२०७८, कात्तिक महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको बाजी फेरि पनि महेश पौड्यालको नवीनतम कथासङ्ग्रह “अपरिचित अनुहार”ले मारेको छ । काठमाडौँ उपत्यकाका २०, काठमाडौँ बाहिरका १० र एक अनलाइन पुस्तक बिक्रेताहरुबाट प्राप्त रिपोटलाई आधार मान्दा बिक्रीका हिसाब यस पुस्तक पहिलो बनेको हो ।

यसअघि, असोज महिनाको बेस्ट सेलर सूचीको पहिलो स्थानमा पनि अपरिचित अनुहार पर्न सफल भएको थियो । कथाकार महेश पौड्याल साहित्यका नवप्रवेशीलाई साथसाथै लिएर हिँड्न रुचाउनेहरुमध्ये पर्छन्, जसको प्रभाव उनको पुस्तक बिक्रीमा समेत देखिएको बताउँछन् बिक्रेताहरु ।

अघिल्लो महिनाको “साहित्यपोस्ट बेस्ट सेलर” सूचीको दोस्रो स्थानमा रहेको सुजित मैनालीकृत खोज-अनुशन्धानमा आधारित पुस्तक “सतीः इतिहास र मीमांस” यो महिना पाँचौँ स्थानमा पुगेको छ । करिब सय वर्षअघिसम्म नेपालमा प्रचलित क्रूर सतीप्रथामाथि लेखिएको पुस्तक भएकाले बौद्धिक वर्गको ध्यान यस कृतिले तानेको हो । काठमाडौँ उपत्यकामा अनलाइन तथा काठमाडौँबाहिरका मुख्य पुस्तक पसलहरुबाट यस पुस्तक राम्रो बिक्री भएको प्राप्त रिपोटले देखाएको छ ।

त्यस्तै, सूचीको दोस्रो स्थानमा “चीरहरण”का लागि पद्यश्री र “योगमाया”का लागि मदन पुरस्कार प्राप्त निलम कार्की निहारिकाको पछिल्लो उपन्यास “द्रौपदी अवशेष” पर्न सफल भएको छ । यो पुस्तक अघिल्लो महिनाको बेस्ट सेल सूचीको तेस्रो स्थानमा रहेको थियो । लेखक निहारिका हाल नेपाल आएकीले त्यसको प्रभाव पुस्तक बिक्रीमा परेको बिक्रेताहरुको आकलन छ ।

अचम्मको कुरो के छ भने, यस वर्षको मदन पुरस्कार विजेता पुस्तक “लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह” कात्तिक महिनाको “साहित्यपोस्ट बेस्ट सेलर” सूचीमा अटाएको छैन । सामान्यतः मदन पुरस्कार विजेता कृति बेस्ट सेलर सूचीमा प्रायः पर्ने गरेकाे थियो । पुस्तक आफैँमा मौलिक कृति नभएको, साथै सामान्य पाठकलाई पढ्नका लागि कठिन भएका कारण मदन पुरस्कार विजेता पुस्तकको बिक्री सन्तोषजनक नभएको बुझिएको छ । यो पुस्तक असोज महिनाको बेस्ट सेलर सूचीको सातौँ स्थानमा रहेको थियो ।

त्यस्तै, यसअघि असोज महिनाको बेस्ट सेलर सूचीमा रहेका डा. तुलसी आचार्यको मोचन, भोजराज घिमिरेको इन्द्रमाया, हरिहर तिमल्सिनाको कखरा र दीपक पराजुलीको मिथ्या सूचीबाट बाहिरिएका छन् ।

त्यस्तै, पद्यश्री पुरस्कार प्राप्त कृति “मोक्षभूमि” कात्तिक महिनाको बेस्ट सेलर सूचीको चौथो स्थानमा रहेको छ । पुस्तक बिक्री सुस्त रहेका बेला पुरस्कार प्रभाव बिक्रीमा पनि परेको बिक्रेताहरुको बुझाइ रहेको छ । ऐतिहासिक विषयमाथि लेखिएको आख्यान भएकाले पनि यो कृतिको बिक्रीमा सहयोग पुगेको हो ।

यस महिनाको बेस्ट सेलर सूचीमा रानीतिज्ञ तथा विचारक नरहरि आचार्यको आत्मकथा “जीवनको पाठशालाः सम्झना र सम्बन्ध”ले आफ्नो बलियो उपस्थिति देखाएको छ । देशभरबाट प्राप्त रिपोटका अनुसार यो पुस्तक सूचीको तेस्रो स्थानमा पर्न सफल भएको छ । नेपाली राजनीतिको पछिल्लो परिवर्तन आचार्यको भूमिका उल्लेखनीय थियो । नेपाली काङ्ग्रेसलाई गणतन्त्रको बाटोमा हिँडाउनमात्र नभएर संविधान निमाणर्मा समेत आचार्यको योगदान विशेष थियो । काङ्ग्रेसको नजिकिँदो महाधिवेशन तथा आचार्यको व्यक्तित्वका कारण पुस्तकको बिक्री सुखद् भएको बिक्रेताहरुको मत रहेको छ ।

त्यस्तै, सूचीको छैटौँ, सतौँ, आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः प्रतिक ढकालको “त्यो उज्यालो कर्णाली”, योङ्गे मिङ्ग्युर रिम्पोछेको “जिउनुको मज्जा”, राजु अधिकारीको “राज्याभिषेक”, जिएस पौडेलको “पहेँलपुर” र श्याम साहको “पथेर” पर्न सफल भएका छन् । यसअघि, असोजको महिनाको बेस्ट सेलर सूचीमा “त्यो उज्यालो कर्णाली” सातौँ स्थानमा रहेको थियो । अन्य पुस्तकहरु भने पहिलोपटक सूचीमा अटाउन सफल भएका हुन् ।

बस्ट सेलर सूचीको शीर्ष दस कृतिहरुबाहेक सिर्जन अविरलको “मोक्ष”, लक्ष्मण आचार्यको “ध्यान र योग”, विपिको डाइरी, नवराज लम्सालको “अग्नी”, प्रभा बरालको फिलिङो, सुरेन्द्र अस्तफलको “तेल भिषा”, पद्य विश्वकर्माको “क्वारेन्टाइन”, चार वेदको सार, साहुल सांकृत्यानको “भोल्गादेखि गंगासम्म”लगायत पुस्तहरुको बिक्री पनि सन्तोषजनक रहेको देशभरबाट प्राप्त रिपोटले देखाएको छ ।

पढ्नुहोस्, बिक्रेताहरुको अनुभव, सूचीमा पर्नुको कारण र छोटो परिचयसहित कात्तिक महिनाको बेस्ट सेल सूचीमा समावेश पुस्तकहरुः

१. अपरिचित अनुहार

aparichit anuhar

कात्तिक महिनाको बेस्ट सेलर सूचीको पहिलो स्थानमा महेश पौड्यालको कथासङ्ग्रह अपरिचित अनुहार रहन सफल भएको छ । यसअघि, असोज महिनाको बेस्ट सेलर सूचीमा पनि यो पुस्तक पहिलो स्थानमा रहेको थियो ।

यस कथासङ्ग्रहमा १८ वटा कथाहरु सङ्ग्रहित छन् । प्रत्येक कथाहरुको पाठकको अनुमानभन्दा भिन्ने मोडमा अन्त्य हुन्छन् । कथानकसहित पाठकलाई समेत कथाहरुले भिन्नै मोडमा पुर्याएर छोडिदिन्छन् । कथा टुङ्गिन्छन्, तर कौतुहलता मेटिदैनन्, र असीमित संवेदना उर्लिन्छन् ।

कथाकार पौड्याल साहित्यका नवप्रवेशीलाई साथसाथै लिएर हिँड्न रुचाउनेहरुमध्ये पर्छन् । नेपाली साहित्यमा उनलाई पछ्याउने तथा पथप्रदर्शकका रुपमा लिने युवा जमात ठूलो छ । जसको प्रभाव पुस्तक बिक्रीमा परेको बिक्रेताहरुको अनुमान छ ।

पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

२. द्रौपदी अवशेष

असोज महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहेको उपन्यास “द्रौपदी अवशेष” यस महिना एक स्थानमाथि उक्लिदै दोस्रो स्थानमा रहन सफल भएको छ । द्रौपदी अवशेष हुम्लाको परिवेश अङ्गालेर सिर्जित फरक खालको उपन्यास हो ।

हुम्लाको कथालाई एउटा गैरहुम्लीका रुपमा मात्र छ महिना सुधारिएको धुवाँरहित चुल्हो वितरण गर्ने एनजीओमा काम गरेको दिग्विजयका आँखाबाट नियालिएको २२६ पृष्ठको यो उपन्यास दुई खण्ड र नौ शीर्षकमा विभाजित छ । साहित्यमा निकै कम चित्रण भएको कर्णालीको परिवेश, यात्रा वणर्न आदिले पाठकलाई हुम्लाको विकट गाउँको मनोरम भ्रमण गराउँछ । अझ यसमा प्रेम छ, र उपन्यास प्रेमको जितमा मज्जासँग हासेको छ ।

सामान्यतयः निहारिका परिवारसहित अमेरिका बस्छिन् । आफ्नो कलमले नेपाली समाज, संस्कृति र इतिहासको उत्खनन् गर्छिन् । उनले उपन्यास “चीरहरण”का लागि पद्यश्री र “योगमाया”का लागि मदन पुरस्कार प्राप्त गरिसकेकी छिन् । लेखक निहारिका हाल नेपाल आएकीले त्यसको प्रभाव पुस्तक बिक्रीमा परेको बिक्रेताहरुको आकलन छ ।

उपन्यासलाई साङ्ग्रीला बुक्सले बजारमा ल्याएको हो ।

३. जीवनको पाठशाला, सम्झना र सम्बन्ध

नेपाली राजनीतिको पछिल्लो परिवर्तनका एक प्रमुख राजनीतिक व्यक्तित्व नरिहरि आर्चायको आत्मथा “जीवनको पाठशाला, सम्झना र सम्बन्ध” असोज महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहेको छ ।

विद्यार्थीकालदेखि प्राध्यापनकाल हुँदै राजनीतिक जीवनकालमा लोकतन्त्रको मूल्य, मान्यता र प्रक्रियामा सुदृढ हुनगएको राजनीतिक विश्वास, विचार र कार्यक्रम यस कृतिका विषयवस्तु रहेका छन् । आर्चायले आफू आबद्ध पार्टी नेपाली काङ्ग्रेसलाई गणतन्त्रको बाटोमा ल्याउन मात्र नभएर संविधान निमाणर्मा पनि सकरात्मक भूमिका खेलेका थिए । त्यही सम्झनालाई शब्दमार्फत उनका बाल्यकालदेखि विविध राजनीतिक घटनाक्रमको विकासक्रमका साथै मष्तिस्कघातपतिको जीवनलाई लयमा फर्काउने प्रयत्नसम्मका कुराहरुलाई आचार्यले आफ्नो आत्मकथामा समेटेका छन् ।

काङ्ग्रेसको नजिकिँदो महाधिवेशन तथा आचार्यको व्यक्तित्वका कारण पुस्तकको बिक्री सुखद् भएको बिक्रेताहरुको मत रहेको छ । पुस्तकलाई दसैँअघि साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो ।

४. मोक्षभूमि

इतिहासमा आधारित भएर केशव दाहालद्वारा लेखिएको उपन्यास “मोक्षभूमि” कात्तिक महिनाको बेस्ट सेलर सूचीको चौथो स्थानमा रहेको छ । ०७७ सालको पद्यश्री पुरस्कार प्राप्त गर्न सफल यस कृति असोज महिनाको बेस्ट सेलर सूचीको पनि चौथो स्थानमा नै रहेको थियो ।

दाहालको पुस्तक मोक्षभूमि दासहरुको मुक्तिका विषयमा केन्द्रीत छ । “खस साम्राज्यका” चक्रवर्ती सम्राट् क्राचल्लदेवले गरेको युद्ध अपराध र पापको प्रायश्चितका लागि दस हजार दासहरुलाई मुक्त गरिदिएपछि सिन्जामा आएको उथलपुथलसँगै आर्य-खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबस सुरु भएको यस उपन्यासले औँल्याएको छ ।

मदन पुरस्कारका लागि पहिलो चरणको उत्कृष्ट नौमा छनिएको, साथै पद्यश्री पुरस्कार प्राप्त गरेकाले यस पुस्तकको बिक्री पछिल्लो दुई महिनामा बढ्न गएको बिक्रेताहरुको मत छ ।

५. सतीः इतिहास र मीमांसा

अघिल्लो महिना बेस्ट सेलर सूचीको दोस्रो स्थानमा रहन सफल सुजित मैनालीकृत पुस्तक “सतीः इतिहास र मीमांसा” कात्तिक महिनाको सूचीको पाँचौँ स्थानमा रहेको छ । लेखक मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ले यसमाथि गहिरोसँग प्रकाश पार्ने कोशिश गरेको छ । यो किताबले सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ ।

काठमाडौँ उपत्यकामा अनलाइन तथा काठमाडौँबाहिरका मुख्य पुस्तक पसलहरुबाट यस पुस्तक राम्रो बिक्री भएको प्राप्त रिपोटले देखाएको छ । पुस्तकले प्रबुद्ध वर्गको ध्यान खिचेकाले यसकाे बिक्री सन्तोषजन रहेको बिक्रेताहरुले बताएका छन् ।

लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरु छन् । त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको खँदिला विवरण समेटिएका छन् । त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरु लिएका थिए । सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरूको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ । भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ ।

६. त्यो उज्यालो कर्णाली

प्रतीक ढकालको रोमाञ्चकारी यात्राको सँगालो “त्यो उज्यालो कर्णाली” कात्तिक महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको छैटौँ स्थानमा रहेको छ । यसअघि, असोज महिनाको बेस्ट सेलर सूचीमा यो पुस्तक पाँचौँ स्थानमा रहेको थियो ।

सांस्कृतिक वैभवको उत्खनन गरिएको नियात्रा त्यो उज्यालो कर्णाली ढकालको बीसौँ कृति हो । ढकालले यस कृतिका माध्यमबाट सधैँ कर्णालीको अँध्यारोमात्र देखिरहेका हाम्रा आँखालाई त्यहाँका उज्यालाहरू देखाउने कोसिस गर्नुभएको छ ।

यो पुस्तकले कर्णालीको इतिहास र संस्कृतिको खोज गरेको छ । चार वर्ष लगाएर लेखेको यो पुस्तकले कर्णालीलाई छर्लङ्ग ऐना जस्तै देखाइदिएको छ । पुस्तक घरमै बसेका पाठकलाई कर्णालीको यात्रा गराउन सफल देखिन्छ ।

पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

७. जिउनुको मज्जा

बेस्ट सेलर सूचीको सातौँ स्थानमा संसारभरका ४२ भन्दा धेरै भाषामा अनुवाद भइसकेको, साथै न्युयोर्क टाइम्स बेस्ट सेल पुस्तक जिउनुको मज्जा (जोय अफ लिभिङ) पर्न सफल भएको छ । योङ्गे मिङ्ग्युर रिम्पोछेको सेल्फहेल्फ विधाको यस पुस्तकको नेपाली अनुवाद डा. सरोज खनालले गरका हुन् भने प्रकाशन बुक हिल प्रकाशन गृहले गरेको हो ।

रिम्पोछे आध्यात्मिक गुरु हुन् जसले सानै उमेरमा ज्ञान र अध्यात्मको मार्ग फेला पारे र पाइला चाले । त्यही उनले प्राप्त गरेको ज्ञानको अद्भुत मार्गमा आम पाठकलाई डोर्याउने पुस्तक हो निउनुको मज्जा ।यस पुस्तकले विज्ञान सही अर्थ, बिरामी जीवन, परिवार तथा समाजमा पर्न सक्ने असरबारे सोच्न बाध्य तुल्याउँछ । पुस्तकको विषय गहिरो भएकाले बिच-बिचमा रोकिन र सोच्न पुस्तकले बाध्य तुल्याउँछ । र, सबैभन्दा महत्वपूणर्, अनुदित कृति भएर पनि डा. सरोज खनालले यस कृतिमा अनुवादको गन्ध पर्न दिएका छैनन् ।

पछिल्लो समय सेल्फहेल्फसम्बन्धि पुस्तकको माग उच्च भएको, र त्यस मागलाई यस पुस्तकले पूर्ति गरेकाले बिक्रीमा सकारात्मक प्रभाव परेको बिक्रेताहरुको बुझाइ रहेको छ ।

८. राज्याभिषेक

राजु अधिकारिको उपन्यास राज्याभिषेक कात्तिक महिनाको बेस्ट सेलर सूचीको आठौँ स्थानमा पर्न सफल भएको छ । यस पुस्तकलाई वी रिड (कथालय)ले प्रकाशनमा ल्याएको हो ।

उपन्यासमा अधिकारिले पशुपन्छी तथा मानवतासँग सम्बन्धित विषयलाई समेटेका छन् । पृथ्वी मानव र पशुपन्छीको साझा वासस्थान हो भन्ने चेतनलाई अधिकारिले उपन्यासको रुपमा अघि सारेका छन् । विशेषतः विज्ञानको विषयमा कथा लेख्न मन पराउने अधिकारीले यस पुस्तकमा विज्ञानलाई जोडेर भविष्यमा हुनसक्ने सम्भाव्य घटनालाई काल्पनिक रुपमा प्रस्तुत गरेका छन् ।

मानिसले पृथ्वीका सबै स्रोत र साधनहरुमा आफ्नो एकल कब्जा जमाएको छ, सँगै यहाँ बस्ने पशुपन्छीहरुमाथि निर्मम अत्याचार गरिरहेको छ । यस तथ्यलाई पुस्तकले उजागर गरेको छ । उपन्यासमा अधिकारीले पृथ्वी मानिसको मात्र नभएको, पशुपन्छीको पनि उतिकै अधिकार भएकोले गर्दा उनीहरुले पनि स्वतन्त्रतापूर्वक बाँच्न दिनुपर्ने तर्क पेश गरेका छन् ।

९. पहेँलपुर

चर्चित उपन्यास “एक सर्को माया”का लेखक जिएस पौडेको दोस्रो उपन्यास हो पहेँलपुर । माल्दिभ्समा बसेर कलम चलाइरहेका पौडेलले राजनैतिक आस्थाको मानसिक चक्रव्यूहमा परेका युवाहरुलाई उपन्यासको प्रमुख विषय बनाएका छन् ।

आफ्नो पहिलो उपन्यास “एक सर्को माया”बाटै पाठकमाझ लोकप्रिय भएका पौडेलको यो उपन्यास पढ्दा पहिलोकै सिक्वेलजस्तो लाग्छ । तर, साहित्यपोस्टसँगको कुराकानीमा पौडेलले “एक सर्को माया”भन्दा अघि नै ड्राफ्ट गरिएको बताएका थिए ।

पौडेलको पहिलो पुस्तकको साखका कारणले दोस्रो पुस्तकको समेत बिक्री सुखद भएको बिक्रेताहरुले बताएका छन् । पुस्तकलाई बुलबुल प्रकाशन गृहले बजारमा ल्याएको हो ।

१०. पथेर

कथाकार श्याम शाहको नयाँ कथासङ्ग्रह “पथेर” कात्तिक महिनाको बेस्ट सेलर सूचीको दसौँ स्थानमा पर्न सफल भएको छ । साहले आफ्नो कथामा श्रमिक, सिमान्तकृत समुदायलगायत समग्र मधेशी जनजीवनलाई विषय बनाएका छन् । गरिबी, राज्य आतङ्क, जात व्यवस्था तथा साम्प्रदायिकताका कारण पछाडि पारिएका पात्रलाई साहले आफ्ना कथामा नायक बनाएका छन् ।

आफ्नै राज्यमा पनि पुस्तौँदेखि अनागरिक बनेर बस्नुपर्ने बाध्यतामा बाँचिरहेका मधेशी पात्रका सङ्र्षपूणर् कथा साहको सङ्ग्रहमा समेटिएका छन् । उनका यथार्थपरक कथामा विद्रोही चेत र समाजशास्त्रीय चिन्तन भेटिन्छन् ।

“पथेर”मा ११ कथा समेटिएका छन् । प्रभावशाली कथाकारको रुपमा स्थापित साहको सङ्ग्रह पथेरलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो । सिरहाको गोलबजारमा जन्मिएका साह नेपाल सरकारका शाखा अधिकृतसमेत हुन् ।