केही साताअघि कुरो भारत–नेपालको उठ्यो । लिपुलेकबारे होइन । सुस्ता–कालापानीबारे पनि होइन । अर्कै । कुरा साहित्यको । त्यसमा पनि साझा सरोकारको । मुद्दाहरूको ।
सौराहमा भारत र नेपालका साहित्यकारको समागम भयो । सूत्रधार थियो कविडाँडा साहित्य समाज । कल्पना एलबी क्षेत्रीको ।
देख्दासम्म हात्ती पनि हेरियो । गैँडा पनि । नदेख्दा राप्ती किनारमा घाम तापेर बसेका गोही हेरियो । हेर्न जेजे हेरिए पनि मन्थन साझा सरोकारकै विषयमा भयो । उता झापातिर बस्नेलाई थाहा छ— यताका हात्ती उता, उताका उता । उमा सुवेदीले ‘इति’ मा बेलीबिस्तार लाएकै हुन् नि, कलात्मक ढङ्गले । हात्तीले त सम्बन्धको विनिमय गर्छन् छिमेकमा भने हामी त मान्छे पो त ! यही सम्बन्धको विनिमयको कुरा उठेको नि ।
कुरा चले । प्रश्न थियो— कसरी अझै प्रगाढ बनाएर जोड्ने ?
जोड्नैलाई त भूगोलै जोडिएको छ । इतिहासै जोडिएको छ । त्यहाँ डा. टेकबहादुर क्षेत्रीको कुरा राम्ररी सुनेका भए चकित हुने ठाउँ थियो । तेस्रो आयामले त डल्लै, दर्शनकै तहमा जोडेको रहेछ दुई भूगोल । डा. गोमा अधिकारी अझ पछाडि पुगिन् इतिहास खोतल्दै । आम्मामामा, कहिले हो कहिले रहेछ नेपाल–भारत, भारत–नेपाल भन्दै पुर्खा कुदेको । हिजोअस्ति आएको फिस्टे राजनीतिले कहाँ भ्याउनु ! सल्मान रुस्दीका ‘मिडनाइट चिल्ड्रेन’ का सम्झनाको पलटमा छन् र यी कुरा ? धर्मले, लाहुरले, गाईले, भातले…के-केले हो के-केले जोडेको । अर्कै इतिहास लेखे हुन्थ्यो एक जना इतिहासकारले । शीर्षक जे-जे आए पनि नेपाली भाषा र मन बोकेर सीमावारि–सीमापारि कुद्ने पुर्खाको इतिहास । कुदेरै राज्य जित्ने जात पो त हाम्रो । नत्र, लिगलिगकोटको इतिहास साक्षी छ त ? यहाँ, हाम्रो अर्को कुदाइ छ । छुटेको इतिहास लेख्नुपर्ने चाहिँ देखिन्छै देखिन्छ । त्यस्तो किताब डा. अधिकारीले नै आँटिदिए पनि हामी सबै धन्य हुने थियौँ ।
सबै कुदेकै पनि होइनन् । मान्छे उही, थलो उही, सबै उही । व्यवस्था कुद्यो । कुदेको व्यवस्थाको दौडको पनि एउटा अध्याय त्यस इतिहासमा लेखिदिए हुन्थ्यो । त्यसमा सिक्किम, दार्जीलिङ, कुमाउँ र गडवालजस्ता क्षेत्रका उत्साही र प्रिय अनुहारका सुन्दर चित्र अटाउँथे नि ।
अचम्म त उहिल्यैदेखि गरेकै हुन् लेखकहरूले । पान–अफ्रिकन मुभ्मेन्ट भनेर चलाए । अफ्रिकैभित्र चाहिँ गोरु फुकेर मकै खायो भनेर पानी बारबार । बाहिर, अन्य संसारसँग जुध्नुपऱ्यो भने सब एक । एक मुख पो लागेर त । कलामा पनि । संस्कृतिमा पनि । एकचोटि त भाषा पनि एक बनाउने प्रयास गरेछन् । त्यो कसो कसो भएन तर कुरा, सौन्दर्यशास्त्र र विश्वदृष्टिमा चैँ एउटा अफ्रिका स्थापित भयो । कुरा कस्तो भन्दा, महाभारतको जस्तो । आपसमा पहिल्यैदेखि लडिरहने कौरव–पाण्डव तर दुस्मन बाहिरबाट आयो भने एक होइजाने ।
अमेरिका वा युरोपतिर बस्ने अरबी मूलकाहरू साथ आउन थालेको बुझिन्छ । चिनियाँहरू पनि । भारतीय पनि । यहुदी पनि । संस्थै बनाउँदा रहेछन् । यो एउटा भाषा र एउटै संस्कृतिको मेलो, कसो कसो, साथ आउने प्रयास सबैतिर हुँदो रहेछ । भारत र नेपालका नेपाली साहित्यकारहरूले पनि यस्तै सोचेको दशकौँको इतिहासले प्रमाणित गरेकै छ । त्यो अझ बलियो हुनुपऱ्यो भनियो भने, त्यसको व्याख्या यसै सिद्धान्तले गर्दिहाल्छ । हामीले गर्नै पर्दैन ।
कुरा अलि ज्ञानगुणको । टिको लाउन उताका यता आउने, वा यताका उता जानेले पुग्दैन कि ? उताको गङ्गाजल ल्याएर यता छर्केर पनि अलि पुग्दैन भन्छन् जानकारहरू । कतिपयको साझा मुद्दामा काम गर्नुपर्ने मत छ । मुद्दा भन्यो कि, डर लाग्छ । यो भूगोलमा कतिपय मुद्दा चैँ मान्छे मरेपछि छिनिन्छ । ‘चालिस वर्ष जेल बसेपछि निर्दोष साबित’ भनेजस्ता शीर्षक पनि आउँछन् अखबारमा । पढ्नैपर्छ । पढ्नुको पीडा नि !
कुरा उठ्दा चैँ के उठ्यो? कि उठ्यो, बस्यो?
एउटा कार्यक्रम रहेछ । उद्घोषकले भनेछन्— ‘अब म यस कार्यक्रमका प्रमुख अतिथिलाई आफ्ना दुई शब्द राखिदिनुहुन अनुरोध गर्दछु ।’
प्रमुख अतिथिले भनेछन्— ‘उठेँ । बसेँ ।!
उठेछन् । अनि बसेछन् । दुई शब्द । ठ्याक्कै दुई । तेस्रो शब्द बोल्नुभनेकै छैन ।
बहाना बजार नि ।
यस्तै हुनलाई कुरा उठेको होइन होला । आशा गरेको नि । कम भयो भने त गजबै हुन्छ । भएन भने पनि गजबै हुन्छ । काम भएन भने त्रुटि पटक्कै हुँदैन ।
कुरा उठ्दा, सुरुमा अलि नबुझिने उठ्यो । भनियो— साहित्यमा ‘युनिभर्सल्स’ को समय होइन । छलफल हुँदै जाँदा अलि अलि बुझियो । भन्नाले, ठुला ठुला आदर्शका वैश्विक कुरा गरेर चैँ… अलि नहुने समय पो आयो कि ? उसो भा, कस्ता गर्नु त कुरा? फेरि छलफलमा आयो— आफ्नै कुरा । आफ्नै भूगोलको कुरा । आफ्नै धरातलको कुरा ।
अनि वैश्विक चैँ नलेख्नु त ?
यो लोकल नै नयाँ वैश्विक हो पो भन्न थाले त । थालियो ।
यसको कारण रहेछ । उहिले, अठारौँ शताब्दीतिर ‘वैश्विक मूल्य’ भनेर खुब भनेछन् विद्वान्हरूले । ‘यथार्थ’ पनि भनेछन्, र ‘सौन्दर्य’ पनि भनेछन् । हामी त घोक्न बानी परेका, घेकेछौँ । वैश्विक भनेको यस्तो । यथार्थ भनेको उस्तो । सुन्दर भनेको यो । असुन्दर भनेको चैँ यो महेश पौड्यालजस्तो । यस्तै-यस्तै ।
पछि अर्कै कोणबाट दिमाग घुम्ने केही मान्छे आएछन् । तिनले पो कुरा बुझेछन् । ती अठारौँ शताब्दीतिर परिभाषा बनाउनेले युरोपको मूल्यलाई वैश्विक मूल्य, युरोपको यथार्थलाई सबैको यथार्थ र युरोपलाई लागेको सुन्दरलाई सबैका लागि सुन्दर भन्दा रहेछन् । अब यसो भयो भने, युरोपलाई लागेकी सुन्दरी, सुनका केश भएकी, गोरी, पातली राम्री । कसैले ‘मिस नाइजेरियन कन्टेस्ट’ गरायो भने, त्यहाँ छाकिएकी सुन्दरी, युरोपको सुन्दरताको आँखाले कस्ती देख्छ? कुरा मिल्छ? मिल्दैन ।
यताका देउता उताका भूत ।
यताको पूजा उताको अन्धविश्वास ।
उताको परिवार, यतालाई टाँसेको जुँघा ।
यता धामी बसेको देखे भने के चैँ भन्लान्? सुन्नु छ । हुन त ग्रेगरीले धामीझाँक्रीमो पीएचडी गरे । कुरो बुझ्ने पनि छन् । नभएको होइनन् । तर थोरै ।
यताको ५० वर्षीय दाम्पत्यको कुरा सुने भने भन्लान्,— हे प्रभु, एउटै मान्छेसँग कसरी बितायौ ५ दशक? हैट् !
भनिहालेका त नहोलान् तर अनुमान नि ।
अलि पूर्वाग्रही पो भइयो कि ।
तर यथार्थ पनि फरक फरक चैँ छ । सत्य पनि । अनि कुन युनिभर्सल? युनिभर्सल भन्ने नै हुँदैन, मूल्यको कुरा गर्दा ।
यसमा झगडा गर्ने ठाउँ त छ, तर पनि, सत्य हो । मानव अधिकारकै कुरा गर्दा पनि, आज सैनिक शासकलाई साधौँ, भोलि आङ साङ सु क्यीलाई । आज जर्मनलाई साधौँ, भोलि उहुदीलाई । के भन्नु र खोइ?
त्यसैले, हाम्रा लागि सबैभन्दा बलियो यथार्थ हो — हाम्रो यथार्थ ।
सबैभन्दा बलियो विश्व, हाम्रै आँगन ।
सबैभन्दा बलियो सत्य, हामीले भोगेको सत्य ।
चौभिनिज्म पो भयो कि । भन्छन् नि— आफैँ राम्रो, अरू नराम्रा भन्ने दाबी तर होइन । हामी राम्रा अरू नराम्रा भन्दा चैँ त्यसो हुने हो । हामीलाई हामी नै राम्रो, अरूलाई अरू नै राम्रा भन्दा त मुद्दा लाग्दैन नि । हो, यो कुरा । भनौँ त, सापेक्षित सत्यको कुरा ।
यो कुरा उठ्यो । भनौँ, विश्वसँग जे-जे संवाद गर्नुपरे पनि भारत र नेपालका हामी नेपाली साहित्यकारले टेक्ने जमिन हाम्रै जमिन । यो कुरा आयो । सबैले माने । ताली बजाए । कुरा हो पनि ।
आज आएर देवकोटाले ‘प्रमीथस’ लेखेका भए प्रश्न गरिने नै थियो ।
आज आएर बीपीले ‘हिटरल र यहुदी’ लेखेका भए प्रश्न गरिने नै थियो ।
आज आएर मदनमणिले ‘ग्याँस च्याम्बरको मृत्यु’ लेखेका भए प्रश्न गरिने नै थियो ।
तर आज आएर । ऊ बेला त वैश्विक भन्ने करिब करिब युरोपेली कुरो नै त थियो । हाम्रा लेखकले पनि त्यसै गरे कतिपय सन्दर्भमा । यताको लेखेनन् भनेको होइन । लेखे । तर पनि, त्यो पश्चिम–मोह चैँ मनमा नभएको होइन । होइन आगो त प्रमीथसले नै ल्याएको हो नि त मान्छेका लागि? त्यस्तो अर्को कुन पात्र छ त यता? प्रश्न त आउला तर भगीरथले सुन्लान् ।
अलि बिस्तारै भनूँ कि? गन्धमादन बोकेर उडेका हनुमान्ले चैँ नसुन्लान् । उड्दा हावाको स्वाँले अलि सुनिँदैन । मान्छेका लागि चन्द्रमाले अलिकति अन्न मागेछन् अरे । तिर्न सकेनछन् अरे । अनि चन्द्रमालाई नै खाइदेछ अरे साहूले । त्यही भएर ग्रहण लाग्दा बाजा बजाएर कराउनुपर्छ— छोड्दे….छोड्दै । सबै लेखिनँ । कारण बुझ्नुभयो होला ।
आर्किटाइप भन्छन् । आद्यविम्ब । अथवा आद्यप्रारूप । त्यसैको कमी छ पूर्वमा भन्ने कुरा त पत्याउनै गाह्रो । समय अर्कै भएर आएको हुनाले यत्ति भनेको । ब्ल्याक एस्थेटिक्स भने । हल्लाए त । वोले सोयिङका, चिनुवा अचेबे र टोनी मोरिसन — तीन जना अश्वेत लेखकका कुरा मात्रै बुझ्नु हो भने नि, वैश्विक भन्नु जाली कुरा रहेछ भन्न सजिलो हुन्छ ।
कुरा कसो रहेछ भनेर घोत्लिँदा अचम्म हरेछ । आआफ्नै धुनमा बाजा बजाउने रहेछ । गाउने पनि रहेछ । अनि यो सबै हल्ला रेकर्ड गरेर सुन्दा पनि यो गीत–सङ्गीत हो भन्ने चैँ बुझिने रहेछ, मिल्ने भन्ने नहुँदो रहेछ । मिलाएर सुन्ने पो रहेछ । मिलाएर सुन्न गाह्रो किन छ? किन कि, सिद्धान्तले सङ्गीत भन्नु चैँ यस्तो, सुर यस्तो, ताल उस्तो भनेको छ । हाम्रा कानमा त्यही छ ।
अलिकति फरक पऱ्यो कि कानले नै यो बेसुरा भयो भन्छन् । उसो भए, त्यो सुरताल समाउन नसक्नेको सङ्गीत चैँ कहिले सुनिने? कसले सुन्ने? नसुन्ने? कि नसुनेरै जाने?
लोकल र युनिभर्सलेको कुरा । लोकल नै नयाँ युनिभर्सल भन्नुको दार्शनिक जग यो हो । यो होइन भने, फेरि ऊ नै हो । ऊ नै हो भने, ऊ त छँदै छ नि? किन नयाँ सौन्दर्य अथवा परिभाषा खोज्नु र? नखोज्दा पनि भयो त कति हो कति दशक?
होइन । खोज्नुपर्छ । धामीले फलाक्दा पनि सङ्गीत आउँछ । त्यसको परिभाषा र सिद्धान्त हामीले बनाउने हो ।
कुरा यस्तै उठे त सौराहमा? उठे पनि उठेनन् पनि । सार उठ्यो । व्याख्या त यसो कोसिस गरेको नि मैले आफैँ । अथवा, मैले यसरी बुझेँ भनौँ न ।
भनेपछि हामीले हामीलाई नै जोड्न केही कुरा भत्काउनुपर्ने रहेछ ।
यो सत्य, वैश्विक, सौन्दर्य र यथार्थ भन्ने कुरा फलामका होइनन् । यी लडिरहने पहिरो हुन् । यो बुझ्दा ठीक होला भन्ने कुरा रहेछ ।
अरू पनि अनेक कुरा छन् । हाम्रो भूगोल— यानि नेपालका हामी नेपाली, भारतका नेपाली वा गोर्खाली, र विश्वभरिका नेपाली डायस्पोराले निर्माण गरेको अमूर्त, साझा भाषासंस्कृतिको भूगोल । यसमा उभिनु छ । यसमै अनुहार खोज्नु छ । अझ प्रस्ट हुनु छ । यसमा यी मुद्दा आउलान् भन्ने अनुमान गरियो ।
— नेपालका नेपालीमाथि छरछिमेकका ठुला भाषा, राजनीति र संस्कृतिको छाया । कसरी भने नि, नेपाल हेर्न तेर्स्याएको टेलिस्कोपमा अन्यत्रकै लेन्स हुन्छ । अनि पुराण लेखे पनि, महाभारत लेखे पनि ‘अरूले नै पहिले लेखेको, बाहिर पठाएको’ भन्ने हुन्छ । नेपालबाहिर, नेपाली सबै अल्पसङ्ख्यक । बहुसङ्ख्याकको छाया । ‘छायाहरूको विश्व’ शीर्षक राखेर उपन्यास देखिदिऊँ जस्तो नि । यी छायालाई कसरी उनन्चास वायुको बलले ठेल्न सकिन्छ? यो गहन प्रश्नमा छलफल गर्नुपर्छ — यो कुरा कसो कसो उठ्यो । यस कुराको विस्तार अरू कुनै लेखमा गर्नेछु ।
— लेखनका मोडेल पनि उतैका आउँछन् । पाश्चात्य संस्कृतिको चर्को चाप । कसरी निवृत्ति लिने? सम्भव छ? छ नि । तर सुरु गरूँ भन्यो, आइतबार पर्छ, आइतबार साइत नगर्नू भन्छन् । भारतमा र बाहिर छुट्टी । भेटघाट, लुगा धुने, नुहाउने । सोमबार जन्मबार । मङ्गलबार खरो बार । बुधबार ढिलो बार । बिहीबार बार्ने बार । शुक्रबार सन्तोषी माताको जय । शनिबार नेपालमा छुट्टी । लुगा धुनु कि, नुहाउनु कि, मोडेल बनाउनु? यस्तै भनेको शताब्दिऔँ भयो । अझै शताब्दिऔँ हुने त होला…। बहाना बजार । मिना बजार । पालिका बजार ।
— हिमाली दर्शन । सुनेरै छाती सगरमाथाभन्दा माथि । हिमाल चैँ चढेर झन्डा गाड्ने मात्रै कि? हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो । हिमाल दर्शन पनि हो कि? सभ्यता पनि हो कि? शेर्पालाई सोध्दा देवी हुन् भन्छन् सगरमाथा । कुइरेलाई सोध्दा चढ्ने र परास्त गर्ने किल्ला । फरक छ? छ नि । छ भने, हामीले लेखेर बुझाउने हो कि? अथवा नदी । बगेको पानी, डुङ्गा चलाउने, खेतमा पानी लाउने, वा माछा मार्ने । यत्ति कि? जीवन दर्शन पनि हो नदी? भो, नकुरा अरम । किन कि यसरी सोच्न त ज्यादै ट्याम पो लाग्छ त हौ अन्त । डल्लै जिन्दगी लाग्छ त हौ, अन्त सरहरू ।
— यहाँको वातावरण — हामीले चाल नपाइएको माल । विदेशी आउँछन्, हामीलाई पढाएर जान्छन् । दिनभरि लाएर चराकै नाम सोध्नु कुनै बुढी आमैलाई भने पनि सुनेरै सकिँदैन । कविराजलाई ओखतीमुलोकै सोध्नु हो भने पनि सकिँदैन । काँचो सिम्रिक, पाखनबेत, जेठी मधु, केशर, ज्वानो, मजिटो…भो । जीवनसँग जोडिन्छ । हामीले लेखनमा ल्याउँदा हुनुपर्ने हो क्यारे । यो सम्पूर्ण भेग जोडिन्छ र मलाई लाग्छ, विश्वले हाम्रो कुरा सुन्छ । किन भन्दा, आज हिमालयभरि आँखै आँखा छन्, विश्वका । सबले हेरिरहेका छन् । हिउँ हेरेका होइनन् । हिमालयले विश्व बचाउन सक्छ । यो बुझेर यता फर्किएका । हेरेका । आशाको हेराइ । त्यस हेराइको केन्द्रमा हामी छौँ । आँखा चिम्लेर विचार गर्नुहोस् त । हामी छौँ नि । छैनौँ र? तर हामी कुण्ठा लेख्छौँ भने त, त्यस कुण्ठाको डलर भाउ कति हुने हो, खै?
र अन्य धेरै । अन्य धेरैको चर्चा फेरि अर्कोपल्ट ।
जोड्न खोज्दा जोड्न भेटिन्छि । सार्थक जोडन, जो छापामा रहन्छ ।
जोडन चुडाउने राजनीतिभन्दा धेरै बलियो हुन्छ यस्तो भाषा, कला र संस्कृतिका मुठालाई साझा मुद्दाले बाँधेर बनाइएको कुन्युँ । तपाईँ–हामी मेहे । दाइँ बर दो, मेहेका टुप्पाको कोइली बस्यो ।
त्यो कोइलीले हाम्रो गीत गाउने छ ।
विश्वले सुन्छै सुन्छ ।
कोइलीको नाम बेचेर कागको गीत गायौँ भने चैँ त खोइ, केही भन्न सकिन्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।