साहित्यिक अभिव्यक्तिहरुमध्ये मधुरतम रूप काव्य हो, काव्यको पनि सर्वाधिक सुमधुर रूप हो गजल ।
हुन त यो झट्ट हेर्दा अन्य काव्यविधाभन्दा धेरै भिन्न देखिँदैन, उस्तै–उस्तै नै लाग्दछ । तर अलि गहिरिएर हेर्दा चाहिँ यो अरुभन्दा नितान्त भिन्न र विशिष्ट विधा रहेछ भन्ने बोध हुन थाल्दछ । यसको आफ्नै मौलिक रूप–रंग, आकार–प्रकार, आनी–बानी, शील–स्वभाव, ढाँचा–काँचा, वैभव–लावण्य र भव्य व्यक्तित्व भएको हामी पाउँछौं ।
सबैभन्दा पहिले त यसको रचनाप्रविधि नै अरुभन्दा भिन्न रहेको हामी देख्दछौं । त्यसपछि यसको बोलीचाली अर्थात् अभिव्यक्ति–शिल्प पनि आफ्नै पाराको रहेछ – हामी बुझ्दछौं । यो गहिरो भइकन पनि सरल, सरल भइकन पनि सशक्त, सशक्त भइकन पनि सारै कोमल र लयात्मक हुँदो रहेछ – हामी चिन्दछौं । अझ बुझ्दै जाँदा अन्य काव्यभन्दा यसको स्वभाव र शैलीमा पनि निकै बेग्लोपन रहेको हामी थाहा पाउन थाल्दछौं ।
वैशिष्ट्य : गजलको
गजलको शीर्षक हुँदैन त्यसैले यो अन्य कविताजस्तो कुनै विषयवस्तु केन्द्रित रचना होइन, यो वर्णनात्मकताबाट सर्वथा मुक्त हुन्छ, सूत्रात्मकता यसको गुण हो । यसले कुनै व्यक्ति, समाज, धर्म, राज्य, राजनीति, सम्प्रदाय आदिको बयान गर्दैन । यसले कसैको निन्दा पनि गर्दैैन र स्तुति पनि गाउँदैन । कुनै ऋतुको वर्णन र दृश्यको चित्रण मात्र गर्नु पनि यसको स्वभाव होइन । यसले त हरेक वाद, सम्प्रदाय, राजनीति, खास सिद्धान्त र विचार आदिको संकुचित दायराबाट मुक्त भएर मानवमात्रका सरल र शाश्वत अनुभूतिहरुलाई रोचक पाराले सूक्ष्मता र कलात्मकताका साथ पेश गर्दछ । यो सरल भए तापनि अन्य काव्यविधा झैं वर्णनात्मक, वाच्यार्थप्रधान रचना होइन, कलात्मक अभिव्यञ्जनाका साथ गहिरो व्यंग्यार्थ वा ध्वनि सिर्जना गर्नु यसको गुण हो । अन्य काव्यविधामा समकालीनता र समसामयिकताको स्वभाव बढी पाइन्छ भने गजलमा चाहिँ शाश्वत सत्य र साधारणीकृत अनुभूतिको स्वर सघन हुन्छ । त्यसैले सामान्य कविता एउटा खास कालखण्डमा बढी सान्दर्भिक लाग्दछ, समयको क्रमिकतासँगै त्यसको रंगरूप खुइलिँदै जान्छ तर गजलचाहिँ कहिल्यै पुरानिँदैन, यो कालजयी हुन्छ, गललको तासीर सदाकालीन हुन्छ ।
यो त्यस्तो हीरा हो जो जतिसुकै पुरानो भए पनि उत्तिकै चम्किरहन्छ, झिलमिलाइरहन्छ । यसमा मानवजातिका सतही र क्षणिक कालसम्बद्ध समस्याभन्दा पनि मानवमात्रका मौलिक समस्या र पीडाहरु उपर सम्बोधन गरिएको हुन्छ । दुनियाँभरिका कुनै पनि धर्म, परम्परा र सम्प्रदायको वकालत गजलले गर्दैन । यसले त मानवमात्रका मूल धर्म ः दया, प्रेम, करुणा र मैत्रीजस्ता आन्तरिक मानवीय गुणहरुको वकालत गर्दछ । यो वस्तुसत्यको वर्णनमा रुचि राख्दैन, भावसत्य यसको सर्वस्व हो । गहिरो दार्शनिकता गजलको स्वभाव हो । तर यो दर्शनशास्त्रजस्तो जटिल, कुनै वादजस्तो एकांगी र शास्त्रीय कविताजस्तो प्रौढ अनि विश्लेषणप्रधान पनि हुँदैन । यो गहिरो भावले सम्पन्न भइकन पनि सरल, स्पष्ट, सूचनात्मक, संक्षिप्त र सूक्तिमय हुन्छ । यो समतल बयानमा रमाउँदैन । उक्तिवैचित्र्य र आरोह अवरोहमय वाग्–वैदग्ध्य गजलको शौक हो । यसमा कर्कशता होइन माधुर्य, गद्यात्मकता होइन आन्तरिक लय, समतल बयान होइन उत्तरोत्तर उत्कर्ष, खस्रो वर्णन होइन आनुप्रासिक शब्दशिल्प पाइन्छ । यो कथ्य र पाठ्य होइन, गेय र श्रव्य काव्यविधा हो । यसरी गजलका विधागत वैशिष्ट्य, स्वभावगत शैली स्वरूपगत व्यक्तित्वलाई चिन्न सकिन्छ । यिनै पहिचानका आलोकमा गजलका गुण अवगुणहरु छुट्याउन र खुट्याउन सकिन्छ ।
प्रिय गजलरसिक बन्धु ! आउनुहोस्, अब गजलमा रहने यस्ता केही प्रमुख गुणहरुको चर्चा गरौँ ।
१. व्याख्यात्मकता होइन, संक्षिप्तता
व्याख्यात्मकता गजलको अवगुण हो भने संक्षिप्तता गुण । कुनै पनि विषयको व्याख्या विश्लेषण र वर्णन गर्नमा गजलले पटक्कै रुचि राख्दैन । यसले त छोटो छरितो, सरल र स्पष्ट एवम् संक्षिप्त भाषामा विभिन्न प्रतीक र बिम्बको छायामा आफ्नो कथ्य मीठो पारामा पेश गर्दछ ।
नेपालमा राणाशासन आयो, प्रजातन्त्र आयो, निर्दलीय व्यवस्था आयो, बहुदलीय व्यवस्था आयो, गणतन्त्रसमेत आयो, जनता बन्धनमुक्त भए, तर उनीहरुको पीडा अन्त भएन, झन् घनीभूत भयो । यो विस्तृत विषयवस्तुलाई अत्यन्त संक्षिप्त र प्रतीकमय भाषामा गजलले यसरी बयान गर्दछ :
फुकेछ बन्धन, पीडा हजार बाँकी छ
झरी बितेर गयो, अश्रुधार बाँकी छ ।
..
उदास उदास कट्यो साँझ आशमै उसको
ढलेछ रात, अझै इन्तजार बाँकी छ ।
२. वर्णनात्मकता होइन, अभिव्यञ्जनात्मकता
वर्णनात्मकता गजलको अवगुण हो भने अभिव्यञ्जनात्मकता गुण । गजलको भाषा सोझो कुराकानीको भाषा होइन, हुन त यसको शैली अत्यन्त सरल र स्पष्ट हुन्छ, तर त्यो अभिव्यञ्जनात्मक हुन्छ, व्यंग्यात्मक हुन्छ र ध्वन्यात्मक हुन्छ ।
देशको दुर्दशाकै कुरा गर्नुपर्यो भने पनि वर्णनात्मक गन्थने पारामा होइन, प्रतीकात्मक शैलीमा गजलले यसरी बोल्दछ ः
सुक्यो बाग, माटो मलिलो रहेन
झर्यो फूल, माली गतिलो रहेन ।
अभिव्यञ्जक शैलीमा सिंगो मुलुकको तीतो यथार्थलाई शेरले यसरी छर्लंग पारेको छ : बाग सुक्यो, अर्थात् चार जात छत्तीस वर्णको साझा फूलबारी उजाडिन लाग्यो । माटो मलिलो रहेन, अर्थात् सिर्जनात्मक शक्ति मर्दै गयो । फूल झ¥यो, अर्थात् विकास, प्रगति, समृद्धि सबै समाप्त हुन लाग्यो, किनभने माली गतिलो रहेन, अर्थात् मुलुकको हेरचाह गर्ने नेता, देशसेवकहरु इमान्दार भएनन्, निष्ठावान् रहेनन् ।
एउटा अर्को शेर हेर्नुहोस् :
मिर्मिरेमा मैले देखें प्रकृतिको गीत
फक्रिएको फूलभरि तप्किएको शीत ।
सतहमा बुझ्दा फगत् प्रकृतिको वर्णनजस्तो लाग्दछ यो शेर । तर यो गीत हो जिन्दगीको । मानवजातिका सुखदुःखको कहानी हो । फक्रिएको फूल अर्थात् निरन्तर विकासशील खुशी र आनन्दले परिपूर्ण छ जीवन, तर त्यहीं पीडाको शीत पनि तप्किएकै छ ।
जीवनको दुःखमयता र संघर्षशीलतालाई हुरी र झरीजस्ता प्रतीकहरुले सजाएर यसरी बयान गर्दछ गजलको शेरले :
हुरीसँगै जुझिरहेँ, झरीसँगै रुझिरहेँ
ओत लाग्ने ठाउँ यौटा आजसम्म पाइएन ।
यही अभिव्यञ्जनाशैली गजलको भाषिक शिल्प हो ।
३. सीमित सत्य होइन, शाश्वत सत्य
सीमित सत्यको अभिव्यक्ति गजलको अवगुण हो भने शाश्वत सत्यको अभिव्यक्ति गुण । कविताहरुमा प्रायः समकालीनता र समसामयिकताको सन्दर्भ उठाइन्छ । कुनै व्यक्तिगत, सामाजिक, देशिक, कालिक घटना–दुर्घटनाउपर प्रतिक्रिया र टिप्पणी प्रस्तुत गरिन्छ, तर गजलमा यी सबैभन्दा पर व्यक्ति, देश, काल र समाजको घेराभन्दा माथि रहेको विश्वजनीन एवम् शाश्वत सत्यको प्रस्तुति पाइन्छ । यो शेर पढ्नुहोस् त :
सधैं ठीक्कको घामपानी हुँदैन
चिताएसरि जिन्दगानी हुँदैन ।
समकालिक जीवनका आम समस्या र दुःखपीडालाई पनि अभिव्यञ्जित गरेकै हुन्छ गजलले । तर आफ्नै शैलीमा । जसमा कुनै पनि सीमा र साँघुरो संसारबाट मुक्त बनेर सर्वजनसंवेद्य, मानवमात्रको साझा पीडा र त्रासदीलाई कलात्मक रूपले बयान गरिएको हुन्छ । जीवनका असंगति, दुःखान्तता, क्षणभंगुरता, वञ्चना र विसंगतिहरुलार्ई कसरी गजलले पेश गर्दछ, प्रिय भावकवृन्द ! आउनुहोस् एउटा गजल गुनगुनाएर हेरौं :
वसन्तमै हुरी चल्दा फूल झरेछ
प्राणपन्छी शिकारीको हात परेछ
..
गाउँ गाउँ लाग्दै थियो जिन्दगीको गीत
काल आइ सन्त्रासको बीउ छरेछ
..
साँझसम्म पुग्नु थियो मायालुको गाउँ
जाँदा जाँदै बाटैबीच रात परेछ
..
फूलभन्दा बढी बिक्छ कागजको फूल
साँचोलाई झूठले पो मात गरेछ !
४. विश्लेषणात्मकता होइन, सूक्तिमयता
विश्लेषणात्मकता गजलको अवगुण हो भने सूक्तिमयता गुण । व्याख्या, वर्णन र विश्लेषण गजलको भाषा होइन । अत्यन्त संक्षिप्त र सरल शैलीमा जीवनको सत्यलाई चुटुक्क सूक्तिमय शैलीमा पेश गर्नु नै गजलको अभीष्ट हो । विभिन्न भाव, विचार अनि मिहीन अनुभूतिलाई सुन्दर उक्तिबाट अविस्मरणीय पाराले सरल शैलीमा भन्नु सूक्ति हो । सुन्दर उक्ति नै सूक्ति हो । शेर सूक्तिमय बन्नु शेरको प्राप्ति हो र गजलको पनि संप्राप्ति हो । आउनुहोस्, विभिन्न गजलबाट यी शेर गुनगुनाऔं :
रहे साथ तिम्रो यही रात प्यारो
तिमीसंग एकान्तको बात प्यारो ।
..
आँखाबाट पस्नेलाई छेक्न सकिएन
भित्र पस्न मनाही छ, लेख्न सकिएन ।
..
बसूँभन्दा कतै आवास छैन
उडूँ भन्छू, खुला आकाश छैन ।
..
तिमी फूल झैं मुस्कुराएर बाँच
गजल जिन्दगी गुन्गुनाएर बाँच ।
..
सबैको यही एक आवाज पाएँ
गजलमा तिमीलाई नाराज पाएँ ।
सुन्नासाथै हृत्केन्द्रमा स्पर्श गर्नु र स्मृतिमा रहिरहनु नै सूक्तिको वैशिष्ट्य हो । अनौठो अभिव्यक्ति शिल्पद्वारा थोरैमा धेरै भन्नु नै सूक्तिमयता हो । गजल कस्तो होस् ? शेर यसरी बोल्छ :
ओठ तिम्रै गजल गुनगुनाइरहोस्
जत्ति बिर्से पनि, याद आइरहोस् ।
५. वस्तुसत्य होइन, भावसत्य
वस्तुसत्यको वर्णन गजलको अवगुण हो भने भावसत्यको प्रस्तुति गुण । महाकवि देवकोटा भन्नुहुन्छ : सत्य दुई थरिको हुन्छ, वस्तुसत्य अनि भावसत्य । वस्तुसत्य जगत्को ठोस र इन्द्रियप्रत्यक्ष सत्य हो तर भावसत्य चाहिँ आत्मिक अनुभूतिको यथार्थ हो, मनोबिम्ब हो, आनुभूतिक सत्य हो । शायरको यही मनोयथार्थ नै साधारणीकृत रूपमा भावकको मनोबिम्बसँग एकात्म्य बनेको हुन्छ गजलमा । यही भावसत्यको मनोरम प्रस्तुति हो शेर । यो सुन्नुहोस् :
वसन्तैमा हुरी चल्दा झरेको पातमा हुन्थें
जवानीमै मुटू जल्दा सधैं बरसातमा हुन्थें ।
यहाँ झरेका पातमा आफू अनुभूत हुनु, मुटु जल्दा सधैं बरसातमा हुनु, हार्दिक पीडामा महशूस गरिने भावसत्य हुन् । यी सहृदय भावकका पनि सम–अनुभूति हुन पुग्दछन् र शेर समादृत हुन जान्छ ।
यसरी आउँछ अनुभूतिसत्यको तरंग शेरहरुमा :
फूल हेरुँ फूल राम्रो, जून हेरुँ जून राम्रो
सबैभन्दा प्यारो तिमी, तिमीभन्दा कुन राम्रो ?
..
दुनियाँको रमझममा चैन कतै पाइएन
तिम्रै सम्झनामा डुबी, बरु एक्लो हुन राम्रो ।
प्रिय रसिकवृन्द, आउनुहोस्, आगामी आइतवार गजलका अन्य गुणहरुको चर्चा गरौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।