
सुनील उलक

सुनील उलक
झट्ट हेर्दा यी तक्मा कुनै मुस्लिम शासकका हुन् जस्तो लाग्दछ । यसमा उर्दु भाषा मात्र प्रयोग भएको छ । अन्य कुनै पनि भाषामा केही पनि लेखिएको छैन । तर एकातर्फ भने राजा सुरेन्द्रको तस्बिर राखिएको छ । जसले गर्दा नेपालसँग यो तक्माको सम्बन्ध छ भन्ने सहजै अनुमान गर्न सक्छौँ । एउटा हिन्दु राष्ट्रको हिन्दु राजाले केवल उर्दुमा उकेरेको तक्मा किन र कसलाई दिइयो होला भन्ने कथा निकै रोचक छ ।
शुरूमा त यो तक्मामा उर्दु भाषामा के लेखिएको छ भन्नेमा जाउँ । यसमा लेखिएको उर्दुको नेपाली अनुवाद यस प्रकारको छः
(समर्पित) श्री महाराजाधिराजा सुरेन्द्र विक्रम शाह बहादुर र श्री जंगबहादुर राणा महाराजाको आदेशमा १५ वर्षदेखि तिब्बती कैदमा रहेका जम्मुका खालसा सिपाहीहरूलाई संवत् १९१२ (सन् १८५५-५६) को भोटसँगको युद्धमा मुक्त गराए।
यसले के देखाउँछ भने जंगबहादुरको शासनकालमा केवल नेपाल र नेपालीहरूको लागि मात्र होइन, कैदमा रहेका जम्मुका सेनाहरूका लागि पनि महत्त्वपूर्ण कार्य गरिएको थियो । करिब १५ वर्षदेखि तिब्बती सेनाको अधिनमा कैदमा रहेका ५६ खालसा सैनिकहरूको रिहाईमा भूमिका खेलिएको थियो ।
ती ५६ सैनिकहरू प्रत्येकलाई आफ्नो पुनर्जीवन याद दिलाउन यो तक्मा दिइएको थियो । ती ५६ सैनिक को थिए वा कहाँ छन् भन्ने खोजी गरिएको छैन । तर ती सैनिकले प्राप्त गरेका केही तक्मा भने भेटिएका छन् ।
अहिलेको भारतको हिमाञ्चल प्रदेशमा कुनै बेला डोगरा राज्य थियो । विशाल जम्मु कश्मिर राज्यका राजा गुलाब सिंह थिए । गुलाब सिंहको राज्य विस्तारको सपनासँगै लद्दाखमा गभर्नर रहेका सैनिक जनरल जोरावर सिंहको नेतृत्वमा सन १८४१ मा भोट आक्रमणका लागि पठाइएका थिए । तर भोटसँगको युद्ध सहज थिएन । जोरावर सिंह युद्धमा मारिए । युद्धमा पुगेका सैनिकहरू पनि कति मारिए र कति युद्धबन्दीका रुपमा ल्हासा लगिए ।
ती युद्धबन्दीमध्ये ३४ जना भने दक्षिण तिब्बतमा नै बस्न चाहे भने १०६ युद्धबन्दीहरूलाई भने जङ्गबहादुरको समयको नेपाल भोट युद्ध समाप्तिपछि भोट सरकारले नेपाल सरकारलाई हस्तान्तर गरेको थियो ।
नेपाल आइपुगेका ती १०६ युद्धबन्दीमध्ये केवल ५६ ले मात्र जम्मु फर्कने इच्छा व्यक्त गरे । तिनको इच्छालाई स्वीकार गर्दै पछि राजा सुरेन्द्र तथा श्री ३ जङ्गबहादुरले यो तक्मा पहिराई बिदा गरेका थिए ।

नेपाल भोट युद्ध
वि.सं. १९०९ साउनको अन्त्यतिर जङ्गबहादुरले लेफ्टिनेन्ट भीमसेन कुँवरको नेतृत्वमा एक प्रतिनिधि मण्डल चीन पठाएका थिए । नयाँ सम्राट होङ झियाउक्विनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना तथा चीन-नेपाल सम्बन्ध दरिलो बनाउने उद्देश्यसहित सो टोली पेकिङ पुगेको थियो । सो टोलीका बारेमा जङ्गबहादुर राणाले दुई वर्षसम्म पनि कुनै जानकारी वर्षसम्म पाएनन् ।
सामान्य रुपले आठ महिनामा फर्कनु पर्ने सो टोली नफर्कंदा चिन्तित रहेकै समयमा अचानक टोलीका प्रमुख भीमसेन कुँवर मात्र फर्किए । उनको जानकारीअनुसार बाटोमा तिब्बतीहरूले सामान लुट्नुका साथै अन्य सदस्यको हत्या गरिदिए । उनको हातमा चीनका सम्राटको सन्देश भएको हुँदा उनलाई जीवित फर्कन दिइएको भन्ने जानकारीका साथ उनले भोटमा रहेका नेपालीलाई पनि यसरी नै लुटपाट तथा हत्या गर्ने गरेको जानकारी पनि दिए ।
यसरी आफ्नो प्रतिनिधि मण्डलको हत्या र लुटपाटका साथै भोटमा रहेका नेपालीमाथि पनि अत्याचार भएको सुनेका जङ्गले तत्कालै भोटमाथि आक्रमण गर्ने तयारी गरे । जङ्गले युद्धकै लागि भनेर १४००० पैदल सेना, १२०० घोडचढी सेना नयाँ भर्ना गरेका थिए । साथै ८० वटा बाह्र पाउण्डर टोप, २४ वटा ६ पाउण्डर टोप, साथै मोर्टार र हाउइट्जर गन पनि काठमाडौँमा नै ढाल्न लगाए । गोला बारुद लगायत युद्धका लागि आवश्यक अन्य जङ्गी सामग्रीहरू बनाउन कालीगढहरू तयार बनाएर राखे ।
भोटमा अत्यधिक जाडो हुने हुँदा जाडोको लागि भनेर बक्खु, दोचा र भोटे टोपीहरू पनि हजारौँ बनाउन लगाए । यसका साथै सेना तथा अन्य सहयोगीहरूका लागि आवश्यक रासनपानीको व्यवस्था तराईका जमिन्दारहरूलाई गर्न लगाए ।
वि.सं. १९११ फागुन १४ गते जङ्गबहादुरका छोरा जीतजङ्गको राजा सुरेन्द्रकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको विवाह समारोहमा भाग लिन भोटको प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको थियो । यही अवसरमा भोटका प्रतिनिधि मण्डललाई देखाउने गरी जङ्गबहादुरले सैनिक परेड गराए ।
जसमा भोटे लुगा लगाएका २८ हजार पैदल सैनिक, १६०० घोडचढी सैनिक, ६० वटा १२ पाउण्डर टोप, ३५ वटा ६ पाउण्डर टोप, सयौँ मोर्टार गन तथा हाउइट्जर गनको प्रदर्शन गराएका थिए ।
भोटका प्रतिनिधि सामु जङ्गले युद्ध तैयारीमा लागेको खर्च तथा भोटमा भएको लुटपाटको समेत गरेर एक करोड नेपाली रुपैयाँ क्षतिपूर्ति दिएमा युद्ध रोकी सन्धि गर्न तयार रहेको जानकारी गराए । अन्यथा युद्ध शुरु हुने र तैयारीमा रहनसमेत सचेत गराए । तर ती प्रतिनिधिमण्डलले भोटमा लुटिएको मूल्याङ्कन बराबर केवल ५ लाख मात्र दिन सकिने जानकारी गराएपछि जङ्गले युद्धको घोषणा गरे ।
वि.सं. १९११ फागुन २४ गते थापाथलीमा सैनिक कमाण्डरहरूलाई भेला गरी जङ्गबहादुरले सम्बोधन गरे । उनले सैनिकहरू सामु जोशका साथ भने, “बहादुर सैनिक जवानहरू हो, भोटेले हामीलाई हेला गर्यो । हाम्रो तागतलाई कम ठहर्यायो । हाम्रो देशवासीहरुको धनसम्पति लुटेर केहीको हत्या समेत गर्यो । हाम्रो यो बेइज्जती सही बसेमा तिनीहरुले अरु अत्याचार गर्ने साहस गर्नेछन् । तसर्थ हाम्रा देशबासीहरूमा पनि कति शक्ति छ भन्ने कुरा तिनले बुझ्न भन्न खातिर र हाम्रो देशको इज्जत नगरी हेला गरेको हुँदा तिनलाई बदला लिनका खातिर म तिमीहरूलाई युद्धमा खटाउँदैछु ।”
जङ्गको भाषणले युद्धका लागि जोश भर्यो । अति उत्साहका साथ जङ्गले सैनिकहरूलाई युद्धका लागि बिदा गरे ।
झण्डै एक वर्ष लामो लडाईंमा भोट तर्फको ठूलो क्षति साथै हार भएपछि वि.सं. १९१२ को पुसमा सन्धिको प्रस्ताव लिएर भोटको प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्यो । एक वर्ष लामो नेपाल भोट युद्धमा नेपाली सेनातर्फ अफिसर र जवान गरी करिब ३५०० को मृत्यु भयो । भोटेतर्फ करिब ७ हजार सैनिकको मृत्यु भयो । भोट तर्फबाट सन्धिको प्रस्ताव आएको र नेपाल सरकारको ढुकुटी पनि युद्धका कारण रित्तिन थालेको हुँदा जङ्गबहादुर पनि उपयुक्त प्रस्तावमा सन्धि गर्न तयार हुने मनसायमा बसेका थिए ।
अन्ततः लामो छलफलपछि वि.सं. १९१२ चैत्र १३ गतेका दिन दुई देशबीच सन्धिपछि अन्त्य भयो । सन्धिअनुसार भोटले सालाना दस हजार रुपैयाँ उपलब्ध गराउने, भोटमा व्यापार गरी बसेका कुनै पनि नेपाली व्यापारीसँग कुनै पनि कर नलिने, एकअर्को देशबीच युद्ध नगर्ने तथा कुनै तेस्रो देशले कसैलाई पनि आक्रमण गर्न आएमा एकअर्कोलाई सहयोग गर्ने, भोटमा कैद रहेका सिख सिपाही, तथा नेपाली सिपाहीका साथै तिनका परिवार र भोटको अधिनमा रहेको नेपाली टोप तथा अन्य गोलीगट्ठाहरू पनि फिर्ता गर्ने । साथै, नेपाली सेनाले पक्रिराखेका भोटका सैनिकहरूलाई पनि फिर्ता पठाउने । ल्हासामा नेपाल सरकारका तर्फबाट प्रतिनिधिका रुपमा भारदार राख्ने । ल्हासामा नेपालीहरूले खुशीले चाहेको व्यापार गर्न छुट दिने । भोटमा रहेका नेपालीहरूमा लुटपाट भएमा भोटकाहरूबाट रकम भराउने । भोटे व्यापारीमाथि नेपालीले लुटपाट गरेमा नेपालीहरूबाट नै रकम भराइलिने ।
यस सन्धिलाई थापाथली सन्धिका नामले चिनिन्छ । यस सन्धिपछि भोट सरकारले नेपाललाई क्षतिपूर्ति स्वरुप २ लाख ३३ हजार नेपाली रुपैयाँ उपलब्ध गराएको थियो । साथै, यो सन्धि अनुरुपको सालाना १० हजार रुपैयाँ नेपाल सरकारले १०० वर्षसम्म वि.सं. २०१२ सम्म पनि पाइरहेकै थियो ।
यस सन्धिमा नेपालका तर्फबाट श्री ३ जङ्गबहादुरले हस्ताक्षर गरेका थिए भने भोटका तर्फबाट तत्कालिन पोटाला दरबारका ११औँ दलाई लामाको निधन भएको तर नयाँ दलाई लामाको नियुक्ति नभइसकेको हुँदा पोटाला दरबारको लामाको प्रतिनिधिका रुपमा छेन मेर डा वाङले हस्ताक्षर गरेका थिए ।
यसरी जङ्गबहादुरले भोटमा नेपालीमाथि भएको अन्याय र अत्याचारको बदला लिएका थिए । पछि वि.सं. १९४० मा रणोद्वीपको समयमा पनि भोटको अन्यायविरुद्ध लडाइको तयारी भएको थियो ।
तस्बिरमा देखाइएको तक्मा ५६ भोटमा रहेका डोगरा युद्धबन्दीमा बाँडिएको भए तापनि यसको २ वटा मात्र हाल भेटिएको छ । चाँदीको यो तक्मा ४२ मिमी गोलाइको तथा झण्डै २५ ग्राम तौलको रहेको छ । केही वर्षअगाडि यो तक्मा ९००० पाउण्डमा बिक्रीमा राखिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 








