उर्दू बहरको लालित्यमा गजल हार्दिक एवम् भावमय भव्य कलेवरमा लयबद्ध बनेका हुन्छन्, त्यस्ता बहुप्रचलित प्रमुख बहरहरुको चर्चामा हामी जुटेका छौँ ।
सर्वप्रथम बहर–ए–मिनकारिबको प्रसंग चल्दैछ , यो सर्वाधिक लोकप्रिय छन्द हो । मिनकारिबमा आबद्ध एउटा सुमधुर गजलबाट आजको चर्चा शुभारम्भ गरौँ :
१. बहर–ए–मिनकारिब
फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
ल ला ला ल ला ला ल ला ला ल ला ला
ति मी फू ल झैँ मुस् कु रा ए र बाँ च
ग जल् जिन् द गी गुन् गु ना ए र बाँ च ।
आउनुहोस् , यसै लयमा लहरिँदै पूरा गजल गुनगुनाऔँ :
तिमी फूल झैँ मुस्कुराएर बाँच
गजल जिन्दगी गुन्गुनाएर बाँच
..
घृणाका विषालू जती चोट लागून्
तिमी प्रीतको गीत गाएर बाँच
..
विपद्का अँध्यारा जती रात आऊन्
तिमी जून झैं जगमगाएर बाँच
..
जती जिन्दगीले जलाएर राखोस्
तिमी धूप झैँ मगमगाएर बाँच ।
२. बहर–ए–मुतदारिक : १२ अक्षर ( फाइलुन् : ४ आवृत्ति )
आज गाह्रो पर्यो प्रीति गाढा हुँदा
दूर जानै पर्यो लक्ष्य टाढा हुँदा ।
फाइलुन् फाइलुन् फाइलुन् फाइलुन्
ला ल ला ला ल ला ला ल ला ला ल ला
आ ज गा ह्रो प र्यो प्री ति गा ढा हुँ दा
दू र जा नै प र्यो ल क्ष्य टा ढा हुँ दा ।
यो मुतदारिक बहर यताको शास्त्रीय छन्द स्रग्विणीसँग ठ्याक्कै मिल्दछ ।
..
३. बहर–ए–हजज : १६ अक्षर (मफाईलुन् : ४ आवृत्ति)
ऊ आँखाबाट ओर्लेर मुटूमै सर्दथ्यो शायद
दुखेका चित्तको पीडा उसैले हर्दथ्यो शायद ।
मफाईलुन् मफाईलुन् मफाईलुन् मफाईलुन्
ल ला ला ला ल ला ला ला ल ला ला ला ल ला ला ला
उ आँ खा बा ट ओ र्ले र मु टू मै सर् द थ्यो शा यद्
दु खे का चित् त को पी डा उ सै ले हर् द थ्यो शा यद् ।
यहाँ पहिलो हरफको पहिलो अक्षर उ को शुद्ध रूप ऊ भए तापनि लयको अनुरोधले ह्रस्व रूपमा उच्चारण गरिन्छ । त्यस्तै ओर्लेर को र ह्रस्व भए तापनि लयको अनुरोधले दीर्घ उच्चारण गरिन्छ । यस्तो लचिलोपन बहरमा सर्वत्र प्रचलित छ ।
..
४. बहर–ए–रजज : १६ अक्षर (मुस्तफ्इलुन् : ४ आवृत्ति)
पर्खेर दिन गन्दै थिएँ, मनको कुरा मनमै रह्यो
माया गरूँ भन्दै थिएँ, मनको कुरा मनमै रह्यो ।
मुस्तफ्इलुन् मुस्तफ्इलुन् मुस्तफ्इलुन् मुस्तफ्इलुन्
ला ला ल ला ला ला ल ला ला ला ल ला ला ला ल ला
पर् खे र दिन् गन् दै थि एँ मन् को कु रा मन् मै र ह्यो
मा या ग रूँ भन् दै थि एँ मन् को कु रा मन् मै र ह्यो ।
..
५. बहर–ए–रमल : १६ अक्षर (फाइलातुन् : ४ आवृत्ति)
आज यौटा चिठ्ठी आयो कुन्नी कस्को थाह छैन
प्यारको सन्देश ल्यायो कुन्नी कस्को थाह छैन ।
फाइलातुन् फाइलातुन् फाइलातुन् फाइलातुन्
ला ल ला ला ला ल ला ला ला ल ला ला ला ल ला ला
आ ज यौ टा चिठ् ठि आ यो कुन् नि कस् को था ह छै न
प्या र को सन् दे श ल्या यो कुन् नि कस् को था ह छै न ।
..
६. बहर–ए–कामिल : २० अक्षर (मुतुफाइलुन् : ४ आवृत्ति)
कहीँ अश्रुधार बनी झर्यौ कहीँ तीव्रताप बनी जल्यौ
तिमीलाई पाउन धाउँदा कहिले रुझेँ कहिले जलेँ ।
मुतुफाइलुन् मुतुफाइलुन् मुतुफाइलुन् मुतुफाइलुन्
ल ल ला ल ला ल ल ला ल ला ल ल ला ल ला ल ल ला ल ला
क हिँ अश् श्रु धा र ब नी झ ¥यौ क हिँ तीब् व्र ता प ब नी ज ल्यौ
ति मि ला इ पा उ न धा उँ दा क हि ले रु झेँ क हि ले ज लेँ ।
..
७. बहर–ए–वाफिर : २० अक्षर (मफाइलतुन् : ४ आवृत्ति)
जहाँ तिमि छौ उहीँ छ खुशी तिमी नहुँदा उदास सबै
बहार थियो निशा सपना बिहान भयो विनाश सबै ।
मफाइलतुन्् मफाइलतुन् मफाइलतुन् मफाइलतुन्
ल ला ल ल ला ल ला ल ल ला ल ला ल ल ला ल ला ल ल ला
ज हाँ ति मि छौ उ हीँ छ खु शी ति मी न हुँ दा उ दा स स बै
ब हा र थि यो नि शा स प ना बि हा न भ यो वि ना श स बै ।
..
यिनै सातवटा मूल बहरका रुक्नहरुमा केही थपघट वा मिश्रणबाट शाखा प्रशाखाहरु विस्तार भएर बहरको विराट् संसार रचिएको पाइन्छ । त्यस्ता संरचनालाई मिश्रित बहर भनिन्छ । प्रिय गजलानुरागी बन्धु, आउनुहोस् अब केही प्रचलित मिश्रित बहरहरुको चर्चा गरौँ ।
..
मिश्रित बहरहरू :
८. बहर–ए–मिनकारिब को एउटा भेद : ११ अक्षर
खुशीमा थियो साथ मेरो जगत्
विपद्मा छु ऐले म एक्लो फगत् ।
फऊलुन् फऊलुन् फऊलुन् फअल्
ल ला ला ल ला ला ल ला ला ल ला
खु शी मा थि यो सा थ मे रो ज गत्
वि पद् मा छु ऐ ले म एक् लो फ ग त् ।
..
९. बहर–ए–मुतदारिक को एउटा भेद : ९ अक्षर
फूल जत्ती फुलून् बागमा
छैन क्यै मालीको भागमा ।
फाइलुन् फाइलुन् फाइलुन्
ला ल ला ला ल ला ला ल ला
फू ल जत् ती फु लून् बा ग मा
छै न क्यै मा लि को भा ग मा ।
..
१०. बहर–ए–हजज को एउटा भेद : ११ अक्षर
बसूँ भन्दा कतै आवास छैन
उडूँ भन्छू खुला आकाश छैन ।
मफाईलुन् मफाईलुन् फऊलुन्
ल ला ला ला ल ला ला ला ल ला ला
ब सूँ भन् दा क तै आ वा स छै न
उ डूँ भन् छू खु ला आ का श छै न ।
..
११. बहर–ए–हजज को दोस्रो भेद : १६ अक्षर
उही शहर उही डगर थिएन हात हातमा
म पान्थ एकलो परेँ थिएन कोही साथमा ।
मफाइलुन् मफाइलुन् मफाइलुन् मफाइलुन्
ल ला ल ला ल ला ल ला ल ला ल ला ल ला ल ला
उ ही श हर् उ ही ड गर् थि ए न हा त हा त मा
म पान् थ ए क लो प रेँ थि ए न को हि सा थ मा ।
यो यतातिर बहुप्रचलित शास्त्रीय छन्द पञ्चचामरसँग ठ्याक्कै मिल्दछ ।
..
१२. बहर–ए–हजज को तेस्रो भेद : १४ अक्षर
जिन्दगी गयो जल्दै साँझमा बिहानीमा
जत्ती मै हुँ भन्ने होस्, अन्त्य भो खरानीमा ।
फाइलुन् मफाईलुन् फाइलुन् मफाईलुन्
ला ल ला ल ला ला ला ला ल ला ल ला ला ला
जिन् द गी ग यो जल् दै साँ झ मा बि हा नी मा
ज त्ती मै हुँ भन् ने होस् अन् त्य भो ख रा नी मा ।
..
१३. बहर–ए–हजज को चौथो भेद : १४ अक्षर
फुकेछ बन्धन पीडा हजार बाँकी छ
झरी बितेर गयो, अश्रुधार बाँकी छ ।
मफाइलुन् फिइलातुन् मफाइलुन् फेलुन्
ल ला ल ला ल ल ला ला ल ला ल ला ला ला
फु के छ बन् ध न पी डा ह जा र बाँ की छ
झ री बि ते र ग यो अश् श्रु धा र बाँ की छ ।
..
१४. बहर–ए–रजज को एउटा भेद : १२ अक्षर
कहिले यहाँ, कहिले वहाँ, घुम्दै रहेँ
बेहोशीकै मस्ती पिई झुम्दै रहेँ ।
मुस्तफ्इलुन् मुस्तफ्इलुन् मुस्तफ्इलुन्
ला ला ल ला ला ला ल ला ला ला ल ला
कै ले य हाँ कै ले व हाँ घुम् दै र हेँ
बे हो शि कै म स्ती पि ई झुम् दै र हेँ ।
..
१५. बहर–ए–रमलको एउटा भेद : ११ अक्षर
जिन्दगी त्यो पातलो खाता थियो
भित्र जसमा खालि दुइ पाता थियो ।
फाइलातुन् फाइलातुन् फाइलुन्
ला ल ला ला ला ल ला ला ला ल ला
जिन् द गी त्यो पा त लो खा ता थि यो
भित् त्र जस् मा खा लि दुइ पा ता थि यो ।
..
१६. बहर–ए–रमल को दोस्रो भेद : १६ अक्षर
मनमा वसन्त छायो, तर यार खै कहाँ छ ?
दिलमा सुवास भर्ने दिलदार खै कहाँ छ ?
फिइलात फाइलातुन् फिइलात फाइलातुन्
ल ल ला ल ला ल ला ला ल ल ला ल ला ल ला ला
म न मा व सन् त छा यो त र या र खै क हाँ छ ?
दि ल मा सु वा स भ र्ने दि ल दा र खै क हाँ छ ?
..
१७. बहर–ए–रमल को तेस्रो भेद : १४ अक्षर
यादमै रात कटाएर सबेरै आएँ
भेट्न उसलाई म धाएर सबेरै आएँ ।
फाइलातुन् फिइलातुन् फिइलातुन् फेलुन्
ला ल ला ला ल ल ला ला ल ल ला ला ला ला
या द मै रा त क टा ए र स बे रै आ एँ
भेट् न उस् ला इ म धा ए र स बे रै आ एँ ।
..
१८. बहर–ए–रमल को चौथो भेद : १० अक्षर
बिर्सिएको कहानी याद आयो
मस्तीको जिन्दगानी याद आयो ।
फाइलातुन् मफाइलुन् फेलुन्
ला ल ला ला ल ला ल ला ला ला
बिर् सि ए को क हा नि या दा यो
म स्ति को जिन् द गा नि या दा यो ।
..
१९. बहर–ए–कामिल को एउटा भेद : १५ अक्षर
कहिँ फेरि भेट हुने भए त म आउँथेँ
कुन भाग्यले तिमिलाई देख्न म पाउँथेँ ।
मुतुफाइलुन् मुतुफाइलुन् मुतुफाइलुन्
ल ल ला ल ला ल ल ला ल ला ल ल ला ल ला
क हिँ फे रि भे ट हु ने भ ए त म आ उँ थेँ
कु न भाग् ग्य ले ति मि ला इ देख् न म पा उँ थेँ ।
..
२०. बहर–ए–वाफिर को एउटा भेद : २० अक्षर
जती बढ्यो चाहना दिलैमा उती उती भैगयो उ टाढा
जताततै देख्छु रंग उस्को, कहीँ छ कम् कम्, कहीँ छ गाढा ।
मफाइलातुन् मफाइलातुन् मफाइलातुन् मफाइलातुन्
ल ला ल ला ला ल ला ल ला ला ल ला ल ला ला ल ला ल ला ला
ज ती ब ढ्यो चा ह ना दि लै मा उ ती उ ती भै ग यो उ टा ढा
ज ता त तै देख् छु रं ग उस् को क हीँ छ कम् कम् क हीँ छ गा ढा ।
..
बहरको चर्चालाई अब यहीँ विश्राम दिऔँ ।
माथिका उदाहरणहरुबाट के स्पष्ट हुन्छ भने बहरको विस्तार व्यापक छ, विराट् छ । यसरी गुनगुनाउँदै जाँदा अनेक बहरका अनेक लय र तिनबाट निर्मित लालित्यको अनुभूतिमा हामी डुब्दै जान्छौँ । यहाँ केही प्रचलित बहरहरुको मात्र चर्चा गरिएको छ ।
अब एउटा प्रश्न स्वाभाविक रूपमा जागृत हुन्छ :
नेपाली लोकलयमा पनि गजल रचिन्छन् ?
प्रिय गजलानुरागी बन्धु, आउनुहोस् आगामी आइतवार यसै विषयमा चर्चा गरौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।