बनिबनाउ बञ्चरो नपाइएला । तर, तिखो ढुङ्गो त पाइन्छ नि ! तिखै ढुङ्गो पनि आकाशबाटै खसेको भने त नहोला नि । ठोक्किँदा, चोइटिँदा तिखो भएको होला ।
होइन, माथिबाटै झरेको, र ‘मैले नै देखेको’ भन्ने पनि भेटिन्छन् । तर्कको बजार चाम्रो हुन्छ । आफैँले देखेको प्रमाणित गर्न सकेनन् भने, हजुरबाले देखेको भन्छन् । भूत देखेको कथा जस्तो । जसले पनि बाबाले, आमाले, हजुरबाले…देखेको ‘अरे’ नै भनेर जित्न खोज्छन् नि भूत । के भन्नु र खोइ?
बञ्चरो हुन फलाम त हुनुपर्छ कि? कि लाहाको पनि हुन्छ?
लिही घोटेर पनि बञ्चरो बन्छ, थाहा छ । तर लिही फलामको त हुनुपर्ला नि? कि फलेदो घोट्दा पनि बञ्चरो हुन्छ?
बञ्चरो त बन्नु छ, बनाउनु छ । काट्नु छ — कि दिल, कि दिमाग । कान मात्रै काटेर त खै, के गरिएला र, ‘जिन्नगी’ मा? अथवा, पाकेको केरा, त्यो पनि बोक्रा ताछेको मात्रै काटेर त…
कहाँबाट उठ्यो रङ्ग न ढङ्गको कुरो ?
अस्ति एउटा गोष्ठीमा सुनेँ, दुई दलिल—
१.अकविलाई समातेर जबर्जस्ती कवि बनाउँछन् ।
२.कलिला कविलाई आलोचनै गरेर थिच्छन् ।
भीष्म साहनीको एउटा उपन्यास छ— ‘तमस’ । त्यहाँ एउटा कमलो मुटुको बालक छ । त्यसलाई ‘दङ्गाई’ बनाउनु छ । तालिम कस्तो? परेवा काट्, परेवा काट्…भनेजस्तो । स्वभावतः रगत देख्दै मुटु कमाउने केटो बिचरो, परेवा त के, किरै मार्न पनि नचाहने । उसलाई थर्काएर ‘दङ्गाइ’ बनाइयो ।
काट्न त काट्ला । तर नि, कान काट्ला कालान्तरमा ।
जुन कुराका लागि दिल छैन, त्यो कहिलेसम्म गर्ला नि कसैले, नारान?
उहिले, जनयुद्ध ताका, घरघरबाट मान्छे समातेर लाँदा रान् । र काम्रेड बनाउँदा रान् । ती सप्पै टिके कि टिकेनन् होला क्रान्तिमा?
पहिले पनि भनेको थिएँ— नाटकमा, टाँसेको जुँघा, संवेदनशील समयमा झर्छ ।
जुन कुरामा दिल छ, त्यसलाई थिचेर कसले, र कहिलेसम्म सक्ला नि कसैले, नारान? नवराज लम्सालले त्यसै लेखेका होइनन् सायदः ‘आगो छोपेर कतिञ्जेल?’
‘फुरेर’ लेख्छौँ रे । थिचेर किचियो रे । हैट, विरोधाभास ।
‘काव्य हेतु’ को कुरा नजोडे पनि होला । कि अलि अलि जोडौँ?
भने नि राजशेखरले र अन्य आचार्यहरूले— प्रतिभाले कोही काव्य लेख्छ । भित्रैबाट आफैँ फुर्ने ।
कोही व्युत्पत्तिले । पढेर, बुझेर, सूत्र थाहा पाएर ।
कोही अभ्यासले । घोटेर ।
र यी सबै सत्य । सबै प्रकारका लेखक हुन्छन् । यो अनुभवले स्थापित गरेको कुरा हो ।
प्रतिभा त छन् नै । सङ्गतले कवि भएका पनि छन् । पचास टेकेपछि लेखनमा जो आए नि, धेरैजसो सङ्गतले तानिए । कोही अभ्यासले ।
सानैदेखिका तिखा, सायद प्रतिभा हुन् ।
गुरुको कक्षाकोठोजस्तो हुने ठूलो डर भयो है यो गन्थन ।
पखौँ है, कथा आउँछ अलि तल ।
राजशेखरकै कुरा पत्याउँदै जाने हो भने— प्रतिभा जन्मजात पनि हुन्छ । लिही घोटेर आएको पनि हुन सक्छ । अथवा कसैको वा शास्त्रको उपदेशबाट ‘प्रेरित’ भएर आएको पनि हुन सक्छ ।
अन्तरवार्तामा सोध्छन् नि— कसको प्रेरणाले साहित्यमा लाग्नुभयो?
प्रतिभा मात्रै हो भने, कसको प्रेरणा चाहियो? पल्लो डाँडामा फुटेको मूल देखेर वल्लो डाँडामा मूल फुटेको भन्न मिल्छ?
अँ, लोककथामा चैँ अचम्म हुने रहेछ । टिस्टा र रङ्गितको मूल वल्लो–पल्लो डाँडोमा रहेका ताल । पिरेम बसेछ । भेट्नु कसरी? कि माया त टाढाकै राम्रो भनेर गीतमात्रै गाउनु? अनि एउटा सर्पमा चढेछ, र अर्को चरामाथि । अनि सररर हिँडेछन् । पेशोकमा भेटेछन् । सुन्दर दोभान । पिरेम पनि कस्तो कस्तो । नपत्याए, यो कथाको नालीबेली पुष्प शर्मा गुरुआमालाई सोध्नु, गान्तोकमा ।
व्युत्पत्तिको उत्पत्ति चैँ के त उसो भा? उचित–अनुचितको विवेकसहितको सिर्जना कर्म भनौँ न, सजिलोका लागि । यस्तोमा चैँ, कुरा मात्रै भन्दा पनि विधि पनि टिप्ने, र त्यसै गरी लेख्ने, अरे । अनुभव । शास्त्रको ज्ञान । व्याकरण । भाषा । इतिहास । मिथक… भो, अब भन्दिनँ । सबै जोडिएको खिचडी । होइन । खिचडीको माम्री भनौँ न । अब, खिचडीको माम्री हुन्छ? हुन्छ नि, मज्जाले भर्सियो भने । नभर्सिंदै पत्रिकामा आउँछ र पो? अथवा किताबै पो छापिन्छ ।
बुझ्नेले कुरा बुझिसके । नबुझ्नेका बारेमा त पण्डित जगन्नाथ गुरागइँले भनेकै छन् नि । हामीले भन्नै पर्दैन ।
अनि, अभ्यास नि?
केही ‘गुरुकुलम’ छन् नेपालमा । प्रायः सबै विद्यार्थीलाई छन्दकवि बनाएर निकाल्छन् । तिनले छन्दको पछिल्लो विरासत थामेका छन् । वा थाम्ने सम्भावना छ । तिनको प्रतिभा निरन्तरको अभ्यासले बनेको हो ।
शास्त्रसम्मत र अनुभवद्वारा स्थापित कुराहरूलाई धारे हात लाउनु हुँदैन । अँ, हातै सकसक सकसक गरिरहन्छ भने नसाको होइन दिमागको डाक्टरकहाँ जानुपर्छ । ‘पूर्वाग्रह विकार’ हो त्यो ।
यसै हो, अथवा यसो होइन किन भन्नु – लेखकको निर्मितिको कुरामा? एउटै तरिकाले लेखक आउने हुन् र?
गैर–वैज्ञानिक कुरा जो हुन्छन् नि, ती, सबै ‘मत’ हुन् । तिनका पक्ष हुन्छन्, विपक्ष हुन्छन् । तिनको सत्यता सापेक्षित अथवा आत्मगत हुन्छ ।
निबन्ध पो भयो, गुरुले ‘भनुजयन्ती’ का लागि लेखिदिएर रटाएको जस्तो । ‘प्रतिभा प्रस्फुटन’ शीर्षकको । रटेर, भन्न जाँदा बिर्सेर नि । हैट !
निर्णायक थिएँ । एकजना प्रतियोगीलाई बोलाएर सोधेँ भ्यालीभ्यु स्कुलमा, ‘भाइ, यी शब्दको अर्थ भन त । र नि, तिमीले भनेको छन्दको गण संरचना बताऊ त ।’
उनले छेवैमा बसेका बाउतिर हेरे ।
मैले फाइलमा नम्बर चढाएँ ।
यस्तै यस्तै ।
अचेल धेरै सुनिन्छः कविता प्रशिक्षण । कथा प्रशिक्षण । छन्द शिविर । गजल लेखन कार्यशाला ।
पोस्टरमा कडक कडक नाम आउँछन् । जौँ जौँ जस्तो लाग्छ । पोस्टरै हेर्दा पनि ।
एकजना बयोवृद्ध कवि सधैँ कार्यक्रममा भन्नुहुन्छः ‘सिर्जनामा प्रशिक्षण हुँदैन ।’
र यो पनि हो जस्तो लाग्छ । ऊ पनि होजस्तो । पीपलपात । हैट, गाँठी कुरा के हो?
खासमा, प्रतिभा पानीको मूलजसरी आएको पनि हुन सक्छ । यस्ता थुप्रै प्रतिभा देखिएका छन् । गाउँछन् । चित्र बनाउँछन् ।
नाच्छन् । क्यारिकेचर गर्छन् । अर्काको बोली निकाल्छन् । चराको बोली निकाल्ने पनि देखियो ।
र यही सूचीमा, ‘लेख्छन्’ चैँ भनिहाल्न अलि अलि हात काँपेकै हुन् । थर्थरे लागेकै हो त?
गायनमा ‘कसरी गायो’ प्रमुख कुरा हो । के गायो भनेर बहस गर्ने हो भने ‘रेसम फिरिरी, रेसम फिरिर, उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ रेसम फिरिरी’ भनेको के हो? कुन सिद्धान्त, विचार वा वाद हो? खै । कान्छी मट्याङट्याङ भनेको नि? कुन आचार्यले अर्थ बुझाइदेलान्?
नाच्नेले ‘कसरी नाच्यो’ भन्ने कुरा मूल हो । कस्तो गीत वा सङ्गीतमा नाच्यो — यो गौण कुरा हो । प्रसिद्ध नर्तकको नाम चल्यो । कुन गीतमा नाचे भन्ने चल्यो? चलेन ।
चित्र बनाउनेले के बनायो? मानौँ बाँस बनायो । उसले बनाएको बाँस खास कुरो होइन । त्यो बाँस उसले दुरुस्तै बनायो कि, बङ्ग्यायो कि, त्यसमा थपघट ग¥यो कि — कुरो त्यो हो । तर पनि, चित्रकलाको हकमा के मान्नुपर्छ भने, यसमा विचारपक्ष पनि उत्तिकै बलियो हुन्छ । यो प्रतिभा र चेतनाको दोभान हो । नभनेर, कराएरै, नचिच्याएरै सबै भन्दा । सिर्जनामा सबैभनदा शालीन, मेरा लागि, चित्रकला हो । आउँदैन र पो ! माछो बनायो भने आफैँले ‘यो माछो हो’ नभन्दासम्म कसैले माछो रहेछ भनेर चिन्दैनन् ।
तर लेखनमा — ‘कसरी लेख्यो’? यो दुई नम्बरको कुरा, कमसेकम अचेल । ‘स्टाइल मेटर्स’ तर, स्टाइल कुराको सहज सम्प्रेषणका लागि हो । स्टाइलका लागि कुरा खोजेको होइन । कमसेकम अचेल ।
उत्तिखेरै लेख्यो, खरर लेख्यो भन्छन् कोही । बाल्मिकी नै पो भयो त ! ‘मा निषद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः’ ।
सभा बस्दा बस्दै, सिग्रेटकै खोलमा लेख्यो, र सुनायो ।
कुनले हो न्याप्किनमा लेखेको रे ।
खासै अर्थ छैन यी नालीबेलीको ।
बाँसमा कम्पासको आरोले खोपेर कविता त मैले पनि लेखकै हुँ । हाहा, उहिले । कठै, त्यस बाँसघारीमा पहिरो गयो । अहिले छैनन् बाँस । सबै बगायो । बगायो कविता र गीत । मेरो वाल्यकालको किताब बगायो ।
ठिकै पनि भयो । बरू पहिरोले पो कुरा बुझेछ कि क्या हो? सम्झेर ल्याउँदा, नारान, पढिसक्ना पनि थिएनन् ती । उही, इतिहास र अभिलेख चैँ…हुने भए ।
कसैले आफैँ इतिहास वा अभिलेख ‘मात्रै’ बन्न केही नलेखोस् ।
हामीले भन्यौँ नि— शम्भुप्रसाद ढुङ्गेल आँशु कवि ।
उता देवकोटाले खरर — कुन्नि कति दिनमा काव्य । महाकाव्य ।
अनि कि, यी प्रतिभा ।
सम्मान छ । कसरी वा कति दिनमा लेखे — अर्थ छ । लोकसेवा आयोगमा काम लाग्ला । सिर्जनाकै परखका प्रश्नमा नि, खासै काम छैन ।
तर नि, अचेल ठूलो अर्थ छैन लेखनमा ‘कसरी’ भन्नुको ।
माया एन्जेलोको धेरै पढ्यौँ नि हामीले साहित्य । तर उनी घरमा कहिल्यै लेख्दिनथिन् । लेख्न परे होटलका कोठा भाडामा लिएर, महिनौँ उतै बसेर लेख्थिन् । यो कुरा महत्त्वपूर्ण भएर आयो त?
चाल्र्स डिकेन्स, घरमा छँदा कापी, किताब र कलम एउटा निश्चित बान्की मिलाएर राख्थे रे । खाट र टेबलको दिशा उस्तै । अनि, बाहिर कतै जाँदा, वा होटलमा बस्दा पनि, लेख्नु प¥यो भने, उसै गरी मिलाउनुपर्ने । मिलाइदिनुपर्ने । नत्र फिट्टो नफुर्ने केही पनि । होइन कसरी लेखे हौ त्यत्तिका बिघ्न किताब । यहाँ आफ्नो चैँ ‘अर्को हप्ता फुर्सद होला र कोठो मिलाउँला’ भनेकै बाह्र वर्ष भयो । खोलो फर्केला, कोठो मिल्दैन । अस्ति, कसो कसो अलिअलि मिलाउँदा, मकहाँ आइरहने एउटा विद्यार्थीले भन्यो— सरको जस्तै लागेको यो कोठो । हैट ।
मिलाउँदा पनि कटाक्ष । नमिलाउँदा पनि — यो भन्दिनँ ।
माइकल प्रौस्टको कुरा त झण्डै बिर्सेछु । सुत्ने । सुतिरहने । अनि दिउँसो ३–४ बजेतिर उठ्ने, अनि लेख्ने । ए नारान् ।
अतियथार्थवाद कि के भन्नुहुन्छ गुरुहरू कीर्तिपुरतिर । त्यस्तै चित्र बनाउने एकजना — सल्भाडोर डाली । ए नारान् ।
बनाउनुपर्ने चित्र । त्यो पनि कस्तो? बिउँझेको बेलाको संसारको पनि होइन । निन्द्राको बेलाको पनि होइन । बीचको रे । हैट ।
के गर्दारान् त?
हातमा एउटा चाबी समाउने । ठ्याक्कै ल एउटा टिनको ठ्याक्रो राख्ने । अनि निदाउन लाग्दा, हातबाट ठ्याक्क चाबी खस्छ नि, ठ्याक्रोमा ।
ठ्वाङ्ङ ।
हो, झस्किने ।
निदाइसकेर झस्केको पनि होइन । निदाउन निदाउन लाग्दाको मात्र । अनि, पूरै जागेको पनि होइन नि त, मैले यो लेख
लेखेको बेला, कहाँ कहाँ विरोध आउला भनेर चनाखो भएको, र पनि चिप्लेको जस्तो ।
हो, त्यो बेला, दिमागमा जे छ, अथवा आँखाका अगाडि जस्तो देखिन्छ संसार, त्यो बनाउने अरे । ए नारान् ।
तर नि, चर्चा माया एन्जेलोको कथ्य वा शिल्पको भयो । डिकेन्सको पनि, प्रौस्टको पनि । डालीको पनि ।
‘कसरी लेख्थे’ भन्ने यी कुरा, उनीहरूकै पाठक वा भावकलाई पनि थाहा छैन । थाहा नहुँदा के भयो त? कुरो नै गौण हो ।
छिद्र खोदल्नेलाई मतलब । अरूलाई बाल मतलब ।
लेखनमा, विशेष गरी कथ्यको कुरा मूल भयो । शिल्पको कुरा पछि ।
अनि नि, कुन कथ्य सान्दर्भिक हो आज, केवल ‘प्रतिभा’ ले थाहा पाउँछ?
कसरी? बुद्धले ध्यान गरेर तत्त्वज्ञान पत्ता लाए जसरी?
लु न त, रुखमुनि बसौँ न त शरीरमा धमिराले ढिम्की उठाउञ्जेल ।
समय फेरिन्छ नि । मान्यता फेरिन्छ ।
त्यसैले, ‘प्रतिभा’ को परिभाषा फेरिनुपर्छ ।
जमिन, वा समुद्रबाट निस्केको कच्चा तेल, सिधै जगले उघाएर मोटर साइकलमा हाल्न मिल्छ र?
छान्नु पर्ला नि, रिफाइनरीमा ।
प्रतिभा पनि उही हो । पानीको मूल फुटेजस्तो — माटो, ढुङ्गो, पानी, पात, पतिङ्गर सबै मिसिएको । छान्नु पर्ला नि?
अब विवादको विषयतिर बल्ल फर्किएँ ।
घोटेरै बञ्चरो बनाउन लागे भन्ने आरोप ।
माल, फलाम, वा फलामको लिही हो भने घोट्दा बञ्चरो बन्छ । आरन थाप्नुपर्छ । ठोक्नुपर्छ । घोट्नुपर्छ । त्यसमा घोट्नुको ‘स्वार्थ’ मात्रै हुन्छ भन्नु नि, फाक्ताङलुङ पर्वतजत्रै पूर्वाग्रह हो । समर्पण र प्रेम पनि उत्तिकै हुन्छ । हुनुपर्छ ।
यो साहित्यको क्षेत्रमा नि, पैसा लिएर प्रशिक्षण गर्छु भनेर हिँड्नेको चैँ म भन्न सक्दिनँ । तर, जो प्रेमले लागेका छन्, ती
गणकहरू घरघर हिँडेर ‘यहाँ कोही सम्भावित कवि छ हजुर?’ भनेर हिँडेका होइनन् ।
खास, केही सिक्न खोज्ने जिज्ञासु आफैँ आउने हुन्, खोज्दै ।
केही जिज्ञासा छ र त आए ।
केही प्रतिभा छ र त निखार खोज्न आए ।
केही रहर, आँट वा सपना छ र त आए ।
र अलि अलि कुरा बुझेकाहरूले सिकाउँदा प्रतिभा खारिन्छ । यो अकाट्य सत्य हो । ‘लेखनमा प्रशिक्षण हुँदैन’ भन्ने अग्रज गुरुको कुरा आंशिक सत्यमात्रै हो । विधिको, शिपको, शैलीको, भाषाको…प्रशिक्षण किन हुँदैन? हावा कुरा गर्नी? हेप्नी?
हामीले पनि केही लेख्यौँ ‘जिन्नगी’ मा । त्यसमा अग्रज र गुरुहरूको प्रत्यक्ष वा अप्रत्यक्ष प्रशिक्षणको प्रभाव कति छ, छातीमा हात राखेर सोचौँ न?
मलाई राम्रै अनुभव छ । केही सिक्छु भनेर सामाजिक सञ्जालमा अथवा भौतिक रूपमा जोडिनेमा दुई खाले भए ।
खाले एकः अहिलेसम्म टिकेका छन् ।
खाले दुईः कुलेलाम ठोके ।
खाले दुई भागेकोमा दुःखी पनि छु । केही चाहिँ मेरो ‘ठिसनेस’ ले आहत भएर भागे । केही उनकै ‘ठिसनेस’ ले । कसैलाई समयले बगायो ।
र खाले एक जो छ नि, त्यो रमाइलो छ ।
सुर्खेतका एकजना भाइले सुनाए— सर, भाषै बिग्ररे कति गाली खान्थेँ म? अचेल, दाइहरूले लेखेका समाचारको गल्ती म पो सच्याउँछु ।
त्रुटि गरेकै कारण उठबस गरेका एक जना भाइ लोकप्रिय पत्रकार छन् । कति किताब सम्पादन गरे ।
केही चैँ कस्ता छन् भने— यस्तै चकचकबाट सिकेर लोकप्रिय कवि भए । तर मेरो गोरु फुकेर उनको मकै खाएछ एक दिन । अनि, रिसाएका छन् । प्वाक्क कमेन्ट लेखिहाल्छन् फेसबुकमा, विरोधमा । त्रिविका भूतपूर्व विद्यार्थी । बाहिर पनि केही छन् । तर खुसी के मानेमा छु भने— बाटोमा पहिरो थियो वा थिएन भन्ने कुरा पछि बिर्सन्छ । उनले लक्ष्य भेटे वा भेटेनन्, कुरा त्यो हो । उनी लक्ष्यतिर उन्मुख छन् । यो आह्लादको कुरा हो । उनको विरोध जारी रहोस् न, के फरक पर्छ र?
कुरा यस्तो पो ।
एक जना भाइ छन् — सबिन सिटौला । तिनले धेरै, धेरै, धेरैका कुरा ध्यानले सुन्छन् । प्रेमले सुन्छन् ।
तिनले आफूलाई कहाँबाट उठाएर कहाँ पुर्याए, उनका दुई वर्षका फेसबुक स्टाटस हेरेर आकलन गरौँ न?
उनले लिएको यो उचाइ हामीले देख्यौँ नि । उनले सहेको कहर कसले देख्यो र?
आगो थिए । हामीले छोप्दा छोपिए? बले त हुरुरु । उनी एउटा बुलन्द दृष्टान्त हुन् ।
भन्नेले कसैको अनुहार हेरेर भनेको हुँदैन । केही देखेरै भनेको हुन्छ । झेल्नुपर्छ । अथवा भाग्दा पनि हुन्छ । तर नि, इख लिएर भाग्नु आँट हो । यस्तो आँट बोकेको मान्छे भुलभुले ताल हो — उता छोप्यो, उः पर पुनः उम्लिन्छ ।
त्यस्ता केही लोभलाग्दा कवि पनि चिन्छु । इखै पालेपछि आफूलाई खूब घोटे, र प्रशिक्षित गराए । ती पनि बुलन्द दृष्टान्त हुन् । तिनलाई प्रेम । इख लिएर अभ्यासमा लागेका । ओके छ त ।
अकविलाई घोटेर कवि बनाउन खोजे — यो आरोप, त्यसैले हास्यास्पद हुन आउँछ । गधा नुहाएर गाई हुन्छ र? किस्सा छ नि, अकबर र बिरबरलको ।
अकबरले भनेछन्, ‘ए बिरबरल । सब हिन्दुलाई मुसलमान बनाऊ ।’
भोेलिपल्ट, राजाले नदीमा नुहाउन जाने मुहूर्त छोपेर बिरबल पनि एउटा गधा लिएर नदीमै पुगेछन् । अनि खूब मिचीमिची नुहाइदिन थालेछन् । अकबरले देखेर सोधेछन्, ‘जति नुहाउँदा पनि यो गधा गाई भएन महाराज ।’
‘अनि कहीँ गधा नुहाएर गाई हुन्छ त?’
‘सबै हिन्दुजति मुसलमान हुन सक्ने महाराजको राज्यमा त यो हुनुपर्ने होइन र?’
महाराज अकबरको जय होस् ।
अलिकति पनि लेखकीय तत्तव छैन भने, घोटेर कोही लेखक हुँदैन ।
घोटेरै लेखक बनाउन सकिँदो हो त ठूल्ठूला लेखकको सबै परिवार, सबै बिरादरी कविकूल हुन्थ्यो । अस्ति, फेसबुकमा आमाले ‘अपरिचति अनुहार’ पढेको फोटो राख्दा एकजना प्रसिद्ध लेखकले भन्नुभयो— ‘हाम्रो परिवारमा पनि यस्ता पढ्दिने भए पो?’
साहित्यमा भवानी भिक्षुको कुल फेरि भेटिएन ।
गोपालप्रसाद रिमालको, भेटिएन ।
गोठालेको? भेटिएन ।
भूपीको, मलाई त शङ्कै छ ।
यो लिस्ट आफैँ जोडौँ । हस?
अर्को आरोप छ— आउन खोज्नेलाई थिचे ।
अनि कि, त्यत्तिको फुर्सद हुन्छ र, किचिहिँड्न? थिचिहिँड्न? कसैले किच्दा किचिने, थिच्दा थिचिने लेखक हो कि आँटाको डल्लो?
रोबर्ट फ्रस्टले एउटा कविता लेखेका छन्— ‘ब्रुक इन द सिटी’ । त्यसको सार के छ भने— नदी पुरेर मान्छेले सहर बनायो होला । नदी मारेँ भन्यो होला । तर नदीको ढुकढुकी मार्न सकेको छैन । बाँचेको छ त, भित्रै कतै । भित्र ।
जीएम होप्किन्सको एउटा लोकप्रिय कविता छः ‘गड्स ग्रेन्जियर ।’ त्यसमा लेख्छन्, मान्छेले पृथ्वीलाई आफ्नो फोहर र चकचकले जति विद्रूप पारे वा कोतरे पनि, धरतीभित्र, एउटा ‘ताजापन’ बाँचेको हुन्छ — ‘डियरेस्ट फ्रेसनेश डिप डाउन थिङ्स ।’
विरोधै मात्रै चैँ एउटा बिमार पनि हो । एउटा उद्योग पनि । मदिरा पनि भनौँ, कि नभनौ… हाहा ।
सबै उद्योगले राम्रो गर्दैनन् । जस्तो कि चुरोट उद्योग । अथवा अपराध उद्योग ।
शिखर चुम्न हिँडेको लेखकले, सिक्नलाई दिलदिमाग सधैँ खुला राख्दा के हुन्छ? सिकाउनेले देखेको ठाउँमा भन्छ । औँल्याउँछ । गाली पनि गर्छ ।
एउटा पाठकले आलोचना गर्नु ‘प्रतिभा थिच्नु’ होइन । उसले काम नपाएर त्यसो गरेको हुँदैन । थिचिने प्रतिभा प्रतिभा नै होइन । भ्रम हो । मृगमरीचिका हो । ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल ? ढुङ्गाले प्रेमले मुसार्ने हो र पीपलको बिउलाई ? हैट ।
लक्ष्य बोकेर हिँडेका ‘सङ्कल्प यात्री’ ले उः परको पहाडको बत्ती देख्छ । यो शब्द, कवि अनिल कोइरालाबाट सापट ल्याएको हुँ ।
ऊ नदीजस्तो हुन्छ — जसको स्वभाव नै, जति फोहोर बोकेर हिँडे पनि अलि पर पुगेर सङ्लिनु हो । मलमुत्र बोकेको नदी, सङ्लिएरै सागर चुम्छ, स्वभावतः । अब समुद्रमा पस्नै आँट्दा, कुनै मुर्दाले लगेर फोहोर हाल्दियो भने त, के भन्नु र नारान्?
र, सधैँ शङ्काकै भरमा आलोचना उद्योेग चलाउनेलाई त खै के पो भन्नु हौ ?
त्यसैमा अल्झिरहौँ । साथीहरू नयाँ किताब किनेर पढ्न थालिसकेका छन् ।
भोलि जम्काभेट हुन्छ नि महफिलमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।