Laxmi Prasad Devkota

गुरुजी, देवकोटाको तुलना भारतका कुन कविसँग हुन्छ ?

जवाफमा गुरुजीले भने देवकोटाको तुलना भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशंकर प्रशाद र निरालासित हुन्छ ।

राहुल सांस्कृत्यायनको यो प्रतिउत्तर सुन्दा भावुकताको चरमजस्तो लाग्छ । तर उनले अत्यन्त सम्मानका साथ यो उत्तर सुधीजनहरुका माझ दिएको प्रख्यात इतिहास छ ।

नेपाल र भारतको तुलना गर्दा देवकोटाको तुलना सदैव भारतका तीन महान् हस्ती पन्त, निराला र प्रसादसँग गरेको पाइन्छ । भारतका महाकवि सुमित्रानन्दन पन्तले भारतवर्षका महान् एघार नक्षत्रमा नेपालका महाकवि देवकोटाको नाउँ पनि गर्वका साथ जोडेर उनले उत्तर दिएका छन् ।

उत्तरका क्रममा उनले नागार्जुन, रमण महर्षि, शंकर, गोरखनाथ, जे कृष्णमूर्ति र बुद्धका समतुल्य देवकोटा मानेका छन् । तर नेपालीले देवकोटालाई दरिद्र कवि, दुःखी कवि र अव्यवहारिक प्राणीभन्दा अर्को संज्ञाबाट सम्बोधन गरेको कमै पाइन्छ ।

नेपालका महाकवि देवकोटालाई नेपाल र नेपालीले चिन्न नसकेको होइन । चिनेको तर परबाट अस्पष्ट रुपमा चिनेको र देखेको बुझिन्छ । उनले जीवन र जगतलाई आफ्नो दर्शन, ज्ञान र आकर्षणले भोगेका छन् । देवकोटालाई कसैले कवि, कसैले दार्शनिक, कसैले उपन्यासकार, कसैले निबन्धकार, कसैले कथाकारका रुपमा पाएका छन् । तर उनको समग्र स्वरुप एक गुरु वा एक चिन्तकका रुपमा हेरिनु जरुरी छ । उनी त्यस समयमा जन्मिए जतिबेला भारत र नेपालजस्ता मुलुक आफैंभित्र एउटा जटिल लडाइँ लड्दै थिए । त्यो लडाइँको पहिलो धार हो जनजनमा आत्मजागरण जगाउनु । अनि राष्ट्र जागरणको भाव स्वतः मन मनमा फैलिन्छ यसको प्रत्यक्ष प्रभाव थियो देवकोटाको सुन्दर, शान्त, विशाल नेपालको परिकल्पना र विश्वकवि रवीन्द्रनाथ ठाकुरको जनगणमन ।

यी दुवै कविका विचार र विश्वासमा एउटा समानता के थियो भने पाठकप्रतिको जिम्मेवारी अनि चेतनशीलताको बोध ।

प्रकाश सायमि

विश्वकवि रवीन्द्र ठाकुरले अङ्ग्रेजको घनघोर विरोध गरे तापनि उनको अङ्ग्रेजी भाषाको अध्ययन सामान्य मान्छेको भन्दा उच्च र उम्दा थियो । नेपालका महाकवि देवकोटाको क्षमता पनि त्यस्तै थियो । उनले पश्चिमाजगतका होनहार कवितालाई पानीजस्तै पिएका थिए र त उनी आफ्नो रचनाको भावभूमिमा विश्वका ठूल्ठूला लेखकलाई पात्र बनाएर माचस्थ गर्थे । विश्वकवि रवीन्द्रनाथ ठाकुरलाई अत्यन्त सम्मान गर्ने महाकवि देवकोटाले आफ्नो अध्ययन कक्षमा रबिबाबुको फोटो कृष्ण भगवानसँगै सजाएर राखेका थिए । उनी कविलाई भगवानजत्तिकै माया गर्थे भन्ने उनको सम्मान दृष्टिबाट अभिमिन्चत हुन्छ ।

देवकोटाले आफ्ना समयका सबै महान् स्रष्टालाई पढ्न बुझ्न र लेख्न भ्याए । यसको कारण हो उनको रुचिसम्पन्न स्वभाव । उनी त्यस समयका महान् महान् स्रष्टासाथ देश विदेशमा सँगै र एउटै आरेखमा उभिएर बोल्न पाएका थिए । त्यो अवसरको उनले भरपूर प्रयोग गरेर समय, समाज र संस्कारको विकास गरेको सत्य हो । उनी राणाशासनका वेला दरबारबाट बोलाइएर ट्यूशन पढाउने पाउने आकर्षक शिक्षक थिए । उनको माग थियो । उनी त्यो समय एक साहित्यकारका रुपमा भारत, रुस आदि मुलुक घुम्न पाउने र घुमेर त्यसको लाभ लिन सक्ने एक सम्मानित स्रष्टा थिए । उनी आफ्नो समयका शक्तिशाली लेखक बालकृष्ण सम, बीपी कोइरालाजस्ता स्रष्टासित पनि समन्वय राख्न सक्ने र प्रतिस्पर्धा गर्न सक्ने साधक थिए । उनी एक शिक्षित परिवारका सन्तान भएकाले पनि उनलाई कुनै ठाउँ, परिस्थिति र प्रवृत्तिमा झुक्न परेन ।

उदाहरणका लागि उनले धनी र कुलीन परिवारका लेखक समले जत्तिकै सम्मान पाए ।

राजनीतिक रुपले शक्तिशाली लेखक बीपी कोइराला र मबीबी शाहजस्ता स्रष्टाका सामु पनि उनको अन्तर्राष्ट्रिय जगतमा सदैव सम्मान भयो । उनलाई पश्चिमका एकेक कविले त्यतिकै अनुभूतिका साथ पढे र चर्चित बनाए ।

महाकवि देवकोटाको रुचिको कुरा गर्दा उनले घुम्न चाहेका सानोभन्दा सानो ठाउँ पनि मन लगाएर घुमेका वा पुगेका छन् । त्यो चाहे उनको बुढो मावली झिल्टुँग होस् वा भारतको पहाडी राज्य दार्जीलिङ । दार्जीलिङको टाइगर हिललाई त उनले माया गरेर बाघचूली नाम नै राखिदिएका छन्, यो उनको सौम्यिक चरित्र हो । भ्रमणका शौखिन देवकोटा आफूमात्र होइन आफूलाई मनपरेका मान्छेलाई समेत लिएर भ्रमणमा निस्किन्थे । त्यसको सामान्य उदाहरण हो उनको भारतको आगराको भ्रमण । उनले आगरा जाँदा माधवप्रसाद घिमिरे, शङ्कर लामिछाने र श्रीप्रकाश घिमिरेलाई पनि लिएर गएका थिए । आफ्ना अनुज, आफ्ना शिष्य, आफ्ना प्रिजनलाई पनि त्यतिकै प्रेम गर्ने महाकवि देवकोटा इतिहास, कला र राजनीतिका पारखी थिए । उनले त्यही ज्ञानले प्रेरित भएर मित्रहरुलाई ताजमहल देखाउन लगेको इतिहास छ । ताजमहल देखाएका मात्र होइन, ताजमहल देखाउन जाँदा उनले ताजमहलमाथि कविता लेखेर चर्चा पाउने कवि एवं शायर साहिर लुधिायनवीका कविता अन्तस्थबाट सुनाएका थिए ।

हिन्दी, नेवारी, अङ्ग्रेजी भाषाका विज्ञ मानिने देवकोटाले उन्नाइसौँ शताब्दीमा आएका नयाँ नयाँ विधासित परिचित भएर सहकार्य गरेका छन् । उनले त्यतिवेलाको लोकप्रिय विधा मानिने नाटकलाई पनि आफ्नो अभिव्यक्तिको माध्यम बनाए र त्यसैको परिणामस्वरुप डिल्लीबजारका युवालाई लिएर नाटकको निर्देशन पनि गरे । त्यही नाटकको निर्देशनका क्रममा उनले त्यतिवेलाका अभिनेता हरिप्रसाद रिमाललाई डिल्लीबजारको हिरो नाम राखिदिएका थिए । र उनी युवालाई आकर्षण दिन फिल्मीभाषामा हिरोको संज्ञा दिन्थे ।

युवाहरुका माझ सदैव लोकप्रिय देवकोटाले युवापुस्तालाई पुस्तकको संसारतिर सदैव आकर्षित गरे । अर्नेस्ट हेमिङ्वेले पुस्तकजस्तो इमान्दार साथी तिमीले कोही भेट्दैनौ भने जस्तै महाकवि देवकोटाले सदैव पुस्तक र पुस्तकालयप्रति मानवमनलाई खिँचिरहे । जसको उदाहरण हो नेपालमा भारतीय सरकारको लगानीमा नेपाल भारत सांस्कृतिक पुस्तकालय खुल्दा उनले त्यहाँ लाइब्रेरियन भएका शंकर लामिछानेलाई सदस्यको संख्या बढाउन प्रशस्त सहयोग गरेका थिए । देवकोटाकै सहयोगमा त्यतिवेलाका युवा तेजेश्वरबाबु ग्वँगः जस्ता युवक त्यस पुस्तकालयको सदस्य भएका थिए । र उनले आजपर्यन्त उनको त्यो गुणलाई प्रेरणाको रुपमा लिएका छन् । यही प्रेरणाका कारण उनी सदैव युवामाझ उच्चाकर्षणका पात्र थिए ।
उनले सदैव युवालाई नयाँ नयाँ विधालाई मानवोच्चित सम्मान दिए । उनले युवाजगतलाई भ्रमबाट मुक्त हुन अनि सार्थक स्वप्नको दुनियाँबाट बन्चित नहुन निर्देशन दिए । जब उनलाई युवा लेखक र उनकै विद्यार्थी शङ्कर लामिछानेले मार्ग निर्देशनको निम्ति सल्लाह माग्न गए उनले स्पष्ट भने ” रिपिटेशन अन् दि सेम लाइन ह्याज नेा मिनीग । म लागेको बाटोमा तिमी आउने हो भने नआउनू ।”

यसैको परिणाम स्वरुप उनले नेपाली गीत सङ्गीतका निम्ति पनि युवाका चासो निम्ति गीत रचना गरे र युवालाई हौसला पनि दिए । आफ्ना मित्र आशागोपाल गुरुवचार्यका छोरा नारायणगोपाललाई उनले सदैव सुगमसङ्गीतको विकासमा र त्यसको रचनात्मक संरक्षणमा अघि बढ्न सल्लाह र सुझाव दिए । त्यही प्रेरणाले गायक सङ्गीतकार नारायणगोपालले कवितका गीत, कविका कवितालाई सङ्गीत गरे गाए । र, स्वयम् नारायणगोपालले पनि आफ्नो एक निबन्धमा सो विषयमा लेखेका छन्, यदि देवकोटा बाँचेका भए भनेर । त्यो निबन्धमा स्वरसम्राट् नारायणगोपालले रुचिसम्पन्न कवि देवकोटाको विचारको उच्चता र वैभवको उच्चभावले प्रशंसा गरेका छन् । देवकोटाको व्यक्तित्वबाट प्रभावित भएर नारायणगोपालले महाकविको कालजयी कृति सगरभरि छाती चिरी लाई गीत बनाएर गाए । देवकोटालाई हृदयतः मनन गरे ।

नारायणगोपालले आफू चेतनाले सम्पन्न भइसकेपछि महाकविको गीतिनाटक मुनामदनलाई सबभन्दा सुन्दरतापूर्वक सङ्गीत गरेर सजाए जसका कारण देवकोटा फेरि जन्मे फेरि अर्को आयु पाए । यो देवकोटाको युवाप्रति युवापनको सङ्गीतप्रतिको परिणाम हो । उनले जीवनलाई चिनेका थिए जानेका थिए ।

नारायणगोपाल मात्र होइन देवकोटा सङ्गीतप्रवीण नरराज ढकाललाई पनि अति माया गर्थे ।

शास्त्रीय सङ्गीतका ज्ञाता नरराज ढकाललाई उनले सुयोग्य सम्झेर आफ्नी भान्जी बधुको रुपमा दिन सहर्ष स्वीकार गरे र उनले सङ्गीतका अनुसेवी ढकालको उत्तरोत्तर भविष्यको सदैव सफलताको कामना गरे । सङ्गीत प्रवीण नरराज ढकालले सदैव महाकवि देवकोटाको धनदौलत नहेरी व्यक्तिको प्रतिभाबाट प्रभावित भई महाकविले गरेको यो गुण गाइरहे ।

देवकोटाले नेपाली जनस्थानमा शिक्षाको प्रतिभाको र सामूहिकताको सदैव प्रशंसा गरेकाछन् । उनले साहित्यको अध्ययनमा पण्डित्याइँ नदेखाई हरेक किसिमको अध्ययनमा जोड दिए त्यो चाहे इलियट होस् वा बैकन । टैगोर होस् वा गालिब । शेक्सपियर होस् वा पल् भेलेरी । उनले सम्मानका साथ पढ्न र पढाउन लगाए । यो नै देवकोटाको बैयक्तिक विशेषताको पहिचान थियो । तर देवकोटाको दुर्भाग्य भनेको समकालीकता हो ।
उनलाई सबभन्दा बढी उनकै समकालीनले चिन्न सकेनन् । उनलाई उनी जन्मेको समाजले गलत व्याख्यातीत गरे । उनी सदैव प्रतिभासम्पन्न भन्दा गरिब र निर्धन भएर बाँचको परिस्थितिकीको चर्चा गरे । यो देवकोटाको जीवनको ठूलो ट्रेजेडी मान्न सकिन्छ ।

मनपरेको खान पाउने मनपरेको ठाउँमा घुम्न जाने र त्यस्तो समयमा मनले चाहेजस्तो पढ्न र पढाउन पाउने सौभाग्यशाली व्यक्ति देवकोटालाई बारम्बार नेपाली जनसमाजले सरकारलाई गाली गर्ने बाहना गरिब बनाइरह्यो तर वास्तवमा उनी गरिब चैँ थिएनन्, बल्कि उनी त्यस समयका अन्तर्राष्ट्रिय समाजमा समादृत स्रष्टा थिए, र विश्वका निम्ति नेपालका सांस्कृतिक राजदूत थिए ।

यो कुरा हाम्रो अर्धबौद्धिक समाजले कहिले र कुनै सर्तमा बुझ्न सकेन ।

विश्वले मानेका र पुजेका महान् देवकोटा नेपालका गालिब, नेपालका बोर्खेस, नेपालका कामू थिए, यस कुराको हेक्का हामीलाई सय वर्षपछि पनि भएको छैन ।

सय वर्षपछि पनि हामीले देवकोटालाई उर्दूका महाकवि गालिबलाई जति पनि सम्मान नदिएर  श्रद्धापूर्वक उनको गरिबी, उनको चुरोट, उनको दयनीयताको व्याख्या गरिरह्यौँ भने सबभन्दा बढी हाम्रो गरीबी झल्किरहनेछ ।

हामी यो गरिबीबाट मुक्त होऔं ।

prakashsayami@gmail.com