भियतनामी टार्जन

सन् १९७२ ताका भियतनाममा कम्युनिष्ट र अमेरिकीबीच चर्को युद्ध चलिरहेको थियो । एक दिन हो भान थान्हसँग उनकी पत्नीको झगडा चर्कियो । पत्नीलाई भानले सम्झाए, ‘मान्छेको भिडमा युद्ध अझ चर्किन्छ, बाँच्ने सम्भावना हुँदैन । बरु जंगल जाऊँ, त्यहाँ बाँच्ने सम्भावना छ ।’

पत्नीले लोग्नेको जंगल जाने कुराको विरोध गरिन् । रिसको चुरमा भानले आफ्नी पत्नीलाई निर्घात कुटे र दुई वर्षे छोरा हो भान लाङ बोकेर जंगल छिरे ।

त्यहीँ उनले दुई वर्षे छोरालाई कसरी बाँच्ने भनी कला सिकाए । जंगलमा दुर्घटनामा परेका हेलिकप्टर तथा बमजस्ता चिजबिजबाट आफू बाँच्ने प्रयोजनका अनेक सरसामग्री बनाए । हेर्दाहेर्दै कसरी ४१ वर्ष बित्यो, न त भान थान्हलाई थाहा भयो न त उनका छोरालाई नै !

उनीहरुको दैनिकी खान्की खोज्नु, खानु र जंगली जनावरबाट बाँच्नु हुन्थ्यो ।

जब उनको परिवारले भान थान्ह र छोरा भान लाङका बारेमा थाहा भयो, उनीहरुले तिनलाई गाउँ फर्काउने प्रयास गरे तर बूढा भानलाई सो कुरा चित्त बुझेन । भाइ लाङलाई भने परिवारले सम्झायो, वृद्धावस्थामा हेरचाह गर्न अप्ठेरो भए, गाउँ ल्याऊनू ।

[embedyt] https://www.youtube.com/watch?v=N6pcYTGezRw[/embedyt]

आँखा देख्न र आवाज सुन्न छाडेपछि बूढा बा थान्ह ८२ वर्षको उमेरमा गाउँ फर्किए । टार्जन छोरा भान लाङ पनि उनीसँगै गाउँ आए ।

उनीहरु गाउँ के फर्किएका थिए, सेलिब्रिटी नै बने । उनीहरुका बारेमा अनेकन् सामग्री अखबारमा छापियो, टेलिभिजनमा देखापरे ।

गाउँ आउँदा भने भान लाङ चकित परेका थिए । बिरालो, कुकुर, गाईबस्तु सबैलाई गाउँलेले कज्याएर बसेका रहेछन् भन्ने उनलाई लाग्यो । उता जङ्गलमा चाहिँ या त उनी जनावरबाट डराउनु पथ्र्यो या त उनीसँग डराउँथे !

सन् २०१७ मा बूढा भान थान्ह ८६ वर्षको उमेरमा बिते । बूढा जहिले पनि जङ्गल फर्किएको सपना देख्थे र एक दिन जसोतसो भाग्ने योजना बुन्दै थिए । उनलाई लाग्थ्यो, अमेरिकी र भियतकङबीच अझै युद्ध चर्किरहेको छ र जुनसुकै बेला उनी दुस्मन वा आफ्नै सेनाको घेरामा पर्नेछन् । उनको दिमाग खुस्किएका कारण अरु छोराहरुले उनलाई घरैमा राखेका थिए ।

बूढा भान थान्हको निधनपछि भान लाङलाई परिवारका सदस्यसँग घुलमिल हुन बडो गाह्रो भयो । भतिजा भतिजी नजिक आउनै नमान्ने ! चुप लगाउन अह्रायो भने भान थान्हले यति दह्रो चुटान दिन्थे कि केटाकेटी थलै पर्थे ।

तर उनको परिवारलाई थाहा थियो, परिवारमा नहुर्किएको मानिसको यस्तो व्यवहार हुनु स्वाभाविक हो । उनलाई जंगलीबाट सामाजिक बनाउने प्रयास जारी थियो । उनलाई माया भन्ने थाहा थिएन, मात्र कसरी खतराबाट जोगिने हो भन्ने ध्याउन्नमा मात्र उनी हुन्छन् । उनलाई प्रेम थाहा थिएन । उनका लागि केटी अनौठा प्राणी थिए ।
उनले भन्थे, ‘चन्द्रमा भन्ने उज्यालो चिज कुनै विज्ञ मानिसले कुनै डोरोमा धेरै माथि अड्याएको वस्तु हो ।’

जंगलमा बस्दा उनी २० फिट अग्लो ठाउँमा बस्थे । वर्षमा दुई पटक गाउँबाट उनका लागि खान्की ल्याइन्थ्यो, जसमध्ये नून उनको प्रिय वस्तु थियो ।

एक पटक स्पेनी व्यापारीले यी भियतनामी टार्जनका बारेमा सुने र उनलाई घुमाउन समुद्रमा लगे । समुद्र उनका लागि अनौठो ठाउँ थियो । मोटरमा चढ्दा उनलाई सधैँ लड्ने डर हुन्थ्यो । जब उनी द्विपमा जान्थे, उनलाई सो द्विप कुनै ठूलो जहाजजस्तो लाग्थ्यो र प्रायः हल्लिएको भ्रम पाल्थे ।

कलेजोको क्यान्सरका कारण उनको गएको सोमबार निधन हुँदा अन्तर्राष्ट्रिय मिडियाले समेत चर्चा गरे । उनी भियतनामी टार्जनका रुपमा प्रख्यात थिए । उनी लामो समयसम्म एउटा अनौठो कथाका रुपमा जीवित रहनेछन् ।

वृद्ध पिताको निधनका बेला भियतनामी टार्जन

जङ्गलमा एक दिन

भियतनामी टार्जनले बम र दुर्घटनाग्रस्त हेलिकप्टरका सामग्रीबाट विभिन्न हतियार र भाँडाहरू बनाएका थिए