साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

२५ हजारको पुस्तकमा के छ ?

२५ हजार बालबालिकाको अस्पतालका लागि डोनेसन हो । पक्कै पनि, डोनेसनसँग पुस्तक जोडिनु वा पुस्तक डोनेसनको माध्यम बन्नु सिर्जनात्मक काम त हो नै, सँग पुस्तकको ओज पनि हो ।

Chovar Blues Mobile Size

पछिल्लो समय नेपाली साहित्य क्षेत्र चलयमान बनेको छ । केही पुस्तकले आक्रामक व्यापार गरिरहेका छन्, केही विवादमा पनि फँसिरहेका छन् । र, पुस्तक बजारलाई चलायमान बनाउने तथा विवादमा फस्ने प्रकाशन गृह मुख्यत: दुई छन्– बुकहिल प्रकाशन गृह र फाइन प्रिन्ट । म यहाँ फाइन प्रिन्टको कुरा गर्नेछु ।

फाइन प्रिन्ट नेपालको अग्रणी प्रकाशन गृह हो । पछिल्लो समय यो प्रकाशन गृहबाट आएको सुबिन भट्टराईको पुस्तकले बजारमा आक्रामक व्यापार गरिरहेको रिपोर्टहरु प्राप्त भएका छन् । तर म यहाँ डा. भगवान कोइरालाको “हृदय”को कुरा गर्ने छु ।

बाह्र हजारभन्दा बढी मुटुको शल्यक्रिया गरेका डा. भगवान कोइरालाको आत्मकथा हो, हृदय । “हृदय”को विशेष संस्करणको मूल्य २५ हजार रुपियाँ रहेको छ । एउटा पुस्तकको मूल्य नै २५ हजार ? – साहित्य बजारलाई यही प्रश्नले तरङ्गीत र विभाजित बनाइरहेको छ ।

अँ, गुदी कुरा अन्तिममा हुन्छ । प्रतीक्षा गर्नुहोला ।

विश्वव्यापी रूपमा के छ ‘विशिष्ट संस्करण’को अभ्यास ?

sagarmani mobile size

कुनै खास अवस्थामा, खास लेखकका, खास कृतिहरुलाई विशेष संस्करण निकाल्ने चलन पुरानै हो । हार्वर्ड विश्वविद्यालयले संसारभरका क्लासिक कृतिहरुलाई विशेष संस्करणको शृंखला नै निकाल्ने गथ्र्यो । पछिल्लो समय धेरै लगानी गरेर निकालिएका पुस्तकहरुको लगानी उठोस् भनेर विशिष्टीकृत संस्करण पनि निकाल्ने गरिन्छ । यस्ता विशिष्ट संस्करणको एउटै मात्र उद्देश्य, गरिएको लगानी निश्चित समयमा सुरक्षित गर्न सकियोस् भन्ने नै हो ।

एकपटक भारतको विश्व प्रकाशनले भारतका प्रथम प्रधानमन्त्री जवाहर लाल नेहरुको आत्मकथालाई डिलक्स संस्करणमा निकालेको थियो । भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा दुई भागमा प्रकाशित सो आत्मकथाको मूल्य ७५००/– (सात हजार पाँच सय भारु.) राखिएको थियो । र, त्यो पनि सीमित मात्रमा निकालिएको थियो । त्यो पुस्तकलाई महँगो छालाले मोरेर, एउटा विशिष्ट बाकसमा राखिएको थियो ।

अमेरिकाको आबे बुक्स र इस्टन प्रेसले त ब्युटिफुल बुक्स शृंखला र डिलक्स शृंखला नै चलाउने गरेका छन् । जसको काम भन्नु नै किताबलाई लोभलाग्दो र रहरलाग्दो बनाएर विशिष्ट संस्करण निकाल्नु हो । त्यसको मोल पनि चर्कै हुने गर्छ । उसका किताब हुन त पुरानै हुन्छन् तर पुराना पुस्तकको आकर्षण पनि उत्तिकै हुने हुनाले उसले क्लासिकलाई बढी महत्व दिने गर्छ । त्यसो त नयाँ पुस्तकलाई उसले ध्यान नदिने होइन, तर कम प्राथमिकतामा पर्ने गर्छ । यस्ता पुस्तकको मूल्य ५० डलरदेखि ८७० डलरसम्म राख्ने गरिएको छ । यस्ता कम्पनी बेलायत, अमेरिकामा अनगिन्ती छन् ।

यस्तै अभ्यास संसारका अन्य ठाउँमा धेरै पहिलेदेखि भइरहेका छन् । नेपालमा पनि यसको शुरुवात कुमार नगरकोटीको पुस्तकबाट भएको थियो । तर ‘हृदय’ ती सबै प्रयासको क्लाइमेक्स बन्न पुगेको छ ।

२५ हजारको पुस्तकमा के छ ?

प्रश्न सोझो छ – २५ हजारको पुस्तकमा के छ ?, तर यसको उत्तर खोज्नुअघि पृष्ठभूमि कोट्याउनु जरुरी हुन्छ ।

किताब तयार हुने क्रममा एकदिन डा. कोइरालाले प्रकाशक नीरज भारीलाई सोधेछन्, “यो पुस्तकबाट कति रोयल्टी आउला ?”

डा. कोइरालाजस्तो व्यक्तित्वबाट यस किसिमको प्रश्न नीरजको मात्र होइन, कसैको पनि अपेक्षामा रहने कुरै भएन । हिसाब गरेर नीरजले भनेछन्, “सरको पुस्तक २० हजार प्रति त बेचिलाएला नै । किताबको मूल्य ५ सय रुपियाँ राख्दा पनि २० लाख त पक्कै आउँछ ।” लगत्तै पुस्तकको मूल्य ५७५ राख्ने पक्कापक्की भयो ।

पुस्तकको मूल्य निधो गरिसकेपछि डा. कोइरालाले भनेछन्, “हुन त पूरै रोयल्टी काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को फण्डमा राख्न चाहन्छु । तर मेरो आफ्नो किताब, त्यसमाथि जीवनभर सरकारी जागिरे, प्राइभेटमा त्यति काम गरिनँ । बुढेसकालका लागि खासै बचत पनि छैन । त्यसैले, आधा रोयल्टीचाहिँ म राख्छु, आधा हस्पिटललाई दिन्छु, हुन्न ?”

प्रकाशक नीरजलाई “हुन्न” भन्ने कुरै थिएन । तर भगवान्कै छवि बनाएका डा. कोइरालाको यस किसिमको कुराले भने उनलाई नराम्रोसँग बिथोल्यो । र, सोच्न थाले – रोयल्टीबापतको १० लाखले एक अर्बभन्दा बढी लाग्ने हस्पिटललाई खासै देखिने किसिमको योगदान हुँदैन । राजादेखि सर्वसाधरणसम्म गरी १४–१५ हजार मानिसको मुटु चिरेको डाक्टर, सामाजिक रुपमा बेदाग तथा नष्ठावान् मान्छे, यस्तो मानिसको बालबालिकाका लागि अस्पताल खोल्ने उदेश्यम जोडिने केही हजार मान्छे कसो नहोलान् ! फेरि यो त गङ्गालालजस्तो अर्को संस्था बनाउने कुरा हो । भविष्यमा लाखौं बालबालिका लाभान्वित हुनेछन् ।

र, नीरज “हृदय”को विशेष (विशिष्ट) संस्करण छाप्ने निष्कर्षमा पुगे । डा. कोइरालासँग आइडिया साझा गरे । आफैं पनि रिसर्च गरे । किताब तयार पार्ने क्रममा तीनपटक दिल्लीको यात्रा गरे । पुस्तकमा मूल्यअनुसारको आकर्षण थप्न र हेर्दै गर्वलायक पुस्तक बनाउन उनी लागिपरे । नीरज भन्छन्, “सबैभन्दा गाह्रोचाहिँ विशेष संस्करणको मूल्य र सङ्ख्या निर्धारण गर्नमा भयो । हामीबीच धेरै बहस चले । डाक्टरसाबले ‘मूल्य नराखौं, अस्पताललाई डोनेसन गर्नेहरुलाई उपहारस्वरुप दिऊँ’ भन्नुभयो । तर मैले मानिनँ । मलाई लाग्यो – यसको मूल्य, मुद्रण सङ्ख्या र पुस्तकले अस्पताललाई महसुस हुने गरी योगदान गर्नुपर्छ ।”

पुस्तकका माध्यमबाट देखिने गरी बालअस्पताललाई सहयोग गर्ने उद्देश्यले प्रकाशक निरजले डा. कोइरालालाई सोधे, “सर, अस्पतालको एउटा ब्लक वा युनिट बन्न कति पैसा लाग्छ ?”

कम्तिमा पाँच करोड लाग्ने रहेछ । नीरजले दुई हजारप्रति विशिष्ट संस्करणलाई २५ हजार रुपियाँका दरले बेच्न सके एउटा ब्लक बन्ने पैसा जम्मा हुने हिसाब निकाले । र, विशेष संस्करणको मूल्य २५ हजार रुपियाँ राख्ने निधो भयो ।

तर कुरो २५ सय प्रतिको पो छ है !

अँ, यो कुरा डा. कोइरालाले अमेरिकामा रहेका आफ्ना साथीभाइहरुलाई सुनाए । साथीहरुले त्यहाँ थप पाँच सय प्रति पुस्तक बेच्न सकिने बताएछन् । र, कुल २५ हजार मूल्य अङ्कित २५ सय प्रति पुस्तक छाप्ने टुङ्गो लाग्यो । प्रकाशक भारी भन्छन्, “हालको सेन्ट्रल हस्पिटलको कुल लागत एक अर्ब ६ करोड रुपियाँ छ । हामीले केही गरे पनि एक अर्ब जुटाउन सक्दैनौं तर लागतको पछाडि रहेको अङ्क अर्थात ६ करोड २५ लाख रुपियाँ भने जुटाउने जमर्को गर्यौं ।”

विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रकम प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्वसमेत नकटाइकन अस्पताललाई हस्तान्तरण गर्ने लेखक तथा प्रकाशकले बताएका छन् ।

विशेष संस्करणलाई लिएर यो स्तम्भकारलाई यहाँ एक वाक्य लेख्न कर लाग्यो – २५ हजार बालबालिकाको अस्पतालका लागि डोनेसन हो । पक्कै पनि, डोनेसनसँग पुस्तक जोडिनु वा पुस्तक डोनेसनको माध्यम बन्नु सिर्जनात्मक काम त हो नै, सँग पुस्तकको ओज पनि हो ।

यो त भयो विशेष संस्करणको कुरा । भगवान धेरैभन्दा धेरैले पढिनुपर्ने व्यक्ति हुन्, तर सबैले २५ हजार तिरेर (डोनेसन गरेर) विशेष संस्करण किन्न सक्दैनन् । कसैले मूल्यकै कारणले कुनै पुस्तक पढ्न नसक्ने अवस्था सिर्जना हुन्छ भने त्यो पाठकमाथिको अन्याय हो । समग्र साहित्य क्षेत्रमाथिको ठगी हो । ठिकै छ, आउनुहोस्, नियमित संस्करणको कुरा गरौं ।

सुरुमै भनिहालौं – विशेष संस्करणको लोकापर्ण भइसकेको छ । विशेष संस्करण निस्किएको एक सातापछि अर्थात असोजको पहिलो साताबाट पुस्तकको संस्करण पनि पाठकहरुमा निम्ति उपलब्ध हुने प्रकाशक फाइन प्रिन्टले जनाएको छ । नियमित संस्करणको मूल्य ५ सय ७५ रुपियाँ हुनेछ । उक्त संस्करणको ५० प्रतिशत लेखकस्व काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताएका छन् ।

अब गुदी कुरो गरौं – २५ हजारको पुस्तकमा के छ ?

सुरुमै भनौं – २५ हजारको पुस्तकमा पनि त्यही कुरा छ, जुन ५ सय ७५ रुपियाँकोमा छ । अर्थात्, पैसाको कारण नेपाली साहित्यका पाठक “हृदय” पढ्नबाट वञ्चित हुनु पर्दैन । अगाडि नै भनिएको, प्रकाशकको पुस्तककै माध्यमबाट बालबालिकाका लागि बनिने अस्पताललाई महसुस हुने गरी सहयोग गर्ने महत्वाकांक्षाबाट “विशेष संस्करण”को मूल्य २५ हजार रुपियाँ हुन पुगेको हो । सिधासिधी रुपमा भन्दा, २५ हजार पुस्तकका माध्यमबाट अस्पताल निमार्णमा गरिने योगदान हो ।

“लिमिटेड एडिसनका रुपमा विभिन्न ब्राण्डका रक्सीहरुले आफूलाई कर्मसियलाइज् गर्छन् । हामीले किताबमार्फत ‘सामाजिक उत्तरदायित्व’को उद्देश्य राखेर लिमिटेड एडिसनको अभ्यास गरेका हौं ।”, प्रकाशक निरज भारी भन्छन्, “हामीले काठमाडौंभित्रका लागि बाहिरको भन्दा ५० रुपियाँ महँगो मूल्य राखेका छौं । सबैभन्दा ठूलो अस्पताल काठमाडौंमा बन्ने, त्यसैले काठमाडौंले ‘सामाजिक उत्तरदायित्व’स्वरुप ५० रुपियाँ बढी तिर्नुपर्छ भन्ने मेरो धारणा हो । यो सबै एउटा प्रयोग हो । यसलाई विवादको विषय बनाउनुपर्छ भन्ने मलाई लाग्दैन ।”

“विशेष संस्करण”लाई विशेष बनाउनका लागि विशेष केही कुराहरु भने गरिएको छन् । पहिलो त हार्ड कभर नै भयो । तर नेपाली साहित्य बजारका लागि “हार्ड कभर”लाई विशेष मान्न नसकिएला ।

“विशेष संस्करण”को मुख्य आकर्षण भनेको चाहिँ यो पुन: छापिने छैन । हार्ड कभरमात्र होइन, भित्र पेजमा पनि विशेष किसिमको कागजको प्रयोग गरिएको छ । क्रम सङ्ख्या अङ्कित विशेष संस्करणका पुस्तकहरुलाई लेखक डा. कोइराला आफैंले प्रमाणीकरण गर्ने छन् । डा. कोइराला स्वयम्ले प्रमाणीकरण गर्दा खरिदकर्ताको नाम र आफ्नो हस्ताक्षर पुस्तकमा उल्लेख गर्नेछन् । साथै, विशेष संस्करण खरिदकर्ताको नाम सम्मानस्वरुप अस्पतालमा शिलालेख निर्माण गरी उल्लेख गरिने छ ।

अत: “हृदयको कुरा गर्दा, यसले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको चर्चासमेत गर्छ । यस संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाहरुबारे कुरा गर्छ ।

चित्रमा हृदयः 

लेखक परिचय

साहित्य लेखन र पत्रकारितामा विशेष रूचि राख्ने कृष्ण ढुङ्गेल साहित्यपोस्टका केन्द्रीय संयोजक हुन् । आधा दर्जन बढी पुस्तकहरूको सम्पादन गरिसकेका ढुङ्गेलको मौलिक कृति “मिराज” उपन्यास प्रकाशित छ । गैरआख्यान विधाको उनको दोस्रो कृति प्रकाशनको तयारीमा छ ।

प्रतिक्रिया
Loading...