नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

जबसम्म नेपाल रहन्छ तबसम्म नेपालीका कानमा यो गीत गुन्जिरहन्छ । नातिकाजीको स्वर र सङ्गीतमा यो गीत युगौँ युगसम्म गुन्जिरहने छ । उनको जन्मदिन पुस तीन आउँदै गर्दा नातिकाजीलाई कुन सङ्गीत प्रेमीले नसम्झेला ? जबसम्म सृजना बाँचिरहन्छ तबसम्म सर्जक बाँचिरहन्छन् । राष्ट्रकवि माधव घिमिरेले रचेको यो गीतलाई हरेक नेपाली जनको मनको ढुकढुकी बनाउने आधुनिक नेपाली सङ्गीतका तपस्वी हुन् – नातिकाजी ।

नातिकाजीको स्वरमा गुन्जेको यो गीत सुन्दा मन भावविह्वल हुन्छ । देशबाहिर हुँदा मन झन् भावविह्वल हुने रहेछ । सिमानाभित्र मात्र देश कहाँ हुँदो रहेछ ?  सिमानाबाहिर भावनामा झन् ठूलो र बलियो देश हुँदो रहेछ । भाषा, संस्कृति, साहित्य र सङ्गीतले त्यो भावनाको देशलाई जीवन्त बनाउने रहेछ ।

“नातिकाजी सङ्गीतको मात्र होइन उनी साहित्यको समेत मर्मज्ञ रहेछन् ।” यो राष्ट्रकवि माधव घिमिरेले भनेका हुन् । “आज र राति के देखेँ सपना मै मरी गएको” राष्ट्रकविको रचना नातिकाजीको सङ्गीतमा सङ्गीतबद्ध भएर नारायण गोपालको आवाजमार्फत सार्वजनिक भएपछि त्यसो भनेका हुन् (भौकाजी, २०७०, पृ. १५) ।

राजेन्द्र कार्की (क्यानाडा)

आधुनिक नेपाली सङ्गीत जतिखेर शून्यको अवस्थामा थियो, त्यतिखेर नेपालमा हिन्दी गीतसङ्गीत सुन्नुको विकल्प थिएन । “पहाडमा बसी वनमा खेली हुर्केकी अकेली” गीतको पहिलो रेकर्ड गरेर उनले  नेपाली सङ्गीतको बिउ रोपे । नेपाली माटामा नेपाली स्वादका धेरै बिरुवा उमारे र हुर्काए । उनले हुर्काएका गाछीमा नेपाली आधुनिक सङ्गीतले छहारी लिइरहेको छ ।

नातिकाजी रेडियो नेपालको पहिलो सङ्गीतकार हुन् (सायमी, मङ्सिर ११, २०७८) । उनले रेडियो नेपालमा जागिर मात्र खाएनन्, धेरै सर्जकहरू जन्माए । सँगसँगै आफूले पनि धेरै सृजना गरे । उनी एक्लैले ३३७ आधुनिक नेपाली नेपाली गीत, ९१ ओटा देशभक्ति गीत, १० ओटा बाल गीत र १९० ओटा भजनको सङ्गीत दिएका छन् । शिव शङ्करसँगको सहकार्यमा १२ आधुनिक गीत र ७ देश भक्ति गीतको सङ्गीत दिएका छन् । नेपाली भाषा सङ्गीतलाई मात्र नातिकाजीले समृद्ध बनाएनन्, उनले नेपाल भाषाका गीतसङ्गीतलाई पनि समृद्ध बनाउन बाँकी राखेनन् । (पूर्ववत भौकाजी, २०७०, पृ.१६५ – १९३)

नातिकाजीले नेपाल भाषामा चार आधुनिक गीत र नौ लोक गीतलाई समेत सङ्गीतबद्ध गरे (पूर्ववत, भौकाजी, पृ.१९७) । उनले अनुमानित करिब दुई हजारको हाराहारीमा सङ्गीत सृजना गरेको तथ्य शम्भुजीत बास्कोटाले यशस्वी सङ्गीत तपस्वी नातिकाजी नामक पुस्तकको प्रकाशकीयमा उल्लेख गरेका छन् ।

भरखरै बन्न सुरु भएका नेपाली चलचित्रको सङ्गीतमा पनि भारतीय सङ्गीतकारमा निर्भर हुनुपर्दथ्यो । त्यो परनिर्भरतालाई अन्त्य गर्ने पहिलो सङ्गीतकार पनि नातिकाजी थिए । उनी र शिवशङ्करले चलचित्र संस्थानले निर्माण गरेको पहिलो चलचित्र “मनको बाँध” का गीतहरूमा सङ्गीत दिए । यसरी नेपालीसँग पनि चलचित्रमा सङ्गीत दिन सक्ने दक्षता र क्षमता छ भन्ने देखाए । नातिकाजीले छओटा चलचित्रका गीतमा सङ्गीत दिए । ती छओटामध्ये दुईओटा चलचित्रमा एक्लैले सङ्गीत दिए (पूर्ववत भौकाजी, पृ.१९३–१९५) ।

नातिकाजी

नातिकाजीको नेपाली गीतसङ्गीतको क्षेत्रमा कति योगदानको छ भन्ने कुरा त उनका सृजनाहरू आफैँ बोलिरहेका छन् । उनका सृजनाले नै उनलाई चिनाइरहेका छन् र युग-युगसम्म चिनाइरहने छन् ।

नातिकजीकी धर्मपत्नी सरस्वतीको बसाइ सन् २०१२ देखि छोरीसँग क्यानाडाको भ्यान्कुभर सहरमा छ । माइली छोरी कविता र कान्छी छोरी सविता दुवै भ्यान्कुभरमा छन् । नातिकाजीका जीवनका पाटाहरू हाम्रा लागि प्रेरणा बन्न सक्छन् । उनकी धर्मपत्नी र छोरीसँगको अन्तःक्रियाको आधारमा उनका जीवनलाई यहाँ केलाउने  जमर्को गरिएको छ ।

धर्मपत्नी सरस्वती राजभण्डारी

उहाँसँग मेरो विवाह २०१७ सालमा भएको हो । उहाँ मेरो दाइको साथी हुनुहुन्थ्यो । हाम्रोमा बेलाबखत आउनु पनि हुन्थ्यो । मेरो आमालाई उहाँ एकदमै मन पर्दथ्यो । हाम्रो मागी विवाह भएको हो ।

म पनि नर्स भएकाले आफ्नै काममा व्यस्त हुन्थेँ । उहाँ सधैँ रेडियो नेपालको काममा व्यस्त हुनुहुन्थ्यो । साथीभाइ भने पछि हुरुक्कै गर्नुहुन्थ्यो र साथीहरू पनि धेरै थिए । चावहिलतको घरमा उहाँका साथीहरू आइरहनुहुन्थ्यो । साथीभाइसँग गीतसङ्गीतकै कामकुरामा रमाउनुहुन्थ्यो र त्यसैमा जहिले पनि व्यस्त देख्थेँ ।

नातिकजीकी धर्म पत्नी सरस्वती र छोरी सविता

साथीभाइ भेट्दा खुबै खुसी बन्नुहुन्थ्यो र रमाइलो मान्नुहुन्थ्यो । आफ्नो दुःखपीडा त कहिल्यै घर परिवारमा सुनाउनु हुन्थेन । बरु म अरूबाटै थाहा पाउँथेँ ।

पोलेको सानो गोलभेडामा, सिद्रा र माछा वा सुकुटी सहित टिम्मुर मिसाएर सिलौटामा बनाएको अचार उहाँलाई खुब मन पर्थ्यो । मासुको परिकार त झनै मन पर्दथ्यो । नेवारहरूको छोइला, तखा र सन्याखुना बनाउने चलन हुन्छ । ती परिकार मिठो मानेर खानुहुन्थ्यो ।

अब मेरो उमेर पनि धेरै भइसक्यो । उमेर धेरै भएपछि कुरा बिर्सने रहेछ । बरु मलाई भन्दा धेरै कुरा छोरीलाई (छोरी सवितालाई देखाउँदै) सम्झना होला ।

छोरीहरू सविता र कविता

नातिकाजीकी धर्मपत्नी सरस्वतीसँगको अन्तःक्रियापछि क्रमशः छोरीहरू सविता र कवितासँग गरिएको अन्तःक्रिया-

छोरीहरू कविता र सविताका अनुसार नातिकाजी मासुको सोखिन रहेछन् । उनीहरू सम्झिन्छन् – बुबा मासुको सोखिन हुनुहुन्थ्यो । चावहिल गणेशथानअगाडि ठुलो खसी (राँगा) को मासु बेच्ने पसल थियो । बुबा त्यो पसलबाट आफैँ मासु किनेर ल्याउनुहुन्थ्यो ।

बजारमा नयाँ तरकारी आयो कि ल्याइहाल्नुपर्ने । फेरि एक त हरेक बिहान कहिले हिँडेर त कहिले साइकलमा चावहिल चोक जानुहुन्थ्यो, त्यहाँ नयाँ तरकारी देखेपछि बुबलाई नल्याई नहुने ।

हरियो मकैलाई पिसेपछि लसुन र अदुवा मिसेर बनाएको फाँडो बुबालाई मिठो लाग्थ्यो । बारीमा हरियो मकै फलेपछि हामी जहिले पनि बुबालाई फाँडो बनाउथ्यौँ ।

छोइला र सुकुटी त बुबा आफैँ पनि बनाउनुहुन्थ्यो । छाला सहितको मासुलाई माटाको भ्युटमा एक रात जमाएर बनाएको तखा खुबै स्वाद मान्नुहुन्थ्यो । तखाबाट निस्केको झोलमा भुटेको सिद्रा र ज्यामिर हालेर बनाएको सन्याखुना बुबालाई असाध्यै मन पर्दथ्यो ।

दसैँमा भोज खानका लागि बुबालाई ठुलो पाकेको काँक्राको खल्पी नभई नहुने । अष्टमीको दिनको भोजमा उहाँलाई ठ्याक्क चार दिनको खल्पीको अचार चाहिन्थ्यो । त्यो हामी जहिले तयार पार्थ्यौँ । दसैँमा खल्पीको अचार बनाउन काँक्रो लिन साइकलमा जाँदा लडेको कथा छोरी सविताले यसरी सुनाइन् – एक दिन ठुलो काँक्रो सकी नसकी साइकलमा लिएर आउँदै हुनुहुँदो रहेछ । मान्छे र काँक्रोसहित साइकल खाल्डामा खम्राङखुमुरुङ खसेछ । (हाँस्दै) माइली माइजूले देखेर निकाल्नुभएछ ।

बुबालाई कस्तो कपडा मन पर्दथ्यो त भन्ने सम्बन्धमा दुवै छोरीको एउटै संस्मरण थियो – बुबालाई मन पर्ने कपडामा दौरा सुरुवाल नै हो । टोपी सधैँ लाउन मन गर्नुहुन्थ्यो । पार्टीमा जाँदा चाहिँ टाइसुट पनि लगाउनुहुन्थ्यो । बुबाको जम्मा दुईओटा सुट थियो र एउटा सफारी थियो । एउटा विन्टर (जाडो) मा लगाउने र एउटा समर (गर्मी) मा लागाउने सुट थियो । बुबालाई खासमा धेरै लुगा सिलाउन पनि मन नलाग्ने । लुगा फेरी फेरी लगाउनमा खासै सोख थिएन भन्दा पनि हुन्छ । लगाउने मामलामा उहाँ साधुजस्तो हुनुहुन्थ्यो

बुबालाई अलि रङ्गीन (कलरफुल) सर्टहरूपनि मन पर्थ्यो । रातो रङ्गको सर्ट बुबाको प्रिय सर्ट हो । मलेसिया जाँदा सुन्तला रङ्ग र प्याजी रङ्गको सर्ट तीन-चारओटा सर्ट ल्याउनुभएको थियो, त्यो सर्ट लगाएपछि बुबा दङ्ग पर्नुहुन्थ्यो ।

नातिकाजी साथीभाइसँगको भेटघाट र जमघटमा खुसी हुने र रमाउने विषयमा पनि दुवै छोरीकै एउटै अभिमत थियो – आउजाउ भइरहने बुबाको थुप्रै साथीहरू हुनुहुन्थ्यो । सबैभन्दा मिल्ने साथी त बच्चु कैलाश अङ्कल नै हो । बुबाले उहाँलाई कैलाश भन्नुहुन्थ्यो । बच्चु अङ्कलको घरमा त हामी पनि गइरहन्थ्यौँ । रुवि जोशी, पुष्प नेपाली अङ्क लपनि आइरहनुहुन्थ्यो । बच्चु कैलाश, रुवि, पुष्प अङ्कल र बुबाका खुबै मिल्ने भन्दा फरक नपर्ला । उहाँहरू हाम्रो घरमा तास खेलेर रमाइलो गर्नुहुन्थ्यो ।

शारदाविक्रम बस्नेत राम्रो भजन लेख्नुहुन्थ्यो । उहाँ पनि आइरहनुहुन्थो । फत्तेमान, राममान तृषित, प्रेमध्वाज प्रधान, योगेश वैद्य, नारायण गोपाल, माणिक रत्न अङ्कलहरू हाम्रो चावहिलको पुरानो घरमा आइरहनुहुन्थ्यो । पछि नयाँ घर बनेपछि पनि आइरहनुहुन्थ्यो । रत्नदास प्रकाश अङ्क लपनि आइरहनुहुन्थ्यो । उहाँ बुबा भन्दा पनि सिनियर हो ।

बुबाको साथीहरूको एउटा ग्रुप थियो । त्यो ग्रपबाट बुबा र बुबाको साथीहरू हरेक हरेक हप्ता वा दुई हप्तामा भेटघाट गर्ने र रमाइलोसँग बिताउने गर्नुहुन्थ्यो । हामीलाई पनि कहिलेकाहीँ लानुहुन्थ्यो । आलोपालो गरेर कहिले कसको घरमा कहिले कसको घरमा जमघट हुन्थ्यो । त्यो ग्रुपमा बच्चु कैलाश, योगेश वैद्य, नारायण गोपाल, तारादेवी, मिरा राणा, प्रेमध्वाज, माणिक रत्न, पुष्पलाल, मदन कृष्ण, हरिवंश लगायत अरू पनि हुनुहुन्थ्यो । अरू को-को हुनुहुन्थ्यो मलाई ठ्याक्कै याद भएन ।

छुट्टीको दिनमा हामीलाई कहिलेकाहीँ सिनेमा हेर्न लानुहुन्थ्यो । मान्छेहरूले बुबालाई चिनेको देखेर हामी छक्क पदर्थ्यौँ । सबै जनाले बाटा-बाटामा बुबालाई नमस्ते गर्थे । हाम्रो बुबा कति ठुलो मान्छे भनेर हामी दङ्ग पर्थ्योँ – सविताले सम्झिन् ।

सिनेमा हेर्न लान्छु भनी कबुल गरिएको कागजमा छोरी कविताले नातिकाजीलाई हस्ताक्षर गराएको हाँस्दै सम्झिन् – त्यो बेला त्यति धेरै सिनेमा हेर्ने चलन थिएन । वर्षमा एक दुईपटक । एकपटक सिनेमा हेराउन लाने भन्नुभयो तर लानु भएन । नलगेकाले काजगमा सही गराए । अनि यसले त अति गरी भनेर हेराउन लानुभयो । बाटामा भेटेका मान्छेलाई “केटाकेटीले अति दुःख दिए ।  त्यही भएर सिनेमा देखाइदिन लगेको” भन्नुहुन्थ्यो ।

छोरी कविता लडेर ठुलो घाउ भएका वेला नातिकाजीलाई खुबै तनाव भएको रहेछ । त्यो वेला उनी धेरै अतालिएको देखेर डाक्टरले उपचार गरेको ठाउँबाट बाहिर पठाएको कुरा सम्झिँदै कविताले भनिन् – बुबाको मन असाध्य कमलो । अलिकति घाउ देख्नै नहुने, अतालिहाल्नुहुन्थ्यो ।

चादनी शाहको गीत रेकर्ड गर्दा नातिकाजीलाई तनाव (टेन्सन) हुने गरेको कुरा सविताले सम्झिइन् – एउटा गीतमा दुईओटा सङ्गीत दिनुपर्दथ्यो । भरखर एउटा सङ्गीत दियो, फेरि त्यही गीतलाई अर्को सङ्गीत दिन कति गाह्रो हुन्छ, आफैँ सोच्नुस् त ! त्यो दुईओटामा एउटा छान्ने उनीहरूले । त्यो गीतसङ्गीत तयार गर्नुपर्ने समय तीन-चार दिन मात्र दिइएको हुन्थ्यो । त्यहीबिचमा तारादेवीलाई सिकाउनुपऱ्यो, रेकर्ड गर्नुपऱ्यो । बुबालाई त्यतिखेर एकदमै टेन्सन हुन्थ्यो ।

“म आमा हुँ तिम्री म कान्तिपुरी हुँ” भन्ने काठमाडौँ नगरपालिकाको गीत बुबाले नै सङ्गीत र रेकर्ड गर्नुभएको हो । त्यो गीत रेकर्ड गराउन काठमाडौँ महानगरको मेयर पि. एल. सिंह राति दुई बजे हाम्रो घरमा आउनुभयो । अब कलाकारहरू नै लिएर आएपछि बुबाले गर्दिनँ पनि भन्न मिलेन । रातभरि बुबाले सङ्गीत दिएर तयार गरिएको त्यो गीत खुबै लोकप्रिय पनि भयो ।

“नातिकाजी जनमभर करिब करिब आर्थिक विपन्नतामा बाँचिरहनुभयो” (पूर्ववत भौकाजी, २०७०, पृ.४७०) भनेर नीर शाहले उल्लेखको गरेको सन्दर्भमा छोरी कविताले असहमति जानाइन् । उनले थप्दै भनिन् – भन्न त ककसले के-के भन्छन् भन्छन् । बुबाको जागिर थियो, घरजग्गा थियो । खाना बस्न पुग्थ्यो । हो, बुबाको अतिरिक्त आम्दानी थिएन । कहिल्यै कमाउन लाग्नु भएन ।

दुवै छोरीले नातिकाजीलाई आदर्श बुबाका रूपमा सम्झे  – बच्चा छँदा हामीलाई स्कुल जान बुबाले नै तयार परिदिनुहुन्थ्यो । कपालमा रिबन र जुत्ताको लेस पनि बुबाले बाधिदिनुहुन्थ्यो ।  छोरी सविताले भावुक बन्दै सम्झिन् – हाम्रो परीक्षा चलेका बेला हामीलाई भन्दा बुबालाई बढी चिन्ता हुन्थ्यो ।  एसएलसी दिने बेलामा बिहान पाँच बजे उठेर ट्याक्सी ल्याइदिनुहुन्थ्यो ।  हामीलाई धेरै पढाउने इच्छा थियो र हामीले पढ्यौँ पनि ।

सङ्गीतकारका रूपमा कविताले भनिन् – बुबालाई भगवान्‌ले सङ्गीतको साधनाका लागि उपहार दिएजस्तो लाग्छ । एउटा साधुले तपस्या गरेजस्तै बुबाले सङ्गीतको तपस्या गर्नुभयो । सविताले थपिन् – सङ्गीत चानचुने कुरा होइन, तपस्या हो । सङ्गीत विद्या हो, विद्या भनेको सरस्वती हो, सरस्वतीलाई बेच्नु हुँदैन भन्नुहुन्थ्यो ।

अन्त्यमा,

सङ्गीतका महासागर नातिकाजीका बारेमा एउटै लेखमा सबै समेट्न खोज्नु भनेको लोटा लिएर समुद्रमा जानुजस्तै हो । त्यही भएर बिट मार्नुभन्दा अगाडि नातिकाजीको यो भनाइ उल्लेख गर्न चाहे – “एउटा सुन्दर गीत भन्नु नै गीत, सङ्गीत र स्वरको अतुलनीय सङ्गम हो” (पूर्ववत भौकाजी, विमल २०७०, पृ.१०३) ।

नातिकाजीले आफ्नो पूरै जीवन सङ्गीतको तपस्यामा बिताए । सङ्गीत तपस्वीका सृजनाको संरक्षण गर्नु अबको पुस्ताको चुनौती हो । सङ्गीत बेच्न हुँदैन भन्ने नातिकाजीको जीवनदर्शनलाई भ्यु र बिक्रीको आधारमा नाफाघाटा हिसाब गर्ने पुस्ताले कसरी ग्रहण गर्लान्, त्यसमा नै नेपाली गीतसङ्गीतको भविष्य लुकेको छ ।

सन्दर्भ सामग्री

भौकाजी, विमल. (२०७०). यशस्वी सङ्गीत तपस्वी नातिकाजी – श्रीसर्जक तथा सिर्जना : नातिकाजी स्मृति समाज ।

सायमी, प्रकाश. (मङ्सिर ११, २०७८).  सहित्यपोस्ट. https://sahityapost.com/top-news/58408.

धर्मपत्नी सरस्वती राजभण्डारी र छोरीहरू कविता श्रेष्ठ र सविता श्रेष्ठसँगको अन्तःक्रिया ।