क्युबाली क्रान्तिपछि सर्वोच्च नेता फिडेल क्यास्ट्रोले देशको साक्षरता प्रतिशत बढाउन भनेर ‘लिटरेसी भोलुन्टियर ब्रिगेड’ तयार पारेका थिए । यो ब्रिगेडमा त्यो बेलाका २ लाख ५० हजार विद्यार्थीले सहभागिता जनाएका थिए ।

यो शैक्षिक क्रान्तिको एक वर्षमा नै क्युबालीहरुको साक्षरता प्रतिशत ७७ प्रतिशतबाट ९६ मा पुगेको थियो । सो विशेष अवसरमा क्यास्ट्रोले आफ्नो देशबाट अशिक्षा निर्मूल भएको घोषणा गरेकाथिए । यससँगै दक्षिण अमेरिकी देशहरुमध्ये क्युबा उच्च शैक्षिक प्रतिशतयुक्त देशमा गनिन पुगेको थियो ।

कोरोना कालमा देशको शैक्षिण गुणस्तर खस्किएको भन्दै बेलायती शिक्षामा क्युबाकै जस्तो शैक्षिक क्रान्ति गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने धारणा राख्न थालिएको छ । क्युबालीले बनाएको शैक्षिक ब्रिगेडकै स्तरमा कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा पठन संकटबाट अहिलेका बालबालिकालाई निकाल्न सकिने धारणा राखिएको हो ।

कोरोना कालमा सिकाईको स्तर न्यून स्तरमा झरेको र यो स्तर उकास्नका लागि देशभरि नै शैक्षिक स्वयंसेवकहरुमार्फत स्तर उकास्न कार्यक्रम थालिन ढिला भएको धारणा व्यक्त गरिएको छ ।

यसका लागि विश्वविद्यालयका शिक्षा संकायका विद्यार्थीहरु परिचालन गर्न सकिने र जुन विद्यार्थीले बालबालिकाको शैक्षिक गुणस्तर उकास्न सबैभन्दा बढी भूमिका खेल्न सक्छन्, तिनको विश्वविद्यालय परीक्षामा बढी अंक दिन सकिने प्रस्ताव समेत एक्स्टर विश्वविद्यालयका शिक्षा संकायका प्राध्यापकहरुले बताएका छन् ।

एक्स्टरका सोसल मोबिलिटीका प्राध्यापक लि इलियट मेजरले ब्रिस्टल र डुर्हाम विश्वविद्यालयका सञ्चालकहरुसमक्ष यस्तो प्रस्ताव हालै राखेका हुन् ।

केही समयअघि बेलायती शिक्षा मन्त्री नदिम जवाहीले पनि स्थानीय स्कुलमा सिकाईको गुणस्तर खस्किएको भन्दै ठूला संस्थाहरुले त्यसतर्फ ध्यान दिन र सामुदायिक सहभागिता बढाई गुणस्तर वृद्धि गर्न आह्वान गरेका थिए ।

यही मेसोमा आउँदो सेप्टेम्बर महिनादेखि एक्स्टर विश्वविद्यालयका विद्यार्थीहरुलाई ‘वन टु वन लेसन’मा सहभागी हुन आग्रह गरेको छ । जसमा विश्वविद्यालयका विद्यार्थीले कुनै सामुदायिक विद्यालयका एक जना विद्यार्थी छानेर उसको शैक्षिक गुणस्तर बढाउने छन् ।

शिक्षा मन्त्रालयले सन् २०३० सम्म ११ वर्षका बालबालिकाहरुले राम्रोसँग पढ्ने क्षमता अभिवृद्धि गराउन अभियान नै सञ्चालन गरेको छ । हाल बेलायती बालबालिकामाझ साक्षरता प्रतिशत ६४ प्रतिशत छ भने २०३० सम्म ९० प्रतिशत प¥याउने लक्ष्य राखिएको छ ।

संसारकै पाँचौँ धनी देश भए पनि अन्तर्राष्ट्रिय शैक्षिक लिग वा प्रतियोगितामा यसको प्रदर्शन कमजोर छ । पिसा टेस्ट भनिने शैक्षिक गुणस्तरमा बेलायत इस्टोनिया र क्यानडाभन्दा पछाडि छ । पिसा टेस्ट १५ वर्ष उमेर समूहका किशोर किशोरीहरुको शैक्षिक गुणस्तर परीक्षण गर्ने प्रणाली हो ।

यो परीक्षण प्रणाली संसारका ७० देशमा प्रचलित छ ।

यस किसिमको सहयोग कार्यक्रममा द ब्रिलियन्ट क्लबको स्थापना गरी योगदान गर्नेहरुमा म्यान्चेस्टर, लिड्स, लन्डन, सेफिल्ड हलाम र साउथम्पटन विश्वविद्यालयहरु छन् । यी विश्वविद्यालयले आफ्ना विद्यार्थीहरु विभिन्न स्कुलमा शिक्षकका रुपमा पठाउने गर्छन् । यिनले हालका दिनमा ४ हजारभन्दा बढी विद्यार्थीमाझ यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन् ।

विश्वविद्यालयस्तरका ‘शैक्षिक सेना’ उतार्नु यो सही बेला भएको टिप्पणी रबर्ट हाफटनले बताए । उनी संसदको कन्जर्भेटिभ समूहका दस्य पनि हुन् । उनी भन्छन्, ‘यस्तो कार्यक्रम यसअघि क्युबामा गरिएको होस् कि निकारागुवामा, मलाई त्यसको बिल्कुलै मतलब छैन । मतलब त मलाई हाम्रा बालबालिकाहरुलाई व्यापक स्तरमा शैक्षिक क्रान्तिको अंग बनाउनु छ । यसले देशको भलो नै गर्नेछ ।’