२०७८, मङ्सिर महिना पार्टीहरूको महाधिवेशनमय बन्यो । मङ्सिरको उत्तरार्धमा नेपाल काङ्ग्रेसले आफ्नो १४ औँ महाधिवेश सम्पन्न गर्यो । उक्त महाधिवेशनको प्रभाव सबैभन्दा बढी राजनीति र सञ्चारको क्षेत्रमा पर्ने नै भयो । मङ्सिर महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा पनि नेपाली काङ्ग्रेसको महाधिवेशनको प्रभाव देखिएको छ ।

यो महिनाको बेस्ट सेलर सूचीको बाजी नरहरि आचार्यको पुस्तक ‘जीवनको पाठशालाः सम्झना र सम्बन्ध’ले मारेको छ । काठमाडौँ उपत्यकाका २०, काठमाडौँ बाहिरका १० र २ अनलाइन पुस्तक बिक्रेताहरुबाट प्राप्त रिपोर्टलाई आधार मान्दा बिक्रीका हिसाब यस पुस्तक पहिलो बनेको हो । त्यस्तै, काङ्ग्रेस सम्बद्ध पुस्तक ‘कसले सुधार्छ काङ्ग्रेस ?’ र ‘बीपी कोइरालाको डायरी’ क्रमशः सूचीको सातौँ र नवौँ स्थानमा पर्न सफल भएका छन् ।

राजनीतिक विश्लेषक शंकर तिवारीकृत ‘कसले सुधार्छ काङ्ग्रेस ?’ र वि.सं. २००८ देखि २०१३ सालसम्म बीपीले लेखेको डायरी ‘बीपी कोइरालाको डायरी’ पहिलोपटक साहित्यपोस्ट बेस्ट सेलर सूचीमा अटाएका हुन् । यो महिनाको सूचीको पहिलो स्थानमा पर्न सफल रानीतिज्ञ तथा विचारक नरहरि आचार्यको आत्मकथा “जीवनको पाठशालाः सम्झना र सम्बन्ध” अघिल्लो महिना (कात्तिक) को बेस्ट सेलर सूचीको तेस्रो स्थानमा पर्न सफल भएको थियो ।

नेपाली राजनीतिको पछिल्लो परिवर्तन आचार्यको भूमिका उल्लेखनीय थियो । नेपाली काङ्ग्रेसलाई गणतन्त्रको बाटोमा हिँडाउनमात्र नभएर संविधान निमाणर्मा समेत आचार्यको योगदान विशेष थियो ।

असोज र कात्तिक महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा लगातार पहिलो स्थानमा रहन सफल महेश पौड्यालको नवीनतम कथासङ्ग्रह “अपरिचित अनुहार” मङ्सिर महिनाको सूचीको तेस्रो स्थानमा झरेको छ । कथाकार पौड्याल साहित्यका नवप्रवेशीलाई साथसाथै लिएर हिँड्न रुचाउनेहरुमध्ये पर्छन्, जसको प्रभावस्वरूप पुस्तक प्रकाशनमा आएदेखि नै उनको पुस्तक बिक्रीमा अब्बल रहँदै आएको बिक्रेताहरू बताउँछन् ।

मङ्सिर महिनाको बेस्ट सेलर सूचीको दोस्रो स्थानमा दार्जीलिङका स्रष्टा प्राध्यापक महेन्द्र पी लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ रहन सफल भएको छ । पुस्तकले समेटेको विषयवस्तु, लामाको व्यक्तित्व तथा लोकप्रियताको सकरात्मक असर पुस्तक बिक्रीमा परिरहेको बिक्रेताहरूको बुझाइरहेको छ । अघिल्लो महिनाको “साहित्यपोस्ट बेस्ट सेलर” सूचीको दोस्रो स्थानमा रहेको निलम कार्की निहारिकाकृत द्रौपदी अवशेष भने यसपटक सूचीमा अटाएको छैन ।

यो महिनाको सूचीको चौथो स्थानमा जिएस पौडेलको पछिल्लो उपन्यास ‘पहेँलपुर’ पर्न सफल भएको छ भने अघिल्लो महिना सूचीको चौथो स्थानमा रहेको केशव दाहालको पद्मश्री विजेता पुस्तक ‘मोक्षभूमि’ सूचीबाट बाहिरिएको छ । पौडेलको पहिलो पुस्तकको साखका कारणले दोस्रो पुस्तकको बिक्रीसमेत सुखद भएको बिक्रेताहरुले बताएका छन् ।

मङ्सिर महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा टीकाराम रेग्मीको उपन्यास ‘उज्यालोतिर’ले डेब्यु गरेको गर्दा अघिल्लो महिना सूचीको पाँचौँ स्थानमा रहेको सुजित मैनालीकृत खोज-अनुशन्धानमा आधारित पुस्तक “सतीः इतिहास र मीमांस” आठौँ स्थानमा पुगेको छ । जीवनको उर्जावान् समय शिक्षणमा बिताएका रेग्मीले उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डोर्याउने प्रयास गरिएको छ ।

त्यस्तै, यसअघि कात्तिक महिनाको बेस्ट सेलर सूचीमा रहेका कथाकार श्याम शाहको कथासङ्ग्रह “पथेर”, राजु अधिकारिको उपन्यास राज्याभिषेक, योङ्गे मिङ्ग्युर रिम्पोछेको सेल्फहेल्फ विधाको पुस्तक ‘जिउनुको मज्जा’, प्रतीक ढकालको रोमाञ्चकारी यात्राको सँगालो “त्यो उज्यालो कर्णाली” मङ्सिर महिनाको सूचीबाट बाहिरिएका छन् ।

त्यस्तै, सूचीको छैटौँ, सतौँ, आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः सुरेश बडालको अनुवाद रहेको पाउलो कोएलोको “हिप्पी”, शंकर तिवारीको “कसले सुधार्छ कांग्रेस ?”, सुजित मौनालीको “सतीः इतिहास र मीमांस”, बीपी कोइरालाको डायरी र वसन्त पराजुलीको “मोम्चो” पर्न सफल भएका छन्  । “सतीः इतिहास र मीमांस”बाहेकका चार पुस्तक पहिलोपटक सूचीमा अटाएका हुन् ।

पढ्नुहोस्, बिक्रेताहरुको अनुभव, सूचीमा पर्नुको कारण र छोटो परिचयसहित मङ्सिर महिनाको बेस्ट सेल सूचीमा समावेश पुस्तकहरुः

१. जीवनको पाठशाला, सम्झना र सम्बन्ध

नेपाली राजनीतिको पछिल्लो परिवर्तनका एक प्रमुख राजनीतिक व्यक्तित्व नरिहरि आर्चायको आत्मकथा “जीवनको पाठशाला, सम्झना र सम्बन्ध”ले मङ्सिर महिनाको बेस्ट सेलर सूचीको बजी मारेको छ । दसैँअघिअघि बजारमा आए पनि काङ्ग्रेस महाधिवेशनको मुखैमा विमोचन गरिएको यो पुस्तकको बिक्री विमोचन स्थलबाटै उल्लेखनीय मात्रामा भएको थियो ।

विद्यार्थीकालदेखि प्राध्यापनकाल हुँदै राजनीतिक जीवनकालमा लोकतन्त्रको मूल्य, मान्यता र प्रक्रियामा सुदृढ हुनगएको राजनीतिक विश्वास, विचार र कार्यक्रम यस कृतिका विषयवस्तु रहेका छन् । आर्चायले आफू आबद्ध पार्टी नेपाली काङ्ग्रेसलाई गणतन्त्रको बाटोमा ल्याउन मात्र नभएर संविधान निमाणर्मा पनि सकरात्मक भूमिका खेलेका थिए । त्यही सम्झनालाई शब्दमार्फत उनका बाल्यकालदेखि विविध राजनीतिक घटनाक्रमको विकासक्रमका साथै मष्तिस्कघातपतिको जीवनलाई लयमा फर्काउने प्रयत्नसम्मका कुराहरुलाई आचार्यले आफ्नो आत्मकथामा समेटेका छन् ।

आचार्यको व्यक्तित्व तथा काङ्ग्रेस महाधिवेशनका कारण पुस्तकको बिक्री सुखद् भएको बिक्रेताहरुको मत रहेको छ । काङ्ग्रेसमा आचार्यको भूमिका विशेष रहेको तथा उनी कार्यकर्ताका माझ बौद्धिक नेताका रूपमा स्थापित रहेकाले पनि पुस्तकको बिक्रीमा सकारात्मक प्रभाव परेको हो । पुस्तकलाई दसैँअघि साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो ।

२. ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन

दार्जीलिङका सुपरिचित लेखक एवम् प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ मङ्सिर महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा परेको छ । भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दाहरुमा केन्द्रित यो पुस्तकमा लामाले दार्जीलिङको समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढङ्गबाट चित्रण गरेका छन् ।

पुस्तक विभिन्न ६ वटा खण्डहरुमा विभाजित छः ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ । पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ; तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ; कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरु के हुन्– यी र यस्ता विषय पनि समेटिएका छन् ।

लेखक नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडिजका वरिष्ठ प्राध्यापक एवम् विकास अर्थशास्त्री हुन् । उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि रहिसकेका छन् । लामाले भारतीय राष्ट्रपति नेतृत्वका थुप्रै संस्थाहरुमा प्रतिनिधित्व गर्नुका साथै विश्वका धेरैवटा विश्वविद्यालयहरुमा पढाएका र सिक्किम केन्द्रीय विश्वविद्यालयमा भारतकै सबभन्दा कान्छो उमेरका संस्थापक कुलपति बन्ने कीर्तिमानसमेत कमाएका छन् । उनले यसअघि करिब दुई दर्जन पुस्तकको लेखन एवम् सम्पादन गरिसकेका छन् ।

पुस्तकले समेटेको विषयवस्तु, लामाको व्यक्तित्व तथा लोकप्रियताको सकरात्मक असर पुस्तक बिक्रीमा परिरहेको बिक्रेताहरूको बुझाइरहेको छ ।

३. अपरिचित अनुहार

aparichit anuhar

असोज र कात्तिक महिनाको बेस्ट सेलर सूचीको पहिलो स्थानमा रहेको महेश पौड्यालको कथासङ्ग्रह अपरिचित अनुहार मङ्सिर महिनाको सूचीमा दुई स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ । कथाकार पौड्याल साहित्यका नवप्रवेशीलाई साथसाथै लिएर हिँड्न रुचाउनेहरुमध्ये पर्छन् । नेपाली साहित्यमा उनलाई पछ्याउने तथा पथप्रदर्शकका रुपमा लिने युवा जमात ठूलो छ । जसको प्रभावले उनको पुस्तकको बिक्री प्रकाशन भएदेखिनै सुखद् रहँदै आएको बिक्रेताहरुको अनुमान छ ।

यस कथासङ्ग्रहमा १८ वटा कथाहरु सङ्ग्रहित छन् । प्रत्येक कथाहरुको पाठकको अनुमानभन्दा भिन्ने मोडमा अन्त्य हुन्छन् । कथानकसहित पाठकलाई समेत कथाहरुले भिन्नै मोडमा पुर्याएर छोडिदिन्छन् । कथा टुङ्गिन्छन्, तर कौतुहलता मेटिदैनन्, र असीमित संवेदना उर्लिन्छन् ।

पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

४. पहेँलपुर

मङ्सिर महिनाको बेस्ट सेलर सूचीको चौथो स्थानमा जिएस पौडेलको उपन्यास पहेँलपुर रहन सफल भएको छ । चर्चित उपन्यास “एक सर्को माया”का लेखक पौडेको दोस्रो उपन्यास हो पहेँलपुर । माल्दिभ्समा बसेर कलम चलाइरहेका पौडेलले राजनैतिक आस्थाको मानसिक चक्रव्यूहमा परेका युवाहरूलाई उपन्यासको प्रमुख विषय बनाएका छन् ।

आफ्नो पहिलो उपन्यास “एक सर्को माया”बाटै पाठकमाझ लोकप्रिय भएका पौडेलको यो उपन्यास पढ्दा पहिलोकै सिक्वेलजस्तो लाग्छ । तर, पौडेलले “एक सर्को माया”भन्दा अघि नै ड्राफ्ट गरिएको बताएका छन् । पुस्तकको उत्कृष्टताका साथै पौडेलको पहिलो पुस्तकको साखका कारणले दोस्रो पुस्तकको समेत बिक्री सुखद भएको बिक्रेताहरुले बताएका छन् ।

पुस्तकलाई बुलबुल प्रकाशन गृहले बजारमा ल्याएको हो ।

५. उज्यालोतिर

टीकाराम रेग्मीकृति उपन्यास उज्यालोतिर यो महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा पर्न सफल भएको छ । जीवनको उर्जावान् समय शिक्षणमा बिताएका रेग्मीले उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डोर्याउने प्रयास गरिएको छ ।

उज्यालोतिर कक्षा कोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेर प्रकाशनमा आएको कृति हो । प्रभावकारी सिकाइका बारेमा बोल्न र लेख्न रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रूपमा बजारमा आएको छ ।

पुस्तकको बिक्री उपत्यकामा अनलाइन पुस्तक बिक्रेताहरू तथा काठमाडौँ बाहिरका पुस्तक पसलहरूबाट सुखद् बिक्री भएको जानकारी प्राप्त भएको छ । पुस्तकलाई सुनवर्षी बुक हाउसले बजारमा ल्याएको हो ।

६. हिप्पी

पाउलो कोएलोको उपन्यास हिप्पीको नेपाली अनुवाद मङ्सिर महिनाको बेस्ट सेलर सूचीको छैटौँ स्थानमा रहेको देशभरबाट प्राप्त रिपोर्टले जनाएको छ । हिप्पीको नेपाली अनुवाद लेखक सुरेश बडालले गरेका हुन् भने प्रकाशनमा फाइन प्रिन्टले ल्याएको हो ।

जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन युवकको कथा हो हिप्पी । बोके दारी र लामो कपाल पालेको पाउलोले यम्टड्रयाममा कार्ला नामकी डच युवतीलाई भेट्छ, जो काठमाडौँ जानका लागि साथी खोजिरहेकी हुन्छिन् । उनीसँगै पाउलो काठमाडौँका लागि हिँड्छ । अनि सुरु हुन्छ उनीहरुको जीवन परिवर्तन गर्ने प्रेम कथा । ७० को दशकमा युरोपबाट काठमाडौँ आउने हिप्पी ट्रेलको पृष्ठभूमिमा लेखिएको हुनाले यो उपन्यासको नेपाली संस्करणलाई विशेषरुपमा हेरिएको छ ।

ब्राजिलियन मूल लेखक कोएलोको क्रेज नेपाल विशेष छ । हिप्पी नेपाली पाठकका लागि बहुप्रतिक्षित पुस्तक हो । राम्रा विदेशी पुस्तक पढ्न चाहने, तर अङ्ग्रेजी पढ्न असहज महसुस गर्ने पाठकहरूका कारण पुस्तकको बिक्री सुखद् रहेको बिक्रेताहरूले बताएका छन् ।

७. कसले सुधार्छ काङ्ग्रेस ?

लेखक तथा राजनीतिक विश्लेषक शङ्कर तिवारीको पुस्तक ‘कसले सुधार्छ कांग्रेस ?’ मङ्सिर महिनाको बेस्ट सेलर सूचीको सातौँ स्थानमा परेको छ । काङ्ग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्धामा विमोचन गरिएको यो पुस्तकको सूचीको सातौँ स्थानमा रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको हो । काङ्ग्रेसलाई सुधार गर्नुपर्ने मूल मुद्दामा लेखिएको पुस्तक भएकाले महाधिवेशको प्रत्यक्ष प्रभाव पुस्तक बिक्रीमा पनि परेको बिक्रेताहरूले बताएका छन् ।

पछिल्लो १० वर्षयता लोकतन्त्र र संविधानवादमा देखिएका समस्या र त्यसमा नेपाली काङ्ग्रेसको भूमिकाबारे केन्द्रित भएर पुस्तक तयार पारिएको छ । विशेषगरी काङ्ग्रेसको नेतृत्वमा पछिल्लो समय देखिएको सैद्धान्तिक विचलन र लोकतान्त्रिक संस्कारलगायत विषयमा पुस्तकले गहन विमर्ष गरेको छ । काङ्ग्रेसका आम युवा कार्यकर्तालाई विचार निर्माण तथा सचेत बनाउन पुस्तकले मद्दत पुग्ने लेखक तिवारीको अपेक्षा छ ।

८. सतीः इतिहास र मीमांसा

अघिल्लो महिना बेस्ट सेलर सूचीको पाँचौँ तथा असोज महिनाको सूचीको दोस्रो स्थानमा रहन सफल सुजित मैनालीकृत पुस्तक “सतीः इतिहास र मीमांसा” मङ्सिर महिनाको सूचीको आठौँ स्थानमा रहेको छ । लेखक मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ले यसमाथि गहिरोसँग प्रकाश पार्ने कोशिश गरेको छ । यो किताबले सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ ।

लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरु छन् । त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको खँदिला विवरण समेटिएका छन् । त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरु लिएका थिए । सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरूको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ । भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ ।

काठमाडौँ उपत्यकामा अनलाइन तथा काठमाडौँबाहिरका मुख्य पुस्तक पसलहरुबाट यस पुस्तक राम्रो बिक्री भएको प्राप्त रिपोटले देखाएको छ । पुस्तकले प्रबुद्ध वर्गको ध्यान खिचेकाले यसको बिक्री सन्तोषजन रहेको बिक्रेताहरुले बताएका छन् ।

९. बीपी कोइरालाको डायरी

काङ्ग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको डायरी मङ्सिर महिनाको बेस्ट सेलर सूचीको नवौँ स्थानमा पर्न सफल भएको छ । यो डायरीको नेपाली अनुवाद तथा सम्पादन महेश पौड्यालले गरेका हुन् । वि.सं. २००८ देखि २०१३ सालसम्म बीपीले लेखेको डायरीको सङ्कलन पुस्तक ‘बीपी कोइरालाको डायरी’ देशभरबाट प्राप्त रिपोर्टका अनुसार सूचीको नवौँ स्थानमा रहन सफल भएको हो ।

नेपाली काङ्ग्रेसमा मात्र नभई नेपाली राजनीति तथा साहित्यमा बीपीको उचाई धेरै अग्लो छ । यसर्थ बीपी कोइराला सधैँ सबैका लागि चासोको विषय रहँदै आएका छन् । उपत्यकाका पुस्तक बिक्री केन्द्रबाट यो पुस्तकको बिक्री सुखद् भएको प्राप्त रिपोर्टले देखाएको छ । २०७६ सालमै प्रकाशनमा आएको यो पुस्तकको बिक्रीमा काङ्ग्रेसको १४ औँ महाधिवेशनको सकरात्मक प्रभाव परेको बिक्रेताहरूले बताएका छन् ।

यो पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

१०. मोम्चो

momcho

पत्रकार वसन्त पराजुलीकृति नवीनतम् कथासङ्ग्रह मोम्चो मङ्सिर महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको दसौँ स्थान पर्न सफल भएको छ । ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको मोम्चो दोस्रो कृति हो । देशभरबाट प्राप्त रिपोर्ट हेर्दा काठमाडौँबाहिरका पुस्तक बिक्रेताहरूमार्फत् यो पुस्तकको बिक्री उल्लेख्य मात्रा भएको पाइएको छ ।

मोम्चो चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । कथाकार पराजुलीले मोम्चोमा नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठाएका छन् । यस कृतिमा ११ वटा कथाहरू रहेका छन् । सङ्ग्रहको शीर्षकथा मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित छ । नेपालको अल्पसङ्खकमा गनिने जाति चेपाङलाई बुझ्न र उनीहरूको सामाजिक र आर्थिक अवस्थाबारे बुझ्न यो कथासङ्ग्रह महत्त्वपूर्ण बन्न सक्छ ।

बेस्ट सेलर सूचीमा अटाएकाबाहेक तेल भिषा, उज्यालो कर्णाली, राष्ट्रभक्तिको झलक, ती विद्रोही ती महात्मा, त्यो उज्यालो कर्णाली, मोक्षभूमि, करिया, त्यस बखतको नेपाल, माधवी, मिथ्या, रमिते, प्रश्नलगायत पुस्तकहरूको बिक्री सन्तोषजनक रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ ।