साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जेम्स वेब टेलिस्कोपको हैरान बनाउने तस्बिर

Chovar Blues Mobile Size

नाशाको १० अर्ब अमेरिकी डलरको ‘जेम्स वेब टेलिस्कोप’ले खिचेको ‘स्टेलर नर्सरी’ र ‘कस्मिक डान्स’का सुन्दर तस्बिर सोमबार र मंगलबार सार्वजनिक भए। तस्बिर सार्वजनिक भएसँगै टेलिस्कोप अब अन्तरिक्षसम्बन्धी खोजीका लागि तयार भएको अमेरिकी अन्तरिक्ष संस्था नासाले जानकारी दिएको छ।

जेम्ब वेब टेलिस्कोप अघि हबल टेलिस्कोप शक्तिशाली मानिएको थियो। हबल पुरानो भएपछि त्यसको उत्तराधिकारीका रूपमा जेम्स वेबलाई ल्याइएको हो। दशकौंको प्रतीक्षापछि हबलभन्दा शक्तिशाली टेलिस्कोपले खिचेका तस्बिर देख्ने अवसर वैज्ञानिहरूले सिर्जना गरेका हुन्।

सन् २००४ मा सुरु भएको जेम्स वेब टेलिस्कोपको निर्माण गत वर्ष मात्र सम्पन्न भएको थियो। निर्माण सम्पन्न भएपछि गत वर्ष डिसेम्बर २५ मा टेलिस्कोपलाई फोटो खिच्न अन्तरिक्ष पठाइएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सार्वजनिक गरेको जेम्स वेब टेलिस्कोपले खिचेको पहिलो तस्बिर ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा प्रष्ट भनेर दाबी गरिएको छ। टेलिस्कोपले खिचेका बाँकी तस्बिर भने मंगलबार मात्र बाहिरिएका हुन्।

टेलिस्कोपले ‘इन्फ्रारेड’को प्रयोग गरी अहिलेसम्म पत्ता नलागेका ब्रह्माण्डका तथ्य तथा रहस्य खुलासा गर्ने विश्वास राखिएको छ। इन्फ्रारेड प्रकाश मानव आँखाका लागि अदृश्य हुन्छ। टेलिस्कोप अन्तरिक्षका विभिन्न ग्रह तथा उपग्रहरुको अध्ययनमा प्रयोग गरिने भएको छ।

जेम्स वेब टेलिस्कोप अब्जर्भेटरी नासाको नेतृत्वमा अमेरिका, युरोप तथा क्यानेडेली स्पेस एजेन्सीहरूको संयुक्त परियोजना हो।

sagarmani mobile size

वेबलाई मूलतः इन्फ्रारेड प्रकाशको रेञ्जमा हेर्न सक्ने गरी विकास गरिएको छ। प्रकाशका विभिन्न तहमध्ये मानव आँखाले देख्न नसक्ने एउटा तह इन्फ्रारेड पनि हो। मानव आँखाको दृष्य दायराभन्दा बाहिर रहेको इन्फ्रारेडको आँखाले देख्ने तरङ्गभन्दा बढी हुने गर्दछ।

यसले सम्पूर्ण मानवतालाई ब्रह्माण्डको गहिराइसम्म नियाल्ने क्षमता प्रदान गर्नेछ। ब्रह्माण्डको उत्पत्ति आजभन्दा १३ अर्ब ८० करोड वर्षअघि भएको विश्वास गरिँदै आएकोमा जेम्स बेब टेलिस्कोपले १३ अर्ब ५० करोड वर्षअघिसम्मका कुरा अध्ययन गर्न सक्ने विश्वास गरिएको छ।

टेलिस्कोपले ब्रह्माण्ड इतिहासको हरेक पाना पल्टाउने छ। यसले ब्रह्माण्ड सिर्जना गर्ने बिग ब्याङपछिको पहिलो चमक र आकाशगंगा, तारा र ग्रहहरूको गठनबारे समेत हरेक प्रश्नको उत्तर दिने बताइएको छ। वेबले ब्रह्माण्डका नयाँ रहस्य खुलासा गर्नुका साथै पृथ्वीबाहेकका कुनै पनि स्थानमा जीवहरूको उत्पत्ति लगायतका विषयमा पनि खोजी गर्ने विश्वास गरिएको छ।

‘जेम्स वेबले खिचेर सार्वजनिक भएका तस्बिर सुरुवाती मात्र हुन्। यी त अन्तरिक्ष अनुसन्धानका ट्रेलर मात्र हुन्,’ बेलायती अनुसन्धानकर्ता तथा वैज्ञानिक गिलिअन राइटको भनाइ छ। राइट वेब टेलिस्कोपका ४ इन्फ्रारेड उपकरणमध्ये एकका विशिष्ट शोधकर्ता पनि हुन्। ‘जब जब तपाईं आकाशमा नयाँ तरिकाले हेर्नुहुन्छ, तपाईंले आशै नराखेका कुराहरु देख्नुहुन्छ,’ उनी भन्छन्।

बेलायती खगोल अध्ययन केन्द्रले तस्बिर उपयोगी भएको बताएको छ। ‘हाल सार्वजनिक भएका तस्बिर गुणस्तरीय र सराहनीय भएको बताए। यिनीहरूले आगामी दिनमा अझै उच्च कोटीका डाटा हात लाग्ने छन्,’ बेलायती खगोल अध्ययन केन्द्रका निर्देशकले बीबीसीसँग भनेका छन्।

क्यारिना नेबुला हबल टेलिस्कोपको लक्ष्य थियो। जेम्स वेबले खिचेको क्यारिना नेबुलाको तस्बिर अझ स्पष्ट अनि विशिष्ट छ। क्यारिना दृष्य आकाशको सबैभन्दा ठूला र चहकिला नेबुलामध्ये एक हो।

नेबुला भनेको अन्तरिक्षमा देखिने विशाल धुलो र ग्यासको बादल हो। क्यारिना पृथ्वीबाट करिब ७ हजार ६ सय प्रकाशवर्ष टाढा छ। यसको मतलब क्यारिनाबाट पृथ्वीसम्म आइपुग्न प्रकाशलाई पनि ७ हजार ६ सय वर्ष लाग्छ। प्रकाशले एक सेकेन्डमा ३ लाख किलोमिटर दूरी पार गर्छ। जबकि सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेन्ड मात्र लाग्छ भने क्यारिना कति टाढा रहेछ भन्ने अनुमान मात्र गर्न सकिन्छ।

यस विशाल धुलोको बादलमा नयाँ तारा जन्मिरहेका छन्। वेबले खिचेको क्यारिनाको तस्बिरमा तारा मात्र हैन धुलो र ग्यासको बादल पनि स्पष्ट देखिन्छ। खगोलविदले भन्ने ‘कस्मिक रिफ’ अथवा ‘कस्मिक क्लिफ’ भनेको तलतिर धुलो र टुप्पोतिर ग्यासले बनाउने पहाडजस्ता देखिने स्वरूप हुन्। वेबको एउटा लक्ष्य ताराको जन्म अध्ययन गर्नु पनि हो र यसका लागि क्यारिना एकदमै उत्तम छ।

एसएमएसिएस ०७२३ आकाशगंगाको ठूलो समूह हो। खगोलविदले यसलाई गुरुत्वाकर्षणको लेन्स भनेर पनि चिन्ने गरेका छन्। किनभने यसको तौलले सिर्जने गुरुत्वाकर्षणको बलले लेन्सले जस्तै टाढाका वस्तुबाट आउने प्रकाशलाई समेत मोड्ने अथवा ठूलो पार्ने काम गर्दछ।

तस्बिरमा देखिने रातो धनुआकार भनेको केही हो- एउटा आकाशगंगा हो। दूरीले धेरै टाढा अनि समयमा झनै टाढा। तस्बिरमा देखिने कतिपय वस्तुलाई त हामीसम्म आइपुग्न ब्रह्माण्डको उमेरजति नै समय लाग्यो। आश्चर्यचकित बनाउने कुरा त यहाँ देखिने केही वस्तु एक-अर्काका डुप्लिकेट हुन्। कारण, उही गुरुत्वाकर्षणको लेन्सले प्रकाशलाई एकभन्दा बढी पथमा मोडेको हुनाले।

दक्षिनी रिङ अथवा ‘एट बर्स्ट’ नेबुला विशाल विस्तृत ग्यास र धुलोको बादल हो। जसका बीचमा मरिरहेका ताराले यसलाई चम्काइरहेका छन्। ताराको उमेर बढ्दै गएपछि तिनमा ऊर्जा उत्पन्न हुने विधि बदलिँदै जान्छ। बिस्तारै ताराले आफ्नो बाहिरी तहलाई फाल्छन् अनि तिनमा ताप बढ्छ। पहिले फालेको तत्वलाई फेरि ऊर्जाशील बनाउँछन्।

लगभग आधा प्रकाशवर्ष ठूलो व्यास भएको दक्षिणी रिङ पृथ्वीबाट २ हजार प्रकाशवर्ष टाढा छ। यस्तो संरचना भएको नेबुलालाई प्लानेटरी नेबुला भनिन्छ। नाममा प्लानेटरी अर्थात् ग्रहजस्तै नाम भए पनि यस नेबुलाको ग्रहसँग कुनै सम्बन्ध छैन।

वेबलाई ताराको जन्ममात्र नभई मृत्युसँग पनि उत्तिकै चासो छ।

पीगासस नक्षत्रमा रहेको स्टेफन्स क्वीन्टेट हामीबाट करिब २९ करोड प्रकाशवर्ष टाढा रहेको छ। यो पहिलो पटक पत्ता लागेको ‘कम्प्याक्ट’ आकाशगंगा समूह पनि हो। यस पञ्चकमा रहेका पाँचवटा आकाशगंगामध्ये चार बारम्बार नजिकिँदै कस्मिक डान्समा देखिन्छन्।

जेम्सले खिचेको यस पञ्चकको तस्बिर हबलको तस्बिरभन्दा धेरै भिन्न नभए पनि जेम्स वेबको इन्फ्रारेड संवेदनशीलताले विभिन्न विशेषता पत्ता लगाउन अवश्य सहयोग पुर्‍याउनेछ।

हबल अझै कति समय सक्रिय रहन सक्छ थाहा छैन तर हबलसँगै जेम्स वेबको प्रयोगले प्रदान गर्ने डाटा र तिनको दाँजो निश्चित रूपमा खगोलविज्ञानका लागि उल्लेखनीय हुनेछ।

वेबले निभाउने भूमिकामध्ये एउटा हो- स्पेक्ट्रोस्कोपी। अर्थात् कुनै वस्तुद्वारा प्रकाश र रेडिएसनको उत्पादन तथा अवशोषण दरको अध्ययन हो। यसमा विभिन्न रङ छुट्याएर कुनै वस्रुका बारेमा खोज तथा अनुसन्धान गरिन्छ।

जेम्स वेबले निकालेको ग्यासै ग्यासले बनेको विशाल ग्रह वास्प ९६ बीको डाटा सौर्यमण्डल बाहिरको ग्रहको अहिलेसम्मकै सबैभन्दा स्पष्ट डाटा मानिएको छ। हाम्रो सौर्यमण्डलमा रहेको बृहस्पति ग्रहसँग मिल्दो-जुल्दो छ वास्प ९६।

वेबले वास्पमा अनपेक्षित कुरा पनि पत्ता लगाएको छ। अणुसम्मको गहिराइमा अध्ययन गरेको वेबले वास्प ८६ बीमा पानीको वाफसमेत पत्ता लाएको हो। तर, वास्प ९६बी आफ्नो ताराको नजिक हुनाले अत्यन्तै गर्मी अनि जीवनरहित छ।

तर पृथ्वीजस्तै जीवन धान्ने ग्रहको निरन्तर खोजमा छ जेम्स वेब- जहाँ वायुमण्डल हुनेछ।

000

३१ वर्षे लामो यात्रामा हबलले मानव प्रजातिलाई अन्तरिक्ष तथा ब्रह्माण्डबारे करोडौं नयाँ ज्ञान, खोज तथा तथ्य दियो। १० वर्षलाई सुरु गरिएको यस जेम्स वेब मिसनमा २० वर्षसम्म काफी हुने इन्धन रहेको बताउँछन् नाशाका उप-प्रशासक पार्न मेलराय।

वेबले पत्ता लगाउने भनिएका केही कुरा काल्पनिक भए पनि अनपेक्षित कुराको थुप्रो झनै ठूलो छ।

‘हामीलाई के थाहा छैन भनेर नै थाहा छैन,’ वेबका लागि नाशा गोड्यार्डका सञ्चार वैज्ञानिक एम्बर स्ट्रन भन्छन्, ‘मेरा विचारमा हामी जब-जब हबलजस्ता शक्तिशाली उपकरणलाई अन्तरिक्षमा प्रक्षेपण गर्छौं, हामी पूर्णरुपमा आश्चर्यचकित पार्ने तथ्य पाउँछौं। क्रान्तिकारी डाटा पाउँछौं। जसले ब्रह्माण्डबारे हामीसँग पहिले नै भएको आधारभूत बुझाइलाई समेत चुनौती दिन्छन्।’

नाशा गोड्यार्डकै अर्की वैज्ञानिक जेन रिग्बी भन्छिन्, ‘ब्रह्माण्ड सधैँ त्यहीँ थियो। हामीलाई त्यहाँ के थियो भनेर हेर्न टेलिस्कोप मात्र निर्माण गर्नुपरेको हो। फुटेको संसारमा मान्छेहरू त्यसलाई फेरि जोड्न तल्लीन भएसरह छ यो, ताकि उनीहरू फेरि जोडिएर एक भएको संसारको महिमा देख्न सकून्।’

(नेपाल समय डटकमबाट)

प्रतिक्रिया
Loading...