०७८ साल, असोज महिनाको “साहित्यपोस्ट बेस्ट सेलर” सूचीमा महेश पौड्यालको कथासङ्ग्रह अपरिचित अनुहारले बाजी मारेको छ । गत भदौ महिनाको अन्त्यदेखि बजारमा आएको यस पुस्तकले सुरूबाटै बजारमा आफ्नो अधिपत्य जमाएको छ । शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तक देशभरबाट आएका रिपोर्टहरूमा अब्बल देखिएको हो ।

साहित्यपोस्टले व्यवस्थित ढङ्गले गतवर्षबाट मासिकरूपमा ‘साहित्यपोस्ट बेस्ट सेलर’ नामक सूची सार्वजनिक गर्न सुरू गरेको थियो । तर गत चैत महिनादेखि यता कोभिडका कारणले पुस्तक पसलहरू बन्द भए । बजारमा नयाँ पुस्तकहरू आएनन् । र, बिक्री पनि ढप्प जस्तै हुन पुग्यो । त्यसै कारणले ‘साहित्यपोस्ट बेस्ट सेलर’ सूची पनि सार्वजनिक गर्न सकिएन ।

“कोभिडका कारणले गत वर्षको असोजदेखि सुरू भएको ‘साहित्यपोस्ट बेस्ट सेलर’ सूची चैतपछि प्रकाशन गर्न सकिएको थिएन ।”, साहित्यपोस्टका प्रधानसम्पाद अश्विनी कोइरालाले भन्नुभयो, “दसैँको छेको पारेर नेपाली साहित्य बजार पुनः चलायमान बनेको छ । कोभिडको कहर पनि धेरै हदसम्म हटिसकेकाले पुस्तक पसलहरू खुलेका छन्, र पुस्तक बिक्री पनि बढेको छ । यसै सन्दर्भमा साहित्यपोस्ट ‘साहित्यपोस्ट बेस्ट सेलर’को प्रकाशन पुनः सुरू गरेको हो ।”

यसलाई सत्यको नजिक बनाउन र लेखक-प्रकाशकको प्रभावबाट मुक्त गर्न हामीले देशभरिका पुस्तक पसलमा सम्पर्क गरेर रिपोर्ट लिने र त्यसलाई वैज्ञानिक विधिले विश्लेषण गरेर सूची सार्वजनिक गर्ने गरेका छौँ । यसका लागि यस संस्थाले काठमाडौँ उपत्यकाका २०, अनलाइन माध्यमको एउटा र उपत्यका बाहिरका १० वटा स्टेसनलाई बेस्ट सेलर बुकको सूचीलाई आधार बनाइरहेको छ ।

असोज महिनाको बेस्ट सेलर सूचीको दोस्रो स्थानमा सुजित मैनालीको ‘सती : इतिहास र मीमांसा’ पर्न सफल भएको छ । यस वर्षको मदन पुरस्कार र पद्मश्री पुरस्कार प्राप्त कृतिहरू क्रमशः लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह र मोक्षभूमि देशभरबाट प्राप्त रिपोर्टका अनुसार सूचीमा अटाए पनि पहिलो र दोस्रो स्थानमा पर्न असफल देखिएका छन् ।

विकसित देशहरूमा धेरै पुस्तक पढिने भएकाले त्यहाँका पत्रिकाहरुले हरेक साता बढी बिक्री हुने किताबहरुको सूची सार्वजनिक गर्दै आएका छन् । तीमध्ये सबैभन्दा अमेरिकाको न्युयोर्क टाइम्स र बेलायतको सन्डे टाइम्सको सूची बढी विश्वसनीय मानिन्छ । नेपालमा पनि त्यस किसिमको सुरुवात गोरखापत्रले २०४१ सालमा सुरु गरेको थियो । त्यस बेला न्युरोडको पिपलबोटमा बिक्री भएका किताबको आधारमा उक्त सूची प्रकाशन हुन्थ्यो । पछि पिपलबोटबाहेक अन्य स्थानमा पनि पुस्तक बिक्री हुन थालेपछि त्यो सूचीमा गडबडी हुन थाल्यो ।

त्यसपछि लामो समय नेपाली साहित्यिक पत्रकारिताले यस किसिमको अभ्यास नै गरेन । धेरैपछि अंग्रेजी पत्रिका द काठमाडौँ पोस्टले हरेक आइतबार यस किसिमको सूची प्रकाशन गर्न थालेको थियो । तर नेपालमा पुस्तक बिक्रीको संख्या निकै थोरै भएकाले हरेक साता यस्तो सूची प्रकाशन गर्न गाह्रो भएपछि यो बन्द भयो । साहित्यपोस्टले पनि सुरुमा साप्ताहिक रुपमा यस्तो सूची निकाल्ने योजना बनाएको थियो तर नेपालभरि सातामा एक हजार पुस्तक पनि बिक्री नहुने थाहा भएपछि यसलाई एक महिनामा गर्ने योजना बनाएको हो । यसै नीतिअनुसार यसपटक साहित्यपोस्टले छैटौँ महिनाको सूची प्रकाशन गरेको हो ।

पढ्नुहोस्, असोज महिनाको बेस्ट सेलर सूचीमा परेका पुस्तक । बिक्रेताहरुको अनुभवका आधारमा ती पुस्तक बिक्री हुनुका कारणसहित;

१. अपरिचित अनुहार

aparichit anuhar

असोज महिनाको बेस्ट सेलर सूचीको पहिलो स्थानमा महेश पौड्यालको कथासङ्ग्रह अपरिच अनुहार रहन सफल भएको छ । यस कथा सङ्ग्रहभित्रका १८ वटा कथा सङ्ग्रहित छन् । प्रत्येक कथाले पाठकको अनुमानभन्दा भिन्नै मोड लिएर अन्त्य हुन्छ । भिन्नै गन्तव्यमा पुर्‍याउँछ र छाडिदिन्छ । कथा टुङ्गिन्छ तर कौतुहलता मेटिँदैन । अनि असीमित संवेदना उर्लिन्छन् । पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुनुहुन्छ । साहित्यतर्फ उहाँ बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुनुहुन्छ । पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् भने उहाँका अनुवाद र सम्पादनमा आएका कृतिको संख्या करिब ३ दर्जन छन् ।

२. सती : इतिहास र मीमांसा

सूचीको दोस्रो स्थानमा सुजित मैनालीको पुस्तक ‘सती : इतिहास र मीमांसा’रहेक देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ । मानव–इतिहासकै एउटा क्रूर अध्याय मानिने सती प्रथाबारे नेपालमा विरलै कलम चलाइएका छन् । लेखक मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ले यसमाथि गहिरोसँग प्रकाश पार्ने कोशिश गरेको छ । यो किताबले सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ ।

नेपालमा सती प्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असरहरु लैङ्गिक भेदभावका अनेक पाटोका रुपमा समाजमा अझै व्याप्त छन् । नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीगमनका अनेक घटना भएका छन् । वि.सं. १९७७ मा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानुनी रुपमा बन्द भएको हो ।

लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरु छन् । त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको खँदिला विवरण समेटिएका छन् । त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरु लिएका थिए । सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरूको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ । भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भएपनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ ।

लेखनमा अन्तर्विधागत पद्धतिलाई जोड दिने सुजित मैनालीको यो दोस्रो किताब हो । यसअघि २०७६ सालमा उनको ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित भएको थियो ।

३. द्रौपदी अवशेष

असोज महिनाको यो सूचीमा योगमायाका लागि मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाको नवीनतम उपन्यास द्रौपदी अवशेष पर्न सफल भएको छ । द्रौपदी अवशेष हुम्लाको परिवेशलाई अँगालेर सिर्जित फरक खालको उपन्यास हो । हुम्लाको कथालाई एउटा गैरहुम्लीका रूपमा मात्र छ महिना सुधारिएको धुवाँरहित चुल्हो वितरण गर्ने एनजिओमा काम गरेको दिग्विजयका आँखाबाट नियालिएको २२६ पृष्ठको यो उपन्यास दुई खण्ड र नौ शीर्षकमा विभाजित छ । साहित्यमा निकै कम चित्रण भएको कर्णालीको परिवेश, त्यहाँको भाषा, संस्कृति, प्रकृति, यात्रा वर्णन आदिले पाठकलाई हुम्लाको विकट गाउँको मनोरम भ्रमण गराउँछ । अझ यसमा प्रेम छ र द्रौपदी अवशेष उपन्यास सफल भएको छ । प्रेमको जितमा उपन्यास मज्जाले हाँसेको छ ।

सामान्यतयः निहारिका परिवारसहित अमेरिका बस्नुहुन्छ । आफ्नो कलमले नेपाली समाज, संस्कृति तथा इतिहासको उत्खनन् गर्नुहुन्छ । उहाँले देशको दुई प्रतिष्ठित पुरस्कार, पद्मश्री ‘चीरहरण’का निम्ति र मदन पुरस्कार ‘योगमाया’का निम्ति प्राप्त गरिसक्नु भएको छ । योगमाया र चीरहरणका साथै कार्कीका बेली, अर्की आईमाई, मौन जीवन, नियतिको खेल, कागजमा दस्तखत, त्रिचालीस कथालगायत कृतिहरू प्रकाशित छन् ।

४. मोक्षभूमि

केशव दाहालको इतिहासमा आधारित भएर लेखिएको उपन्यास हो मोक्षभूमि । यस कृतिले ०७७ सालका लागि पद्मश्री पुरस्कार पाइसकेको छ । देशभरबाट प्राप्त रिपोर्टका अनुसार यो किताब असोज महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा चौथो नम्बरमा रहेको छ । दाहालको किताब मोक्षभूमि दासहरूको मुक्तिका विषयमा केन्द्रित छ । ‘खस साम्राज्यका चक्रवर्ती सम्राट् क्राचल्लदेवले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि दस हजार दासहरूलाई मुक्त गरिएपछि त्यसपछि सिन्जामा आएको उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु भएको’ यसले औँल्याएको छ ।

मदन पुरस्कारका लागि पहिलो चरणमा छानिएको नौ उत्कृष्ट पुस्तकको सूचीमा परेको, तथा पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएकाले यस किताबको बिक्री पछिल्लो समय बढ्न गएको बिक्रेताहरूले बताएका छन् ।

५. त्यो उज्यालो कर्णाली

रोमाञ्चकारी यात्राको सँगालो हो, प्रतीक ढकालको नवीनतम नियात्राकृति ‘त्यो उज्यालो कर्णाली’ । देशभरबाट प्राप्त रिपोर्टले यो पुस्तक असोज महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा पर्न गएको देखाएको छ । सांस्कृतिक वैभवको उत्खनन गरिएको नियात्रा त्यो उज्यालो कर्णाली ढकालको बीसौँ कृति हो । ढकालले यस कृतिका माध्यमबाट सधैँ कर्णालीको अँध्यारोमात्र देखिरहेका हाम्रा आँखालाई त्यहाँका उज्यालाहरू देखाउने कोसिस गर्नुभएको छ ।

यो पुस्तकले कर्णालीको इतिहास र संस्कृतिको खोज गरेको छ । चार वर्ष लगाएर लेखेको यो पुस्तकले कर्णालीलाई छर्लङ्ग ऐना जस्तै देखाइदिएको छ । पुस्तक घरमै बसेका पाठकलाई कर्णालीको यात्रा गराउन सफल देखिन्छ ।

पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

६. मोचन

समसामयिकता र पुरुष मनोविज्ञानमा आधारित उपन्यास मोचन डा. तुलसी आचार्यको नेपाली मुलभाषामा पहिलो कृति हो । देशभरबाट आएका रिपोर्टले यो पुस्तक असोज महिनाको बेस्ट सेलर सूचीको छैटौँ स्थानमा रहेको देखाएको छ । थोरै पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सदृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ । नेपाल, अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक रोचक र पठनीय बनेको छ ।

लेखक आचार्यको अङ्ग्रेजीमा उपन्यास “रनिङ फ्रम दि ड्रिम्ल्याण्ड” र गैरआख्यान “सेक्स, जेण्डर र डिसेबिलिटी” प्रकाशित छन् । यस उपन्यासलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

७. लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह

भगिराज इङ्नामको खोजमूलक पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह यस वर्षको मदन पुरस्कार विजेता कृति हो । नेपालको इतिहासका प्राथमिक सामग्रीहरूको सङ्कलन र पहुँचलाई विस्तार गरेकाले इङ्नामको पुस्तक पुरस्कृत भएको गुठीले जनाएको थियो । यो पुस्तक साहित्यपोस्ट बेस्ट सेलर सूचीको सातौँ स्थानमा पर्न सफल भएको छ । पुस्तकलाई आफैँले प्रकाशनमा ल्याएका इङ्नामका अनुसार मदन पुरस्कार प्राप्त गरेपछि किताब खोज्नेहरू ह्वात्तै बढेका छन् । मदन पुरस्कारका लागि गुठीले नौ पुस्तकको सूची प्रकाशनमा ल्याउनुभन्दा अघि पुस्तकको बिक्री अन्त्यन्तै न्युन रहेको लेखकले बताउनुभएको छ ।

तेह्रथुममा जन्मेहुर्केका लेखक इङ्नाम अहिले काठमाडौँको अनामनगरमा बस्दै आएका छन् । २०७१ सालमा सरकारी जागिरबाट निवृत्त भएपछि भने ६५ वर्षीय इङ्नाम खोजअनुसन्धान तथा दस्ताबेजहरूको सङ्कलनमा तल्लीन छन् ।

८. इन्द्रमाया

भोजराज घिमिरेको पहिलो उपन्यास “इन्द्रमाया” यस महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको आठौँ स्थानमा पर्न सफल भएको छ । घिमिरेको “इन्द्रमाया” बीपी कोइरालाको प्रसिद्ध उपन्यास “तीन घुम्ती”को पुनर्पठन हो। नेपाली साहित्यको चर्चित लेखक तथा चर्चित पात्रमाथि लेखिएको उपन्यास भएर पनि पाठकहरूले रूचाएको बिक्रेताहरूले बताएका छन् । इन्द्रमाया उपन्यासकी नायिका हुन् । बीपी कोइरालाले इन्द्रमायालाई एक विद्रोही नेवारी महिलाको रूपमा देखाएका छन् । घिमिरेले “इन्द्रमाया”मा “तीन घुम्ती”की इन्द्रमायाले आफ्नो पतिको घर छाडेर कसरी जीवन बिताइरहेकी छिन् भन्ने कथावस्तुलाई उपन्यासको रङ दिएका छन् । बीपी कोइरालाले आफ्नो तीन घुम्तीमा छोडेका कतिपय रिक्तताको जवाफ यस उपन्यासले खोजेको छ ।

यस उपन्यासलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

९. कखरा

कवि तथा गीतकार हरिहर तिमिल्सिनाको बालमनोविज्ञानमा आधारित उपन्यास हो कखरा । देशभरबाट प्राप्त रिपोर्टले यो पुस्तक बेस्ट सेलर सूचीको नवौँ स्थानमा पर्न गएको देखाएको छ । यो उपन्यासले बाल्यकालका घटनाहरूलाई रोमाञ्चक रूपमा प्रस्तुत गरेको छ । विद्यार्थीहरूमा देखिने बदमासी, भौतिक क्षतिलगायत भित्रको मनोविज्ञानलाई समेत यसले गहन रूपमा केलाएको छ । यसरी हेर्दा, विद्यार्थीहरूका लागि भन्दा पनि अभिभावकहरूलाई यो पुस्तक उपयोगी साथै आफ्ना बच्चाहरूलाई बुझ्न पढ्नै पर्ने कृति बनेको छ ।

उपन्यासलाई सिकाइ समूहले बजारमा ल्याएको हो । सिकाइ समूहले हालसम्म शिक्षा क्षेत्रलाई नै केन्द्रित गरी सुन्दर फिक्सन ननफिक्सन दुवै किसिमका पुस्तक प्रकाशन गर्ने गरेको छ ।

१०. मिथ्या

साहित्यपोस्ट बेस्ट सेलर सूचीको दसौँ स्थानमा उपन्यास मिथ्या पर्न सफल भएको छ । मिथ्या दीपक पराजुलीको स्वैरकल्पनात्मक उपन्यास हो । कथा वाचनको पूर्वीय परम्परागत शैली प्रयोग भएको उपन्यासले भूत, वर्तमान र भविष्यलाई समेटेर समाजका विभिन्न पाटाहरुलाई प्रस्तुत गरेको छ । आख्यानमा फरक स्वाद खोज्ने पाठकका लागि यस उपन्यास पठनीय बन्नसक्छ ।

आख्यानकार पराजुलीले कथालाई जटिलताका बिच पनि रोचकक शैलीमा प्रस्तुत गरेका छन् । उपन्यासमा वैचारिक पात्रहरु रहेका छन् । यस्ता पात्रहरु यर्थाथभन्दा फरक र कठोर चरित्रका भएकाले उपन्यास रोमाञ्चक छ । यस उपन्यासलाई बुक हिल प्रकाशन गृहले बजारमा ल्याएको हो ।

उल्लेखित दस पुस्तकका अलवा राजु अधिकारीको राज्यभिषेक, सिर्जन अविरलको मोक्ष, शङ्कर गैरेको कृष्ण, जीवा लामिछानेको देशदेशावर तथा अनुदित कृतिहरूमा धनी बुबा गरिब बुबा, तपाईँको अवचेतन मनको शक्ति, एक मिनेटमै जीवन परिवर्तनलगायत पुस्तकहरूको पनि बिक्री राम्रो रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ ।