१. प्रवेशद्वार

मदन पुरस्कारलाई नेपाली लेखक तथा साहित्यकारहरूले एउटा गौरवका रूपमा लिने गरेको पाइन्छ । जुन कुराप्रति मान्छेको अत्यधिक आकर्षण हुने गर्दछ त्यसप्रति उत्ति नै आलोचना वा विरोधका स्वरहरू पनि सुनिने गर्दछन् । मदन पुरस्कार पनि उल्लिखित कुराबाट अछुतो रहन सकेको छैन । एकातिर मदन पुरस्कारलाई स्वच्छ भावनाले सुरु गरिएको सत्कर्मका रूपमा हेर्ने गरिन्छ भने अर्कातिर राणा शासक चन्द्रशमशेरको वंश परम्पराको एउटा जीवित अवशेषका रूपमा पनि लिने गरिन्छ । यति हुँदाहुँदै पनि यसले अन्य केही पुरस्कारहरू जस्तो पूणर्तः बदनामीको बर्कोभित्र मात्र आफूलाई लुकाएर बस्नुपर्ने अवस्थाचाहिँ देखिँदैन । यसले नेपाली लेखक तथा साहित्यकारहरूलाई सम्मान दिएको छ, नेपाली सिर्जनाहरूको महत्त्व वृद्धि गरेको छ र कतिपय लुकेका स्रष्टाहरूलाई पनि बाहिर ल्याइदिने काम गरेको छ । आफ्नो झन्डै सात दशक लामो अनवरत यात्राका क्रममा यसले प्रशंसा र आलोचना दुवैको सामना गर्नुपरिरहेको छ ।

अहिले पनि नेपाली बजारमा यस्ता कुराहरू सुनिने गर्दछन्— “मदन पुरस्कार राणाकालीन सम्पत्ति र सानको अवशेष हो, मदनशमशेरको प्रचार र रानी जगदम्बाले गरेको पतिश्राद्धको वास्तविक प्रतिविम्ब हो, स्रष्टाहरूलाई मनोवैज्ञानिक रूपमा प्रलोभनको साङ्लोमा बाँध्ने सुनियोजित षड्यन्त्र हो र दीक्षित परिवारको छत्रछायामा नेपाली भाषा साहित्यलाई सधैँभरि राखिराख्ने योजनाबद्ध प्रयास पनि हो ।” यी कुराहरूमा आंशिक सत्यता कतै लुकेको होला तर त्योभन्दा बढी दोषान्वेषी नेपाली दृष्टिकोणको बाहुल्य पाइन्छ । गुणग्राही दृष्टिले हेर्ने हो भने पुरस्कार वा पुरस्कार दिने संस्थाको नामभन्दा पनि उसको कामका आधारमा युगीन मूल्याङ्कन हुनु राम्रो हुन्छ । अझै त्यसको थालनी हुनुको कारण, त्यसले राखेको उद्देश्य र झन्डै सात दशकको अनवरत यात्रामा त्यसले गरेका कामहरूको निष्पक्ष मूल्याङ्कन गर्ने हो भने मात्र त्यसको यथार्थ परिणाम देखापर्दछ । यिनै कुरालाई मध्यनजर गर्दै ‘मदन पुरस्कार विजेता’ साप्ताहिक स्तम्भमार्फत २०१३ सालदेखि हालसम्मका सम्पूणर् मदन पुरस्कार प्राप्त कृतिहरूको समीक्षात्मक जानकारी प्रस्तुत गर्ने प्रयास गरिएको हो । सबै पाठकका सामु सबै कृतिहरू पुग्न नसकिरहेको अवस्थामा कुन समयमा कस्तो कृतिले मदन पुरस्कार पाएछ भन्ने जानकारी सबै पाठकवर्गमा होस् भन्ने उद्देश्यले सुरु गरिएको प्रस्तुत स्तम्भको यस पहिलो शृङ्खलामा समीक्षात्मक रूपमा मदन पुरस्कारको स्थापनादेखि वर्तमानसम्मको ऐतिहासिक सर्वेक्षण गर्ने प्रयास गरिएको छ ।

२. मदन पुरस्कारको स्थापना र निरवच्छिन्न गतिशीलता

नेपाली भाषामा लेखिएका भाषा, साहित्य, समाजशास्त्र र विज्ञानसँग सम्बन्धित कुनै पनि क्षेत्रका कृति र कृतिकारलाई सम्मान गर्ने उद्देश्यले मदन पुरस्कारको स्थापना भएको हो । यस मदन पुरस्कार स्थापनाको घोषणा २०१२ असोज १० गते पहिलो पटक गरिएको हो भने सोही वर्ष मङ्सिर २८ गते मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको हो । यसको शुभारम्भमा नै हरेक वर्ष उत्कृष्ट कृति लेखेर नेपाली साहित्य, समाजशास्त्र र विज्ञानका क्षेत्रमा विशिष्ट योगदान दिने विद्वान् तथा विदुषीहरूलाई यो पुरस्कार प्रदान गर्ने लक्ष्य राखिएको थियो, जुन लक्ष्यअनुरूप मदन पुरस्कार गुठी आज पनि उत्तिकै सक्रियताका साथ अगाडि बढेको देखिन्छ ।

डा. देवी नेपाल

मदन पुरस्कारको स्थापना जनरल मदनशमशेर जबराका नाममा गरिएको हो । मदनशमशेर धीरशमशेरका नाति र चन्द्रशमशेरका छोरा हुन् । उनको जन्म वि.सं. १९७६ मङ्सिरमा काठमाडौँमा भएको हो । १९९३ मा उनको विवाह भारतको उत्तरप्रदेशका ठाकुरचन्द पालसिंहकी सुपुत्री जगदम्बाकुमारीसँग भएको थियो जसले मदन पुरस्कारको स्थापनामा विशिष्ट योगदान दिएकी थिइन् । २०१० साल असारमा ३४ वर्षको उमेरमा मदनशमशेरको निधन भएपछि जगदम्बामा संस्थागत रूपमा समाजसेवामा लाग्ने र सँगसँगै आफ्ना पतिको नामलाई समेत अमर बनाउने सोच उत्पन्न भयो, जसको फलस्वरूप मदन पुरस्कार गुठीको स्थापना भयो । यस गुठीअन्तर्गत मदन पुरस्कार पुस्तकालय, मदन पुरस्कार, जगदम्बा प्रकाशन, जगदम्बा छापाखाना र जगदम्बा पुरस्कार मुख्य रूपमा रहेका छन् । गुठीको स्थापनामा जगदम्बाको प्रमुख भूमिका रहे पनि त्यसपछि यस संस्थालाई गतिशील बनाउनका लागि केदारमणि दीक्षित, विद्यादेवी दीक्षित र कमलमणि दीक्षितको अविस्मरणीय भूमिका रहेको देखिन्छ । त्यसैले केदारमणि, विद्यादेवी र कमलमणिलाई मदन पुरस्कार गुठीका त्रिरत्न भन्ने गरिन्छ ।

वि.सं. २०१२ सालमा स्थापना भएको मदन पुरस्कार २०१३ सालबाट प्रदान गर्न सुरु गरियो । सुरुमा नेपाली भाषा, साहित्य, समाजशास्त्र र विज्ञानसँग सम्बन्धित विषयक्षेत्रका चारओटा कृतिहरूलाई चार चार हजारका दरले यो पुरस्कार प्रदान गर्ने उद्देश्य राखिएको थियो । त्यसैले मदन पुरस्कारको इतिहासलाई हेर्दा सुरुका चरणमा कुनै वर्ष चार जनाले, कुनै वर्ष तीन जनाले, कुनै वर्ष दुई जनाले र कुनै वर्षचाहिँ एक जनाले मात्र पनि यो पुरस्कार पाएको देखिन्छ । यसरी थालनी भएको यस पुरस्कारको राशि २०२५ सालसम्म चार हजार रुपैयाँ (चार जनाले पाउँदा रु १६,०००) मात्र थियो । २०२६ सालदेखि दुईओटा कृतिलाई रु. दश दश हजार नगद प्रदान गर्ने व्यवस्था गरियो । २०३३ सालदेखि यसको कार्यविधि र रकममा समेत केही संशोधन गरी त्यस वर्ष प्रकाशित एउटा सर्वोत्कृष्ट कृतिलाई रु. २५ हजार नगद पुरस्कार दिने व्यवस्था भयो ।

यसपछि हरेक वर्ष त्यस वर्षभरि प्रकाशितमध्येमा एउटा सर्वोत्कृष्ट कृतिलाई उक्त वर्षको मदन पुरस्कार प्रदान गर्ने परम्परा बसाइयो, जुन आजसम्म पनि यथावत् छ तर पुरस्कारको राशिमा भने समयानुकूल परिवर्तन हुँदै आएको देखिन्छ । जस्तैः २०४० सालमा मदन पुरस्कारको रकममा वृद्धि गरी रु. ३० हजार बनाइयो भने २०४२ सालमा त्यसमा पनि वृद्धि गरी रु. ४० हजार बनाइयो । यसरी नै २०४३ सालदेखि रु. ५० हजार, २०५१ सालदेखि रु. एक लाख र २०६१ सालदेखि यसलाई रु. २ लाख बनाइयो । साथै २०७५ सालदेखि यसको पुरस्कार राशिमा थप वृद्धि गरी रु. चार लाख बनाइएको छ । हाल मदन पुरस्कार प्राप्त गर्ने स्रष्टालाई दुबोको मालाले सजाएर नगद रु. चार लाखका साथमा प्रमाण-पत्र प्रदान गर्ने गरिन्छ । अक्षयकोषका रूपमा राखिएको मूलधन ४० लाख रुपैयाँबाट प्राप्त हुने ब्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष एक जना स्रष्टालाई मदन पुरस्कार र एक जना दीर्घसाधकलाई जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ ।

मदन पुरस्कारको थालनीदेखि नै त्यस वर्ष प्रकाशित कुनै पनि कृति लेखक वा प्रकाशकले गुठीले तयार पारेको आवेदन-पत्र भरी चैत्र मासान्तभित्रमा बुझाउनुपर्ने र विज्ञसमूहबाट तिनको मूल्याङ्कन गरी बुझाइएका कृतिहरूमध्येमा सर्वोत्कृष्ट कृतिलाई पुरस्कारका लागि सिफारिस गर्ने अनि गुठीले औपचारिक सूचनामार्फत घोषणा गर्ने परम्परा रहँदै आएको थियो । २०७२ सालपछि भने प्राप्त कृतिहरूमध्येमा उत्कृष्ट दशओटा कृतिहरूलाई केही समयअगाडि नै सार्वजनिक गरिदिने र तिनैमध्येबाट एउटालाई पुरस्कृत गर्ने परम्पराको थालनी भएको छ । यस कार्यले सर्जक र प्रकाशक दुवैलाई थप हौसला मिलेको देखिन्छ । मदन पुरस्कार प्राप्त नभए पनि उत्कृष्ट दशभित्र पर्न सफल कृतिहरूप्रति पाठकीय चासो ह्वात्तै बढेर गएको देखिन्छ । यस कार्यले थप नौ जना स्रष्टाहरूको विशेष चर्चा, सम्मान र कृतिगत लोकप्रियताका लागि सहयोग पुर्‍याएको छ भने पाठकलाई पनि पठन संस्कृतितिर आकर्षित गर्न र कृतिगत मूल्याङ्कनप्रति आत्मदृष्टि निर्माण गर्न सहयोग पुगेको देखिन्छ ।

३. मदन पुरस्कारका केही ऐतिहासिक तथ्यहरू

मदन पुरस्कारले आफ्नो झन्डै सात दशकको सफल यात्रा गरिसकेको छ । २०१३ सालदेखि २०७८ सालसम्मका ६६ वर्षहरूमा २०३१ र २०३३ सालदेखि बाहेक हरेक वर्ष कुनै न कुनै स्रष्टा मदन पुरस्कारबाट पुरस्कृत तथा सम्मानित हुँदै आएका छन् । यस अवधिमा ७२ जना स्रष्टाहरूका ७५ ओटा कृतिहरूले मदन पुरस्कार पाइसकेका छन् । २०१३ सालमा पहिलो पटक प्रदान गरिएको यो पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरू क्रमशः सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी हुन् । त्यहाँदेखि यहाँसम्म आइपुग्दा मदन पुरस्कारका सन्दर्भमा केही रोचक र ऐतिहासिक तथ्यहरू फेला परेका छन् ।
साहित्यिक विधाका दृष्टिले हेर्दा हालसम्ममा कविता, आख्यान, निबन्ध र समालोचना सबै विधा र तिनसँग सम्बन्धित विभिन्न उपविधाहरू पनि पुरस्कृत भइसकेका छन् । विधागत आधारमा हेर्दा आख्यानतर्फ मदन पुरस्कार प्राप्त पहिलो उपन्यास लीलाध्वज थापाको ‘मन’ (२०१४) हो भने पहिलो कथासङग्रह रमेश विकलको ‘नयाँसडकको गीत’ (२०१८) हो । यसरी नै कवितातर्फ पहिलो कवितासङ्ग्रह गोपालप्रसाद रिमालको ‘आमाको सपना’ (२०१९), पहिलो खण्डकाव्य मुकुन्दशरण उपाध्यायको ‘प्राकृत पोखरा’ (२०२१), पहिलो महाकाव्य मोदनाथ प्रश्रितको ‘मानव’ (२०२३) र पहिलो लामो कविता मोहन कोइरालाको ‘नदी किनाराका माझी’ (२०३८) हो । निबन्ध विधाअन्तर्गत पहिलो निबन्धसङ्ग्रह शङ्कर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ (२०२४) हो भने पहिलो नियात्रा तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ (२०२६) हो । यसरी नै मदन पुरस्कार प्राप्त गर्ने पहिलो समालोचनात्मक कृति कृष्णचन्द्रसिंह प्रधानको ‘कवि व्यथित र काव्यसाधना’ (२०१५) रहेको देखिन्छ ।

यसरी नै मदन पुरस्कार प्राप्त गर्ने पहिलो नारीस्रष्टा पारिजात हुन् । उनको ‘शिरीषको फूल’ उपन्यासले २०२२ सालमा यो पुरस्कार प्राप्त गरेको थियो । कम उमेरमा मदन पुरस्कार प्राप्त गर्ने स्रष्टा मोदनाथ प्रश्रित हुन् । उनले २४ वर्षको उमेरमा सो पुरस्कार पाएका थिए । साथै मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी स्रष्टा फादर विलियम बर्क हेलिङ्गयाक्स हुन् । उनलाई ‘सही शब्द’ कृतिका लागि २०५१ सालको मदन पुरस्कार प्रदान गरिएको थियो । पारिवारिक दृष्टिले हेर्दा मदन पुरस्कार पाउने दुई दाजुभाइ धनुषचन्द्र गौतम (ध.च. गोतामे) र ध्रुवचन्द्र गौतम हुन् । धनुषचन्द्रको ‘घामका पाइलाहरू’ उपन्यासले २०३५ सालमा र ध्रुवचन्दको ‘अलिखित’ उपन्यासले २०४० सालमा मदन पुरस्कार पाएका थिए । सङ्ख्यात्मक दृष्टिले हेर्दा सत्यमोहन जोशी सबैभन्दा बढी पटक मदन पुरस्कार पाउने स्रष्टा हुन् । उनले २०१३, २०१७ र २०२८ साल गरी तीन पटक मदन पुरस्कार पाएका थिए । जोशीले सुरुका दुई वर्षमा एक्लै र पछिल्लो पटक समूहमा मदन पुरस्कार प्राप्त गरेका थिए । कृति प्रकाशन नै नभई पाण्डुलिपिकै अवस्थामा मदन पुरस्कार प्राप्त गर्ने कृति रमेश विकलको ‘नयाँसडकको गीत’ हो, जसले २०१८ सालमा मदन पुरस्कार प्राप्त गर्‍यो र २०१९ सालमा मात्र यो कृति प्रकाशन भयो ।

भौगोलिक दृष्टिले हेर्दा हालसम्ममा नेपालका कणर्ाली प्रदेशबाहेक अन्य छओटा प्रदेश र विदेशमा भारत र क्यानाडाका स्रष्टाहरूले समेत मदन पुरस्कार पाइसकेका छन् । नेपालका २८ ओटा जिल्लाका मदन पुरस्कार विजेता स्रष्टाहरू यस पुरस्कारको सूचीमा चढिसकेका छन् ।

यसरी मदन पुरस्कारले स्थापना कालदेखि आजसम्म आइपुग्दा नेपाली वाङ्मयका क्षेत्रमा एउटा गर्विलो इतिहास निर्माण गरिसकेको छ । व्यक्ति, कृति, विषयक्षेत्र र तिनमा समेटिएको आन्तरिक शक्तिलाई गहिराइमा पुगेर खोज्न थाल्ने हो भने अझै विशिष्ट ऐतिहासिक सन्दर्भहरू फेला पर्दछन् । यही मदन पुरस्कारको गुणात्मक उचाइ हो ।

४. हालसम्म मदन पुरस्कार विजेता कृतिहरू

मदन पुरस्कारको उल्लिखित ऐतिहासिक शृङ्खलामा निकै महत्त्वपूणर् व्यक्ति र कृतिहरूको गर्विलो उपस्थिति देखिन्छ । थालनीदेखि हालसम्म आइपुग्दा ७५ ओटा कृतिले मदन पुरस्कार पाइसकेका छन् । तिनको यथार्थ विवरण यहाँ क्रमशः प्रस्तुत गरिएको छ—

१. भगिराज इङ्नाम ः लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (२०७७)
२. चन्द्रप्रकाश बानियाँ ः महारानी (२०७६)
३. योगेश राज ः रणहार (२०७५)
४. नीलम कार्की नीहारिका ः योगमाया (२०७४)
५. घनश्याम कँडेल ः धृतराष्ट्र (२०७३)
६. रामलाल जोशी ः ऐना (२०७२)
७. विजयकुमार पाण्डे ः खुसी (२०७१)
८. राधा पौडेल ः खलङ्गामा हमला एउटी नर्सको डायरी (२०७०)
९. राजन मुकारुङ ः दमिनी भीर (२०६९)
१०. अमर न्यौपाने ः सेतो धरती (२०६८)
११. झमक घिमिरे ः जीवन काँडा कि फूल (२०६७)
१२. नरबहादुर साउद ः नेपालका बालीनाली र तिनको दिगो खेती (२०६६)
१३. युवराज नयाँघरे ः एक हातको ताली (२०६५)
१४. जगदीश घिमिरे ः अन्तर्मनको यात्रा (२०६४)
१५. महेशविक्रम शाह ः छापामारको छोरो (२०६३)
१६. कृष्ण धरावासी ः राधा (२०६२)
१७. नारायण वाग्ले ः पल्पसा क्याफे (२०६१)
१८. गोपाल पराजुली ः नयाँ ईश्वरको घोषणा (२०६०)
१९. रेवतीरमण खनाल ः नेपाली कानुनको ऐतिहासिक रूपरेखा (२०५९)
२०. हरिराम जोशी ः अभिनव संस्कृति कोष (२०५८)
२१. बुद्धिनारायण श्रेष्ठ ः नेपालको सिमाना (२०५७)
२२. दिनेश अधिकारी ः अतिरिक्त अभिलेख (२०५६)
२३. डा. केशवप्रसाद उपाध्याय ः दुःखान्त नाटकको सृजना परम्परा (२०५५)
२४. लोकेन्द्रबहादुर चन्द ः विसर्जन (२०५४)
२५. डा. दयाराम श्रेष्ठ ः नेपाली राष्ट्रिय झन्डा (२०५३)
२६. विनोदप्रसाद धिताल ः योजनगन्धा (२०५२)
२७. फादर विलियम बर्क हेलिङ्गयाक्स ः सही शब्द (२०५१)
२८. शरद्चन्द्र शर्मा भट्टराई ः माध्यमिक नेपाली गद्याख्यान (२०५०)
२९. डा. भवेश्वर पंगेनी ः पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन (वि.स. २००७) (२०४९)
३०. सरुभक्त ः पागल बस्ती (२०४८)
३१. भानुभक्त पोखरेल ः मृत्युञ्जय (२०४७)
३२. डा. राजेश गौतम ः नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका (२०४६)
३३. दौलतविक्रम विष्ट ः ज्योति ज्योति महाज्योति (२०४५)
३४. राजेश्वर देवकोटा ः उत्सर्ग प्रेम (२०४४)
३५. नयराज पन्त ः लिच्छवि संवत्को निणर्य (२०४३)
३६. मोहनराज शर्मा ः वैकुण्ठ एक्सप्रेस (२०४२)
३७. कञ्चन पुडासैनी ः प्रत्यागमन (२०४१)
३८. डा. ध्रुवचन्द्र गौतम ः अलिखित (२०४०)
३९. मदनमणि दीक्षित ः माधवी (२०३९)
४०. मोहन कोइराला ः नदी किनाराका माझी (२०३८)
४१. जगदीश शमशेर राणा ः नरसिंह अवतार (२०३७)
४२. डा. छविलाल गजुरेल र करुणाकर वैद्य ः नेपालका परम्परागत प्रविधि (२०३६)
४३. ध.च. गोतामे ः घामका पाइलाहरू (२०३५)
४४. डा. वासुदेव त्रिपाठी ः लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन (२०३४)
४५. भवानी भिक्षु ः आगत (२०३२)
४६. धनवज्र वज्राचार्य ः लिच्छविकालका अभिलेख (२०३०)
४७. ईश्वरवल्लभ ः आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् (२०२९)
४८. प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजङ्गबहादुर सिंह र सत्यमोहन जोशी ः कणर्ाली लोकसंस्कृति (२०२८)
४९. महानन्द सापकोटा ः नेपाली निर्वाचनको रूपरेखा (२०२७)
५०. तारानाथ शर्मा ः बेलाइततिर बरालिँदा (२०२६)
५१. धर्मराज थापा ः मङ्गली कुसुम (२०२५)
५२. पारसमणि प्रधान ः टिपनटापन (२०२५)
५३. ग्रीष्मबहादुर देवकोटा ः नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास (२०२४)
५४. शङ्कर लामिछाने ः एब्स्ट्रयाक्ट चिन्तनः प्याज (२०२४)
५५. मोदनाथ प्रश्रित ः मानव (२०२३)
५६. उत्तम कुँवर ः स्रष्टा र साहित्य (२०२३)
५७. पारिजात ः शिरीषको फूल (२०२२)
५८. लक्ष्मीबहादुर श्रेष्ठ ः वस्त्र निर्माणकला (२०२१)
५९. नवराज चालिसे ः प्राचीन हिन्दू अर्थशास्त्र (२०२१)
६०. मुकुन्दशरण उपाध्याय ः प्राकृत पोखरा (२०२१)
६१. बालकृष्ण पोखरेल ः नेपाली भाषा र साहित्य (२०२१)
६२. जनकलाल शर्मा ः जोसमनी सन्त परम्परा र साहित्य (२०२०)
६३. कोमलनाथ अधिकारी ः नैषधीय चरित (२०२०)
६४. गोपालप्रसाद रिमाल ः आमाको सपना (२०१९)
६५. रमेश विकल ः नयाँ सडकको गीत (२०१८)
६६. भीमनिधि तिवारी ः विस्फोट (२०१७)
६७. सत्यमोहन जोशी ः नेपाली राष्ट्रिय मुद्रा (२०१७)
६८. नित्यराज पाण्डे ः महाकवि देवकोटा (२०१६)
६९. गङ्गाविक्रम सिजापति ः उद्यान (२०१५)
७०. कृष्णचन्द्रसिंह प्रधान ः कवि व्यथित र काव्यसाधना (२०१५)
७१. करुणाकर वैद्य ः मृत्तिका-उद्योग (२०१४)
७२. लीलाध्वज थापा ः मन (२०१४)
७३. बलराम जोशी ः अधिकविभव स्थिरविद्युत् उत्पादक (२०१३)
७४. चित्तरञ्जन नेपाली ः जनरल भीमसेन थापा र तत्कालीन नेपाल (२०१३)
७५. सत्यमोहन जोशी ः हाम्रो लोकसंस्कृति (२०१३)

आजको बिन्दुबाट विगततिर फर्केर हेर्दा मदन पुरस्कार विजेता कृतिहरूको यस्तो चित्र देखिन्छ । यस परिदृश्यलाई हेर्दा कोही स्रष्टाहरू नेपाली वाङ्मयका क्षेत्रमा स्थापित भइसकेपछि मदन पुरस्कार प्राप्तिका लागि हकदार बनेका देखिन्छन् भने कोही स्रष्टाहरूचाहिँ मदन पुरस्कार पाइसकेपछि मात्र नेपाली पाठकसामु सुनिने र चिनिने गरेका पनि देखिन्छन् ।

५. निष्कर्ष

मदन पुरस्कार त्यस वर्ष प्रकाशित र पुरस्कार प्राप्तिका लागि आवेदन दिइएका कृतिहरूमध्येबाट एउटा कृतिलाई छनोट गरी दिइने पुरस्कार हो । यसका लागि आवेदन प्राप्त कृतिहरू नै छनोटका आधार हुने गर्दछन् । त्यसैले आवेदनको सूचनाका कारण वा स्रष्टाको स्वेच्छाका कारण कतिपय राम्रा कृतिहरू पनि त्यस वर्षको पुरस्कारको प्रतिस्पर्धासम्म पुग्न सकेका देखिँदैनन् । यही कारणले गर्दा अहिले स्रष्टा र पाठकदीर्घाबाट त्यस वर्ष प्रकाशित कृतिहरू मदन पुरस्कार गुठी स्वयम्ले खोजेर पुरस्कारका लागि मूल्याङ्कन प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने जस्ता आवाजहरू पनि उठ्ने गरेका छन् । यसो नहुँदा मदन पुरस्कारका सन्दर्भमा पछिल्ला केही दशकहरूमा अत्यधिक आलोचना पनि हुने गरेको छ । यसका सुरुका पाँच दशक मदन पुरस्कारको गरिमालाई मुक्त कण्ठले प्रशंसा गर्नेहरूको बाहुल्य थियो तर पछिल्ला दुई दशकमा भने यसले पनि अनेकौँ आलोचनाका लाठीमुङ्ग्रीहरू सहनुपरेको यथार्थ सबैसामु छर्लङ्ग छ । कहिले संस्थापकका बारेमा, कहिले सञ्चालकका बारेमा, कहिले पुरस्कार विजेता व्यक्तिका बारेमा र कहिले कृतिका बारेमा स्वस्थ र अस्वस्थ दुवै खाले आलोचनाहरू पछिल्ला दशकमा हुने गरेका देखिन्छन् । यसमा एकातिर संस्थागत पारदर्शिताको प्रश्न उठ्ने गरेको छ भने अर्कातिर कृति र प्रतिभा चयनमा सञ्चालक सामीप्यको पनि प्रश्न उठ्ने गरेको छ । एउटा गतिशील व्यक्ति होस् वा संस्था होस् त्यसका बारेमा प्रशंसा र आलोचना दुवै आवश्यक कुरा हुन् । प्रशंसाले काम गर्ने हौसला दिन्छ भने आलोचनाले सचेतताको सन्देश दिन्छ । आलोचना सत्कर्म गर्न उत्प्रेरित गर्ने खबरदारी पनि हो । तर्कपूणर् आलोचनालाई प्रसादका रूपमा ग्रहण गर्न सक्ने हो भने सम्बन्धित व्यक्ति वा संस्था जोकोहीले पनि निराश हुनै पर्दैन र त्यही आलोचना अभीष्टप्राप्तिका लागि मार्गदर्शक पनि बन्न सक्ने देखिन्छ । यी दुवै कुराका अगाडि ‘किन ?’ भन्ने प्रश्न सदैव खडा भएको हुन्छ, जसको जवाफ कामले दिनु नै समस्या समाधानको सर्वोत्तम विकल्प हो । प्रशंसा गर्ने व्यक्तिभित्र लोभ वा स्वार्थ लुकेको छैन र आलोचना गर्ने व्यक्तिभित्र कुण्ठा वा प्रतिशोध लुकेको छैन भने ती दुवै कुरा संस्थागत हितमा नै हुने गर्दछन् । मदन पुरस्कारको गरिमा बचाउन र बढाउनका लागि अनि यसलाई अझै गौरवशाली बनाउनका लागि उल्लिखित सबै कुराहरू मार्गदर्शक बन्न सक्छन् ।

मूल स्रोत : डिल्लीराम मिश्र, नेपाली पुरस्कारको इतिहास (२०७३) र मदन पुरस्कार विकिपिडिया ।

क्रमशः अर्को हप्ता…