ र त्यसका लागि खास त्यही विषयको विशेषज्ञ ल्याउनुपर्छ भन्ने छैन । बेनिफिसियल रोल अफ रेन्डमनेसको काम यही बेला पर्ने गर्छ ।
(वाल स्ट्रिट जर्नलमा प्रकाशित आलेख)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

