नेपाली साहित्य विश्वेश्वरप्रसाद कोइराला एक भाग्यमानी लेखक हुन् जसको साहित्य र राजनीति दुवैतर्फ उत्तिकै नाम र सम्मान प्राप्त छ । नेपाल र नेपाली राजनीतिमा उनी जतिको प्रभावशाली छन् साहित्यमा पनि उत्तिकै आदरणीय छन्। बिपी यता राजनीतिमा युग प्रवर्तक हुन् भने साहित्यमा पनि युग प्रवर्तक हुन् । जसरी राजनीतिमा उनी शिखरमा थिए, साहित्यिक फाँटमा पनि उचाइमा थिए । उनका छवटा उम्दा उम्दा उपन्यास, दुइवटा कथासङ्ग्रह, दुइवटा जीवनीका ग्रन्थ लेख्ने सशक्त आख्यानकार हुन् । उनी यसबाहेक एक कुशल निबन्ध लेखक हुन् । उनका कृति र कृतित्वसम्बन्धि अझै अध्ययन हुन बाँकी छ, उनका नखुलिएका पाटा हेर्न अझै बाँकी नै छ । नेपाली साहित्यमा उनका कृति धेरै अर्थमा ज्वाजल्य छन्। उनका कृतिहरूलाई आजको सन्दर्भमा नयाँ गरी अध्ययन गर्न सकिन्छ। उनका कृतिहरूका नयाँ र नखुलिएका पाटा हुन सक्छन् । एक त उनले आफ्ना आख्यान कृतिहरूमा नेपाली साहित्यको सुरू सुरूमा मनोवैज्ञानिकता दिएर नौलो प्रयोग गरेका छन् । उनले केही कविता लेखेको पनि पाइन्छ तर कविका रूपमा उनी त्यति सफल छैनन् ।

विश्वेश्वरप्रसाद कोइराला

यहाँ केही बुँदाहरूमा उनका केही पक्षहरूको अध्ययन गर्न सकिन्छ ।

१. अहिले आएर गहिरिएर विचार गर्दा बिपीले साहित्य र राजनीतिलाई सँगसँगै लगेका छन् । उनले यी दुई पक्षलाई एउटै सिक्काको दुईवटा पाटाझैं अक्षुण रूपमा सन्तुलित राखेका छन्। उनले मुलुकको अवस्था गरिबी, रोग, भोक, शोक, अन्याय, अत्याचार, अन्धकार, आधारभूत आवश्यकताको अभाव आदिका विरूद्ध राजनीति गरेका छन् । यता साहित्यमा पनि उनका पात्र-पात्राको चयन पनि यस्तै निम्न वर्गबाट लिएका छन् । खान र लाउन नपाई विदेसिनु परेको, अपाङ्ग, विधवा, गरिब, पागल, दुःखी, पीडित, ज्यामी र सर्वहारावर्गका मानिसहरूलाई पात्र चयन गरेका छन् । उनी मन, वचन र कर्मले नै उनी आमजनताप्रेमी थिए। उनको ध्येय चाहे राजनैतिक क्षेत्रमा होस् वा चाहे साहित्यमा होस्, जनसेवा र जनचेतना फैलाउने थियो । उनको जनताप्रेमलाई सैद्धान्तिक रूपमा साहित्यमा व्यक्त गरेका छन् भने त्यसलाई राजनैतिक रूप दिएर व्यवहारमा उतारेका थिए । यसकारण उनको सन्दर्भमा साहित्यिक र राजनैतिक व्यक्तित्व एकार्काका पूरक रूपमा देखिन्छ ।

२. दोस्रो कुरा, बिपीको आफ्ना साहित्य लेखन र राजनैतिक प्रतिबद्धतालाई समन्वित रूपमा जोडने मुक्तिको कामना हो। जसरी उनले नेपाल र नेपाली जनतालाई राणाशासनबाट मुक्ति, राजाको प्रत्यक्ष शासनबाट मुक्ति, मुलुकका जनतालाई गरिबीबाट मुक्तिको कामना गरेर राजनीति गरेका छन् । यता लेखनमा पनि मुक्तिबोध नै प्रमुख रूपमा पाइन्छ। उनका कथा र उपन्यासका पात्रले विभिन्न तहबाट मुक्तिको निम्ति चाहना र प्रयास गरेका छन् । ‘रिक्सा तान्ने’ कथामा रिक्सातान्ने गरेको एउटा गरिबले मालिकबाट मुक्ति पाएर कसरी खुसी भएको छ। अरू कथामा पनि मुक्तिको चाहना गरिएको पाइन्छ। सहिद कथामा पनि मूलतः मुक्तिलाई नै आधार बनाएको छ। ‘तीन घुम्ती’ उपन्यासकी इन्द्रमायाले पनि मुक्तिकै निम्ति आफ्ना तीनवटा महत्त्वपूर्ण निर्णय लिएको देखिन्छ।

३. बिपीको राजनैतिक व्यक्तित्व निर्माणको जगमा साहित्य र साहित्यिक व्यक्तित्व निर्माणमा राजनीतिको भूमिका खेलेको देखिन्छ। साहित्यमा पनि राजनैतिक चिन्तन प्रत्यक्ष र परोक्ष रूपमा हालेका छन्। ‘महाराजको सवारी’, ‘दोषी चश्मा’, ‘एक रात’ आदि कथाको मूल अभिप्रायः नै नेपाली जनताको राणाशासनबाट मुक्तिको चाहना छ। यता उनी राजनैतिक व्यक्तित्व भएर पनि उनको साहित्य बढी प्रचार प्रसार हुन पाएको हो। नेपालका प्रमुख दुई राजनैतिक दलहरूमा नेपाली काँग्रेसको सिद्धान्तमा हिँड्ने समालोचकहरूले उनलाई निकै बढाइ-चडाइ गरी लेखेका छन् भने उनका हरेक पक्ष केलाइ कुलाइ पनि गरेका छन्। अर्कातिर कम्युनिस्ट खेमाका समालोचकहरूले उनका कृतिहरूबारे बढी कमजोरी पक्ष केलाएका छन्। यसो हुँदा दुवै पक्षबाट उनी लक्ष्यित कृतिकार बनेका छन्। यसबाट पनि उनकै कृतिहरू बढी प्रज्ज्वलित भएका हुन्। यद्यपि उनको साहित्यिक योगदानलाई कुनै राजनैतिक दलगत चश्माले नहेरे पनि कसैले नकार्न भने सक्दैन।

४. उनको राजनैतिक प्रतिबद्धतालाई जाँच्न उनकै कृतिहरू साक्षी छन्। उनी एक प्रखर प्रजातन्त्रवादी, जनताको मुक्तिका चिन्तक र पक्षधर थिए। तीन घुम्ती उपन्यासकी इन्द्रमायाले आफ्नो माइतीको संकुचित कँज्याइमा नपरी पतिका रूपमा पीताम्बरलाई स्वेच्छाले वरण गरी। लोग्ने पीताम्बरको सतीत्वकै कँज्याइको प्रतिवाद र शारीरिक चाहना र मातृत्वका लागि रमेशलाई कायादान दिएकी हो। यता फेरि लोग्ने पीताम्बरको अनुचित प्रस्तावलाई लत्याएर लोग्ने र छोरीमध्ये एउटा चयन गर्नु पर्ने अवसरमा लोग्नेलाई छाडी छोरीलाई अपनाएकी हो। एकप्रकारले भन्नु हो भने इन्द्रमायाको माइती, लोग्ने, आफ्नो शरीर देखेर लोभिन आउनेहरू एकेकवटा व्यवस्था हुन्। उसले ती ती व्यवस्थालाई विकल्पहरूका रूपमा अपनाएकी हो। देशका जनताले पनि त्यस्ता राजनैतिक आस्थाका विकल्प अपनाउन सक्छन्। जनताले आफूलाई जता अनुकूल पर्छ, सुविधा पर्छ, त्यस्ता विकल्पहरू चुन्न सक्छन्। एउटै व्यवस्थामा कुँजिएर बसिरहनु आवश्यक छैन भन्ने पनि संकेत दिएका हुन् ,यसरी उनका प्रायः आख्यान कृतिहरूमा व्यक्ति स्वतञ्त्रताको वकालत गरिएको पाइन्छ।

५. बिपीको आख्यानात्मक कृतिहरूमा मनोविज्ञानको प्रयोगलाई निकै सफल मानिन्छ। नेपाली मनोविश्लेषणात्मक समालोचकको फाँटमा उनका कथा र उपन्यासहरू नै बढी मनोविज्ञानको नमूना र प्रायोगिक ठहर्दछन् र सबैभन्दा बेसी समालोचना गरिएको पाइन्छ। उनका यस्ता कृतिहरूमा विशेषगरी फ्रायडीय मनोविश्लेषणका विभिन्न पक्ष र सिद्धान्तहरूमाथि केन्द्रीत भई लेखिएका पाइन्छन्। यद्यपि उनका कृतिमा एडलर, युङ्ग, केरेन हर्नी, एरिक फ्राम आदिका मनोवैज्ञानिक सिद्धान्तहरू पनि विद्यामान हुन सक्छन्, यसबारे त्यति चर्चा भएको पाइन्न।

६.एडलरको क्षतिपूर्तिको सिद्धान्तअनुसारले हेर्दा ‘पवित्रा’ कथामा पवित्राले आफ्नो कमाइबाट किनेको सुनका गहना उपहार दिनु भनेको हीनताभावलाई क्षतिपूर्ति गरेर श्रेष्ठता हासिल गर्नु हो। उनका आख्यानमा कार्ल गुस्ताफ जुङ्गको सामूहिक अचेतन र ‘स्व’चेतना पनि प्रशस्त मात्रामा पाइन्छन्। उदाहरणका निम्ति तीन घुम्तीकी इन्द्रमायामा कायिक स्व र आदर्शस्वको द्वन्द्व पाइन्छ। सुम्निमा उपन्यासमा पनि यही द्वन्द्व पाइन्छ।

६. जसरी बिपीका कृतिहरूमा आधार गरी नयाँ नयाँ किसिमका पेन्टिङहरू चित्रकार र रङ्गकर्मीहरूले तयार पारेका चित्रहरूझैं उनका कृतिभित्रबाट नयाँ नयाँ क्षितिज उघ्रिँदै जानसक्छ, नयाँ नयाँ साहित्यिक, राजनैतिक वा अन्य कुनै किसिमका सिद्धान्तहरूका आधारमा व्याख्या- विवेचना गरिने सम्भावना देखिन्छ। बिपीका कृतिहरूको मनोवैज्ञानिक चिन्तनका अतिरिक्त समाजशास्त्रीय, अर्थशास्त्रीय, राजनितीशास्त्रीय अध्ययन पनि हुनसक्छन्। यता साहित्यशास्त्रका अस्तित्ववादी, विसंगतिवादी, शैलीवैज्ञानिक, संरचनावादी, भयवादी, रूपवादी, संकेतवैज्ञानिक, अन्तर्पाठात्मक, नाभिकीय इत्यादि दृष्टिकोणका आधारमा पनि व्याख्या गरिने सम्भावना प्रशस्तै छन्। यस दिशातर्फ केही काम नभएका पनि होइनन्।

८. बिपीलाई नेपालको विराटगरले हाम्रो बिराटनगरको बिपी भन्छ। भारतको बनारसले हाम्रा बिपी भन्ला, बिहारले पनि हाम्रो बिहारमा बाल्यकाललगायत धेरै बर्ष बिताएका, र हाम्रो बिहारमा पनि घर भएका हाम्रा बिपी भन्ने गरेका हुनसक्छ। उनको सम्बन्ध दार्जिलिङसित पनि रहेको थियो। दार्जिलिङमा पनि बिपीले लगभग दश महिना बसेर दार्जिलिङ जिल्ला अदालतमा वकालती गरेका थिए। उनी दार्जिलिङको जजबजारमा कुनै कार्कीको घरमा बस्ने गर्थे। दार्जिलिङका उनका घनिष्ठ साथी भवानीराज प्रधान थिए। साथीको कालिम्पोङ र सिक्किमको तुरूक भन्ने ठाउँको घरमा बिपी गइरहन्थे भन्ने बुझिन्छ। उनले हरिप्रसाद प्रधानको मातहतमा रही सन् १९४८-४९ मा वकालती गरेका थिए। उनले आफ्नो एल. एल. बी.को औपचारिक अध्ययनलाई दार्जिलिङमा मात्र दस महिना जति अभ्यास गरेका थिए। उनी दार्जिलिङमा छँदा नेपाली साहित्य सम्मेलन बेला बेलामा उपस्थित भइबस्थे। सम्मेलनकै प्रकाशकत्वमा उनको कथासङ्ग्रह ‘दोषी चश्मा’को पहिलो संस्करण प्रकाशित भएको थियो।

९. त्यतिबेला दार्जिलिङमा गोर्खा लीग दलको बोलबाला थियो। बिपीको काँग्रेस र भारतको गोर्खा लीगको पानी बाराबारको सम्बन्ध थियो। यद्यपि सन् १९४९ तिर गोर्खा लीगका संस्थापक अध्यक्ष डम्बरसिंह गुरूङको भर्खरै मात्र निधन भएको हुनाले उक्त दलमा एकप्रकारको राजनैतिक अन्योल र शून्यकालजस्तो थियो। त्यतिबेला बिपीले दार्जिलिङमा वकालती गरेका थिए।

१०. बिपी मध्यमार्गी साहित्यकार हुन्। उनका कृतिहरूमा समाजवादी र समाजवादेतर चिन्तन पाइन्छ। उनी अतिवादको विरोधी थिए। मुलुकमा विद्यमान तत्कालीन धार्मिक कट्टरवादको उनले परोक्ष रूपमा खण्डन गरेका हुन्। तीन घुम्तीकी इन्द्रमाया र पीताम्बरले आ-आफ्ना कुल-घरानाको उल्लंघन गरी अन्तर्जातीय बिहे गरेका छन्। सुम्निमा उपन्यासको सोमदत्त र उसको सन्तान आफ्नो कठोर ब्राह्मणोचित संस्कारबाट च्युत भई मिश्रित संस्कारका भएका छन्, नरेन्द्र दाइ उपन्यासको नरेन्द्र दाइले पनि आफ्नो कुल घराना सुहाउँदिली गौरीलाई लत्याएर केवटकी छोरी मुनरिया लिएर हिँडेको छ। ‘कथा’ कथाको तपसी मुनि पनि तापसी जीवनबाट च्युत भई अति सामान्य मान्छे भएको छ।

११. बिपीले सामाजिक, राजनैतिक, वैचारिक परिवर्तनलाई आफ्ना साहित्यिक कृतिहरूमा समर्थन गरेका छन्। समाज कहिले पनि जड भएर अपरिवर्तित रहन सक्दैन। नयाँ नयाँ विचार, चिन्तन र व्यवस्था, संस्कार, सभ्यता आदिलाई समयानुकूल अद्यावधिक पार्दै लगे मात्र मान्छेले आफूलाई बाँच्न अनुकूल पाउँछ। उनका प्रायः जसो आख्यानमा यस्ता परिवर्तनका लक्षण देखा पर्छन्। सोमदत्तमा घोर परिवर्तन आएको छ, नरेन्द्र दाइको मन र तन परिवर्तन भएर फेरि गौरीलाई अपनाउन आएको छ, पीताम्बरलाई ग्रहण गर्ने इन्द्रमायाले मन परिवर्तन गरेर पीताम्बर त्यागेकी छ। यसैगरी अन्य कृतिमा पनि परिवर्तनका लक्षण देखा पर्न सक्छन्।

१२. बिपीका केही उपन्यास र कथाहरू उत्तर बंगाल विश्वविद्यालयको तीन वर्षे बी. ए. नेपाली साधारण, बी ए नेपाली अनर्स र स्नातकोत्तर तहका पाठ्यक्रममा समाविष्ट छन्। तीन घुम्ती र सुम्निमा उपन्यास तथा कथा कुसुमका तीनवटा कथाहरू, पवित्रा आदि कथाहरू पढाइन्छन्। यसरी यता बिए र एमए तहका विद्यार्थीहरूलाई विश्वेश्वरप्रसाद कोइराला एकजना आख्यानकार मात्र नभई एकजना राजनैतिक नेता, नेपालमा एक सय चार वर्षे राणा शासन हटाउने गरिएको आन्दोलनका नायक थिए, क्रान्तिकारी नेता थिए, नेपालमा प्रजातन्त्र आएपछि त्यहाँको गृहमन्त्री र पछि नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री रहेका थिए, भारतको स्वाधीनता संग्राममा पनि नेतृत्व पंक्तिमा नै रही सक्रिय रूपमा भाग लिएका थिए इत्यादि कुराको प्रसङ्ग झिक्दा उनीहरू आश्चर्य मान्ने गर्छन्। उनी नेपालका पहिलो चुनावबाट चुनिएका पहिलो प्रधानमन्त्री थिए भन्ने कुरा यताका विद्यार्थीले जान्दैनन्। अबका यतातिरका विद्यार्थीका लागि बिपी राजनैतिक व्यक्तित्व थिए भन्ने कुरा हराउँदै गएको छ। यसका साथै नेपालतिर पनि पछिपछिका पुस्ताले उनको राजनैतिक व्यक्तित्वलाई बिर्सन सक्छन्। अतः उनको राजनैतिकभन्दा साहित्यिक योगदानले मात्र उनलाई अमरत्व प्रदान गर्ने सम्भावना देखिन्छ। उनका राजनैतिक कृतित्वभन्दा साहित्यिक कृतिहरू नै उनको अस्तित्वको मोहरछाप हुन्।

१३. बिपीले कथा कुसुमका निम्ति पहिले ‘महाराजको सवारी’ भन्ने कथा दार्जिलिङ पठाएका थिए। यस कथामा प्रत्यक्ष रूपमा राणाशासनसम्बन्धी केही प्रतिकूल विचार हुनाले स्वीकृत भएन। पछिबाट मात्र उनका बिहा, शत्रु र सिपाही गरी तीवनटा कथा पठाएर त्यसमा समावेश गरिएको थियो।

१४. बिपीले आममानिसको धुकधुकीलाई नजिकबाट नियालेर हेरेका थिए। नेपाल आम जनताको बाहिरी विभिन्न तहमा राजनैतिक कुव्यवस्था, अस्तव्यस्तता, शोषित, पीडित मात्र नभई मानसिक संसारको पनि दुर्दशा देखाउने प्रयत्न गरेका हुन्। समष्टिले व्यष्टिलाई पारेको प्रभावलाई नियालेर हेरेका छन्। मान्छेको मानस संसार पनि ठुलो तत्त्व हो। यसलाई लत्याएर मान्छेको बाह्य संसारको विचरण मात्र गरे अधूरो र अपूरो हुन्छ। उनका निरीह पात्रहरूको मानसिक संसारमा पाइने पीडा, चिन्ता, औडाहा, चाहना, छटपटी, पीर मर्का आदिलाई देखाउने प्रयास गरेका छन्। विधवीलाई दामभन्दा शारीरिक कामको पीडा छ, बुढो, भोटे, गोरे आदिलाई काम, दाम र मामको पीडा छ, केशवराजलाई चाकरीको पीडा छ, पवित्रालाई पत्नीत्व नहुनुको पीडा छ, कर्णेल्नीलाई पनि अतृप्तिको पीडा छ ,सबैलाई एकेक कुराको पीडा छ। यसरी बिपीले मान्छेको बाहिरी मात्र होइन, मानसिक अवस्थाको पनि विचरण गरेका छन्। यसैमा उनको विशेषता, महानता र मानवतावादी धारणा पाइन्छ।

१५. बिपीले आफ्ना आख्यानहरूमा व्यक्ति स्वतन्त्रता, देहवादको समर्थन, वर्तमानप्रति आस्था र भविष्यप्रति आशा आदि देखाउनु पनि नेपाली जनतामा स्वतन्त्रता र क्रान्तिको सन्देश फैलाउनु थियो। ब्रह्म सत्य जगन्मिथ्या भन्ने मान्यताहरू पनि नेपालको क्रान्तिमार्गमा बाधा हुनसक्थे। यो वर्तमान भ्रम हो, हामीले त मोक्ष प्राप्तिका निम्ति कर्म गर्नुपर्छ, यो शरीर र जुनीलाई नहेरेर परलोकको बाटो सुधार्नु पर्छ भन्ने सन्देश प्रसारित भइरहन्थे। नेपालको प्रजातन्त्रको बहालीको निम्ति ठुलो आम जमातको आवश्यकता थियो। मुलुकमा चलेको आन्दोलनका लागि यस्तो मान्यतालाई भत्काउनु आवश्यकता थियो। यस्तो मान्यता तोड्नका निम्ति राजनैतिक भाषणले मात्र काम दिँदैन थियो। यसका लागि त ठुलो सांस्कृतिक र बौद्धिक सचेतताको आवश्यकता थियो। अतः बिपीले आफ्ना कृतिहरूका माध्यमले जनतामा आफ्नो शरीरको माया, वर्तमान र भविष्यप्रति आस्था, पलायनवादी र यथास्थितिवादी भाग्यवादप्रति अनास्था जगाइ क्रान्तिको मार्गमा ल्याउने सन्देश र आह्वान गर्नु थियो।

१६. बिपीको सुम्निमा उपन्यास प्रकाशित भएपछि यसमा किरातीहरूको संस्कारबारे भूल सूचना सर्वराह भएको छ भनेर केही किराती समूहहरूले जलाएको कुरा सुनिन्थ्यो। यद्यपि यसमा त किरातीहरूको भन्दा ब्राह्मणहरूको बढी प्रतिकूल स्थिति देखाइएको छ। यसमा ब्राह्मणहरूको संस्कति स्खलित भएको देखाइएको छ। सुम्निमाको लौकिक सिद्धान्तको अघि अन्तमा सोमनाथको जीवनभरि गरेको तपश्चर्या धूलिसात भएको छ। जप-तप र साधनाभन्दा मनुवादहबाट नै अलौकिक आनन्द प्राप्ति हुन्छ, जीवनको सार्थकता रहेछ भन्ने विचार अघि सारिएको छ। सुम्निमाहरूको शरीरधर्मी मतका अघि आत्मधर्मी मत पराजित भएको देखाइएको छ।

१७. सुम्निमा उपन्यासमा आर्येली सोमदत्तको छोरा र किराती सुम्निमाकी छोरीको बिहा गरिदिएर तिनको सन्तान नै नेपाली जातिको सृष्टि भएको परिकल्पना गरिएको छ। नेपाली जाति भनेको आर्य र किराती दुवैको सम्मिश्रित र समन्वित रूप हो भन्ने सन्देश दिएको पाइन्छ।