अन्दाज ए बयाँ भनेको बयान गर्ने ढंग हो, वर्णनशैली हो, काव्यसिर्जनाको भावभंगिमा हो । उर्दू भाषाको स्वभावअनुसार दायाँबाट बायाँतिर पढ्दा : बयाँ–बयान, ए–को, अन्दाज–शैली, यसरी सबै मिलाएर बुझ्दा अन्दाज ए बयाँ अथवा अन्दाजे बयाँ को अर्थ भयो : बयान गर्ने शैली ।
अन्दाज ए बयाँ बाटै हरेक काव्यविधाको मौलिक व्यक्तित्व र अस्तित्व अनि अरुभन्दा भिन्न विम्ब बनेको हुन्छ । कवि, लेखकको मौलिक वर्णनशिल्पलाई पनि अन्दाज ए बयाँ भनिन्छ ।
विश्वविश्रुत उर्दू महाकवि मिर्जा गालिबका बारेमा भनिएको यो शेर सुनौं :
हैं और भी दुनियाँ में सुखनवर बहुत अच्छे
कहते हैं कि गालिब का है अन्दाजे बयाँ और ।
हुन त यस दुनियाँमा अरु पनि धेरै राम्रा कवि लेखकहरु छन् तर भनिन्छ : गालिबको अन्दाजे बयाँ ती सबैभन्दा भिन्न छ, अरुभन्दा विशिष्ट छ ।
अर्थात् गालिबको कुरै अर्कै !
यस्तै, हुन त राम्रा राम्रा कविता काव्यहरु यस जगत्मा अरु पनि धेरै छन्, तर गजलको कुरै अर्कै !
गजललाई यसरी अन्य काव्यविधाभन्दा भिन्नै वैशिष्ट्य र सामथ्र्य प्रदान गर्दछ : अन्दाजे बयाँ ले, वर्णनशैलीले । सामान्य कवितामा जुन कुरो सोझो समतल पारामा भनिन्छ त्यसैलाई गजलले भिन्न शैलीमा प्रस्तुत गर्दछ, अत्यन्त हृद्य र आकर्षक रूपमा, नयाँ काव्यीय उपकरण र साजसज्जाले सुसज्जित तुल्याएर ।
..
गजलको भाषा
एउटै कुरालाई पनि गीतमा भन्ने शैली एउटा हुन्छ, गजलमा अर्कै । महाकवि देवकोटाको प्रसिद्ध गीति कविता यात्री का यी मीठा पंक्तिहरु सम्झिनुहोस् त :
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?
..
भित्र छ ईश्वर बाहिर आँखा, खोजी गर्छौ कुन पुर?
ईश्वर बस्दछ गहिराइमा, सतह बहन्छौ कति दूर?
..
मनको सुन्दर सिंहासनमा जगदीश्वरको राज ।
..
त्यस्तै प्रश्नोत्तर कवितामा :
देखिन्छ ईश कुन मन्दिरमा पसेर?
त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर !
..
यी भए गीत र कविताका पंक्ति । यो कथ्य र कथनपद्धति अत्यन्त राम्रो छ । तर, यस्तै कुरा गजलमा अर्कै शैलीमा भनिन्छ, अर्कै पारामा कहिन्छ, यसरी :
ईश खोज्न मन्दिरमा धेरै धाइसकें अब –
तिम्रै मन मन्दिरमा धाऊँ धाऊँ जस्तो लाग्यो ।
..
यस्तै,
दिलैबाट उठ्दा अनौठो सुवास
तिमी छौ कहाँ? आज अन्दाज पाएँ ।
..
यी हुन् गजलका शेर । यी दुवै काव्यखण्ड पढेपछि हामी के पाउँछौं भने : गीत र कवितामा जुन कुरा वर्णनात्मक शैलीमा भनिन्छ त्यही कुरा गजलमा संक्षिप्त शैलीमा भनिँदो रहेछ ।
जुन कुरा गीत/कवितामा सामान्यतया अभिधात्मक शैलीमा राखिन्छ त्यही कुरा गजलमा लाक्षणिक शैलीमा वा अभिव्यञ्जनात्मक भंगिमामा राखिन्छ । गीत÷कवितामा व्याख्या र विस्तृति हुन्छ भने गजलमा सूत्रात्मक र सूक्तिमय पारामा कथ्यप्रस्तुति हुन्छ, तैपनि अत्यन्त सरल र मर्मस्पर्शी पाराले प्रतीक र विम्बको भाषामा गजल बोल्दछ ।
..
अन्दाजे बयाँ थरि थरि
कसैले भन्यो :
प्रजातन्त्र आयो भन्थे, गरिबका दिन फिरे भन्थे,
साहुले उत्तिकै खेदिरहेछ, प्रजातन्त्र नि उस्तै रहेछ ।
यो भयो सामान्य कविताको शैली ।
अनि, यो हो गजलको शैली :
फुकेछ बन्धन, पीडा हजार बाँकी छ
झरी बितेर गयो, अश्रुधार बाँकी छ ।
हामी राम्ररी थाहा पाउँछौँ : सामान्य कविताको भाषामा जुन कुरो सोझो, सरल र वाच्यार्थमा देखा पर्छ त्यही कुरा गजलका शेरहरुमा केही वक्रिमा र भंगिमाका साथ देखा पर्दछ : अभिव्यञ्जनात्मक रूपमा । यहाँ प्रजातन्त्र आउनु : बन्धन फुक्नुका रूपमा, गरीबका दिन नफिर्नु : हजार पीडा कायमै रहनुका रूपमा, प्रजातन्त्र नि उस्तै रहेछ : झरी बितेर गए पनि अश्रुधार बाँकी नै रहनुका रूपमा व्यक्त भएको छ । गीतले बयान गरेभन्दा धेरै बढी भावको गहनता, विचारको तीव्रता र अनुभूतिको व्यापकता अत्यन्त सुरुचिपूर्ण ढंगले गजलको शेरमा अभिव्यञ्जित भएको छ । झरी बाहिरी भौतिक पीडाको प्रतीक हो भने अश्रुधार अझ गहन आन्तरिक व्यथाको प्रतीक हो । प्रजातन्त्र पनि आइसक्यो, अब संघर्ष गर्ने ठाउँ पनि छैन, तर पहिले भन्दा पनि अझ व्यापक र गहन रूपमा आन्तरिक व्यथाको अनन्त सिलसिला चलिरहेको यथार्थलाई गजलको शेरले पेश गरेको थाहा हुन्छ । यसरी बढी व्यापक र विश्वजनीन बनेर, बढी तरलीभूत बनेर, बढी घनीभूत बनेर अलिकति अमूर्त र प्रशस्त भावात्मक बनेर आउँछ गजल ।
एउटा अर्को उदाहरण पेश गरुँ :
नेपालमा प्रजातन्त्र ल्याउन भनी लडे
प्रजातन्त्र आएपछि सबले याद गरे ।
यो भयो गीतशैली ।
..
मिटायो जिन्दगी जसले उज्यालोको लडाइँमा
दियो एकान्तमा बल्दा उसैलाई म सम्झन्छु ।
यो चाहिँ गजलको शेर ।
माथिका अभिव्यक्तिपद्धतिहरु हेर्नुहोस् : तिनमा कति धेरै भिन्नता छ । गीतको भाषा वाच्यात्मक छ, गजलको अभिव्यञ्जनात्मक ।
यहाँ गजलमा प्रजातन्त्रको लडाइँ उज्यालोको लडाइँका रूपमा, प्रजातन्त्र आउनु अब शान्तिपूर्ण परिवेशमा दियो एकान्तमा बल्नुका रूपमा प्रतीकीकृत बनेको छ । गीतमा सबले याद गरे भनेर विवरणात्मक र निरपेक्ष शैलीको भाषा प्रयोग गरिएको छ भने गजलको शेरमा उसैलाई म सम्झन्छु भनेर आत्मपरक शैलीमा हार्दिकता, आत्मीय अनुभूति र चासोको अभिव्यक्ति गरिएको छ । प्रजातन्त्र ल्याउने लडाइँमा अर्थात् उज्यालोको लडाइँमा आत्मोत्सर्ग गर्ने हुतात्माप्रति एकान्तमा बलेको दीयोभित्र भावात्मक आत्मीयताका साथ स्मृतिशील हुने बयान नै वस्तुत गजलको अन्दाजे बयाँ हो । यही हार्दिकता, भावतरलता र अभिव्यञ्जनात्मताद्वारा यहाँ उद्धृत शेर अन्दाजे बयाँको चमत्कारले भरपूर स्वादिलो रचना बन्न पुगेको छ, आफ्नै काव्यिक व्यक्तित्वले सजिएर सुरुचिपूर्ण बनेको छ ।
..
भाषा : अभिव्यञ्जनाको
कसैले मानवीय संघर्षको गीत यसरी गायो :
संघर्ष नै हो जन्म, संघर्ष नै जवानी
संघर्ष नै हो केवल मान्छेको जिन्दगानी ।
कृपया नझुक्किनुहोला, जवानी र जिन्दगानीको आनुप्रासिकता देखेर गजलका काफियाको भ्रममा नपर्नुृहोला । यो हो गीतको भाषा, सामान्य, वाच्यार्थमूलक विवरणात्मक भाषा, वर्णनात्मक शैली ।
अब यो पढ्नुहोस् :
झरीसँगै रुझ्नुपर्छ, हुरीसँगै झुल्नुपर्छ
एउटा चोखो फूललाई पहरामै फुल्नुपर्छ ।
यो हो गजलको अन्दाजे बयाँ । यहाँ संघर्षमय जीवन चोखो फूल मा प्रतीकीकृत बनेको छ । उसको संघर्ष झरी र हुरीसँग हुर्कनुमा मुखरित भएको छ र संघर्ष पहरामा पनि फुल्ने स्वभावमा झल्किएको छ । यसका अलावा स्वच्छन्दताले ओतप्रोत, प्रकृतिको असीम अवकाशमा क्रीडारत, आँधीहुरीसँगसँगै आन्दोलनशील, कुनै पनि दागधब्बा नलागेको दिव्य प्रकृतिपुष्प नै मानवीय जीवनको चोखो रूप हो भन्ने रूपकालंकारमय चमत्कारपूर्ण अभिव्यञ्जना सहृदयैकवेद्य बनेर यहाँ अभिव्यक्त बनेको पाइन्छ ।
यसरी हामी स्पष्टतया थाहा पाउँछौं : गजलमा अन्दाजे बयाँको चमत्कार कस्तो हुँदो रहेछ ।
..
मायाको बोली
प्रिय भारतीय शायर निदा फाजलीको यो शेर सम्झन्छु :
सबको आता नहीं दुनियाँ को सजाकर कहना
जिन्दगी क्या है? मोहब्बत की जुवाँ से सुनिये ।
यस जगत्लाई शानदार शैलीमा सजाएर भन्न सबैलाइै आउँदैन । जिन्दगी के हो ? मायाको बोलीमा सुन्नुहोस् ।
गजलको भाषामा सुन्नुहोस् जिन्दगीको रंग कति विविधतापूर्ण छ, भावमय छ र मनमोहक छ । किनभने गजलको भाषामा गहिरो जादू छ । यो अनुरागको, अनुभूतिको र हृदयको भाषा हो । मायाको बोली हो । यसै बोलीलाई भनिन्छ : अन्दाजे बयाँ ।
कुनै होहल्ला नगरीकन, मर्मस्पर्शी इशाराले एउटा हृदयको अनुभूति अर्को हृदयसम्म पु¥याउने हुनर गजलको प्राप्ति हो, जसरी उत्तम फूलको परिमल चूपचाप हृदयले महशूश गर्दछ । गजलको स्वभाव हुन्छ ? सुप्रसिद्ध भारतीय शायर वशीम बरेलवीको यो शेरबाट बुझ्नुहोस् :
हमको महशूश किया जाये है खुशबू की तरह
हम कोइ शोर नहीँ हैँ जो सुनाइ देगेँ ।
हामीलाई त खुशबू झैँ महशूश गरिन्छ, हामी कुनै होहल्ला त होइनौं नि जो सुनिऔँ ।
अर्थात् सुनिने होइन, महशूश गरिने वाक्शिल्प नै गजलको अन्दाजे बयाँ हो, अनि यसै अन्दाजे बयाँले रच्दछ : तगज्जलको दुनियाँ ।
के हो तगज्जल भनेको ? हजुरका मनमा अवश्य जिज्ञासा जागेको हुनुपर्छ ।
प्रिय गजलरसिक बन्धु, आउनुहोस् अर्को आइतवार यसैबारे चर्चा गरौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।