गजल भनेको के हो ?

परिभाषाको खोजीमा गजल सिद्धान्तका ठूलठूला पुस्तकका पाना हामी पल्टाउँछौं, पत्र पत्रमा आँखा घुमाउँछौं तर कहीँ पनि चित्तबुझ्दो परिभाषा पाउँदैनौं । परिभाषा जे जस्तो पाउँछौं त्यसमा हामी राजी हुँदैनौं, नाराज हुन्छौं । एक जना शायर भन्दछन् :

सबैको यही एक आवाज पाएँ
गजलमा तिमीलाई नाराज पाएँ ।

गजलको परिभाषा खोज्न धेरैतिर धाइन्छ तर कुनै सटीक परिभाषा कतै पाइन्न । ईश्वर खोज्न ढुंगा माटाको मन्दिरमा हामी धाउँछौं तर त्यहाँ त मूर्तिमात्र छ, ईश्वर छैन । वास्तविक ईश्वर त मनको मन्दिरमा पो हुन्छ क्यारे !
महाकवि देवकोटाले भने :

देखिन्छ ईश कुन मन्दिरमा पसेर ?
त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।

अब हामी पनि भन्छौं, हे गजल !

ईश खोज्न मन्दिरमा धेरै धाइसकेँ अब
तिम्रै मन मन्दिरमा धाऊँ धाऊँ जस्तो लाग्यो,
एक्लो भएँ तिमीछेउ आऊँ आऊँ जस्तो लाग्यो
पिरतीको एउटा गीत गाऊँ गाऊँ जस्तो लाग्यो ।

साँच्चिकै गजलको परिभाषा स्वयं गजलभित्रै पो हामी पाउछौँ कि ? गजलभित्र, अर्थात् गजलका तीन अक्षरभित्र, ग ज ल भित्र । गहिरिएर विचार गरी हेर्दा यी तीनवटा अक्षर गजलभित्र रहने तीनवटै मूल तत्त्वको संकेत बनेर आएका हुँदा रहेछन् भन्ने बोध हुन्छ ।

जुन कहिल्यै पनि क्षर व नाशवान् हुँदैन त्यसैलाई भनिन्छ : अक्षर । ग ज ल यस्तै अक्षर हुन्, यिनले पनि स्वयं गजललाई अक्षर बनाएका हुन्छन्, कालजयी र अजम्मरी बनाएका हुन्छन् ।

गजलका तीन अक्षर र तिनका संकेत यी हुन् :

ग : गम्भीरता
ज : जीवन्तता
ल : लयात्मकता

गम्भीरता गजलको आत्मा हो ।

जीवन्तता गजलको प्राण हो ।

लयात्मकता गजलको व्यक्तित्व हो ।

गजल गम्भीरता, जीवन्तता र लयात्मकता यी तीन रसधारको संगम हो, त्रिवेणी हो ।

आउनुहोस्, रसिकवृन्द ! अब यी तीन तत्त्वको क्रमशः विशद विवेचन गरौं ।

डा. सनतकुमार वस्ती

ग : गम्भीरता

‘ग’ अर्थात् गम्भीरता । हो, गजलको पहिलो अक्षर ग ले गजलमा रहने गम्भीरतातिर संकेत गर्दछ । गम्भीरता माने भावगाम्भीर्य, भावको गहिराई । यो गजलमा झल्कने अर्थको गहिराईबाट अभिव्यक्त हुन्छ ।

साहित्यमा अर्थका तीन तह हुन्छन् । प्रथमतः वाच्यार्थको तह, त्यसपछि लक्ष्यार्थको र अन्त्यमा व्यंग्यार्थको तह, अभिव्यञ्जनाको संसार । वाच्यार्थभन्दा लक्ष्यार्थको सामथ्र्य बढी हुन्छ र लक्ष्यार्थको भन्दा पनि व्यंग्यार्थको सामथ्र्य आपार हुन्छ । अनन्त आकाशजस्तै व्यापक र असीम सागरजस्तै गहिरो हुन्छ अभिव्यञ्जनाको संसार । त्यही अभिव्यंग्यार्थको अगाध तलसम्म पुग्नु र पु¥याउनु नै गजलको अभीष्ट हो । यही अर्थको गहिराईलाई प्रतीकात्मक रूपले संकेत गर्दछ गजलको ग ले ।

धरती र आकाश

भनिन्छ, गजलका शेरको एक चरण यस धरतीमा र अर्को चरणचाहिँ अनन्त आकाशमा हुन्छ, अर्थात् गजलले एकातिर सांसारिक भौतिक यथार्थको वर्णन गर्दछ भने अर्कातिर आध्यात्मिक र अलौकिक जगत्को विराट् सत्यलाई संकेत गर्दछ ।

यसैलाई हामी साहित्यका भाषामा वाच्यार्थ र व्यंग्यार्थ भन्दछौं । वाच्यार्थ सीमित हुन्छ, व्यंग्यार्थ असीमित । वाच्यार्थ व्यष्टिसत्य हुन्छ, व्यंग्यार्थ समष्टिसत्य । वाच्यार्थ सतहमा हुन्छ, व्यंग्यार्थ गहिराईमा । त्यही असीमित समष्टिरूप गहिराइलाई गजलको ग ले संकेत गर्दछ ।

अभिव्यञ्जनाको अपार सामथ्र्य बोकेर आएका हुन्छन् शेरका छरिता एक जोडी हरफ । भावको अथाह गहिराई लिएर भावकका मस्तिष्कको उचाईबाट ओर्लिएर हृदयको गहिराईसम्म प्रवेश गर्दछन् । सांसारिक भौतिक पीडाले ग्रस्त र सन्त्रस्त मानवमनमा अनौठो तवरले भावाभिव्यक्तिको शीतलता र शान्ति छर्दै आनन्द भर्दछन् । यो शेरले बयान गरेजस्तै :

ऊ आँखाबाट ओर्लेर मुटूमै सर्दथ्यो शायद
दुखेका चित्तको पीडा उसैले हर्दथ्यो शायद ।

वस्तुतः दुखेका चित्तको पीडा हरण गर्नु नै गजलको अभीष्ट हो । गजल शेरका दुई पंक्ति सुन्नासाथै आन्तरिक जगत्को द्वार खुल्दछ । त्यहाँ पीडाको शमनका साथै आनन्दको उद्रेक पनि गराउँछ शेरले । गजलमा प्रथमतः वाच्यार्थकै सतहमा अल्मलिन्छ मन, त्यसभन्दा गहिराईसम्म पुग्न पनि सक्दैन, तर गजलको अथाह आनन्दाकाशमा अवश्य रमाउँछ र यो अनन्दचाहिँ गजलको गहिरो अभिव्यञ्जना वा व्यंग्यार्थकै अनन्त स्रोतबाट वर्षिएको हुन्छ ।

नलाइएको मायाँ

पहिलो पहिलो अनुराग यस्तै हुन्छ क्यारे, उनका छेउमा आउन पनि नसिकने र उनलाई छोडेर अन्त जान पनि नसकिने । एउटा गजलको मतला उठाउँछु :

किन किन उनीछेऊ आउनचाहिँ आइएन
उनलाई छोडी अन्त कतै मायाँ पनि लाइएन ।

प्रेमालुका मनको अनौठो स्वभाव झल्काउँछ शेरले प्रथमतः यहाँ । हामी अनुभूतिको प्राथमिक रमरमीमा रमाउँछौं र स्वाद लिन्छौं गजलको । अनि विस्तारै अर्थका तहहरु खुल्दै जान्छन् र यो भौतिक जगत्का लौकिक अनुभवको बयान गहनतामा ओर्लिंदै आध्यात्मिक अनुभूतिको अलौकिक जगत्सम्म फैलिन पुग्दछ अनि अभिव्यंग्यार्थ खुल्दै जान्छ यसरी :

उनीछेउ अर्थात् आत्मिक आनन्दको द्वारसम्म, परमचैतन्यसम्म किन हो आउनचाहिंँ आइएन । तर त्यस आनन्दको गुरुत्वाकर्षणबाट टाढा पनि जान सकिएन, अर्थात् उनलाई छोडी अन्त कतै मायाँ पनि लाइएन । भौतिकतामै सन्तुष्ट भइएन । सांसारिक बद्धता र प्रतिबद्धतामा जेलिएको प्राणी आन्तरिक जगत्को अथाह आनन्दतिर गहिरोसँग आकर्षित रहने गरेको विश्वजनीन सत्यलाई शेरले संकेत गर्दछ । यो दुईतर्फी अनौठो तानातानीमा, तनावमा फँसेको मानवजातिको चिरन्तन र शाश्वत मर्मलाई शेरले यहाँ अभिव्यञ्जित गरेको छ, यसै भावमय गहिरोपनलाई वा अर्थगाम्भीर्यलाई गजलको ग ले संकेत गरिरहेको हामी पाउँछौं ।

नपाइएको ओत

गजलको अर्को शेर हेरौँ :

हुरीसँगै जुझिरहेँ, झरीसँगै रुझिरहेँ
ओत लाग्ने ठाउँ यौटा कतै पनि पाइएन ।

वाच्यार्थको तहमा यी हुरी र झरी मानवमात्रले भोगेका भौतिक यथार्थ हुन्, अनि ओत लाग्ने ठाउँ कतै पनि नपाउनुको पीडा पनि मानवजातिले भोग्दै आएको वास्तविकता हो ।

तर जब हामी अभिव्यञ्जनको गहिराईमा उत्रिन्छौँ अनि विभिन्न मानसिक सतहका हुरी र झरीका सघन अनुभूतिको झल्को हाम्रो अन्तरमा बिम्बित हुन्छ । कुनै एउटा भरपर्दो आश्रयको अर्थात् ओत लाग्ने ठाउँको खोजमा नै जीवनको समग्र ऊर्जा आफूले खर्चिएको हामी अनुभव गर्दछौँ । यो ओत श्रद्धाको, विश्वासको अनि जीवनका अर्थवत्ताको र आनन्दको ओत हो जहाँ विसंगति र असुरक्षाको पीडाबाट मुक्ति पाइन्थ्यो कि? यसैको खोजमा जीवनका सारा पलहरु रित्तिँदै गइरहेका छन् । शेरले गहिराईमा यही मानवीय त्रासदीलाई इंगित गरेको हामी पाउँछौं ।

नभेटिएको आफ्नोपन

गजल यसरी अगि बढ्छ :

पराई म कस्लाई मानूँ, आफ्नो भनी कस्लाई ठानूँ
आफन्तका बीच कतै आफ्नोपन पाइएन ।

मानव समाज नानाभाँतिका नाता सम्बन्धको सञ्जालमा जेलिएको छ । नाताले सामाजिक सम्बन्धको सूत्र गाँसेको हुन्छ । यसैका आधारमा आफन्त र पराईको भावजगत् खडा गरिन्छ, तर मानव अनुभव भन्दछ : त्यस्तो आफन्तको सहीछाप लागेको नातामा पनि वास्तविक आफ्नोपनको सघन प्रतीति र अनुभूति पाइएन । त्यहाँ त तथाकथित प्रेमको नाममा स्वार्थको, घृणाको र नापतौलपूर्ण सीमाबद्ध सम्बन्धको लक्ष्मणरेखा खिँचिएको छ, यो शेरको वाच्यार्थका सतहमा देखिने बुझिने अभिप्राय हो ।

अनुभूतिको गहनतलमा जब यो शेर उत्रिन्छ अनि खुल्छ यसको अभिव्यञ्जनामय विराट् संसार । मानव समाजले निर्धारित गरिएको सम्बन्धसूत्रहरु वस्तुतः मानिस–मानिसका बीच रहने नैसर्गिक, सहज र असीमित गहन आत्मीयतालाई एउटा संकुचित सीमा र परिधिमा बाँधेर राखिदिने उपकरण हुन् । त्यहाँ परिभाषित पराइ र आफन्तका ठम्याइहरु वाहियात छन् । तथाकथित आफन्तका नाता सम्बन्धहरुमा अथाह, अमूर्त घुटन छ, उकुसमुकुस छ, दिग्–दिगन्तसम्म संवेदनाका पखेटा फड्फडाएर उड्न चाहने मानवात्माका लागि ती पिँजडा हुन् । त्यसैले यो प्रश्न उठ्दछ ः पराई म कसलाई मानूँ, आफन्त म कसलाई ठानूँ ? आफन्त मानिएका सम्बन्धमा कति आत्मीयता वा आफ्नोपन छ ? यो आगोजस्तो प्रश्न हो, किनभने आफन्तका बीच पनि आफ्नोपन पाइएन । अर्थात् आफ्नोपनको अभाव सदा खट्किरह्यो । वास्तवमा आफ्नोपन भनेको आफ्नै मूल प्रकृति हो, आफ्नो मौलिक स्वभाव हो, आफैँभित्र रहेको आफू हो, त्यो असीमित छ, गहन छ, विराट् र व्यापक पनि छ, त्यो निःशर्त प्रेम र आफ्नोपनको कहिल्यै नरित्तिने पूर्णपात्र हो । यस्तो गहन आफ्नोपन तथाकथित आफन्तका बीच कहाँ पाउनु ?

यसरी शेरले असीमित अर्थगाम्भीर्यको यात्रा तय गरेको पाइन्छ यहाँ । यसैलाई गजलको ग अर्थात् गम्भीरता भनिन्छ ।

नगाइएको गीत

गजलको अगिल्लो शेर यस्तो छ :

काल सधैँ आइरह्यो, आतंक भै छाइरह्यो
जिन्दगीको मीठो गीत आजसम्म गाइएन ।

वाच्यार्थ सरल छ । जन्मसँगसँगै मृत्यु पनि मानवसँग जन्मन्छ । जन्म र मरण, यी दुवैका बीच सहोदर सम्बन्ध छ । पलपल हामी मर्छौं । समयले सधैँ लखेट्दछ । आतंककै प्रतिरूप बनेर आउँछ र छाउँछ काल अर्थात् समय । समयको खेदाइमा बाँच्नुको वास्तविक मधुर आनन्द अर्थात् मीठो गीत हामी कहाँ गाउन सक्दा रहेछौं र ? सधैँको गुनासो र गन्गन्मै बित्छ हाम्रो धूलिधूसरित जीवन । कहिल्यै पूरा नहुने आकांक्षाको झोली र कहिल्यै नभरिने तिर्सनाको कटोरा लिएर मानजाति सधैँ आलापविलाप गरेर रोइरहन्छ र भिखारीको भावभंगिमामा याचनाको कृपण स्वर उरालिरहन्छ । कहाँ छ जीवनको मीठो गीत ?

अर्थका गहिराइमा उत्रिएपछि हामी पाउँछौं : जन्मदेखि मृत्युपर्यन्त टाउकामाथि तुर्लुङ्ग झुण्डिएको नांगो तरबार झैं कालले मानवजातिलाई सधैँ तर्साइरहन्छ । यसको कुनै टुंगो छैन, मानिस सधैं भयभीत छ ः कतिखेर तरबार खस्ने हो टाउकोमा ! आतंककै मूर्तिमान् रूप हो काल अमूर्त रूपमै रहेर पनि । मृत्युभन्दा पहिले नै असंख्य बार मर्दछ मानिस भित्रभित्रै, मृत्युको आतंकले । यस्तो स्थितिमा जिन्दगीको मीठो गीत कसरी गाइनु ?

वास्तवमा यो मीठो गीत चाहिँ केही त्यस्ता सौभाग्यशाली पुरुषार्थीले मात्र गाएका हुन्छन् जसको दृष्टि मृत्युपारिको संसारसम्म पुगिसकेको हुन्छ, जसले मृत्युभित्र लुकेको अमृतत्व पाइसकेका हुन्छन् र त्यसैलाई आत्मसात् गरेर आनन्दित भइरहेका हुन्छन्, तिनीहरुले मात्र जिन्दगीको मीठो गीत गाएका हुन्छन् । यही अमरत्वको आध्यात्मिक सत्यलाई यहाँ शेरले संकेत गरेको छ, अनि शायरका अन्तश्चेतनामा रहेको मृत्योर्मा अमृतं गमय÷मलाई मृत्युबाट अमरतत्वतिर पु¥याऊ भन्ने चिरन्तन आकांक्षालाई ध्वनित प्रतिध्वनित गरेको छ ।

नबाइएको मुख

गजलको अन्तिम शेर यसरी आएको छ :

आँखाभरि उनकै छायाँ, मुटुभरि उनकै मायाँ
मायाँ गर्छु भन्ने बेला तर मुख बाइएन ।

पहिलो पहिलो चोखो प्रेममा हुने लजालुपन, कोमलता र संकोचको सघन जालोप्रति संकेत गर्दछ शेरको वाच्यार्थले । आँखामा झझल्को छाइरहनु, मन–प्राणमा प्रणयको अनुभूति आइरहनु, तैपनि सामुन्ने आएर माया गर्छु भन्ने निष्ठापूर्ण हार्दिक ध्वनि मुखरित गर्न नसक्नुको अनौठो उकुसमुकुसलाई तर मुख बाइएन ले कलात्मक कलेवरमा सजाएको छ । यहाँबाट प्रारम्भ भएको भावयात्रा अघि बढ्दै जान्छ र गहिरो एवम् अत्यन्त व्यापक मनको तलाउमा अनन्त तरंगहरु लहराउन थाल्दछन् :

उनको अर्थात् कुनै अज्ञात प्रेमास्पदको चुम्बकीय आकर्षण छ मानवचेतनामा बिम्बित भइरहेको । त्यही छायाँ सवैत्र देख्दछ एक निष्ठावान् प्रेमीले । जस्तो दृष्टि उस्तै सृष्टि ! अभ्यन्तरमा जसको बिम्ब सजाइएको हुन्छ उसैको प्रतिबिम्ब देख्छ जगत्लाई मानवले । मुटुभरि उसैका मायाको अपार स्रोत छचल्किरहेको पाउँछ उसले ।
तर कस्तो संकोच, कस्तो बेहोशीपन ! ऊ माया गर्छु भनेर प्रतिबद्धता जनाउने बेला मुख बाउन सक्दैन, कता कता अलमलिएको हुन्छ । अनन्त वासना र तृष्णाको इन्द्रधनुषमा अलमलिएर, आकर्षित भएर, आफ्नै अन्तरमा रहेको परम प्रेमास्पदलाई साँच्चिकै माया गर्छु भनेर समर्पणको स्वर सुनाउन सक्दैन । बाह्य जगत्को लोभ्याउने इन्द्रेनीमय संसार र आन्तरिक जगत्को परमशान्तिमय चुम्बकीय आकर्षण, यी दुवैका द्वन्द्वमा अल्झिएको छ मानवजाति । ऊ कति गर्दा पनि कतैतिर प्रतिबद्धता जनाउन सक्दैन अनि सधैं सन्देह र दोधारको छलमा नै छलिइरहेको हुन्छ । युगौंदेखि चल्दै आएको यही शाश्वत विडम्बनालाई यस शेरले मुखरित गरेको हामी पाउँछौं ।
यही भावजगत्को अथाह अभिव्यञ्जना नै गजलको ग अर्थात् गम्भीरता हो ।

कतै खुलेको, कतै लुकेको

गजल–ललनाको भाषा यस्तै–यस्तै हुन्छ : कतै खुलेको, कतै लुकेको । व्यञ्जना– अभिव्यञ्जनाको भाषा । अनि यसैले गजलमा गहिराई भर्दछ । सतही अर्थभन्दा भित्र अपार भावजगत्को अभिव्यञ्जना नै गजलको आत्मा हो । यसैलाई संकेत गर्दछ गजलको ग ले, अर्थात् गम्भीरता ले ।
प्रिय भावकवृन्द !

‘वाह ! गजल’मा पहिले आएका विविध प्रकरणहरुमा प्रस्तुत तगज्जल, तासीर, अन्दाजे बयाँ, प्रतीक, बिम्ब र अलंकार जस्ता शीर्षकहरुले यही गम्भीरताका उपकरणहरुको भूमिका निर्वाह गर्दछन्, व्याख्या विश्लेषण गर्दछन् । यिनै तत्त्वहरुको सहयोग र समर्थनले गजलमा गहिराई आउँछ । यही गहिराई वा गहनतालाई गजलको ग ले संकेत गर्दछ ।

ग अर्थात् गजलको पहिलो तत्त्व !

अनि गजलको दोस्रो तत्त्व हो : ज अर्थात् जीवन्तता ।

जीवन्तता भनेको के ?
प्रिय गजल–रसिकवृन्द ! आउनुहोस् चर्चा गरौँ – आउँदो आइतवारको प्रकरणमा ।