युवल नोह हरारी

रूसीहरूले युक्रेन हात पार्न सक्छन् तर युक्रेनीहरूले गएका केही दिनमा देखाएको वीरताले भनिरहेको छ, रूसीहरूलाई जरा गाड्न तिनले दिने छैनन्

 

एक साताभन्दा कम अवधिमा नै भ्लादिमिर पुटिनको युक्रेन युद्ध ऐतिहासिक हारतर्फ उन्मुख भइरहेको देखिएको छ । उनले सारा लडाईं जित्न सक्छन् तर युद्ध हार्नेछन् । रूसी साम्राज्य स्थापनामा पुटिनको झूटमा अडिएको छ । झूट पनि यस्तो कि, युक्रेनीहरू वास्तविक मानिस होइनन्, किभ, खार्किभ र एलभिभका बासिन्दाले मस्कोको नियम मान्नुपर्छ भन्ने भाष्य तयार पारिएको छ । उनले राष्ट्रका रूपमा युक्रेनको हजार वर्षको इतिहासलाई पूरै झूट बताएका छन् । तर उनले बुझ्नुपर्छ, जुन बेला मस्को गाउँजस्तो पनि थिएन, त्यो बेला किभ ठूलो जनसंख्या भएको महानगर थियो । तर रूसीहरूले किभको झूटलाई यति धेरै दोहोर्याए कि स्वयं उनीहरू नै त्यो झूटमा विश्वास गर्न थाले ।

युक्रेनमा पुटिनले युद्धको तयारी गर्दै रहँदा उनले केही थाहा भएका तथ्यहरूलाई आफ्नो पक्षमा राखेका थिए । उनलाई थाहा थियो, रूसी सैन्य शक्तिका अघि युक्रेन बाम पुड्के छ । उनलाई थाहा थियो, नाटोले युक्रेनको रक्षार्थ सेना पठाउने छैन । उनलाई थाहा थियो, युरोपको स्वतन्त्रता रूसी तेल र ग्यासमा भर पर्छ । त्यसैले जर्मनीजस्तो देशले तत्काल रूसमाथि विविध किसिमका प्रतिबन्ध लगाउन हिच्किचायो । यिनै तथ्यहरूका आधारमा पुटिनले युक्रेनलाई तत्कालै धस्ने गरी आक्रमण गर्ने, सरकारलाई सत्ताच्युत गर्ने, आफू अनुकूलको नयाँ सरकार बनाउने र पश्चिमा मुलुकले देखाउने नामर्दी आक्रोशबाट बाहिर निस्कने योजना बुनेका हुन् ।

यो योजनामा भने एउटा ठूलो अज्ञानता भने छँदैछ । त्यो चाहिँ इराकमा अमेरिकीहरूले र अफगानिस्तानमा सोभियतले सिकेको पाठ महसुस नगरिएको अज्ञानता । पुटिनलाई थाहा छ, उनीसँग युक्रने जित्ने शक्ति छ तर युक्रेनी जनताले मस्कोको कठपुतली सत्तालाई स्वीकार गर्लान् ? पुटिनले भने यो कुरामा जुवा नै खेलेका हुन् । उनले संसारलाई जतिसुकै युक्रेन वास्तविक मुलुक होइन, युक्रेनी जनता वास्तविक होइनन् भने पनि अबका केही समयपछि त्यो पनि खुलासा हुनेछ । अबको समय २०१४ मा युक्रेनले क्रिमिया सजिलै हात पारेजस्तो अवस्था हुने छैन । त्यो बेला रूसी आक्रमणकारीलाई युक्रेनीले विरलै प्रतिरोध गरेका थिए तर २०२२ मा त्यस्तो अवस्था हुने छैन ।

दिन बित्दै जाँदा पुटिनले खेलेको जुवा असफल हुन थाल्यो भन्ने प्रस्ट हुँदै जानेछ । युक्रेनी जनताले रूसी सेनालाई तिनको हृदयबाट नै प्रतिरोध गर्ने छन् र त्यो प्रतिरोधले संसारको मन जित्ने छ र युद्ध उनीहरूले जित्ने छन् । तर युद्ध जित्नका लागि रूसीहरूले युक्रेनमा स्थायी बास बनाउनु पर्नेछ । तिनले यो त्यतिबेला मात्र गर्न सक्छन्, जब युक्रेनी जनताले तिनलाई स्थायी रूपमा बस्न दिनेछन् । र, यस्तो हुने छैन भन्ने देखिन थालेको छ ।

प्रत्येक रूसी ट्याङ्क ध्वस्त हुँदै जाँदा र रूसी सेनाको मृत्यु संख्या बढ्दै जाँदा युक्रेनीहरूमा प्रतिरोधको साहस ह्वात्तै बढेर जानेछ । उता प्रत्येक युक्रेनीको हत्या गहिरिँदै जाँदा युक्रेनीहरूको घृणा अझ बढी गहिरिने छ । घृणा सबैभन्दा कुरूप संवेदना हो तर थिचोमिचोमा परेको मुलुकका लागि घृणा लुकेको धन हो । हृदयमा गहिरो गरी लुकेको यो घृणाले पुस्तौँसम्म प्रतिरोधको ज्वाला दन्काइरहन्छ । पुटिनको रूसी साम्राज्य ब्युँउताउन उनलाई घृणारहित विजय चाहिन्छ, जसले तुलनात्मक रूपमा घृणारहित शान्तिसम्म पुर्याउन सक्छ । लडाइँ सघन हुँदै जाँदा युक्रेनी भूमिमा पोखिने प्रत्येक रगतले पुटिनले आफ्नै सपना पूरा गर्न नसकिने महसुस गर्नेछन् । रूसी साम्राज्यको मृत्यु प्रमाणपत्रमा मिखाइल गोर्बाचेभको हस्ताक्षर होइन, पुटिनको हस्ताक्षर हुनेछ । गोर्बाचेभले रूसी र युक्रेनीहरूबीच भाइ-भाइको सम्बन्ध महसुस गराएर छाडेका थिए । पुटिनले भने त्यो पारिवारिक सम्बन्धलाई सत्रुतामा परिणत गर्नेछन् र युक्रेनी राष्ट्रले आफूलाई रूसविरूद्धको सत्ताका रूपमा झन् बढी स्थापित गर्नेछ ।

राष्ट्रहरू कथामा बनेका हुन्छन् । प्रत्येक दिन बित्दै जाँदा युक्रेनीहरूसँग थप्नुपर्ने अनेक कथाहरू हुनेछन् । जति बढी कथा, उति सशक्त सत्ता । युक्रेनीहरूले आउँदा काला दिनका बारेमा मात्र कथ्ने छैनन्, दशक र पुस्तौँ पछिसम्म ती कथा जोगाउँदै अघि बढ्नेछन् । राजधानी छाडेर कहीँ जान्नँ बरू यही भूमिमा मर्नेछु भन्ने राष्ट्रपति, अमेरिकाले उद्धार गर्न गरेको प्रस्तावमा उनले उद्धार होइन, गोली देऊ भनी राखेको आग्रह, युक्रेनको भागमा परेको स्नेक आइल्यान्डमा रूसी सेनाले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न गरेको आग्रहमा तिनले दिएको जवाफ ‘गो फक् योरसेल्फ’, रूसी ट्याङ्कलाई रोक्न सडकमा सुतिदिने सर्वसाधारण, त्यस्तै एक जना वृद्ध महिलाले रूसी सेनालाई दिएको सूर्यमुखी फूल र त्यो फूल तेरो चिहानमा राख्नू भन्ने जस्ता संवादले भविष्यमा ठूलो काम गर्छ । यिनै साना साना कुराले मुलुकलाई बनाउने काम गर्छ । कालान्तरमा यी कथा ट्याङ्कभन्दा पनि सशक्त, अभेद्य हुनेछन् ।

रूसी तानाशाहले यो कुरा बुझ्न जरूरी छ । बालापनमा पुटिनले नै कसरी रूसी बहादुरीका कारण लेनिनगार्द जोगाए भन्ने कथाकै पोषणमा उनी हुर्किएका हुन् । उनी नै अहिले यस्ता सशक्त कथा सिर्जना गरिरहेका छन् र आफूलाई हिटलरको भूमिकामा उभ्याइरहेका छन् ।

युक्रेनीहरूले सिर्जना गरेका यी कथाहरूले तिनलाई मात्र होइन सारा संसारलाई प्रेरणा दिइरहेका छन् । तिनले युरोपेली मुलुकका सरकारहरूलाई साहस बाँडिरहेका छन्, अमेरिकी प्रशासनलाई हिम्मत दिइरहेका छन् र रूसभित्रकै दबाइएका जनतालाई यो बुद्धिमताहीन युद्धविरूद्ध प्रदर्शन गर्न उक्साइरहेका छन् । यदि युक्रेनीहरूले खाली हातले रूसी ट्याङ्क रोक्न सक्छन् भने, जर्मन सरकारले तिनलाई ट्याङ्क प्रतिरोधक मिसाइल बाँड्ने हिम्मत दिन सक्छ । रूसलाई पार्ने चर्को वित्तीय घाटाका लागि बैंकिङ प्रणाली कटौती गर्न सघाउने छ ।

दुःखको कुरा चाहिँ, यो युद्ध लामो समयसम्म चल्नेछ । तर महत्त्वपूर्ण कुरा चाहिँ युद्धको विषय निर्णय भइसकेको छ । केही दिन यता पूरा विश्वले युक्रेन केही होइनबाट युक्रेन वास्तविक मुलुकमा परिणत भएको देखेका छन् । युक्रेनीहरू केही होइनन् भन्नेबाट वास्तविक मानिस हुन् भन्ने प्रमाणित भएको छ । उनीहरू नयाँ रूसी साम्राज्यको छायाँमा ओत लाग्न तयार छैनन् भन्ने प्रमाणित भएको छ । र, यतिबेला मुख्य प्रश्न भने अझै खुल्न बाँकी छ, क्रेमलिनले हारेको यो युद्धको सन्देश क्रेमलिनको मोटो, बाक्लो अनि अग्लो पर्खाल छेडेर तिनको कानसम्म कहिले पुग्छ !

(युवल नोह हरारी इतिहासकार हुन् । उनले अन्तर्राष्ट्रिय बेस्ट सेलर किताब सेपियन्सः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड लेखेका छन् ।)