साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

युवा प्रेम र यौनका ‘मात्रै’ ग्राहक हुन् ?

मेरो भन्दा दुई दशकजति बढी उमेरकी एकजना कथाकार दिदीले भन्नुभयो, “भाइ, के गर्नु । अलि अलि यौन नमिसाए कसैले किन्दैन । जमानै यस्तै छ ।”

Chovar Blues Mobile Size

बालसाहित्यको ठुल्दाइ किशोर साहित्य ।

अझै उपल्लो — युवा साहित्य । ‘युवा साहित्य’ नै भन्ने त केही हुँदैन । तर एकछिनलाई युवाले रुचाउने साहित्य भनेर बुझौँ ।

बालसाहित्यमा त चङ्खे बाँदर र धतुरेकै युग सकिएको छैन नेपालमा । कता हो विज्ञान । कता हो मनोविज्ञान ।

छुच्चो छु नि । भनेको थिएँ कुनै बेला— नेपाली बालासाहित्यले कुनै नायकै दिएन । ‘म त्यो जस्तो बन्छु’ भन्नलाई कुनै आदर्श पात्रै दिएन बालसाहित्यले । त्यसो भन्दा झण्डै कुटे नि हौ । कसरी छैन नायक ? हामीले यत्तिका कथा लेखिसक्यौँ नायक राखेर !

यस्तो पो भने ।

sagarmani mobile size

हरि ओम् ।

कडै पो भयो कि आलोचना ।

धन्न भनेनन्— तैँले लेखेर लछारपाटो लाउँदा हुन्थेन ? आफू पनि बालसाहित्यकार भनेको होइन ?

हुन त, बालसाहित्य भन्ने तर सन्देश चैँ ठूलालाई दिने गरेर लेखियो । हाम्रो बालसाहित्य पढेर सच्चिनुपर्ने चाहिँ नेता, आमा, बाउ, मास्टर, ठुल्दाइ, पसले, पालेदाइ… जग, मग, धेरै ।

बालकको भाषामा आएको, र एउटा–दुइटा पीडित, अथवा दिग्भ्रमित वा छुच्चो वा अति ज्ञानी बालक पनि भएको हुँदा त्यसलाई ‘बालसाहित्य’ भन्नुपर्ने बाध्यतामा बाँच्नु परेको समय जो छ ।

बालसाहित्यको ठुल्दाइ किशोर साहित्य । अनि, युवाले रुचाउने साहित्य ।

मलाई यतातिर अलि बढी चासो छ । किशोर वा युवा लक्षित साहित्य लेख्छु भनेर होइन । म लेख्दिनँ खासै । तर किशोरहरूमै चासो । युवाहरूमै । कारण छ ।

हाम्रो देशमा किशोर साहित्य छैन नै भन्दा पनि हुन्छ । टिन अथवा यङ एडल्ट्स लिटरेचर भन्छन् नि । त्यो । छ, फाट्टफुट्ट । तर, फाट्टफुट्ट मात्रै । २०७२ तिर त गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कारको स्थापना पनि भएको थियो । पछि कसो भयो, थाहा भएन । बजारमा किशोर साहित्य त्यति आएको देखिएन ।

उसो भए किशोर तथा युवाहरू के पढ्छन् त ?

बालसाहित्य ? होइन । हो, बेला बेला ।

जातक कथा ? होइन । हो, बेला बेला ।

पौराणिक कथा ? होइन । हो, बेला बेला ।

जासुसी कथा ? होला । तर त्यो मात्रै होइन कि ?

प्रेम कथा ? यौन कथा ?

… । तीनवटा थोप्ला । जानेर राखेको ।

यी तीन थोप्लामा कुरा छ । गहन ।

महेश पौड्याल

किशोर वा युवाहरू के पढ्छन्, त्यसमा अलि पछि आउँछु ल । अर्को कुरा गर्नु छ । कुराको ताँदो जोडिँदैन कि फेरि ! मान्छेका दुःख नि ।

एउटा अटल सत्य के छ भने, आजको मितिमा हाम्रो साहित्यको बजार टिकाएको युवा–विद्यार्थीले हो । यसमा धेरै किशोर पनि छन् ।

हामी, अलि उमेर पाकेकाहरू र दुईचार पुस्तक कसोकसो छापिसकेकाहरू चैँ कसैले पुस्तक दिए पढ्छौँ । नदिए मागेर पढ्छौँ । अपवादलाई सलाम ।

एउटा कार्यक्रम थियो । एकजना जुझारु समीक्षकको पनि सम्मान थियो । सम्मानपछि मेरो छेउमा आउनुभयो र भन्नुभयो, “अपरिचित अनुहार पढ्नै पाछैन ।”

सोधेँ, “किन होला?”

“ल्याएकै छैन । झोलामा बोक्नुभा छ?”

“छैन ।”

हामी धेरै यस्तै हौँ । मैले छातीमा हात राखेर मम भनेँ ।

तर युवाले त्यो भन्दैनन् । पुस्तक प्रदर्शनी — युवाको घुइँचो । साहित्य महोत्सव – युवाको घुइँचो । नाटकघर — युवाको घुइँचो । कविता वाचन — युवाको घुइँचो । प्रतियोगिता — युवाको घुइँचो । चकटी बहस — युवाको घुइँचो । पुस्तक चर्चा — युवाको घुइँचो ।

अलि अलि वयस्क पनि । केही लेखक, समालोचक, प्राध्यापक वा पत्रकार पनि । तर केही । केही नै । न घुइँचो, त फुइँचो । सुइँकुच्चो ।

कहिलेकाहीँ सनक चलेको बेला पुस्तक पसलमा गएर बस्छु । कहिलेकाहीँ प्रदर्शनीहरूमा गएर पनि बस्छु । आउने जाने धेरै । पुस्तक किन्ने युवा । थोरै अपवाद । युवालाई पनि सलाम । अपवादलाई पनि सलाम ।

साहित्यको बजार कसले टिकाएको छ ? यो प्रश्न सायद आवश्यक नै छैन ।

अब गाँठी कुरो यहाँ छ ।

नेपालमा किशोर साहित्य खासै छैन भनियो । तर बजार टिकाएको किशोरले पनि हो भनियो । युवाले त हो नै ।

आजका किशोर, युवा र विद्यार्थीेले नेपाली साहित्यको बजार टिकाएका छन् भन्ने कुराको सुराक कतिपय लेखकहरूले थाहा पाइसकेका छन् । बजारको धुनअनुसार नाच्नुपर्छ भन्ने मनोविज्ञानले अचम्मै गर्यो ।

कस्तो अचम्म ?

कथा भन्छु ल ?

मेरो गाउँमा धेरैले सिजनमा तोरी लगाउने । धेरै फल्ने तोरी । एक वर्ष तोरीको भाउ नै आएन । पटक्कै । एक दिन, राति बाह्र बजेतिर भाउ आएछ, ह्वात्तै । गाउँमा कसैले थाहा पाएनन् । तर छिमेकमा मामा पर्ने एक जना थिए । उनले थाहा पाएछन् । कला कस्तो भने, पर्सि के हुन्छ, आजै थाहा पाउँछु भन्थे । नभन्दै, राति बाह्र बजे तोरी बजार पुर्याएछन् र बेचेछन् । भोलिपल्ट उज्यालो हुँदै तोरीको भाउ जैसे थे । मामाले झण्डै डेडा मूल्य पाए । गाउँमा हाई हाई । तोरी मामा फेमस ।

यस्तै । तर साहित्यमा ।

किशोर, युवा र विद्यार्थीले साहित्यको बजार टिकाएका छन् भन्ने कुरा अलि बुझिँदैन । नबुझौँ जस्तो लाग्छ । नमानौँ जस्तो लाग्छ । यिनीसँग पैसा नै हुँदैन भन्न सजिलो । आजका ठिटा कहाँ पढ्छन् भनेर भन्न सजिलो । ‘पढ्दै पढ्दैनन्, पढ्दै पढ्दैनन्’ भनिरहँदा यिनकै अनुहार त अगाडि आउने हो ।

तर सत्य हो । यो सत्य थोरै लेखकले थाहा पाएका छन् । धेरै लेखक, लेखिरहँदा आफ्नो कल्पनाको संसारमा प्रबुद्ध वयस्क पाठक, कलाका स्थापित पारखी र साहित्यवेत्तालाई कल्पना गर्दा हुन् । त्यो कल्पना सुन्दर छ, तर पनि कल्पना हो त्यो । यथार्थ फरक छ ।

तर एकथरिले चाहिँ बुझे युवाले धानेको बजारको मर्मकथा । तर ठूलो गल्ती गरे ।

के गरे ?

एउटा पुरानो, काइते धारणा छ बजारमा । युवामाझ ‘क्याचर इन द राय’ ज्यादै लोकप्रिय भएको देखे । मार्क ट्वेनको ‘टोम स्वेयर’ फेमस भएको पनि चाल पाए । ‘हकलबरी फिन’ पनि खुसुखुसु पढेको देखे होला । अरू पनि धेरै…

यी सबै लोकप्रिय किशोर अथवा युवालक्षित आख्यानको एउटा समान लक्षण के थियो भने यिनमा कतै न कतै यौनको कुरा छ । कतै न कतै प्रेमको कुरा छ । तर यो मात्रै छैन नि । यो कथासँगै जोडिएर अएको अतिरिक्त कुरा हो, जो अन्य वयस्कलक्षित साहित्यमा पनि पाइन्छ । तर नि, बाह्र बजे तोरीको भाउ छोप्न खप्पिस हामीले जीवनका अन्य कुरालाई तपसिलमा राख्यौँ र ‘अतिरिक्त’ बनायौँ । तर उपन्यास वा कथा प्रेम वा यौनकै बारेमा लेख्यौँ ।

बुझाइ के भने नि—

— प्रेम भएपछि युवाले पढ्छन् ।
— यौन भएपछि युवाले पढ्छन् ।
— दुवै भएपछि ‘सबै’ ले पढ्छन् ।

मेरो भन्दा दुई दशकजति बढी उमेरकी एकजना कथाकार दिदीले भन्नुभयो, “भाइ, के गर्नु । अलि अलि यौन नमिसाए कसैले किन्दैन । जमानै यस्तै छ ।”

सायद उहिले पनि यो भन्थे ।

आज पनि भन्छन् ।

सायद भोलि भनि भन्छन् ।

तर म भन्छु— यो क्लिसे हो । ओ खण्डित सत्य हो । यो अर्ध सत्य हो ।

कारण छ ।

कारणतिर पछि आऊँला । पहिले कुरा प्रेम र यौनको । इन्टरेस्टिङ छ नि, होइन र?

हो यसै ‘इन्टरेस्टिङ’ मा बहस गर्नु छ ।

प्रेम र यौनलाई केन्द्रमा राखेर उपन्यासको बाढी चलाइयो बितेका दशकमा । कति आए कति । क्लोनै क्लोन भनौँ न ।
उहिले उहिले पनि भएको देखियो यस्तो ।

अहिले पनि छ ।

भोलि पनि हुने छ ।

स्थायी तर्क हामीसँग छँदै छ ।

लक्ष्य — युवा । किशोर । विद्यार्थी ।

टिकाउनुपर्ने — बजार ।

हुनुपर्ने महान् कार्य — बिक्री ।

माने, साहित्यको अन्तिम लक्ष्य – बिक्री ।

अलि गहिरिएर सोचौँ है ।

जगाउनुपर्ने भाव — प्रेम र यौनको ।

प्रेममात्रै ? हुँदैन होला । जोखिम हुन्छ छाप्न । प्रेममात्रै त प्लेटोको दर्शनमा छ । कबिरदासका दोहामा छ— अढाई आखर प्रेमका पढे सो पण्डित होय । सत्यवान् र सावित्रीको कथामा छ । अमर प्रेम ।

यही लेख्दा हुँदैन?

हुन्छ । हुँदैन ।

हुन्छ । तर नयाँ कुरा भन्नलाई केही छ कि छैन त प्रेममा? सायद छैन ।

अनि यौनमा?

छ । जति पुरानो भए पनि (सायद सबै भन्दा पुरानो जनचासो यही हो । तर, सायद ।) हरेक नयाँ दिन, नयाँ प्यास बनेर आउने — यौन ।

हो, त्यही बिक्छ ।

यसै मनोविज्ञानबाट ग्रसित छ हाम्रो समयको एउटा ठूलो साहित्यिक भँगालो ।

लेख्न पाइन्छ । बेच्न पाइन्छ । गाँजा बेचेको होइन क्यारे । किताबै बेचेको हो । पाइयो नि । धुमधाम पाइयो ।

तर नि, यत्रो ठूलो उद्योगका पछाडि जुन बुझाइ छ नि, त्यसले चाहिँ मैले चिनेको किशोर, युवा र विद्यार्थीको ठूलो अवमूल्यन गरेको छ ।

आजको युवा — प्रेम र यौनले भरिएको साहित्य मात्रै पढ्छ र त्यो पढेर लठ्ठ हुन्छ भन्ने मनोविज्ञान ‘लिटटरी पोर्न’ को मनोविज्ञान हो । यसमा बहस गरौँ ।

बहस नगराैँ । सबैलाई मनपर्छ, त्यस्तो ।

तर नि, त्यो ‘त्यस्तो’ छ नि, त्यो अनुभव गर्नलाई त अचेल अनेकौँ माध्यम छन् । होलान् भनौँ न । भन्न पो मिलेन ।

र हामीले आफूलाई जलाएर, मेटाएर, गलाएर, तपस्या गरेर लेखेको किताबको अन्तिम लक्ष्य पनि कुनै एउटा पोर्न मुभीको अन्तिम लक्ष्यजत्तिको मात्रै हो भने लेख्नुको प्रयोजन कसरी खिइयो र स्खलित भएर गयो, सोचौँ । स्थिति त्यो नै हो भने, यत्रा साहित्य र दर्शनका सिद्धान्त, सौन्दर्यशात्रका ठेली, रूपका कुरा, संरचनाका कुरा, अलङ्करणका कुरा, उदात्त चिन्तनका कुरा, सबैको हितका कुरा ? सबै तपसिल ? सबै भाँड मे जाए ?

प्रश्नचैँ गम्भीर हो । मैले उठाउन मात्रै अलि नजानेको हो । ढङ्ग नपुगको नि ।

अनि कि, ठूलो सङ्ख्यामा जो बिक्छ नि, त्यसमा पाठकीय संवाद वा प्रतिक्रियका कुरा गरौँ एक छिन् । लामो चैँ नगरौँ । बोर हुन्छ ।

ती भाइरल किताब किन्ने वा पढ्ने ‘पाठक’ जो छन् नि, ती बोल्छन्? आफूलाई लागेको भन्छन्? प्रतिक्रिया दिन्छन्? सभामा देखिन्छन्? अखबारमा? लेखकसँग साक्षत्मकार गर्छन्? बाझ्छन्? झगडा गर्छन्? सम्पर्क र संवादको पुल बनाएका छन्? चेतनाले पढेका छन् कि अवचेतनले? क्रिटिकल रिडिङ हो कि प्यासिभ रिसेप्सन्?

त्यस्ता पाठक चेतनको पहिलो स्तरमा हुन्छन् । ती संवाद गर्दैनन् । प्रतिक्रिया दिँदैनन् । पढ्छन् । पढिरहन्छन् । मागेर, खोसेर, किनेर, तानेर… लठ्ठ हुन्छन् ।

यता हामी स्वयम्भू सेलेब्रिटी — मक्ख । किताब हिट ।

मलाई लाग्छ— यो पुस्ताको चेतना उठाउनु पनि हाम्रो लेखकीय ध्यये हुनुपथ्र्यो । उमेरले नै उसमा आरोपित गरेको स्वाभाविक र प्राकृतिक जिज्ञासुपन र उच्छृङ्खलतामा हामी घिउ थपिरहेका छौँ र त्यसमा व्यापार भइरहेको छ । यो कुरा एउटा नैतिक जिम्मेवारी अथवा लेखकीय अभिभारको पनि कुरा होला ।

‘भाँड मे जाए अभिभारा । उत्तराधुनिक समयमा आउनुभयो पण्डितजी उपदेश लिएर’ भनेर भन्लान् भन्ने पनि डर छँदैछ ।
तर नि, कुरा छ । बहस सकिएको छैन ।

कहिलेकाहीँ तर्क सुन्छु — यौन शिक्षाका लागि । सम्बन्धको ज्ञानका लागि । प्रेमको परिचयका लागि ।

किशोरावस्थाको ऊहापोहको जनकारीका लागि । चेतनाका लागि । मानौँ, ती साहित्य नआएको भए यी युवाले कुरा नबुझ्ने । मानौँ यस्तो साहित्य नलेखिएको कुनै समुदायका युवालाई प्रेम र यौनको सम्यक नियम नै थाहा छैन र सबै बिग्रिएका छन् । अथवा, मानौँ हामी पाठ्यक्रमको किताब लेखिरहेका छौँ । अथवा, मानौँ हामी जनचेतना शिविरमा बाँढ्ने पर्चा लेखिरहेका छौँ । मानौँ, हामी स्वास्थ्यकर्मी र मनोविज्ञ हौँ । मानौँ…, भो नमानौँ होला अब । मान्दा, मान्दा १५०० शब्द भइसक्यो । कति मान्नु ।

र नि, कुनै पनि शिक्षक, प्रेरक, चिकित्सक, मनोविज्ञ, सचेतक, उत्प्रेरक — कुनै पनि दायित्वका लागि अयोग्य हामी, खै के सिकाउन प्रेम र यौन ‘मात्रै’ लेख्छौँ । हामीलाई थाहा छ उत्तर — त्यो बिक्छ नि । मज्जा मान्छन् । युवाले प्रेम र यौन पढ्छन् ।

अनि कि, युवाहरूको एउटा अर्को तह पनि छ । ती युवा चेतनामा अलिकति उठेका छन् । तर्क गर्छन् । जीवन र जिम्मेवारी बुझेका छन् । विश्वसाहित्य र दर्शन पढेका छन् । हामी एक ठाउँ बसेर हावादारी साहित्य लेख्ने लेखकले भन्दा गहिरो र उँचो तिनको जीवन बोध छ । विज्ञानको ज्ञान छ । र नि, लेखकसँगको उनीहरूको अपेक्षा सगरमाथाजस्तो छ ।

मेरो एउटा बानी — दुर्व्यशन नै भनौँ न — के छ भने, म हिँडिरहन्छु । कुदिरहन्छु । काममा वा जागिरमा अलिकति खुकुलो समय पायो कि दौडिहाल्छु । त्यसैले दिदी भन्छे— भाइ, विश्वविद्यालयमा पढाउँछु भन्छस्, कुदेको मात्रै देख्छु । कतिखेर पढाउँछस्?

मेरा पीडित विद्यार्थीलाई थाहा छ ।

र, यसरी हिँड्दा मैले भेट्ने ठूलो समूह भनेको युवाको हो । विद्यार्थीको हो । किशोरहरूको हो । नहिँड्दै पनि विश्वविद्यालयमा मैले भेट्ने समूह यही हो । कुरा गर्छु । मज्जालो घुलमिल हुन्छन् । अँगालो मार्छु । बेटा बेटी भन्छु । कुरो हुन्छ साहित्यकै । तिनका तर्क सुन्नु जरुरी छ ।

हामीले गरेको तिनको चेतनाको अवमूल्यनको प्रायश्चित्त गर्नु जरुरी छ । अघि माथि मैले भनेँ नि, उठ्न बाँकी एउटा ‘सामान्य’ चेतनको पनि एउटा तह छ । त्यसले प्रेम र यौनसहितको साहित्य त्यसै प्रयोजनले पढ्ने, जुन प्रयोजनले अलिक हुर्किएका सडक बालकहरू रुमालमा डेन्ड्राइट दलेर सुघ्छन् ।

हाम्रो साहित्यको प्रयोजन नै त्यही हो भने मलाई भन्नु केही छैन । ओम् भनेर लामो सास फेर्छु ।

तर अचम्मको कुरा भन्न त पाइन्छ नि?

सबको । सबको समालोचना गरिदिन्छन् चेतनामा एक तह उठेका आजका युवा । यो चेतनामा एक तह उठेका भनेको चाहिँ के हो? त्यो के – डेन्ड्राइटको गन्धबाट अलिकति उठेर ‘स्व’को खोजीमा लागेका आजका विद्यार्थी, आजका युवा, आजैका नागरिक ।

तिनलाई कल्पेर लेखिएको साहित्य लर्तरो हुनु हुँदैन ।

केही महिनायता फेरि ज्याद्रोसँग हिँडिरहेको छु । घुमिरहेको छु । धेरैलाई भेटिरहेको छु । तर धेरैचाहिँ युवा । किशोर । विद्यार्थी ।

मेरो पारा नै अलि बुढ्यौली हो कि क्या हो । कथा लेख्न खोज्छु, के हुन्छ के । न यौन । न प्रेम । एकजना टेलिभिजनकर्मी ऋषिराम उपध्यायले त भन्नु पनि भयो— निरश भएन र?

यही निरश साहित्य बोकेर हिँडेको । जोखिम सानो हो र?

तर नि, कुरा बेग्लै छ ।

सुर्खेतकी एलिजा सिंह ठकुरीलाई लाग्छ— आवाज नभएको दिन जीवन पनि रहँदैन । आवाजबाट भागेर जाने ठाउँ छैन ।

एउटी किशोरीलाई यो कुरा मन पर्यो ।

कहाँ छ प्रेम ? कहाँ यौन ?

होमराज चलाउनेलाई सहचालकमा देखिएको मानवता मनपर्यो । यौनको सम्भावना न्यून छ भन्ने जानेरै अपाङ्ग अप्सरासँग बिहे गर्यो सहचालक मनेले । यानि, यौन निशेषित क्षेत्रमा प्रवेश गर्यो । होमराजलाई यो कुरा निक मन पर्यो?

भक्तपुरको खोप्रिङ स्कुलमा पुगका थियौँ हामी । स्कुले बालबालिकाले भने — भोकले मन्दिरमा लडेर मरेकी बहिनीको पीडाले छोयो ।

समकालीन नेपाली आख्यान, विशेष गरी कथालाई गम्भीर रूपले पढिरहेका, तर चेतनको स्तर अलि उठेका र स्रष्टा बन्नतिर उन्मुख केही युवासँग पनि कुरा गरिरहेको छु । प्यूठानका नवीन रोकायलाई जेले छोयो, त्यो प्रेम वा यौन होइन । त्यसले पनि छोला (नछुने को नै होला र?) तर त्यसले ‘मात्रै’ छुन्छ एउटा युवा पाठकलाई भन्ने कुरा गलत हो । सोध्दै जानु छ निरन्तर— सुन्सरीका अजय क्षेत्रीलाई केले छोयो? उदयपुरका प्रदीप बस्नेतलाई केले छोयो? झापा बस्ने मनोज बोहरालाई? उदयपुरका राजु उबरकोटीलाई नि? उनका साथी आर्यश शर्मालाई? पोखरामा सुदर्शन पौडेल नाम गरेका युवाका तीखा र बौद्धिक प्रश्न झेल्नलाई लर्तरो तरिकाले खुट्टा टेकेर सकिँदैन । के खोजिरहेका छन् चितवनका शरद ऋतु, काभ्रेका किशन कार्की, सोलुखुम्बुकी प्रेरणा कट्टेल, देवदहका समिन गैरे, सुर्खेतकी नेहा बस्नेत अथवा सिन्धुलीका विजय माझी ? जापन बस्ने युवा रबिन शर्मा, मुम्बई बस्ने युवा माधव काफ्ले, दिल्ली बस्ने रोहित लाम्गाधे अथवा बर्मा बस्ने तिलक पोखरेल के खोजिरहेका छन् ?

यी कुनै पनि काल्पनिक नाम होइनन् । यी सबै युवा छन् धरतीमा, र सामान्य चेतनाबाट निकै माथि उठेका सर्जक हुन् ।

यो तहमा युवाहरूलाई दर्शन चाहिएको छ । जीवनको वैकल्पित व्याख्या चाहिएको छ । दोबाटोमा एउटा उज्यालो चाहिएको छ । यिनीसँग प्रश्न छन्, उत्तर चाहिएको छ । यिनीसँग दृष्टि छ, सुनिदिने र अक्षरमा उतार्ने लेखक चाहिएको छ । यिनीहरूसँग हाम्रो सभ्यताको उपल्लो तहको मार्गचित्र छ । त्यसको सम्मान पनि चाहिएको छ ।

हामी रुमालमा डेन्ड्रइट दलेर लोभ्याउन खोजिरहेका छौँ उनीहरूलाई भूगोल पार्क छेउछाउ ।

हामी यिनलाई प्रेम र यौनका ‘मात्रै’ ग्राहक सोचिरहेका छौँ वा प्रेम र यौन नभएको साहित्य यिनले पढ्दैनन् भन्ने ठानिरहेका छौँ भने हामीले ठूलो भ्रम पालिरहेका छौँ । ठूलो भूल गरिरहेका छौँ । अन्याय गरिरहेका छौँ ।

वास्तवमा उनीहरू अर्कै केही मागिरहेका छन् । हामी कुतर्क गरिरहेका छौँ ।

लेखक परिचय
प्राध्यापक at त्रिभुवन विश्वविद्यालय

महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुनुहुन्छ । साहित्यतर्फ उहाँ बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुनुहुन्छ । पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् भने उहाँका अनुवाद र सम्पादनमा आएका कृतिको संख्या करिब ३ दर्जन छन् ।

प्रतिक्रिया
Loading...