१. छोरो  – दुर्गालाल श्रेष्ठ

आमा,  मलाई आजसम्म

के भएको यस्तो ?

बाको मुखै देख्या छैन

कस्तो छ खै कस्तो !

 

बेलुका बा घुस्छन् घर

जब कि म सुत्छु

बिहान नि निस्किसक्छन्

जब कि म उठ्छु

 

यस्तो किन ? भन्दा आमा

भन्छिन् कमाउन

तिमीलाई बाबु हाम्रो

छोरो बनाउन

 

मन भन्छ ‘छोरो बन्नु

भनेको हो के त ?

छँदाछँदै हुन्न जहाँ

बाबु-छोरा भेट ।’

————————————–

दुर्गालाल श्रेष्ठ

[नेपाली तथा नेवारी साहित्यका क्षेत्रमा सिद्धहस्त कवि दुर्गालाल श्रेष्ठ (१९९२) पाठकका मनमा प्रभाव छोड्न अत्यन्त सिपालु कवि, गीतकार तथा बालसाहित्यकार हुन् । सङ्ख्यात्मकताका हिसाबले भन्दा पनि गुणात्मकताका हिसाबले हेर्दा उनी उच्च कोटिका रचना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनको ‘सयथरि बाजा एउटै ताल, सयथरि गोडा एउटै चाल…..’, ‘फूलको आँखामा फूलै संसार .‍….’ भन्ने गीत जनमानसमा अत्यन्त लोकप्रिय रहेका   । उनका उत्कृष्ट बालगीत तथा बालकविताहरू ‘कागजको डुङ्गा’, ‘सुनचरी’ लगायतका सङ्ग्रहहरूमा सङ्कलित छन् । उनका बालकवितामा राष्ट्रियताको सन्देश, प्राकृतिक प्रसङ्गको चर्चा, बालसुलभ व्यवहार, जन्मभूमिप्रतिको मोह, चराचुरुङ्गी र जीवजन्तुको प्रयोग, शैक्षिक चेतना, सकारात्मक सन्देशको प्रस्तुति, झिनो आख्यानात्मकता, लयात्मकता  पारिवारिक समस्या, मनोरञ्जनात्मकता, बालपीडा, कल्पनाशीलता, श्रमप्रतिको श्रद्धा वा परिश्रमको महिमागान,  स्वतन्त्रताको अपेक्षा, अतीततर्फको चासो जस्ता वैशिष्ट्य पाइन्छन् । उनको प्रस्तुत ‘छोरो’ बालकविता पारिवारिक विषयवस्तु र बालपीडालाई सम्बोधन गरेर लेखिएको उत्कृष्ट बालकविता हो । संवादात्मक शैलीमा रचित यस बालकवितामा आमा र छोराबिचको संवादलाई अघि सारिएको छ । पारिवारिक समस्या हल गर्ने र सन्तानलाई सुख दिने जस्ता उद्देश्यले रातदिन नभनी खटिरहने बाबुले छोरालाई नै बिर्सिएर छोराका लागि समय र श्रमको त्याग गरेकोमा छोरा पात्रले आमासँग गुनासो गरेको सन्दर्भ कवितामा आएको छ । छोराले बाबुबाट भौतिक सुविधा भन्दा पनि पितृवात्सल्यको अपेक्षा राखेको प्रसङ्ग कवितामा कलात्मक ढङ्गले प्रस्तुत भएको छ ।]

********************************************

२. हजुरआमा – ललिता ‘दोषी’

मेरी प्यारी हजुरआमा ! साह्रै नै छिन् ज्ञानी
सबैलाई  माया गर्ने कस्तो राम्रो बानी  ।

चौबन्दी र धोतीमा नै हुन्छिन् परी जस्ती
जे गर्न नि अघि सर्छिन् जाँगरिली कस्ती ।

आफू भोकै बसी उनले भर्छिन् सबको पेट
सानाठूला सबैलाई देख्छिन् उनी एक ।

कहिलेकाहीँ एक्लै बसी धुरुधुरु रुन्छिन्
थाहा छैन मनमा उनले के-के कुरा गुन्छिन् ।

अब मैले पुछ्नुपर्छ उनका आँसु धारा
पखाल्ने छु आजैदेखि उनको पीर सारा ।

——————————————————–

ललिता ‘दोषी’

[ललिता ‘दोषी’ (२०२५) ललितपुरमा जन्मिएकी र हाल बुद्धनगर बानेश्वरमा बसोबास गर्दै आएकी स्रष्टा हुन् । नेपाली साहित्यमा स्नातकोत्तर गरेकी कवयित्री ललिताले बच्चाहरूका लागि थुप्रै पुस्तकहरू प्रकाशित गरेकी छन् । उनका सातवटा बालकथाहरूलाई  श्रव्य– दृश्य कथा बनाइएको  छ । साहित्यका प्रायः विधाका लेखनमा उनको अनुभव छ । उनले एक दर्जन जति पुस्तक सम्पादन गरेकी छिन् । उनी क्षेत्रीय प्रतिभा पुरस्कारलगायत कथा,कविता, नाटक, बालकथा, बालकव्य, बालगीत आदिबाट पनि पुरस्कृत भएकी छन् । उनका गीत, बालगीत रेकर्डिङ  भएका छन् । कवयित्री ललिता ‘दोषी’ले लेखेका बालकथा, बालकविता, बालनाटक गरेर करिब एक दर्जन बढी रचना विद्यालयस्तरीय पाठ्यपुस्तकमा प्रकाशितसमेत भइसकेका छन् । उनको प्रस्तुत ‘हजुरआमा’ बालकविता अग्रज अभिभावकको सम्मानमा लेखिएको सबाई लोकछन्दमा आधारित रचना हो । हजुरआमाले बच्चाबच्चीलाई गरेको माया र सन्तानप्रति उनीद्वारा निर्वाह गरिएको प्रसङ्ग कवितामा आएको छ । कथयिता  बालपात्रले भविष्यमा गएर आफूलाई ममताको सिञ्चन गर्ने हजुरआमाप्रति सक्दो सेवाभाव प्रदर्शन गरी कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता कवितामा अभिव्यक्त भएको छ ।]

*******************************

३. हाम्रो घरको पूजा – सुशीलप्रसाद वाग्ले

बुबा पूजा गर्नुहुन्छ शङ्ख बजाएर

आमा पूजा गर्नुहुन्छ थाली सजाएर

आँगनका थरि-थरि फूल टिपी ल्याउँछु

छेउमै उभिएर मैले घण्टा बजाउँछु

 

हजुरबुबा लुगा ला’को किताब ल्याउनु हुन्छ

हजुर आमा पूजापछि भजन गाउनु हुन्छ

सानी बहिनी पैसा पाउँदा साह्रै दङ्ग पर्छे

मिठाई किनी सँगै खाऊँ भन्दा आँखा तर्छे

 

मामा माइजू आउँदा मैले पनि पैसा पाउँछु

चिल्लो-चिल्लो कागज भा’को कापी किनी ल्याउँछु

यसपालि त मामा माइजू आउँदा फेवाताल

घुम्न जाने डुङ्गा चढ्ने हेर्दै रमाई छाल

 

मामा माइजू दुवै जना हुन्छ भन्नु भा’छ

नयाँ साल एक गते कहिले आउला ला’छ ।

——————————–

सुशीलप्रसाद वाग्ले

[कवि सुशीलप्रसाद वाग्ले (२०३१) व्यास नगरपालिका दमौली, तनहुँ घर भई हाल सोही ठाउँमा नै रहेको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापन पेशामा संलग्न छन् । साहित्यमा भूमिगत साधना गर्न नछोड्ने तर चर्चा र हल्लाखल्लाका पछाडि बिल्कुलै नदौडिने स्वभाव उनमा छ । उनी गहन अध्ययनका साथ समीक्षा र समालोचना गर्छन् अनि दार्शनिक विचारलाई समेटेर शास्त्रीय छन्दका कविता लेख्छन् । पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाली साहित्यमा स्नातकोत्तर गरिसकेका कवि वाग्लेले २०४४ सालदेखि कविता विधा मार्फत साहित्य लेखनको यात्रारम्भ गरेका हुन् । उनको ‘सत्या’ कविता सङ्ग्रह २०५७ सालमा प्रकाशित भइसकेको छ । निरन्तर कविता विधामा साधनारत उनका विभिन्न जर्नलहरूमा अनुसन्धानात्मक लेखहरू प्रकाशित पनि हुँदै आइरहेका छन् । तनहुँ जिल्लाबाट प्रकाशित हुने साहित्यिक मासिक ‘नव बेलपत्र’ को प्रकाशक र सम्पादक समेत रहेका उनले फुटकर रूपमा बालकविता पनि लेखेका छन् । उनको ‘हाम्रो घरको पूजा’ बालकविता बाल मनोविज्ञानलाई खोतलेर लेखिएको र बालसुलभ कोमल भावनामा आधारित सुन्दर बालकविता हो । पारिवारिक नाता सम्बन्ध र आत्मीयताको भाव कवितामा मुखरित भएको छ  । कथयिता बालपात्रका रूपमा उभिएर कवि वाग्ले यसमा स्वयम् नै  बालपात्र जस्तो बन्न पुगेका छन् । सांस्कृतिक सन्दर्भको प्रस्तुति, झिनो आख्यानात्मकता र लयात्मक प्रवाहमयता जस्ता वैशिष्ट्यले कविता रोचक र उत्कृष्ट बन्न  पुगेको छ ।]

rcghimire47@gmail.com