गजलको तेस्रो अक्षर हो :

माने लय, लयात्मकता गजलको व्यक्तित्व हो ।

हो, ‘ल’बाट लयात्मकताको संकेत मिल्दछ । लयात्मकता गजलगंगाको बहाव हो, बग्ने कला हो, भंगिमा हो । जसरी सुरसरिता आफ्नै प्रवाहभंगिमाका साथ ललित लयमा लम्किन्छिन्, त्यसैगरी गजलगंगा पनि लयलालित्यमै लहराउँछिन् । लोचपूर्ण लयले गजललाई व्यक्तित्ववान् बनाएको हुन्छ । गजल गुनगुनाइने विधा हो । गजलको काव्यशास्त्रमा लेख्नु जस्तो क्रियापद लगभग पाइँदैन । गजल लेखिने, छापिने, र पढिने विधा होइन, यो त भनिने सुनिने र गाइने सुनाइने विधा हो । सुरिलो लयलालित्यमा बगेको गजल लहराउँदै विविध भावभंगिमाका साथ भावकका कर्णकुहरमा प्रवेश गर्दछ, मस्तिष्कमा मोहनी भर्दै हृदयमा पुगेर आह्लाद प्रदान गर्दछ । लय नमिलेका पदपंक्तिलाई गजल भनिँदैन त्यो त फगत् गाद्यिक अभिव्यक्तिसम्म बन्न सक्दछ ।

आजसम्मको इतिहासले भन्छ : गजल हामी गुनगुनाउँछौं, गाउँछौं र सुन्छौं सुनाउँछौं । शास्त्र, निबन्ध, कथा र उपन्यास आदि मात्र लेख्छौं, छाप्छौं र पढ्छौं । लय बिना गजलको व्यक्तित्व बन्दैन, अस्तित्व रहँदैन । लयालु संरचनाले नै हाम्रो मनोमस्तिष्कलाई लयालु बनाउँछ, तरलता ल्याउँछ । तरल भन्नु नै रस हो, यही रसको आस्वादन गराउनु नै सर्वस्व लक्ष्य हो, लब्धि हो र उपलब्धि पनि हो गजलको ।

लयको मूल उपकरण छन्द हो, बह्र हो । यसको चर्चा हामीले पहिले नै अन्य प्रकरणहरुमा गरिसकेका छौं । कुनै न कुनै छन्दमा बह्रमा अथवा लयमा आबद्ध हुन्छ गजल । दुई पंक्तिको सन्तुलनमय संरचना : शेर, मधुर अनुप्रासले अन्वित काफिया, शेरैपिच्छे लहरिएर आउने रदीफ र मधुर मोहक पदरचना, यिनै सामग्रीसम्भार हुन् लयात्मकताका उपकरण । यसैबाट व्यक्तित्व बन्दछ गजलको ।

लोभलाग्दो लय

प्रिय रसिकजन ! आउनुहोस्, अब एउटा गजल लयदार पाराले गुन्गुनाऔं न त !

सबैको यही एक आवाज पाएँ
गजलमा तिमीलाई नाराज पाएँ ।

यो हो गजलको पहिलो शेर : मतला । यहाँ गजलमा आउने सारै मधुर र मोहक बह्र ए मिनकारिब को लपक्क परेको लय छ । फऊलुन् को छरिता चार आवृत्तिको वज्नबाट यो बह्र बनेको छ । यसलाई शास्त्रीय छन्दको दृष्टिले भुजंगप्रयात पनि भनिन्छ, जसमा चारवटा य गणहरु लहरिएर आउँदछन् । गुनगुनाउँदा आवाज र नाराज को मधुर काफिया जोडीद्वारा जिब्रो दन्तमूलमा रगडिनाले उत्पन्न हुने रसिलो तरंग प्रवाहित गर्दछ । अन्त्यमा आउने पाएँ रदीफको उच्चारणमा एक जोडी ओठले मादक स्पर्श पाउँछन् । मिसरा ए उलामा यही एक मा जिब्राको हलुका घुमाइले अनौठो आनन्द दिन्छ भने मिसरा ए सानीमा स्वयं गजलको समुपस्थितिलाई लाई को ल र नाराज को ज ले लालित्यपूर्ण स्वागत गरेको छ । यी सबै लयदार वर्ण, मात्रा र ध्वनिहरुले गजलको प्रथम शेर मतलामा लोभलाग्दो लयात्मकता सिर्जिएका छन् ।

डा. सनतकुमार वस्ती

अनौठो अन्दाज

गुनगुनाउने क्रम यसरी अगि बढ्छ :

दिलैदेखि उठ्दा अनौठो सुवास
तिमी छौ कहाँ आज अन्दाज पाएँ ।

मिनकारिबको मादक मधुरता यहाँ पनि तप्किएकै छ । मिसरा ए उलामा दिलैदेखि उठ्दा मा द को तीन पटक, सुवास मा स को दुई पटक आवृत्तिले श्रुतिमधुर अनुप्रास पैदा गरेको छ । मिसरा ए सानीमा कहाँ आज अन्दाज पाएँ मा हाँ, आ, दा, र पा मा चार पटक आकारको अभिप्रायपूर्ण अवृत्तिले साँच्चिकै केही पाएको आभास दिलाउँछ र अनुप्रासको अद्भुत आकर्षण पनि पैदा गर्दछ । आज अन्दाज पाएँ मा काफिया रदीफको समन्वयपूर्ण संयोजन त छँदैछ । आज र अन्दाज को जोडा पनि उत्तिकै आकर्षक बनेको छ । यी सबै सामग्रीसम्भारले यस शेरमा लयात्मकताको हार्दिक आवाहन गरेका छन् ।

यो मोडमा तिमी

युगौंदेखि खोजेर हिंड्थें निशानी
तिमीलाई यो मोडमा आज पाएँ ।

फऊलुन् को मीठो तरंग यहाँ पनि कायमै छ । देखि र खोजेर मा आएको ख को जोडीले खोज्नुको श्रमलाई ध्वनित गर्दछ भने निशानी मा दोहोरिएको नी ले नबिर्सने गरी हृदयमा बिम्बित चिनोलाई संकेत गर्दछ र मीठो अनुप्रास बन्दछ । तिमीलाई र मोडमा आएका तीन म ले श्रुतिमाधुर्य सिर्जिदैं मिलनमय मोडको मिठास समेत ध्वनित गर्दछ । आज मा आवाज नाराज र अन्दाज को लालित्यपूर्ण लहर मिलेर काफियाको करामत देखाउँछन् । पाएँ मा बारम्बार प्राप्तिको उद्घोष घन्किन्छ अनि फेरि लयात्मकताको प्राप्ति हुन्छ ।

शान्तिको राज

फेरि गजलगान गुँज्दछ अगिल्लो शेरमा :

जमाना सबै खोजि, थाकेर फिर्दा
घरैभित्र पो शान्तिको राज पाएँ ।

यहाँ मिसरा–ए–उलामा जमाना को म र न नासिक्य वर्ण एवम् जमाना र खोजि मा ज वत्स्र्य वर्णहरुले अनुप्रास पैदा गर्दछन् । थाकेर र फिर्दा मा प्रकम्पित र वर्णको अनुप्रासमा आएको रगडले रगडिनु र थाक्नुको भाव प्रतिध्वनित गर्दछन् । मिसरा–ए–सानी मा पो र को द्वारा विस्मयसूचक ओ ध्वनि पैदा गरिएको छ, जसले शान्तिको राज वा रहस्य घरैमा रहेको रहस्यलाई घनीभूत गराउँछ । सिंगै शेरमा पाँच पटक थर्किएको रेफको प्रकम्पनले खोज्नु र पाउनुका बीच रहेको श्रमपूर्ण यात्राको ध्वनि पैदा गर्दछ, काफिया र रदीफको जोडाले शेरलाई आकर्षक तवरबाट गजल संरचनामा आबद्ध गराएकै छन्, लोभलाग्दो लयकारिताको लोच सिर्जिएकै छन् र लयात्मकताको आवाहन गरेकै छन् ।

साज र आवाज

गजलको अन्त्यमा आउँछ मकताको मधुर महक :

गजल गुनगुनाएर आवाज भर्न
मुटूभित्र नै दर्दको साज पाएँ ।

भनिन्छ मकता गजलको चरमोत्कर्ष हो । गजलकै बयान गर्ने यस गजलमा प्रारम्भदेखि सञ्चयन गरिएको तर छरिएको गजलभावलाई प्रस्तुत शेरले समग्रता प्रदान गरेको छ । यहाँ गजलका व्यक्तित्वको खुलासा गरिएको छ । गजलको गुनगुनाहट साँच्चि नै गहिरिएको छ यहाँ, यस गुनगुनाहटलाई अझ समग्रता र पूर्णता दिन आवाजका साथ साज पनि जुटाइएको छ । त्यो साजचाहिँ आफ्नै मुटुभित्र छ र दर्द वेदनामय छ ।

यहाँ गजलको गुनगुनाइभित्र मीठो गुनगुनाहट भरिएको पाउँछौं हामी । दर्द मा केवल पीडामात्र छैन अनुप्रास पनि छ र मिठास पनि छ । भित्र मा त्को द्वित्व उच्चारणले मुटुको गहिराइलाई प्रतिध्वनित गरेको छ । गजल गुनगुनाउँदा वा गाउँदा मकताको पहिलो मिसरालाई पटक पटक पुनरावृत्ति गरेर गहिरो भाव पैदा गर्ने शिष्ट परम्परा पाइन्छ । तदनुरूप यहाँ गजलमर्मज्ञ गायकले गुनगुनाएर को गानभित्र अनेकौं लयलालित्य रचेर भव्य भावगाम्भीर्य भर्न सक्ने सम्भाव्यता सुलभ बनेको छ । गजल, साज र आवाज यी तीनै अवयवहरुको पनि यहाँ मधुर मिलन हुन पुगेको छ जो गजलसँग अनन्यभावले गाँसिएका आत्मीय अंगहरु हुन् । अन्त्यमा साज र पाएँ को प्रस्तुतिद्वारा प्रारम्भमा पक्रिएको काफिया र रदीफको निष्ठापूर्ण निर्वाह पनि भएकै छ ।

यसरी हामी गजलमा निहित लयात्मकताको आयामलाई आत्मसात् गर्न सक्दछौं ।

लयात्मक जादू

‘वाह ! गजल’का पहिले विविध प्रकरणमा आएका शेर, मिसरा–ए–उला, मिसरा–ए–सानी, काफिया, रदीफ, मतला, मकता, तासीर, अलंकार र बह्रजस्ता शीर्षकहरुमा लयात्मकताका उपकरणहरुको चर्चा गरिएको छ । यही लयात्मकताको अपार सम्पदाले नै गजलको जीवन अजर अमर भएको छ, कालजयी भएको छ । लयलालित्यको मिठासले नै गजलहरु गायनमा उत्रिएका छन् ।

आज गजलका अमर साधक र महाकविहरु मीर, गालिब, जफर र फैजजस्ता कलाकारहरुका रचना हामी पढेर भन्दा पनि मेहदी हसन, गुलाम अली, जगजीत–चित्रा सिंह, चन्दनदास, अनूप जलोटा र हरिहरन्हरुका मोहक–मादक आवाजमा सुनेर आस्वादन गर्दछौं । लयात्मकताको जादूले यी रचनाहरुलाई अमरता प्रदान गर्दै भावकका हृदयमा सधैंका लागि प्रतिध्वनित गरेको छ र यिनको प्राणप्रतिष्ठा पनि गरेको छ ।
साँच्चै नै लयात्मकता गजलको वास्तविक व्यक्तित्व हो । गजललाई अन्य विधाबाट छुट्याउने प्रमुख आधार पनि यही हो ।

गजलको अन्य विधासँग एकातिर गहिरो नाता पनि छ अर्कातिर ती सबै विधाभन्दा भिन्न भव्य स्वरूपका साथ गजल अलग्गै खडा पनि भएको छ ।

कसरी?

गजल र अन्य काव्य विधाका बीच के कस्ता समानता र भिन्नता पाइन्छन् त ?

प्रिय गजलरसिक बन्धु, आउनुहोस् यस विषयमा चर्चा गरौँ आगामी आइतवार ।