गीता त्रिपाठी

सार

गीता त्रिपाठी

प्रस्तुत लेख ‘बर्सादी दिनहरू’निबन्ध सङ्ग्रहका निबन्धहरूबाट सोद्देश्यमूलक छानिएका आठ वटा व्यक्तिबिम्बमा आधारित निबन्धको कथ्यको केन्द्रीयतामा तयार पारिएको छ । यस आलेखमा जीवनीपरक निबन्धको शैलीमा निजात्मक अनुभूतिले लेखिएका निबन्धमा प्रयुक्त विषयको अध्ययन गरिएको छ । यस अध्ययनबाट प्रकाश सायमीका निबन्धमा कला, साहित्य र संस्कृतिप्रति समर्पित प्रसिद्ध व्यक्तिका अन्तरङ्ग पक्षको उद्घाटन हुनुको साथै जीवनी र लेखनका बिचको अन्तःसम्बन्धको पुष्टि भएको छ ।
शब्दकुञ्जीः व्यक्तिबिम्ब, अन्तरङ्ग, जीवनी, अन्तर्विषयक, पुस्तक यात्रा, प्रभाव

विषय प्रवेश
प्रकाश सायमी (२०२१) नेपाली साहित्यका विभिन्न विधामा रचना गरिरहेका व्यक्तित्व हुन् । आफ्ना व्यक्तित्वका आयामहरूमा उनी बहुमुखी प्रतिभाका रूपमा उपस्थित भएका छन् । उनको व्यक्तित्वका तीन मुख्य आयाम हुन्— चलचित्र निर्देशक, सञ्चारकर्मी र साहित्यकार । उनको सर्जक व्यक्तित्व उनकै एक सफल निर्देशक र सञ्चारकर्मी व्यक्तित्वकै माझबाट बनेको हो र पछिल्लो समयमा उनी लेखनमा नै ज्यादा सक्रिय छन् । उनको पहिलो प्रकाशित रचना नेवारी भाषाको कविता ‘जीगू ख्वाः पा’(२०३६) हो भने नेपाली भाषामा प्रकाशित पहिलो रचना ‘माजिमटार बीस किलोमिटर’ कथा (२०३७) गोर्खापत्र हो । त्यसपछि उनका मुक्तक, कविता, निबन्ध र समालोचना विधाका कृतिहरू प्रकाशित छन् । अनन्त यात्रा (मुक्तक सङ्ग्रह २०३९), रे ः द म्यान अफ सिनेमा (जीवनीपरक समालोचना २०४९), चलचित्रः कला र प्रविधि (समालोचना २०५०), ई सलाईका काँटीहरू (कवितासङ्ग्रह २०५६), फिल्म निर्माण र निर्देशन (समालोचना २०५७), नेपाली सङ्गीतको स्वर्णिम युग (समालोचना २०५८), संस्करण (निबन्धसङ्ग्रह २०६०), वर्षादी दिनहरू (निबन्धसङ्ग्रह २०६६), नेपाली सङ्गीतको एक शतक (समालोचना २०६६), गालिबको चिहान (कवितासङ्ग्रह २०६८), बर्सादी दिनहरू (निबन्धसङ्ग्रह २०६६, दोस्रो संस्करण २०६९), काठमाडौँ सेल्फी (२०७२) तथा काठमाडौँ मोन्ताज् (२०७५) सायमीका हालसम्म प्रकाशित कृतिहरू हुन् ।

प्रकाश सायमीको निबन्धयात्राको आरम्भ २०३६ सालबाट भएको देखिन्छ । उनले कक्षा सातमा पढ्दा जिल्लाव्यापी निबन्ध प्रतियोगितामा भाग लिनका लागि लेखेको निबन्ध ‘जीवन र कला’का लागि प्रथम स्थान प्राप्त गरेका थिए र यो सफलतापछि उनले निबन्ध लेखनलाई अगाडि बढाउँदै लगेको पाइन्छ । उनको पहिलो प्रकाशित निबन्ध ‘मैनबत्ती र साँझ’ २०४० सालमा मोहनबहादुर थापाको सम्पादनमा भक्तपुरबाट प्रकाशित हुने ‘आशीर्वाद’ साहित्यिक पत्रिकाको सामयिक सङ्कलन अङ्कमा प्रकाशित भएको थियो । सायमीका चलचित्र, सञ्चार र विधागत साहित्यका अलगअलग योगदानको चर्चाका निम्ति विषय प्रशस्त छन् र एउटै अध्ययनमा यी सबै विषयलाई अटाउन सकिदैँन पनि । प्रस्तुत लेखमा सायमीको निबन्धसङ्ग्रह बर्सादी दिनहरूको दोस्रो संस्करण (२०६९) मा समेटिएका १७ वटा निबन्धहरूका आधारमा उनका व्यक्तिबिम्बमा आधारित निबन्धहरूको प्रवृत्तिमाथि अध्ययन गरिएको छ ।

निबन्ध विश्वसाहित्यमा कान्छो विधा मानिए पनि अहिले आएर अत्यन्त फस्टाएको विधा हो । पछिल्लो समयमा यसका विभिन्न उपभेदहरू विकसित भएका छन्ः निबन्ध, संस्मरण, आत्मसंस्मरण, यात्रासंस्मरण, जीवनी, आत्मकथनात्मक, पत्रात्मक आदि विभिन्न उपभेदहरू निबन्धमा आएका छन् र तिनको मूल केन्द्रीयता चाहिँ निजात्मकता नै हो । यही निजी अनुभूतिलाई शैलीगत विशिष्टताका साथ प्रस्तुत गरिने हुँदा यसका जन्मदाता मानिएका फ्रान्सेली स्रष्टा मिचेड डे मोन्टेगको भाव गर्भमा उनले निबन्धलाई यसरी परिभाषित गरेका छन्ः मेरो इच्छा हुन्छ निबन्धमा विनाआडम्बर सहज र साधारण तरिकाले म स्वयं रूपायित होऊँ । त्यसमा म कुनै किसिमको वाक्पटुता वा कलात्मकता सजाउन चाहन्न । मेरा निबन्धको विषय म नै हुँ (मोन्तेन, १९७१, पृ. ख्) । साहित्यिक निबन्धमा निजात्मकता र शिल्पको विशेष स्थान हुन्छ, त्यसमा निबन्धकारको वैचारिक तह स्वतः प्रस्फुरित भइरहेको हुन्छ किनकि चिन्तनविना निबन्धको कल्पना गर्न सकिन्न । चिन्तन र शिल्पको चमत्कार नै निबन्ध हो र त्यो निजात्मकताको केन्द्र वरिपरि घुम्छ । यस निबन्ध मान्यतालाई आधार मानेर प्रकाश सायमीको बर्सादी दिनहरू भित्रका निबन्धहरूको अध्ययन गर्नका लागि यस सङ्ग्रहमा रहेका निबन्धहरूलाई प्रवृत्तिगत आधारमा विभाजन गरिएको छ । विषयगत आधारमा व्यक्तिबिम्बमा आधारित निबन्धको केन्द्रीयतामा अध्ययन गर्ने उद्देश्य लिइएको छ ।

बर्सादी दिनहरू निबन्धसङ्ग्रहका निबन्धहरूको विषय

प्रस्तुत सङ्ग्रहभित्र व्यक्तिबिम्ब र अन्य सांस्कृतिक पक्षमा आधारित भएर लेखिएका जम्मा सत्र वटा निबन्धहरू सङ्कलित छन् । पहिलो सङ्ग्रहमा भन्दा यस संस्करणमा केही निबन्धहरू थप भएर आएका छन् । प्रकाश सायमी लेखन र प्रशिक्षण दुवै सन्दर्भमा भावकहरूका बिच अत्यन्त प्रखर वक्ता र कुशल प्रशिक्षक भनेर चिनिएका छन् भने उनको अध्येता व्यक्तित्वलाई नेपाली साहित्यमा विद्वान् जानकारहरूले अनुकरणीय मानेका छन् (त्रिपाठी, २०६६, पृ.५७–५९) । त्यस आधारमा सायमीको यस सङ्ग्रहका निबन्धको निबन्धकारिता पहिल्याउन सकिन्छ । यहाँ उनले निबन्ध लेखनमा आफूलाई प्रेरित गर्ने विशिष्ट पात्रहरूप्रतिको सूक्ष्म चिन्तन प्रस्तुत गरेका छन् । यी निबन्धमा उनको पटकथा लेखनको शैली प्रकट भएको पाइन्छ । सायमी पुस्तक र व्यक्ति दुवैलाई अध्ययन गर्न रुचाउने व्यक्तिका रूपमा चिनिएका छन् । उनको पुस्तकप्रेमी व्यक्तित्व आत्मजीवनीमा बढी अनुरक्त भएको देखिन्छ । त्यसैले सायमीको अध्ययन र ज्ञानको खोजमूलक प्रभावकारी अभिव्यक्ति उनका निबन्धको विषय बनेका छन् । उनमा अन्तर्निहित ज्ञानका कारण उनका निबन्धहरूमा विषयको सीमा तोक्न गाह्रो छ, एउटै निबन्धमा अनेक विषयहरूको कुशल संयोजन सायमीको लेखनको विशेषता हो । त्यसैले उनका निबन्धमा साहित्य, सङ्गीत र कलासँग आबद्ध अनेक सन्दर्भहरूको अन्तर्विषयक प्रस्तुति र चिन्तन पाइन्छ । यस अध्ययनका लागि बर्सादी दिनहरू निबन्ध सङ्ग्रहभित्रका निबन्धहरूको विषयगत विशिष्टतालाई आधार मानी उनका व्यक्तिबिम्बमा आधारित आठ वटा निबन्धहरू सोद्देश्यमूलक छनोट गरी विश्लेषण गरिएको छः

व्यक्तिबिम्बमा आधारित निबन्ध

बर्सादी दिनहरू सङ्ग्रहमा रहेका आठ वटा निबन्धहरू गुलजारः फुर्सदका रात र दिन, देवआनन्दः समय र सम्झनाको किताबमा, ध्रुवचन्द्र गौतमः एक अलिखित कथा, अनन्तिम गुरुः बासुदा, शङ्करः आत्मकथाको प्रतिध्वनि, मितेरी सङ्गीतका चिनारीः गोपाल योञ्जन, देवकोटाः स्मृति प्रदेशमा र धुस्वाँ कहिल्यै नझर्ने फूल विषय र शैलीका दृष्टिले निबन्धकारको व्यक्तिबिम्ब र ऐतिहासिक चिन्तनका रूपमा प्रस्तुत भएको छ । अतः यी निबन्धहरूलाई यहाँ व्यक्तित्वको बिम्बात्मक र संस्मरणात्मक आलेखका रूपमा अध्ययन गरिएको छ ।

गुलजारः फुर्सदका रात र दिन
प्रस्तुत निबन्ध, बर्सादी दिनहरू सङ्ग्रहभित्रको १३औँ निबन्ध हो । भारतीय सिनेकर्मी र साहित्यकार गुलजारप्रति बाल्यकालदेखिको आकर्षण र पछि नेपालमा उनीसँगको भेटले आफूमा पारेको प्रभावलाई विषय बनाएर सायमीले गुलजारका सन्दर्भमा एउटा मानसबिम्बलाई शब्दचित्रमा उतारेका छन् । चलचित्र र साहित्यलाई जोड्ने चिन्तन र शिल्पले वास्तवमा सायमीको साहित्यिक व्यक्तित्वको पृष्ठभूमि सिनेमा हो अथवा सिने व्यक्तित्वको पृष्ठभूमि साहित्य हो भन्ने कुरा अभेद्य लाग्छ । यो निबन्धले पनि यसबारे सोच्न वाध्य बनाएको छ । निजात्मक अनुभव र भोगाइसँग मिसिएर आएको गुलजारको व्यक्तित्वको केही पक्ष लेखकसँग मिल्दो देखिन्छ । जापानी लेखक हारुकी मुराकामीको चलचित्र र साहित्यका दुई समन्वित व्यक्तित्व यी दुई व्यक्तित्वमा पनि समन्वित छ । यसरी नै म्याजिक लाल्टिनका लेखक इंग्मार वर्गम्यान तथा गुलजारसम्मको चलचित्र र साहित्यको यात्रालाई मनले पढेका सायमीमा त्यस्तै व्यक्तित्व पाइन्छ, जसले उनलाई नेपाली साहित्यमा फरक व्यक्तित्वको परिचय दिएको छ ।

गुलजारको परिचय र योगदानका सन्दर्भहरू दिँदा सायमीले भौगोलिक सीमा भुलेका छन् । उनको लवाइ, बोलाइ र व्यवहारका विविध अनुभवहरूलाई चित्रात्मक प्रस्तुति दिन सफल निबन्धकार सायमी योग्य मान्छेको परिचय र प्रभाव आउने पुस्तामा विस्तारित हुनुलाई सदैव सकारात्मक ठान्छन् । गुलजारका बारेमा उनले जेजति जानकारी राखेका छन्, त्यो अनुकरणीय कामले इतिहासको संरक्षण त हुन्छ नै, सस्ता भावुकताबाट मानिसको प्रशंसा गर्ने र उसका काम चाहिँ ओझेलमा पार्ने लेखकीयका विपरीत सायमीको यस निबन्धले सत्य र यथार्थको उद्घाटन आकर्षक शैलीबाट गरेका छन् । यस निबन्धमा कला र साहित्यप्रेमबिचको गहिरो सम्बन्ध व्यक्तित्वका माध्यमबाट प्रकट गरिएको छ ।

देवआनन्दः समय र सम्झनाको किताबमा
जीवनवृत्तको केन्द्रीयतामा इतिहासको पुनःनिर्माणका लागि कलम चलाउने सायमीको देवआनन्द ः समय र सम्झनाको किताबमा भारतीय कलाप्रेमी व्यक्तित्वमाथि लेखिएको एउटा अर्को सुन्दर संस्मरण हो । विश्वका प्रखर चलचित्रकर्मीमध्ये देवआनन्द पनि एक हुन् र उनका बारेमा सायमीले आफ्नो बाल्यकालीन चलचित्रप्रतिको लगावको उद्घाटन गरेका छन् । साममीले देवानन्दका विषयमा उनको पटकपटकको काठमाडौँ आगमन र सायमी आफू स्वयंको बम्बई बसाइका क्रममा धेरै जानकारी प्राप्त गरेको देखिन्छ । देवआनन्दको मिथकीय व्यक्तित्वका बारेमा खोजी र अनुसन्धानात्मक प्रकृतिले लेखिएको यस निबन्धमा सायमीको बौद्धिक र तार्किक व्यक्तित्व मुखरित भएको छ । जीवनमा अनेक संस्मरणहरू विषय र सन्दर्भमा आउँछन् तर सायमीका लेखनमा तिनका छनोट गर्ने विशिष्ट कला छ । यस निबन्धमा सायमीको निजात्मक पक्ष पनि निकै सुन्दर तरिकाले प्रकट भएको छ । हजुरआमाकोे समयमा नै सुनेको देवानन्द सुरैया प्रेम प्रसङ्गले इतिहासको खोजी प्रस्तुत गरेको छ । बम्बई बसाइका क्रममा देवानन्दसँगको भेटको अभिलाषा र त्यहाँ मिलेको उपेक्षाका संस्मरणलाई समेत सकारात्मक मान्दै यसबाट आफूलाई शिक्षा मिलेको भन्ने उनको अभिव्यक्तिले सायमीको धीर र गम्भीर जीवनदृष्टि प्रकट गरेको छ । देवानन्दले नेपाली भाषा, संगीतको उत्थानमा स्वच्छ हृदयले गरेको योगदानको सायमीेले खुलेर प्रशंसा गरेका छन् । युवा अवस्थाको पे्रमिल समयमा मात्र नभएर देवानन्दले बुढेसकालमा पनि नेपालप्रतिको पवित्र प्रेम प्रकट गरेको कुरा सायमीले उल्लेख गरेका छन् । खासगरी उनको रोमान्सिङ विथ लाइफ (सन् २००८) कृतिको विमोचन काठमाडौँमै भएको क्षण देवानन्द निकै उत्साहित भएका र नेपालीहरूप्रति उनी निकै अनुरागी भएका कुरा यस निबन्धमा रोचक शैलीमा प्रस्तुत गरिएको छ । सायमीको अध्ययन र मनन अनि बिम्बात्मक शैलीको प्रस्तुतिले यस निबन्धलाई निकै खँदिलो बनाएको छ ।

ध्रुवचन्द्र गौतमः एक अलिखित कथा

प्रकाश सायमि

स्वदेशी व्यक्तित्वको बिम्बात्मक प्रस्ततिमा पनि सायमीको कलम निष्पक्ष तरिकाले चलेको छ । कृतिमा धेरै र व्यवहारमा थोरै भेटिने विदेशी व्यक्तित्वको बिम्बभन्दा स्वदेशमा सँगसँगै सहयात्रा गरेका अथवा स्वदेशमा धेरैका दृष्टिकोणबाट व्याख्यायितहरूका बारेमा उनले अरू अनौपचारिक र वैयक्तिक ज्ञान र अनुभवलाई समेत समेटेका छन् ।

ध्रुवचन्द गौतम नेपाली साहित्यमा आख्यान पुरुषका रूपमा चर्चित छन् । उनका समसामयिक विषयमा आधारित आख्यानमा नयाँ नयाँ शैली अपनाइएको छ । त्यसैले उनलाई प्रयोगवादी आख्यानकारका रूपमा उल्लेख गरिन्छ । यसरी नै गौतमका नाटकहरू र आख्यानहरूले निर्वाह गरेको समसामयिकता र शैलीले यसलाई उत्तरआधुनिक साहित्यका कसीमा राखी अध्ययन गर्नेको होडबाजी छ । तिनै ध्रुवचन्द्र गौतमभित्र ज्ञान र चेतनाको विश्व पनि हरबछिन्न मडारिरहन्छ भन्ने कुरा निबन्धकार सायमीले नजिकको अनुभवबाट प्रस्तुत गरेका छन् । आफ्नो युवावयको आरम्भकालमा मदनमणिको समीक्षा पत्रिकामा संलग्न रहेका बेलादेखि नै ध्रवचन्द्र गौतमसँग परिचय बनाएका सायमीले गौतम गम्भीर विषयमा लेखन गर्ने तर जीवनलाई साहित्य, सङ्गीत र कलाको पारखीका रूपमा उपयोग गर्न चाहने पक्ष प्रस्तुत गरेका छन् । सिनेमाप्रेमी गौतमका विविध अन्तरङ्ग सम्झनाहरूको अभिव्यक्ति सायमीले यस निबन्धमा दिएका छन् । अग्रज लेखकमात्र होइन, सहकर्मी मित्र पनि बन्न पुगेका ध्रुवचन्द्र अन्ततः लेखक हुन् र रहेका छन् भन्ने कुरालाई सायमीले विविध परिस्थितिहरूको समन्वय गरेर प्रकट गरेका छन् ।

सायमीले यस निबन्धमा धु्रवचन्द्र गौतम र आफ्ना रुचिहरूको तलना गरेका छन् । अधिकांश गुणहरू मिल्ने यी दुई व्यक्तित्वमा सामाजिक जिम्मेवारी समान देखिन्छन् । खासगरी हिन्दी साहित्यको अध्ययनबाट नेपाली साहित्यमा लेखन गर्न आइपुगेका गौतम र नेवारी साहित्यको अध्ययन हुँदै हिन्दी, उर्दू र अङ्ग्रेजी साहित्यको अध्ययनले खारिएका सायमीबिच मानवताको गहकिलो नाता रहेको प्रमाण पनि यो निबन्ध हो भन्न सकिन्छ । अध्ययनशील यी दुवै पात्रहरू उपन्यासमा प्रथम पुरुष समाख्याता र तृतीय पुरुष विषयका रूपमा आउँदा पनि आपस्तमा उत्तिकै अनुत्प्रेरक देखिन्छन् । स्पष्ट वक्ता र लेखक सायमीको यस निबन्धमा यो भाव प्रकट भएको छ ।

अनन्तिम गुरुः बासुदा
बासुदाप्रतिको गुरुभक्तिलाई सीमातीत अनुभूतिमा राखेका सायमीले आफ्नो यस संस्मरणको शीर्षक नै अनन्तिम गुरुः बासुदा राखेका छन् । बासुदा उनका चलचित्र क्षेत्रका अनौपचारिक गुरु हुन् तर सायमीले बासुदाबाट जीवन जिउने कलासमेत सिकेका छन् । कोही मानिसलाई प्रेम र आदर गरिन्छ भने उसमा भगवानको गुण खोज्ने मानवीय स्वभावभन्दा सायमीको फरक सोचाइ छ । उनी मानिस भएका नाताले मानिसमा हुने कमजोरीहरूको पनि अध्ययन गर्छन् र त्यसका कारण र परिणामसम्म पुगेर लेख्छन् तर व्यक्तिप्रतिको श्रद्धामा कमी आउन दिँदैनन् । सायमी मानिसलाई उसको कमजोरीसहित अपनाउन सक्ने व्यक्तित्व हुन् भन्ने कुरा यस निबन्धले प्रकट गरेको छ ।

सायमीको जिज्ञासा र ज्ञान चलचित्रतिर साहित्यसँगै विस्तारित छ । हुन पनि आफ्नो पहिलो परिचय सायमीले चलचित्रमै पाएका छन् । उनी सदैव चलचित्र निर्देशकको व्यक्तित्वले साहित्यकार व्यक्तित्वको निर्माण गरेको भाव प्रकट गर्छन् तर सायमी नारायणगोपालीय शैलीमा सधैँ चलचित्र र साहित्यको अन्योन्याश्रित सम्बन्धको अनुगुण गाउँछन् । यसैले पनि उनको आजको यो व्यक्तित्व पनि ती दुवै विधाको आधाआधा जोडबाट बनेको देखापर्छ । उनले आफ्ना गुरु बासुदालाई कहिल्यै विगत मानेका छैनन् । जसरी चेतनकार्कीले नारायणगोपाल स्वर्गीय होइनन् भन्ने उद्घोष गरेका छन्, त्यसरी नै सायमीले आफ्ना चलचित्र निर्देशनका गुरु बासुदाको कृतिशेष व्यक्तित्वलाई आफूभित्र सदैव अमर मानेका छन् ।

विमल राय–बासु भट्टचार्य–प्रकाश सायमीको यो गुरु शिष्य परम्परामा सायमीले सदैव बासुदालाई हृदयमा लुकाएर राखे । उनले बासुदाको निधन भएको खबर पाएको क्षण आफू उनैले सिकाएको ज्ञान गरिमाले निर्धक्कसँग चलचित्र निर्देशन गरिरहेकाले बासुदा विगत नभएर उनीसँगै हिँड्ने वर्तमान हुन् भन्ने भाव व्यक्त गरेका छन् । उनको यो अनुभूतिमा केवल भावुकतामात्र देखिँदैन । ज्ञानको अन्त्य कहिल्यै हुँदैन भन्ने दर्शन पालेका सायमीले अन्त्य नहुने उनका गुरुलाई अनन्तिम गुरु भनेर सम्बोधन गरेका छन् ।

सायमी (सन् १९८२–१९८५) को चार वर्षे बम्बई बसाई जति चुनौतीपूर्ण थियो, त्यति नै रसिलो र उर्वर अनि उनको लागि सुरुचिपूर्ण थियो भन्ने कुरा यस निबन्धका विविध प्रसङ्गमा प्रकट भएको छ । बासुदा वास्तवमा उनका गुरुकूलका गुरु त थिएनन् तर पनि सायमीलाई जीवनको यथार्थ र मानवीय सफलता र कमजोरीहरूको व्यवहारिक ज्ञान प्राप्तिका लागि उनी प्रयोगशाला नै थिए भन्ने कुरा यस निबन्धको केन्द्रीय विषय रहेको छ । बासुदासँगको सङ्गतले सायमीमा आफैलाई चिन्ने शक्ति प्राप्त भएको देखिन्छ । आत्मविश्लेषक शङ्कर लामिछानेका आत्मचेतनालाई सदैव तारिफ गर्ने सायमीले यस निबन्धमा बासुदाको व्यक्तित्व र आन्तरिक स्वभावसमेतको शब्दचित्र अत्यन्त स्पष्टसँग निर्माण गरेका छन् । आज आम युवाले भन्ने गरेको लिभिङ् इन्साइक्लोपेडिया भन्ने उपमा त सायमीले सर्वप्रथम उनकै गुरु बासुदाबाट पाएका रहेछन् । यस निबन्धमा सायमीले कति प्रतिशत आफू र कति प्रतिशत गुरुका निम्ति शब्द खर्च गरे भन्ने अङ्कगणितीय हरहिसाब पहिल्याउन सकिँदैन किनकि विधि र व्यवहार अनि जीवनकाल र मृत्युपर्यन्त पनि सायमी र बासुदा र बासुदा र सायमी चलचित्र र प्रकाशको अन्योन्याश्रित सम्बन्धजस्तै सदैव अपार रहेको अनुभव पाठकलाई हुनजान्छ ।

भारत र नेपालका बिच रहेको विगतदेखिको राजनीतिक, सांस्कृतिक, शैक्षिक सम्बन्धमा चलचित्रकला पनि सँगै हुर्किएका हुन् भन्ने प्रमाण गुल्जार, देवानन्द र बासुदाका अन्तरङ्ग संस्मरणहरूमा सायमीले प्रस्ट पारेका छन् । दुवैतिरको विशिष्ट विषयमा कलम चलाएका सायमीका चिन्तनप्रदान संस्मरणमा उनी सांस्कृतिक सहचारीजस्ता देखिएका छन् ।

शङ्करः आत्मकथाको प्रतिध्वनि
शङ्कर लामिछानेका बारेमा लेखिएको प्रस्तुत संस्मरण हरफहरू सायमीको शङ्करप्रेमको विराट अनुभूति हो । सायमीको दृष्टिबाट हेर्दा लामिछाने नेपाली निबन्धका सर्वाधिक महत्त्वपूर्ण व्यक्तित्व हुन् । वास्तवमा अध्ययनशील र बौद्धिक चिन्तक लामिछानेको आगमनले नेपाली निबन्ध जगतमा हलचल मच्चाएको युगका साक्षीहरूले त्यसबारे धेरै लेखेका छन् र समय क्रममा पुस्तकप्रति समर्पित नेपाली अध्येता सायमीले नेपाली साहित्यमा पढ्न चाहेको लेखकका रूपमा लामिछानेको अस्तित्वलाई पुनर्जीवीत गरेका थिए । मावलीमै दुखपूर्वक बितेको आफ्नो बाल्यकाल र लामिछानेको बाल्यकालीन पीडाको स्वरूप समान अनुभव गरेर मनमनै दुःखी हुने सायमीभित्र शङ्करका निबन्धहरूले एउटा ठूलो जग बनायो र उनले यो निबन्ध लेख्नुपूर्व नै लामिछानेका निबन्धकारिताको उच्च मूल्याङ्कन गरेर झण्डै तीस बर्षअघि छापिएर इतिहासमा बिलाउन लागेका लामिछानेका निबन्धहरूको रेडियो वाचनदेखि पुनर्प्रकाशनसम्म गरी भावक अभियानका नाममा शङ्कर इतिहासको अभियन्ता बने । आज शङ्कर लामिछानेको नामसँग प्रकाश सायमी स्वतस्फूर्त जोडिएर आउने नाम भएको छ । यो इतिहास निर्माण गर्न सक्षम भएका सायमीले प्रस्तुत निबन्धमा आफ्नो अध्ययनको आरम्भ र पुस्तकप्रेमको विगत र वर्तमानलाई जोडेका छन् । उपन्यासको घरमा उनलाई उपन्यास पढ्ने अवकाश नभए पनि त्यो इच्छा मनोविज्ञानको दवाबले पूरा त गरे तर पढूँ पढूँ लागेका पुस्तकको ढोकाबाट प्रवेश भने उनले लामिछानेको बिम्बप्रतिबिम्ब पढेपछि मात्र पाए । तिनै निबन्धहरूले निर्माण गरेको शङ्करको सर्वाधिक अग्लो बिम्ब उनमा अरू कैयौँ निबन्ध रचनाका विषय बनेर रहेका छन् । उनले प्रस्तुत निबन्धमा लामिछानेको निजात्मक र यथार्थको स्वीकारोक्तिलाई निकै उच्चकोटिको मानिसका गुणका रूपमा मूल्याङ्कन गरेका छन् । उनले निस्वार्थ रूपमा शङ्करको बौद्धिक चेतना र लेखन शिल्पको प्रशंसा गरेका मात्र छैनन्, अरूले आफूलाई शङ्कर लामिछानेलाई चिनाउने मोतीराम आदि उपमा दिइरहेका बेला पनि उनी एकान्तमा कतै आफूलाई पो शङ्करले चिनाएका हुन् कि भन्ने महान् भावना व्यक्त गर्छन् । त्यसैले अरूका निम्ति रागले काम गर्नु र श्रद्धाले काम गर्नुमा धेरै अन्तर छ, सायमीको शङ्करप्रेममा त्यस्तो श्रद्धा देखिन्छ । उनी आजभोलि शङ्कप्रेमीको भिडबाट अलग्गिएका पनि छन् तर शङ्करप्रेममा सदैव समर्पित छन् भन्ने कुरामा यही निबन्धले प्रामाणिकता थपेको छ । व्यवहारिक प्रमाण पनि छ— उनले गतवर्ष शङ्कर लामिछानेको हुलाक टिकट प्रकाशनमा जुन पहल गरेर सफलता दिलाए त्यो अर्को अभियान नै थियो ।

शङ्कर गाथालाई स्वर्णिम युग बनाउन सायमीले गरेको प्रयासमा सङ्गीतज्ञ अम्बर गुरुङदेखि शङ्करका परिवारजनले एउटै थलोमा उभिएर मानवताको प्रतिध्वनि सुने सुनाएको दिवामय समयका जन्मदाता सायमी शङ्करको सेवकका रूपमा कहिल्यै इतिहास बनेका छैनन् र उनले यो प्रण यसै निबन्धमा गरेकाले यो निबन्ध आफैमा फेरि अर्को निरन्तरता हो भन्न सकिन्छ ।

सायमीले शङ्कर समर्पणमा निकै घामपानी सहेका छन् । यस निबन्धमा उनको एउटा आत्मकथन यस्तो छ ः “…शङ्कर मेरा निम्ति एउटा अभियान थियो र अब एउटा इतिहास भइसकेको छ । म इतिहासको एक मूक पात्र हुँ मेरा अगाडि यी सारा घटनासत्ता आफसेआफ दृश्यान्तर भैरहेका छन् … त्यो एकदिनको घाम सयौँ दिनको पानी भएको छ ।” यसरी भेटवार्ता गर्न नपाए पनि पुस्तकबिम्बमा चिनेका लेखकका ऐतिहासिक योगदानलाई लोप हुन नदिई व्यक्तिबिम्ब तयार पार्न खोजमूलक स्वभावलाई प्रचूरमात्रामा जगाएर यो आलेख तयार पारिएको देखिन्छ ।

मितेरी सङ्गीतका चिनारीः गोपाल योञ्जन
नारायणगोपाल र गोपाल योञ्जन दुवैले मिलेर बनाएको नेपाली सुगम सङ्गीतको पालुवा र पातका साक्षी सायमीले यस निबन्धमा गोपाल योञ्जनको गीतकार र सङ्गीतकार व्यक्तित्वलाई सबैभन्दा नजिकबाट प्रस्तुत गरेका छन् । यसमा पनि उनका अन्य व्यक्ति बिम्बपरक संस्मरणहरूमा झैँ गोपाल योञ्जनको सङ्गीत यात्रा र त्यसमा प्रभाव पार्ने विभिन्न स्रोतहरूलाई क्रमशः प्रस्तुत गरेका छन् । यस निबन्धमा सायमीले योञ्जनलाई एक अध्यापक, एक शालीन सङ्गीतकार र एक चिन्तनशील गीतकारका रूपमा स्थान निर्धारण गरिदिएका छन् ।

विभिन्न चार उपशीर्षकमा गोपाल योञ्जनको परिचय र योगदानको विवरण र मूल्याङ्कन तयार पारिएको यो निबन्धमा बासुदा र अन्य निबन्धमा जस्तै फ्ल्यासब्याक शैलीको प्रयोग गरिएको छ । यात्रा निबन्ध र संस्मरणका बिचको मूल भेद पनि यही शैलीले बनाएको हुन्छ । वास्तवमा यहाँ अङ्ग्रेजीमा भनिने क्रिटिकल एस्सेको गुण सायमीका यी निबन्धहरूमा भेटिने विशेषता हुन् । सायमी कुनै पनि विषय चाहे त्यो स्वयम्कै किन नहोस्, समीक्षात्मक टिप्पणी र चिन्तनविना अघि सार्न रुचाउँदैनन् । यही नै एउटा बौद्धिक लेखकको दायित्व हो भन्ने अनुभव उनका निबन्धले गराउँछ र अन्य लेखकलाई यहाँनेर म सायमी जस्तै हुन वा मैले उनले जस्तै भन्ने आँट गर्न सकिनँ वा त्यो सीपको कमी ममा छ भन्ने कुरा मनमनै स्विकार्छ, त्यसखालको लेखनमा सायमीको एकलौटी सफलता छ ।

गोपाल योञ्जनको जन्म र सङ्घर्ष निबन्धको पृष्ठभूमिपछिको पहिलो उपशीर्षक हो । यसमा निबन्धकारले योञ्जनको जन्म, बाल्यकाल र उनको जन्मका आन्तरिक र बाह्य परिवेशको तार्किक र सौन्दर्यपूर्ण प्रस्तुति गरेका छन् । यस निबन्धमा सायमीले साङ्गीतिक पुलको निर्माण गर्ने नेपाली गीतकार र दार्जिलिङका सङ्गीतकार तथा नेपालका गायक नारायणगोपाल र दार्जिलिङका सङ्गीतकर्मी गोपाल योञ्जनको मितेरी साइनुको पूर्वपृष्ठभूमि तयार भएको वातानुकूल परिवेशमा आधारित इतिहासको सम्झना मौलिक शिल्पका माध्यमबाट गरेका छन् । अम्बर गुरुङका प्रिय शिष्य गोपाल योञ्जन उनैको पदचाप पछ्याउँदै नेपालीभूमिमा अहोरात्र सङ्गीत साधनामा जुटिरहेको यथार्थ कथाझैँ रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

दोस्रो उपशीर्षक मितेरी सङ्गीतको सुरुवात रहेको छ । दार्जिलिङमा त ईश्वरवल्लभले मितेरी साइनोको जनै पहिराइ दिए तर त्यसपछिको महान् साङ्गीतिक सहयात्रा सुगम सङ्गीतका नाममा अनेक होनहार गीतिप्रतिभाहरूका सहकार्यमा यी दुई मीतहरूले अघि बढाए । यस विषयको चिन्तनपूर्ण संस्मरण यस उपशीर्षक अन्तर्गत भएको छ । यसरी नै चलचित्रमा स्तरीय गीत–सङ्गीतको प्रवेश गराउने यिनका योगदानको चर्चा पनि यसै अध्यायमा छ । नारायणगोपालको हक्की स्वभाव र योञ्जनको शालीन र भद्र अनि अन्तर्मुखी स्वभावले जीवनको अन्तिमतिर अलग्गै यात्रा सुरु ग¥यो । यो विषयलाई सायमीले तर्कपूर्ण र नाफाघाटाको हिसाबकिताबसहित पेश गरेका छन् । यसरी नै नवपुस्तामा गोपाल योञ्जनका गीत, सङ्गीत र गायनको प्रभावकीयताको चरणबद्ध अभिव्यक्ति पनि नवपुस्तामा गोपाल उपशीर्षकमा प्रस्तुत गरिएको छ । अन्तमा नेपाली चलचित्र सङ्गीतको मुहार बदलिदिने सङ्गीतकर्मीका रूपमा गोपाल योञ्जनको मूल्याङ्कन चलचित्र सङ्गीतमा गोपाल उपशीर्षकमा प्रस्तुत गरेर सायमीले यस निबन्धको बिट मारेका छन् ।

देवकोटाः स्मृति प्रदेशमा
महाकवि देवकोटाको अन्तिम क्षणलाई अत्यन्त कारुणिक ढङ्गले गुज्रिएको कथाका रूपमा आम नेपाली पाठक र भावकले आफ्ना अग्रजहरूबाट सुन्दै आएको विषय हो र निबन्धकार सायमीले यस पूर्वस्मृतिको पुनर्निर्माण गर्ने क्रममा प्रस्तुत निबन्धमा विभिन्न विदेशी लेखककाहरूका देवकोटामाथि लेखिएका संस्मरणहरूबाट उपजीव्यता ग्रहण गरेका छन् । त्यसैले पनि यसमा आएका मार्मिक चित्रहरू बढी प्रामाणिक र नेपाली पाठकका लागि देवकोटासम्बन्धी सर्वाधिक नौलो अनुभव बनेको छ ।

यस निबन्धमा सायमीको अनुसन्धानात्मक प्रवृत्तिको छाप देखिन्छ । उनले भारतका महान् कवि हरिवंश रायबच्चनले बसेरे से दूर कृतिमा लेखका देवकोटासम्बन्धी प्रभावोत्तेजक र तजस्वी व्यक्तित्वको सन्दर्भ प्रस्तुत गर्दै मान्छेका जीवनमा आइरहने उतारचढावहरूको यथार्थलाई प्रकट गरेका छन् । उर्दूका महाकवि गालिब र नेपालका महाकवि देवकोटाका जन्म र जीवनीका बारेमा सायमीले तुलनात्मक लेखन पनि यस निबन्धमा प्रस्तुत गरेका छन् । यसरी नै देवकोटाको अन्तिम समय, पशुपतिको आर्यघाट र अङ्ग्रेज लेखक र विचारक डम मोरेको नेपाल आगमनको केही घण्टा र देवकोटाले साँच्चै बाँचेको त्यस मार्मिक पल र फर्केपछि मोरेले लेखेको देवकोटामा समर्पित संस्मरण ‘गन अवे’ आदिको चिन्तन र चर्चाले यो निबन्धलाई अत्यन्त उचाइ दिएको छ । विषय र शिल्पको बनोट र बुनोट दुवै आधारमा यत्तिको आत्मदाही आलेख कमै लेखिएका होलान् नेपाली निबन्धमा । वास्तवमा सायमी यस निबन्धका आधारमा मूल्याङ्कन गर्ने हो भने पीडा र दुःखमा परेकाहरूको तर्फबाट बोल्ने मानवतावादी आवाज हुन् ।

डम मोरेले ‘कविको मृत्यु’ शीर्षकमा लेखेका पङ्क्तिहरूको सायमीले नेपालीमा गरेको अनुवाद उच्चस्तरको छ, अनुवादमा हुने पुनर्सिर्जनको कुशलता र कोमलता दुवै यसमा छ । यसैले सायमीको चलचित्र निर्देशकको पात्र चयन र संवाद निर्माणको अपूर्व कला यस निबन्धका हरफ हरफमा आएका छन्, जसमा उनको नेपाली भाषा साहित्यलाई उच्चकोटीको बनाउने प्रयासको सौन्दर्य देखिन्छ । सायमी सफल संस्मरणकार त हुँदैहुन्, उनमा विद्यमान अनुवादकको परिचय पनि यस निबन्धमा प्रकट भएको छ ।

धुस्वाँः कहिल्यै नझर्ने फूल
नेपाली साहित्यमा धुस्वाँ सायमीको अग्लो परिचयलाई धुलोदेखि आकाशगंगासम्म पु¥याउने परिवेशका प्रत्यक्ष द्रष्टाका रूपमा सायमी सदैव अग्रसर देखिन्छन् । यस निबन्धमा सायमीले धुस्वाँको लेखनको गुणवत्ता र व्यक्तित्वको सर्वसहृदयतालाई नेपाली परिवेशको धुलोबाट निकालेर ऐनामा उतारेका छन् । सायमीले सायमीलाई गरेको यो आदर जातीयताका आधारमा नभएर व्यक्तिको योगदानका आधारमा हो भन्ने सत्य धुस्वाँको देशभित्र मात्र होइन देशबाहिर पनि सम्मानित भएको र प्रसिद्धि कमाएको व्यक्तित्वले पुष्टि गर्दछ । निबन्धकारले धुस्वाँलाई अन्तिम अवस्थासम्म पनि पुत्रवत् श्रद्धा गरेर नजिकबाट नियालेका अनुभवहरू यस निबन्धका विषय बनेका छन् ।

धुस्वाँ सायमी तराईको परिवेशबाट काठमाडौँ छिरेका हुन् । उनले काठमाडौँमा धेरै सङ्घर्ष गरेर आफूलाई स्थापित गरेका थिए तर उनको व्यक्तित्व अन्तर्राष्ट्रिय बन्न पुग्यो । निबन्धकारले गोबिन्दबहादुर मानन्धर कसरी धुस्वाँ बने भन्ने विषयमा संवेदनशील सन्दर्भ उठाएका छन् । काठमाडौँमा आएर पत्नी वसुन्धरासँग सिकेको नेवारी भाषा उनको मातृभाषा थियो । उनले आमाको काखमा सिक्न नसकेको कुरा पत्नीको सामीप्यमा सिके । उनमा नारीप्रतिको आदर मातृजातिको सम्मानका रूपमा अनेक कोणबाट प्रकट हुन्थ्यो भन्ने कुरा उनको मीसा र गंकी लगायतका उपन्यास र कविता आदिमा पाइन्छन् । देशभक्ति र मानवता उनको अर्को प्रवृत्ति थियो । नेपाली जातीयताका लेखक धुस्वाँ सायमी नेपालका बहुभाषी र बहुजातिका सम्मान गर्थे । निबन्धकारले धुस्वाँ सायमीको पुस्तक प्रेम र कलम प्रेमलाई यस निबन्धमा स्पष्टसँग उतारेका छन् । धुस्वाँ साहित्य र संस्कृतिको उत्थानका निम्ति व्यवहारमा सधैँ मानवीय देखिए तर वर्तमान विसङ्गतिका विरुद्ध कलममा सधैँ विद्रोही बने । उनले नेपाली भूमिमा साहित्य र कलाको उर्वर जमिन विस्तार गरेको विषयलाई निबन्धकार सायमीले लेखेका छन्ः “कवितामा बढी विद्रोही देखिने धुस्वाँको भाषा स्वतन्त्रताको भाषा हो, उनको लेखनको आफ्नै ग्रह कोसौँकोस टाढासम्म मान्छे र मान्छेभन्दा बढी अरू केही हुन सक्दैनथ्यो ।… उनले कहिले इतिहास लेखेनन् सधैँ वर्तमान लेखे, उनी छैनन् तर सधैँका लेखिने विषयमा उनी कलम मै छन्…।”

निबन्धकार सायमीले धुस्वाँ सायमीको साहित्यिक र सांस्कृतिक योगदानको पर्यवेक्षेण गरेर प्रस्तुत गरेको यो संस्मरणात्मक जीवनीबिम्बमा धुस्वाँलाई सदैव कालजयी र वर्तमानको निरन्तरताका रूपमा प्रतिबिम्बित गरेका छन् । कलात्मक शैलीका प्रयोक्ता निबन्धकार सायमीको उदार जातीय सहिष्णुता र मानवीय एकत्वभाव यस निबन्धमा प्रकट भएको अर्को विशेषता छ । उनका व्यक्तिबिम्ब जीवनीजस्तै छन्, जहाँ जीवनी पढिसक्दा वण्र्य चरित्रमा पाठकले श्रद्धा गर्न थाल्नु, आकृष्ट हुनु वा चरित्र नायकको धर्म वा दृष्टिकोणप्रति पाठकवर्ग मोहित हुनु जीवनी कलाको महान् सफल प्रयोग हो (प्रधान, २०४४, पृ ३०) । वास्तवमा जीवनपरक अनुभूतिमा लेखिएर पनि साहित्यिकताको तीब्र आकर्षण सायमीका उल्लिखित निबन्धका आस्वादन हुन् ।

निष्कर्ष
बर्सादी दिनहरूभित्रका निबन्धमा व्यक्तिबिम्ब अन्तर्गत लेखिएका निबन्धहरू ‘गुलजारः फुर्सदका रात र दिन’, ‘देवआनन्दः समय र सम्झनाको किताबमा’, ‘ध्रुवचन्द्र गौतमः एक अलिखित कथा’, ‘अनन्तिम गुरुः बासुदा’, ‘शङ्करः आत्मकथाको प्रतिध्वनि’, ‘मितेरी सङ्गीतका चिनारीः गोपाल योञ्जन’, ‘देवकोटाः स्मृति प्रदेशमा’, ‘धुस्वाँः कहिल्यै नझर्ने फूल’ गरी आठ वटा रहेका छन् । तिनका संरचनागत आधार लेखकको बौद्धिक ज्ञान र जीवनीगत जिज्ञासाबाट प्राप्त निजात्मक उच्च अनुभूति नै हुन् । यी निबन्धहरू शैलीका आधारमा चिन्तनपरक, संस्मरणात्मक, तुलनात्मक र बिम्बात्मक लेखनका रूपमा आएका सुन्दर आलेख हुन् । व्यक्तिवृत्तसँग सन्दर्भित निबन्ध लेखनमा इमान्दारी हुनु अत्यावश्यक हुन्छ । यसका निम्ति प्रस्तुत निबन्धमा त्यो सन्तुलन मिलेको पाइएको छ । धेरैजसो निबन्धहरू पात्रत्वका आधारमा शीर्षकीकरण गरिए पनि निबन्धभित्रको संरचनागत बनोट र बुनोटले भने उनका निबन्धलाई एकान्वित गरेका छन् । विषयको ज्ञान, विचार र चिन्तनको मौलिक स्वरूप तथा भाव र शैलीको उच्च सौन्दर्यले सायमीका व्यक्तिबिम्बमा आधारित निबन्धलाई नेपाली निबन्धका सांस्कृतिक, सामाजिक र राष्ट्रियताका अन्तःभूमिबाट निश्रित उर्वर शक्ति मान्न सकिन्छ । उनका यी निबन्धहरू व्यक्ति र व्यक्तित्वका पक्षमा जीवन र भोगाइ सापेक्ष रूपले चिन्तन गर्ने निबन्धकलाले युक्त छन् ।

सन्दर्भ सामग्रीः
त्रिपाठी, गीता (२०६६). दृष्टिविचरण. ललितपुरः भावक अभियान नेपाल ।
प्रधान, भिक्टर (२०४४). नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना.
काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
मोन्तेन (सन् १९७३). सेलेक्सन फ्रम द एस्सेज. इलिनोइस, अमेरिकाः हार्डलान् डेभिडसन इन
कर्पोरेशन ।
सायमी, प्रकाश (२०६९). बर्सादी दिनहरू (दो.संस्क.). काठमाडौँः रत्न पुस्तक भण्डार ।

(गीता त्रिपाठी त्रि.वि.रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा उपप्राध्यापक हुनुहुन्छ ।)