भाषालयको यो शृङ्खला अघिल्लै साता आउनुपर्ने थियो, तर लेख्न भ्याइँन, सकिनँ । नभ्याएको/नसकेको जानकारी साहित्य पोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाजीलाई गराएँ । उहाँले भन्नुभयो, ‘पाठक राम्रा थिए तपाईँका … तर यो स्वान्त सुखाय हो … ।’ हातेफोनमा भएका कुराकानीको मजबुन यही थियो ।

मैले लेख्न नसक्नुको कारण के भनेँ र त्यसको अर्थ के थियो मेरो मनलाई थाहा छ । उहाँले के बुझ्नुभयो र त्यसो भन्नुभयो उहाँलाई नै बढी थाहा छ । यसबाट थाहा हुन्छ भाषिक सम्प्रेषणमा कहिँ न कहिँ र केही न केही कमी रहन्छ । तर पनि भाषा सम्प्रेषण चाहिँ भएकै हुन्छ, हाम्राबिचमा पनि भयो । भाषासँगै विचार आदान प्रदान भयो, अनि विचारसँगै कार्यसम्पादन । अर्थात् भाषासञ्चार गर्दा भाषाको प्रयोग हुने, विचारको प्रवाह हुने र काम गर्ने/गराउने गरी मूलतः निम्न प्रक्रिया अझ स्पष्ट देखिन्छन् ।

केदार वाशिष्ठ

१. वक्ताको मनमा विचार आयो । विचार आउनका लागि उसलाई प्रभाव पार्ने कुरा धेरै हुनसक्छन् ।

२. वक्ताले आफ्नो विचार श्रोतासम्म पुर्याउनु पर्ने विचार गर्यो वा आवश्यक ठान्यो ।

३. वक्ताले श्रोतासम्म आफ्नो विचार पुर्याउन भाषालाई माध्यम बनायो । (त्यो माध्यमका पनि विभिन्न रूप हुन्छन् मूलतः – शाब्दिक र गैरशाब्दिक हुन्छन् ।)

४. वक्ताले भाषासञ्चार गर्यो । भाषासँगै भावना वा विचार पनि गयो ।

५. वक्ताले कार्यसम्पादन गर्यो । बोलेर विचार पठाउने काम पनि कार्यसम्पादन हो ।

६. श्रोताले भाषासँगै वक्ताको विचार पनि पायो ।

७. श्रोताको मनमा विचार (पहिले नै रहेको वा वक्ताले भनेपछि तत्काल उत्पन्न भएको) र वक्ताको विचारको प्रतिक्रिया भयो ।

८. श्रोताले अब आफू वक्ता बनेर वा भूमिका परिवर्तन गरेर त्यो विचार पहिलेको वक्तासम्म पुर्याउनुपर्ने विचार गर्यो, आवश्यक ठान्यो ।

९. भाषालाई माध्यम बनाएर विचार पठायो ।

१०. पहिलेको श्रोता र नयाँ बनेको वक्ताले पनि तत्काल कार्यसम्पादन गर्यो । त्यो भाषिक नै थियो अर्थात् जवाफ दियो ।

११. पहिले वक्ता रहेको र अब श्रोताको भूमिकामा रहेको व्यक्तिको विचारसँग पहिले श्रोता बनाएको र अहिले वक्ता बनेर उसले पठाएका विचारको प्रतिक्रिया भयो ।

यो भाषासञ्चारको मोटामोटी खाका हो । त्यसलाई शब्दमा र बुँदागत रूपमा लेख्दा त्यो कम वा बढी भएको पनि हुनसक्छ । यस प्रक्रियामा प्रविधिका रूपमा रहेका भाषिक आधारले काम गरेका हुन्छन् । नोम चम्स्की तिनमा भाषा ग्रहण गर्ने संयन्त्र (Language Acquisition Device – LAD) का रूपमा रहेको दिमागले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ भन्दछन् । (भाषालयको शृङ्खला १८ पनि हेर्नुहोस्)

विचार, माध्यम चयन, सञ्चार, वैचारिक प्रतिक्रिया र कार्यसम्पादनका केही प्रक्रिया हुन्छन् । त्यसो गर्दा अवरोध कतै कतै केही अवरोध पनि हुनसक्छ । जसलाई यो चित्रबाट देखाउन सकिन्छ ।

भाषिक सञ्चार प्रक्रिया र प्रयुक्त माध्यमहरु

यस चित्रमा भाषिक सञ्चारको प्रक्रिया, त्यसमा प्रयोग हुने माध्यम वा साधनको अपरिहार्यता र साधनले भाषिक रूप वहन गर्दा माध्यम/प्रविधि अनुकूल हुने गरी स्वाभाविक रूपमा हुने सङ्केतन (Coding) र अर्थबोध हुनु पहिले हुने प्रतिसङ्केतन (Decoding) लाई देखाइएको छ । भाषिक सञ्चारको सङ्केतन र प्रतिसङ्केतनलाई नितान्त प्राविधिक प्रक्रियाका रूपमा लिन सकिन्छ । भाषिक सञ्चारमा सङ्केतन, माध्यम/प्रविधि र प्रतिसङ्केतनको उपयोगिता र महत्त्व विशेष रहन्छ ।

सङ्केतन भाषिक अवरोधका रूपमा रहन्छ तर त्यसले भाषिक अभिव्यक्तिलाई माध्यम/प्रविधि अनुकूल बनाइदिन्छ र माध्यम/प्रविधिको सहायताले श्रोता/पाठक समक्ष पुर्याइदिन्छ । पुनः त्यसको प्रतिसङ्केतन भई अर्थबोध हुने हुँदा यिनको अभावमा भाषिक सञ्चार अधुरो भइदिन्छ ।

यसलाई सरल रूपले बुझाउन पहाडका कन्दरामा बोल्दा वा कुनै अरू आवाज निकाल्दा आउने प्रतिध्वनि वा बन्द कोठाभित्रको आवाज भित्ताको अवरोध पार गर्दै कममात्र बाहिर आउने कुरा गर्नु उपयुक्त हुन्छ । व्यक्त भाषिक अभिव्यक्तिको आफ्नै शक्ति हुन्छ । अर्थबोध गराउनका लागि त्यस शक्तिले विभिन्न प्रक्रियाहरू अवलम्बन गर्दछ । त्यसमा माध्यम वा प्रविधिको उपयोग भएको हुन्छ ।

भाषिक अध्ययन परम्परामा अर्थबोध प्रक्रियालाई विश्लेषण गर्ने गरिन्छ । पूर्वीय भाषिक परम्परामा शब्दको अर्थबोध गर्ने प्रक्रियालाई शक्तिग्रह वा सङ्केत–ग्रह भनिन्छ । यो भनेको भाषिक शक्तिग्रहण हो । भाषिक शक्तिग्रहण आठ प्रकारका साधनबाट हुन्छ । ती हुन्, व्याकरण, उपमान, कोश, आप्तवाक्य, व्यवहार, वाक्यशेष, विवरण र ज्ञात पदको सहचार्य ।

पाश्चात्य भाषिक परम्परामा भाषिक अर्थबोधको परम्पराको अध्ययन अलि भिन्नै किसिमले भएको छ । संज्ञानात्मक वैज्ञानिक (Cognitive Scientist) मार्क चान्गिजीले भाषा र सङ्गीत प्रकृतिबाट अनुकरण गरिएको मान्दछन् । मान्छे बाँदरबाट कसरी मानिसमा रूपान्तरित भयो भन्ने कुरा उनको हार्नेस्ड (Harnessed) नामक पुस्तकमा उल्लेख छ ।

उनका अनुसार मानिसको बोली प्रकृतिको आवाजलाई एकठ्ठा गर्ने गरी विशेष रूपमा संरचित भएको हो र त्यसलाई सहज रूपमा बुझ्ने बनाउनका लागि लाखौं वर्ष लागेको छ । उनी भन्छन् – मानव विकास हुनुभन्दा धेरैअघि स्तनधारी जीवले प्रकृतिको आवाज वा ध्वनिलाई खतरा र अवसर दुवै कुरा बुझ्ने गरी सिके । भाषाका अतिरिक्त हाम्रो बोली ज्यादै नै स्पष्ट रूपमा प्रकृतिको ध्वनिमा आधारित छ ।

यसरी प्राकृतिक ध्वनिहरूलाई समयक्रममा संश्लेषित गर्दै अर्थपूर्ण अभिव्यक्तिका रूपमा ल्याउन नजानिने गरी पनि भौतिक र मानसिक साधन वा माध्यमहरूको उपयोग भएको हुन्छ भन्ने स्पष्ट हुन्छ । साधन वा माध्यमलाई प्रविधिको रूपमा लिँदा भाषामा प्रविधिको संश्लेषण जतिबेला पनि भएको हुन्छ ।

माथिको चित्रले हेर्दा जटिल जटिल लाग्ने प्राविधिक प्रक्रिया देखाउँछ । अवरोध थपिएको मुख्य पक्ष छ । त्यो वैचारिक वा भौतिक पक्षसँग जोडिएको हुन्छ । त्यस्तै अवरोधले वक्ता र श्रोताका विचार ठ्याक्कै उही रूपमा विनिमय हुँदैन ।

जुन कुरा प्रधानसम्पादक र मेराबिच भएको संवादमा पनि देखियो । अर्थात् मबाट विचारको सही प्रक्षेपण नभएको जस्तो र प्रधानसम्पादकबाट पनि सही अर्थ ग्रहण नभएको जस्तो देखियो । वास्तवमा श्रोताले वक्ताले नै भनेको ठ्याक्कै अर्थ ग्रहण नगर्नसक्छ, यसका लागि दुई कुरा हुनसक्छन् वक्ताले भनेका कुरामा श्रोताको ज्ञान वा अज्ञानको प्रभाव । तर पनि कार्यसम्पादन चाहिँ हुन्छ नै । कार्यसम्पादनले दिने नतिजा चाहिँ सकारात्मक वा नकारात्मक हुनसक्छ ।

माध्यमका रूपमा भाषाको काम चाहिँ विचारको विनिमय गर्ने र कार्यसम्पादन गराउन उत्प्रेरक हुने हो । त्यस्तो माध्यम पनि शाब्दिक र गैरशाब्दिक हुने गर्दछ । हामीबिचमा पनि माथि उल्लेख गरिएका जस्ता तत्कालीन (बोल्ने र प्रतिक्रिया जनाउने) र दीर्घकालीन कार्यसम्पादन भए ।

हामीबिचको भाषिक सञ्चारबाट दीर्घकालीन कार्यसम्पादन चाहिँ के भयो त ?

मैले काम नगरे वा भाषालयको १९औँ शृङ्खला नलेख्ने कार्यसम्पादन भयो । समयमा लेख नआउँदा प्रधानसम्पादक र भाषालयलाई कलात्मक रूपमा प्रस्तुत गर्ने सम्पादक कृष्ण सिग्देल वा त्यस समूहका अरुबाट सोधिखोजी गर्नु नपर्ने काम भयो ।

पाठकले भाषालयको एक कोरीमा एक कमको यो शृङ्खला गत बुधवार नै पढ्नु नपर्ने काम भयो । पाठकमा लेखकीय विचार सम्प्रेषण नहुने काम भयो । अर्थात् भाषाले गराउने कार्यसम्पादन जे नहुनुपर्ने थियो त्यही भयो । यसको अर्थ कुनै दुई व्यक्तिबिचको भाषिक सञ्चार र कार्यसम्पादनको असर तत्कालीन रूपमा र ती दुईमा मात्र पर्दैन त्यसका अन्य पक्षहरुमा र दीर्घकालीन पनि रहन्छ भन्ने हो ।

कार्यसम्पादन भन्नेबित्तिकै सकारात्मक हुने बुझाइ बढी हुन्छ । अझ कर्मचारीतन्त्र र आयोजना परियोजनाको क्षेत्रमा हो भने त अहिले एउटै कोठामा ओल्लो र पल्लो टेबुल कुर्सीमा बस्ने हाकिमले र तल्लो तहको कर्मचारीबाट गराउने सम्झौता पत्र हो । त्यो कार्यसम्पादन मूल्याङ्कनको आधार हो । अर्थात् सन्दर्भ र परिस्थिति अनुसार भाषा सम्प्रेषणमा प्रयोग हुने शब्दको अर्थ हाम्रो दिमागमा रूढ भएर बसेको हुन्छ । त्यसले भाषा सञ्चार र अर्थग्रहणमा प्रभाव पार्दछ र फेरि कार्यसम्पादनमा असर पार्दछ ।

भाषामा वक्ताले आफैले भनेका आधारमा पनि काम गरिरहेको हुन्छ । उसले बोल्नु काम नै गरेको हो र श्रोताले सुनेर बोल्नु वा जवाफ दिनु वा प्रतिक्रिया जनाउनु वा नबोली बस्नु पनि काम गर्नु हो । जसलाई वाक्क्रिया भन्ने गरिन्छ, समग्रमा कार्यसम्पादन ।

भाषाको काम विचार विनिमय गर्ने भए पनि त्यसले वक्ता र श्रोताले भन्न खोजेका सबै कुरा स्पष्ट पार्दछ कि पार्दैन भन्ने सन्देह हुने यसले देखायो । भाषा सम्प्रेषणमा चयन गरिने शब्द, मानसिक रूपमा तयार हुने वाक्य र प्रकटीकृत वाक्य, भाषा सम्प्रेषणमा प्रयोग हुने प्रविधि, वक्ता र श्रोताको मनमा रूढ अर्थ र भाषाको सङ्केतन र विसङ्केतनमा सहजता वा अवरोध जस्ता कुराले भाषासञ्चारलाई असर पार्ने पनि यसले देखायो ।

भ्याएको भए वा अल्छी नगरेको भए जुनसुकै अवस्थामा पनि यो एक शृङ्खला एक कोरी भएर आउनु पर्ने थियो । मैले नभ्याउँदा वा अल्छी गर्दा भइदियो एक कोरीमा एक कमको ।

थाहा छैन कति पाठकले बुझ्नु भयो यो ‘कोरी’वाला भाषा । हाम्रा गाउँघरतिर यो भाषा चल्छ कि चल्दैन अहिले मलाई पनि थाहा छैन । गाउँमा जन्मे हुर्केको मेरो समवयी पुस्तासम्मले यसको अर्थ बुझ्ने अनुमान गर्छु । भाषामा व्यवहारजन्य विकास र विस्तार हुन्छ ।

व्यवहार हुन छाडेका भाषाका शब्द हराउँदै जान्छन् र नयाँ व्यवहारका लागि नयाँ शब्द वा भाषा नै नयाँ बन्दै जान्छ । त्यसको उदाहरण गणनाबाट देखाउन सकिन्छ । तपाईँ केही चिजको गणना कसरी गर्नुहुन्छ ? फरर गनेर कि औँलाले ? औँलाले गन्दा पनि औँला भाँचेर कि ठाडो पारेर ? अनि औँलाका आँख्लाको प्रयोग गर्नुहुन्छ कि गर्नुहुन्न ? गणना गर्दा औँलाबाहेक शरीरका अरु कुनकुन अङ्ग प्रयोग गर्नुहुन्छ ? नाक ? मुख ? कान ? आँखा ? वा अरु नै वा सम्पूर्ण शरीर ? अर्को शृङ्खलामा यसबारे चर्चा गर्ने प्रयास गर्नेछु ।