
२०७८, फागुन महिनामा उलेख्यमात्रमा कृतिहरू प्रकाशनमा आए । तर अधिकांश किताबहरूले पाठकको माया पाउन सकेको देखिएन । काठमाडौँका १०, काठमाडौँबाहिरका १० पुस्तक पसल र ३ अनलाइन पुस्तक बिक्रेताहरूबाट प्राप्त रिपोर्टलाई आधार मान्दा फागुन महिनाको “साहित्यपोस्ट बेस्ट सेलर” सूचीमा माघ महिनामा प्रकाशनमा आएका कृतिहरूले बजारमा बलियो उपस्थिति देखाउन सकेका छैनन् । साहित्यपोस्ट बेस्ट सेलर सूचीमा पुरानै पुस्तकहरूले बलियो उपस्थिति जनाएका छन् ।
ह्याट्रिक मार्दै साहित्यपोस्ट बेस्ट सेलर सूचीको पहिलो स्थानमा फेरि पनि बसन्त बस्नेतको महाभार नै रहन सफल भएको छ । यसअघि पुस र माघ महिनाको सूचीको पनि पहिलो स्थानमा रहेको यस उपन्यासले सामाजिक सञ्चालमा व्यापक प्रचारप्रसार पाइरहेको छ । यो उपन्यासको चर्चालाई छोप्न सक्ने गरी फागुनभरमा पनि कुनै कृति प्रकाशनमा नआएको फाइदा पुस्तकले प्राप्त गरिरहेको बुझाई बिक्रेताहरूको रहेको छ । नजितास्वरूप पुस्तक पसल तथा अनलाइन दुवै माध्यम र केन्द्र तथा मोफसल दुवै क्षेत्रमा उपन्यासको बिक्री राम्रो भएको रिपोर्टले देखाएको छ ।
त्यस्तै, माघ महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहेको टीकाराम रेग्मीको उपन्यास ‘उज्यालोतिर’ फागुन महिनाको सूचीमा दोस्रो स्थानमा पर्न सफल भएको छ । उपन्यासले पहिलो स्थानमा पर्न सफल महाभारले झैँ आक्रमक प्रचारप्रसार नपाए पनि प्रकाशनमा आएदेखि सुखद् बिक्री गरिरहेको छ । विद्यार्थी, विद्यालय, शिक्षक र शिक्षणमा केन्द्रित विषयवस्तु उपन्यासमा भएकाले पुस्तकले सुखद् व्यापार गरिरहेको बिक्रेताहरूको अनुभव रहेको छ ।
अघिल्लो महिना साहित्यपोस्ट बेस्ट सेलर सूचीको चौथो स्थानमा पर्न सफल प्रकृति अधिकारीको अनुसन्धानमूलक पुस्तक राणाकालीन शिक्षा एक स्थान उक्लदै फागुन महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहन सफल भएको छ । यो पुस्तक पुस महिनाको बेस्ट सेलर सूचमा दोस्रो स्थानमा रहेको थियो । राणाकालीन शिक्षाको विषयमा प्रबुद्ध वर्गका साथै युवाहरूको पनि विशेष चासो पछिल्लो समय बढेकाले त्यसको प्रभाव पुस्तक बिक्रीमा पनि परेको बिक्रेताहरूको बुझाइरहेको छ ।
माघ महिनाको बेस्ट सेलर सूचीको दोस्रो स्थानमा रहेको बुद्धिसागरको चर्चित उपन्यास कर्णाली ब्लुजको अङ्ग्रेजी अनुवाद यो महिना सूचीको चौथो स्थानमा पुगेको छ । कर्णाली ब्लुज नेपाली साहित्यमा सर्वाधिक बिक्री भएको मध्ये एक उपन्यास हो । प्रकाशनमा आएको दशक बितिसक्दा पनि नियमित बिक्री भइराख्ने पुस्तक कर्णाली ब्लुज रहेको बताउछन् बिक्रेताहरू । उपन्यासको अङ्ग्रेजी संस्करणको बिक्री सुखद् हुनुमा मुख्य भूमिका नेपाली साहित्यका अङ्ग्रेजी पाठकको रहेको बिक्रेताहरूको अनुभव छ । साथै, नेपालीमै पढिसकेका तर अङ्ग्रेजी संस्करणलाई सङ्ग्रह गर्न चाहने पाठकका कारण पनि पुस्तक फेरि पनि साहित्यपोस्ट बेस्ट सेलर सूचीको चौथो स्थानमा पर्न सफल भएको छ ।
फागुन महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा सुजित मैनालीकृति अनुसन्धात्मक पुस्तक “सतीः इतिहास र मीमांसा” रहन सफल भएको छ । अघिल्लो महिना सूचीबाट बाहिरेको यो कृति त्यसअघि लगातार सूचीभित्र अटाउँदै आएको थियो । फागुन महिना सूचीको पाँचौँ स्थानमा पर्दै कृतिले बेस्ट सेलर सूचीमा पुनरागम गरेको हो ।
यसअघि, माघ महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा रहेको जिउनुको मज्जा (जोय अफ लिभिङ), छैटौँ स्थानमा रहेको टोनी हेगनको नेपालमा मेरो खोजयात्रा, आठौँ स्थानमा रहेको सरदार भीमबहादुर पाण्डेको ऐतिहासिक पुस्तक त्यस बखतको नेपाल, नवौँ स्थानमा रहेको डा. देवी नेपालको लेखन शिल्प र दसौँ स्थानमा रहेको बसन्त पराजुलीको मोम्चो फागुन महिनाको सूचीबाट बाहिरिएका छन् ।
त्यस्तै, सूचीको छैटौँ, सतौँ, आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः उदय अधिकारीको अन्तर्वार्ता सँगालो ‘प्रश्न’, हरिहर तिमिल्सिनाको “कखरा”, मोहन मैनालीको अनूदित निबन्ध सङ्ग्रह “आकाशमुखी”, अन्जु न्यौपानेको उपन्यास “लुकेको बासना” र केशवराज ज्ञवालीको कथासङ्ग्रह “अर्को भोर” पर्न सफल भएका छन् ।
पढ्नुहोस्, बिक्रेताहरूको अनुभव, सूचीमा पर्नुको कारण र छोटो परिचयसहित फागुन महिनाको बेस्ट सेलर सूचीमा समावेश पुस्तकहरूः
१. महाभारा – बसन्त बस्नेत
साहित्यपोस्ट बेस्ट सेलर सूचीमा लेखक तथा पत्रकार बसन्त बस्नेतको उपन्यास महाभाराले ह्याट्रिक मारेको छ । प्रकाशनमा आएयता, पुस र माघ महिनामा सूचीको पहिलो स्थानमा रहेको उपन्यास फागुनमा पनि पहिलो स्थानमै रहेको देशभरबाट प्राप्त रिपोर्टहरूले देखाएका छन् । पुस तेस्रो साताबाट बजार आएको यस उपन्यासले सामाजिक सञ्चालमा व्यापक प्रचारप्रसार पाएको छ । केही नकारात्मकका साथमा बढेतर सकरात्मक प्रतिक्रिया पाइरहेको उपन्यासले पछिल्लो समय सबै किसिमका पाठकहरूको ध्यान खिचिरहेको छ । साथै, यो उपन्यासको चर्चालाई छोप्न सक्ने गरी फागुनभरमा पनि कुनै कृति प्रकाशनमा नआएको फाइदा पुस्तकले प्राप्त गरिरहेको बुझाई बिक्रेताहरूको रहेको छ । नजितास्वरूप पुस्तक पसल तथा अनलाइन दुवै माध्यम र केन्द्र तथा मोफसल दुवै क्षेत्रमा उपन्यासको बिक्री राम्रो भएको रिपोर्टले देखाएको छ ।
मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो समिश्रण हो, महाभारा । प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ ।
शीलापत्रको सम्पादकसमेत रहेका बस्नेतको यसअघि गैरआख्यान विधाको “७२ को विश्मय” प्रकाशित छ । पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।
२. उज्यालोतिर – टीकाराम रेग्मी
टीकाराम रेग्मीकृति उपन्यास उज्यालोतिर फागुन महिनाको सूचीको दोस्रो स्थानमा परेको छ । यसअघि, यो उपन्यास माघ महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहेको थियो भने पुस महिनाको सूचीको पाँचौँ स्थानमा पर्न सफल भएको थियो । उपन्यासले पहिलो स्थानमा पर्न सफल महाभारले झैँ आक्रमक प्रचारप्रसार नपाए पनि प्रकाशनमा आएदेखि सुखद् बिक्री गरिरहेको छ । विद्यार्थी, विद्यालय, शिक्षक र शिक्षणमा केन्द्रित विषयवस्तु उपन्यासमा भएकाले पुस्तकले सुखद् व्यापार गरिरहेको बिक्रेताहरूको अनुभव रहेको छ ।
जीवनको उर्जावान् समय शिक्षणमा बिताएका रेग्मीले उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डोर्याउने सफल प्रयास गरेका छन् । यो कक्षा कोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेर प्रकाशनमा आएको कृति हो । प्रभावकारी सिकाइका बारेमा बोल्न र लेख्न रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रूपमा बजारमा आएको छ । र, पुस्तकको बिक्री पनि विद्यालय केन्द्रित नै रहेको बिक्रेताहरूले बताएका छन् । पुस्तकको बिक्री उपत्यकामा अनलाइन पुस्तक बिक्रेताहरू तथा काठमाडौँ बाहिरका पुस्तक पसलहरूबाट सुखद् भएको रिपोर्ट प्राप्त भएको छ ।
पुस्तकलाई सुनवर्षी बुक हाउसले बजारमा ल्याएको हो ।
३. राणाकालीन शिक्षा – प्रकृति अधिकारी
अघिल्लो महिना साहित्यपोस्ट बेस्ट सेलर सूचीको चौथो स्थानमा पर्न सफल प्रकृति अधिकारीको अनुसन्धानमूलक पुस्तक राणाकालीन शिक्षा एक स्थान उक्लँदै फागुन महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहन सफल भएको छ । यो पुस्तक पुस महिनाको बेस्ट सेलर सूचमा दोस्रो स्थानमा रहेको थियो ।
राणा शासनका अवधिमा झाङ्गिएको शिक्षा ‘राणाकालीन शिक्षा’बाट परिचित छ । श्री ३ महाराज जङ्गबहादुर राणाले दरबारभित्र सुरु गरेको निजी शिक्षा देशभरि बिस्तार हुन सक्यो । तर त्यसका लागि लामो समय लाग्यो । यो अवधिमा शिक्षाका विधि, तौरतरिका र प्रणालीले पनि राम्रैसँग मौलाउने अवसर पाए । मुख्यतः बेलायतका शासकले भारतमा जुन शिक्षाको बिउ रोपे, त्यसको प्रभाव नेपालसम्म आइपुग्यो । अब जनतालाई शिक्षाबाट बञ्चित गरिएमा हाम्रा सुखद् दिन धेरै रहने छैनन् भन्ने शासकका मुटुमा परिसकेको थियो । राणा शासकले राणा परिवारलाई नै चार भञ्ज्याङ्गभित्र टिकाउनुपर्ने स्वार्थ थियो । यिनै घटनाक्रमका बिच शिक्षाले हुर्किने अवसर पायो । र, १०४ वर्षको अवधिमा शिक्षाको लामै फेहरिस्त तयार हुनसक्यो । त्यो समयको शिक्षाको कौतुहल र जिज्ञाशालाई यस पुस्तकले मेटाउने प्रयास गरेको छ । सरकारी लिखितम् नै पुस्तकमा समावेश गरिएकाले राणाकालीन शिक्षाका बारेमा जानकारी लिन यो पुस्तक विश्वासनीय बनेको छ ।
प्राप्त रिर्पोटअनुसार अनलाइन पुस्तक पसलहरूका साथै काठमाडौँभित्रका मुख्य पुस्तक पसलहरूबाट पुस्तकको बिक्री राम्रो भएको देखिएको छ । राणाकालीन शिक्षाको विषयमा प्रबुद्ध वर्गका साथै युवाहरूको पनि विशेष चासो पछिल्लो समय बढेकाले त्यसको प्रभाव पुस्तक बिक्रीमा पनि परेको बिक्रेताहरूको बुझाइरहेको छ ।
४. कर्णाली ब्लुज (अङ्ग्रेजी संस्करण) – बुद्धिसागर
लेखक बुद्धिसागरको चर्चित उपन्यास ‘कर्नाली ब्लुज’को अङ्ग्रेजी अनुवाद फागुन महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको चौथो स्थानमा रहन सफल भएको छ । अघिल्लो महिना सूचीको दोस्रो स्थानमा रहेको यो उपन्यास फागुनमा दुई स्थान तल झर्दै सूचीको चौथो स्थानमा पुगेको हो ।
कर्णाली ब्लुज नेपाली साहित्यमा सर्वाधिक बिक्री भएको मध्ये एक उपन्यास हो । प्रकाशनमा आएको दशक बितिसक्दा पनि नियमित बिक्री भइराख्ने पुस्तक कर्णाली ब्लुज रहेको बताउछन् बिक्रेताहरू । उपन्यासको अङ्ग्रेजी संस्करणको बिक्री सुखद् हुनुमा मुख्य भूमिका नेपाली साहित्यका अङ्ग्रेजी पाठकको रहेको बिक्रेताहरूको अनुभव छ । साथै, नेपालीमै पढिसकेका तर अङ्ग्रेजी संस्करणलाई सङ्ग्रह गर्न चाहने पाठकका कारण पनि पुस्तक साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा पर्न सफल भएको छ । यस उपन्यासले अनुवाद संस्कृतिलाई लिएर समेत नयाँ बहस सिर्जना गर्न सफल भएको छ ।
फाइनप्रिन्टबाट प्रकाशित बुद्धिसागरको पहिलो उपन्यास कर्णाली ब्लुज एघार खण्डमा विभाजित छ । दैनिकी मनोवाद शैलीमा प्रस्तुत पुस्तक पहिलो, दोसो दिन गर्दै एघारौँ खण्डमा टुङ्गिएको छ । कर्णाली क्षेत्रको जीवनशैली, त्यहाँको रहनसहन, परिवेश, भाषाशैली, संस्कृतिको सजीव चित्र उतार्ने सफल प्रयास उपन्यासले गरेको छ । भाषा झर्रो तर सरल छ ।
माइकल हाटले अनुवाद गरेको उपन्यासलाई प्रतिष्ठित प्रकाशन गृह पेन्गुइन (इण्डिया) ले प्रकाशनमा ल्याएको हो ।
५. सतीः इतिहास र मीमांसा – सुजित मैनाली
फागुन महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा सुजित मैनालीकृति अनुसन्धात्मक पुस्तक “सतीः इतिहास र मीमांसा” रहन सफल भएको छ । अघिल्लो महिना सूचीबाट बाहिरेको यो कृति त्यसअघि लगातार सूचीभित्र अटाउँदै आएको थियो । फागुन महिना सूचीको पाँचौँ स्थानमा पर्दै कृतिले बेस्ट सेलर सूचीमा पुनरागम गरेको हो । देशभरबाट प्राप्त रिपोर्टले फागुन महिनामा यो पुस्तककाे बिक्री सुखद् रहेको देखाएको हो । पुस्तकले प्रबुद्ध वर्गको ध्यान खिच्नुका साथै पाठकका तर्फबाट माउथ पप्लिसिटी राम्रो पाएकाले बिक्री सुखद् रहेको बिक्रेताहरुले बताएका छन् ।
यो पुस्तकमा सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरिएको छ । लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरु छन् । त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको खँदिला विवरण समेटिएका छन् । त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरु लिएका थिए । सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरूको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ । भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ ।
६. प्रश्न – उदय अधिकारी
माघ महिनाको सूचीको सातौँ स्थान रहेको उदय अधिकारीको अन्तर्वार्ता सँगालो “प्रश्न” पुस महिनाको बेस्ट सेलर सूचीमा एक स्थान माथि उक्लदै छैटौँ स्थानमा पर्न सफल भएको छ । शिखा बुक्सले प्रकाशनमा ल्याएको यस पुस्तकको बिक्री उपत्यकाको तुलनामा उपत्यकाबाहिर राम्रो रहेको प्राप्त रिपोर्टले देखाएको छ ।
उदय अधिकारी लामो समयबाट साहित्यिक पत्रकारितामा संलग्न छन् । ‘प्रश्न’ अधिकारीले विभिन्न समयमा विभिन्न स्रष्टाहरुसँग लिइएको अन्तर्वार्ताहरूको सँगालो हो । यो पुस्तकमा अभि सुवेदी, सरुभक्त, नारायण ढकाल, श्रवण मुकारुङ, मनु मञ्जिल र श्यामलसँग अधिकारीले सोधेका प्रश्नहरू तथा स्रष्टाहरुले राखेका आफ्नो विचार र चिन्तन समावेश छन् । पुस्तकमा सङ्ग्रहित व्यक्तित्वको प्रभाव बिक्रीमा समेत परेको बिक्रेताहरूले बताएका छन् ।
अधिकारीले सोध्नुभएका प्रश्नहरु गहकिला छन् । स्रष्टाहरुले दिनुएका उत्तरहरू उहीमात्रमा विचारउत्तेजक छन् । नेपाली साहित्यको आयतन बुझ्न यो पुस्तक उपयोगी रहेको छ । र, यही उपयोगिताले पुस्तक पाठकहरूको ध्यान आकृष्ट गर्न सफल देखिएको छ ।
७. कखरा – हरिहर तिमिल्सिना
कवि तथा गीतकार हरिहर तिमिल्सिनाको बालमनोविज्ञानमा आधारित उपन्यास हो कखरा । देशभरबाट प्राप्त रिपोर्टका अनुसार यो पुस्तक फागुन महिनाको बेस्ट सेलर सूचीको सातौँ स्थानमा सफल भएको छ । यसअघि, असोज महिनको सूचीमा यो कृति नवौँ स्थानमा परेको थियो ।
यो उपन्यासले बाल्यकालका घटनाहरूलाई रोमाञ्चक रूपमा प्रस्तुत गरेको छ । विद्यार्थीहरूमा देखिने बदमासी, भौतिक क्षतिलगायत मनोविज्ञानलाई समेत यसले गहन रूपमा केलाएको छ । यसरी हेर्दा, विद्यार्थीहरूका लागि भन्दा पनि अभिभावक तथा शिक्षकहरूका लागि यो पुस्तक उपयोगी रहेको छ । साथै, अभिभावकहरूले आफ्ना बच्चाहरूलाई बुझ्न पढ्नै पर्ने कृति बनेको छ । जसको प्रभाव पछिल्लो महिना बिक्रीमा पनि देखिएको हो ।
उपन्यासलाई सिकाइ समूहले बजारमा ल्याएको हो । सिकाइ समूहले हालसम्म शिक्षा क्षेत्रलाई नै केन्द्रित गरी सुन्दर फिक्सन ननफिक्सन दुवै किसिमका पुस्तक प्रकाशन गर्ने गरेको छ ।
८. आकाशमुखी – मोहन मैनाली
फागुन महिनाको बेस्ट सेलर सूचीको आठौँ स्थानमा मोहन मैनालीको अनुवादमा रहेको कृति आकाशमुखी पर्न सफल भएको छ । यो पुस्तक फरक फरक लेखकका १५ थान विदेशी निबन्धहरूको अनूदित सङ्ग्रह हो । बुक हिलले प्रकाशनमा ल्याएको यो कृति पहिलोपटक सूचीमा पर्न सफल भएको हो ।
“कुनै किताब अरुलाई पढ्न लगाएर सारमात्र सुन्दा हुन्छ । कुनै किताबका अरुले उद्धृत गरेका अंश मात्रै पढ्दा पुग्छ । कुनै किताब चाखे मात्र पुग्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चाहिँ चपाएर पचाउनुपर्छ । यो भनेको के हो भने कुनै किताबका केही पेज मात्र पढे पुग्छ । कुनै किताबका सबै पेज उस्तो ध्यान नदिई पढे हुन्छ । कुनै किताब चाहि परिश्रम गरेर र एकाग्र भएर पूरै पदनुपर्छ ।” पुस्तकको अन्तिम पृष्ठमा प्रयान्सिस बेकनको पुस्तकभित्रकै यस वाक्यांश उल्लेख गर्दै भनिएको छ, “र, यो किताब चाहि पूरै पढ्नुपर्छ, एकाग्र भएर । बीचबीचमा रोकेर यहाँ लेखिएका कुराबारे सोचविचार गर्दै ।” पुस्तकका निबन्ध छनोट र अनुवादबारे मोहन मैनालीले आफ्ना विचार राख्दै भनेका छन्, ‘जब अफ्ठेरो परिस्थितिमा कुनै काम गरिन्छ, त्यसको नजिता पक्कै पनि विश्वसनीय हुन्छ ! यो कोरोनाकालको सन्तान हो ।’
९. लुकेको बासना – अन्जु न्यौपाने
अन्जु न्यौपानेकृति उपन्यास लुकेको बासना फागुन महिनाको बेस्ट सेलर सूचीको नवौँ स्थानमा पर्न सफल भएको छ । मञ्जरी प्रकाशन गृहले प्रकाशनमा ल्याएको यो उपन्यास सूचीमा पहिलोपटक अटाएको हो । पुस्तकको बिक्री काठमाडौँ भित्रका पुस्तक पसलहरूमा सुखद् रहको प्राप्त रिपोर्टले देखाएको छ ।
समाजमा झट्ट हेर्दा जे देखिँदैन, जसलाई खोजेरै हेर्नुपर्छ, त्यही यस उपन्यासको विषयवस्तु हो । समाजका लागि अमान्य जीवन लुकीलुकी बाँच्नेहरू यहाँ थुप्रै छन् । भविष्यमा हजारौं हुनेछन् । यसका लागि बीज रोपिन थालिसकेको छ । बीजका लागि उम्रने वातावरण पनि तयार छ । त्यो बीज अब बिस्तारै उम्रने छ र फल्न-फुल्न थाल्नेछ । यसरी भित्रभित्रै घटिरहेको घटनालाई समेटेर तयार पारिएको यो पुस्तक पठनीय छ । सुन्दर भाषाशैली र लेखकको सूक्ष्म विश्लेषणले पुस्तकलाई गहन बनाएको छ ।
१०. अर्को भोर – केशवराज ज्ञवाली
कथाकार केशवराज ज्ञवालीको नवीनतम् कथासङ्ग्रह अर्को भोर फागुन महिनाको बेस्ट सेलर सूचीको अन्तिम अर्थात् दसौँ स्थानमा रहेको छ । समसामयिक कथाहरू रहेको यो कृति पहिलोपटक सूचीमा अटाएको हो । प्राप्त रिपोर्टअनुसार काठमाडौँ बाहिरमा पुस्तक पसलहरूमा यो कृतिको बिक्री सुखद् रहेको छ ।
कथासङ्ग्रहमा तीन बराबर पाँच, रामकथा, मास्क, उज्यालोः एक प्रस्थान बिन्दु, रुख र चराहरु, लय, एक्वारियम, खत, सुगन्ध, मिल्खु, काकबन्ध्या, परस्युइट अफ ह्यापिनेस र बेजुबान गरी १४ वटा कथाहरु सङ्ग्रहित छन् ।
यस सङ्ग्रहलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो भने ज्ञानज्योति बुक्स पब्लिकेसन प्रालि वितरक रहेको छ ।
बेस्ट सेलर सूचीमा अटाएकाबाहेक एक अनि शून्य, ग्रीष्मको नीलो बतास, युद्धका ती दिनः एक पत्रकारको बकपत्र, पारिवारिक षड्यन्त्र, मूल्यवान् जिन्दगीका अनमोल आधारहरू, तीतेपाती, सम्बन्ध, भीमसेन ४ को खोजी, मोम्चो, घामभन्दा पहिले, असहमती, प्रतिगन्धलगायत पुस्तकहरूको बिक्री पनि सन्तोषजनक रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

फेरि पनि महाभाराले मार्यो बाजी; ऐतिहासिक कृतिलाई पाठकको प्रेम कायमै

साहित्यमा स्थानीय चुनावको असर : ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’को प्रकाशन रोकियो
