कुनै गम्भीर काम गर्दागर्दै झप्प निद्रा लाग्यो भने तपाईं दिक्क नमान्नुस् । त्यो निद्राले तपाईंलाई नयाँ सोच वा सिर्जनशील कुरा दिनसक्छ ।

यस्तै कुरा गर्थे, अमेरिकी वैज्ञानिक थोमस एडिसन । उनी निदाएका बेला आफूलाई नयाँ नयाँ सोच आउने, आएका कुरालाई पछि मूर्त रूप दिने कुरा बताउँथे ।

अझै पनि कतिपय गम्भीर अध्येताले यो शैलीलाई आफू उल्झनमा परेको समस्या समाधानका लागि प्रयोग गर्ने गर्छन् र यसो गर्नु फलदायी हुने एउटा अध्ययनले पनि देखाएको छ ।

कुनै हिसाब गर्दागर्दै नमिलेको खण्डमा एक झमट निदाएर उठेपछि त्यो क्लिष्ट ठानिएको हिसाब समाधान गर्न सकिने अध्ययनमा सहभागीहरूले बताएका छन् ।

हुन पनि निद्राको केही सेकेन्डमा हुने जुन अवस्था छ, त्यसलाई वैज्ञानिकहरूले हिप्नगोजिया अथवा एन वन नामकरण गरेका छन् र एन वनको अवस्थामा समाधान गर्न नसकिएका क्लिष्ट चिजहरूको खोजी गर्न सकिने अध्येताहरूको दाबी छ ।

पेरिसस्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मेडिकल रिसर्चकी डेल्फाइन अडिटीले एन वन निद्रा र सिर्जनशीलता बीचको सम्बन्धका बारेमा अध्ययन गरेकी थिइन् । उनले अप्ठेरा गणितका नसुल्झेका समस्याहरू विद्यार्थीलाई दिने र एक झमट सुतिसकेपछि तिनलाई समाधान गराउँदा उनले ती समाधान गरिएको पाइन् ।

अडिटीको समूहले १०३ जना मानिसको समूहलाई समस्या दिने र समाधान गर्न नसकेको खण्डमा २० मिनेट झुपुक्क निदाउन दिएकी थिइन् ।

त्यसो त शुरूमा नै यो समस्या समाधान गर्नेहरूलाई अध्ययनमा समावेश गरिएको थिएन । त्यस्ता सहभागी भने १६ प्रतिशत देखिए ।

रोचक चाहिँ २४ जना व्यक्तिले भने आँखा चिम्म गरेको केही मिनेटमै जुरूक्क उठेर समाधान गरेका थिए । अन्य १४ जनाले भने एन वनको गहिरो निद्राको अवस्थामा पुगेर उठेपछि कठिन गणित समाधान गरेका थिए ।

केही समयको विश्रामपछि नसुतिकनै अप्ठेरा गणितको समाधान गर्नेको प्रतिशत ८३% थियो भने गहिरो निद्रामा पुगेर समस्या समाधान गर्नेहरूको प्रतिशत भने ३१ प्रतिशत थियो ।

उसो भए अप्ठेरो गणित होस् या अप्ठेरो काम, त्यो बेला मेलो सरेन भने केहीबेर झुपुक्क किन ननिदाउने ? शायद यही कारणले पनि गुगल, माइक्रोसफ्टजस्ता आधुनिक कम्पनीहरूले आफ्ना कर्मचारीलाई झुपुक्क निदाउने एउटा बेग्लै ठाउँ बनाइदिएको समाचार केही वर्षअघि भाइरल भएको थियो ।