
१. प्रवेशद्वार
उपन्यासकार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गर्यो । यस वर्ष पनि केही महिना अगाडि नै मदन पुरस्कार गुठीले उत्कृष्ट दश कृतिहरू सार्वजनिक गर्नासाथ पूर्वानुमानहरू सुरु भइहालेका थिए तर यस कृतिमा त्यति धेरैको ध्यान गएको थिएन । कुनै चर्चित अनि सेलिब्रेटी स्रष्टातिर नै धेरैको अनुमान थियो । त्यसैले प्रस्तृत कृतिले मदन पुरस्कार पाउने घोषणा भइसके टीकाटिप्पणीले सामाजिक सञ्जाल रङ्गिएको थियो र स्रष्टाहरूको जमघटमा पनि यस प्रकारका कुराहरू प्रशस्त रूपमा चलेका थिए—
— मदन पुरस्कार गुठीले यस पटक पनि आफ्नो धर्म थामेरै छाड्यो । यो पुरस्कार पाउनु छ भने पुरानो कुनै कथा टिपेर ल्याउँदा हुन्छ । त्यसमा पनि राजामहाराजाको इतिहाससँग सम्बन्धित विषय हो भने त मदन पुरस्कार पक्का !
— मदन पुरस्कारका लागि दरबारिया कथाभन्दा बाहिरका कुराहरू कहिल्यै साहित्य मानिँदा रहेनछन्, त्यो दरबारप्रतिको कत्रो मोह हो ?
— साहित्यका क्षेत्रमा आजसम्म नामै नसुनेको मान्छेले मदन पुरस्कार पाउँदा मै हुँ भन्ने साहित्यकारहरू हेरेकाहेरै भएछन् नि !
— यो देशमा जतिसुकै राम्रा कविता, खण्डकाव्य, महाकाव्यहरू लेखियुन्, जतिसुकै राम्रा निबन्ध र नाटक लेखियुन्, त्यसमा मूल्याङ्कनकर्ताको आँखा पुग्दैन । यिनले आख्यान, त्यसमा पनि उपन्यासलाई मात्र साहित्य मान्ने रहेछन् ।
— कतिपय नाम चलेका कविहरू पनि कविता वा काव्य लेख्न छाडेर आख्यानतिर लाग्नुको कारण मदन पुरस्कारका दृष्टिमा आफूलाई पार्नका लागि त होइन ?
— ओहो ! तीन सय वर्षको इतिहासको कलात्मक उत्खनन गरिएको ऐतिहासिक उपन्यासले मदन पुरस्कार पाएछ । यो अत्यन्त राम्रो कुरा हो । यसले हाम्रो अतीतप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने छ ।

डा. देवी नेपाल
यी र यस्तै प्रकारका कतै सकारात्मक र कतै नकारात्मक, कतै शिष्ट र कतै अशिष्ट, कतै सत्यतामा आधारित र कतै विरोधका लागि विरोध, कतै कृतिको गहिराइमा आधारित र कतै कृतिभित्र नै नपरी लहै लहैमा टीकाटिप्पणीहरू प्रशस्त सुनिए । यो नेपाली समाजको प्रचलन नै हो । यिनै कुरालाई ध्यानमा राखेर कृति पढिसकेका र पढ्न नभ्याएका सबैखाले पाठकका लागि सामान्य जानकारी दिने जमर्को स्वरूप यस शृङ्खलामा २०७६ सालको मदन पुरस्कार विजेता कृति ‘महारानी’ उपन्यासका बारेमा समीक्षात्मक परिचय प्रस्तुत गरिएको छ ।
२. कृति र कृतिकारका सम्बन्धमा
म्याग्दी जिल्लाको बेनीनजिकै पुलाचौरमा २००७ सालमा जन्मिएका चन्द्रप्रकाश बानियाँ पूर्वशिक्षक, पत्रकार, राजनीतिकर्मी र पूर्वसांसदसमेत हुन् । गाउँकै विद्यालयबाट शिक्षारम्भ गरी काठमाडौँबाट स्नातकसम्मको शिक्षा हासिल गरेका बानियाँ नेपालका राजनीतिक आन्दोलनहरूमा पनि जोडिएका व्यक्ति हुन् । सिर्जनालाई भावना र आवेगको मात्र विषय नबनाएर सामाजिक तथा सांस्कृतिक चेतना र जागरणको विषयका रूपमा हेर्ने बानियाँ समाजसचेत एवम् युगसचेत स्रष्टा हुन् । शिक्षण पेसामा रहँदैदेखि राजनीतिक आन्दोलनमा लागेबापत पटक पटक जेलसजायसमेत भोग्न बाध्य उनका झन्डै आधादर्जन कृतिहरू द्वन्द्वकालमा जफत गरिए जुन कार्यले नेपाली भाषा साहित्यलाई निकै ठुलो क्षति पुर्याएको देखिन्छ । राजनीतिक कारणले गर्दा सिर्जनामा पूणर् रूपमा समर्पित हुन नसके पनि बानियाँका यसभन्दा अगाडि नै ‘ऐतिहासिक पर्वतराज्य’ (२०६५) र ‘खस जाति र कुल पूजा’ (२०६८) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् । प्रायः इतिहास, संस्कृति तथा अध्यात्मकेन्द्रित कृतिहरू लेख्ने बानियाँको ‘महारानी’ उपन्यास पहिलो सिर्जनात्मक कृति हो । पर्वतको लुकेको राजनीतिक इतिहासलाई मुख्य विषयवस्तु बनाएर लेखिएको यो उपन्यास अनुवाद र मौलिकताको मध्यविन्दुबाट सिर्जना भएको छ । २०७६ वैशाख १५ गते सुरु गरेर सोही वर्षको भदौ १५ गते अर्थात् जम्मा चार महिनामा लेखेर सम्पन्न गरी माघमा प्रकाशन गरिएको यो उपन्यास आख्यान र कला दुवै दृष्टिले निकै सफल र सबल देखिएको छ ।
३. कृतिको बाह्य संरचना र कथाको स्वरूप
उपन्यासकार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यास डिमाइ साइजका ३६८ पृष्ठमा संरचित छ र यसको मूल्य रु. ५०० राखिएको छ । ५३ खण्डमा आन्तरिक विभाजन रहेको र सुन्दर लेआउटका साथ हल्का कागजमा प्रकाशन भएको यस उपन्यासको प्रकाशन शिखाबुक्स काठमाडौँले गरेको हो । अन्य कुनै शुभकामना, भूमिका र मन्तव्यहरू नभएको यस कृतिमा ‘आधारभूमि’ शीर्षकमा लेखकीय भूमिका रहेको छ जसमा उपन्यासको आधारस्थलका बारेमा जानकारी दिइएको छ ।
पर्वत जिल्लाको ढोलखाना र बेनी यस उपन्यासको प्रमुख स्थानीय परिवेश हो । यसमा पर्वत दरबारको राजनीतिक इतिहास नै कथाको मूल केन्द्र बनेर आएको छ । पर्वतका तत्कालीन राजा घनश्यामको राज्यसत्ताभित्र देखिएको पारिवारिक समस्या र अन्य छिमेकी राज्यहरूबाट हुने गरेको षड्यन्त्रपूणर् चलखेलमा नै यस उपन्यासको कथानक विकास भएको छ । राजा घनश्याम, महारानी गुलवदन, राजकुमार मलेवम र भद्रिवम, राजकुमारी विश्वप्रभा र महलवसन्ताका बिचमा आन्तरिक द्वन्द्व निर्माणका लागि जुम्ली राजाले खेलेको षड्यन्त्रकारी भूमिकामा यस उपन्यासको समग्र कथा समेटिएको छ । सुरुमा आदर्श राज्यका रूपमा देखिने पर्वत राज्यका बिचमा पारिवारिक कारणले सिर्जना गरेको द्वन्द्व र आन्तरिक तनावका कारण सबै आदर्श भताभुङ्ग भएको कुरालाई सुन्दर कथानकमा उन्ने काम यहाँ भएको छ ।
आदर्श राजाका रूपमा रहेका घनश्यामको राज्यसञ्चालन पद्धतिको सुन्दर पक्षमाथि जुम्ला राज्यका माध्यमबाट भएको बाह्य हस्तक्षेपसँगै यस उपन्यासको कथानक विकास, उत्कर्ष र समापन भएको पाइन्छ । घनश्यामकी जेठी श्रीमती लमजुङकी राजकुमारी गुलवदनबाट सन्तान नभएपछि जुम्लाकी राजकुमारी वसन्तीसँग दोस्रो विवाह भएको र कान्छी वसन्तीको पुत्रका रूपमा रहेको भद्रिवम गर्भका आधारमा जेठो भए पनि जेठी रानी गुलवदनको पुत्र मलेवमको सातै महिनामा जन्म भएपछि भद्रिवमको मावली पक्षका रूपमा रहेका जुम्ली राजाको गर्भका आधारमा ज्येष्ठताको निर्धारण गर्नुपर्ने षड्यन्त्रपूणर् प्रस्तावका कारण पर्वत दरबारमा तहल्का मच्चिएको छ । यस उपन्यासमा समाविष्ट इतिहासको केन्द्र यही नै हो । जुम्ली राजा, कमल जैसी, डिल्ली भुजेल, कालु थापा आदिको उक्साहटमा लागेर राजकुमार भद्रिवमले आफू गर्भका आधारमा जेठो भएको र पर्वतको राजा आफू हुनुपर्ने दाबी गरेपछि पर्वत राज्यमा मच्चिएको तहल्काले एकातिर राजारानीलाई जोगी बनाएर काशी पठाएको छ भने अर्कातिर राजकुमार मलेवमको आदर्श परिवारलाई नै विगठन गराएको छ । साथै कि त पर्वत राज्यको राजा आफू हुनुपर्ने कि त पर्वतलाई टुक्रा पारेर बाँड्नुपर्ने भद्रिको प्रस्ताव राजसभाले ठाडै अस्वीकार गरेपछि कि त राज्य पाउनुपर्ने कि त राम्रो जागिर र विश्वप्रभा भाउजू पाउनुपर्ने भद्रिको ढिपीका कारण राज्यसत्ता र परिवार दुवैमा असर परेको छ । राज्य टुक्रा पार्नुभन्दा बरु आफूले बलिदान दिने विश्वप्रभाको निणर्यले राज्यको अखण्डता बचे पनि भद्रिको योजना जुम्लासँग मिलेर पर्वतलाई हडप्ने नै थियो जुन कुराको रहस्य विश्वप्रभाले थाहा पाएपछि मलेवमको योजनाअनुसार नै भद्रि र उसका सहयोगीहरूको हत्या गरेर राज्यलाई बचाएको प्रसङ्ग यस उपन्यासमा वर्णित छ ।
यसरी एउटी सबल नारीलाई राज्यले राजकुमारीका रूपमा पाएर उनले हरबखत दरबारलाई सहयोग गर्दै र अनेकौँ षड्यन्त्रबाट बचाउँदै लगे पनि अन्त्यमा आफूचाहिँ जोगिनी बनेर कसैलाई थाहै नदिई अनिश्चित गन्तव्यतिर लागेको प्रसङ्गले उपन्यासलाई कारुणिक बनाएको छ । यस उपन्यासको केन्द्र इतिहास भए पनि कलात्मक बनाउने क्रममा थपिएका विविध सन्दर्भहरूले यसलाई जीवन्त बनाएका छन् । त्यसैले यो लुकेको इतिहासको कलात्मक उत्खनन नै हो ।
४. कृतिको अन्तर्वस्तु र गुणात्मक महत्त्व
उपन्यासकार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास हो । प्रस्तुत कृतिको ‘आधारभूमि’ शीर्षकको भूमिकामा लेखक स्वयम्ले भनेका छन्- “कुरिलाखर्ककी महारानीको इतिहास खोज्दै जाँदा ठ्याक्कै तीन शताब्दी पुँडो पुगिन्छ । तीन शताब्दी पूर्वको त्यही इतिहासलाई आधार बनाएर महारानी उपन्यास लेखिएको छ । यो कथा बाइसीचौबिसी राज्यकालको हो । चौबिसी राज्यहरूमध्येको ‘मलेवम प्रदेश’ भनेर लोकप्रसिद्ध ‘१६ हजार पर्वत राज्य’को हो ।”
यस कुराले उपन्यासमा प्रस्तुत ऐतिहासिक विषयलाई थप पुष्टि गर्नुका साथै उपन्यासको अन्तर्वस्तु पहिल्याउन मदत गरेको छ । यस उपन्यासको थालनीमा नै राजा घनश्यामको राज्यसञ्चालनसम्बन्धी आदर्श शैली प्रस्तुत गरिएको छ । जङ्गे सुनार र बुधे पुर्जाको झगडामा जङ्गेको मृत्यु भएपछि न्याय माग्ने मङ्गलीलाई दिइएको न्यायमा राजा घनश्यामको चातुर्यको परिचय पाइन्छ । वास्तवमा राजा वा नेतामा हुनुपर्ने गुण के हो भन्ने कुरा त्यस घटनाले सङ्केत गरेको छ । जे हुनु भइगयो, एउटा समस्याले अर्को समस्या निम्त्याउनु हुँदैन भन्ने सोचेर मुक्ति, सजाय र सुधारका लागि राजाले गरेको फैसला निकै तर्कपूणर् देखिन्छ । यसले राजाको चरित्रविकासमा निकै ठुलो भूमिका खेलेको देखिन्छ ।
राज्यका हरेक समस्यामा राजाले एकल निणर्य नगरेर सम्बन्धित विषयका विज्ञ र दरबारसँग सम्बन्धित सबैको राय माग्ने कार्यशैली यस उपन्यासको कथामा पाइने अर्को सुन्दर पक्ष हो । यो राजनीतिका लागि आदर्श पक्ष हो र तार्किक एवम् व्यावहारिक न्यायप्रणालीको उदाहरण पनि हो । राजा घनश्यामले राज्यमा आएका हरेक सूचना, योजना र समस्याहरूलाई सबै सामु राखेर, सबैको राय बुझेर अन्त्यमा निणर्य दिने जुन शैली अपनाएका छन् त्यसले कम विवाद सिर्जना गर्ने र सबैमा निणर्यप्रतिको स्वामित्व प्रदान गर्ने देखिन्छ । यो नेतृत्वका लागि उपयोगी सन्देश हो ।
यस उपन्यासको पात्रयोजना अत्यन्त स्वाभाविक र सन्तुलित देखिन्छ । दरबारभित्र कस्ता द्वारे, बैठके, सल्लाहकार, पुरोहित, सुसारे आदि राख्ने भन्ने कुराले राज्य सञ्चालनमा निकै ठुलो असर पार्ने गर्दछ । यहाँको सुमन्तको चातुर्य र ज्ञान प्रशंसनीय छ । ऊ अत्यन्त विद्वान् र चलाख व्यक्ति हो, इतिहासको ज्ञाता र कूटनीतिज्ञ पनि हो । दरबारप्रतिको इमानदारी उसमा निकै प्रबल देखिन्छ । भद्रिको सहयोगी हुनाले उसका सबै योजना वा षड्यन्त्रहरूको जानकार भए पनि उसले गोपनीयता र कूटनीतिक मर्यादाको पालना राम्ररी गरेको छ । यस उपन्यासमा प्रयोग भएको भाषा र घटनाहरूमा प्राचीनता झल्कनुका साथै तत्कालीन समाज र दरबारिया कानुन एवम् कार्यशैलीको स्पष्ट चित्र देख्न पाइन्छ । जे हो त्यसलाई अत्यन्त गहिराइमा गएर खोतल्ने र साना साना घटनालाई पनि उच्च महत्त्वका साथ प्रस्तुत गर्ने उपन्यासकारको शैलीले यसको ऐतिहासिक विश्वसनीयतामा वृद्धि गरेको देखिन्छ ।
राजनीतिमा पाइने संवेदनाहीनता, सत्ताप्राप्तिका लागि हुने गरेका अमानवीय षड्यन्त्र, सत्ता र सम्पत्तिले थिचेको मानवीय मूल्य र स्वार्थपरक राजनीतिक सौदाबाजीमा प्रयोग गरिने नारी अस्मिता जस्ता कुराहरूलाई यस उपन्यासले पाठकले पनि विश्लेषण गर्न सक्ने तरिकाले प्रस्तुत गरेको छ । दरबारले वा राजाले हुकुम दिनासाथ मर्न र मार्न तयार हुनुपर्ने सन्दर्भमा मानवीय संवेदनाहीनताको उच्च स्वरूप फेला पर्दछ । जुम्ली राजा, भद्रिवम, कमल, डिल्ली आदिका क्रियाकलापमा सत्ताप्राप्तिका लागि मान्छेले कतिसम्मको अमानवीय षड्यन्त्र गर्न सक्छ भन्ने कुरा देखिन्छ । दरबारमा काम गर्ने नोकरचाकर, सुसारेहरू र कामदारहरूको असुरक्षित र बन्दी जीवनलाई देख्दा सत्ताले थिचेको मानवीय मूल्यको बोध हुन्छ । यी तीनओटै कुराभन्दा गम्भीर रूपमा यहाँ नारी अस्मिताको प्रश्न खडा भएको छ । सचेत, शिक्षित, कूटनीतिज्ञ, व्यवहार कुशल, चतुर विश्वप्रभा जस्ती राजकुमारीले त आफ्नो इच्छाअनुसार निणर्य लिन पाउँदिन भने दरबारमा अन्य नारीको अवस्था के होला ? राज्यसञ्चालनका लागि दिशानिर्देश गर्नुपर्ने उसैले, अनेकौँ समस्याको समाधान निकाल्नुपर्ने उसैले, राज्यको अखण्डतालाई बचाउनका लागि आत्मबलिदान दिनुपर्ने पनि उसैले, प्राणभन्दा प्यारो पतिलाई त्यागेर परपुरुषसँग जानुपर्ने उसैले, राज्यमाथि अनेकौँ क्षेत्रबाट हुन सक्ने षड्यन्त्रहरूको सुइँको पाएर खबर पुर्याउनुपर्ने पनि उसैले, शत्रु विनाश गरी राजालाई सुरक्षित हुने वातावरण बनाइदिनुपर्ने पनि उसैले अनि उसैले चाहिँ परिवार, दरबार र राज्यको कुनै पनि सुखसुविधा उपभोग गर्न नपाई जोगिनी भएर हिँड्नुपर्ने ? यहाँभन्दा संवेदनशील विषय अर्को के हुन सक्छ ? यस उपन्यासले एकातिर नारीको महान् चरित्रलाई प्रस्तुत गरेको छ भने अर्कातिर हाम्रो समाजको तल्लो वर्गदेखि माथिल्लो वर्गसम्मका लागि गम्भीर प्रश्न खडा गरिदिएको छ । यसका साथै नारीशोषणको प्राचीनतालाई पनि प्रमाणित गरिदिएको छ ।
लोकविश्वासको अत्यधिक प्रयोग यस उपन्यासको अर्को उल्लेखनीय पक्ष हो । यसमा लोकजीवनमा पाइने संस्कार, संस्कृति र जीवनपद्धतिको स्वाभाविक चित्र खिचिएको हुनाले यहाँका हरेक कुरामा त्यस युगको झल्को आउँछ । घाउखटिरा, रोगव्याधि हटाउन र राजकुमारको विवाहको बाटो खोल्नका लागि माईपूजा गर्ने प्रचलनमा लोकविश्वासको जीवन्त रूप फेला पर्दछ । यसका साथै देवताका नाममा किलो पुज्ने चलन (पृष्ठ-१८४) र टुपी फुल्नु भन्याको यमराजको निम्तो हो (पृष्ठ-२२५) भन्ने जस्ता प्रसङ्गहरूको स्पष्ट उल्लेखले हाम्रो लोकजीवन र लोकविश्वासको प्राचीनतादेखि वर्तमानसम्मको यात्रालाई प्रमाणित गरिदिएको छ ।
यसरी नै उपन्यासका ठाउँ ठाउँ चर्चा गरिएका कुराहरूले पनि तत्कालीन समाज र राजनीतिक अवस्था बुझ्नका लागि सहयोग पुर्याएका छन् । “भित्र छैन खान्या पिठो, बाहिर रातो रुमाल भन्या जस्तै हो पर्वत दरबारको अवस्था” (पृष्ठ-८३) भन्ने वाक्यमा दरबार पनि समस्यामुक्त छैन भन्ने सन्देश लुकेको छ । यसले बाहिरबाट हेर्दा सम्पन्न, सुखी र खुसी देखिने व्यक्ति र स्थानहरूका पनि आआफ्नै प्रकारका समस्याहरू रहेका हुन्छन् भन्ने कुरालाई राम्ररी पुष्टि गरिदिएको छ ।
यस उपन्यासमा बिच बिचमा जोडिएर आएका पताका कथा र प्रकरी कथाहरूले उपन्यासलाई अत्यन्त रोचक र मनोरञ्जक बनाएका छन् । महाराजा हिडिम्बले आफ्ना आन्द्राभुँडी बाहिर निकालेर पखाल्ने (पृष्ठ-१४९) गरेको प्रसङ्गमा होस् वा गहुँबाली भालेपाथी हुन्छ (पृष्ठ-१४९) भन्ने प्रसङ्गमा होस् मनोरञ्जनात्मक उद्देश्य लुकेको देखिन्छ । यसरी नै सान्दर्भिक रूपमा ठाउँ ठाउँमा प्रयोग गरिएका ‘आठ हजारका राजा, बाह्र हजारका बानियाँ’, ‘अड्को पड्को तेलको धूप’, ‘कहाँ जालास् मछली मेरै ढडिया’, ‘भाइ फुटे गँवार लुटे’, ‘रिस खा आफू बुद्धि खा अरू’ जस्ता उखानहरूले भावगत अभीष्ट प्राप्तिका लागि ठुलो सहयोग पुर्याएका छन् ।
व्यावहारिक एवम् जीवनोपयोगी सूक्ति वा कथनहरूको प्रयोग यस उपन्यासको गुणात्मक शक्ति हो । यस उपन्यासभित्र सन्दर्भसँग मिलेर आएका अनेकौँ सूक्तिपूणर् भनाइहरू छन् । तिनलाई यसभन्दा बाहिर पनि सन्दर्भअनुसार प्रयोग गर्न सकिने देखिन्छ । ती सूक्ति वा कथनहरूबाट अत्यन्त व्यावहारिक एवम् नैतिक शिक्षा हासिल गर्न सकिन्छ । यस उपन्यासभित्र पाइने निम्नलिखित भनाइहरूमा व्यञ्जना शक्ति वा ध्वनिको विशिष्ट प्रयोग भएको पाइन्छ—
हजार ज्यान लिनुभन्दा एउटा ज्यान जोगाउनुमा कैयौँ गुना आनन्द प्राप्त हुन्छ । (पृष्ठ-२५)
राजा मर्या त गद्दी खाली हुँदैन । सुमन्तविना गाउँ रोकिन्या कुरा के थियो र ? (पृष्ठ-३८)
असल कामका लागि झुटो बोल्या नि पाप लाग्दैन । (पृष्ठ-४१)
रीति परम्पराहरू देवताका लोकबाट बनिकन आयाका होइनन् । समय, आवश्यकता र घत हेरिकन रीति परम्पराहरू बन्या, बदलिन्या हुन् । (पृष्ठ-५१)
देवताभन्दा मानिसलाई पहिले पूजा गर्ने पर्वतको चलन छ । (पृष्ठ-१४७)
कल्पनाशील मान्छेहरूका लागि कल्पना गर्न अनेक विषय थिए । (पृष्ठ-१५०)
आफ्ना लागि तयार पारियाको मिष्ठान्न भोजन भान्सेले थालीमा पस्किएर नटक्र्याउँदासम्म खाने हतारो गर्नु हुँदैन । बुद्धिमान् मानिसले पकायाकै भाँडोमा खाइहाल्छु भन्दैन । (पृष्ठ-१५६)
हलेदो भन्ने जानेपछि थप कोट्याउनु आवश्यक ठानेनन् । (पृष्ठ-१९९)
सिर्तो पायो त राज्याले पायो । दरबारमा भित्रियो । गोठालाहरूको हातमा भाङबुटी केही पर्या होइन । (पृष्ठ-२००)
दगुरेर स्वर्ग पुग्न सकिँदैन क्यारे ! यमराजको दया रहुन्ज्यालको जीवन न हो ! (पृष्ठ-२१३)
भूमि भन्याकी आमा हुन् । आमाको शरीर काटकुट पारिकन चोक्टा लाम्टा पान्र्या पापकर्ममा नलागौँ । (पृष्ठ-२५१)
भाउजू भन्याको आमासमान हो । आमासँग बिहेको कुरा चिताउनु पनि घोर पापकर्म हो । (पृष्ठ-२६२)
दुलोमा हात राख्दा सर्पले टोक्छ कि भनिकन तर्सन्या डरछेरुवाले माछा समात्न सक्दैन । (पृष्ठ-२६३)
बाघको डमरुले भोक लाग्यो भनिकन घाँस खाँदैन । बरु भोकै मर्न राजी हुन्छ । (पृष्ठ-२६८)
औँलो दिँदा उनले डुँडुलो निल्न खोज्याका हुन् कि औँलो दिया पुग्नेमा हामीले डुँडुलो अघि सार्याका हौँ कुन्नि ! (पृष्ठ-२८२)
शत्रुले उठाएको कदममाथि टेकेरै नयाँ गोटी चाल्नुपर्छ । (पृष्ठ-२९४)
मानिसका लागि कर्तव्य सबभन्दा ठुलो मानिन्छ । (पृष्ठ-३०४)
प्रस्तुत भनाइहरूमा एकातिर उपन्यासले प्रदान गर्न चाहेको शिक्षा र जीवनोपयोगी ध्वन्यात्मक अर्थ पाइन्छ भने अर्कातिर लेखकीय क्षमताको मापन गर्ने आधार पनि पाइन्छ । यी कुनै शास्त्रीय मान्यताबाट, कुनै व्यावहारिक भोगाइबाट र कुनै लोकजीवनको अभ्यासबाट खारिएर निस्केका अभिव्यक्तिहरू हुन् । गुणात्मक मूल्यका दृष्टिले यी लोकवेद वा लोकगीता बनेर आएका छन् । यस कारण उपन्यासका सन्दर्भमा मात्र नभएर जीवनभोगाइका सन्दर्भमा पनि यिनको विशेष महत्त्व रहने कुरा निश्चित छ ।
यस उपन्यासमा अत्यन्त सुन्दर र आलङ्कारिक पद, पदावली र वाक्यहरूको प्रयोग गरिएको छ जसले औपन्यासिक सौन्दर्यवृद्धिमा सहयोग पुर्याएको देखिन्छ । “अनुहारमा गुराँस फुल्यो । अनुहारमा घाम झुल्क्यो । छन्द नपरेको कुरूप आकृतिको । क्षुधा शान्त पार्न थाले । कोटको धुरीसम्मको उकालो गोडाले नै नापौँ है ! मुडविहीन धड निकै बेर उभिरह्यो । रगतको धारा आकासियो । काँतरहरूले ज्यान हाल्छन् ।” जस्ता वाक्यहरूमा अभिव्यक्ति कलाको सुन्दर उपस्थिति देखिन्छ ।
५. मूल्याङ्कन तथा निष्कर्ष
उपन्यासकार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यास विषयवस्तुको छनोट, भावविधान र अभिव्यक्ति कला तीनओटै दृष्टिले उल्लेखनीय मानिन्छ । ऐतिहासिक विषयमा हात हाल्नु निकै चुनौतीपूर्ण कार्य हो । कल्पना वा भावनामा आधारित कृतिहरूमा हार्दिकताको मात्रा बढी हुने हुनाले पाठकको ध्यान तथ्यमा जाँदैन तर ऐतिहासिक कृतिहरूमा भने तथ्यमा तलमाथि भयो भने अनेकौँ प्रश्नहरू उठिहाल्छन् । त्यस कारण इतिहासकारहरू हुन् वा ऐतिहासिक विषयमा आधारित कृतिका स्रष्टाहरू हुन् तिनले अत्यन्त संवेदनशील हुनुपर्ने जरुरी छ । यस प्रकारका लेखकहरूमा अर्को पनि चुनौती छ । यिनले एकातिर सत्य इतिहास लेख्नुपर्ने हुन्छ र अर्कातिर तिनलाई कलात्मकता पनि दिनुपर्ने हुन्छ । कुनै ऐतिहासिक घटनाको सरासर वणर्न भयो भने त्यो इतिहास हुन्छ, उपन्यास हुँदैन अनि धेरै कुराहरूको कल्पना गर्न थाल्यो भने त्यो फेरि इतिहासभन्दा टाढा पुग्ने सम्भावना हुन्छ । यी दुवै कुराको सन्तुलन हुनु नै एतिहासिक उपन्यासको सफल र सबल पक्ष हो । यस आधारमा हेर्दा ‘महारानी’ उपन्यासलाई सफल नै भन्नुपर्छ ।
प्रस्तुत कृतिले मदन पुरस्कार नपाएको भए यसका गुणदोषको विश्लेषण त्यत्ति हुने थिएन तर उक्त पुरस्कारका कारण यस कृतिमा सबैको दृष्टि पुग्ने नै भयो, पाठकले त्यस वर्ष प्रकाशित अन्य कृतिहरूसँग तुलना गर्ने नै भए र यसको सर्वाङ्ग पूणर्ताको अपेक्षा राख्ने नै भए । यो हुनु कृति र कृतिकारका लागि पनि सकारात्मक कुरा हो र पुरस्कारदाताका लागि त झन् मार्गनिर्देश नै हो । यस उपन्यासमा उठान गरिएको विषयवस्तु र तिनको व्यवस्थित गतिशीलता सुन्दर हुँदाहुँदै पनि यसभित्र विभिन्न प्रसङ्ग र भावको पुनरावृत्ति अत्यधिक भएको पाइन्छ । दृष्टान्तका रूपमा आएका एउटै पौराणिक प्रसङ्ग, शास्त्रीय मान्यता र ऐतिहासिक तथ्यहरू पटक पटक पुनरावृत्त हुँदा उपन्यास चुस्त बन्न सकेको देखिँदैन । यहाँ राजा प्रतापीनारायणले राज्य विभाजन गरी तीन छोरालाई अर्नाकोट, सर्पकोट र गल्कोटको राजा बनाइदिएको प्रसङ्ग चार ठाउँमा पुनरावृत्त भएर आएको छ भने राजकुमारको ज्येष्ठताको निर्धारण गर्भका आधारमा गर्ने कि जन्मका आधारमा गर्ने भन्ने बारेमा राय मागिएको प्रसङ्ग तीन ठाउँमा आएको छ । त्यसमा तिनै व्यक्तिले त्यही प्रकारका शास्त्रीय र आनुभविक तर्कहरू दिएका छन् । यसले उपन्यासलाई अलि भद्दा बनाएको छ ।
यसरी नै कतिपय घटनाहरू कछुवाका गतिमा छन् भने कतिपय खरायोको गतिमा अगाडि बढेका छन् । भद्रिवमको हत्याको घटना अत्यन्त छिटो भएको देखिन्छ । त्यस्तो षड्यन्त्र बुन्न सक्ने, त्यति शक्तिशाली, त्यत्ति धेरै सहयोगीहरू भएको र त्यत्ति चतुर व्यक्तिको मृत्यु त्यति सजिलै हुँदैन । यसमा पात्रको चरित्रविकासलाई उत्कर्षमा पुर्याउने र पाठकीय उत्सुकताको वृद्धि गराउने प्रशस्त ठाउँ देखिन्छ भने भद्रिहत्याका सन्दर्भमा विश्वप्रभाको चरित्रलाई पनि अझै उत्कर्षता दिन सकिने ठाउँ थियो । साथै भद्रि र विश्वप्रभाको ज्यामरुक बसाइका सन्दर्भमा पाठकमा अझै कौतूहल सिर्जना गर्न सकिन्थ्यो । यस खण्डमा उपन्यासकारले निकै हतार गरेको अनुभूति हुन्छ । यसरी नै परिवेश निर्माणका सन्दर्भमा पनि लेखकीय दृष्टि वर्तमानमा मात्र पुगेको देखिन्छ । आजभन्दा तीन सय वर्ष अगाडिको पर्वत राज्यमा “भुइँमा तिब्बती गलैँचा बिछ्याइएको थियो ।” (पृष्ठ-८४) भन्ने सन्दर्भ कत्तिको स्वाभाविक हुन सक्छ ? यो पनि विचारणीय पक्ष हो ।
भाषिक शुद्धताका दृष्टिले प्रस्तुत उपन्यास निकै कमजोर देखिन्छ । वणर्विन्यासगत त्रुटिहरू यस कृतिमा अत्यधिक मात्रामा पाइन्छन् । ‘युगल जोडी’, ‘मर्लक्क बिर्सेछु’ जस्ता अज्ञानतावश वा प्राविधिक रूपमा हुने त्रुटिहरू मात्र होइन, अत्यन्त प्रचलित शब्दहरूको वणर्विन्यासमा पनि प्रशस्त त्रुटिहरू पाइन्छन् । उपन्यासकार भाषाविद् नहुनु स्वाभाविक हो तर यस कुरामा प्रकाशकको ध्यान जानु जरुरी छ । पहिलो संस्करणमा त्रुटिहरू रहे होलान् वा भाषा सम्पादन पनि गराइएन होला तर यस कृतिले मदन पुरस्कार नै पाइसकेपछि त यसका अरू पनि दुई संस्करण निस्किसकेका छन् । त्यति बेला पनि भाषा सम्पादन गराउन सकिन्छ । मदन पुरस्कार विजेता कृति सबैले पढ्न चाहन्छन् त्यसैले यो हरेक दृष्टिले मानक हुनुपर्छ । विषयवस्तुमा मानक, भाव विधानमा मानक, विचार वा उद्देश्यमा मानक र भाषिक शुद्धता वा वणर्विन्यासमा पनि मानक भयो भने मात्र सामान्य पाठकमा सकारात्मक सन्देश जाने हुनाले यसको भाषा सम्पादन अझै पनि अपेक्षित छ । ओझेलमा परेको इतिहासको उत्खनन गरी हाम्रो अतीतप्रति चासो जगाउनु यस उपन्यासको धनात्मक पक्ष हो भने भाषिक अशुद्धि र ठाउँ ठाउँमा पाइने विषय र भावको पुनरावृत्ति, कतै अति व्याख्यात्मक र कतै घटनाको घोडादौड यस उपन्यासको ऋणात्मक पक्ष हो ।
क्रमशः अर्को हप्ता, अर्को कृति…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
