(द गार्डियन पत्रिकामा प्रकाशित आलेखको  भावानुवाद ।)

टुबिन्जेन विश्वविद्यालयको बोटानिकल गार्डेनमा सेनाको गाडी रोकिँदा धेरैले आश्चर्यले हेरेका थिए । विश्वविद्यालयमा सेनालाई हेयको भावमा हेरिन्छ । त्यहाँ देखा पर्न सेना पनि चाहँदैन । १५ औं शताब्दीमा निर्माण शुरु भएको यो विश्वविद्यालय युरोपकै पुरानामध्येमा गनिन्छ । यसैले प्रख्यात फिलोसफर हेगेल, कवि फ्रेडरिक होल्डर्लिन जन्माएको छ । अहिलेको जर्मनीको शक्तिशाली हुँदै गएको जर्मन ग्रिन पार्टी यो क्षेत्रको सबैभन्दा गढ मानिन्छ । सन् २०१८ मा यहाँ युरोपकै सबैभन्दा सशक्त आर्टिफिसियल इन्टेलिजेन्स शोध केन्द्र बनाउन खोज्दा विद्यार्थीहरुले चर्को विरोध गरे । आर्टिफिसियल इन्टेलिजेन्स (आइई)लाई यो विश्वविद्यालयमा ठाउँ दिनु भनेको त्यसको दुरुपयोग गर्दै हतियार निर्मातालाई डुँडुलो दिनु हो भन्ने कतिपयको मान्यता थियो । पैसाको बल लोभ देखाउँदै हतियार अनुसन्धानमा खर्च गरिनु विश्वविद्यालयको पुरानो परम्परा इतर कार्य गर्नु हो भन्दै विरोधसमेत भएको थियो ।

विरोधका बाबजुद विश्वविद्यालयसँग सेनाको सहकार्य अघि बढ्ने नै भयो । यस सहकार्यलाई विश्वविद्यालय र सेनाले प्रोजेक्ट कसान्द्रा नामकरण गर्यो । विश्वविद्यालयका शोधार्थीहरुले जर्मन प्रतिरक्षा मन्त्रालयलाई भविष्यको युद्ध के, कसरी, कहाँ र कस्तो अवस्थामा लडिन्छ र अवस्था केसम्म हुनसक्छ भन्ने भविष्यवाणी गर्नु थियो । यो अनुसन्धानका लागि दुई वर्षको समय तोकिएको थियो ।

गुर्जेन वेथेमेर

रोचक त के थियो भने यो परियोजनामा भाग लिने अनुसन्धाताहरु कोही पनि आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञ थिएनन् । उनीहरु वैज्ञानिक पनि थिएनन् न त कुनै राजनीतिक विश्लेषक थिए । तुलनात्मक साहित्यका विशेषज्ञ गुर्जेन वेथेमेरको अगुवाईमा एउटा सानो टोली थियो यो ।

सेनाका अधिकारीहरुसँगको यो टोलीको विशेष भेटपछि टोली तनावमा थियो । तनाव के को थियो भने, सेनासँग सधैँ ३६को आँकडा पाल्ने यो विश्वविद्यालयले सर्वसाधारणलाई पहिले केही लुकाउँदैनथ्यो । गोप्य केही हुँदैनथ्यो । पारदर्शिता यसको मूल मन्त्र थियो । के अब सेना आएर आफूसँग गरेको सम्झौता सर्वसाधारणलाई खुलासा गर्ने ? कि नगर्ने ? नगरौँ, विश्वविद्यालयको नीतिविरोधी हुने, गरौँ, विषय निकै गम्भीर छ । त्यो पनि प्रतिरक्षाको विषय हो । गोप्यता यसको पहिलो नियम हो ।

वेथेमेरकी सहायक इसाबेल होल्ज भन्छिन्, ‘यस्तो अप्ठेरो यत्तिका वर्ष हामीले झेलेका थिएनौं ।’

पछि सेनासँग विश्वविद्यालयले सहकार्य नगर्ने भयो । यसको साटो एउटा नयाँ उपाय अघि सारियो, जसले गर्दा विश्वविद्यालयको साँप पनि मर्यो, लाठी पनि भाँचिएन । यो अप्ठेरो सुल्झाउन उनीहरुले अर्को एउटा संस्थासँग सहकार्य गरे, जसको नाम थियो, ग्लोबल इथिक इन्स्टिच्युट (जिइआई) ।

जिइआईसँग सम्झौता भएपछि स्थानीय अखबारले यस खबरका बारेमा एउटा सानो समाचार छाप्यो, जुन विश्वविद्यालयको नैतिकताबाहिरको थिएन र यसले उनीहरुलाई नैतिक अप्ठेरोमा पनि पार्ने थिएन । अब उनीहरु सेनासँग होइन, सेनाले कहिलेकाहीँ सहयोग गर्ने एउटा संस्थासँग मिलेर काम गरिरहेका थिए ।

प्रोजेक्ट कसान्द्राको सहयोगले अब भविष्यमा हुने गृहयुद्ध, ठूला मावनीय क्षतिजस्ता कुरालाई समयअगावै पहिचान गर्न सहयोग पुग्न सक्ने अपेक्षा विश्वविद्यालयको रहेको समाचारमा जनाइएको थियो ।

जब समाचार छापियो, केही मानिसले यस्तो अनुसन्धान पागलहरुले मात्र गर्ने धारण व्यक्त गरे । हुन त समयअगावै जसले जेजस्तो घटना देख्छ, उसलाई समाजले पागल घोषणा गर्ने हो । त्यसैले यस अनुसन्धानमा भाग लिनेहरुले यसलाई उति गम्भीरताका साथ लिएनन् ।

को हुन्, कसान्द्रा ?

प्राचीन ग्रिसेली मिथककी नायिका हुन् कसान्द्रा । खासगरी उनका बारेमा होमरको इलियाडमा यसबारे छोटो कथा लेखिएको छ । जसमा ऊ ट्रोजन मन्दिरकी पुजारी हुन्छे । ऊ भविष्य देख्न सक्छे । उसले एक पटक मिसिनियाली राजा अगामेमनन उसकी रानी तथा प्रेमीबाट मारिने भविष्यवाणी गर्छे । ओडिसियस १० वर्षसम्म यता र उता भौंतारिने पनि उसले बताएकी थिई । उसको भविष्यवाणीलाई कसैले पनि पत्याएन । उसले दिएका प्रत्येक चेतावनीलाई मतलब गरिएन । कतिसम्म भने कसान्द्रा वैचारिक रुपमा भौँतारिएकी र असल आत्माहरुद्वारा परित्यक्त मानियो । पछि त कसान्द्रालाई आफ्नै भविष्यवाणीप्रति विश्वास लाग्छ छाड्यो । अरुले उसलाई यति उछित्तो काढे कि आफ्नो दूरको भविष्य देख्ने खुबी छ भन्ने पनि बिर्सिई ।

अहिलेका लेखकहरु कसान्द्राको नियति भोगिरहेका छन् । उनीहरुले गरेका भविष्यवाणीहरु कसैले पनि पत्याइरहेका छैनन् । उनीहरुले बोलेका प्रत्येक शब्द खेर गइरहेका छन् र त्यस्तो पनि हुन्छ र ? भन्ने आशंका व्यक्त भइरहेका छन् । अहिले भविष्यमा के हुन्छ भनेर पहिल्यै भविष्यवाणी गरेर लेखिएका कयौँ आलेखहरु इन्टरनेटमा छताछुल्ल पाइन्छ तर ती कुनै पनि कुरालाई भविष्यवाणीका रुपमा नलिएर संयोगका रुपमा मात्र लिइन्छ ।

सन् १९१४ मा जब विश्वयुद्ध शुरु हुनै लागेको थियो, प्रख्यात साहित्यकार एचजी वेल्सले आणविक बम, त्यसको रेडियोएक्टिभ तत्त्वले युद्धभूमिमा पार्ने असरका बारेमा लेखेका थिए । त्यो भविष्यवाणीको तीन दशकपछि ठीक त्यस्तै असर हिरोसिमा र नागासाकीमा बम खसालिएपछि देखियो ।

यसैगरी बेलायती लेखक जोन ब्रुनरले सन् १९६९ मा एउटा समयपछि युरोपेली राष्ट्रहरु एउटै राष्ट्रमण्डलको सदस्य हुने भविष्यवाणी गरेका थिए, जुन पछि युरोपियन युनियनका रुपमा देखाप¥यो । कतिसम्म भने उनले त चीन संसारकै शक्तिशाली मुलुक हुने, आर्थिक पतन देखिने, राष्ट्रपति ओबोमीलाई अमेरिकाले चयन गर्ने भनी लेखेका थिए । उनले अमेरिकाको सबैभन्दा सशक्त उद्यमशील राज्यका रुपमा चिनिएको मिचिगनको डेट्रोइट शहर उजाड हुनेसमेत भविष्यवाणी गरेका थिए ।

यस्तो भविष्यवाणीमा जर्ज अर्वेलको १९८४ लाई कसरी पो बिर्सन सकिएला । उनले एकल पार्टीको निरंकुशता, बिग बोसजस्ता कुराहरु लेखेका थिए । उनले उपन्यासमा वर्णन गरेका चिजहरु पछि अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीको प्रिज्म सर्भिलेन्स प्रोग्राममार्फत प्रमाणित भयो । अहिले त चीनले पनि अनुहार चिन्ने क्यामेरा बनाएको छ, जसबाट सरकारले चाहेको बेला, जुनसुकै व्यक्तिको गतिविधि नियाल्न सक्छ ।

गुर्जेन वेथेमेर

वेथेमेर भन्छन्, ‘महान् लेखकको गुण भनेको नै भविष्य नियाल्न सक्नु हो । उनीहरुमा यस्तो केही सुँघ्ने चेतना हुन्छ, जुन अरु कसैमा हुँदेन ।’

सन् १९८३ मा पूर्वी जर्मन साहित्यकार क्रिस्टा वल्फले ‘कसान्द्रा’ नामक उपन्यास लेखेकी थिइन् । उनले आफ्नो देशको नियति कसरी खस्कदैछ भन्ने देखाइरहेकी थिइन् तर त्यो बेला उनको उपन्यासलाई नचाहिँदो चिन्ता भनी नेताहरुले खासै भाउ दिएनन् । त्यो बेला नै नेताहरुले यस किसिमका उपन्यासलाई सस्तो र बजारु चर्चाका लागि लेखिएका चिज नठानी, सिस्मोग्राफ ठानिएको भए, तिनले आउँदै गरेको भूकम्प र सुनानी पत्ता लगाउन सक्थे ।

साहित्यमा उठाइएका कुराहरुलाई गम्भीरतापूर्वक लिइएको भए निकट भविष्यमा फैलिने हिंसा र आतंक, विप्लव रोक्न सकिन्थ्यो ।

वेथेमेर १९४७ मा म्युनिख शहरमा जन्मिएका थिए । उनका यहुदी बा डचाउको कन्सन्ट्रेसन क्याम्पबाट भाग्न सफल भए । युद्धअवधिभर उनी लुकिहिँडे । सन् १०६८ मा उनी कलेज भर्ती भए तर चाँडै नै राजनीतिक उहापोहको दलदलमा फँसे ।

वेथेमेर भन्छन्, मलाई भिडबाट सधैँ डर लाग्छ । त्यसैले जीवनमा म कहिल्यै ¥याली र आन्दोलनमा भाग लिन गइनँ । बरु त्यसको साटो उनी पुस्तकालयमा दिनभरि बिताइदिन्थे । उनको आदर्श व्यक्ति थिए, स्टेफन जर्ज, जो त्यो बेलाका चर्चित कवि थिए । उनको धारणासँग वेथेमेरको विचार मिल्थ्यो किनभने उनी पनि कला कलाका लागि प्रस्तुत गर्ने हो, राजनीति गर्ने होइन । त्यसैले जीवनभर उनी साहित्य र कलामा डुबिरहे । त्योबाहेक उनीसँग कुनै अर्को इच्छा रहेन ।

वेथेमेर भन्छन्, साहित्य तपाईंको प्यासन हो भने त्यो प्यासन कहिलेकाहीँ ठूलो भार पनि बन्न सक्छ । सन् २००० पछि लिबरल आर्ट अर्थात ह्युमानिटिज विभाग क्रमशः कमजोर हुँदै जान थाल्यो । कतिले यो विधाको पढाइको काम नभएको निष्कर्ष निकाल्न थाले । उनी यो मान्न तयार थिएनन् । अन्यत्र ह्युमानिटिजको सेवा, सुविधा र अनुसन्धानका कार्यहरु कटौती हुँदै गर्दा यो विश्वविद्यालयमा भने कहिल्यै त्यो अवस्था आएन । त्यसमाथि ह्युमानिटिजलाई जर्मन सेनाले समेत भविष्य केलाउन सक्ने विभागका रुपमा इज्जत दिएपछि त उनीहरुलाई केही गरेर देखाउनुपर्ने बाध्यता पनि आइप¥यो ।

सन् २०१४ डिसेम्बर १५ मा त्यो बेलाकी जर्मन रक्षा मन्त्री उर्सुला भोन डेर लियेन (हाल युरोपेली कमिसनकी अध्यक्ष)लाई वेथेमेरले पत्र लेख्दै भनेका थिए, उत्तरी नाइजेरियाली क्षेत्रमा बोको हरामले जेजस्तो कार्य गरिरहेको छ, त्यसलाई रोक्न जर्मनीले एउटा विशेष परियोजना शुरु गर्नु जरुरी छ । त्यसका लागि उनले शब्दशक्तिको उदाहरण दिएका थिए । बोको हरामले पश्चिमा शिक्षा प्रणालीले संसारलाई यो अवस्थामा ल्याएका हुनाले तिनको समूल नष्ट हुनुपर्ने घोषणा गरिरहेको थियो । त्यसको प्रतिरोधमा उनले शब्दशक्ति परियोजना शुरु गर्न सेनालाई आग्रह गरेका थिए ।

जसअन्तर्गत उनले एउटा यस्तो सिद्धान्त प्रतिपादन गरेको घोषणा गरेका थिए, जसलाई एउटा फ्रेमवर्कमा राखेर जर्मनीको सैनिकहरुलाई विदेशमा कार्य गर्न पठाउँदा फलदायी हुनेछ । तर सो चिठ्ठीको उनले कहिल्यै प्रत्युत्तर पाएनन् । सन् २०१५ को वसन्त याममा रक्षा मन्त्रालयको राजनीतिक विभागले भने उनलाई एउटा बैठकका लागि निम्त्यायो । सो बैठकपछिका दुई वर्षमा सेनाले उनको प्रस्तावलाई स्वीकृति दिँदै साहित्यलाई पनि ‘पूर्व चेतावनी प्रणाली’मा समावेश गर्ने उल्लेख गरिएको थियो । जसमा, साहित्यका माध्यमबाट बोको हराम तथा कोसोभोको युद्धलाई भविष्यवाणी गर्न सकिन्छ भन्ने कुरा रुपमा पढाउनुपर्ने जिम्मेवारी उनको काँधमा थियो ।

सन् २०१७ को वसन्त याममा वेथेमेरले शोधकर्ताहरुको एउटा सानो समूह भेला पारे, जसमा फ्लोरियन रोग पनि थिए । वेमर गणतन्त्रका बेला प्रजातन्त्र विरोधी व्यंग्य र बाडर मेइनहफ समूहको आतंकमाथि उनले तुलनात्मक अध्ययनको पिएचडी थेसिस अनुसन्धान गरिरहेकी थिइन् ।

यो सानो समूहले त्यो बेला नाइजेरिया, अल्जेरिया र कोसोभोका साहित्यहरु भेला पारेर त्यो विप्लव, विद्रोह र आतंक शुरु हुनुअघि साहित्यले तिनै कुराको भविष्यवाणी गरिरहेका थिए कि थिएनन् होला भनी अध्ययन थाल्यो ।

खासमा अनुमानै गर्न नसकिने भविष्यको अनुमान गर्नु २१ औं शताब्दीमा पश्चिमाहरुको एउटा रोग नै भइसकेको छ । बोस्निया र रुवाण्डाजस्ता घटना पहिल्यै अनुमान गरी रोक्न सकिन्थ्यो भन्ने मान्यता राख्नेहरु नै अफगानिस्तानको युद्धमा फसे । तिनैले इराक युद्ध गरे ।

सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमाण्ले अफगानिस्तान हान्ने नियतिमाथि सन् २००७ मा लेखक नसिम निकोलस तलेबले द ब्ल्याक स्वान पुस्तकमा बडो सुन्दर तरिकाले व्याख्या गरेका छन् । उनले त्यस्ता घटनाहरुलाई ‘ब्ल्याक स्वान इभेन्ट्स’ नामकरण गरेका छन् । यस्ता घटना विरलै हुन्छन् तर तिनले सशक्त प्रभाव मात्र छाड्दैनन्, यसको ठीक विपरीत घटना के घट्न सक्छन् भनी दागहरु छाडेर जान्छन् । नभन्दै त्यस्ता दागहरु अनेक देखिन थालेका छन् ।

यो पुस्तक बेस्टसेलर बन्यो । त्यसयता पनि लेहम्यान ब्रदर्स नामक अमेरिकी बैंक २००८ मा कंगाल भयो । युरोपेली ऋण संकट २००९ मा घट्यो । ब्रेक्जिट र ट्रम्पजस्ता घटना २०१६मा देखिए । सन् २०२० मा कोभिड १९ को आतंक छायो । अब यसपछि के हुन्छ ? साहित्यकारहरुले यसको जवाफ साहित्यमार्फत दिइरहेका छन् । अर्को कुनै ठूलो संकट हामीलाई कुरेर बसिरहेको छ । त्यो के हो भन्ने कुरा सरकारहरुले मिहिनतापूर्वक त्यसको अध्ययन गर्न जरुरी छ । त्यसलाई घटनबाट जोगाउनुछ ।

भविष्यमा कहाँ के हुँदैछ भन्ने कुराको अग्रिम जानकारी पहिला प्रख्यात जासुसी संस्थाहरुलाई हुन्थ्यो । किनभने उनीहरुसँग सूचनाको पहुँच थियो । अहिले त्यस्ता सूचना जताततै छरिएका छन् । छरपष्ट सूचनाका कारण तिनको अध्ययन अनुसन्धान जासुसलाई मात्र छाडेर सम्भव हुँदैन । यी सूचनालाई सरकारका अन्य निकायहरुले पनि नियाल्नुपर्ने आवश्यकता छ ।

अमेरिका र स्कान्डिनभियन मुलुकहरुले विद्रोह आँकलनजस्ता कुरामा आर्टिफिसियल इन्टेलिजेन्सलाई जिम्मा लगाइरहेका छन् । बेलायतमा यो काम एलन टुरिङ इन्स्टिच्युटले गरिरहेको छ । उसले ग्लोबल अर्बन एनाटिक्स फर रिसाइलेन्ट डिफेन्स (गार्ड प्रोजेक्ट) अन्तर्गत यस्तो अनुसन्धानका कार्यलाई अघि बढाइरहेको छ ।

जर्मनीले आफूलाई इराक युद्धमा अमेरिकासँग सती गएन । बेलायत गयो । अफगानिस्तानमा पनि उसले थोरै लगानी गरेको छ । बरु उसले म्युनिखको जर्मन फेडरल आर्म फोर्सेज युनिभर्सिटीमा ‘अनुमान, दृश्यावली, पूर्व संकेत’जस्ता कुरामा लगानी ग¥यो । अन्तर्राष्ट्रिय राजनीतिका प्राध्यापक कार्लो मसलाको रेखदेखमा संसारभरका जारी संकटबाट निस्कने मूल निचोड सेनालाई पस्कने गर्दछन् । उनले जारी घटनाहरुले सो देश वा त्यो देशभन्दा पनि बाहिर के के असर, कुन बेला पार्न सक्छ भन्ने विश्लेषण गर्ने गर्छन् ।

इसाबेल होल्ज, गुर्जेन वेथेमेर र कार्लो मसला

अचेल संसारभरिका बम विष्फोट, विद्रोह, आन्दोलन लगायत राजनीतिक उथलपुथलका घटनाहरु आइबिएमले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म वाट्सनमा हालिन्छ । वाट्सनले ती अप्रशोधित सूचनाहरु विश्लेषण गर्ने गर्छ । वाट्सनको सदुपयोग यसअघि नै एंगेला मर्केलको सरकारका पालामा भइसकेको छ । मोजाम्बिकको उत्तरी क्षेत्रस्थित काबो डेल्गाडो प्रान्तमा त्यहाँ आउँदो विद्रोहको शैलावलाई भविष्यवाणी गर्न सफल भएको थियो । नभन्दै भविष्यवाणीको १२ देखि १८ महिनामा यहाँ विप्लव चर्किने घोषणा सही साबित हुन पुग्यो ।

संसारका अन्य मुलुकमा भन्दा जर्मनी अल्गोरिदम गणनामा आधारित रणनीतिक आकलनमा बढी नै मुग्ध भएको देखिन्छ । ‘अमेरिका एआईमा अलि बढी नै भर परेको देख्छु तर हामी भने अझै पनि मान्छेको आकलनमा त्यति धेरै अविश्वासी भइसकेका छैनौं,’ कार्लो मसला बताउँछन् । अल्गोरिदमले ८४ प्रतिशत काम गर्ला तर प्रतिशत बढाउन, मानव विश्लेषण पनि उत्तिकै आवश्यक पर्छ । यसको विकल्प अहिले छैन ।’

आइबिएमको वाटसन सुपर कम्प्युटरले ५०० गिगाबाइट्स (१० लाख किताब बराबरको प्रोसेसिङ क्षमता) संकट आकलन क्षमतामा केही आशावादी ठाउँ छाडेको छ । तर वाटसनले ‘बिटविन द लाइन’का कुरा पढ्न सक्तैन । त्यसका लागि साहित्यमा पोख्त प्राध्यापकले त्यो ठाउँमा अध्ययन गर्न सक्छन् ।

तीन सदस्यीय शोधकर्तामध्ये एक फ्लोरियन रोग भन्छिन्, ‘शुरुमा त हामीले के गर्ने भन्ने भेउ नै पाएनौं । खाली दिनभरि पुस्तकालयमा पुस्तक अध्ययन गर्नबाहेक हामीले केही गरेनौं ।’

यिनले आफ्नो कामलाई ‘टेक्स्ट माइनिङ’ (अक्षर खन्ने) मा सीमित राखे । केही निश्चित पुस्तकका भावनात्मक शब्दहरु, तिनका वाक्यांशहरुको समूह निर्माण गरे । तिनलाई विशेष मुद्दामा जोड्दा कस्तो प्रभाव पर्छ भनी हेरे । तिनै शब्दलाई भौगोलिक क्षेत्र र राजनीतिक अनुहारसम्म ताने । त्यसका लागि उनीहरुले सूचनाप्रविधिका विज्ञसँग थप परामर्श गरे । टेक्स्ट माइनिङका लागि बढीभन्दा बढी पुस्तकहरु डिजिटाइज गर्नुपर्ने हुन्छ । विज्ञहरुले जुन शब्द वा वाक्यांश समूहको खोजी गरेका हुन्छन्, तिनलाई पहिल्यै परिभाषित गरिएको हुनुपर्छ । ‘सबै साहित्यिक पक्षलाई हामीले नियाल्नुपर्छ,’ रोग भन्छन्,‘र, त्यो पुस्तकले हामीलाई जे कुरा पहिल्यै थाहा छैन, त्यो हामीलाई सिकाउनुपर्छ । अनि मात्र हाम्रो काम देखिन्छ ।’

यसका लागि उनीहरुले त्यस्ता पुस्तकहरु मात्र प्रायः छनोट गरेका छन्, जुन ज्यादै लोकप्रिय या पुरस्कृत पुस्तकहरु छन् । कस्ता विषयका किताबले पाठकलाई उद्वेलित गरेका छन्, केवल ती मात्र उनीहरुको सूचीमा पर्छन् । उदाहरणका रुपमा, निश्चित पुस्तक निस्केपछि किताब प्रतिबन्धित भएको छ ? पुस्तकका लेखकले देश छाड्न बाध्य भएका छन् ?

जस्तो कुवेतमा सन् २०१० पछि बाइदुन अल्पसंख्यकहरु मारमा परेका थिए । त्यसका बारेमा लेखिएका कयौँ उपन्यासहरु, आलेख वा अन्य चिजबिजहरु सरकारी नजरमा मात्र परेन, ती प्रतिबन्धित वा सेन्सरमा परे । यसले बाइदुन अल्पसंख्यकहरुको विद्रोह बढाउँदै मात्र गएन पछि सरकारले २०१९ मा उनीहरुमाथि निमर्म तरिकाले आन्दोलन दबाउनुप¥यो ।

प्रायः अनुसन्धाताहरुले यस्ता पुस्तकहरु अनुवादमा पढेका हुन्छन् । अनुवादले ती विद्रोह चेतलाई नपछ्याउन सक्छ वा पाठकले त्यसलाई विद्रोह कहिले हुन्छ भनी अनुमान गर्न कठिन पाउन सक्छ ।

यो प्रोजेक्ट अवधिमा रोगले ३० भन्दा बढी उपन्यास पढ्न सकेनन् । बरु वेथेमेर समूहले अर्को एउटा उपाय रच्यो । विद्रोह चेत छर्ने पुस्तकमाथि समीक्षकहरुले के भन्छन् भनी बुझ्न चाह्यो । यसमा जुन प्रतिक्रिया आयो, त्यो निकै सकारात्मक र उत्साहजनक थियो । जस्तो चर्चित उपन्यासकार वोल सोयिन्काले नाइजेरियाली पत्रिका, त्यहाँका चर्चित उपन्यासकार तथा समीक्षकहरुको एउटा लामो सूची नै उनीहरुलाई दिए । अफ्रिकी मुलुकका कयौँ दूतावासमा कार्यक्रमहरु राखिए । साहित्यिक छलफल भए । अल्जेरिया, मोरक्को, इजिप्ट, इजरायल, फ्रान्सजस्ता मुलुकबाट लेखक आएर विद्रोही चेतका उपन्यास, तिनका बान्की र कयौं नयाँ नयाँ जानकारी दिए ।

सन् २०१८ मा टुबिजेन विश्वविद्यालयमा सेनाका अधिकारीहरुले प्राध्यापक वेथेमेरलाई भेट्दा ती भेट, ती उपन्यासमा वर्णित कुराहरुको शुरुवाती आकलन बुझाइ पठाए । र, त्यो आकलन प्रतिरक्षा मन्त्रालय बर्लिनसम्म पुग्यो ।

सन् १९८३ ताका जोभान रेडुलोभिकले लेखेको डोभ होल नामक नाटकले निकै ठूलो तरंग मच्चाएको थियो । सो नाटकले क्रोएसियाको फाँसीवादी तथा चर्को राष्ट्रवादी संस्था उक्तासले सर्बियालीहरुलाई दमन गरेको देखाइएको थियो । यो नाटकका कारण जोभानलाई सन् १९८६मा सर्भियाली साहित्यिक संगठनबाट निकाला नै गरे । यसपछि शृंखलाबद्ध रुपमा अल्बानियाली–सर्बियाली दोस्ताना र प्रेमकथाहरु हराउँदै जान थाले । दुई जातिबीचको आत्मियता हराउँदै जाँदा युद्धको अवस्था सिर्जना हुन थाल्यो । अन्ततः १९९८ मा कोसोभो नरसंहार भयो ।

कार्लो मसालालाई शुरुमा यो विषय बिल्कुलै बेतुकको र वाहियात नलागेको होइन । यो धेरै समय चल्नेवाला छैन भन्ने ठानिरहेका थिए । तर जति जति संसारका विभिन्न द्वन्द्वहरु हेर्दै गए, पढ्दै गए, बुझ्दै गए, द्वन्द्व कसरी बढ्दै गयो भन्ने प्रस्ट हुँदै जान थाले । पहिला पहिला मुस्लिम र क्रिश्चियनहरुबीच बिहेबारी बढ्दो थियो, क्रमशः समयक्रममा त्यो घट्यो र पछि त पूर्णतः बन्द भयो । साहित्यमा यो क्रम बढ्न थाल्यो भने त्यो देशमा द्वन्द्व तीव्र रुपमा अघि बढ्दैछ भन्ने बुझे हुन्छ ।

मसला भन्छन्, ‘यो त एउटा सानो प्रोजेक्ट थियो र यसले ल्याएको बुझाइ उदेक लाग्दो नै पाएँ । पछि त यस अध्ययनका निष्कर्ष प्रस्तुत गर्दै जाँदा सेनाका अधिकारीहरु पनि चकित परेका थिए ।’

प्रोजेक्ट कसान्द्रा एउटा सानो तर उपयोगी परिणाम दिने परियोजना थियो । यो कुरा जब जर्मन सेनाले महसुस ग¥यो, उनीहरु यो परियोजनालाई अझ फराकिलो बनाउने धुनमा लाग्यो । एक सैन्य अधिकृतले भने, ‘संसारको जुनै कुनामा पनि आउँदो विद्रोहको एक वा डेढ वर्षअघि नै पत्तो लगाउनु चानचुने सफलताको कुरा थिएन । यसमा प्रोजेक्ट कसान्द्रा निकै अघि भएको पाएँ । हुन त देशमा यस्ता द्वन्द्व पत्ता लगाउने अनेकन् परियोजना सञ्चालित छन् । तर यसको कुरै बेग्लै ।’

यसपछि जर्मनीले कसान्द्राको समयावधि थप्यो । यसमा संकटग्रस्त क्षेत्रमा ‘भावनात्मक मानचित्र’ बनाउने काम पनि थपियो । अफ्रिका र मध्यपूर्वमा बढ्दो द्वन्द्वात्मक भाषालाई क्रमबद्ध रुपमा सजाउने कामलाई ‘भावनात्मक मानचित्र’ भनियो । कुन बेलादेखि द्वन्द्व, आक्रोश र उकुसमुकुसलाई साहित्यले ठाउँ दिन थाल्यो त्यसको मानचित्र बनाउन थालियो ।

साहित्यमा असन्तोष यत्रतत्र हुन्छ । ती अंग्रेजी वा अन्य युरोपेली भाषामा हुँदैनन् । तिनलाई मेसिनमा हाल्नुको चुनौती के हुन्छ भने साहित्यिक आलोचना, द्वन्द्व वा आक्रोशलाई मेसिनको डेटामा हाल्नु अप्ठेरो छ । तर यसका लागि कसान्द्रा प्रोजेक्टमा जुलियन स्किलिचलाई भित्र्याइयो । ३० वर्षे जुलियनले राजनीतिशास्त्र, समाजशास्त्र र इस्लामिक अध्ययन गरेका थिए । उनी साहित्यका विद्यार्थी थिएनन् । उनले स्नातकोत्तरमा तालिबानको नवप्रवत्तन रणनीतिमाथि अध्ययन गरेका थिए ।

‘कसान्द्रा परियोजनामा छिर्दा मैले यो परियोजनालाई वाहियात नै देखेको थिएँ,’ जुलियन भन्छन्, ‘साहित्यमा म राजनीतिक पृष्ठभूमिको के काम ? पहिलो बैठकमा मेरो दिमाग घुम्यो, मेरो यहाँ कामै छैन । साहित्यका कुरा मेरो दिमागमै घुसेन । पछि थाहा पाएँ, साहित्य सबैभन्दा ठूलो राजनीति रहेछ ।’

जुलियन छिर्नेबित्तिकै उनलाई अल्जेरियामा ध्यान दिन लगाइयो । अरब आन्दोलनताका अल्जेरिया लगभग शान्त थियो । ५१.७ प्रतिशत भोट मात्र २०१४ को आम निर्वाचनमा खसेको थियो । १९९० को दशकमा नराम्रोसँग गृहयुद्धमा फसेको अल्जेरिया समयक्रममा स्थिर मुलुकका रुपमा देखिएको थियो । आवरणमा स्थिर राजनीति देखिए पनि भित्रभित्र असन्तोष पाकिरहेको साहित्यिक कृतिहरुले देखाइरहेका थिए । सन् २०१४ मा निस्किएको अमर मजदादको ‘अ स्प्रिङ डे’ उपन्यासमा कसरी एउटा सशस्त्र विद्रोह गर्ने समूह तितरवितर हुन पुग्यो भन्नेबारे थियो । त्यस्तै २०१५ मा निस्किएको २०८४ (अर्वेलको १९८४ को रिफरेन्समा लेखिएको) ले अल्जेरियामा कसरी पोलिटिकल इस्लामले आफूलाई सशक्त बनाउँदै लग्यो र हरेक कुरालाई नियन्त्रण गर्न थाल्यो भन्नेबारे थियो । जब धर्म राजनीतिमा छिर्छ, त्यसपछि उसले हरेक साना कुरा नियन्त्रण गर्न थाल्छ भन्नेबारे यो निकै सुन्दर पुस्तक थियो तर यो पुस्तकलाई प्रशासनले प्रतिबन्ध लगायो । २००६ सम्म आइपुग्दा यो गुपचुप पढिएको सशक्त उपन्यास बन्न पुग्यो । अन्डरग्राउन्ड बेस्टसेलर यो पुस्तकले पाठकहरुलाई कति हदसम्म छोयो भन्ने बताउँछ ।

यस किसिमको भित्रभित्रै मौलाइरहेको असन्तोष पक्डनुर त्यसलाई सैन्य वा राजनीतिक निर्णयका पक्षमा सदुपयोग गर्नु निकै कठिन हुन्छ । जुलियन भन्छन्, ‘सांस्कृतिक इतिहासकारले मेरो विज्ञताले यो क्षेत्र रातो चिह्नमा छ भन्ला र अर्को क्षेत्रलाई पहेँलोमा राख्ला । अनि, केही चाहिँ हरियोमा राख्ला । वैज्ञानिकहरुले भने अर्कै दृष्टिकोणले हेर्न सक्छन् । पहेँलो चिह्न भएको क्षेत्र सुन्तले रङमा परिवर्तन भयो भने के हुन्छ भन्लान् ।’

शोधकर्ताहरुले खतराको नौ वटा स्कोर प्वाइन्ट बनाएका छन् । विषयवस्तुका आधारमा, साहित्यमा प्रतिबन्धका आधारमा, लेखकलाई लगाइएको प्रतिबन्धका आधारमा, कृतिले साहित्यिक पुरस्कार पाएका आधारमा, लेखकले साहित्यिक पुरस्कार पाएका आधारमा, मिडियाले दिएको ठाउँका आधारमा, साहित्यले उब्जाएको काण्डका आधारमा, लेखकले जन्माएको काण्डका आधारमा, न्यारेटिभ स्ट्राजेटीका आधारमा । प्रत्येक श्रेणीलाई –१ देखि +३ नम्बर दिइन्छ । जति बढी अंक हुन्छ, उति नै त्यो साहित्य खतरनाक तहमा पुग्छ ।

केही घटनामा भने नकारात्मक मापदण्ड पनि चाहिन्छ । कयौँ पुस्तकलाई धेरै दृष्टिकोणबाट नियाल्नुपर्ने हुन्छ । दुई भिन्न विरोधी खेमाको पुस्तकलाई पनि समावेश गर्नुपर्ने हुन्छ र त्यसलाई ० देखि –१ नम्बर दिनुपर्ने हुन्छ । २०१५ मा जोल्टन दान्यीको उपन्यास द कारकस रिमुभर उपन्यासले युगोस्लाभ युद्धका बारेमा बताएको छ । उपन्यासले कुनै पनि पक्षलाई दोष लगाएको छैन । उसले घटना विवरण बताउँदै त्यसको कहरमाथि टिप्पणी गरेको छ तर दोष कसैलाई लगाउँदैन । यस किसिमको साहित्यले मानिसहरुको घाउमा मल्हम लगाउने जुलियन बताउँछन् । हरेक किताबले मानिसहरुलाई कित्तामा बाँढ्छ भन्ने छैन, मल्हम पनि लगाउँछ ।

‘२०८४’ उपन्यासले अल्जेरियामाथि टिप्पणी गर्दा यसको स्कोर निकै उच्च थियो, २५ अंकको । त्यस्तै २०१८ मा निस्केको मुस्तफा बेनफोडिलको ‘बडी राइटिङ’ले ९० को दशकको अल्जेरियाली गृहयुद्धमाथि टिप्पणी गरेको थियो । यस्तै २०१८ मा प्रकाशित मोहमद चेरिफ लाचिचीको थ्रिलर उपन्यास ‘ला फेली’ यो उपन्यासले पनि चाहिँदोभन्दा बढी नै अंक प्राप्त गरेको थियो । अल्जेरियाको जेल प्रणाली, भ्रष्ट न्याय प्रणाली, बढ्दो असन्तुष्टि र नाराबाजी–प्रदर्शनीका बारेमा बोल्ने यो उपन्यासले बढी नै अंक प्राप्त गरेको थियो । यसले २२ अंक पाएको थियो ।

‘कहिलेकाहीँ उपन्यासले बढी अंक पाउँछन् र तिनमा धेरै समस्या देखिन्छ । २५ अंक पाउने किताब खतरनाक हुन्छ कि १२ अंक पाउने ? यस्ता स्कोरलाई भावनात्मक उत्तेजनाको मानचित्रमा राखेर हेर्दा के हुन्छ ? यो कठिन काम हो । यस्तोमा धेरैजसो हामीले सम्झौता गर्नुपर्ने हुन्छ,’ रोग भन्छन् ।

तर साहित्यिक सिस्मोग्राफ निकै कामलाग्दो भएको पनि छ । २०१९ को फेब्रुअरीमा अल्जेरियाका विभिन्न शहरहरुमा राष्ट्रपति अब्देलअजिज बौतेफ्लिका विरुद्ध प्रदर्शनी चर्किएका कारण उनले राजिनामा दिनुप¥यो । २०२० को गर्मीयाममा वेथेमेरले आफ्नो अन्तिम प्रतिवेदन सेनालाई बुझाए, सेना पनि साहित्य र निकटतम क्रान्तिबीचको सम्बन्ध पहिल्याउन सफल हुँदोरहेछ भन्ने मान्न बाध्य भयो । प्रोजेक्ट कसान्द्राले आफ्नो महत्व स्थापित गरिछाड्यो । अझ पछिल्लो समय कोभिड १९ का कारण फिल्ड भिजिट रद्द भएपछि त यो प्रोजेक्टको खर्च घट्यो र जम्मा ३४ हजार पाउन्डमा झ¥यो ।

वेथेमेरले यो अध्ययन निष्कर्ष सेनाले आफ्नो फिल्डमा उपयोग गर्ने आशावादी रहेको बताउँदै गर्दा सन् २०२० को जाडोयाममा प्रोजेक्ट कसान्द्राको समयावधि सकिएको घोषणा गरियो । सेनाले अब कुनै अध्ययन आवश्यक नरहेको बतायो । सम्भवतः कोभिड १९ का कारण बढ्दो खर्चका कारण यस्ता ‘अनावश्यक’ अनुसन्धानमा सरकारले ध्यान दिन सकेन । केहीले भने, कसान्द्रा प्रोजेक्टप्रति दयालु सरकारी अधिकारी सरुवा भएकाले यसलाई लगानी जुटाइदिने कोही भएन ।

ग्रिसेली मिथकअनुसार कसान्द्राको भविष्यवाणी कसैले पनि ध्यान नदिने, सुने पनि नसुनेझैं गर्ने श्राप बोकेर आएको थियो । भगवान् अपोलोले जब कसान्द्रासँग यौन समागमको अपेक्षा गरे, कसान्द्राले अस्वीकार गरी । सोको बदलामा अपोलो भगवान्ले उसको ज्ञान कुनै काम नलाग्ने भनी श्राप दिए ।

क्रिस्टा वल्फले सो मिथकलाई आधुनिकीकरण गरेकी थिइन् । वल्फको कसान्द्रामा ट्रोजन सेनाका जनरलहरुलाई थाहा थियो, कसान्द्रा सत्य बोलिरहेकी छ । तर उनीहरुले राजा प्रायमलाई त्यही मात्र सुनाइरहे, जुन प्रायम सुन्न चाहन्थ्यो । प्रायम राजनीतिक गणितमै मस्त भइरह्यो ।

वेथेमेर भन्छन्, ‘अहिलेका राजनीतिज्ञहरु स्मार्ट छन्, इतिहासबाट तिनले पाठ सिकेका छन् । तर होइन रहेछ । उनीहरु पनि आफ्नो प्राचीन दुर्गुण बोकेरै राजनीतिमा आएका रहेछन् । उनीहरु आफू अज्ञानी रहनुमा नै भलो सोच्दारहेछन् ।’

सन् २०१९ को अन्त्यताका वेथेमेरले एउटा रोचक घटना नियालिरहेका थिए । अजरबैजानको सांस्कृतिक मन्त्रालयले जर्जियाका पुस्तकालयहरुमा केही पुस्तक उपहारका रुपमा दिइरहेको थियो । ती पुस्तकमा आर्मेनियालीहरुविरुद्ध लेखिएका कविताहरु थिए, खासगरी खलिल रेजा उलुटुर्कका कविता । ती कवितामा अजरबैजानले भूमि विवाद बढाउन भूमिका खेल्ने लेखिएका थिए । पछि युद्ध भयो । नागोर्नो–काराबाख क्षेत्रमा भएको ६ साताको युद्धमा ६ हजार सैनिक र सर्वसाधारणको ज्यान गयो । अर्मेनियाको नराम्रो हार भयो । अजरबैजानले जित्यो । रुसले अजरबैजानलाई अर्मेनियाली क्षेत्रमा बसोबास गरेका अधिकांश अजरबैजानीहरु भएको ठाउँ अजरबैजानकै हुने मान्यता दिएको थियो । यसलाई अर्मेनियाले अस्वीकार ग¥यो । फलस्वरुप युद्ध भयो र त्यो क्षेत्र अजरबैजानले नियन्त्रणमा लियो । यही कुरा साहित्यमा उल्लेख गरिएका थिए, अन्ततः भइछाड्यो ।

रोचक त अर्मेनिया रुसको प्रभाव क्षेत्र थियो । रुसले केही सहयोग गरेन । युरोपेली संघ र जर्मनीले पनि ट्वाल्ल परेर हेरिरहे । केही गर्न सकेनन् । अन्ततः अर्मेनियाको भूगोल अजरबैजानमा स¥यो ।

साहित्यले के हुँदैछ भनेर प्रक्षेपण गर्नु एउटा कुरा हो, थाहा पाएर पनि के गर्नुपर्छ भन्ने थाहा नहुनु अर्को कुरा हो । प्रोजेक्ट कसान्द्राले यही कुरा सिकाउँछ ।