मेरो कथाकृति ‘अपरिचित अनुहार’ को लोकार्पण गुरुहरूले लिने कक्षाजस्तो भयो । गृहकार्यको चाङ । धन्न कृष्ण धरावासी दाइले बैङ्क, अमेरिका र देशको चक्करमा लीला गर्दा गर्दा आफू भूतपूर्व शिक्षक भएको बिर्सनुभएछ र गृहकार्य दिनुभएन । क्या मज्जा, बँचियो ।

तर डा. अशोक र डा. रजनी ढकाले त बहालवाला शिक्षक । किन छोडथे ? गृहकार्यका चाङ लगाइदिए । सबै लेखनसँग सम्बन्धित । गृहकार्य खुरुखुरु गर्नुपर्छ भन्ने मान्यतामा हुर्किएको विद्यार्थी परेँ । यहाँ पनि जोखिम दिइनँ । आज डा. अशोकको र अर्को साता डा. रजनीको गृहकार्य बुझाउने जमर्को गरेको छु, ‘लेखनका कुरा’मार्फत ।

तर एउटा कुरामा म प्रस्ट छु । प्रश्न व्यापक सन्दर्भको हो । एउटा सैद्धान्तिक प्रश्न । तर, प्रश्न मेरो सिर्जनालाई लिएर पटक्कै होइन । मेरो सिर्जनामा त्यो ल्याकत छैन । यसमा म प्रस्ट छु ।

त्यसैले, यहाँ मैले लेख्ने उत्तर, समग्र लेखन र समालोचनाको वृहत्तर सन्दर्भमा बुझियोस् । नत्र, मलाई घुमाउरो पारामा आत्मप्रशंसा गरेको ठहर्छ, जुन म पटक्कै चाहन्नँ । फेरि अशोक गुरुले यी प्रश्नको उत्तर लेखमै लेखेर बुझाउनू कापीमा होइन भन्नुभएकाले म यहाँ उत्तर लेख्न बाध्य भएको छु ।

अशोक गुरुका दुई प्रश्न —

१. कुनै कृतिकारको प्रशंसकले कृतिको समीक्षा गर्न मिल्छ कि मिल्दैन ?
२. एउटा समीक्षकले कृति पढेर रुन मिल्छ कि मिल्दैन ?

उत्तर १ः थाहा छैन ।
उत्तर २ः थाहा छैन ।

कति सजिलो हौ ! अङ्क जोड्नै परेन गुरुलाई ।

कसरी थाहा छैन ? अशोक गुरुले मलाई अवश्य सोध्नुहुन्छ कक्षा कोठामा भोलि । त्यसैले जवाफ लेख्दैछु कनीकुथी ।

पहिले, प्रश्न १ को सन्दर्भ ।

प्रशंसालाई अलिकति सैद्धान्तिकरण गरौँ ।

एउटा हुन्छ प्रभाववादी प्रशंसा । अर्को हुन्छ लेनदेनजस्तो । संस्कृत पढौँ न ।

उष्ट्राणां विवाहेषु गीतं गायन्ति गर्दभाः
परस्परं प्रशंसन्ति अहो रूपम् अहो ध्वनिः !

उँटहरूको विवाहमा, गधाले गीत गाएछ । उँटलाई भनेछ— क्या सुन्दर छौ यार । अनि, उँटले भनेछ— अहो, कति मीठो बोली तिम्रो !

निन्दा पनि त्यस्तै । छिमेकीको गोरु फुकेर आफ्नो बारीको मकै खाएकै बेला, कसैले त्यस्तै कथा लेख्यो भने, बेस्ट । रिस उठेको छ भने, वस्र्ट । कालिदासले लेखेको सतञ्जयलाई कहिल्यै मन परेन । पारिजातको ‘शिरीषको फूल’, गोविन्द भट्टलाई कागजको फूल किन लाग्यो? कुरा छ । मलाई चाहिँ पारिजातको मास्टरपिस उनको ‘मैले नजन्माएको छोरो’ भन्ने कथा नै लाग्छ । कारण छ — व्यक्तिगत । यो सबै प्रभाववादी टिप्पणी । एक जना मान्छे भेटेँ, जसले भने— मलाई देवकोटाको कुनै पनि कविता मन पर्दैन । किन ? कारण दिन सकेनन् । कारण छ, तर मनमा ।

एउटाले भन्यो— मलाई नारायणगोपालको कुनै पनि गीत मन पर्दैन । एकछिन हेरेँ उसलाई । औषधि हुन्छ जस्तो लाग्यो । हेरिरहेँ । केही भनिनँ । हैट ।

सुकन्या वाइबाको बारेमा सुनेको थिएँ— उहाँलाई फूल मन पर्दैन रे । ठ्याक्कै चैँ थाहा भएन । सुनेको मात्र । हो भने कारण त होलान् ।

महेश पौड्याल

हामी सानो छँदाको घटना हो । हजुरबा भर्खर खेतबाट गोरु फुकाएर घर फर्कंदै हुनुहुन्थ्यो । काँधमा जुवा । अघि अघि गोरु । अलि पर पुगेपछि गोरु मकै बारीतिर पसे । अलि अलि पानी पनि छिट्यायो । उही बेला एउटा साधू सीताराम सीताराम भन्दै आइपुग्यो । हजुरबा आफू पनि धार्मिक, अध्यात्मिक । पूजापाठ गर्ने । तर त्यस दिन, काँधमा बोकेको जुवा हातमा लिएर त्यस साधुलाई कसरी खेद्नुभयो भने… त्यो अहिले सम्झँदा पनि रमाइलो लाग्छ ।

थाकेको हली हुनु । गोरु मकै बारीमा पस्नु । पानी छिट्याउनु । उही बेला साधु आउनु ।

धार्मिक-अध्यात्मिक मान्छेकै आँखामा पनि त्यो साधु कसरी संसारकै निकृष्ट मान्छे देखियो ?

कुरा प्रभाववादी समालोचनाको ।

एउटा कथा सम्झन्छु । एउटा लोग्ने जेठी श्रीमतीबाट दिक्क भएर कान्छी ल्याएछ । कान्छीलाई खाना पकाउने ढङ्ग नहुने । त्यसैले, खानाचाहिँ सधैँ जेठीले पकाउने ।

एक दिन जेठी बिरामी परिछिन् । खाना कान्छीले पकाइछिन् । भात गिलो । आफूले खाएर कान्छी सुतिहालिछन् । लोग्ने ढिलो आएछ । खाना पस्केर दिने जेठी नै । बिरामी नै भए पनि बिचरी उठेर पस्का लगाइछन् ।

गिलो भात देखेर लोग्नेले जङ्गेर भनेछ— ‘भात किन गिलो ? खान्नँ यस्तो ।’

अनि जेठीले बिस्तारै भनिछिन्— ‘तिम्रै कान्छीले पकाको है ।’

‘ए, गिलो भए पनि मीठो रहेछ । गिलो भातले र बूढो मान्छेले बिगार्दैन । बुझिस् ?’

के बुझ्नु ?

पूर्वाग्रही समालोचना । प्रशंसा र आलोचना दुवै यस्ता हुन्छन् । त्यसै होइन नि एलेक्जेन्डर पोपले भनेका — कमलपित्तले पहेँलपुर भएका आँखाले सबै पहेँलो देख्छ । हुन त देख्दैन, तर भनाइ नि । ग्यालिलियोले टोलिस्कोपै तेर्स्याएर घामभित्र काला धब्बा छन् भनेर देखाउँदा एक जना पादरी, मालार्मीले देखेनन् । पटक्कै देखेनन् । किन ?

देख्नै मन थिएन । देखेनन् ।

मन नपरेका साथीले जोक्स भन्यो भने मान्छे हाँस्दैन नि ? त्यस्तै ।

मन परेका साथीले पकाएको भातमा सानो कपाल परे पनि यसो पछाडितिर फाल्छन्, अनि कपाकप ।

हरे, प्रभु । दुनियाँ विचित्रको छ । लेखनमा पनि लागु हुन्छ । समीक्षा-समालोचनामा ।

अर्कोथरि प्रशंसा हुन्छ— वस्तुपरक । प्रमाणिक । तटस्थ । अशोक गुरुले भनेको सायद यो हो ।

मिथ्यू आर्नोल्ड पनि त शक्तिशाली समालोचक थिए । उनका आँखामा पनि होमर, शेक्सपियर र भर्जिलजस्ता लेखक उत्कृष्ट ठहरिए । मानक मानिए । टचस्टोन ।

मिल्टनले हेनरी लाउसलाई सङ्गीतको शिखर माने ।

पीबी सेलीले ‘एडोनाइस’ मा जोन किट्सको प्रशंसा गरे ।

टीएस इलियटले ‘द वेस्ट लेण्ड’ को शिरोभागमै एज्रा पाण्डलाई आफूभन्दा श्रेष्ठ कवि भनेर सम्बोधन गरेर, उक्त कविता उनकै नाममा समर्पित गरे । इलियट आफैँ डरलाग्दा समालोचक । कति कोणबाट हेरेर भने होलान्?

राहुल सांकृत्यायन जीवन-जगत बुझेका प्रकाण्ड विद्वान् । महापण्डित । उनले देवकोटामा प्रसाद, पन्त र निराला भेटे । भयो पनि त्यस्तै । आज देवकोटा नेपाली साहित्यको पर्यायवाची शब्द बनिसके ।

कठिन वस्तुपरक मूल्याङ्कनपछि पनि कसैले प्रशंसा पाउँछ भने, त्यसमा केही त पक्कै छ ।

समीक्षा-समालोचनाको उज्यालो पक्ष यो हो ।

समीक्षक-समालोचकलाई पनि कहिलेकाहीँ कृतिले गलाउँछ ।

म आफैँ कयौँपटक यसरी गलेको छु । अचम्मित भएको छु । मभित्रको कठोर र ठिस समीक्षक धेरैपल्ट ग्वाँ भएको छ । त्यस्ता कृतिलाई मनमा राख्ने गरेको छु । अरूलाई दराजमा ।

अशोक गुरु !

— पोस्ट मार्टम गर्ने चिकित्सक संवेदित हुन्छ कि हुँदैन? नवराज बुढाथोकीले चलचित्र बनाए— ‘भुइँमान्छे’ । पोस्टमार्टम गर्ने मान्छेका अगाडि लाश आउँछ आफ्नै पूर्व प्रेमिकाको । बिहे हुन नसकेको । सधैँको उही काम, उही जागिर, उनका हातले किन छुरी समाउन सक्दैनन् ? किन काँप्छन् हात? किन हुन्छन् असिनपसिन?

— क्यान्सरका डाक्टरलाई थाहा छ— क्यान्सर भएका उनैका बा अब बाँच्दैनन् । तर लाखौँ लुटाएर किन उपचार गरिरहन्छन् चिकित्सक? र, एक दिन, किन धर्धरी रुन्छन् आँसु खसाएर? चिकित्सकले रुनु हुन्छ कि हुँदैन, अशोक गुरु?

— आफैँले सृष्टि गरेको संसार । आफ्नै लीला । संहारको रचना आफ्नै । सतीको लाश बोकेर किन हाय प्रिये भन्दै संसार डुलेका होलान् महादेव? के उनलाई ज्यान नश्वर हो, र आत्मा मर्दैन भन्ने गीताज्ञान थाहा थिएन होला त? किन रुँदै, कराउँदै संसार चाहार्दै हिँडेका?

अशोक गुरु ! दुई कुरामा एक हुनुपर्छः

१. समालोचना वा समीक्षा गर्ने मस्तिष्क, र प्रशंसा गर्ने हृदयबीचको दूरी, सायद एक ब्रह्माण्ड छ ।
२. हृदयको संसारले मस्तिष्कको संसारलाई छोप्न सक्छ । तर मस्तिष्कको संसारले हृदयको संसारलाई छोप्न सक्दैन ।

प्रश्न नम्बर १ को उत्तर यति नै बुझाएँ । १० नम्बरको हो, यति भए पुग्ला । भनेँ— समीक्षक पनि त मान्छे हो । उसको पनि त मुटु हुन्छ । त्यो छोयो भने त छोयो त ।

गुरु, यति नै जानेँ । मारे पाप, पाले पुण्य । यो अन्तिम मौका हो परीक्षाको । पास पार्दिनुहोला । नत्र, यो मङ्सिरमा पनि गाह्रो छ ।

—०—

प्रश्न २. एउटा समीक्षकले कृति पढेर रुन मिल्छ कि मिल्दैन ?

थाहा छैन । छैन नै । तर थाहा छैन भन्दा गृहकार्य हुँदैन । गाह्रो छ । गुरु कडा ।

म समीक्षा-समलोचनामा साठीको दशकको पहिलो वर्षमै तानिएको हुँ । काठमाडौँ पोस्टमा नियमित रूपमा पुस्तक समीक्षा लेखेँ । गोष्ठीहरूमा कार्यपत्र लेखेँ । पछि नेपालीतिर पनि हात हालेँ । लाग्न थाल्यो— म कठोर छु । अथवा वस्तुपरक छु । हुन त मेरो काइते मुटु पिलिक्क रोइदिन छोडेको कहाँ थियो र त्यो बेला पनि? तर, त्यस कोमलतालाई सिर्जनातिर सीमित पारेँ । समीक्षा-समालोचनामा कठोर हुँदै गएँ । आफैँलाई भन्दै गएँः समीक्षा वा समालोचना लेख्दा पिलिक्क रोइदिने होइन नि फेरि!
त्यो बेला रहुस थियो । जे पढ्यो समीक्षा लेखिहाल्यो । यसै बेला होला— कृष्ण धरावासीको कथा ‘झोला’ मेरो हातमा पर्‍यो । धेरै सुनेको थिएँ त्यस कथाका बारेमा । धेरैले रोएको कुरा गरेका थिए । मैले भनेँ— म त समीक्षक पो त । म रुन्नँ ।

पढ्दै लगेँ । पढ्दै लगेँ । ओठ रोक्दै लगेँ । टोक्दै लगेँ । मन थाम्दै लगेँ । भन्दै लगेँ— म त समीक्षक पो त । पढेर समीक्षा लेख्छु । एकचोटि नागरिक दैनिकको एउटा लेखका लेखेको थिएँ— देवकोटाको मुनामदन ‘पोलिटिक्स अफ इमोसन्स’ हो । हुन त रोइसकेर लेखेको । भनूँ न, रोइसकेको धेरै धेरै वर्षपछि लेखेको । सुकिसकेपछि लेखेको । अहिले त आलै कुरा । अहिलेको कुरा । भनेँ— रुन्नँ । समीक्षा लेख्छु ।

अनि, बीचमा कतै पुगेपछि भक्कानो फुट्यो । रोएँ । खूब रोएँ । सकिनँ । ‘झोला’ पढ्दाको कुरा ।

समीक्षा पनि लेखिनँ । पछि त्यो कथा अनुवाद गर्नुपर्ने अवस्था आयो । गरिनँ । पोखरा विश्वविद्यालयअन्तर्गतको आएसर कलेजमा अनुवाद साहित्य पढाउँथेँ । मेरा विद्यार्थी दिवाकर प्याकुरेललाई गर्न लगाएँ । उनले धेरै सुन्दर तरिकाले गरे । अहिले पनि त्यो अनुवाद द गोर्खा टाइम्समा पढ्न पाइन्छ । म उम्किएँ । समीक्षा त लेखिनँ लेखिनँ, अनुवाद पनि गरिनँ ।
धरावासी आफैँले सुनाउनुभएको थियो— उहाँको ‘पाण्डुलिपि’ पढेर नेता केशवकुमार बुढाथोकीले भने अरे— ‘ए धरावासी ! के लेखेको यस्तो? के तिम्रो किताब पढ्न म रुमाल बोकेर हिँड्नु?’

यसै ‘पाण्डुलिपि’ कै कुरा हो क्यार, लेखकले कम्पुटरमा लेख्दैखेरी कम्प्युटरको कीबोर्ड लथ्रक्कै भिजोको थियो रे — आँसुले ।

धरावसीलाई पनि म समालोचक मान्छु । लीला सिद्धान्तमा त्यत्रो लेख्नुभएको छ । कति ढड्डु पुस्तकको सम्पादन गर्नुभएको छ । कति भूमिमा लेख्नुभएको छ ।

म र रमा कान्ति बाल अस्पतालमा थियौँ, हाम्रो बाबु बिरामी भएर । धरावासी दाइ भेट्न आउनुभयो । दुःख, बिमार, नियति, व्याधि, प्रारब्धका कुरा गर्‍यौँ । बोल्दाबुल्दै आँसुका ढिक्का खसाउनुभयो अस्पतालको निष्प्राण भुइँमा ।

जीवन, जगत, लीला, रास, विग्रह, भविता… सबै बुझेका धरावासी दाइ ! किन रुनुहुन्छ?

मैले कठोर, निर्भीक, जुझारु, ऊर्जाशील कवि मोमिलाले मसँग फोनमा कुरा गर्दागर्दै रोएको सुनेको छु । डाको छोडेर । गला अवरुद्ध । आवाज गायब । धेरैबेर । किन ? ह्वाई ?

मलाई दुइटा घटनाको झलझली सम्झना छ । पहिलोमा पात्र हुनुहुन्थ्यो मेरा गुरु अभि सुवेदी । सन्दर्भ थियो बीपी कोइराला साहित्य पुरस्कार अर्पण । पुरस्कृत व्यक्तित्व अभि गुरु । अभि गुरुको बारेमा बोल्नुपर्ने मैले । गुरुको परिचय गराइयो— वरिष्ठ समालोचक प्रा. डा. अभि सुवेदी ।

म पनि समालोचनाकै सिकारु । र्‍याङको ठ्याङ मिल्यो । बोल्न कसिएँ । बोलेँ ।

केके भनेँ सबै सम्झिन्नँ । तर दुई कुरा अवश्य भनेँ ।

१. अभि गुरु भन्नुहुन्छ— मान्छेभित्र ह्युमर हुनुपर्छ । जति नै क्लिष्ट सिद्धान्त किन नहोस्, ह्युमर मिसाएर बुझायो भने सबैले बुझ्छ ।

२. अभि गुरु भन्नुहुन्छ— आजको नेपालमा, स्वतन्त्र मान्छे हुन धेरै गाह्रो । तर, त्यही स्वतन्त्र मान्छेभन्दा शक्तिशाली अर्को कोही हुँदैन ।

यति भनेर मैले अभि गुरुको अनुहारमा हेरेँ । आशा थियो— कठोर समालोचक । समालोचकमाथि भएको समालोचना । अब, मेरो मौखिक समालोचनामाथि समालोचना आउला । झप्पु पो खाने हुँ कि ? विद्यार्थी जो परेँ ।

र मैले के देखेँ ? त्यत्रो भारीसभामा, अभि सरका आँखाभरि आँसु । बलिन्द्र । कस्सम !

म छेउमा गएँ । सरले हात समातेर भन्नुभयो— महेश, मलाई कस्तरी छोयो । यसरी कसरी बुझ्दारहेछन् मेरा विद्यार्थीले मलाई !!

यत्तिका अग्ला समालोचकको आँखामा आँसु । विरोधाभासजस्तो । विलोमजस्तो । कस्तो कस्तो । तर, अभि सर जस्तो ।

अशेष मल्ल दाइलाई सम्झन्छु । त्यही सभाभवन, आम्रपाली । सभा अलि अर्कै । अशेष दाइ पुरस्कृत हुने । म वक्ता । मैले बोल्दासम्म खासै केही भएन । भन्नुपर्ने कुरा भनेँ । मनमा लागेको भनेँ । अशेष दाइ बोल्न उभिँदा आँखा पो बोले आँसुको भाषामा । खै किन ? गला अवरुद्ध । ओठ प्रकम्पित । चकमन्न सभाभवन । जीवन नाटक हो, र हामी अभिनय गर्ने मान्छे हौँ । यो सार बुझ्नुभएको, र यही सार बाँच्नुभएको अशेष दाइ किन रुनुभयो ? बुझेको वा पढेको सिद्धान्त र यथार्थमा बोकी हिँडेका आँखा र आँसुको दहबीचको दूरी कति चैँ छ हँ ? अशोक गुरु, मलाई थाहा छैन । माफ पाऊँ ।

अरस्तुलाई सोधेँ । लेन्जाइनसलाई सोधेँ । इमान्युल कान्तलाई सोधेँ । एडमन्ड बर्कलाई सोधेँ । किताबका पानामा है, फेरि । साँच्चै भेटेरै पो सोधेछ पीपलबोटमा भन्ठान्नुहोला ।

कुरा फिट्दा फिट्दा दुई कुरा पत्ता लाएँ ।

पहिलो सूत्र, अरस्तु बाजेबाट । हामी भित्र दया र भय भरिएको हुन्छ । त्यसले निकास खोजिरहेको हुन्छ । त्यस्तै दया र भय कतै देखियो भने, हामीभित्र सुशुप्त रहेको दया र भयको भाव एक्कासि जागृत भएर आउँछ । भेलजस्तो । बाढी जस्तो । उभार । अनि छछल्किन्छ आँखामा आँसु बनेर । अथवा धडकन बढ्छ हृदयमा — भय बोकेर । यसरी आँसु झरेपछि मन शान्त हुन्छ । त्यसरी मुटु धड्केर पुनः लयमा फर्केपछि पनि मन शान्त हुन्छ । विरेचन ।

यस्तो बेला मान्छे समीक्षक वा समालोचक बनिरहन सक्दैन । ऊ फिलर हो । भावक हो । समीक्षाचाहिँ भोलि अथवा पर्सि हुन सक्छ ।

अब उदात्ततावादीहरूको कुरा । सिर्जना होस् कि अरू नै केही – उदात्त वस्तुलाई डाइनामिक र मेथेमेटिकल सब्लाइम भनेर बाँडे । डाइनामिक त्यो भने, जसलाई छेक्ने शक्ति मान्छेमा हुँदैन । उदाहरणका लागि, सर्पले डस्न आयो भने यसो गर्नू उसो गर्नू भनेर हजार वर्ष सिकाए पनि, एक दिन साँच्चि नै सर्प डस्न आयो र मान्छेले देख्यो भने, भाग्न, ढुङ्गो टिपेर हिर्काउन वा कराउन त परै जाओस्, ऊ स्यँ स्यँ मात्रै गर्छ । न भाग्न सक्छ, न कराउन । भुइँचालोबाट कसरी भाग्ने भनेर साढे चार वर्ष पढायो । भुइँचालो आएका दिन आत्तिएर धुलिट्याम । यस्तो बेला चेतना कहाँ पुग्छ?

र अर्को भयो मेथेमेटिकल सब्लाइम । ठूला खगोलविद्लाई यो ब्रह्माण्ड कहाँसम्म फैलिएको छ भनेर सोधौँ । केही त भन्लान् । अनि त्यसपछि के छ ? सोधौँ । भन्लान् । अनि त्यसपछि ? त्यसपछि ? त्यसपछि ? त्यसपछि ? नकरा है, ऐले तँलाई ! पर जा!

सोचौँ न ब्रह्माण्डको आकार । दिमाग खराब । कि नखराब ? हैट, सकिँदैन । चेतनालाई पक्षघात ।

आफैँले हुर्काएकी होइनन् यशोदाले कृष्णलाई ? उनको मुखमै ब्रह्माण्डको विराटस्वरूप देखेर किन आत्तिइन् त यशोदा माता ? आफ्नै छोरो त हो काले, चिन्छु भनेको होइन? अनि किन आत्तिनु?

मोथेमेटिकल सब्लाइम ।

वस्तुको सौन्दर्य हाम्रो चेतनाको अधीनमा रहुञ्जेल वाह कति राम्रो भन्छौँ । त्यसको व्याख्या गर्छौँ ।

त्यस सौन्दर्यमा चेतना टोलाएपछि किंकर्तव्यविमूढ हुन्छौँ । देखते ही रह गया भन्छन् नि? त्यस्तै । लाजवाव ।

अतिशय सुन्दर वस्तु भेटियो भने चेतना छ भन्ने पनि बिर्सन्छ मान्छे । रुन्छ । कराउँछ । होस गुमाउँछ । ट्वाँ । सौन्दर्यको उच्चतम विन्दुको उदात्तता हो । उदात्तताको तहमा उक्लिएको मस्तिष्कमा चेतना नेपथ्यमा पुग्दछ । सोच, सूत्र, सिद्धान्त, संहिता, नीति, नियम, संविधान… सबै सबै सस्पेन्डेड । स्टन्ड । सक्ड । यस्तै ।

अनि अशोक गुरु, समीक्षक वा समालोचक हुँ भन्ने मात्रै होइन, प्राध्यापक हुँ भन्ने पनि बिर्सन्छ । अभि सरलाई हेरौँ न ।
आँसु झार्नु । सुक्सुकाउनु । डाको छोडेर रुनु । बेहोस हुनु । यी तह हुन् । सौन्दर्य पनि तह तह । तिनमाथिका प्रतिक्रिया तह तह ।

एउटा समीक्षकले रुनु हुन्छ कि हुँदैन, अशोक गुरु ?

रुँदा हामीलाई समीक्षक भएर पनि रुने भनेर कराउँछन् ।

नरुऔँ भने, मन छ । आँसु छ । करुणा छ । धन्न, भक्कानो फुटाउने चिज त्यति भेटिँदैन र थामेर हिँड्छौँ आजभोलि । धन्न मान्छेका छातीमा पत्थर भेट्छौँ । लेखनमा छेस्काछेस्की बढी भेट्छौँ । । कहिलेकाहीँ भेटिन्छ मुटु छुने केही । मौकाले । दुर्लभ क्षण ।

त्यस्तो बेलामा नरुनु? रुने नि ।

गुरु ! शान्त बगेका आँसुले मनको विरह बोकेर लान्छ ।

त्यसपछिको मन, पानी परेपछि खुलेको आकाशजस्तो । छाती— दीर्घ निस्वासपछिको आनन्दित छाती ।

धरतीले कति ऋण लगायो हामीलाई? रुँदा, धरतीलाई दुईचार थोपा आँसुको अर्घ त होला कि! अलिकति भए पनि धरतीको ऋण तिरिएला कि?

एक दिन कीर्तिपुर आउँछु । र हजुर र म, गुरु चेला, सँगै बसेर रोऔँला । हुन्न ?