
१. प्रवेशद्वार
वरिष्ठ पत्रकार विजयकुमार पाण्डेको ‘खुसी’ आत्मसंस्मरणले २०७१ सालको मदन पुरस्कार प्राप्त ग¥यो । यस समयमा अहिलेको जस्तो अगाडि नै उत्कृष्ट दश कृतिहरूको नाम सार्वजनिक गर्ने प्रचलन थिएन । एउटा चर्चित एवम् सफल पत्रकारका रूपमा विजयकुमारको परिचय नेपाली समाजमा स्थापित भए पनि उनलाई लेखकका रूपमा कसैले चिनेका थिएनन् । केही समय अगाडि नै उनको जीवनकै पहिलो कृति ‘खुसी’ प्रकाशन भएको हल्ला बजारमा चलेको भए पनि त्यो कृति मदन पुरस्कार जस्तो गरिमामय पुरस्कार प्राप्त गर्न सक्ने खालको छ भन्ने अनुमान कसैले पनि लगाएका थिएनन् त्यसैले ‘खुसी’ले मदन पुरस्कार पाउनासाथ यस प्रकारका विभिन्न प्रतिक्रियाहरू नेपाली साहित्यिक वृत्तमा देखापर्नु स्वाभाविक नै थियो—
सकारात्मक प्रतिक्रिया ः एउटा क्षेत्रमा सफल व्यक्ति अर्को क्षेत्रमा पनि सफल नै हुन्छ भन्ने कुरालाई सफल पत्रकार विजयकुमारले सफल लेखक बनेर देखाइदिए । यस पटक भने मदन पुरस्कार गुठीले स्थापित साहित्यकारलाई नखोजेर एउटा सङ्घर्षशील एवम् सफल व्यक्तित्वको जीवनकथालाई पुरस्कृत गरेर सङ्कल्प, साधना र समर्पणबाट जीवनमा सफलता हासिल गर्ने सबै क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरेको देखियो ।
नकारात्मक प्रतिक्रिया ः यसपटक पनि मदन पुरस्कार गुठी सेलिब्रेटी लेखककै पछि दौडियो । पत्रकारिताका क्षेत्रमा चर्चित हुँदैमा उनले लेखेको कृति स्तरीय भइहाल्छ त ? विजयकुमारको व्यक्तित्वका अगाडि मूल्याङ्कनकर्ताहरू सबै नतमस्तक भइहालेछन् अनि जस्तोसुकै व्यक्तिगत गन्थन लेखे पनि मदन पुरस्कार पाउन के गाह्रो भयो र ? टेलिभिजनमा खरो रूपमा प्रस्तुत हुने पत्रकारको रवाफले अब मदन पुरस्कारसम्म पनि धावा बोल्न थालेपछि वर्षौं साधना गरेर साहित्य लेख्नेहरूले मुख नदेखाए पनि हुने भयो ! यो तडकभडकको दुनियाँमा दीर्घसाधकको केही काम छैन !
यी र यस्तै प्रकारका धेरै खाले क्रिया प्रतिक्रियाहरू नेपाली साहित्यिक बजारमा हरेक वर्ष सुनिने गर्दछन् र ‘खुसी’ले मदन पुरस्कार पाएपछि त झन् धेरै नै सुनिए । केहीले कृति पढेरै प्रतिक्रिया दिएको देखियो भने केहीले चाहिँ हो मा हो मिलाएको पनि देखियो । त्यसैले साँच्चै उक्त कृतिभित्र केचाहिँ छ त ? भन्नेबारेमा सबैलाई स्पष्ट होस् भन्ने उद्देश्यले यस शृङ्खलामा २०७१ सालको मदन पुरस्कार विजेता कृति ‘खुसी’ आत्मसंस्मरणका बारेमा समीक्षात्मक परिचय प्रस्तुत गरिएको छ ।
२. कृति र कृतिकारका सम्बन्धमा
विजयकुमार पाण्डे वरिष्ठ पत्रकार तथा प्रखर अन्तर्वार्ताकारका रूपमा नेपाली समाजमा परिचित छन् । उनको ‘टक सो’ लाखौँ दर्शकको रोजाइमा पर्दछ । बैतडीमा जन्मिएर पाँच वर्षको उमेरमा नैनीतालमा भएको सडक दुर्घटनामा परी बुबालाई गुमाएपछि आमाले काठमाडौँ ल्याएर पालनपोषण तथा शिक्षादीक्षा दिएर अनेकौँ सङ्घर्ष गर्दै आजको विजयकुमार बन्न पुगेका पत्रकार विजयकुमार पाण्डेको ‘खुसी’ (२०७१) आत्मसंस्मरण पहिलो प्रकाशित कृति हो । यसपछि उनको ‘सम्बन्धहरू’ (२०७६) नामक अर्को कृति प्रकाशित छ । यी दुई कृतिले उनलाई लेखकका रूपमा नेपाली पाठकसम्म पु¥याए पनि उनको चिनारी पत्रकारिता नै हो र उनी निर्भीक पत्रकारिता र समस्याकेन्द्रित हक्की अन्तर्वार्ताकार नै हुन् । सुरुमा ओभरसियर भएर केही समय प्राविधिक काममा लागे पनि पदम ठकुराठीको प्रेरणा र प्रोत्साहनबाट पत्रकारिता क्षेत्रमा र नीर शाहले विश्वास गरेर नेपाल टेलिभिजनमा प्रवेश पाएका विजयकुमारको ‘अँध्यारो उज्यालो’ कार्यक्रमले नै उनलाई सफलताको सम्भावित शिखरमार्ग देखाइदियो । यसपछिका ‘दिशानिर्देश’, ‘शनिवार विजयकुमारसित’, ‘मेरो जिन्दगी, मेरो विश्वास’, ‘बाह्र घटना जसले इतिहास बनाए’, ‘ठुला भ्रम सत्य साधारण’, ‘फ्रन्ट लाइन’ आदि टेलिभिजन कार्यक्रमहरूले त एकपछि अर्को गर्दै उनलाई सफलताको सगरमाथामा नै पु¥याइछाडे । यिनका साथै पदम ठकुराठीले सुरु गरेको ‘साप्ताहिक मञ्च’मा ‘आदि–इत्यादि’ स्तम्भ लेखेर पत्रकारिताका क्षेत्रमा प्रवेश गरेका वियजकुमार नेपाल (साप्ताहिक) पत्रिकाको संस्थापक सम्पादक र कान्तिपुर दैनिकका स्तम्भ लेखकका रूपमा पनि परिचित हुँदै गए ।
यसरी एकपछि अर्को गर्दै सफलताको सिँढी चढ्दै गएपछि उनमा लेखक बन्ने भोक चढेको देखिन्छ, जुन कुरालाई उनले आफ्नो लेखनमा पनि स्पष्ट रूपमा उतारेका छन् । आफूले गरेका कतिपय दृश्य कार्यहरू र रेकर्डमा रहेका वस्तुहरू केही समय रहलान् तर लामो भोगाइ र सङ्घर्षबाट प्राप्त अनुभूतिको व्यवस्थापन कृतिबाट मात्र हुने देखेर विजयकुमारले ‘खुसी’ लेखेका रहेछन् भन्ने कुरा कृति पढ्दा थाहा पाइन्छ । ‘खुसी’ व्यक्ति विजयको सामाजिक भूमिकाबाट जन्मिएको कलात्मक शब्दचित्र हो । यो कृति धेरै यथार्थ, अलिकति आदर्श, अलिकति कल्पना र अलिकति रङ्गरोगनले सजिएको सुन्दर कोलाज जस्तो बनेर नेपाली पाठकहरूसम्म आइपुगेको छ ।

डा. देवी नेपाल
३. कृतिको बाह्य संरचना र कथाको स्वरूप
लेखक विजयकुमारको ‘खुसी’ डिमाइ साइजका ३८४ पृष्ठमा संरचित छ । फाइन प्रिन्ट बुक्सले प्रकाशन गरेको यस कृतिको पछिल्लो स्वर्ण संस्करणमा चाहिँ रातो कागजमा स्वर्णाक्षरले लेखकीय थपिएको छ । इजा र सुषमालाई समर्पण गरी सोझै विषयमा प्रवेश गरिएको यस कृतिमा कुनै भूमिका वा लेखकीय पाइँदैन । आत्मसंस्मरण भएको हुनाले लेखकले कृतिको अन्तिम परिच्छेदमा रहेको ‘जाँदाजाँदै’ शीर्षकमा कृतिका बारेमा, प्रकाशक र सहयोगी आदिका बारेमा कृतज्ञता प्रकट गरेका छन् ।
प्रस्तुत कृति फरक फरक तर व्यक्तिकेन्द्रित विषयवस्तुलाई सङ्केत गर्ने विभिन्न शीर्षकका २९ ओटा खण्डमा विभाजित छ । यसमा प्रसव वेदना, ह्यातको पार्किङ लट, पहिलो पेग, एम्बिसन, प्रतिभा, अञ्जली, सम्पादकलाई गोली, काँचको पर्दामा, युग फेरिएको त्यो रात, जुलिया, माइकल र लियो, दर्शकले नदेखेको दर्द, पिउँदापिउँदै जिन्दगी यो, अन्तिम पेग, को हो अल्कोहलिक ?, स्वान्तसुखाय, पैसा, राधेश्याम सर्राफ, प्रसिद्धि, सेक्स, साँचो कसको हातमा, राजा, प्रधानमन्त्री र राष्ट्रपति, जीवनसँग अन्तर्वार्ता, मित्रहरू, मेरा आनीबानी, घमन्ड, स्वाभिमान र विनम्रता, अध्यात्मसित परिचय, सन्तान, खुसी र जाँदाजाँदै जस्ता शीर्षकहरूमा लेखकका वैयक्तिक अनुभूति र जीवनकथाहरूलाई रोचक शैलीमा उनिएको छ ।
पूर्णतः आत्मपरक शैलीमा लेखिएको यस कृतिको सुरुमा नै एउटा कृति लेख्ने लेखकको रहर, आत्मआलस्य, आत्मलेखनीमा अविश्वास, निरन्तर प्रयास आदिका बारेमा स्पष्ट जानकारी दिइएको छ । यसपछि सोझै व्यक्तिगत स्वभावका कारण विभिन्न ठाउँमा भोग्नुपरेका विभिन्न समस्याहरूको चित्रण गरिएको छ । जन्म र बाल्यकालको सन्दर्भलाई सङ्केत मात्र गरेर अत्यधिक रक्सी पिउने आफ्नो बानीका कारण ह्यात होटलको पार्किङमा रात बिताएको, पुलचोक क्याम्पसमा ओभरसियर पढेर दाङको मसोट खोलाको जङ्गलमा सडक बनाउन गएको, पदम ठकुराठीले ‘साप्ताहिक मञ्च’ प्रकाशन गर्न थालेपछि ‘आदि–इत्यादि’ स्तम्भमार्फत पत्रकारिताका क्षेत्रमा प्रवेश गरेको, नीर शाहले नेपाल टेलिभिजनमा प्रवेश गर्ने अवसर दिएपछि ‘दिशानिर्देश’ कार्यक्रम सञ्चालन गर्न थालेको आदि सन्दर्भहरूको चर्चा यस कृतिमा गरिएको छ । यही क्रममा पञ्चायती कालको अन्तिम समयका, प्रजातन्त्र कालको प्रारम्भ र त्यसपछिका सम्पूर्ण घटना, पात्र र अनुभवहरूलाई जस्ताको तस्तै यहाँ राखिएको छ । यी घटनाहरू यहाँ शृङ्खलाबद्ध रूपमा नभएर अत्यन्त विशृङ्खलित एवम् चेतनप्रवाह शैलीमा आएका छन् । घर, परिवार, पत्रकारिता, राजनीतिक अवस्था, जनसम्पर्क, अन्तर्वार्ताका क्रममा भएका रोचक घटना, विदेश भ्रमण, देश–विदेशका उच्चपदस्थ व्यक्तित्वहरूसँगको भेटघाट, उठबस, खानपिन, वैयक्तिक सन्दर्भ आदि जस्ता कुराहरूको रोचक प्रस्तुति नै यस कृतिको मूल विषयवस्तु हो । अर्थात् स्रष्टा विजयको वैयक्तिक जीवनमा घटेका घटनाहरूको सचित्र उद्घाटन, त्यसप्रतिको विश्लेषणात्मक प्रतिक्रिया र भोगाइबाट उत्पन्न जीवन दर्शनको स्थापना नै यस कृतिको मूलभूत चिनारी हो ।
४. कृतिको अन्तर्वस्तु र गुणात्मक महत्त्व
लेखक विजयकुमारको ‘खुसी’ सङ्घर्षपूर्ण सक्रियताले प्रदान गरेको आत्मबोधबाट जन्मिएको एउटा विशिष्ट जीवन दर्शन हो । प्रस्तुत कृतिका ठाउँ ठाउँमा लेखक स्वयम्ले निम्नलिखित कुराहरू उल्लेख गरेका छन्—
— सारा जीवन मैले प्रश्न मात्र सोधेँ, अब उत्तर दिन चाहन्छु । मेरो मनको पोखरीमा जमेको पीडालाई पुस्तकरूपी निकास दिएर अलिकति हलुका हुन चाहन्छु । धेरै वर्ष पोखरी भएर बिताएँ, बाँकी जीवन नदी भएर बाँच्न चाहन्छु । (पृष्ठ १३)
— पैसा, प्रसिद्ध, यौन, भोग वा वैराग्य बाटो जुनसुकै समातिएको किन नहोस्, पुग्न खोजिएको चुचुरोको नाम एउटै रहेछ— खुसी । मान्छे सबै एउटै रगतको अन्तिम लक्ष्य पनि एकै रहेछ– खुसी । फरक फरक मानिस अलग अलग बाटो हिँडे पनि गन्तव्य उही रहेछ– खुसी । (पृष्ठ ३६९)
प्रस्तुत भनाइहरूले यस कृतिको विषयवस्तुको गहिराइलाई बुझ्नका लागि विशेष सहयोग पु¥याएका छन् । प्रस्तुत भनाइहरूमध्येमा पहिलोले यो कृति किन लेखियो भन्ने कुराको उद्घाटन गरेको छ भने दोस्रोले यस कृतिबाट के प्राप्ति भयो भन्ने कुराको जानकारी दिएको छ । पहिलो लेखकको वैयक्तिक चाहना हो भने दोस्रो भोगाइबाट प्राप्त जीवन दर्शन हो । यिनै दुईओटा कुराको द्वन्द्वात्मक गतिशीलतामा खुसीले पूर्णता पाएको देखिन्छ ।
‘खुसी’ पत्रकार विजयकुमारको सङ्घर्षको कथाभन्दा पनि बढी सफलताको कथा हो । उनी बैतडीमा जन्मिएर पाँच वर्षको उमेरमा बुबा गुमाएका व्यक्ति हुन् तापनि यस कृतिमा उनले आफ्नो बाल्यकालीन दुःखका सन्दर्भहरूलाई सङ्केत मात्र गरेर अगाडि बढेका छन् । ओभरसियर सकिनासाथ जागिर खान थाल्नु, युवावस्थामा प्रवेश गर्नासाथ रक्सीको लतमा लट्ठिन थाल्नु, जागिरमा त्यति सन्तुष्टि प्राप्त नहुनासाथ पत्रकारितातिर प्रवेश गर्नु, त्यस क्षेत्रमा प्रवेश गर्नासाथ चर्चा सुरु भइहाल्नु, टेलिभिजनमा प्रवेश गरेपछि चर्चाको शिखरमा नै पुगिहाल्नु, विदेश गएर पढ्नु, जहाँ हात हाल्यो त्यही सफल हुनु, नेपाल र भारतका सर्वोच्च तहका सम्पूर्ण व्यक्तित्वहरूसँग निकट सम्बन्ध स्थापना गर्न सफल हुनु, राज्यको सर्वोच्च तहसम्म पनि हस्तक्षेपकारी उपस्थिति जनाउन सफल हुनु आदि आदि जस्ता कुराले विजयको जीवनमा सक्रियता र लगनशीलता हुँदाहुँदै पनि सङ्घर्षबाट भन्दा विलासिताबाट नै विकसित भएको देखिन्छ ।
प्रस्तुत कृतिमा विजय निकै अध्ययनशील र कुनै पनि कुरालाई सप्रमाण प्रस्तुत गर्ने प्रवृत्तिका देखा परेका छन् । गीत, सङ्गीत, साहित्य, दर्शन आदि क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका विशिष्ट भनाइहरूलाई उद्धृत गरी त्यस विषयप्रतिको आफ्नो भनाइको स्थापना गर्नु यस कृतिको सर्वाधिक प्रशंसनीय पक्ष हो । यसबाट पाठकलाई यो एउटा कृति पढ्दा दर्जनौँ कृतिको ज्ञान प्राप्त भएको छ । उच्च सफलताको शिखर टेक्न चाहनेहरूको महत्त्वाकाङ्क्षाले सानै उमेरदेखि प्रवेश गर्दो रहेछ भन्ने कुरा विजयको स्वभाव र क्रियाकलापबाट स्पष्ट भएको छ । निर्भीकता, सक्रियता, लगनशीलता, अध्यनशीलता र प्रत्युत्पन्न मति भएपछि त्यो व्यक्ति सफल भएरै छाड्छ भन्ने कुराको स्थापना पनि यस कृतिबाट भएको देखिन्छ ।
एकातिर पारिवारिक जिम्मेवारी, अर्कातिर आफ्नो कामप्रतिको निष्ठा, अर्कातिर सर्वपरिचित सामाजिक जीवनको आदर्श बचाउनुपर्ने बाध्यता र अझै अर्कातिर राष्ट्र र जनताका लागि केही योगदान दिएर जाने उच्चआकाङ्क्षा, यी सबै कुराको बोझ टाउका बोकेर पनि कुनै तनाबमा नदेखिनु खुसीसम्बन्धी दर्शनकै प्रभाव हो भन्न सकिन्छ । यसका साथै विजयमा दुईजना विशिष्ट रिम्बोचेहरूको ज्ञानको प्रभाव देखिन्छ, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र गणेशराज शर्माको जीवनशैली र शिक्षाको प्रभाव देखिन्छ । उनले ज्ञानको पाटोलाई ससम्मान चर्चा गरेका छन् । ज्ञानप्रतिको सम्मान र कर्मप्रतिको निष्ठा नै उनको सफलताको आधार हो भन्ने कुरा प्रस्तुत कृति पढ्दा थाहा पाइन्छ ।
घटना र अनुभूतिको यथार्थ चित्राङ्कन यस कृतिको अर्को उल्लेखनीय पक्ष हो । यहाँ कतिपय कुराहरू नलेखेको भए पनि हुन्थ्यो भन्ने खालका छन् तापनि लेखकीय इमानदारीका कारण उनले आफ्नो सोच, स्वभाव, जीवनशैली, कार्यशैली, पारिवारिक अवस्था, जनसम्पर्क, वैचारिक निष्ठा आदि सबै कुराको आत्मसमीक्षाका साथ जस्ताको तस्तै चित्र उतारिदिएका छन् । यति मात्र नभएर यहाँ उनले नछोएको कुनै क्षेत्र छैन र उनले चर्चा नगरेको कुनै उच्चपदस्थ व्यक्ति भेटिँदैन । यहाँ अतिसामान्यदेखि लिएर अतिविशिष्ट व्यक्तिहरूको चर्चा गरिएको छ तर जस जसको चर्चा गरे पनि प्रायः ती व्यक्तिहरूप्रतिको सकारात्मक धारणा नै अभिव्यक्त भएको देखिन्छ । यहाँ तीन ठाउँमा भने विजय अत्यन्त रिसाएको देखिन्छ । पहिलो मसोटको अवलोकन गर्न गएको हाकिमको प्रतीक्षामा बसेका आफूहरूलाई बेवास्ता गरी गाडीले धुलोमा पुरेर अगाडि बढ्दाको सन्दर्भमा उनको स्वाभिमानमा चोट पुगेको देखिन्छ । यसले राष्ट्रिय समस्यालाई नै प्रतिबिम्बित गरेको छ । दोस्रो नेपाल टेलिभिजनमा नयाँ जिएम आएपछि सूचनाबिना नै आफ्नो कार्यक्रम बन्द गराएको घटनामा, जहाँ उनले पटके बराल–२ भनेर सबैले थाहा पाउने गरी नै आक्रोश व्यक्त गरेका छन् भने तेस्रो अभिताभ वच्चनसँगको अन्तर्वार्तापछि आएका प्रतिक्रियाका सन्दर्भमा, जहाँ उनले अरूलाई यत्तिको कार्यक्रम बनाएर देखाउन ठाडो चुनौतीसमेत दिएका छन् । यी तीनओटा सन्दर्भ पढ्दाचाहिँ विजयकुमारमा अहम्को मात्रा निकै माथि नै रहेको देखिन्छ तर अन्य कुरामा कुनै व्यक्ति र विषयको मूल्याङ्कन गर्ने, कामप्रतिको कृतज्ञता व्यक्त गर्ने, राम्रा कुराको प्रशंसा गर्ने र हरेक कुराप्रति सकारात्मक सोच राख्ने उनको स्वभाव प्रशंसनीय लाग्दछ ।
लेखक विजयकुमार हरेक कुरालाई तार्किक दृष्टिले हेर्छन् र त्यसलाई एउटा जीवनोपयोगी शिक्षाका रूपमा रूपान्तरण गर्छन् । आत्मसमीक्षाका तहमा होस् वा अन्य कुनै विषयको विश्लेषणका क्रममा होस् उनका कतिपय भनाइहरूमा दर्शनको स्पष्ट छाया देख्न सकिन्छ । जस्तै ः
— मेरो चरित्रमा आलस्य नभएको भए बाँकी रहेको मानिस म हुन्थेँ वा हुन्नथेँ ? (पृष्ठ ३)
— यहाँ अरूको होइन, आफ्नै दोष मनन गर्ने शिक्षा दिइन्थ्यो । …आफ्ना अवगुण हेर्न त मानिस मरेतुल्य हुँदो रहेछ । आँखाको बनोट नै बहिर्मुखी रहेछ । (पृष्ठ ७)
— आजको दिनमा मैले नेपालका सबैभन्दा दुःखी मानिसको सूची बनाउनुप¥यो भने त्यसमा समाजले ठुलो र सफल ठानेका विभिन्न पेसाका मानिसको बाहुल्य हुने छ । (पृष्ठ १३)
— सुरा, सुन्दरी र जुवा आदि विषयमा धनवान्हरूलाई अलि सजिलो छ । पैसाले कहिलेकाहीँ मानिसका अवगुण लुकाउन मद्दत पनि गर्छ । (पृष्ठ २५)
— अहङ्कार यस्तो घाउ हो, जसलाई बोकेर मानिस हिँड्छ । बाटोमा कसैले जानेर नजानेर दिएको सानो धक्काले पनि त्यो घाउ धेरै दुख्छ । (पृष्ठ ३४)
यसरी नै विजयले नेपालको ब्युरोक्रेसीको मर्मलाई पनि राम्ररी केलाएको देखिन्छ र देशले प्रगति गर्न नसक्नुको कारण जिम्मेवारीबोधको अभाव हो भन्ने निष्कर्ष निकालेको देखिन्छ—
— अचम्म लाग्छ, जब सचिव तहको कर्मचारी आफ्नै मन्त्रालयका विषयमा पत्रिकामा सरकारले यस्तो गर्नुप¥यो, उस्तो गर्नुप¥यो भन्दै अक्षरको पोको फाल्छ । (पृष्ठ ४१)
— परनिन्दामा मानिसले रस लिन्छ, हाकिमनिन्दामा त मानिसलाई महारस प्राप्त हुन्छ । (पृष्ठ २०१)
लेखक विजयले मनमोहन अधिकारीको निष्ठापूर्ण जीवन र कृष्णप्रसाद भट्टराईको सादा जीवन र विचारबाट प्रभावित भएको कुराको उल्लेख यसरी ठाउँ ठाउँमा गरेका छन्—
— मैले भेटेका नेतामध्ये मनमोहन अधिकारी मात्र यस्ता थिए, जसका अगाडि मैले ठुलो स्वरले बोल्ने साहस कहिल्यै गरिनँ । मनमोहनजीको इमानदारी, निष्ठा र सरलताका अगाडि मेरो अहङ्कारले शिर उठाउने साहस गर्न सकेन । (पृष्ठ ४२)
— मनमोहनजी जस्तो त्यागी नेता स्वयम् उठेको अवस्थामा अन्त भोट खसाल्न मेरो आत्माले दिने छैन । मलाई यसपटक क्षमा गर्नुहोला । (पृष्ठ १६२)
— म किसुनजीको संस्कारको धुलोमा हुर्किएको मानिस हुँ । (पृष्ठ ३०२)
— जब पत्रकार कुनै नेताप्रति व्यक्तिगत रूपले आशक्त हुन्छ, उसको लेखनी वस्तुगत रहन सक्दैन । किसुनजीका विषयमा म कहिल्यै वस्तुगत हुन चाहिनँ, भइनँ र त्यो तथ्य लुकाइनँ पनि । (पृष्ठ २५१)
समयको परिवर्तनसँगै विचार र व्यवहारमा पनि परिवर्तन गराइहाल्ने अवसरवादी चरित्रहरूको उद्घाटन पनि विजयले यसरी गरेका छन्—
— चर्को स्वरमा ‘पञ्चायत फुल्यो डाली डाली’ गाउनेहरू अब गणेशमान सिंहको भन्दा ठुलो आवाजमा ‘जय नेपाल’ र मनमोहन अधिकारीको भन्दा कस्सिएको मुठी उचालेर ‘लाल सलाम’ गर्न थाले । (पृष्ठ ७९)
प्रायः नेपालीहरू सुखको खोजीमा अमेरिका जाने गर्दछन् र विजयले पनि अमेरिका गएर क्याफे चलाउने योजना नबनाएका होइनन् तर उनले गरेको यस निर्णयले उनको देशप्रतिको आस्थामा थप बल पुगेको देखिन्छ—
— काठमाडौँ फर्केर धेरै विचार गरेपछि मैले अमेरिकामा क्याफे चलाउने योजना त्यागिदिएँ । मलाई लाग्यो त्यहाँ बसेर मलाई खुसी मिल्ने छैन । (पृष्ठ १९१)
प्रस्तुत कृतिमा कतै कतै विजय अनुभवलाई दर्शनको तहमा रूपान्तरण गर्न पनि सफल बनेका छन्—
— असङ्ख्य अन्तर्वार्ता गरिसकेपछि मलाई आभास हुन्छ, जीवनको सर्वोच्च अन्तर्वार्ता त निःशब्द रहेछ । यसो भन्ने बेला मलाई थाहा छ, निःशब्दता पारमार्थिक सत्य हो, व्यावहारिक सत्य होइन । (पृष्ठ ३०३)
यसरी नै रूपचन्द्र विष्टको उद्धरणलाई अगाडि राखेर आफ्नो विचारको स्थापना गर्ने प्रसङ्गमा विजयले नेपाली मनोविज्ञानको अत्यन्त गम्भीर चित्रलाई यसरी उतारिदिएका छन्—
— नेपाल भनेको आफ्नो जिउमा सानो घाउखत पनि नकोरियोस् । अरू सहिद भएको समाचार दिनहुँ सुन्न पाऊँ भन्ने मानिसिकताको देश हो । (पृष्ठ ३१६)
उल्लिखित सबै कुराहरूलाई गहिरो दर्शनका रूपमा नै बुझेर प्रस्तुत गर्न सक्ने विजयले रक्सी र सेक्सका सन्दर्भमा व्यक्त गरेका धारणाहरू र निम्नलिखित भनाइहरूले चाहिँ उनको व्यक्तित्वको उचाइलाई धान्न नसकेको हो कि भन्ने लाग्छ—
— मेरो सानदार सुट मैले गरेको बान्ताले पूरा भिजेको थियो । मेरो शरीरबाट मदिरा र बान्ताको मिश्रित गन्ध फैलिरहेको थियो । (पृष्ठ १८)
— महासागरको छालमा नडुब्ने म गिलासमा भरिएको मदिराका अगाडि भने शक्तिहीन थिएँ । (पृष्ठ १४२)
प्रस्तुत उद्धरणहरूले यस कृतिमा अभिव्यक्त लेखकीय विचार, अभिव्यक्तिगत इमानदारी र पाठकीय अपेक्षा एवम् विश्वसनीयतालाई समेत उद्घाटन गरेको देखिन्छ । यसका साथै लेखक विजयले यहाँ प्रस्तुत गरेका प्रसिद्धिका तीन प्रकार र सम्पादकका तीन प्रकारसम्बन्धी विभाजन निकै व्यावहारिक देखिन्छ । यी र यस्तै कुराहरूले गर्दा ‘खुसी’ पठनीय कृति बन्न पुगेको हो ।
५. मूल्याङ्कन तथा निष्कर्ष
लेखक विजयकुमारको ‘खुसी’ एउटा सफल पत्रकारको व्यक्तिवृत्त हो । यसमा भोगाइ, कार्य र अनुभूतिको अन्तर्घुलनबाट उत्पन्न एउटा विशिष्ट व्यक्तिचित्र निर्माण भएको देखिन्छ । यो विजयकुमारको नितान्त व्यक्तिचित्र भए पनि यसमा समग्र देशको चित्र खिचिएको छ । यसमा नेपालको राजनीतिक व्यवस्थाका पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनै कालको अनुहार देख्न पाइन्छ । नेपालको प्रशासनिक क्षेत्र, कूटनीतिक क्षेत्र, उद्योग व्यवसाय, होटल व्यवसाय, पर्यटन, विकास, नेपालीहरूको जीवनस्तर र मनोविज्ञान, साहित्य, पत्रकारिता, गीतसङ्गीत आदि सबै क्षेत्रको यथार्थ चित्राङ्कन पाइन्छ । साथै नेपालका राजा, राष्ट्रपति, प्रधानमन्त्री र उच्चपदस्थ व्यक्तिहरूको मात्र नभएर भारतका पनि अतिसामान्यदेखि लिएर अतिविशिष्ट व्यक्तिहरूसम्मको विचार, व्यवहार र जीवनशैलीका बारेमा विश्लेषणात्मक चर्चा गरिएको छ । निम्नवर्गका नेपाली जनताको अवस्था र उच्च धनाढ्यहरूको जीवनपद्धति जस्ता कुराहरूलाई पनि यहाँ एकै ठाउँमा राखेर चर्चा गरिएको हुनाले यस कृतिले नेपाल र नेपालीलाई चिनाउने कुरामा पनि सहयोग पु¥याएको देखिन्छ ।
विजयको जीवन जसरी अप्रत्याशित रूपमा सफल हुँदै गएको छ त्यसरी नै उनको लेखन पनि विशृङ्खलित गतिशीलताबाट नै अन्त्यसम्म पुगेको देखिन्छ । व्यक्तिको आत्मकथाले एउटा शृङ्खलाको अपेक्षा गर्दछ । जन्मस्थान, जन्म, बाल्यकाल, शिक्षादीक्षा हुँदै प्रारम्भिक कार्यहरूको अनुभवबाट कालक्रमिक रूपमा उत्तरोत्तर विकास हुँदै गएको भए यो कृति अझै सुन्दर बन्ने थियो । कृतिको पहिलो खण्ड पढिसक्नासाथ कुनै सन्दर्भविना आएको ह्यात होटलको पार्किङस्थलमा रक्सीले मातेर बान्ता गर्दै रात बिताएको प्रसङ्गले लेखकप्रतिको पाठकीय दृष्टिकोणमा परिवर्तन ल्याएको छ । एकातिर रिम्बोचेको ज्ञान, मनमोहन र किसुनजीको प्रभाव, ठाउँ ठाउँमा स्वामी विवेकानन्द, विकासानन्द, ओसो र विश्वप्रसिद्ध दार्शनिकहरूको दर्शनको प्रभाव आदिको चर्चा र अर्कातिर आफ्नो विलासितापूर्ण जीवनयापन, यी दुई कुरामा पूर्णतः विरोधाभास देखिन्छ । हुन त, कृतिमा नै २०६१ सालदेखि रक्सी छोडेको सन्दर्भको उल्लेख भएको छ तापनि पटक पटक त्यसकै चर्चा गरिरहँदा चाहिँ भित्री इच्छा अझै जीवित छ कि भन्ने देखिन्छ ।
यसरी नै अरूको दोषलाई खोजी खोजी केलाउने व्यक्तिको आलोचना हुँदा ठाउँ ठाउँमा देखिएको आक्रोश, अहङ्कार र रवाफले सामान्य मान्छेमा रहेको विचार र व्यवहारमा देखिने विरोधाभासलाई नै प्रतिबिम्बित गरेको देखिन्छ । यसलाई सकारात्मक दृष्टिले हेर्दा हरेक मान्छेमा गुण र दोष दुवै हुन्छन् भन्न सकिन्छ भने आलोचनात्मक दृष्टिले हेर्दा यस्तो अनुकरणीय व्यक्तित्वको चरित्रमा ती कुराहरू नदेखिए हुन्थ्यो भन्ने पाठकलाई लाग्न सक्छ । प्रस्तुत कृतिको बाहिरी आवरणदेखि लिएर भित्री साजसज्जा सबै सुन्दर छ र तुलनात्मक रूपमा भाषिक शुद्धतामा पनि प्रश्न उठाउने ठाउँ छैन । यति हुँदाहुँदै पनि ठाउँ ठाउँमा प्रयोग गरिएका ‘अन्तर्मनको आनन्द स्वान्तसुखायका निम्ति लेख्न चाहन्थेँ’ (पृष्ठ ४) यस वाक्यमा देखिएको आशयको पुनरावृत्ति (अन्तर्मनको आनन्द नै स्वान्तसुख हो) र स्वान्तसुखायका निम्ति (स्वान्तसुखाय भनेको नै आत्मिक आनन्दका निम्ति हो, त्यसमा फेरि का निम्ति लगाइरहनु पर्दैन) जस्तो अशुद्ध प्रयोग देखिनुलाई अज्ञानतावश भएको त्रुटि मान्न सकिन्छ ।
निष्कर्षमा भन्दा ‘खुसी’ले विजयकुमार पाण्डेलाई पत्रकारबाट लेखक बनायो, उनले लेखक हुनासाथ देशकै सर्वोच्च महत्त्व राख्ने मदन पुरस्कार पनि पाइहाले र उनको ‘खुसी’ चर्चाका हिसाबले र व्यावसायिक हिसाबले पनि निकै उचाइमा पुग्यो । यी सबै कुरा लेखकका पक्षमा भएका प्राप्तिहरू हुन् । यिनका तुलनामा नेपाली पाठकले र नेपाली समाजले चाहिँ यस कृतिबाट त्यत्तिकै उपलब्धि हासिल गर्न सके कि सकेनन् ? यो खोजीको विषय हो । यस पक्षबाट मूल्याङ्कन गर्दा यस वर्षको मदन पुरस्कारमा कृतित्वको भन्दा व्यक्तित्वको बढी प्रभाव पो प¥यो कि भन्ने अनुमान पाठकले लगाए भने अर्को कृतिमा ती पाठक आलोचनाको सिकार नबनुन् । हार्दिक शुभकामना !
क्रमशः अर्को हप्ता, अर्को कृति…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
