१. प्रवेशद्वार

आख्यानकार नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यासले २०७४ सालको मदन पुरस्कार प्राप्त ग¥यो । यस वर्ष पनि मदन पुरस्कार गुठीले अघिल्लो वर्षजस्तै उत्कृष्ट दश कृतिहरूको नाम सार्वजनिक गरिसकेको थियो । त्यसैले पूर्वअनुमानको बाढी त चल्ने नै भयो । नेपाली समाजमा सकारात्मक र नकारात्मक प्रतिक्रियाहरू नआउने पुरस्कारहरू कमै हुने गर्दछन् । अब त यो नेपालीहरूको संस्कृति नै बन्न थालेको देखिन्छ । ‘योगमाया’ उपन्यासले मदन पुरस्कार पाउँदा पनि प्रतिक्रियाका दुई धारहरू देखिएका थिए—

सकारात्मक धार : यसपटक भने मदन पुरस्कार गुठीले नारी स्रष्टालाई सम्मान दिएछ । स्रष्टा पनि नारी र विषयवस्तु पनि नारी ! यसरी इतिहासका गर्विला पक्षहरूलाई खोजेर बाहिर ल्याइएको कृतिले पुरस्कार पाउँदा स्रष्टा र सिर्जना दुवैको सम्मान हुने गर्दछ । स्याबास, मदन पुरस्कार गुठी ! यस्तै सुन्दर छनोट सधैँ होस् ।

नकारात्मक धार : यसपटक पनि मदन पुरस्कार गुठी इतिहासतिरै फर्किएछ, यसले वर्तमानलाई चाहिँ कहिल्यै नगन्ने भयो । अब मदन पुरस्कारको आश गर्नेहरूले पौराणिक मिथक, ऐतिहासिक घटना, लोकप्रचलित किंबदन्तीहरूलाई खोजी खोजी ल्याउँदा हुन्छ । सामाजिक यथार्थ, युगीन महत्त्व, जीवनमुखी भावचेतना र जनजागरणको उद्देश्य राखेर लेखिएका कृतिहरूको केही पनि काम छैन ।

यी र यस्तै प्रकारका धेरै खाले क्रिया प्रतिक्रियाहरू नेपाली साहित्यिक बजारमा हरेक वर्ष सुनिने गर्दछन् । केहीले पढेर प्रतिक्रिया दिन्छन् भने केहीले यसो शीर्षक हेरेर पनि केही न केही भनिहाल्छन् । त्यसैले कृति पढेर नै समीक्षा गर्नु सान्दर्भिक हुन्छ भन्ने ठानेर यस शृङ्खलामा २०७४ सालको मदन पुरस्कार विजेता कृति ‘योगमाया’ उपन्यासका बारेमा समीक्षात्मक परिचय प्रस्तुत गरिएको छ ।

२. कृति र कृतिकारका सम्बन्धमा

नीलम कार्की निहारिका कवि एवम् आख्यानकार हुन् । वि.सं. २०३१ चैत्र २७ गते, गोठादी, पाल्पामा जन्मिएर एम.ए र एम.एडसम्मको शिक्षा हासिल गरी नेपालमा रहँदा प्राध्यापन तथा सञ्चारकर्ममा समर्पित निहारिका पछिल्लो डेढ दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । २०४४ सालको ‘किसान’ मुखपत्रमा ‘आमा’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गरेकी निहारिकाको ‘मौन जीवन’ (२०५२) उपन्यास पहिलो प्रकाशित कृति हो । यसका साथै ‘नियतिको खेल’ (उपन्यास, २०५४), ‘हवन’ (२०६२), ‘कागजमा दस्तखत’ (२०६४) र ‘बेली’ (२०६७) गरी तीनओटा कथासङ्ग्रहले निहारिकालाई सफल आख्यानकारका रूपमा स्थापित गराइसकेका थिए भने ‘मस्तिष्क ज्वर’ (२०६३) र ‘नीलम कार्की निहारिकाका कविता’ (२०६३) दुईओटा कवितासङ्ग्रहले उनलाई प्रखर कविप्रतिभाका रूपमा चिनाइसकेका थिए । उनको २०७४ मा प्रकाशित ‘योगमाया’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेपछि उनको व्यक्तित्वको चर्चा विश्वव्यापी बन्न पुग्यो भने त्यसपछि प्रकाशित ‘द्रौपदी अवशेष’ (२०७७) उपन्यासले त उनको व्यक्तित्व र कृतित्व दुवैलाई उत्कर्षमा पुर्याएको पाइन्छ ।

जुनसुकै विषयको पनि गहिराइमा पुगेर मर्म पहिल्याउन सक्नु र युगीन जिम्मेवारीका साथ पाठकसमक्ष प्रस्तुत हुनु निहारिकाको लेखकीय वैशिष्ट्य हो । जुन विषयमा आख्यान लेख्नुपर्ने छ, त्यसको गहन अध्ययन गरी, विषयको मर्म पहिल्याएर प्रामाणिक रूपमा नै प्रस्तुत गर्ने कार्यमा उनको लेखनी निकै सचेत देखिन्छ । सामाजिक यथार्थ, भौगोलिक यथार्थ, ऐतिहासिक सत्यता र सम्बन्धित क्षेत्रको आधिकारिक उद्घाटनले गर्दा निहारिकाका उपन्यासहरू सूचना र मनोरञ्जन दुवै कुराका लागि उपयोगी खुराक बनेर आउने गरेका छन् । ‘योगमाया’ उपन्यास ऐतिहासिक विषयको कलात्मक पुनर्जीवनका रूपमा आएको छ ।

३. कृतिको बाह्य संरचना र कथाको स्वरूप

डा. देवी नेपाल

आख्यानकार नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यास डिमाइ साइजका ५०९ पृष्ठमा संरचित छ । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको यस कृतिका अघिल्ला १८ पृष्ठहरू विषय प्रवेशका रूपमा आएका छन् जसलाई ‘आरम्भ’ शीर्षकमा बाँधिएको छ भने ‘प्रसङ्गवश’ शीर्षकअन्तर्गत राखिएका पछिल्ला २० पृष्ठहरूमा लेखकीय अभिमतको आख्यानीकरण गरिएको छ । त्यसपछिका ४ पृष्ठमा चाहिँ स्रष्टा निहारिकाले मदन पुरस्कार प्राप्त गरेको दिन प्रस्तुत लिखित मन्तव्यलाई समावेश गरिएको छ । बिचका पृष्ठ १९ देखि ४८२ सम्मका जम्मा ४६३ पृष्ठमा उपन्यासको मूल कथावस्तु समेटिएको छ ।

‘योगमाया’ उपन्यासको आन्तरिक विभाजन आरम्भ, ठुलीहजुर, दुखुना भन्छे र प्रसङ्गवश चारओटा उपशीर्षकमा गरिएको छ भने ठुलीहजुर शीर्षकभित्र रहेको उपन्यासको मूल कथावस्तुलाई कतै लामा र कतै छोटा ५५ ओटा खण्डमा विभाजन गरिएको छ । यी खण्डहरूभित्र पनि आन्तरिक प्रसङ्गको संयोजनका लागि + + + चिह्न दिइएका ९८ ओटा उपखण्डहरू पाइन्छन् । कुनै तडकभडकरहित अतिसामान्य तर सुन्दर ले–आउटले कृतिको गाम्भीर्यलाई बाह्य रूपमा नै प्रस्तुत गरेको देखिन्छ ।

‘आरम्भ’ शीर्षकको विषय प्रवेशमा विदेशी महिला बार्बरा निम्री अजिज पारिजातलाई भेट्नका लागि उनका घरमा पुगेको, सुकन्या वाइबाले उनलाई स्वागत गरेको र पारिजातसँगको संवादमा नेपाली नारीको विगत र वर्तमानका बारेमा बुझ्ने इच्छा राखिएको सन्दर्भको उल्लेख पाइन्छ । यसपछि ‘ठुलीहजुर’ शीर्षकबाट औपन्यासिक कथाको थालनी हुन्छ । भोजपुरको दिङ्ला क्षेत्रका न्यौपाने परिवारका तुलसाका बा, आमा र तुलसाको संवादबाट तुलसाकी फपू अर्थात् माया (योगमाया) आसामतिर गएको र वर्षौं भेट नभएको सहस्य खुल्छ । यसपछि तुलसाका बाले उपयुक्त साइत हेरेर दिदीलाई लिन आसाम गएर दिदी र भान्जी नैनकलालाई लिएर आएको, दिदी र भान्जीलाई घरैमा राखेर तुलसाकी आमा गङ्गाले सेवा गरेको, कुरैकुरामा मायाले आफ्नो सम्पूर्ण विगत सुनाउने क्रममा गोद्लेका ईश्वर पाध्ये कोइरालासँग आफ्नो सानैमा बिहे भएको, बुहार्तन खप्न नसकेर माइत आएर बसेको, माइतीको टोकसो पनि सहन नसकेपछि सहारा खोज्दै जाँदा एक जना कँडेल फेला परेको, उनैसँग आसामतिर लागेर घरजम गरी एउटी छोरी जन्मिएपछि कँडेलको मृत्यु भएको, त्यसपछि पुनः सहारा खोज्दै गर्दा नैनकलाका बासँग घरबार गरेको र तिनको पनि मृत्यु भएपछि एक्लिएको कहानी सुनाउनु, भोगवादी जीवनबाट विरक्तिएर अध्यात्म मार्गमा लागेको जानकारी दिनु, छोरीलाई छोडेर स्वर्गद्वारी घुम्न जाँदा उनका बारेमा गाउँघरमा अनेकौँ नराम्रा कुराहरू चल्न थाल्नु, स्वयम् भाइले पनि मायालाई तथानाम आरोप लगाउनु तर बुहारीचाहिँ उनका कुराबाट प्रभावित हुनु, स्वर्गद्वारीबाट फर्केर आएपछि मझुवाबेँसीको कप्परगोठमा एउटा कुटी बनाएर तपस्या गर्न थाल्नु, नैनकलाको बालविवाह भएर उनी बालविधवा बन्नु, सतीप्रथा र विधवा विवाहका बारेमा बहस सुरु हुनु, वि.सं. १९७७ देखि मायामा तीव्र क्रान्तिकारिताले प्रवेश पाउनु, पटक पटक भएका अनेकौँ घटना र प्रसङ्गबाट उनका विचारहरू परिवर्तनका संवाहक बन्न सक्ने देखिनु, उनले मानापाथी, डुङ्गा आदिमा देखिने असमानता र जातीय विभेद विरुद्धमा आवाज उठाउनु, तुलसाका बाको निधनका समयमा काजक्रिया र गरुड पुराणसम्बन्धी विचारहरूको स्थापना गर्नु, उनको अभियानमा पं. प्रेमनारायण भण्डारी र गन्जबहादुर बस्नेतहरूले साथ दिनु, उनी त्रिकाल सन्ध्या, भक्ति र भजनमा समर्पित हुँदै जानु र भक्तिनीहरूको दिनप्रतिदिन वृद्धि हुनु, १९९० सालको भुइँचालोको चर्चा हुनु, प्रेमनारायणले चन्द्रशमशेरलाई बिन्तीपत्र चढाए पनि कुनै सुनवाई नहुनु, चन्द्रशमशेरपछि आएका श्री ३ जुद्ध शमशेरलाई भेट्न र धर्मराज्यका लागि धर्मभिक्षा माग्न भक्तिनीहरू काठमाडौँ जानु, पशुपतिमा श्री ३ जुद्धलाई भेटेर बिन्तीपत्र चढाउनु, पशुपतिमा नै मायाले ब्राह्मण विरोधीको आरोपमा गाली खानु, काठमाडौँबाट फर्केर आएपछि भक्त–झक्तिनीहरूको सङ्गठन निर्माण गर्न थाल्नु, आफ्ना मागहरूका बारेमा सुनुवाइ नभएपछि सामूहिक अग्निसमाधिका लागि सबैमा आह्वान गर्नु, आत्मदाह गर्नेहरूको दिनप्रतिदिन वृद्धि हुँदै गएर २४० जनाले एकै दिन अग्निसमाधि लिनका लागि खाल्डा खनेर, घिउ, दाउरा सबै ठिक्क पारिसकेपछि धनकुटाबाट गएको बडाहाकिमको टोलीले केहीलाई समाएर जेलमा हाल्नु, केहीको भागाभाग हुनु, त्यसबाट छुटेपछि गोप्य रूपमा धेरै नारीहरू र केही पुरुषहरूलाई सङ्गठित गरेर वि.सं. १९९८ असार हरिशयनी एकादशीका दिन आफूसहित ६७ जना अनुयायीहरूका साथमा मायाले अरुण नदीमा हामफालेर जलसमाधि लिनु जस्ता घटनाहरू यस उपन्यासको कथावस्तुका रूपमा आएका छन् ।

यस उपन्यासको बिच भागमा इतिहासकेन्द्रित कथावस्तुको संयोजन पाइन्छ भने सुरुमा उपन्यासकारको काल्पनिक कथानिर्माण र अन्त्यमा पनि उपन्यासकारको वैयक्तिक विषयको आख्यानात्मक संयोजन पाइन्छ । यस उपन्यासको अन्त्यचाहिँ उपन्यासकारको प्राक्कथन बनेर आएको छ ।

४. कृतिको अन्तर्वस्तु र गुणात्मक महत्त्व

उपन्यासकार नीलम कार्की निहारिकाको ‘योगमाया’ ऐतिहासिक विषयवस्तुलाई नवीन दृष्टिले हेरिएको उपन्यास हो । प्रस्तुत कृतिको अन्त्यमा राखिएको लेखक स्वयम्को सम्बोधनमा यस्तो कुराको उल्लेख भएको छ— “योगमाया, तिम्रो जीवनका केही पाटा, तिमी र तिम्रा अनुयायीले दिएको महान् योगदानलाई मैले लिपिबद्ध गर्ने प्रयास गरेँ ।… राणा शासनको अन्त्य मात्र पनि तिम्रो चाहना थिएन । धर्मराज्य स्थापनाको भिक्षापत्र बोकेर निर्धक्क तिमी शासक रहने राजधानीको ढोकासमेत ढकढक्याउन पुगेकी थियौ । धर्मराज्यका निम्ति तिमीलगायत ६७ अनुयायीले प्राणको आहुति दियौ । जब तिमीले परिकल्पना गरेको धर्मराज्य अर्थात् सुशासन स्थापना हुने छ तब मात्र हुने छ तिम्रो महान् युद्धको विश्राम र तिम्रो सच्चा सम्मान ।”

प्रस्तुत कुराले यस उपन्यासको कथावस्तुको गहिराइलाई बुझ्नका लागि विशेष सहयोग पु¥याएको छ । उपन्यासको कथावस्तु ऐतिहासिक हो, घटना, पात्र र परिवेश सबै कुरामा ऐतिहासिक सन्दर्भहरू नै जोडिएर आएका छन् तापनि यस उपन्यासको अन्तर्वस्तुमा लुकेको भाव, विचार वा दृष्टिकोणमा भने नितान्त भिन्न र मौलिक सन्दर्भहरू आएका छन् । यसको केन्द्रीय कथ्य योगमायामा रहेको क्रान्तिकारी एवम् परिवर्तनकामी चरित्रकै केन्द्रीयतामा घुमेको छ तापनि यसको आन्तरिक बुनोटमा भने तत्कालीन सामाजिक यथार्थका प्रतिबिम्बनहरू प्रशस्त देखापरेका छन् । आजभन्दा एक शतकअगाडिको पहाडी, ग्रामीण, नेपाली समाजको स्वरूपको स्पष्ट चित्र यहाँ देखाइएको छ । यसमा तत्कालीन वर्गीय समाजमा रहेको लैङ्गिक विभेद, क्रूर बुहार्तन, नारीलाई हेर्ने सामाजिक दृष्टि, बालविवाह, बहुविवाह, जातीय असमानता, वर्गीय शोषण आदि जस्ता कुराहरूलाई पनि सशक्त रूपमा अगाडि ल्याइएको छ ।

इतिहासको कलात्मक पुनर्जीवन यस उपन्यासको सबैभन्दा उल्लेखनीय पक्ष हो । यो नितान्त इतिहास होइन र पूर्ण कल्पना पनि होइन । यो उपन्यास इतिहास र औपन्यासिक कलाको सम्मिश्रण हो । यसमा इतिहासले उपन्यासलाई जीवन दिएको छ भने कल्पना मिश्रित कलाले इतिहासलाई सौन्दर्य प्रदान गरेको छ । आज पनि योगमायालाई चरित्रहीन नारीका रूपमा व्याख्या र विश्लेषण गर्ने समाज एकातिर छ भने अर्कातिर उनलाई विदूषी, क्रान्तिकारी, परिवर्तनकी एक मात्र संवाहक तथा सामाजिक जागरण र सांस्कृतिक रूपान्तरणकी कारक भन्दै देवत्वकरण गर्ने समाज पनि छ । यस उपन्यासले उनले गरेका यथार्थ कार्यहरूको स्पष्ट चित्र अगाडि राखिदिएर सबैका प्रश्नको बौद्धिक जवाफ दिएको छ । मान्छे किन क्रान्तिकारी बन्छ ? बाध्यताले मान्छेलाई के केसम्म गर्ने परिवेश निर्माण गरिदिन्छ ? मान्छेको दृश्य जीवन र भोग्य जीवनका बिचमा कत्रो खाडल रहेको हुन्छ ? कसैको चरित्रमाथि प्रश्न उठाउनुभन्दा अगाडि परिस्थितिको वस्तुगत विश्लेषण गर्नुपर्छ कि पर्दैन ? यी र यस्तै प्रकारका प्रश्नहरूको तार्किक उत्तर दिने काम पनि यस उपन्यासमार्फत भएको देखिन्छ ।

स्थानीय परिवेशको जीवन्त चित्रण यस उपन्यासको अर्को उल्लेखनीय पक्ष हो । भोजपुर जिल्लाको सिम्लेका श्रीलाल उपाध्याय न्यौपाने र चन्द्रकलाकी सुपुत्री माया नै इतिहास प्रसिद्ध योगमाया हुन् । उनले बाल्यकाल बिताएको सिम्ले, बालविवाहपछि घर खान गएको गोद्ले, विविध सन्दर्भमा आएका दिङ्ला वरिपरिका क्षेत्रहरू, अरुण नदी, सङ्खुवासभाका विविध ठाउँहरू, मझुवाबेँसी, कप्परगोठ, स्वर्गद्वारीको गौशाला, पशुपतिक्षेत्र, काठमाडौँबाट रक्सोल पुगेर जोगबनीसम्मको रेलयात्रा, विराटनगर, इटहरी, धरान हुँदै सङ्खुवासभासम्मको यात्रा आदि क्रममा आएका स्थानहरूको यथार्थ चित्रणले यस उपन्यासको स्थानीय परिवेशलाई विश्वसनीय बनाएको छ । यसका साथै उपन्यासको मूल स्थानीय भूगोलका रूपमा रहेको अरुण नदीको वारिपारिको क्षेत्रको अशिक्षित एवम् रुढिवादी नेपाली समाजको स्पष्ट चित्र यस उपन्यासमा देख्न पाइन्छ । एकातिर बालविवाह र जुनसुकै उमेरकी भए पनि बुहारीलाई चाहिँ सताउनै पर्छ भन्ने सामाजिक मान्यता, अर्कातिर पुरुषले जत्ति बिहे गरे पनि केही नहुने र नारीचाहिँ बालविधवा भएपछि अनेकौँ आरोप सहेर भए पनि बस्नै पर्ने बाध्यात्मक अवस्थाको उद्घाटन यहाँ भएको छ । यसरी नै आमाजू, नन्द वा भान्जीहरूलाई गोडामा तेल लगाइदिने सामाजिक प्रचलनलाई र साबुनको अभावमा रिट्ठाले नुहाउने तत्कालीन यथार्थलाई पनि यसले उद्घाटन गरेको छ । साथै व्यक्तिको वास्तविकता नबुझी धारामा, पधेरामा अर्काको कुरा काट्दै हिँड्ने र सहोदर भाइ नै भए पनि गाउँले कुरा सुनेर दिदीको चरित्रमाथि प्रश्न उठाउने अनि परम्परागत रुढिमा कुनै प्रकारको परिवर्तन देखियो भने जात काढ्ने वा जात झार्ने जस्ता सामाजिक यथार्थहरूलाई यस उपन्यासले जीवन्त रूपमा उतार्ने काम गरेको छ ।

इतिहासको उत्खननका साथै पुर्बेली नेपाली समाजका समग्र पक्षहरूलाई यस उपन्यासले खोतल्ने काम गरेको छ । स्थानगत उल्लेखका अतिरिक्त यहाँ प्रयोग भएको भाषाले पनि पुर्बेली नेपाली जीवनको स्पष्ट चित्र खिचेको छ । यहाँका पात्रहरूका बोलीमा स्वाभाविक रूपमा आउने बुइनी (बहिनी), तिमरु (तिमीहरू), उनरु (उनीहरू), सुनो (शून्य), तपैँ (तपाईं), हेरम् (हेरौँ), गरम् (गरौँ) जस्ता भाषिकामैत्री शब्दहरू र ग्वाली, रोटी पोल्नु, कर्केली, जात काढ्नु, जात मुड्नु जस्ता नितान्त ग्रामीण परिवेशमा बोलिने शब्दहरूको स्वाभाविक प्रयोगले उपन्यासलाई थप विश्वसनीय बनाएको छ । यसका साथै “बाको अनुहार हुने छोरी भाग्यमानी पो हुन्छ, भन्छन्” (पृष्ठ ३४), “तेरो यत्ति भातमकै अट्ने भुँडीमा त्यत्ति जाबो कुरो अटेन ?” (पृष्ठ ३८) भन्ने जस्ता लोकविश्वासमा आधारित भनाइहरूले यसको कथावस्तुलाई थप उचाइ प्रदान गरेको छ । यसरी नै निम्नलिखित भनाइले योगमायाको विद्रोहको प्रारम्भिक कारणको उद्घाटन गरेको देखिन्छ—
— बात लगाकै कारण बस्न खान नभएर भागेकी हुन् मायानानी भन्ने लाग्छ मलाई त ! मैले मनपेट पाएसम्म पोइला जाने मन छँदै थिएन उनको । वचनले घोचेरै उनलाई घर छोड्ने बनाए भन्छु म त ! (पृष्ठ ३७)

यसरी नै योगमायाका निम्नलिखित भनाइहरूबाट तत्कालीन समाजमा नारीको अवस्था कस्तो थियो र नारीहरूले कस्तो क्रूर बुहार्तन रहनुपथ्र्यो भन्ने कुरा थाहा पाइन्छ—

— भोकका बेला खान दिन्नन् । काम मात्रै गराउँछन् । भाले नबस्दै उठाउँछन् । लिपपोत पानीपधेरो, घाँसदाउरा, मेलापात, गोठालो सबै गर्नुपर्छ । बिरामी भए पनि आज सन्चो छैन, भन्न पाइन्न । गोरुझैँ जोतिने हो । उठ्दै अल्छिनी, बस्दै अल्छिनी भन्छन् । भैँसीले दुध कम दिए मेरै आँखा लाको रे ! गोरु मरे पनि मेरै दोष रे ! यो भित्राको दिनदेखि कहिल्यै राम्रो भएन भन्दै जे भए पनि मेरै टाउकामा लाउँछन् । म त्यो घराँ जान्नँ आमा ! बरु मर्छु । (पृष्ठ ९२)

— मनै च्यात्तिएर हिँडेकी म त्यो जाबो धोती च्यातिनु के वास्ता गर्नु ? बस्, भोकका आँखा केराको हातोमा थे । (पृष्ठ ८०)

यसरी नै योगमायालाई विद्रोही, क्रान्तिकारी र सामाजिक जागरण तथा सांस्कृतिक रूपान्तरणकी संवाहक किन भनिएको हो भन्ने कुराको जानकारी उनका निम्नलिखित भनाइहरूबाट पाइन्छ—

— म कुसंस्कृति मान्दिनँ । अब तिमी एक्लै रोएर जीवन काट्नुपर्छ भन्ने पनि छैन । एक्ली अबला जनानालाई बाँच्न दिन्न यो समाज ! जहाँ जाऊँ शान्तिको सास फेर्न पाउँदिनौ । जे पर्छ सामना सँगै गरौँला । हिम्मत गर । फेर यस्ता पहिरन । (पृष्ठ १०३)

— कसले बनायो यो चलन ! जस्तो कर्म गरे पनि ब्राह्मणको घरमा जन्मँदैमा ऊ ब्राह्मण ! बनाउनु थ्यो त कर्मको आधारमा बनाउनु थ्यो । जन्मजात कोही ब्राह्मण, कोही शूद्र हुन्छ ? म ज्यान गए मान्दिनँ, यस्ता अन्यायी कुरा ! (पृष्ठ १०९)

— म मायाबाट मुक्त भएँ दुलही ! अब तपस्या गर्छु । आफैँलाई चिन्छु र जीवन के हो, दुनियाँलाई चिनाउँछु । बुझ्दै लेर आउँदा धेरै ज्ञानीको ज्ञानको द्वार तपस्या रछ । बुद्धले पनि ध्यानबाटै ज्ञान पाका थे । म पूरा रित्तिएँ अब, नयाँ तरिकाले भरिन्छु । ज्ञानले भर्छु आफूलाई, भरिएपछि छर्छु । (पृष्ठ १२९)

— धैर्य गर, राम्रा कुरा फैलन समय लाग्छ तर फैलन जरुर फैलन्छ । अर्को कुरा हत्केलाले सूर्य कहिले पो छेकिएको थ्यो र ? छेक्छु भन्ने नै महामूर्ख हुन् । तिनीउपर मेरो दया छ । (पृष्ठ १८२)

— मृत्युपछि कसैका दानले धोईपखाली गर्न सक्दैन, कुकर्म, अधर्म । मुक्ति हुने नहुने तर्ने नतर्ने, स्वयं आफ्नो कर्मले हो । पुरेतलाई दिने दानले स्वर्गको साँघु बनाउन सक्दैन । बन्द गर, यो बैतर्नी तर्ने भ्रमको खेती अहिले नै । (पृष्ठ २०१)

— अधर्म, अन्धविश्वासको विरोध बोल्दा पाप आइलाग्छ भने ती सबै मै थापुँला । ती मेरा झोलीमा हुन् । (पृष्ठ २०३)

मान्छेले आदर्श र सन्तुष्ट जीवन बाँच्नका लागि के गर्नुपर्छ भन्ने बारेमा योगमायाका यी वाणीहरू मार्गदर्शक बन्न सक्छन्—

— ज्ञानपछि प्रायश्चित्त ग¥यो भने पापमुक्त हुन सकिन्छ । सक्छौ प्रायश्चित्त गर । पापमुक्त होऊ । (पृष्ठ १०५)

— बाँच्दैमा मिलेर प्रेम बाँड । जे गर्नु छ, मान्छे जीवित हुँदै गर । मृत्यु भएपछि उसको नाममा गरिने कर्मकाण्डले सन्तान दरसन्तानलाई ऋणको दलदलमा गाड्ने मात्र हो । (पृष्ठ २०४)

— पर्ने छ आखिर अवश्य मर्नु
तृष्णा र सेखी रति क्यै नगर्नू । (पृष्ठ २३५)

— नसा खिचेर शक्ति सञ्चय गर, म अबला हुँ, जनाना हुँ, बिचरा हुँ भन्ने बिर्सन प्रण गर । मैले पनि प्रण गरेकै हो । तिमी फेरि पनि सङ्कल्प गर । (पृष्ठ ३२४)

योगमाया आफूले निर्धारण गरेको मार्ग र आफूले हिँडेको बाटोप्रति कति दृढ, आशावादी र विश्वस्त थिइन् भन्ने कुरा यस भनाइबाट थाहा पाइन्छ—

— एक दिन जुग बदलिन्छ । बदलिन्छ तर त्यसै जादुको छडीले छोएजस्तै गरी बदलिने होइन । चामल आफैँ धोक्रोमा रहेर भात बन्दैन, पकाउने जाँगर गर्नुपर्छ । …परे हामी आगो पनि बन्न सक्नुपर्छ । (पृष्ठ २४९)

— दुष्ट बुद्धिको सेखी गिर्ने छ, अब त धर्मको युग फिर्ने छ । (पृष्ठ ४१९)

योगमायाको क्रान्तिकारी र विद्रोही चरित्रका जति प्रशंसक थिए उति नै विरोधी पनि थिए भन्ने कुराको साक्ष्य निम्नलिखित भनाइ हो—

— ब्राह्मणले गरिखाको देख्न नसक्ने, धर्मविरोधी, संस्कार नमान्ने ! कुन मुखले यहाँ पशुपतिमा आएकी ? दुनियाँलाई मोहजालमा पारेर अन्धभक्त बनाएकी छस् ! घरमाइतीको इज्जतको ख्याल नभएकी, पोइछोडुवी, पोइटोकुवी, अलच्छिनी, पतीता, जैसिनी ! अरुण धमिल्याइस्, अब यता आएर बाग्मती धमिल्याउने सुरमा छस् ! (पृष्ठ ३५८)

तत्कालीन शासन व्यवस्था र राणा शासकहरूको चरित्र के कस्तो थियो भन्ने कुराको उद्घाटन योगमायाको यस भनाइबाट भएको छ—

— भोगविलास, ऐयासी, मनोमानी, जनाना देख्न नहुने लुट, तलदेखि माथिसम्म बेथिति उनकै बोलबाल । यी हुन्, श्री ३ भनेका । (पृष्ठ २४७)

योगमायाले श्री ३ जुद्ध शमशेरलाई धर्मराज्यका लागि बुझाएको धर्मभिक्षा पत्रमा उल्लिखित निम्नलिखित कुराहरू पूर्ण हुनु हो भने आज पनि हाम्रो समाज साँच्चै आदर्श बन्ने निश्चित छ । यस कुराले उनी त्यस युगमा पनि कति सचेत र जनभावना बुझ्ने नारी थिइन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ—

— चर्को ब्याज लिन नपाउने होस् । आइमाईको इच्छाबेगर सौता हाल्नेमाथि प्रतिबन्ध ल्याइयोस् । एक समान मानापाथी कायम होस् । घुस खान नपाउने परम्परा अपनाइयोस् । घुस खानेलाई सजाय कडा दिइयोस् । जात काड्न मुड्न अन्त्य होस् । विधवाले विवाह गर्न चाहे स्वीकृति होस् । छुवाछुत मुक्त होस् । केटाकेटीको उमेर पुगेर मात्र विवाह होस् । केटीको मन्जुरविना विवाह नहोस् । भए बदर होस् र कार्बाही होस् । शिक्षामा भेदभाव नहोस् । सबैलाई पढ्ने व्यवस्था होस् । आइमाईले र सबै जात भनिएकाले पनि वेद पढ्न पाउने होस् । गरुड पुराण लाउने अन्त्य होस् । गरिबीका ऋण मिनाहा होस् । रुद्राक्ष बेच्ने चलन समाप्त होस् । तिरो तिर्दा नगद मात्र होइन, जिन्सीमै पनि तिर्न पाइयोस् । खेतीयोग्य जमिन बाँझो राख्न नपाउने होस् । गाउँमै खादी कपडा बुन्ने, लाउने होस् । गुठीको व्यवस्था होस् । भूदान यज्ञ गरी गरिबलाई जग्गा दिइयोस् । पुराना थोत्रा ऐन खारेजी गरी नयाँ उपवृद्ध बनाई देशभरि लागु गरी धर्मराज्यको घोषणा गरियोस् । (पृष्ठ ३६०)

आफूले भनेअनुसारका मागहरू पूरा नहुँदा र शासकहरूबाट जनभावना कदर नहुँदा आफू मात्र होइन, अनुयायीहरूका साथमा आत्मबलिदान गर्न सक्ने साहसी र त्यागी चरित्रका रूपमा योगमायालाई लिन सकिने साक्ष्य वाक्य यो हो—

— अब मैले अग्निसमाधि लिने निर्णय गरेँ । हरिशयनी एकादशी पारेर यही त्रिवेणीमा यज्ञ गरी त्यस अग्निमा आफूलाई होम गर्ने छु । (पृष्ठ ३९०)

यिनका साथै ध्वन्यात्मक दृष्टिले विशेष अर्थ राख्ने र तत्कालीन ऐतिहासिक सन्दर्भलाई तथ्यगत रूपमा पुष्टि गर्न सक्ने अनेकौँ सान्दर्भिक भनाइहरू यस उपन्यासमा समाविष्ट छन् । यस कारण पनि प्रस्तुत उपन्यास ऐतिहासिक यथार्थको उद्घाटन, औपन्यासिक सौन्दर्यको स्थापना र युगीन साक्ष्यको नवीकरणका दृष्टिले सफल र सबल बन्न पुगेको देखिन्छ ।

५. मूल्याङ्कन तथा निष्कर्ष

उपन्यासकार नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यास कथावस्तु, कथानक विन्यास, चरित्रप्रतिको न्याय, परिवेशगत विश्वसनीयता र भावगत सबलता आदि सबै दृष्टिले निकै सबल र सफल कृति हो । यस उपन्यासले इतिहासको सतहमा रहेर विषयवस्तुको सपाट रेखाङ्कन मात्र गरेको छैन, स्थलगत रूपमा नै अध्ययन गरी विषयवस्तुको गहिराइमा नै पुग्ने प्रयास गरेको देखिन्छ । यसले घटनाको सूक्ष्म अध्ययन गरी युगीन यथार्थ नबिग्रिने गरी विश्लेषणसमेत गरेको छ । अति साना साना कुरालाई पनि विशेष महत्त्वका साथ प्रस्तुत गरेर सफल आख्यानकारको परिचय प्रस्तुत गरेको छ । यो नै ऐतिहासिक उपन्यासले प्रदान गर्ने विश्वास हो ।

प्रस्तुत उपन्यासको बिचको खण्डमा रैखिक ढाँचामा इतिहासको आख्यानीकरण गरिएको छ । यो खण्ड पढ्दा पाठकलाई सूचना र मनोरञ्जन दुवै कुराको प्राप्ति हुन्छ । यस खण्डमा उपन्यासकार निहारिका ऐतिहासिक यथार्थवादी उपन्यासकारका रूपमा देखापरेकी छन् । यो उपन्यास ठुलीहजुरदेखि सुरु भएर प्रसङ्गवशभन्दा अगाडि नै समाप्त भएको भए यो साँच्चै ऐतिहासिक यथार्थवादी उपन्यास बन्ने थियो तर उपन्यासकारमा प्रयोगवादी औपन्यासिक संरचनाप्रतिको आंशिक लोभ देखिन्छ जसका कारण उपन्यासको सुरुमा देखापरेको केन्द्रीय कथ्यका लागि कुनै पनि प्रभाव पार्न नसक्ने बार्बरा र पारिजातको प्रसङ्ग र अन्त्यमा देखापरेको आत्मकथन पनि उपन्यासकै अङ्ग बनेर आएको देखिन्छ । यी दुई सन्दर्भले यस उपन्यासलाई अलिकति प्रयोगशील बनाउनेबाहेक अरू केही पनि काम गर्न सकेका छैनन् । सामान्यतः उपन्यासको कथा नै बोल्ने हो, उपन्यासकार होइन । यहाँ त अन्त्यमा गएर उपन्यासले नै यस उपन्यासको रचनागर्भदेखि लिएर यसको लेखन र प्रकाशनका कारक व्यक्तित्वहरूको नामसमेत उल्लेख गरेर कृतज्ञताकै धर्म निर्वाहसमेत गरेको हुनाले इतिहासलाई आत्मीकरण गरेर पूर्णता दिएको देखिन्छ । सम्पूर्ण पक्ष सुन्दर हुँदाहुँदै पनि उल्लिखित सन्दर्भचाहिँ यस उपन्यासको ऋणात्मक पक्ष बन्न पुगेको छ ।

अन्त्यमा, उपन्यासकार पारिजातको ‘शिरीषको फूल’ (२०२२) नारी स्रष्टाका लागि मदन पुरस्कार प्रदान गरिएको पहिलो उपन्यास हो । त्यसपछि साढे चार दशक कुनै पनि नारी स्रष्टाले मदन पुरस्कार पाएको देखिँदैन । एकै पटक २०६७ सालमा झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ आत्मसंस्मरणले र २०७० मा ‘खलङ्गामा हमला : एउटी नर्सको डायरी’ले मदन पुरस्कार पाएको देखिन्छ । त्यसपछि चौथो नारी स्रष्टाका रूपमा नीलम कार्की निहारिकाले मदन पुरस्कार प्राप्त गर्नुको ऐतिहासिक महत्त्व रहेको देखिन्छ । ऐतिहासिक विषयवस्तुको पुनर्जीवन र मदन पुरस्कारको इतिहासमा सात दशकपछि भए पनि नारी स्रष्टाद्वारा सिर्जित उपन्यासको अर्को थप इतिहास निर्माणका लागि उपन्यासकार निहारिकालाई सहर्ष बधाई ज्ञापन गर्नै पर्छ । यसले सबैलाई उत्प्रेरित गरोस्, हार्दिक शुभकामना !

क्रमशः अर्को हप्ता, अर्को कृति…