१. काल विभाजनको लघुकथा – साहस
रमेन्द्र कोइराला

रमेन्द्र कोइराला

उनीहरू प्रेममा अन्धो हुँदै गए । घर परिवार समाज सबै बिर्सिए । त्यतिखेर होसमा आए जब केटीको पेटमा तीन महिनाको बच्चा भयो । उनीहरू अत्तालिए । डराए । सोचेका थिएनन् यस्तो हुन्छ भनेर ।

केटीले भनी, “बिहा गरौं।”

“अहिले सम्भव छैन”, केटाले भन्यो ।

“के गर्ने त ?”, केटीले भनी ।

धेरैबेर सोचेर केटाले भन्यो, “यसलाई फ्यालिदिउँ ।”

“हुँदैन ।”, दृढताले केटीले भनी ।

“त्यसोभए फल भोग्न तयार होऊ ?”

“तपाईले बिहे गर्नैपर्छ । के के भनेर त्यतिबेला फकाउनुभएको थियो ?”

“त्यो त अन्धासुरमा भनिएको थियो ।”

केटाको स्वार्थपूर्ण कुरा सुनेर केटी रिसाइ, “त्यसोभए बिहे नगर्ने त ?”

“नगर्ने ।”

“लु सुन त्यसोभए…. “, केटी एउटा अठोटमा पुगी, “यो मेरो खुन हो यसलाई म जन्माउँछु, हुर्काउँछु र तिमी जस्ता स्वार्थी पुरुषका विरुद्धमा प्रशिक्षण दिन्छु ।”

###

नेपाली लघुकथामा ६० को दशकलाई व्यापक काल भनिनुपर्छ । नेपाली सुस्त गतिमा हिडेको लघुकथाले यसै कालदेखि व्यापक गतिमा फैलियो । यसै समयमा लघुकथामा उदाएको एक नाम हो रमेन्द्र कोइराला ।

रमेन्द्र कोइराला पूर्वेली स्रष्टा हुन् । उनको साहित्यमा पुर्वेली मिठास र लवज पाइन्छ । भूँईमान्छेको बारेमा लेख्न प्राय रुचाउने उनीका केही कृतिहरू प्रकाशित छन् । प्रस्तुत लघुकथा “साहस” प्रेमपछिको घृणाबाट उत्पन्न अठोटको कथा हो । यसमा नारीको साहसलाई कोमल तरिकाबाट देखाइएको छ ।

 

२. सङ्ग्रहभित्रको लघुकथा – मूल्यहीन सहयोग
शारदा पौडेल “निशा”

शारदा पौडेल ‘निशा’

“हर्के भाइ, तिमीलाई जहिल्यै भट्टीमा देख्छु । यसरी दिनहुँ भट्टीमा आएर धन खर्चेर हुन्छ ? भोलि के पर्छ कसो पर्छ । कसैलाई थाहा हुँदैन । कमसेकम कमाएको रकमको पच्चीस प्रतिशत बैंकमा राख । आज बल छ भनेर हुँदैन । बल घटेर रोगले अठ्याउने दिन आउँछन् । त्यो बेला पैसा चाहिन्छ ।। पैसा भएन भने के गर्छौ ?”

“ह्या दिदी पनि कस्तो कुरा गर्छ्यौ ? जिन्दगी भोलि हेरेर कोही बाँच्छ ? आज हेरेर बाँच्नुपर्छ । आज आफू खुशी हुन सक्यो भने भोलि जे होला । खानै कमाउने हो ।”

“हुन त खानै कमाउने हो तर कमाए भन्दैमा सबै सकेर हुँदैन । अलिकति जगेडा गरेर राख्न पर्छ मात्रै भनेकी हुँ” भन्दै म हिँडेँ ।

बजारमा मेरो पछाडि कुनै परिचित आवाज आयो, “हजुर म बिरामी छु । औषधी गर्ने पैसा छैन । मलाई सहयोग गर्नुहोस् । काम गर्न सक्दिनँ । यसो हजुरहरुको सहयोग पाए अस्पताल जाने थिएँ ।”

हर्केलाई चिन्न बेर लागेन । हात थर्थराएका थिए । उनी निकै दुब्ला र ख्याउटे थिए । मैले केही नबोलिकन उनका हातमा नोट थमाएँ । उनी खुशी भए । मलाई धाराप्रवाह रुपमा आशीर्वाद दिए । त्यसपछि ऊ आफ्नो बाटो लागे ।

म पनि उनैको पछि लागेँ । अस्पताल जाने भनेर सहयोग रकम बटुलेका उनी भट्टीभित्र पसेँ । म नजिकै गएर बसेँ । उनले मतिर हेरेर मुस्कुराउँदै भने – मेरो औषधी ।

###

(चितवन निवासी स्रष्टा शारदा पौडेल “निशा” गजल, मुक्तक र लघुकथाको स्रष्टा हुन् । उनीका केही कृतिहरू प्रकाशित पनि छन् । प्रस्तुत लघुकथा “छोरीको आँखा” संग्रहबाट लिइएको हो ।

शारदा पौडेल समसामयीक र नारी अनुभूतिहरूको लघुकथा लेख्न खप्पिस छिन् । उनी कम शब्दहरुमा चोटिलो लघुकथाहरू लेख्छिन् । प्रस्तुत लघुकथा “मूल्यहीन सहयोग” यथार्थपरक लघुकथा हो । टोलटोल र गाउँबस्तिहरूमा सहजै देखिने यस्ता घटनाहरू सहयोग गर्नु पूर्व पनि र सहयोग पश्चात पनि भावनाको सही मूल्य नहुँदा अर्थहीन बन्ने गरेको छ ।)

 

३. समूहभित्रको लघुकथा – भाग्यमानी
गीता शर्मा चापागाईँ

सविता र कविता मिल्ने साथी थिए । एकापसमा उनीहरूको तँ तँ र म म चल्थ्यो । दुबैको बिहे भयो । बिहेपछि पनि उनीहरूको प्राय: भेटघाट भइरहन्थ्यो । कामको व्यस्तताले गर्दा यसपाली लामो समय भेट हुन सकेन ।

शनिबार, बिदाको दिन थियो । समय निकालेर सविता कविताको घर गई । कविताले खुसी प्रकट गर्दै स्वागत गरी । भनी, `निकै दिन भेट नभएर जम्न पाइएन । आज आइस्, मोज गर्नु पर्छ है ।’

होमा हो थपेर सविताले भनी, `लामो समयदेखि भेट हुन नपाएकोले मलाई पनि धेरै न्यास्रो लागिराखेको थियो ! के गर्नु ? उहाँको काम नै त्यस्तै छ । कहिले जापान, कहिले युरोप, कहिले अमेरिका ! फेरि ऊ एक्लै हिँड्ने हो र ? सँगसँगै हिँड्नु पर्ने, पुच्छर लागेर । यसपाला त म छोरीको स्कुलको कारणले जान पाइनँ ।´

‘त्यही त, हामी पनि अफिसको कामले जहिले बिजी हुन्छौँ । फेरि छोराको स्कुल, समय निकाल्नै सकिएन । एकछिन, एकदिन पनि म नभई नहुने हाम्रालाई पनि । घर आइपुग्दा जताबाट पनि म घर आइपु्ग्नै पर्ने । हामी दुबै कति भाग्यमानी रहेछौ है ?´

धेरै पछिको भेट, मीठा गफ हुँदै थिए । कविताको छोरोले सविताको छोरीलाई देखाउँदै भन्यो, `ममी ! म र आस्था ठूलो भएपछि बिहे गर्छौँ है ?´

सबै हाँसे । कविताका श्रीमानले सोधे , `बिहे गरेर के गर्छौ, छोरा ?´

उसले अबोध पारामा भन्यो, `म हजुरजस्तै हुन्छु । ब्याग बोकेर अफिस जान्छु ।  कागजमा साइन गर्छु । घुम्ने कुर्चीमा बस्छु । अनि आस्था घरमा बस्छिन् । खाना बनाउँछिन् । मेरो जुत्ता पालिस गर्छिन् । म गाडी किन्छु, अनि घर आउँछु । आस्थालाई कपाल भुत्लाउछु अनि लात्ताले हान्छु अनि ढोका बन्द गरेर सुत्छु ।’

त्यतिकैमा आस्थाले अबोध पारामा लाडिदै भनी, “बिस्तारै ढोका खोलेर खाना लगिदिन्छु, तिमीले खाना फालिदिन्छौ अनि म पनि नखाई सुत्छु !”

###

(चैत्र ३ गतेदेखि फेसबुक सञ्जालमार्फत नेपाली लघुकथालाई प्रचार प्रसार गरिरहेको “हाम्रो लघुकथा पाठशाला” सामाजिक पेजमा यतिखेर क्रियाशील छ । यस समूहमा नयाँ लघुकथाकारहरूको राम्रो उपस्थिति देखिन्छ ।
यो हप्ता हाम्रो लघुकथा पाठशालाको दोस्रो वार्षिकोत्सव पनि हो ।

गीता शर्मा साहित्य र साथी बुझेको व्यक्ति हुनुहुन्छ । कम लघुकथा लेख्ने उनी चोटिलो र छरितो लघुकथा लेख्ने सक्न सिपालु छिन् । समाज र समाजमा रहेको व्यथितिलाई थितिमा ल्याउन उनीका लघुकथाहरूले झक्झकाउने छ । उनी मानवतावादी लघुकथा लेख्न रुचाउँछिन् । प्रस्तुत लघुकथा “भाग्यमानी” वयस्क कथा बन्दाबन्दै पनि अन्त्यमा बालसुलभ बोलीले गर्दा स्वादिलो र बढो झड्केदार कथा बनेको छ ।)

 

४. समसामयिक लघुकथा –  अठार महिने नातिनी।
आचार्य प्रभा

आचार्य प्रभा

यता हामी जुममार्फत् अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थियौं ।अघिदेखि मेरो अर्को फोनमा नेपालबाट फोन कल आइरहेको थियो । कार्यक्रममा डिस्टर्ब होला भनेर फोन उठाइनँ । जब मैले मेरो कविता “नारी अधिकार” वाचन सिध्याएँ, तब कल ब्याक गरेँ । मेरी छिमेकी रमाले गरेकी रहिछ।

मैले सोधें, “किन तारन्तार कल गरेकी ? म अन्तर्राष्ट्रिय नारी दिवसको कार्यकर्ममा रचना वाचनमा व्यस्त थिएँ ।सुन है, भरैसम्म युट्युबमा । मेरो नारीसम्बन्धी कविता खतरा आउने छ ।”

रमा स्तब्ध बनी ।

मैले प्रश्न तेर्साएँ, “किन चुप बसेकी ? हुन त तिमीहरूलाई के मतलब ! कवितामा ? रूची पनि हुनु पर्यो नि !”

बल्ल उसले मुख खोली, “तिमीहरू विकसित देशमा बसेर प्राविधिक यन्त्रबाट नारी दिवस साहित्यमार्फत के मनाउँछौ । यता देशमा गाउँ, गाउँमा कलिला कोपिलाहरू फक्रिन नपाउँदै लुछिँदैछन्, चुँडिदैछन् । सहरमा त्यतिका महिला अधिकारकर्मीहरू दिनहुँ सामाजिक सञ्जाल, टेलिभिजनमा छाइरहन्छन् । कराई रहन्छन् । तर खै गाउँघरमा बलत्कारको घटनामा अझ वृद्धि भइरहेको छ । सहरमा चिच्याएर के काम ? हिजो मात्र गाउँमा एक हृदयविदारक घटना घट्यो । एक अठार महिने शिशुलाई बलात्कारपश्चात मारेर फ्याँकिएको भेटियो । अब तिमीहरूले दूरदेशमा बसेर नारी अधिकारको कविता फलाक्नुको के औचित्य ?”

रमाको कुरा सुनेर म कृतज्ञविमूढ बनें। मलाई त्यो जुम कार्क्रममा अडिइरहन मन लागेन । हत्पत्त त्यो कार्यक्रमबाट आउट भएँ र सोंच्न थालें, “हुन पनि हो, हामीले भावनामा र कल्पनामा मात्र विक्षिप्त बनेर कविता कोर्नु अनि नारी अधिकारको नाममा संघ, संस्था खोल्नुको कुनै औचित्य छैन । यथार्थमा पीडितले पीडकहरूबाट पीडा भोगी नै रहेका छन् । कलिला कोपिलाहरूको जीवन समाप्त भइरहेकै छ।”

मन कुँडियो बेस्सरी । मैले उक्त कवितालाई फोनबाट मेटाइदिएँ अनि मेरी अठार महिने नातिनीलाई गएर अङ्गालोमा बेरेँ ।

###

(यतिखेर देश अठार महिने शिशुलाई बलत्कार गरेको घटनाले मर्माहित भएको छ । मृत शिशु वा सम्बन्धित परिवार लगाएत सम्पूर्ण मानवलाई यो घटनाले स्तब्ध पनि बनाएको छ । यसै प्रसङ्गलाई फोटोग्राफी शैलीमा टपक्क टिपेकी छिन् – स्रष्टा आचार्य प्रभाले ।

आचार्य प्रभाले आफ्नो चालीस वर्षे साहित्यिक जीवनमा कविता, गीत, गजल, मुक्तक हुँदै लघुकथा पनि लेखिरहेकिछिन् । छिट्टै उनीको लघुकथासंग्रह प्रकाशनको तयारीमा पनि छ । प्रभाको लेखनमा नारी ममता, पीडा र माटो अनि सस्कृतिहरूको सुगन्ध पाइन्छ । प्रस्तुत लघुकथा “मूल्यहीन सहयोग”ले प्रष्टसंग १८ महिने वलत्कृत शिशुको कथा बोलेको छ । कथाकारले चलाखिपूर्ण तरिकाले शिशुको पीडा र आफ्नो नातिनीसंगको ममता एकैसाथ देखाएकी छिन् ।)

 

५. मलाई मन परेको लघुकथा – जस्तो आफु त्यस्तै च्यापु
डा. अमर कार्की

डा. अमर कार्की

एक जना यात्री एउटा ठूलो सहर नजिकै पुगेपछि सडक छेउमा बसिरहेको एक बुढा मानिसलाई सोधे, “यस सहरका मानिसहरू कस्ता छन् ?”

ती बुढा मानिसले प्रतिप्रश्न गरे, “जुन सहरबाट तपाईँ भर्खर गएर आउनुभयो, त्यहाँका मानिसहरु कस्ता थिए ?”

ती यात्रीले भने, “त्यहाँका मानिसहरू त डरलाग्दा, छुच्चा र अविश्वसनीय रहेछन् ।”

वृद्धले आश्चर्य प्रकट गर्दै भने, “अहो ! हो, तपाईँले यो सहरमा नि त्यस्तै पाउनुहुनेछ ।”

केही क्षणपछि त्यही बाटो अर्को यात्री आए र उही प्रश्न सोधे । फेरि, वृद्धले ती यात्रुलाई पनि यात्रुले भर्खरै छोडेको ठाउँका मानिसहरू बारे सोधे ।

दोस्रो यात्रीले जबाफ दिए, “तिनीहरू असल मानिसहरु थिए । इमानदार, मेहनती र उदार । मलाई त्यो ठाउँ छोडेर आउन पर्दा दुख लागेको छ ।”

यो सुनिसकेपछि बुढो मान्छेले भने, “यो सहरमा पनि तपाईँले त्यस्तै मानिसहरु भेट्नुहुनेछ।”

###

(विदेशमा बसेर शौखले लघुकथा देखिरहने केही स्रष्टाहरूमघ्ये डा. अमर कार्की पनि एक हुन् । उनी आफ्नो अनुभवहरूलाई कल्पनाशीलतामा उनेर आदर्श र यथार्थवादी लघुकथाहरू लेख्छन् ।

प्रस्तुत लघुकथा “जस्तो आफू उस्तै च्यापू” शीर्षकले पटक्कै पाठक तान्न नसक्के लघुकथा हो । तर जब पाठक शीर्षकबाट तल झर्दै लघुकथामा पुग्छ, उ कथा नछोडी अरू केही हेर्दैन । कथाले आदर्श र यथार्थ बोकेको छ । कथालाई पाठकले चीरकालसम्म सम्झिरहने छन् ।)