गजललाई गजलको व्यक्तित्वले सुसम्पन्न गर्ने दुई ऊर्जस्वी तत्त्व हुन् काफिया र रदीफ । श्रोताका दिलसम्म पुगेर आनन्दको तरङ्ग पैदा गर्ने सामर्थ्यले गर्दा यिनले आदिकालदेखि नै गजलमा मौलिक स्वाद–संवेदना भरिदिएका छन् । वास्तवमा गजलका शेरहरूमा चरमोत्कर्षको चूडान्त संस्पर्श प्रदान गरेर भावकका मनमा चामत्कारिक रोमाञ्च सृष्टि गर्ने शब्दसामर्थ्यका नाम हुन् काफिया र रदीफ ।
अब आउनुहोस्, यिनमध्ये पनि काफियाबाट चर्चाको श्रीगणेश गरौं ।
..
काफिया
के हो त काफिया ? शब्दकोश पल्टाएर हेर्दा अरबी भाषाको पुलिङ्गी शब्द रहेछ काफिया । काफियाको अर्थचाहिँ अनुप्रास वा अन्त्यानुप्रास रहेछ, तुक रहेछ ।
लोलीमा बोली मिलाउनु नै अनुप्रास हो । नेपाली पद्य कवितामा अनुप्रासको प्रयोग गरिएको हामी जताततै पाउँछौं । आदिकवि भानुभक्तको रामायण प्रारम्भ गर्दाः
एक् दिन् नारद सत्यलोक् पुगिगया लोक्को गरूँ हित् भनी
ब्रह्मा ताहिँ थिया प-या चरणमा खुशी गराया पनी ।
हामी सबैले पढे–सुनेकै पंक्ति हुन् । यहाँ दुई पाउका अन्त्यमा आउने भनी र पनी को जोडीलाई नै अनुप्रास/अन्त्यानुप्रास भनिन्छ । यसैलाई गजलको भाषामा चाहिँ काफिया भनिँदो रहेछ ।
..
अन्त्यानुप्रास र उपान्त्यानुप्रास
काफिया मिस्राका अन्त्यमा वा उपान्त्यमा आउने उस्तै उस्तै सुनिने लबज वा पद हो । एउटा शेर उठाऔँः
मिर्मिरेमा मैले देखेँ प्रकृतिको गीत
फक्रिएको फूलभरि तप्किएको शीत ।
यहाँ मिस्राका अन्त्यमा आएका गीत र शीत नै एक जोडी काफिया हुन् । वास्तवमा अघिल्लो अक्षरको स्वरवर्णलाई समेत समेटेर पछिल्लो पदांश आवृत्ति हुने समान पदलाई नै काफिया भनिन्छ, अनुप्रास भनिन्छ ।
अब यो शेर पढौँः
छिपाउ आज जती, भोलि सत्य बोल्नेछ
लुकाइए जति सारा रहस्य खोल्नेछ ।
यहाँ मिस्राका अन्त्यमा बोल्नेछ र खोल्नेछ काफिया जोडी बनेर आएका छन् । यहाँ बो र खो मा आएको ओ स्वरवर्णलाई समेटेर ल्नेछ पदांशको आवृत्ति भएको पाइन्छ, अर्थात् ओल्नेछ पदांश दोहोरिएको छ ।
काफिया गजलमा अनिवार्य रुपले रहने तत्त्व हो । स्पष्टै भनौँः काफिया बिना गजल बन्दैन । गजलका पहिलो शेरको दुवै मिस्रामा र बाँकी शेरका दोस्रो मिस्रामा काफिया रहने गरेको हामी थाहा पाउँछौं । एउटा गजल सुनाउँछुः
साँझमा याद तिम्रो सधैं आउँछ
मस्तिको वासना फेरि फैलाउँछ,
..
दुइ मुटू एक पारेर जे सुन्दथ्यौं
गुन्गुनाएर दिल गीत त्यै गाउँछ,
..
बैंसको स्वाद चाखेर जो चल्दथ्यो
मग्मगाएर हावा त्यही छाउँछ,
..
आज एक्लै त्यहीँ छु जहाँ थ्यौ तिमी
प्यार गर्दै बितेको त्यही ठाउँ छ ।
..
यस गजल रचनामा पहिलो शेरका दुवै मिस्रामा अनि बाँकी सबै शेरका दोस्रो मिस्रामा आएका अन्तिम पद नै काफिया हुन् । ती आउँछ, फैलाउँछ, गाउँछ, छाउँछ र ठाउँ छ का रुपमा सलक्क मिलेर शेरका दोस्रो हरफको अन्त्यमा थपक्क बसेका छन् । यसरी गजलमा प्रारम्भदेखि अन्त्यसम्म उस्तै उस्तै लाग्ने पद काफिया वा अन्त्यानुप्रासको निर्वाह गरिएको हुन्छ । काफियाले सिङ्गो गजल रचनामा रहेको शेर परिवारलाई आफ्नो न्यानो र सुखद आलिङ्गनमा बाँधेको हुन्छ, मर्यादा र सीमामा आबद्ध गरेको हुन्छ ।
कतै काफिया मिस्राको अन्त्यमा आउँछ, कतै उपान्त्यमा । उपर्युक्त गजलमा काफिया मिस्राको अन्त्यमा आएको छ अन्त्यानुप्रास बनेर । तर, निम्नांकित गजलमा चाहिँ अन्त्यमा होइन, त्यसभन्दा पहिले मिस्राको उपान्त्यमै काफियाले आफ्नो आसन जमाएको छः
रहे साथ तिम्रो यही रात प्यारो
तिमी सँग एकान्तको बात प्यारो,
..
गिराए तिमीलाई नै जीत हुन्छ –
भने, जीतभन्दा बरु मात प्यारो,
..
वसन्ती हवाले बहाएर ल्यायो
सुगन्धी कलीबाट सौगात प्यारो,
..
म सम्झन्छु यो मोडमा लड्खडाई
सहारा दिने यारको हात प्यारो ।
..
यहाँ रात, बात, मात, सौगात, र हात यी काफियाहरु अन्त्यको प्यारो पदभन्दा पहिले नै आएका छन् ।
..
काफियामा दम
काफिया गजललाई चिनाउने लबज हुन् । हरेक शेरमा लहरै आएर यी लबज वा पदहरुले रचनामा प्राण भरेका हुन्छन् । गजल सुन्दा हरेक शेरका अन्त्यमा श्रोताका कर्णकुहरमा सरसराउँदै प्रवेश गरेर यिनले मन मुटुमा सनसनी मच्चाउँछन्, अनि चित्तमा चमत्कार जगाउँछन्, भावकलाई मक्ख पार्छन् । शायरको बयान गर्ने बोलीमा शक्ति छ, काफियामा दम छ भने काफिया पढ्नासाथ श्रोताले वाह गर्दछ, नगरी सुक्खै छैन । नगरोस् पनि किन ? कथ्य र ध्वनिको चरमोत्कर्ष त्यहीँ फेला पर्दछ अनि चित्तमा कतै काव्यको चमत्कारपूर्ण बिजुली चम्कन्छ । कविकुलगुरु कालिदासले वागर्थाविव सम्पृक्तौ भने झैँ वाणी र अर्थको रमणीय रोमाञ्चक समागम यहीँ हुन्छ, शेरमा शुरु गरिएको आस्वादन यज्ञको पूर्णाऽऽहुति यहीँ हुन्छ ।
काफियाका रङ र रूप विविध हुन्छन् । कतै धेरै वटा स्वर–व्यञ्जन समूहलाई काफियाले समेट्छ, कतै थोरै । कहिलेकाहीँ त पदान्तको स्वरवर्णलाई मात्र पनि काफियाले अपनाएको पाइन्छ । तर, सामान्यतया दुईदेखि चार वर्णसम्मको आवृत्ति भएको काफिया बढी आस्वाद्य बन्दछ । आउनुहोस् अब यो गजल गुन्गुनाऔँः
किन किन उनीछेउ आउनचाहिँ आइएन
उन्लाई छोडी अन्त कतै मायाँ पनि लाइएन,
..
हुरीसँगै जुझिरहें झरीसँगै रुझिरहेँ
ओत लाग्ने ठाउँसम्म कतै पनि पाइएन,
..
काल सधैँ आइरह्यो, आतंक भै छाइरह्यो
जिन्दगीको मीठो गीत ढुक्कसँग गाइएन,
..
एकान्तमै रोइरहेँ, झूठो दोष सहिरहेँ
तर उनीलाई छोई झूठो कसम खाइएन,
..
मनभरि उन्कै मायाँ, मुटुभरि उन्कै छायाँ
माया गर्छु भन्ने बेला तर मुख बाइएन ।
..
यस गजलमा चार अक्षरवाला आइएन पदांशको आवृत्ति भएको पाइन्छ र आइएन, लाइएन, पाइएन, गाइएन खाइएन र बाइएन काफिया बनेर आएका देखिन्छन् ।
काफियाको एउटा प्यारो साथी पनि हुन्छ, त्यसलाई भनिन्छः रदीफ । कस्तो हुन्छ त त्यो ?
..
रदीफ
शेरमा काफियाका पछिपछि आउने पद/पदावलीलाई रदीफ भनिन्छ । रदीफ अरबी भाषाको स्त्रीलिंगी पद हो, यसको अर्थ नै हुन्छः पछि पछि आउने । हुन पनि जब जब रदीफ आउँछ काफियाको अनुगामी भएर नै आउँछ, अर्थात् अघिअघि काफिया, पछिपछि रदीफ । तर सबै गजलमा रदीफको प्रयोग भएकै हुनुपर्छ भन्ने छैन । यो शायर/गजलकारको स्वेच्छामा निर्भर हुन्छ । कुनै गजलमा उसले रदीफ राख्दछ, कुनैमा राख्दैन, तर जहाँ राख्दछ त्यहाँ रदीफले काफियालाई पछ्याएकै हुन्छ ।
..
मुरद्दफ र गैरमुरद्दफ
रदीफ राखिएको गजललाई मुरद्दफ गजल र रदीफ नराखिएको गजललाई गैरमुरद्दफ गजल भनिन्छ । अर्थात् रदीफयुक्तः मुरद्दफ, रदीफमुक्तः गैरमुरद्दफ । रदीफको खास विशेषता के हो भने यो एउटै पद वा पदावलीका रूपमा देखा पर्दछ र काफियापछि पुनरावृत्त हुन्छ, अर्थात् रदीफ रौं पनि नबिराई दोहोरिएर आउँछ । उदाहरणका लागि एउटा गजल हाजिर छः
सधैँ ठीक्कको घामपानी हुँदैन
चिताए सरी जिन्दगानी हुँदैन,
..
सधैँ फूल वैलाउँदै यत्ति भन्छ –
हमेशा कसैको जवानी हुँदैन,
..
सधैँ नामकै लागि जो मर्छ आज
उसैको त नामोनिशानी हुँदैन,
..
सधैं यऽऽत्ती प्यूँछन्, उनै फेरि भन्छन्
पिएँ, यत्तीले केही हानी हुँदैन,
..
दिइरन्छ न्यानो ऊ आफैँ जलेर
जहाँसम्म आगो खरानी हुँदैन ।
..
बुझिहाल्नुभयो – यहाँ हुँदैन पद रदीफ हो । गजलमा यसले प्रत्येक काफियालाई पछ्याएको छ । पानी, जिन्दगानी, जवानी, निशानी र हानी यी काफिया पद पछि हुँदैन आएकै छ ।
यहाँ त एउटै पद रदीफका रूपमा आयो, यसैगरी अनेक पद अर्थात् सिंगै पदावली पनि रदीफका रूपमा आउन सक्दछ । अर्को गजल पेश गर्छुः
..
यादमै रात कटाएर सबेरै आएँ
भेट्न उस्लाई म धाएर सबेरै आएँ,
..
जोशिलो यौवनको जाम पलैमा ढल्दा
गर्विलो माथ झुकाएर सबेरै आएँ,
..
रात दिन वैभवको चैन म लुट्छु भन्थेँ
आज सर्वस्व लुटाएर सबेरै आएँ,
..
बागमा फूल फुल्यो, सौरभमा भृंग भुल्यो
भुल्न उस्लाई नआएर सबेरै आएँ ।
..
यहाँ सबेरै आएँ यी दुई पद/पदावली रदीफका रूपमा देखा परेका छन् र तिनले कटाएर, धाएर, झुकाएर, लुटाएर, नआएर जस्ता काफियालाई पछ्याएका छन् । कहिलेकाहीँ अझ लामो पदावली पनि आउँछ रदीफ बनेर, आउनुहोस् गुन्गुनाऔँ बह्र ए हजज मा रचिएको यो गजलः
भुलेको स्वप्न खोतल्दा उसैलाई म सम्झन्छु
पुरानो खण्डहर ढल्दा उसैलाई म सम्झन्छु,
..
मिटायो जिन्दगी जस्ले उज्यालोको लडाइँमा
दियो एकान्तमा बल्दा उसैलाई म सम्झन्छु,
..
जगायो चित्तमा पहिलो अनौठो कुत्कुती जस्ले
जवानीको कुरा चल्दा उसैलाई म सम्झन्छु,
..
दिलैमा साँचिराखेको पुरानो प्रेमको प्याला
नजर्को मोती भै ढल्दा उसैलाई म सम्झन्छु ।
..
यहाँ पदावलीमात्र नभएर सिंगै उपवाक्य नै रदीफ बनेर झुल्किएको छः उसैलाई म सम्झन्छु । यहाँ पनि खोतल्दा, ढल्दा, जल्दा, र ढल्दा जस्ता काफियाको अनुगामी बनेकै छ रदीफ छायाँजस्तो भएर, नछुट्ने साथीजस्तो भएर ।
तर, कतै कतै यो छायाँ विलीन हुन्छ, अर्थात् रदीफ बिना पनि गजल बन्दछ । पहिले नै चर्चा भइसक्योः रदीफ ऐच्छिक तत्त्व हो । रदीफ सबै गजलमा हुनैपर्छ भन्ने नियम होइन, गजलमा काफिया नै काफी हुन्छ कहिलेकाहीँ । आउनुहोस्, अब बह्र ए मिनकारिब मा रचिएको गजलका यी सुमधुर शेरहरू गुन्गुनाऔँः
..
खुशीमा थियो साथ मेरो जमाना
दुःखी छु म, आफन्त नै छन् बिराना,
..
उदासी बिलौना मुटूमै थिचेर
यता ओठ भर्छन् खुशीको तराना,
..
मलाई सधैँ पाउला दुःख नेर
यिनै मित्र विश्वासिला हुन् पुराना,
..
यस गजलांशमा जमाना, बिराना, तराना र पुराना जस्ता काफियाले नै काफी तरन्नुम पैदा गरेका छन्, गजलमा लय भरेका छन् । यस्तैलाई भनिन्छः गैरमुरद्दफ गजल ।
तर यहाँ भने रदीफकै कुरा गरौँ, मुरद्दफ गजलकै चर्चा गरौँ किनभने रदीफ गजलकै भलै अनिवार्य तत्त्व नहोस् तर आवश्यक तत्त्व त हो नै । गहिरिएर हेर्ने हो भने काफिया मात्र भएको गजलभन्दा रदीफसमेत भएको गजल परिपूर्ण लाग्दछ, आकर्षक देखिन्छ र रमणीय पनि हुन्छ । वास्तवमा रदीफमा गजल रम्दछ र जम्दछ पनि ।
..
वाह! वाह!! लाई पनि मात
रदीफले गजलका शेरैपिच्छे दोहोरिएर अनौठो मनमोहक लय–लालित्य पैदा गरेको हुन्छ, गीतिगौरव भरेको हुन्छ र श्रुतिमाधुर्य छरेको हुन्छ । गजल सुनाउँदा, गाउँदा सचेत श्रोता र सरस भावक ध्यान दिएर सुन्दछन् र पर्खन्छन् – काफिया पद कुन रङ लिएर आउला भन्ने पक्का नभएर । तर रदीफ भने शायर वा गायक सँगसँगै गुन्गुनाउँछन् शेरका अन्त्यमा यही पद–पदावली आउँछ भन्ने पक्का भएर, गजल प्रस्तोताको स्वरमा स्वर, भाकामा भाका मिलाएर सम्पन्न गरिने यो सहगान वास्तवमा वाह ! वाह !! लाई पनि मात गर्ने खालको हुन्छ । यसैमा आउँछ गजल सुन्नुको खास मज्जा, यहाँ कारकीय र भावकीय संवेदनाको सहयात्रा सम्पन्न हुन्छ, प्रस्तोता र श्रोताको रसस्वाद–चेतना एकैसाथ एउटै महाकाशमा मुक्त उडान भरिरहेका हुन्छन् ।
फेरि सिङ्गो गजलरचनाको मूल धारलाई पनि रदीफले समाएको हुन्छ, मुख्य कथ्यलाई रमणीय बनाएको हुन्छ । गजलमा कुनै खास केन्द्रीय कथ्य छ भने रदीफ बढी सुहाउँछ, अझ भनौं मुसल्सल गजलमा रदीफको रौनक बढेको पाइन्छ ।
काफिया र रदीफ गजलको मत्ला को शेरका दुवै हरफमा पाइन्छन् । अन्य शेरमा चाहिँ दोस्रो हरफमा मात्र प्रकट हुन्छन् ।
अब तपाईं सोध्नुहोलाः के हो यो मत्ला भनेको ?
आउनुहोस् रसिकवृन्द ! अर्को आइतबार मत्ला बारे चर्चा गरौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।