593271386

बाँदरको एक प्रजाति बोनोबो र मान्छेको स्वभाव निकै मिल्ने गरेको अध्येताहरू बताउँछन् ।

खासगरी बाँदरहरूको एक प्रजाति बोनोबो र मानवबीचको कतिपय व्यवहार र स्वभाव मिल्ने उनीहरूको तर्क छ । हालै कंगोमा गरिएको एउटा अध्ययनले बच्चा बोनोबोले उसकी आमाको काखमा खेल्दै खाँदै गर्दा उसको भाइ वा बहिनी जन्मिएपछि बडो तनावमा हुने गरेको पाएका हुन् । यो तनावबाट उसलाई निस्कन अथवा उसको भाइ वा बहिनीलाई स्वीकार गर्न कम्तीमा सात महिना लाग्ने गरेको पनि उनीहरूले पत्ता लगाएका छन् ।

प्राइमटोलोजिस्टहरूले ती भाइबहिनी भएका बोनोबोका मूत्र सङ्कलन गरे र त्यसलाई परीक्षण गरे । तनावमा भएका बच्चा बोनोबोमा पिसाबमा तनावका लक्षण देखिए ।

जर्मनीको गोटिङगनस्थित जर्मन प्राइमेट सेन्टर भेरेना वेरिङगर र उनका साथीहरूले बच्चा बोनोबोले आफ्ना भाइबहिनी जन्मँदा कस्तो प्रतिक्रिया जनाउँछन् भनी गरेको अध्ययनमा सो किसिमको निष्कर्ष निकालेका हुन् ।

मान्छे र बोनोबोको व्यवहार लगभग मिल्ने भएकाले भेरेनाको समूहले तिनलाई छानेका थिए । अध्ययनमा २ देखि ८ वर्ष उमेर समूहका २० पोथी र ६ भाले बोनोबो छानिएको थियो ।

यी सबै बोनोबो कंगोको सालोङ्गा नेसनल पार्कमा बसोबास गर्ने गर्छन् ।

नयाँ भाइबहिनी जन्मनुभन्दा अघिदेखि तिनको मूत्रको नमुना सङ्कलन गर्न थालिएको थियो ।

नयाँ बच्चा जन्मिएपछि पुरानो बच्चासँग निकै कम शारीरिक स्पर्श हुने गरेको अध्ययनमा देखिएको थियो । नयाँ सन्तानको जन्मपछि पुरानो सन्तानले आमाको ध्यानाकर्षण गराउन अनेक उपक्रम गर्ने गरेको र सो उपक्रमका शुरूमा आमाले चासो दिए पनि पछि नदिने गरेको पनि अध्ययनले देखाएको थियो ।

पुराना बोनोबोमा तनावको दर बढ्दै जाँद कर्टिसोल नामक हार्मोनको मात्रा बढ्ने र त्यसको असर उसको पिसाबमा देखिने विज्ञहरू बताउँछन् । यस्तो तनाव सात महिनासम्म रहने पनि अध्ययनमा देखिएको छ ।

अध्ययन क्रममा भने लामो समयसम्म तनाव कायम रहँदा तिनको स्वास्थ्यलाई कस्तो असर गर्छ भन्नेबारे अध्ययन भने नगरिएको अध्येता बेरिङ्गरले बताइन् । तर नयाँ सन्तान जन्मिएपछि भने पुरानो सन्तानमा नियोपटेरिन नामक प्रतिरोधात्मक शक्ति तीव्र रूपमा घटेको उनले बताइन् ।

उसो भए जब कुनै महिलाले दोस्रो सन्तान जन्माइन् भने उनको पहिलो सन्तानमा कर्टिसोलको तह बढ्छ कि घट्छ त ? बेरिङ्गर भन्छिन्, ‘यस किसिमको अध्ययन बालबालिकामा भएको जस्तो मलाई लाग्दैन ।’

तर सामान्य रूपमा नयाँ भाइबहिनी जन्मिएपछि आफूले आमाको हेरचाह कम पाएको, उनीहरूको चासो कायम राख्ने अनेकन् कर्तबहरू गर्ने गरेको पाइन्छ ।