२००३ मे २९ मा प्रकाशित खालिद हुसेनीको औपन्यासिक कृति ‘द काइट रनर’ को प्रथम पुरुष कथावाचक सुनाउँछन्ः

यो कथा हो तृष्णा मेरो, एकजना मनुष्यको बारेमा, जसले ‘अ म्याजिक कप’ – जादुको कचौरा, जादुयी अम्खोरा, मायावी प्याला जे नाउँले सम्बोधन गरे पनि – हात पारेको छ; तत्पश्चात, उसलाई दिव्यज्ञान के हासिल भएको छ भने, जब महोदय प्यालाको सामुन्ने रुनेछन्, उनका आँसुका थोपा, अश्रुदाना मोतीदानामा रूपान्तरित हुनेछन् । ऊ सदा गरिब थियो, तर एउटा सन्तुष्ट मनुवा थियो; सायदै कहिल्यै उसका आँखा रसाएका थिए, सायदै कहिल्यै उसका नयनले आँसु खसाएका थिए । त्यसैले उहाँ हजुर आफूलाई दुःखी तुल्याउने मार्गमा आँखा दौडाउनुहुन्छ, जसको परिणामस्वरूप रुनु सकिन्छ, र आफ्ना आँसुले सम्पन्न हुनु सकिन्छ; अर्को शब्दमा, जादुको अम्खोरामा आँसुदाना पार्नुछ, उतार्नुछ र पानी सारेजस्तो मोतीदाना सार्नुछ । मौसुफ जबर्जस्ती दुःखी होइबक्सिन्छ, सुँक्कसुँक्क रोइबक्सिन्छ; जब मोतीको थुप्रो लाग्नु थाल्छ, वरिष्ठको इच्छाले लोभको गहिरो ताल – झन् जति ताछ्यो झन् उति देखिन्छ बढेको के हो ? उत्तरः खाडल – मा हाम्फाल्छ । कथाको इति, उक्त मानिस मोतीको पहाडमाथि बसिरहेको, हातमा रगताम्मे छुरा, आफ्नो प्रिय पत्नीको देह आफ्ना दुई पाखुरामा अँठ्याउँदै असहाय किसिमले रोइरहेको अवस्थामा हुन्छ ।

‘सगरमाथाको गहिराइ’ (सन् २०१७) को शीर्ष कवितामा नवराज पराजुली पाठक–श्रोतालाई ज्याद्रो पेल्छन्, खोक्रो ’राष्ट्रवाद’ को खाल्डोमा धकेल्छन्:

बिजुली उत्पादनमा संसारको सबैभन्दा बढी क्षमता राख्ने
मेरो देशले
मेरो बिदाइमा आएकी
मेरी श्रीमतीको आँखाबाट खसेको आँसुको ऊर्जाले
नौलाख बत्ती बाल्न पुग्ने बिजुली निकाल्यो रे !

‘द काइट रनर’ को प्रथम पुरुष कथावाचक आमीरको ‘आख्यान’ मा कृतिको अनपढ चरित्र हसनको प्रतिक्रिया छः

यदि म सोध्नु सक्छु भने,
गरिब मनुवाले आफ्नी पत्नीलाई किन बिनसित्ती मा-यो ?
वास्तवमा, आँसु खसाउनुका निम्ति दुःखी नै हुनुपर्छ भन्ने अर्थ न व्यर्थको कुरा उसले किन सोच्यो ?
आफ्नो अगाडि प्याज काट्नु सक्दैनथ्यो र ?

‘कालापारिएका’ अथवा ‘मुगलानिएका’ तमाम नेपाली नागरिकले नवराजको बत्तीस दन्त झार्नु सक्छन्, उनीहरू हसनको जस्तो सवाल अगाडि सार्नु सक्छन्ः

श्रीमतीको आँखाबाट खसेको आँसुको ऊर्जाले नौलाख बत्ती बाल्नु पुग्ने बिजुली निकाल्न सकिन्छ भने,
परदेशको ‘वनवास’ किन ?
घरदेश सम्झेर आधा गाँस किन ?
काठको बाकस किन ?
युवाज्यानको सत्यानाश किन ?
घरदेशमै पियारी स्वास्नी कुटेर धुरुक्क रुवाए भइहाल्यो ।
जीवनसङ्गिनीलाई धमाधम प्याज काट्नु लगाएर आँसु तुरुक्क चुहाए भइहाल्यो ।
नेपाललाई अमेरिकी एमसीसी किन घाँटीघाँटी आइपरेको ?
अमेरिका नेपालको जलविद्युतको लागि किन मरिहत्ते गरेको ?
अमेरिकामा लैङ्गिक समानता हुनाले नेपालमा जस्तो … ?

कविका अनुसार, पृथ्वीभरको फोहोर पखाल्नु पुग्ने पानी नेपालका नदीसँग पैँचो मागे हुन्छ ।
हरे ! अब त्यस्तो ‘स्वच्छ, निर्मल’ प्रस्ताव वागमतीलाई राखे हुन्छ ?

म सतीदेवी, सतीदेवी यादव
याद अब मेरो पतिदेवलाई नहोला,
(पृ. ४५, सतीदेवीको गाण्डीव)

यी तिम्रा तिनै हात हुन्
जसले रातमा र मातमा मात्र मेरो साथ दिए,
यी तिम्रा तिम्रा हात हुन्
जसले मेरा दाइ, जो दाइजो दिन सक्दैनथे
तिनका हात भाँचिदिए,
(पृ. ४७, उही)

‘सगरमाथाको गहिराइ’ मा सङ्ग्रहित कविताहरूमा देखापर्ने ‘पन’ अथवा श्लेष – दृष्टान्तका निमित्त, दाइ जो, दाइजो – उपयोग हुनु नसक्दा कविता गनगन भएको छ, ‘फन’ हुनगएको छ ।

तिम्रो यो अन्यायको अन्त्य गर्न
आज मैले अर्जुनबाट उसको गाण्डीव खोसेर ल्याएकी छु
र यसलाई चलाउन
मलाई कुनै कृष्णले भागवत्गीता सुनाइरहनुपर्दैन
(पृ. ४८, उही)

हाम्रो युगका महाकवि ‘दाइजो माग्ने’ पुरुषलाई खेदो खन्नुहुन्छ । महिला आफ्नो हक आफैं लिनु समर्थ छन् भन्नुहुन्छ । तर, महिलालाई त्यसको लागि ‘पुरुषार्थ’ वा पुरुषको हतियार – अर्जुनको गाण्डीव – अत्यावश्यक शर्त हो ।

‘गाईखाने भाषा’ अङ्ग्रेजीको एक कथन छः
Madam, I’m Adam.

सुल्टो, उल्टो पढे पनि उस्तै सुनिन्छ ।

गुरु द्रोणाचार्यको ‘माछाको आँखा’ को जाँचले अर्जुनलाई उत्तम शिष्य किन ठहर गरेको छ भने, अर्जुनदृष्टि लक्ष्यमा छ ।

आदमको हड्डीमार्फत ‘दोस्रो दर्जाकी स्त्री’ इभको उत्पत्ति – पुरुषले फालेको हड्डी – हुनाले नारीमुक्तिका निम्ति अत्यावश्यक अर्जुनदृष्टि हो, कृष्णको ‘गीता’विचार चाहिएको छैन, तर खोस्नुपर्ने हतियार भने ‘उही हड्डी’ अर्जुनको गाण्डीव हो ।

घामबाट आएका किशोरी किरणहरू
सबैभन्दा पहिला मेरो ओठमा देउडा खेल्छन्
अनि मात्र
कोपिलाको ओठमा गएर आराम गर्छन्
अनि मात्र
रजस्वला हुन्छ कोपिलालाई
अनि मात्र यहाँका फूल मुस्कुराउँछन्
(पृ. १२, ब्रह्माजीको रजस्वला)

रोबर्ट फ्रस्टले भनेजस्तो, कवितामा आनन्दको सञ्चार र विवेकको उपसंहार हुन्छ ।

‘पन’ मा नै फनफनी घुमेको ‘ब्रह्माजीको रजस्वला’ मा नारीमुक्तिको उद्घोष कसरी गरिएको छ भने, नारी पितृसत्ताबाट त्यतिखेर मुक्त हुनसक्छन्, जतिखेर ब्रह्माजीलाई, पुरुषलाई रजस्वला हुन्छ ।

छाउघर वास गरेकी छोरी आमालाई दोषारोपण गर्छिन्, छाउगोठ किन नपठाउने त्यसमा उनले पेश गरेका कारण भने विवेकहीन, अवैज्ञानिक, ‘भावुक’ र ‘स्वच्छन्द’ लाग्छन् ।

सन् २००४ मा प्रकाशित कमलरत्न तुलाधरको ‘क्याराभान टु ल्हासाः अ मर्चेन्ट अफ काठमाण्डु इन ट्रेडिसनल टिबेट’ (दोस्रो संस्करण, सन् २०११) को १९ नम्बरको पाता फर्काइएको छ, ‘बिजुली बत्तीको भर्खर दर्शन भएको छ । घरमा दुईवटा बिजुलीका चीम जडान गरिएका छन् । सरकारले प्रतिघर एउटा मात्र बिजुलीको बत्ती बाल्ने अनुमति दिएकाले एउटा स्वीच अन गर्दा अर्को स्वीच गर्नुपर्ने अवस्था छ ।’
हिन्दूवादी खस–नेपाली ‘स्पोकन वर्ड पोएट्री’ का प्रतिनिधिको मन–मन्दिरमा आस्थाको दियो बलेको छ, तर ‘चटके कवि’ को बुद्धिको फ्युज उडेको छ, अर्थात, हृदय तेज धड्केको छ तर बुद्धिको बत्ती स्वीच अफ छ, अर्को शब्दमा, मगज सड्केको छ ।

एज्रा पाउन्डको डाँको सुनिन्छ, ‘साइन्स इज अनपोएटिक वन्ली टु माइन्डस् जन्डिन्स्ड वीथ सेन्टिमेन्ट एण्ड रोमान्टिसिजम् ।’ अर्थात, विज्ञान केवल भावुकता तथा स्वच्छन्दताको कमलपित्तद्वारा ग्रसित टाउकेहरूका निम्ति अकाव्यिक हुन्छ । जसरी फिजिक्स, केमिस्ट्री, बायोलोजी विज्ञान हुन्, कला, साहित्य, काव्य विज्ञान नै हुन् । तिनीहरूका साझा विषय मनुष्य, मानवजाति र व्यक्ति हुन् । जुन गम्भीरताको अवधारणा छ, सर्जक र आलोचक दुवैलाई समानरूपले लागू हुन्छ; गम्भीर सर्जक वैज्ञानिक हुन्छ । स्वयंको अज्ञानतालाई सकारात्मक रूपमा प्रस्तुत गर्ने अधिकार सर्जकलाई हुँदैन । ‘भविष्य’ मा वैज्ञानिक सोच लागू हुन्छ; त्यसैले स्रष्टाले वैज्ञानिकको रूपमा रचना गर्दैन भने, उसको रचना भविष्य उन्मुख हुँदैन भने लेख्नुको कुनै तुक छैन । रचनाकारितामा, कलाकारितामा वैज्ञानिक ढङ्गले समर्पित हुनुपर्छ ।

‘केटीहरू रूख चढ्दैनन्’ हाम्रो युगको महाकविले आफ्नो अज्ञानतालाई सकारात्मक रूप दिनु ‘शिलापत्र’ लाई तयार गरेको लेख हो । सराहनीय के छ भने, बिना थिङहरूले उक्त लेखको विरुद्ध ‘वैज्ञानिक’ प्रतिक्रिया दिने यथेष्ट चेष्टा गर्नुभयो, तर उहाँहरूको पनि आलोचना आफ्नो ठाउँमा छँदैछ । आलोचना पनि आलोचनाबाट पर हुँदैन । आफ्नो अज्ञानता सकारात्मक छ भनेर प्रस्तुति दिनेमा ‘कुमारी प्रश्नहरू’ की कथाकार दुर्गा कार्की पनि पर्नुहुन्छ, जो महिलालाई पुरुषबाट उत्पीडित, पददलित सीता बनेको देख्न चाहनुहुन्न, आफ्नो नाम दुर्गा भएकोमा भने मख्ख पर्ने गर्नुहुन्छ; सीता माता र दुर्गादेवी समतुल्य हुन् भन्ने ज्ञान उहाँलाई हासिल भएको छैन ।


(संसारको सबैभन्दा पुरानो पेसा कुन हो, जसको कारण महिलाहरू अप्सरा भए, देवी भए ?)

सञ्जय लीला भंसाली निर्देशित चलचित्र ‘गंगुबाई काठियावाडी’ (२०२२ फेब्रुअरी २५) मा शीर्ष चरित्र (आलिया भट्ट) को ‘डायलग’ छः

संसारको सबैभन्दा पुरानो पेसा कुन हो !
हामी नहुँदा स्वर्ग पनि अधुरो छ ।
हाम्रो अलिकति इज्जत त हुनुपर्छ !
शक्ति, सम्पत्ति, सद्बुद्धि तीनजना नै महिला हुन्,
पुरुषहरू के कुरामा यत्रो घमण्ड प्रदर्शन गर्छन् हँ !

(‘गंगुबाई काठियावाडी’ को शीर्षचरित्रमा आलिया भट)

जवाफ पेश गर्नुका निमित्त, GOD को विस्तारित रूप (Full Form) मा जानुपर्ने हुन्छ, [G]enerator, [O]perator, [D]estructor अर्थात सृष्टिकर्ता, पालनकर्ता, संहारकर्ता । ब्रह्मा सृष्टि गर्छन्, विष्णु पालन गर्छन् र शिव संहार गर्छन् । ब्रह्माको सृष्टि, विष्णुको पालन र शिवको संहारका निमित्त क्रमशः सरस्वती (सद्बुद्धि), लक्ष्मी (सम्पत्ति) र शक्तिको जरुरत पर्दछ । देवताहरू जीवनमा ‘क्रियाशील’ हुन्छन्, किनभने उनीहरू कर्ता (Subject, Actor) हुन्; देवीहरू निष्क्रिय हुन्छन्, किनभने उनीहरू कर्म (Object, Action) हुन् ।

 

(यो नर्सिसस, यसको छायाबाट मुक्ति देऊ)

सन् २००६ मा ‘पेन्गुइन बुक्स इन्डिया’ बाट प्रकाशित देवदत्त पटनायकको ‘मिथ = मिथ्याः डिकोडिङ हिन्दु माइथोलोजी’ ले खुलस्त गराउँछ, ‘देवीहरू सद्बुद्धि, सम्पत्ति र शक्ति हुनसक्छन् तर देवताहरू नै आखिर बुद्धिमान, सम्पन्न र शक्तिशाली हुन्छन् (पृ. ३१) ।’

‘देव’पुरुषहरू घमण्ड प्रदर्शन किन गर्छन् भने, उनीहरू ब्रह्माको रूपमा सरस्वती (सद्बुद्धि), विष्णुको रूपमा लक्ष्मी (सम्पत्ति) र शिवको रूपमा शक्तिको ‘कर्म’ गर्छन् ।

राम सीतालाई ‘कर्म’ सम्झेर घरी अँगालो मार्छन्, ‘कसिङ्गर’ सोचेर घरी बढार्छन् ।

महिषासुरको वध गर्नुपर्ने हुन्छ, देवताहरू एकमात्र कर्म, ‘हतियार’ को रूपमा ‘शक्तिस्वरूपा’ दुर्गा ‘हात’ पार्छन् ।

‘गंगुबाई काठियावाडी’ मा महिलाको ‘स्वर्गीय’ इज्जतको निम्ति ‘सभ्यताको प्रथम पेशा’ वेश्यावृत्तिलाई कानुनी मान्यता दिनुपर्ने माग उचित छैन ।
भूपी शेरचनको ‘हामी’ झैं ‘पुरानो क्यारमबोर्डका गोटी’ सीताको भर नपर्ने तर दुर्गा हुनु भने मरिहत्ते गर्ने ‘भगीरथ’ प्रयत्नले नारीमुक्ति हुँदैन ।

प्रचारप्रसारको सम्बन्धमा १९५७ मार्च १२ को माओको भाषण छ, ‘बुद्धिजीवीहरूको दायित्व निमुखा जनसमुदायको सेवा गर्नुभएकाले उनीहरूले सर्वप्रथम निमुखा जनसमुदायको परिचय प्राप्त गर्नुपर्छ । हामी बुद्धिजीवीलाई जनसमक्ष जानुका निमित्त प्रोत्साहित गर्छौं । जिन्दगीमा कहिल्यै पनि किसान, मजदुरसित भेटघाट, वार्तालाप गर्नुहुन्न भने तपाईं कामको मान्छे होइन । केही मनुष्य केवल लोचनभोजन गर्नुका निमित्त गाउँहरूमा जान सक्छन्, जसलाई ‘घोडा चढेर फूलहरू लोचनभोजन गर्नु’ भनिन्छ, जुन केही नजान्नु समान हो । कोहीकोही मानिस केही मास गाउँवास गर्न सक्छन्, गाउँले साथी बनाउन सक्छन्, जसलाई ‘घोडाबाट ओर्लेर फूलहरू लोचनभोजन गर्नु’ भनिन्छ । कोहीकोही भने दुईतीन वा त्योभन्दा धेरै साल गाउँवास गर्न सक्छन्, जसलाई ‘बसाइँ सर्नु’ भनिन्छ । स्वयंको किताबी ज्ञान र व्यवहारको तालमेल नहुँदासम्म ज्ञान पूर्ण हुनु सक्दैन । पुस्तक अध्ययन जरुरी छ, त्यसमा सन्देह छैन, तर त्यसैले मात्र समस्याहरूको हल हुँदैन । हाम्रा धेरैजसो बुद्धिजीवी पुरानो समाजबाट उम्रेका र आफू मिहिनेत नगर्ने घरानामा जन्मेका हुन् ।’

त्यसैले, नवराज पराजुली तथा दुर्गा कार्कीका साहित्य भनेका घोडा चढेर फूलहरू लोचनभोजन गरेका तर गाउँ बसाइँ नसरेका साहित्य हुन् । एउटा खानदानमा ‘केटी रूख चढ्दैनन्, जब चढ्छन्, उनीहरूका पाउले धरतीसँग सधैंलाई नाता तोड्छन्’ किसिमको साहित्य जन्मिएको छ; अर्को खलकमा किताबी ज्ञान नै आधी गाग्रीको पानीजस्तो धेरै छचल्किएको छ । ‘घोडाबाट झरेर’ जनसमुदायको ‘वस्तुस्थिति’ अध्ययन गरेर नथाक्ने, व्यवहारबाट पर नभाग्ने, अनावश्यक ‘उडन्ते’ कल्पना परित्याग गर्ने, ‘मिहिनेत’ गर्न लाग्ने बुद्धिजीवीको खाँचो आइपरेको छ ।

माओका अनुसार, एकदम सही अथवा एकदम गलतको अड्डी कस्ने एकलकाँटेपन निरपेक्ष दृष्टिको सोच हो, जसले समस्याहरूको हल गर्न आध्यात्मिक विचारको सहारा लिन्छ; आजभोलि प्रकाशित लेखहरूमा शब्दजाल, शब्दाडम्बर हुन्छन् तर समस्याहरूको विश्लेषण र चित्तबुझ्दो तर्कको अभाव हुन्छ, त्यस्ता लेखहरूको सङ्ख्या यथाशीघ्र कटौती गर्नु असल हुन्छ ।

दुर्गाको लागि, नारी सीता हुनु एकदम गलत, तर दुर्गा हुनु एकदम सही छ । नवराजको लागि, भागवत गीता अनावश्यक, तर अर्जुनको गाण्डीव, ब्रह्माजीको रजस्वला अत्यावश्यक छ ।

उहाँहरूको एकलकाँटेपनले आध्यात्मिक पाउमा नै शिर झुकाएको छ ।

माओको सुझाव छ, ‘लेख रचना गर्ने बेलामा म कति जान्नेसुन्ने’ सोच्नुहुँदैन, पाठकलाई आफू समानको सोच्नुपर्छ ।

केटीहरू रूख चढ्दैनन् ?