
१. प्रवेशद्वार
वरिष्ठ कवि घनश्याम कँडेलको ‘धृतराष्ट्र’ खण्डकाव्यले २०७३ सालको मदन पुरस्कार प्राप्त ग¥यो । यस वर्षदेखि मदन पुरस्कार गुठीले अगाडि नै उत्कृष्ट कृतिहरूको नाम सार्वजनिक गर्ने कार्यको थालनी गरेको थियो त्यसैले पाठकहरूका लागि यो कार्य नयाँ लागेको थियो । यसै बारेमा पनि अनेकौँ टीकाटिप्पणीहरू नेपाली साहित्यको बजारमा सुरु भइसकेका थिए । कवि घनश्याम कँडेल स्थापित प्रतिभा भएका कारण केहीले पूर्वअनुमान लगाएका थिए तर कृति सानो भएका कारण मदन पुरस्कार विजेता नै होला भन्नेचाहिँ धेरैले अनुमान लगाएका थिएनन् । त्यसैले प्रस्तृत कृतिले मदन पुरस्कार पाउने घोषणा हुनासाथ यसमाथि पनि यस प्रकारका अनेकौँ टीकाटिप्पणीहरू सुनिए—
— जम्मा ४० पृष्ठ कविता भएको कृतिले मदन पुरस्कार पायो, कस्तो अचम्म !
— घनश्याम कँडेललाई कृतिका लागि भन्दा पनि उनको लामो साहित्यिक योगदान हेरेर छनोट गरेका होलान् !
— घनश्याम कँडेल लामो समयसम्म त्रिविमा पढाएर अहिले सेवानिवृत्त व्यक्ति हुन्, पुरस्कार छनोट समितिमा उनका चेलाहरू थिए होलान् त्यसैले गुरुभक्ति देखाएछन् ।
— मदन पुरस्कार गुठीले पुराण, इतिहास वा प्राचीन कथाहरूदेखि बाहेक अरूलाई चाहिँ कहिल्यै साहित्य नदेख्ने भयो, यस पटक पनि पुराणले नै मदन पुरस्कार पाएछ ।
— आख्यानलाई मात्र मदन पुरस्कारका लागि योग्य ठानिन्थ्यो, यस पटक खण्डकाव्यले पुरस्कार पाएछ, यो कविहरूका लागि सुखद कुरा हो ।
— भित्र गुदी कुरा छ भने त कृति सानै भए पनि फरक पर्दो रहेनछ । आकारलाई होइन, कृतिको शक्तिलाई हेरिन्छ भन्ने कुरालाई यस पटक मदन पुरस्कार गुठीले प्रमाणित गरिदियो । ठुला ठुला ढड्डा लेखेर मदन पुरस्कार ताक्नेहरू यो वर्षचाहिँ जिल्ल परेछन् !
यी र यस्तै प्रकारका धेरै खाले क्रिया प्रतिक्रियाहरू नेपाली साहित्यिक बजारमा सुन्न पाइयो । यो हरेक वर्षको निरन्तरता हो । यस्ता कुराहरू भइरहन्छन् तापनि कृति नपढीभन्दा पढेर नै समीक्षा गर्नु सान्दर्भिक हुन्छ भन्ने ठानेर यस शृङ्खलामा २०७३ सालको मदन पुरस्कार विजेता कृति ‘धृतराष्ट्र’ खण्डकाव्यका बारेमा समीक्षात्मक परिचय प्रस्तुत गरिएको छ ।
२. कृति र कृतिकारका सम्बन्धमा
कवि घनश्याम कँडेल वि.सं. २००२ सालमा रिचोक्टार, मलेखु, धादिङमा जन्मिएका हुन् । नेपाली र अङ्ग्रेजीमा एमए तथा बीएलसम्मको शिक्षा हासिल गरी त्रिभुवन विश्वविद्यालयमा चार दशकभन्दा लामो समयसम्म प्राध्यापन गरी हाल सेवानिवृत्त जीवनमा सिर्जनाकर्म गरिरहेका कँडेलका यसभन्दा अगाडि नै ‘देवयानी’ २०३९, ‘उज्यालोतिर’ २०५५, ‘आँसुका अक्षर’ २०६०, ‘विश्वामित्र मेनका’ २०६६ र ‘वनको क्रन्दन’ २०६८ गरी पाँचओटा खण्डकाव्यहरू प्रकाशित छन्, ‘धृतराष्ट्र’ (२०७३) उनको छैटौँ खण्डकाव्य हो । यिनका साथै उनका ‘जीवनका सन्दर्भहरू’ (२०५१), कवितासङ्ग्रह र ‘केही अन्वेषण, केही विश्लेषण’ (२०४०), ‘पाश्चात्य यथार्थवादी नाटक’ (२०४६) र ‘नेपाली समालोचना’ (२०५५) जस्ता समालोचनात्मक कृतिहरू पनि प्रकाशित छन् । पूर्वीय र पाश्चात्य समालोचनाका गहन अध्येताका रूपमा परिचित कँडेलको ‘धृतराष्ट्र’पछि पनि उनका पूर्वप्रकाशित सम्पूर्ण खण्डकाव्यहरूलाई एकै ठाउँमा समेटिएको कृति ‘घनश्याम कँडेलका खण्डकाव्य’ (२०७७) र ‘सम्यक् सम्बद्ध’ (२०७८) महाकाव्य जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् । ‘धृतराष्ट्र’ उनको खारिएको कवित्वले सम्पन्न कृति हो । महाभारतका प्रसिद्ध पात्र धृतराष्ट्रलाई केन्द्रमा राखेर पौराणिक मिथक वा पुराण प्रसिद्ध कथालाई वर्तमानका आँखाले हेर्नु र युगानुकूल पुनव्र्याख्या गर्नु यस कृतिको विशिष्ट चिनारी हो ।
३. कृतिको बाह्य संरचना र कथाको स्वरूप
कवि घनश्याम कँडेलको ‘धृतराष्ट्र’ खण्डकाव्य डिमाइ साइजका ९६ पृष्ठमा संरचित छ । ऐरावती प्रकाशन प्रालिले प्रकाशन गरेको यस कृतिका अघिल्ला १८ पृष्ठहरू समर्पण, भूमिका, कृतज्ञता र विषयसूचीले भरिएका छन् भने पछिल्ला ३७ पृष्ठमा पनि डा. रामप्रसाद ज्ञवालीको विस्तृत समालोचकीय भूमिका रहेको छ । बिचका पृष्ठ १९ देखि ५९ सम्मका जम्मा ४० पृष्ठमा खण्डकाव्यको मूल कथावस्तु वा कवित्वको उपस्थिति देखिन्छ । यस खण्डकाव्यको मूल्य रु २००/— राखिएको छ ।
काव्यको सुरुमा नै ‘समर्पण’ शीर्षकमा यस्तो कवितात्मक अभिव्यक्तिको उल्लेख गरिएको छ—
जो जन्मन्छन् यहीँ पोख्छन् आफ्नो पौरख जो यहीँ
अन्धा, अपाङ्ग हुन् भन्दै हेपिन्छन् तर जो यहीँ
जो यसै देशका लागि सधैँ नै छन् समर्पित
क्षमता छ सधैँ नै छन् तर औसर वञ्चित
म तिनै बन्धुमा गर्छु यो सानो काव्य अर्पण
पाउन् बाँच्न प्रतिष्ठाले तिनले पनि जीवन ।
समर्पणपछि ‘धृतराष्ट्र’मा घनश्याम कँडेलको कवित्व’ शीर्षकमा प्रा.डा. माधवप्रसाद पोखरेलको सारगर्भित भूमिका रहेको छ भने कवि स्वयम्को कृतज्ञता रहेको छ । यसपछि सुरु भएको खण्डकाव्यको मूल कथावस्तुलाई विभिन्न शीर्षकका सात खण्डमा विभाजन गरिएको छ । प्रस्तुत खण्डकाव्य पुरै अनुष्टुप् छन्दमा सिर्जना भएको छ र यसलाई पूर्वदीप्ति शैलीमा लेखिएको छ । धृतराष्ट्रको आत्मालापमा प्रकट भएको पूर्वस्मृति नै यस खण्डकाव्यको भावगत केन्द्र बनेर आएको छ । दुई हरफे अनुष्टुप् छन्दका ४६ श्लोकमा संरचित ‘अन्धत्व चेत’ शीर्षकको यस खण्डकाव्यको पहिलो खण्डमा बालक धृतराष्ट्रको अन्धोपनसम्बन्धी अनुभूतिलाई प्रस्तुत गरिएको छ । ४० श्लोकमा संरचित ‘संवेदनाहीनहरूप्रति’ शीर्षकको दोस्रो खण्डमा अन्धा, अपाङ्गहरूप्रतिको तत्कालीन सामाजिक दृष्टिकोणलाई अगाडि सारिएको छ । यसरी नै ३१ श्लोकमा संरचित ‘सत्तास्वप्न’ शीर्षकको तेस्रो खण्डमा राज्यसत्ताले मान्छेलाई पार्ने प्रभावसम्बन्धी कवितात्मक विश्लेषण गरिएको छ भने ६५ श्लोकमा संरचित ‘स्वप्नभङ्ग’ शीर्षकको चौथो खण्डमा मानवीय विचार र व्यवहारमा पाइने भिन्नताको चित्रण गरिएको छ ।

डा. देवी नेपाल
यसरी नै २७ श्लोकमा संरचित ‘अप्रत्याशित राज्यप्राप्ति’ शीर्षकको पाँचौँ खण्डमा धृतराष्ट्रको राज्यप्राप्तिसम्बन्धी घटनालाई प्रस्तुत गरिएको छ, ६४ श्लोकमा संरचित ‘युद्धको त्रासदीपछि’ शीर्षकको छैटौँ खण्डमा कौरव र पाण्डवबिचको लडाइँले पारेको मानसिक प्रभाव र त्यसबाट उत्पन्न छटपटीलाई कवित्व प्रदान गरिएको छ भने ४० श्लोकमा संरचित ‘समाहार’ शीर्षकको सातौँ खण्डमा धृतराष्ट्रको आत्मबोधका साथमा कविदृष्टिको स्थापना गरिएको छ । यसरी अनुष्टुप् छन्दका दुई हरफे जम्मा ३१३ श्लोकमा यस खण्डकाव्यको सम्पूर्ण कथावस्तु समेटिएको छ । दुई खण्डका बिचको कथावस्तुको पूर्वापर प्रसङ्गलाई जोड्नका लागि शीर्षकको मुनि कोष्ठकमा (सर्वसंहारपछि आफ्नो अतीतितर्फ फर्केर हेर्ने क्रममा धृतराष्ट्रले देखेका आफ्ना बाल्यकाल, अन्धत्वको बोध, त्यसपछि बिस्तारै उनका मनमा जाग्दै गएका जिज्ञासा र तत्सम्बन्धी प्रतिक्रिया) जस्ता गद्यात्मक भनाइहरूको प्रयोग पाइन्छ । यसले पाठकलाई घटना र कवित्वसँग जोड्दै अगाडि बढाउन सहयोग पुगेको देखिन्छ ।
खण्डकाव्यको मूल कथावस्तुको समाप्तिपछि राखिएको कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीको ‘कवि घनश्याम कँडेल र धृतराष्ट्र’ शीर्षकको ३७ पृष्ठको समालोचकीय भूमिकाले कृतिको गुरुत्ववृद्धिमा विशेष भूमिका खेलेको देखिन्छ ।
४. कृतिको अन्तर्वस्तु र गुणात्मक महत्त्व
कवि घनश्याम कँडेलको ‘धृतराष्ट्र’ पौराणिक विषयवस्तुलाई नवीन दृष्टिले हेरिएको वैचारिक खण्डकाव्य हो । प्रस्तुत कृतिको ‘कृतज्ञता ज्ञापन’ खण्डमा लेखक स्वयम्ले भनेका छन्– “धृतराष्ट्र आत्मालापीय शैलीमा पूर्वस्मृतिका रूपमा लेखिएको खण्डकाव्य हो । यस खण्डकाव्यका नायक पनि धृतराष्ट्र हुन् र सम्पूर्ण घटना र प्रसङ्गहरूका प्रस्तोता पनि उनै हुन् । …यस खण्डकाव्यमा खास गरेर अन्धताको समस्या, अन्धा भएका नाताले धृतराष्ट्रले भोग्नुपरेका समस्या, उनीमाथि गरिएका अन्याय र अत्याचार, प्रतिक्रियास्वरूप उनको मनमा पैदा भएका आक्रोश र प्रतिशोधका भावना, त्यसको प्रतिफलका रूपमा भएको महाभारतको युद्ध, युद्धपछिको उनको मनस्थिति र अन्त्यमा युद्ध एवम् त्यसका कारणबारे उनका निष्कर्षात्मक विचार उनकै आत्मालापका रूपमा व्यक्त भएका छन् ।”
प्रस्तुत कुराले यस खण्डकाव्यको कथावस्तुको गहिराइलाई बुझ्नका लागि विशेष सहयोग पु¥याएको छ । खण्डकाव्यको कथावस्तु पौराणिक हो, घटना, पात्र र परिवेश सबै कुरामा पौराणिक सन्दर्भहरू नै जोडिएर आएका छन् तापनि यस खण्डकाव्यको अन्तर्वस्तुमा लुकेको भाव, विचार वा दृष्टिकोणमा भने नितान्त भिन्न र मौलिक सन्दर्भहरू आएका छन् । यसको केन्द्रीय कथ्य धृतराष्ट्रमा रहेको अन्धताले सिर्जना गरेको मनोवैज्ञानिक द्वन्द्व हो । हरेक कुराले पूर्ण हुँदाहुँदै पनि उनले दृष्टिहीन हुनुको पीडा भोगेका छन् । उनले तत्कालीन समाजबाट, आफ्नै परिवारबाट र राज्यका उच्चपदस्थ व्यक्तिहरूबाट जुन प्रकारको लाञ्छना भोग्नुपरेको छ त्यो अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपरेको सामाजिक अपमानकै प्रतिबिम्ब हो । अपाङ्गता भएका कारण स्वयम् राजाले त यस्तो अवस्था भोग्नुपर्छ भने सर्वसाधारणको सामाजिक अवस्था के होला भन्ने गम्भीर प्रश्न यस खण्डकाव्यले उठाएको छ ।
मूल कथा पौराणिक, मूल भाव मानवतावादी र मूल उद्देश्य फरक क्षमता भएका व्यक्तिहरूप्रतिको सम्मानको खोजी भए पनि यस खण्डकाव्यभित्र व्यञ्जनात्मक दृष्टिले उच्च कोटिका कवितांशहरू अत्यधिक मात्रामा पाइन्छन् । तिनले काव्यका सन्दर्भमा मात्र नभएर अन्य सन्दर्भमा समेत उत्तिकै सशक्त सन्देश बोकेर आएका छन् । कविले धृतराष्ट्रका माध्यमबाट दृष्टिविहीनहरूको मनोविज्ञान र अनुभूतिको विश्लेषण यसरी गरेका छन्—
न देख्छु दिन हाँसेको रोएको न त रात नै
न देख्छु विरही सन्ध्या न प्रफुल्ल प्रभात नै । (पृष्ठ–२०)
न रङहरू छुट्टिन्छन् छुट्टिन्छन् न त आकृति
मेरो यो दृष्टिमा हुन्छ सबैको नै उही स्थिति । (पृष्ठ–२०)
देख्छन् रे देख्न सक्नेले सृष्टिलाई सधैँ नयाँ
सृष्टि कस्तो छ गर्थें म तर केवल कल्पना । (पृष्ठ–२१)
देख्दैनौँ सृष्टिमा हामी कुनै सङ्गति शृङ्खला
कसरी किनमै बित्छन् जिन्दगीका पला पला । (पृष्ठ–२३)
प्रस्तुत अभिव्यक्तिमा दृष्टिविहीनहरूको कारुणिक जीवनबोधको प्रतिबिम्बन पाइन्छ । यसले मान्छेमा आफ्नो जीवनप्रतिको थप दार्शनिक दृष्टिकोणलाई जन्माएको देखिन्छ । साथै मान्छेभित्र रहेको संवेगात्मक अवस्था र चिन्तनका बारेमा विश्लेषण गर्न पनि प्रस्तुत सन्दर्भहरूले सहयोग पु¥याएका छन्—
के हो जीवनको सत्य जान्न सक्दैन क्वै पनि
पाएको जिन्दगी भोग्न व्यक्ति बाध्य छ तैपनि । (पृष्ठ–२३)
लाग्छ छैन यहाँ मान्छे सर्वथा स्वस्थ क्वै पनि
तर खोज्दछ ऊ बाँच्न जिन्दगी जसरी पनि । (पृष्ठ–२४)
कि हुन्छ परपीडाको यो प्रवृत्ति सबैसित
दिँदैन बस्न मान्छेले मान्छेलाई सुखीसित । (पृष्ठ–२७)
शारीरिक रूपमा अपाङ्ग देखिए पनि तिनमा फरक क्षमता हुन्छ जसले सबलाङ्गहरूलाई पनि कत्तिपय कुरामा चुनौती दिएका हुन्छन् भन्ने जस्ता गम्भीर एवम् व्यावहारिक सन्देश बोेकेका पद्यहरू यहाँ प्रशस्त पाइन्छन्—
सबलाङ्गहरू ठान्छन् जसलाई असम्भव
त्यही अपाङ्गका लागि बन्न सक्दछ सम्भव ।
नहुँदैमा कुनै अङ्ग सिद्धिँदैनन् सबै कुरा
इच्छाशक्ति भए हुन्छन् मान्छेका सपना पुरा । (पृष्ठ–२८)
यसरी नै यस खण्डकाव्यको कथावस्तु विस्तारका क्रममा, धृतराष्ट्रको अनुभूतिको अभिव्यक्तिका क्रममा र विचार स्थापनाका सन्दर्भमा आएका निम्नलिखित अभिव्यक्तिहरूमा मानवजीवनको समग्रताको उद्घाटन भएको पाइन्छ । तिनलाई फरक फरक सन्दर्भबाट यसरी हेर्ने सकिन्छ—
१. मान्छेको अवसरवादी प्रवृत्तिको चित्रण
चलाख, चाकडी, चुक्ली हुन् अस्त्र चाटुकारका
चलाउँछन् यिनै अस्त्र ती चलाउन जीविका । (पृष्ठ–३१)
२. राजनीतिक क्रूरताको चित्रण
कि सक्छ राजनीतिमा जसले गर्न जे पनि
रेट्न सक्छ गला आफ्नै भाइले भाइको पनि । (पृष्ठ–४०)
३. मर्मान्त पीडा र आक्रोशको शालीन अभिव्यक्ति
जानी जानी भरे मेरा मनमा जसले घृणा
तिनलाई घृणाभन्दा के दिऊँ छ र के ममा ?
मभित्र छ छताछुल्ल आक्रोश द्वेष केवल
के गरेर बगाऊँ म अब सद्भावको भल ।
मेरो हृदय नै आज छ बाँधmो मरुभूमिझैँ
त्यहीँ नै कसरी बग्ला स्नेहको सरिता कुनै ? (पृष्ठ–४४)
४. गीताको दार्शनिक प्रभाव
न मर्दछ यहाँ कोही कसैले न त मार्दछ
देही मर्दैन यो देह त्यत्तिकै पनि मत्र्य छ ।
बाल, तारुण्य, वार्धक्य जस्तै हो मृत्युको दशा
जन्मिएपछि हो मर्नु सृष्टिको अनिवार्यता । (पृष्ठ–५०)
५. मानवीय संवेदनाहीनता र जडताको प्रतिरूप युद्ध भएको वैचारिक अभिव्यक्ति
कि हुन्छ युद्धमा मान्छे यन्त्रवत् परिचालित
युद्धमा होमिँदा हुन्न मायामोह कसैसित ।
पति मर्छन् पिता मर्छन् मर्दछन् दाजुभाइ नै
त्यो क्रूर युद्धले निल्छ सजिलै सबलाई नै ।
जितेझैँ युद्धमा लाग्छ जितेको हुन्न आखिर
मनमा त्रास छोडेर जान्छ त्यो युद्धले तर ।
भन्दैनन् युद्ध राम्रो हो ज्ञानीले ज्ञानले पनि
युद्धको छैन औचित्य भन्छ विज्ञानले पनि । (पृष्ठ–५६)
६. न्यायको समाप्ति नै विद्रोहको थालनी भएको मान्यता स्थापना
थुनिन्छन् न्यायका ढोका हुन्नन् बाटा विकल्पका
बन्दो रहेछ त्यो बेला बाटो विद्रोह नै सदा ।
न्याय पाए सबैले नै भए निष्पक्ष शासन
सकिन्थ्यो गर्न उद्घोष गए ती युद्धका दिन । (पृष्ठ–५९)
ध्वन्यात्मक दृष्टिले विशेष अर्थ राख्ने यी भनाइहरू खण्डकाव्यात्मक सन्दर्भमा भन्दा पनि बाह्य सन्दर्भमा निकै बलिया लाग्दछन् । यिनमा भावगत अभिव्यञ्जना पाइन्छ, समाजबोध, युगबोध र जीवनबोधको प्रमाण पाइन्छ र सबै प्रकारको जीवन दर्शन पाइन्छ जसले प्रस्तुत खण्डकाव्यलाई कवित्वका दृष्टिले र भावगत गहिराइका दृष्टिले सफल, सबल र पूर्ण बनाउनमा विशेष भूमिका खेलेको देखिन्छ ।
५. मूल्याङ्कन तथा निष्कर्ष
कवि घनश्याम कँडेलको ‘धृतराष्ट्र’ खण्डकाव्य भाव, विचार र कवित्वका दृष्टिले निकै सबल र सफल खण्डकाव्य हो । यसको विषयवस्तु, पात्र र परिवेश पौराणिक भए पनि यहाँ प्रस्तुत विचार र प्रस्तुतिको शैली पूर्णतः मौलिक देखिन्छ । धृतराष्ट्र मानवीय संवेगको एउटा मूर्त बिम्ब बनेर यहाँ देखापरेका छन् । उनको अनुभूति समग्र मानव अनुभूति हो, उनको भोगाइ शारीरिक अपाङ्गता भएका मान्छेहरूको सामाजिक भोगाइ हो र उनको अपेक्षा समग्र सचेत मानवजातिको अपेक्षा हो । मान्छेले मान्छेलाई उसको प्रतिभा, क्षमता वा आन्तरिक शक्तिका आधारमा नभएर बाह्य पक्षबाट हेर्ने प्रवृत्तिको अन्त्य गरी मानवीय आन्तरिकको पहिचान र सम्मानमा जोड दिनुपर्छ भन्ने कुराको स्थापना नै यस खण्डकाव्यको वैचारिक निष्कर्ष हो ।
कविता मूलतः भावना वा अनुभूतिकै उपज हो तापनि त्यसमा तार्किक मस्तिष्क र विश्लेषणात्मक जीवनदृष्टिले प्रवेश पाउन सक्यो भने त्यो सूक्ति बन्दछ भन्ने कुराको स्थापना यस खण्डकाव्यले गरेको छ । साथै कविता भनेको लम्बेतान व्याख्या होइन, अनावश्यक विषय विस्तार होइन, वैयक्तिक गनथन होइन र विषय तन्तुलाई लिएर उनिने जाल पनि होइन, यो त सूत्र हो, सूक्ति हो, मन्त्र हो र बिन्दुमा सिन्धु खिच्न सक्ने कला हो भन्ने कुराको व्यावहारिक पुष्टि पनि यस खण्डकाव्यले गरिदिएको छ । यसले बाहिरी आकार वा कृतिको आयातन र परिधिका आधारमा कृतिकारको बौद्धिकता र सिर्जनाशक्तिको मापन गर्नेहरूलाई गुणात्मक मूल्यको परिचय दिएको छ र चुरो छ भने सानो काठ पनि बलियो हुन्छ भन्ने गतिलो सन्देश सम्प्रेषण गरेको छ ।
यस खण्डकाव्यको सबल पक्ष भनेको प्राचीनता र नवीनताको अन्तर्घुलन हो । यस खण्डकाव्यले छन्दकवितामा स्तुति, प्रशस्ति र भजनहरू मात्र लेखिन्छन्, छन्दकवितामा युग बोल्न सक्दैन, मानवीय जीवनका समस्या, आवश्यकता र समकालीन युगचेतनाको प्रतिनिधित्व हुन सक्दैन भन्ने कुराको घतलाग्दो जवाफ दिएको छ । यति हुँदाहुँदै पनि पाठकले मदन पुरस्कार प्राप्त कृतिमा सर्वाङ्ग पूर्णताको अपेक्षा राख्ने गर्दछ । त्यसमा पनि कविता कल्पना, विचार र शिल्प तीनओटै पक्षसँग सम्बन्धित विधा भएका कारण यसले सत्यको सूक्तीकरणको अपेक्षा राख्नु स्वाभाविक हो । सिर्जनात्मक सौन्दर्यको उच्चतम प्राप्तिको अपेक्षा सर्जक र भावक दुवैमा नरहने हो भने सिर्जनात्मक प्रगतिका पाइलाहरू त्यहीँ रोकिन्छन् । त्यसैले कवि घनश्याम कँडेलको छ दशक लामो काव्यसाधनाको उपज कृति हरेक कुरामा मानक बन्नुपर्छ भन्ने लाग्दछ । विषयछनोट र भावविधानमा प्रस्तुत कृति सबल देखिए पनि भाषिक परिष्कारमा भने यो कृति परम्परित छन्दविधानकै निरन्तरताका रूपमा देखापरेको छ ।
यस खण्डकाव्यमा सूत्रात्मक कवित्वको पाटो बलियो देखिन्छ तर ९६ पृष्ठको कृतिमा ४० पृष्ठ कविता र बाँकी ५६ पृष्ठचाहिँ भूमिकाले गर्दा कृतिलाई भद्दा बनाएको छ । भाषिक प्रयोगमा क्वै, क्यै, औसर जस्ता परम्परित प्रयोगका अवशेषहरू अझै पनि बाँकी नै देखिन्छन् भने अधत्व (अन्धत्व) जस्ता अशुद्ध रूपहरू अझै पनि बाँकी नै रहनु यस कृतिको दुर्बल पक्ष हो ।
अन्त्यमा, कवि मुकुन्दशरण उपाध्यायको ‘प्राकृत पोखरा’ (२०२१) मदन पुरस्कार पाउने पहिलो खण्डकाव्य हो । त्यसपछि २०२५ सालमा धर्मराज थापाको ‘मङ्गली कुसुम’ खण्डकाव्यले मदन पुरस्कार पाएको थियो । त्यसपछि केही महाकाव्य, केही लामा कविता र केही कवितासङ्ग्रहहरूले मदन पुरस्कार पाए पनि खण्डकाव्यले चाहिँ ४८ वर्षपछि ‘धृतराष्ट्र’मार्फत मदन पुरस्कार प्राप्त गरेको छ । यसलाई एकातिर अँध्यारामा पिल्पिलाएको एउटा आशाको दियोका रूपमा लिन सकिन्छ भने अर्कातिर उत्कृष्ट कृति सिर्जना गर्न सक्ने हो भने मदन पुरस्कार हरेक विधाले पाउन सक्छ भन्ने कुराको स्थापना पनि गरेको छ ।
क्रमशः अर्को हप्ता, अर्को कृति…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

