

कुनै आवाज, दृश्य वा क्रियाका तरिकालाई सहज किसिमले नक्कल गर्ने शब्दलाई अनुकरणात्मक शब्द भनिन्छ। नेपाली भाषाको आफ्नै मौलिक विशेषतालाई झल्काउने यस्ता अनुकरणात्मक शब्दहरू क्रियाविशेषणअन्तर्गत पर्दछन्। नेपाली भाषालाई समृद्ध बनाउन अनुकरणात्मक शब्दको अहम् भूमिका छ। अनुकरणात्मक शब्दको प्रयोगले अभिव्यक्ति वा वाक्यलाई निकै चोटिलो बनाउँछ। केही अनुकरणात्मक शब्दहरू नियालौँ।
मुसुक्क – हाँस्नु
झमक्क -साँझ पर्नु
झ्वाम्म – हाम फाल्नु
कुपुक्क – खानु
गजधम्म – बस्नु
सिरसिर - हावा चल्नु
कलकल – पानी खानु
झुलुक्क – झुल्किनु
भक्भकी – उम्लनु
लटरम्म – फल्नु
फटाफट – जानु, गर्नु
थचक्क – बस्नु
खलखल – पसिना बग्नु
सुलुक्क – निल्नु
सरासर – हिँड्नु
भुसुक्क – बिर्सनु
खुरूखुरू – हिँड्नु/पढ्नु
डमडम – बज्नु
गजक्क – पर्नु
धपक्क – बल्नु
झनक्क – रिसाउनु
डङडङ्ती – गन्हाउनु
झल्याँस्स – बिउँझनु
झमक्क – साँझ पर्नु
कुपुकुपु – खानु
टक्रक्क – राख्नु
फ्यात्त – फ्याक्नु
हुत्त – फ्याक्नु
प्याट्ट – पिट्नु
कुटुकुटु – हिँड्नु
चिटचिट – पसिना आउनु
सुँक्कसुँक्क – रुनु
ढकमक्क – फुल्नु
पिटिक्क – भाँचिनु
जुरूक्क – उठ्नु
टप्प – टिप्नु
भुतुक्क – हुनु
पिच्च – थुक्नु
गमक्क – गम्किनु
कपाकप – खानु
चुर्लुम्म – डुब्नु
तनक्क – कस्नु
धुरुधुरु – रुनु
मुसुमुसु – हाँस्नु
फ्याट्ट – हिर्काउनु
चस्चसी – घोच्नु
भुर्र – उड्नु
स्वाँस्वाँ – गर्नु
पिलपिल – बत्ती बल्नु
ठिङ्ग – उभिनु
लहलह – झुल्नु
भतभत – पोल्नु
गमगम – बास्ना चल्नु
मक्ख – खुसी हुनु।
अब उल्लिखित शब्दहरूलाई वाक्यमा प्रयोग गरी हेरौँ – जसबाट भाषामा अनुकरणात्मक शब्दको गरिमा स्पष्ट हुन्छ।
साधारण वाक्य/अभिव्यक्ति | अनुकरणात्मक शब्दसहित |
म तिम्रो प्रेममा डुबेँ। | म तिम्रो प्रेममा चुर्लुम्म डुबेँ। |
उनी रोइन्। | उनी धुरुधुरु रोइन्। |
उनी चन्द्रमाजस्तै बलेकी छन्। | उनी चन्द्रमाजस्तै धपक्क बलेकी छन्। |
बस्न पाएँ भन्दैमा बस्नु हुँदैन। | बस्न पाएँ भन्दैमा थचक्क बस्नु हुँदैन। |
बोल्न पाएँ भन्दैमा बोल्नु हुँदैन। | बोल्न पाएँ भन्दैमा प्याच्च/प्वाक्क बोल्नु हुँदैन। |

कवीन्द्र लम्साल
अन्य उदाहरण हेरौँ :
मेरी माया मुसुक्क/मुसुमुसु हाँसेको देखेर म मक्ख परेँ। उनलाई तिर्खा लागेकाले कलकल पानी खाइन् (पिइन्)। “दायाँबायाँ नगरी सरासर घर जानू” भन्दै पिताले छोरालाई निर्देशन दिए। तिम्रै यादले छाती भतभत पोलेको तिमीले कहाँ बुझ्थ्यौ र माया ? म त भुसुक्कै बिर्सेछु, आज मतदान गर्न जानु छ। खेतैभरि लहलह धानका बाला झुलेपछि मात्र दसैँ आएको प्रतीत हुन्छ। आँगनभरि ढकमक्क सयपत्री नफुलेसम्म तिहार कसरी आउँछ र दिदी? “टप्प टिपी लैजान्थेँ मायालाई डालीको फूल भए” (एक गीत)। गर्मीमा धेरै काम गर्नु भएकाले होला, बुवाका निधारबाट खलखल पसिना बगे। अख्तियारबाट आफ्ना नाममा पत्र आएपछि उसको निधारबाट चिटचिट पसिना आउन थाल्यो। नेताको भाषण चित्त नबुझेपछि सबै दर्शक जुरुक्क उठेर हिँडे। बिहेका दिन दुलही सुँक्कसुँक्क गर्दै रोइनन् भने समाजले फेरि कुरा काट्न थाल्छ। मेवाका बोटमा लटरम्म मेवा फलेको देख्दा खाऊँ खाऊँ लाग्यो। गोप्य कुरा खुसुक्क भन्नुपर्छ अरे। झमक्क साँझ परेछ, अब बस्तुभाउ लगेर घर जानुपर्छ। फर्सी पाकेर फलत्त भएछ। ऊ साह्रै भोकाएको रहेछ, एक थाल भात ग्वामग्वाम खायो। उनको झनक्क रिसाउने बानी छ तर रिस उठ्दा सुँइक्क बोल्दिनन्।
आवाजको नक्कल गर्न प्रयोग गरिने केही अनुकरणात्मक शब्द (नेपाली भाषा विशेष)
- बाँ (बाँऽऽऽ..) : गाईगोरु कराउँदा निस्कने आवाज/शब्द।
- चीँ चीँ : मसिना चराचुरुङ्गी कराएको शब्द, चराचुरुङ्गीको कराइ।
- म्याउँ : बिरालाको आवाज।
- चुँ चुँ… : मुसा/छुचुन्द्रा आदि कराउँदा आउने आवाज/निस्कने शब्द।
- ड्वाँड्वाँ : बस्तुभाउ एकोहोरो कराउँदा निस्कने आवाज/शब्द।
- म्याँ : भेडा, बाख्रा, पाठा आदि कराउँदाको आवाज।
- कुखुरी काँ : भाले कुखुरो बास्दा आउने आवाज। आदि।
अनुकरणात्मक शब्दको उचित प्रयोगले वाक्य-गठन तथा भाषिक अभिव्यक्तिलाई चोटिलो, सुन्दर र रोमाञ्चित बनाउने भएकाले यस्ता भाषिक आभूषणको न्यायोचित प्रयोग गर्नु आवश्यक देखिन्छ।



