हस्तलिपिलाई ल्याटिनमा लिटेरा भनिन्थ्यो, यसको अर्थ अक्षर अर्थात् लेटर्स हुन्छ । विभिन्न मुलुकहरूमा आआफ्नो धर्म, संस्कृति र दर्शन विशेषलाई अभिव्यक्त गर्न अक्षरबाट बनेका शब्दहरूको अभ्यास गरिएको थियो । ‘द बर्थ अफ सिभिलाइजेसन इन द नियर इस्ट’ नामक पुस्तकमा हेनरी फ्रान्कफोर्टले प्रस्तुत गरेको मेसोपोटामियामा भएको लेखनको विकासको चार्टअनुसार सबैभन्दा पहिले मानिसले चित्र कोर्न सिकेका थिए । चरो, माछा, खच्चरको टाउको, अन्नको बोट, सूर्य, चन्द्र आदिको चित्र बनाएर अभ्यास गरे । तिनै चित्रहरूलाई आधार बनाएर कालान्तरमा क्रमिक रूपमा अक्षरको विकास भएको हो । पाँच हजार वर्षपछि पनि मध्यपूर्वका प्राचीन मेसोपोटामिया र इजिप्टमा अस्तित्वमा रहेका पुरातात्त्विक प्रमाणका आधारमा अन्वेषकहरूले दक्षिण मेसोपोटामियाको उरुक सहरको समर क्षेत्रमा लेखनको प्रारम्भ भएको र इजिप्टमा त्यसले व्यापकता पाएको बताइन्छ । इजिप्टबाट ग्रीस र ग्रीसबाट पछि रोममा लेखनको अभ्यास फैलिएको भनिन्छ । चीनमा भने भविष्यवाणीको अभिलेख राख्न र दैवी शक्तिको वर्णन गर्न धेरै अघि लेखन अभ्यास स्वतन्त्र ढङ्गले अघि बढेको देखिन्छ ।

प्राकृतिक दुर्घटना र हिंस्रक जानवरको आक्रमणबाट बच्न सुरक्षित वासस्थानको खोजी गर्दै नदीनाला किनारका उब्जाउ भूमिमा आश्रयस्थल तयार पारी मानिस बस्न थाले । अदृश्य शक्तिमा आधारित ईश्वरबारे अनेकौँ परिकल्पना गरी मानिसले अमूर्त शक्तिलाई मूर्त रूप दिन आफ्नै अनुहारसँग मिल्ने मूर्तिहरूको निर्माण गरे र तिनको पूजाआजा र प्रार्थना गर्न थाले । विभिन्न मुलुकका मूर्तिहरूको स्वरूप त्यहीँका जातजातिको स्वरूपसँग मिल्ने गरेको देखिन्छ । प्रारम्भमा मानिसहरूले ती मूर्तिहरूलाई भगवान्‌को प्रतीक मानी काल्पनिक दैवीशक्तिको भक्तिभावले स्तुतिगान गर्ने, पूजा गर्ने, त्यस्ता स्तुतिगानलाई अक्षरहरूबाट लिपिबद्ध गरी अभिलेख राख्ने गर्न थाले । अक्षर बनिसकेपछि मानिसका अनेक भावनालाई अक्षरबाट अभिव्यक्त गर्न साहित्यको विकास भएको हो । ईश्वरका स्तुतिगानका भावनात्मक अभिलेख नै साहित्यको प्रारम्भिक अवस्था भएको अनुमान गर्न सकिन्छ । त्यस्ता स्तुतिगानका रचयिता कालान्तरमा ईश्वर, ठुल्ठुला ऋषिमुनि, पण्डित वा महात्मा भनिने गरेको यथार्थ सुमेरियन देवी इनान्नाको प्रशंसा गरी ईशापूर्व २२८५-२२५० मा लेखिएको स्तुतिगानबाट स्पष्ट हुन्छ । विशेष गरी मेसोपोटामियाको अधिकांश प्राचीन साहित्य देवताका क्रियाकलापसँग सम्बन्धित छन् । वर्तमान समयमा साहित्यलाई आख्यान र गैह्रआख्यान भनी वर्गीकरण गरिएजस्तो त्यस वेला अभिलेख राखिएका श्लोकबद्ध आख्यानहरूको वर्गीकरण नगरिएको भए तापनि अनेक स्तुतिगानका श्लोकहरू तथा वीरताका कथाहरू लेखिने गरेका थिए ।

योगेन्द्र तिमिल्सिना

प्राचीन ग्रन्थहरू आर्यको वेद र महाभारत, क्रिस्चियनको बाइबल र मुसलमानको कुरानका आधारमा के भन्न सकिन्छ भने त्यस वेलाका धार्मिक ग्रन्थहरूमा देवत्वका कथाहरू, देववाणी, उपदेश वा दैवी शक्तिका गाथाहरू अभिलेख गरिएका हुन्थे । हिन्दूहरूको पवित्र ग्रन्थ वेद मानव संस्कृति, सभ्यता र साहित्यको पहिलो सिर्जना हो । यसमा राजा, युद्ध, यज्ञ, गाई, दान र वीरताका अनेक आख्यानहरू सूत्रबद्ध गरिएका छन् । यो विभिन्न सूक्तमा विभाजन गरी श्लोकबद्ध गरिएको छ । वेदका रचयिता को हुन् भन्ने विषय गौण छ तर वेदले के सन्देश दिएको छ भन्ने प्रश्न बढी सारगर्भित मानिन्छ । ईश्वरले वेदका मन्त्रहरू ऋषिमुनिहरूलाई दिएको भन्ने विश्वास गरिन्छ ।

वेद मौखिक रूपमै पाठ गर्नुपर्ने नीतिअनुसार झन्डै ७,५०० वर्षसम्म अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा यही प्रक्रियाबाट क्रमशः सर्दै आएको थियो । वेदलाई लिखित रूपमा अभिलेख राख्न निषेधजस्तै थियो । पछि मौर्यकालमा भारतवर्षमा रुखको बोक्रा, पात वा भोजपत्रमा लेखेर तथा च्याप्टा ढुङ्गा र धातुका पाताहरूमा वेदका सूत्रहरू कुँदेर राख्ने प्रचलन आयो । पराशर ऋषिका पुत्र वेदव्यासले वेदलाई क्रमबद्ध गरी ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद चार भागमा वर्गीकरण गरेको आख्यान छ । उनी महाभारतका रचयिता मानिन्छन् । महाभारतमा व्यासको मुखारविन्दबाट निस्केका वाणीहरूलाई गणेशले लिपिबद्ध गरेको भन्ने शास्त्रीय भनाइ छ । वेदलाई प्राचीन हिन्दू सभ्यता, साहित्य र संस्कृतिको मानकका रूपमा लिन सकिन्छ । यसलाई विश्वकै आदि ग्रन्थ मानिएको छ ।

सामान्यतः वेद ई.पू. (१५००-१२००), बाइबल ई.पू. (१२००-१६५) र कुरान सन् ६१० देखि ६३२ तिर लेखिएको कुरा अन्वेषकहरूले उल्लेख गरेका छन् । पुराना साहित्यिक कृतिहरूमध्ये ईशापूर्व २१५० मा लेखिएको सुमरेली/बेबिलोनी महाकाव्य गिलगामेशले बहादुरी, गर्व, राष्ट्रियता, मित्रता, निराशा, मृत्यु र शान्तिको खोजी जस्ता विषयहरू समेटेको भनिएको छ । गिलगामेशका कथाहरू वास्तविक हुन् वा काल्पनिक जे भए तापनि तिनलाई मानिसहरूले सहज रूपमा लिने गर्थे ।

हिन्दूहरूका निम्ति वेदव्यास र वाल्मीकिद्वारा संस्कृतमा रचित प्राचीन ग्रन्थहरू जति महान् र प्रसिद्ध छन् पश्चिमेली संसारका निम्ति इलियड र ओडिसी त्यति नै महान् र प्रसिद्ध मानिन्छन् । इलियड र ओडिसी होमरका दुई अमर महाकाव्यहरू हुन् । इलियडमा ग्रीक र ट्रोजनका बिचमा भएको दस बर्से युद्धको वर्णन छ भने ओडिसीमा आफ्नी पत्नी पेनेलोपका निम्ति ट्रोईसँग भएको युद्ध समाप्तिपछि घरतर्फ फर्कँदाको यात्रावर्णन छ । वेद, महाभारत र रामायण हिन्दू संस्कृतिका आधार भएझैँ होमरका कृतिहरू ग्रीसेली संस्कृतिका भण्डार र पश्चिमेली साहित्यका उत्कृष्ट नमुना हुन् । होमरको मृत्यु क्राइस्टपूर्व ८५० तिर भएको अनुमान छ । यी दुवै कृति होमरको मृत्युपछि मात्र रचना भएको मानिन्छ ।

इसाईहरूको बाइबललाई धार्मिक उपदेशहरूको ग्रन्थ भनिए पनि कतिले यसलाई ऐतिहासिक तथ्यका रूपमा पनि लिन्छन् । सर्वसाधारणलाई घरेलु दासत्वबाट मुक्ति दिलाउन यहवेका भक्तहरूलाई दैवीशक्ति प्रदान गरी स्थानीयहरूलाई भावनात्मक रूपमा दासत्वविरुद्ध जागरूक तुल्याउन यो ग्रन्थ ल्याइएको हो पनि भनिन्छ ।

प्राचीन साहित्य पहिले मौखिक रूपमा रचना गरिन्थ्यो र मौखिक रूपमै ती एकअर्कामा वाचन गर्दै सर्दै गई अरूका जनजिब्रोमा बस्थे । कालान्तरमा कहिले ती लिपिबद्ध भए भन्ने कुरा यकिनसाथ भन्न सकिँदैन । वास्तवमा ती साहित्य कहिले लिपिबद्ध भए भन्ने निश्चित समयावधि प्राप्य छैन । देवीदेवताका कथा, युद्धका घटना वा अन्य सिर्जना एकले अर्कालाई सुनाउँदै जाँदा ती मानिसको जनजिब्रोमा बस्थे र धेरैपछि ती लिपिबद्ध भएका थिए । लिखित रूपमा सूचनाको आदान प्रदान गर्नुपर्ने आवश्यकताले गर्दा लेखनको प्रारम्भ भएको हो । प्रारम्भमा कतिपय अभिलेखहरू चट्टान वा च्याप्टा ढुङ्गामा कुँदेर, मयुरको प्वाँख, पपाइरस, पशुका सुकेका छालामा वा भोजपत्र तथा अरू वनस्पतिका पातमा लेखेर राख्ने चलन थियो ।

प्राचीन ग्रन्थहरू धेरै वर्षसम्म हातले लेखेर सुरक्षित राख्ने गरिन्थ्यो । यसरी सुरक्षित राखिएका ग्रन्थ वा अभिलेख धेरै वर्षपछि मात्र छापाखानाबाट ठुलो परिमाणमा छापिई सर्वसाधारणको पहुँचमा पुगेका हुन् । छापाखानाको आविष्कार सबैभन्दा पहिले चीनमा भएको हो । चिनियाँ राजकीय अदालतमा कार्यरत काइलुङ नाउँका पदाधिकारीले सन् १०५ मा रुखका बोक्रा, फाटेका कपडा, माछा मार्ने जाल प्रशोधन गरी घरेलु कागतका ताउ तयार गर्दथे भनिन्छ । सन् ८६८ तिर ताङ वंशको शासनकालमा चीनमा बुद्धका उपदेशहरूको सङ्कलन ‘बुद्धिस्ट सूत्र’ नाउँको पुस्तक दुनहुआङबाट छापिएको थियो । त्यसैलाई पहिलो छापाका रूपमा लिइएको छ । हातले कुँदेका काठका ब्लकहरूको प्रयोग गरी सो पुस्तक छापिएको थियो । दुनहुआङबाट पछि सन् ८७७ तिर पात्रो, गणितका चार्टहरू, शब्दकोश, मृत्यु संस्कार र विवाहका नीतिसम्बन्धी नियमहरू, केटाकेटीका शैक्षिक सामग्री तथा शब्दकोशहरू छापिएका थिए । छपाइको यो प्रविधि पछि जापान र कोरियासम्म विस्तार भएको थियो । काठको ब्लकबाट छाप्ने यो प्रविधिलाई बिस्तारै धातुका ब्लकले रिप्लेस गरेको थियो । पछि छुट्टाछुट्टै धातुका अक्षरहरूको विकास भयो र तिनलाई एउटा निश्चित फ्रेममा राखेर छपाइको काम हुने गर्थ्यो । सन् ११२७ देखि १२७९ सम्ममा चीनमा पाठ्यपुस्तक र सबैखाले पुस्तकहरू प्रकाशन हुन थालेका थिए ।

छैटौँ शताब्दीदेखि मात्र जापानले कागज उत्पादन गर्न थालेको थियो । दाम जिङ् नाउँका एक बौद्ध भिक्षुले चिनियाँ प्रविधिबाट किम्बुको बोक्रा प्रयोग गरी कागतको उत्पादन सुरु गरेका थिए । अरेबियन मुलुकहरूले पनि चीनबाट नै कागज बनाउन सिकेका थिए । त्यसपछि इजिप्ट र उत्तर अमेरिकाले अरबीहरूले प्रयोग गरेको प्रविधि प्रयोग गरी कागज उत्पादन गर्न थाले । बाह्रौँ शताब्दीमा इटालीले लिनेन र हेम्प प्रयोग गरी छापाखानामा प्रयोग गरिने कागतको उत्पादन सुरु गरेको थियो । त्यहाँ नयाँ उपकरण र प्रविधिको प्रयोग गरी हाइड्रुलिक ह्यामर मिल्सको प्रयोगबाट छपाइको काम सुरु गरिएको थियो । पन्ध्रौँ शताब्दीमा जोहान्स गटेनबर्गले युरोपमा आधुनिक छापाखाना विकास गरेपछि पुस्तकको छपाइमा क्रान्तिकारी परिवर्तन आएको हो ।

चीनमा छापाखानाको आविष्कार भएको लामो समयपछि मात्र सन् १४४० मा फ्रान्सको स्ट्रास्बुर्गबाट व्यावसायिक रूपमा छपाइको काम प्रारम्भ भएको हो । सन् १४५० देखि मसीको प्रयोग गरी व्यावसायिक रूपमा छपाइको काम सुरु भएको हो । सन् १४५२ मा मात्र पहिलोपटक इसाईहरूको पवित्र ग्रन्थ बाइबल छापिएको हो । सन् १४३९ तिर जर्मनीमा आधुनिक छापाखानाको आविष्कार भएपछि सन् १८०० पछि मात्र हिन्दूहरूको पवित्र ग्रन्थ वेद छापाखानाबाट प्रकाशित भएको हो । सन् १८०६-०७ तिर एक जना बाबुराम भन्ने हिन्दूले कलकत्तामा संस्कृत छाप्ने प्रेस स्थापना गरेका थिए । यिनले त्यसै वेला पहिलोपटक देवनागरी लिपिमा वेद छापेका थिए भनिन्छ ।

आख्यान, काव्य तथा लेखको रूपमा साहित्यको वर्गीकरण कहिलेदेखि प्रारम्भ भयो भन्ने कुरा यकिनसाथ भन्न सकिँदैन । भूतप्रेत, देवता, राजा र राक्षसका दन्त्यकथाहरू धेरै अघिदेखि कुनै वर्गीकरणविना नै पूर्वीय र पश्चिमी समाजमा प्रचलनमा छन् । आधुनिक साहित्यमा झैँ प्राचीन साहित्यमा आख्यान र गैरआख्यानको वर्गीकरण नभई रचनाहरू मौखिक रूपमा एकबाट अर्कामा सर्दै समाजमा व्यापक हुन्थे । देवता, ऋषिमुनि, राजा, धर्म र संस्कारका अभिव्यक्तिलाई लेखेर राख्ने प्रचलनलाई विधागत रूपमा वर्गीकरण नगरिए तापनि त्यस वेला अभिव्यक्तिको काव्यात्मक प्रस्तुतीकरण सुपाच्य मानिन्थ्यो । राजाका विरताका, देवताका स्तुतिगान वा युद्धमा भएको विजय र पराजयका आख्यानहरू काव्यात्मक ढङ्गले प्रस्तुत गरी सुन्ने, सुनाउने गरिन्थ्यो । प्राचीन हिन्दू सभ्यताका वेद, महाभारत, रामायण सबैमा काव्यात्मक प्रस्तुति भए तापनि ती भावनात्मक पद्यात्मक अभिव्यक्ति मात्र नभएर आख्यानका बृहत् सिर्जनाहरू हुन् ।