सडक दुर्घटना र खासगरी कार दुर्घटनाका बेला चेपिने पुरूष र महिलाहरूबीच केही फरक हुन्छ ?

अध्ययनले भन्छ, हुन्छ । कार दुर्घटनामा महिलाहरूको प्रकृति र पुरूषहरूको प्रकृति फरक हुन्छ । तर अनुसन्धानका अभावमा हामीले दुवै स्त्री र पुरूषलाई एकै किसिमको उपचार गर्ने गर्छौं र त्यसले फाइदा पुग्नुको साटो हानि गरिरहेको छ ।

कार दुर्घटनाका बेला महिला चालक र पुरूष चालकको दुर्घटनाबीच केही फरक हुन्छ भनी बेलायतमा हालै गरिएको वृहद् स्तरको अनुसन्धानले फरक हुन्छ भनी औँल्याएको छ ।

युनिभर्सिटी हस्पिटल्स प्लाइमाउथका आकस्मिक औषधीय कन्सल्ट्यान्ट तथा प्राध्यापक टिम नुटबिम र उनको टोलीले यसबारे अध्ययन गरेका हुन् ।

सन् २०२० को मार्च १७ मा विश्वव्यापी रूपमा बजारमा आएको क्यारोलिन क्रियाडो पेरेजले बेस्ट सेलर पुस्तक ‘इन्भिजिबल विमेनः एक्सपोजिङ डेटा बायस इन अ वर्ल्ड डिजाइन्ड फर मेन’मा पहिलो पटक यो कुरालाई उठाइएको थियो ।

प्रायः कारको डिजाइन पुरूषलाई हेरी बनाइन्छ । औषधिको डिजाइन, उपचार तथा अन्य सबै कुरा पुरूषमाथि विचार गरी बनाइन्छ र त्यही कुरा महिलालाई सिफारिस गरिन्छ । यस्तोमा ती औषधिले महिलाका सन्दर्भमा बिल्कुलै काम नगर्ने पनि हुनसक्छ भन्ने तर्क पुस्तकले गरेको छ ।

खासमा प्रणालीगत रूपमा नै महिलाहरू यो संसारमा छैनन् जसरी सबै कुरा निर्माण गरिएको तर्क लेखिकाको छ । यसलाई उनले ‘डेटा ग्याप’ अर्थात् तथ्याङ्कीय खाल्डो भनेकी छन् । तथ्याङ्कका अभावका कारण महिलाहरूमाथि बढीभन्दा बढी अन्याय भएको तर्क लेखिकाको छ । यसका लागि उनले धेरैभन्दा धेरै घटना, कथा तथा नयाँ शोधका कुराहरू प्रकाशमा ल्याएकी छन् । यससँगै उनले पुस्तकमा उपचारका अनेक बाटाहरूसमेत देखाएकी छन् ।

यही पुस्तकबाट प्रेरणा लिँदै टिम नुटबिमको टोलीले कार दुर्घटनामा किन महिलाहरूको क्षति बढी हुन्छ भन्ने कारण केलाएको छ । खासगरी नुटबिमको टोलीको तर्क छः कारको सुरक्षा सन्यन्त्रको परीक्षणका बेला औसत पुरूषको आकारको डम्मीहरू राखी परीक्षण गर्ने गरिन्छ ।

यसका लागि टोलीले बेलायतका अस्पतालमा भर्ती भएका ७० हजारभन्दा बढी कार दुर्घटनाका बिरामीको तथ्याङ्क केलाएको थियो । यो २०१२ देखि २०१९ बीचको संख्या हो ।

यी घटनाहरूमा प्रायः दुर्घटना हुँदा पुरूष चालक भए उनीहरूले तुरून्त एम्बुलेन्समा जाने अवसर पाइहाल्छन् । भनाइको अर्थ, १६% महिलाहरू भने कार दुर्घटनापछि कारभित्रै अधिकांश समय अड्किने, तिनलाई निकाल्न गाह्रो हुने देखिएको छ । यस्तो समस्या चाहिँ ९% पुरूषमा मात्र देखिएको थियो । महिलाहरू दुर्घटनामा पर्दा उनीहरूको तिघ्रा तथा मेरूदण्डमा आघात पुग्न गएको थियो । पुरूषहरूलाई भने टाउको, अनुहार, छाति लगायतका अङ्गमा प्रभाव परेको पाइयो ।

यो अनुसन्धान बिएमजे ओपन नामक शोध म्यागेजिनमा प्रकाशित भएको छ ।

‘कार दुर्घटनामा पर्दा महिला र पुरूषहरू दुवै पक्षले फरक फरक समस्या बेहोर्नु परेको थियो,’ प्लाइमाउथ अस्पतालकी एनेस्थेसियाविज्ञ डा. लरेन विकेस भन्छिन्, ‘महिला चेपिनु र पुरूष चेपिनु उही कुरा होइन भन्ने कुरा यो अध्ययनले प्रमाणित गरेको छ ।’

क्यारोलिन क्रियाडो पेरेज

लैंगिक फरकपना बुझ्नुले चोटपटक तथा घाउको प्रकार बुझ्न सहयोग पुर्याउँछ र यसले प्यारामेडिकहरूलाई कस्तो चोटले कहाँ कसरी अप्ठेरो पार्छ भनी अनुमान गर्न सघाउ पुर्याउने विकेसको भनाइ छ । अझ एक कदम अघि बढेर गाडी निर्माण गर्ने कम्पनीहरूलाई पनि पुरूष तथा महिला दुवै पक्षलाई चोटपटकबाट जोगाउन मिल्ने गरी कारको डिजाइन गर्न प्रेरित गर्ने उनको बुझाइ छ ।

खासगरी कार दुर्घटनामा पर्ने महिलाहरूको कम्मर भाँचिने देखिएको छ । यस्तो बेलामा उनीहरू कारबाट बाहिर निस्कन र उचित समयमा उचित उपचार पाउन नै गाह्रो हुन्छ । यदि यो तथ्याङ्कमाथि कार निर्माताले ध्यान दिएको खण्डमा कार दुर्घटना हुँदा चालक महिलाको कम्मर नभाँचिने किसिमको डिजाइन गर्न सक्छन् र महिलाहरूको अङ्गभङ्ग हुनबाट जोगिने विकेसको धारणा छ ।

त्यसो त महिला र पुरूषले कार हाँक्ने तौरतरिका नै फरक हुन्छ । पुरूषहरूले दुर्घटना गराउँदा अगाडिको भाग ठोक्ने गर्छन् र टाउकोमा चोट पुर्याउँछन्। महिलाहरूको दुर्घटना हुँदा छातिमा बढी चोट पर्ने गर्छ किनभने गाडी जहिले पनि पुरूषको उचाइ हेरी डिजाइन गरिन्छ र त्यो हाराहारीमा आफू बस्न प्रायः महिलाहरू सिटमा अलि अघि सर्ने गर्छन् । यस्तो बेलामा उनीहरू कारमा नराम्रो गरी फस्ने पनि गर्छन् । जबकि पुरूषहरू सहजै कारबाट निस्कन सक्छन्, उनीहरू फस्ने सम्भावना निकै कम हुन्छ वा कारको डिजाइन नै यस्तो हुन्छ कि उनीहरू फस्दैनन् तर महिलाहरू फस्ने गर्छन् ।

कार बजारमा जानुभन्दा पहिले त्यसलाई दुर्घटना गराई के कस्ता अवस्था सिर्जना हुन्छन् भनी परीक्षण गर्ने गरिन्छ । यस्तोमा जे डमी प्रयोग गरिन्छ, त्यो पुरूषको आकार‑प्रकार र उचाइसँग मिल्दो प्रयोग गरिन्छ । महिलाहरूलाई ध्यानमा राखेर त्यस्तो प्रयोग गरिँदैन ।

महिलाहरूको आकार‑प्रकार, उचाइ तथा तिनका अन्य कुरालाई ध्यानमा राखी कारको डिजाइन गर्ने हो भने महिला दुर्घटनामा पर्दा उनीहरूलाई पुग्ने हानिमा धेरै नै कटौती गर्न सकिने तर्क उनको छ ।

त्यसो त युरोपेली युनियनले यसतर्फ ध्यान दिनुपर्नेतर्फ कार निर्माताहरूलाई सचेत गराइसकेको छ । यसबारेमा नयाँ कानुन पनि जारी गरिसकेको छ । जसअन्तर्गत पुरूष कार चालकलाई जति नै महिला कार चालकलाई पनि महत्त्व दिँदै उनीहरूको सुरक्षामा ध्यान दिनुपर्ने, महिलामैत्री कार निर्माण गरिनुपर्नेमा जोड दिइएको छ ।

बेलायतमा भने यस किसिमको कुनै चासो नभएकोमा अध्येता विकेस दुःख मनाउ गर्छिन् ।

उनी भन्छिन्, ‘यस किसिमको वृहद् अध्ययन र त्यसको निष्कर्षले कानुन निर्माताहरूलाई पक्कै घच्घच्याउनेछ । तात्विक रूपमा महिला र पुरूषहरूको बनोट फरक छ भने तिनको आवश्यकताअनुसार कारको सुरक्षा संयन्त्र पनि निर्माण गरिनु पर्छ । महिलाहरूको ज्यान पनि पुरूष जत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा कार निर्माताले बुझ्नुपर्छ ।’