
१. काल विभाजनको लघुकथा – स्वतन्त्रता
विधान आचार्य
“भित्र कोठामा लैजा ….” हाकिमले सिपाहीलाई आदेश दियो । सिपाहीले उसलाई घिस्यायो । उसले हाकिमका अनुहारमा हेरी र पिच्च थुकी । हाकिमले इसारा गरेको कोठामा लगेर उसलाई भित्र छोड्दै सिपाही बाहिर निस्क्यो । ढोका थुनेर बाहिरबाट ताल्चा लगायो । भित्र अन्धकार थियो ।

विधान आचार्य
एकछिनमा आाफ्ना काम निप्ट्याएर हातमा धारिलो हतियार चम्काउँदै हाकिम आयो । भित्र पसेपछि भने हाकिमका हातको ब्याट्री सकिन लागेको टर्चलाइटको मधुरो उज्यालोमा कोठाको कुनाको खाट र त्यसमाथिको मैलो तन्नामा हातगोडा खुम्च्याएर बसेकी ऊ देखिई । उसका मुहारमा क्रोध छापिएको थियो ।
बाहिर बसेका सिपाही भोलिबिहान फेरि अर्की एउटीको लास तह लगाउने तरिकाको तानाबाना बुन्न थाले । भित्रबाट महिलाका स्वरका केही टुक्रा आवाज आए र क्रमैसित बिलाए । अँध्यारो कोठा अरू बेलाजस्तै शान्त साक्षी बन्यो ।
बिहान बन्द ढोकाबाट रगत आएको थियो । पहिले पनि यस्तो भएको थियो । सिपाहीहरूले बिस्तारै ढोका खोले । चमचमाउँदो हतियार धारपट्टि रगतको दागसहित एक कुनामा फालिएको थियो ।
लासलाई नाघेर रगतका छेउतिर टेक्दै बिस्तारै ऊ ढोकाबाट निस्की र निर्भीकतासाथ बाहिर निक्लिएर उज्यालोतिर बढ्दै गई ।
###
(नेपाली लघुकथाको तीसको दशकलाई स्वर्णकाल भनिनुपर्छ । यसै समयदेखि नेपाली लघुकथामा ओज, गरिमा र मिठास देखिएको हो । यसै कालको एक महत्त्वपूर्ण हस्ताक्षर हुन् स्रष्टा विधान आचार्य ।
स्रष्टा आचार्य बहुमुखी प्रतिभाका धनी छन् । चोटिलो लेखनी उनको विशेषता त हो नै यसको अलावा आचार्य भाषाप्रेमी पनि हुन् । संस्कृत, नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाको ज्ञाता विधान हरेक विधामा मानक सृजना गर्ने कुशल कलमधर्मी हुन् । लघुकथा कुनोबाट नेपाली लघुकथालाई अघि बढाउन विधान आचार्यले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
प्रस्तुत लघुकथा “स्वतन्त्रता” कौतुहलपूर्ण लघुकथा हो । पाठकको सोचाइको ठीक १८० डिग्रीमा पुगेर झड्का दिएको यस लघुकथाले नारीको शक्तिको चर्चा गरेको छ ।)
२. सङ्ग्रहभित्रको लघुकथा – दान
भीमनिधि तिवारी
सिम्सिम् सिम्सिम् पानी परिरहेको, साँझको समय सडकको छेउमा एउटा गरिब साठीको, मोटो लट्ठीमा दुब्लो जिउ टेबाएर (टेकाएर ?) मन्द मन्द गतिले हिँड्दै मागगामीहरूसँग हात थापेर करुणपूर्ण स्वरले भनिरहेको थियो, “हजूर ।”

भीमनिधि तिवारी
एक घोडचढीको आगमन भयो अचानक, बूढाले उही आहःभरि स्वरमा उही वचनले माग्यो । उसको चमर जस्तो कपाल र धनुजस्तो शरीर देखेर ती श्रीमान्ले तुरुन्त एक मोहर फालिदिए । बूढाले त्यो टिपेर नबोलिकन उनैलाई फर्काइदियो ।
सूर्यभर ढुङ्गा, माटो गरेर थाकेको ज्यामी आइपुग्यो, फेरि त्यहीँ टुप्लुक्क । उसले एक पैसा झिकेर बुढाको हातैमा राखिदियो । अनि आफ्ना गहमा आँसु भलभल्याएर गयो । बूढोले पचासौँ शत्रु (शतायु ?) मा उसको जय पुकार्दै त्यो पैसा पटुकामै गाँठो पार्यो ।
###
(“नेपाली लघुकथा र कथाकार” पुस्तकमा लेखक प्रा.डा. दयाराम श्रेष्ठले नेपाली लघुकथाको बारेमा महत्त्वपूर्ण खोज, अनुसन्धान गर्दै विमर्श उप्काएका छन् । उनीले यसै पुस्तकमा वि. सं. १९९६ मा “शारदा” पत्रिकामा लघुकथाकार भीमनिधि तिवारीको प्रकाशित लघुकथा “दान”बाट आधुनिक नेपाली लघुकथाको शुभारम्भ गरेका छन् भन्ने जिकीर गरेका छन् ।
बहुमुखी प्रतिभाका धनी भीमनिधि तिवारीले नेपाली साहित्यको तत्कालीन सबै विधामा सृजना गरेका छन् ।
प्रस्तुत लघुकथा “दान”मा भीमनिधि तिवारीले प्रेम र तिरस्कार बीचको भेद उदाङ्गो पारेका छन् । लगभग ८५ वर्ष पहिले लेखिएको यो लघुकथा लघुकथाको पूर्ण फ्रेममा रहेको छ ।)
३. समूहभित्रको लघुकथा – खुसी
सीता रेग्मी
“यस्तो ठुटै र बुचै त के आउनु, बरु गहना नभए नआउनु नि !”
“जागिरे हुँ भनेर देखाउन आकी होला नि अफिसकै लुगा लाएर !”

सीता रेग्मी
“खानै नपुग्ने जागिर छ बिचरीको ! पुगेको भए त यसो अलि अलि सुनचाँदी लाइहल्थी नि !”
“उसैलाई चाहिँ फेरि सबैसँग फोटो खिच्नुपर्ने, हेर न के के न जितेझैँ गरेर हाँसी हाँसी फोटो खिच्दै छे !”
गरगहना र महँगा लुगामा सजिएर आएका आफन्त महिलाहरू सन्ध्यालाई देखेर यस्तै यस्तै कुरा गरिरहेका थिए ।
जसोतसो फुर्सद निकालेर दिदीको छोराको बिहेको पार्टीमा निम्तो मान्न पुगेकी थिइन् उनी ।
“मैले त सन्ध्यालाई नबोलाऊँ भनेकै थिएँ नि । हेर्नोस् त, इज्जतै जानेगरी आकी छे ।”, अरू त अरू आफ्नै दिदीले पनि उनीप्रति असन्तुष्ट हुँदै श्रीमान्सँग गुनासो गर्दै थिइन् ।
अघिदेखि नै सबै कुरा सुनिरहेका उनका श्रीमान्ले सन्ध्यातिर हेर्दै भने, “उसले गरगहना र महँगा लुगा नलाएर पनि कति खुसी छे, आफूले ती चीजबीज नलाएकोमा उसलाई कुनै सङ्कुचन छैन, तिमीहरू भने आफूले थाम्न सक्नेजति सुनचाँदी झुन्डाएर पनि खै त खुसी हुन सकेका ? अरू कसैले गहना नलगाएको निहुँ बनाएर दुःखी भइरहेका छौँ ।”
###
(फेब्रुवरी ११ मा लघुकथा कुनोको स्थापना दिवस पर्छ । नेपाली लघुकथालाई सामाजिक सञ्जालको माध्यमबाट सर्वव्यापी बनाउने काम लघुकथा कुनोलाई नै जान्छ । यस समूहमा ३४ हजारभन्दा बढी सदस्य सङ्ख्या रहेको छ । दशौँ वार्षिकोत्सवको अवसरमा लघुकथार सीता रेग्मीले लघुकथा कुनोमा “खुसी” लघुकथा पोष्ट गरेकी थिइन् । लघुकथाको सञ्जालहरूमा देखिरहने सीताको लघुकथा लेखन भने चोटिलो छ । उनी विषयलाई सुरुदेखि नै पकडमा राखेर अन्त्यमा झड्का दिन सफल छिन् ।
सीता नारी विषयलाई बढी महत्त्व दिन्छिन् । प्रस्तुत लघुकथा “खुसी” थोरै शब्दमा लेखिएको चोटिलो लघुकथा हो । यसले नारीको खुसी, चासो, गुनासो र मनमा अड्किएको इर्श्यालाई सरल तरिकाबाट प्रस्तुत गरेको छ ।)
४. समसामयिक लघुकथा – प्रेरणा
शेखरकुमार श्रेष्ठ
“समयक्रमसँगै कोही बितिगए, कसैले छाडेर गए ।”, रातको अन्धकारमा उसले आत्मादेखि सोच्यो ।
“बुढा ! रातको यस अँध्यारामा घर र कोठा नै अँध्यारो पारी के झोक्य्राएर बसेको ?”, माइतीमा आमाको तेह्र दिने काम सकेर फर्केकी पत्नीले कोठा उज्यालो बनाउँदै भनिन् ।

शेखरकुमार श्रेष्ठ
“तिमी नहुँदा शून्य लागेर परत्र र वरत्र सम्झिरहेको ।”, उसले जवाफ दियो ।
“जहिले छोराको परिवारले नेपाल फर्कन्न भन्यो; छोरी विवाह गरेर पराइ घर गई तबदेखि तपाईँ चिन्तामा डुबी चिताको बाटो देख्दै हुनुहुन्छ ।”, उनले जिज्ञासा राख्दै झर्केर भनिन् ।
“आफू आमाबाबुका लागि गाउँ छाडेर अन्त गइएन । छोराछोरीका लागि दैनिक मयल फाल्नुपर्ने गरी काम गरियो । तापनि आज कोही भएन । यस्तो बेला एक्लो पर्दा चिताको पिरले सताउँदो रहेछ ।”, उसले फेरि कल्पियो ।
“ल हेर, फेरि सोचेको ? यो लोग्नेको जात नै काम छैन । मानिसले त चिलले जस्तो बाँच्नुपर्छ ।”
“के रे ?”, जिज्ञासा राख्यो, उसले ।
“चिलले प्रकृतिमा सत्तरी वर्षको आयु प्राप्त गर्छ । चालिस कटेपछि उसको चुच्चो र जिउको प्वाँख जिउमै टाँसिएर मृत्युको दसा भोग्छ तर चिल आत्तिँदैन । त्यस समय चिल चट्टानमा गई लामै समय चुच्चो तिखारेर बस्छ । त्यसपछि आफैँले परिश्रमका साथ बनाएको त्यही नयाँ चुच्चाले शरीरका पुराना प्वाँख उखेलेर फाल्छ र नयाँ जीवन लिन्छ । थाहा छ, त्यसपछि पनि चिल अर्को तिस वर्ष बाँच्छ ।”
उसले उनलाई एकोहोरो हेर्यो । त्यही हेराइमा आफ्नो हेराइ जोडी उनले भनिन्, “चिलको चुच्चो तपाईँको शरीर हो । प्वाँख तपाईँलाई छाडेर जाने आफन्त हुन् ।”
उसले मुसुक्क हाँसेर भन्यो, “यसै कुरामा त तिमी नारीहरू निपुण छ्यौ । नारी परिस्थितिअनुसार चल्न सक्छन् भनेको ठिक रहेछ ।”
###
(समय नै बलवान् छ । यही समयले हसाउने र रुवाउने गर्छ । अनि यही समयले चिन्ताबाट चितासम्म पनि सजिलै लैजान सक्छ । समयलाई चिन्न सके एक्लो हुनु वा कोही साथमा रहनुको खासै अन्तर रहँदैन । लघुकथाकार शेखरकुमार श्रेष्ठले लघुकथा “प्रेरणा”बाट यस्तै प्रेरणा दिएका छन् ।
शेखरकुमार श्रेष्ठ प्राज्ञिक लघुकथाकार हुन् । उनी लघुकथाको समीक्षक र समालोचक दुवै हुन् । लघुकथा थोरै लेख्ने तर प्रस्तुत लघुकथालाई कुनै सिद्धान्त र वादमा रूपान्तरण गर्ने खुबी लघुकथाकार शेखर राख्छन् । प्रस्तुत लघुकथा “प्रेरणा” प्रेरणादायी लघुकथा हो । वर्तमान समय र अवस्थालाई नीतिकथाको हल्का जलप दिएर अधबैँसेहरूलाई जीवन जिउन नयाँ उत्प्रेरणा दिएका छन् । कथामा चिलको प्रशंगले बढो सान्दर्भिक बनेको छ ।)
५. मलाई मन परेको लघुकथा – प्रेसर
नारायण तिवारी
साझा बसमा चढेको छु । अगाडि देखिरहेको छु– जाम छ । सिटमा छु बसेको । भुसुक्कै निदाउँछु । लामो जामले पनि होला आएकी निद्रादेवी ।
अचानक आँखा खुल्दा लाग्छ कौशलटार जहाँ मेरो डेरा छ, कटिसक्यो कि जस्तो !

नारायण तिवारी
बसेको ठाउँबाट तर्सिँदै, हतारिँदै उठ्छु । र, एक झट्कामा पुग्छु उत्रिने अगाडि राखिएको ढोकामा । जहाँ, पैसा उठाउन तम्तयार बसेका छन् कन्डक्टर !
उनलाई सोध्छु– “कौशलटार आइसक्यो भाइ ?”
उनी मलाई अचम्मसित नियाल्छन् र बोल्छन्– “कटिसक्यो ! कहाँ उत्रिनु पर्ने होला ?”
उनी उमेरको लिहाज गर्छन् र फेरि भन्छन्– “हजुर, अब त अलिकति हिँड्नुपर्यो । कौशलटार छुट्यो ।”
म सोच्दछु, पछि छुट्यो कि ? र, बोल्छु–“गट्ठाघर आएको हो ?”
उनी बोल्छन्– “होइन, जडिबुटी कट्यो । भन्नुस् न हजुर कहाँ उत्रिने ?”
म चकमन्न हुन्छु । घुम्छु, आफ्नै दिमाग सितै । गम खान्छु– के भो मलाई ?
फेरि, जवाफ खोज्छु– “होइन, यो गाडी कहाँ गइरहेको छ ?”
कन्डक्टर फेरि बोल्छन्– “कलङ्की हो हजुर ! हजुर कहाँ जाने ?”
उनी मेरो उमेरको लिहाजले ‘हजुर’ भन्दैछन् । म भ्रमित झैँ “एकछिन्” भन्छु र फर्किन्छु आफ्नो सिटमा बस्न । तर, त्यहाँ अर्को कोही बसिसकेको छ । म घुमिइरहन्छु, उभिइरहन्छु । मलाई कोही सिट छोड्दैनन् ।
बल्ल अलिक नियन्त्रित हुन्छु– चेत फिरेजस्तो । भ्रमबाट छ्याङ्ग भएजस्तो । म कौशलटार आफू बसेको डेरातर्फ होइन, बानेश्वरतर्फ जाँदै रहेछु । एक झमटको निद्राले सब गोलमाल ! लागेछ– साझा बसमा म जाँदै, बानेश्वरतिरबाट कौशलटार डेरा !
बानेश्वर पुगेपछि उत्रिन्छु र कन्डक्टर भाइलाई भन्छु– “अघि म अलमलिएँ भाइ ! म उत्रिने ठाउँ यो हो ।”
उनी सुस्तरी, विनम्र भएर, स्नेही बनेर म उत्रिँदै गर्दा सोध्छन्– “हजुरलाई प्रेसर छ ?”
म जवाफमा बोल्छु– “हो, प्रेसर छ !”
उनी फेरि स्नेही बोल्छन्– “राम्ररी, विस्तारै जानुहोला !”
म टाउको हल्लाउँछु । र, सोच्दछु– ‘हो, मलाई प्रेसर त छ । तर, ब्लड प्रेसर होइन, घरव्यवहारको प्रेसर….!’
###
(नारायण तिवारी अग्रज लघुकथाकार हुन् । तिसको दशकदेखि अब्बल लघुकथाहरू निरन्तर लेखिरहने कम लघुकथाकारहरूको श्रेणीमा तिवारी अग्रपङ्क्तिमा रहेका छन् । उनीलाई नेपाली लघुकथाहरूलाई सामाजिक सञ्जालमा हुल्ने कार्यको श्रेय दिइएको छ । नारायण तिवारी “लघुकथा कुनो” को मुख्ख एडमिन् सदस्य हुन् ।
नारायण तिवारी चोटिलो लघुकथा लेख्ने सिद्धहस्त हस्ताक्षर हुन् । प्रस्तुत लघुकथा “प्रेसर” लघुकथाले यही कुरोलाई थप प्रमाणित गरेको छ । कथामा विषय उठान, तीव्र वेग, कौतुहलता र झड्का प्रष्टसँग देखिएको छ । वास्तवमा कथाकार नारायण तिवारी लघुकथाको एक विश्वविद्यालय नै हुन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

