अर्थालङ्कार यस्तो काव्यिक शैली हो जसले गजलरचनामा नूतन भङ्गिमा पैदा गर्दछ अनि शेरमा अद्भुत आकर्षण भर्दछ । आउनुहोस्, आज त्यस्ता केही अलङ्कारको चर्चा गरौँ :

उत्प्रेक्षा

जहाँ उपमेय अथवा वर्णनीय वस्तुमा उपमान वा कल्पित वस्तुको कलात्मक सम्भावना देखाइन्छ त्यहीँ उत्प्रेक्षा अलङ्कारको सौन्दर्य देखा पर्दछ । प्रेयसीका मुहारमा जूनको कलात्मक सम्भावना देखाउनु उत्प्रेक्षा हो । उत्प्रेक्षा वर्णनशैलीको अत्यन्त आकर्षक प्रविधि हो । यहाँ शायरले भावकलाई नीरस वस्तुजगत्बाट अनायास सरस कल्पनाजगत्मा लिएर जान्छ र जीवनमा अनन्त स्वप्निल सुखद सम्भावनाहरु देखाएर आनन्दित, उत्साहित एवम् तरंगित तुल्याउँछ । यो कलात्मक शक्ति व्यक्त हुन्छ उत्प्रेक्षाबाट, यसरी :

शहरमा आज धूमधामै थिएन
हजुरलाई कि आरामै थिएन ।

हजुरलाई आराम नभएकाले पो शहरमा धूमधाम वा उमंगमय वातावरण नभएको पो हो कि? भन्ने रमाइलो सम्भावनाले यहाँ उत्प्रेक्षा अलङ्कारको आवाहन गरेको छ अनि उत्प्रेक्षाले शेरमा ज्यान भरेको छ ।

दिल पनि ऐना जस्तै फुटी झरेछ कि
आफ्नै मनको आँगनीमा टेक्न सकिएन ।

आफ्नै मनको आँगनीमा पनि टेक्न नसकिनुको सम्भावित कारण दिल पनि ऐनाजस्तै फुटेर झरेको हुन सक्ने बताइएकाले यहाँ उत्प्रेक्षा बनेको छ, फलतः कथ्यको प्रभावकारित औधी बढेको छ, तासीरको अद्भुत सामथ्र्य पैदा भएको छ ।

अब एउटा सिंगो गजलको आनन्द लिनुहोस् :

वेदना छातीमै थुनेजस्तो
मनमनै क्यै कुरा हुनेजस्तो
..
कत्ति चूपचाप हेर्दछौ मानौं
मौनभित्रै कुरा हुनेजस्तो
..
क्या सफा छन् निरीह ती आँखा
आँशुले नै सधैँ धुनेजस्तो
..
रूप उस्को बयान के गर्ने ?
सम्झँदैमा पनि छुनेजस्तो
..
यार, मुन्टो झुकाइ के सोच्छौ ?
प्रश्न गर्दा पनि रुनेजस्तो ।

डा. सनतकुमार वस्ती

यहाँ मानौं र जस्तो पदहरु उत्प्रेक्षाका सूचक बनेर आएका छन् । वेदना छातीभित्र थुनेकाले मनमनै केही कुरा गुनेजस्तो लागेको अनि मौनभित्रै कुरा हुने भएकाले पो एकदमै चूपचाप हेरिरहेको हो कि? आँशूले नै सधैँ धुने भएकाले पो शायद आँखा सारै सफा भएका हुन् कि? सम्झँदैमा पनि छोइहाल्ने जस्तो उत्तेजक भएकाले पो उसको रूप बयान गर्न नसकिएको हो कि? यार मुन्टो झुकाएर यसरी घोत्लिएको छ मानौं केही प्रश्न गर्दा पनि रोइ पो हाल्छ कि? यस्ता सारै कलात्मक सम्भावनाहरुको सुन्दर बिम्ब छातीभरि सजाएर बसेका छन् यहाँ उत्प्रेक्षाहरु अनि त्यस्ता मनोरम कल्पनाको जादू जगाएर जीवन्त बनेका छन् गजलका यी शेरहरु ।

स्मरण

उस्तै–उस्तै खालको वस्तु देखेर पहिले देखे–भोगेको अर्को वस्तु वा अवस्थाको स्मरण भएको कलात्मक वर्णन गरिएमा स्मरण अलङ्कारको सौन्दर्य झल्किन्छ । अब, यो गजल पढेर स्मरण अलङ्कारको आनन्द लिनुहोस् :

बिर्सिएको कहानी याद आयो
मस्तीको जिन्दगानी याद आयो
..
फक्रिएको वसन्त देखेर
फेरि उसको जवानी याद आयो
..
छातीको घाउ फेरि चस्केर
प्रेयसीको निशानी याद आयो
..
आज उसलाई फेरि भेटेर
झुल्किएको बिहानी याद आयो
..
जिन्दगीदेखि आज थाकेर
काख उसको सिरानी याद आयो ।

यहाँ अनेक स्वादिला कुराहरुको स्मरण गरिएको छ । उस्तै उस्तै वस्तु र परिस्थितिको भोगाइमा एवम् कलात्मक याद गराइमा समग्र गजल नै स्मरण अलङ्कारले कसरी सजाइएको छ भने हामीलाई पुष्पसम्पदाले ढकमक्क फुलेको र फक्रक्क फक्रिएको मगमग बगैँचाको स्मरण हुन्छ । स्मरण अलङ्कारले गजललाई साँच्चिकै स्मरणीय बनाएको छ ।

दृष्टान्त
समान धर्म भएका वस्तुहरुका बीच उपमान–उपमेय–भावलाई प्रतिबिम्बन गर्नु दृष्टान्त हो । उस्तै उस्तै गुणधर्म, बानी बेहोरा, तौरतरीका वा स्वभाव भएका दुई अलग अलग वस्तुहरुको वर्णन गर्दै ती दुवैका बीच जहाँ तुलनीयता प्रतिबिम्बित गरिएको हुन्छ त्यहाँ हामी दृष्टान्त अलङ्कारको काव्यसौन्दर्य पाउँछौँ । गजलमा यत्र– तत्र यो काव्यशैली पाइन्छ र यसले कथनपद्धतिमा र कथ्यमा समेत अद्भुत तासीर पैदा गर्दछ । यो शेर पढिहेर्नुहोस् त :

सधैं ठीक्कको घाम–पानी हुँदैन
चिताए सरी जिन्दगानी हुँदैन ।

यहाँ जिन्दगीका प्रत्येक पलमा घामपानीको सन्तुलन नहुनु र चिताएसरि जिन्दगानी नहुनुका बीच तुलनीयता प्रतिविम्बित भएको हामी पाउँछौँ । अब यो :

कहिलेकाहीँ यसो बात मार्दै गरौँ न है हजुर !
अमृतको बूँद यता झार्दै गर्रौ न है हजुर !!

यहाँ कहिलेकाहीं बात मार्दै गर्नु र अमृतको बूँद झार्दै गर्नुका बीच अत्यन्त हृद्य उपमान उपमेयभाव प्रतिविम्बित भएको हामी पाउँछौं ।

अर्को एउटा शेर :

वसन्तैमा हुरी चल्दा झरेको पातमा हुन्थेँ
जवानीमै मुटू जल्दा सधैं बरसातमा हुन्थेँ ।

यहाँ वसन्त ऋतुमा नै हुरी चल्नु र जवानी अवस्थामै मुटु जल्नुका बीच प्रतिबिम्बन छ भने झरेको पातमा हुनु र सधैँ बरसातमा हुनुका बीच पनि तल झर्नु, गिर्नु, समाप्त हुनु प्रतिबिम्बित भएको छ, यसले शेरमा मर्मस्पर्शी रूपमा दृष्टान्तको सौन्दर्य र महक भरेको छ । यो अर्को शेर हेरौँ :

बसूँ भन्दा कतै आवास छैन
उडूँ भन्छू, खुला आकाश छैन ।

यहाँ बस्न खोज्दा आवास नहुनु र उड्न खोज्दा आकाश खुला नहुनुको तुलनीयता प्रतिविम्बित छ र शेर स्वादिलो, रोचक बनेको छ । यस्तै हुन्छ आकर्षण दृष्टान्त अलंकारको ।

अतिशयोक्ति

आउनुहोस्,अन्त्यमा अतिशयोक्ति अलङ्कारको आनन्द लिऔँ ।

उपमेयलाई उपमानले आफैँभित्र समाहित गर्दा अतिशयोक्ति अलङ्कार बन्दछ । अतिशयले पूर्ण उक्ति नै अतिशयोक्ति हो तापनि लोक–व्यवहारमा चाहिँ हामी यो शब्द प्रायः भिन्नै अर्थमा प्रयोग गर्दछौँ ।

चाहिनेभन्दा बढी, अनावश्यक ढंगले अपत्यारिलो कुरा गर्दा धेरै अतिशयोक्ति न गरौँ न भन्ने चलन छ, तर काव्यका सन्दर्भमा चाहिं यो अत्यन्त कलात्मक कथनका रूपमा देखा पर्दछ र जहाँ अतिशयोक्ति अलङ्कारको सौन्दर्य प्रकट हुन्छ त्यहाँ पाठक चमत्कृत बन्दछ । हुन त काव्यमा पनि यो अतिशय उक्ति अर्थात् बढाइचढाइ गरेको कुरा नै हो तर यहाँ यो कलात्मक रूपमा आउने हुँदा अतिशयोक्ति अत्यन्त आकर्षक अलङ्कारका स्वरूपमा देखा पर्दछ । केही उदाह।रणहरु पेश गरुँ :

दुर्दिनमा जब तिमी मुस्कायौ
घाम उदायो घर आँगनमा ।

यहाँ उदासीको क्षणमा पनि आफ्नो मायालुको मधुर मुस्कानले मनमा उज्यालो छाउनु वर्णनीय विषय हो, उपमेय हो । तर यस यथार्थलाई यसरी नै भन्दा शेरमा काव्यात्मक स्वभाव देखा पर्दैन, कुरा गरेजस्तो मात्र हुन्छ । त्यसैले अत्यन्त कलात्मक आवरणमा सजाएर भनिएको छ : दुर्दिनमा पनि तिमी मुस्काएपछि घर–आँगनमा घाम उदायो । यहाँ दुर्दिनले मन उदास भएको क्षणलाई, घामले प्रसन्नतालाई, उदाउनुले अकस्मात् प्रकट हुनु र फैलनुलाई आफैँभित्र समाहित गरेको छ र एउटा स्वादिलो विम्ब बनेको छ, अतिशयोक्ति अलङ्कारको छटा छाएको छ ।

मन पराएर आफैं टिपेको थिएँ
फूल छोड्नै पर्यो धेर काँढा हुँदा ।

यहाँ फूलभित्र मायालु, टिप्नुभित्र आफ्नो बनाउनु, काँढाभित्र व्यथा र व्यवधान र छाड्नुभित्र मनबाट हटाउनु वा मोहमाया त्याग्नुजस्ता अर्थहरु समाहित भएका छन्, लुकेका छन् । यसरी सतहमा देखिने अर्थको आवरणभित्र अर्कै गहिरो अर्थ लुकाएर राखेको छ अतिशयोक्तिले ।

सुक्यो बाग, माटो मलिलो रहेन
झर्यो फूल, माली गतिलो रहेन ।

यहाँ बागले राष्ट्र, माटो मलिलो नरहनुले सिर्जनशीलताको अभाव, फूल झर्नुले राष्ट्रवासीहरुको खुशी हराउनु र दुर्गति हुनु अनि माली गतिलो नरहनुले सत्तासीनहरु नालायक हुनुलाई उपमानको झीनो पर्दाभित्र लुकाएर प्रस्तुत गरिएको हुँदा अतिशयोक्तिको शक्ति देखा परेको छ ।

वसन्तको मौसममा कस्तो हुरी चल्यो
बगैँचामा यौटै फूल देख्न सकिएन ।

यहाँ वसन्तको मौसमले यौवनकाल, हुरी चल्नुले आपद्विपद् आइलाग्नु एवम् बगैँचाले चार जात छत्तीसवर्णको साझा फूलवारी सिंगो देश र त्यहाँ एउटै फूल देख्न नसकिनुले युवायुवतीहरुको विदेश पलायनलाई आफूभित्र लुकाएको छ । मुलुकमा कहालीलाग्दो त्रासदीका रूपमा छाएको चेलीबेटी बेचबिखनको समस्यातिर पनि शेरको संकेत रहेको हामी पाउँछौँ ।

अँध्यारोमै कटाएँ रात सारा
उषाको खै अझै आभास छैन ।

यहाँ शिक्षा र स्रोतसाधनको अभावले ग्रस्त धेरै लामो राणाकालीन कालखण्ड बिताएर अब त प्रजातन्त्रको उज्याले बिहानी आउला र दुःखका अँध्यारा रातहरु बित्लान्, सुखको उषाकाल आउला भन्ने आशा विफल भएको यथार्थ अतिशयोक्तिद्वारा व्यक्त भएको छ ।

मुटूको बीचसम्मै नाम उसको
नलेखेको कुनै ठामै थिएन ।

मुटु कुनै कागजको पाना त होइन, त्यसैले यसको बीचसम्म लेख्न नसकिने भए पनि यहाँ लेखेको बयान गरिएकाले यहाँ वाच्यार्थ असम्भव छ तर अर्थको गहन तलमा पुगेपछि भावनामय हृदयमा सर्वत्र प्रेमास्पदको विम्ब सजाएको अनुभूतिसत्यलाई अतिशयोक्तिले प्रतिविम्बित गरेको छ ।

हजुरको शहरमा प्यासै रहेँ म
त्यहाँ बरसातको यामै थिएन ।

आफ्नो प्रेमालुको सान्निध्यमा रहेर पनि प्रेमप्राप्तिबाट वञ्चित हुनु परेपछि भोगेको पीडामय अनुभूतिलाई हजुरको शहरमा बरसातको यामै नभएको अनि त्यसैले आफू प्यासै रहनुपरेको बयानद्वारा कलात्मकताका साथ विम्बित गरिएको छ यहाँ अतिशयोक्तिद्वारा । शहरमा बरसातको याम नहुनुले मनोजगत्मा रसिलोपन स्फुरित नहुनु र माया नरसाउनु जनाएर हजुरको रुखो व्यवहारप्रति काव्यिक शैलीमा गुनासो पोखिएको पनि हामी बुझ्दछौँ ।

यी सबै काव्यसौन्दर्यले परिपूर्ण उक्तिवैचित्र्य र तिनको मनोरम वर्णनविधि अतिशयोक्ति अलङ्कारबाटै प्रस्फुटित भएको हामी पाउँछौँ ।

माथि उद्धृत सबै शेरहरु कुनै न कुनै छन्द वा बह्रमा आबद्ध छन् ।

अब, प्रश्न उठ्नु अत्यन्त स्वाभाविक हुन्छ : के हो बह्र ?

यो कस्तो हुन्छ र कसरी प्रयुक्त हुन्छ ?

आउनुहोस्, गजलानुरागी रसिकजन !

यस प्रश्नमाथि विचार गरौँ आउँदो आइतवारको अङ्कमा ।