साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यो मनका कुरा त्यो मनमा, त्यो मनका कुरा यो मनमा

भाषाको भौतिक पक्ष मानवको मानसिक र भौतिक (शारीरिक अङ्ग) पक्षसँग पनि अभिन्न रूपमा गाँसिएको छ । यस आधारमा मन वा मस्तिष्कमा आउने भाषाको अव्यक्त पक्ष मानसिक आधार वा प्रविधि र व्यक्त ध्वनि, वर्ण, शब्द, वाक्य आदि भाषाका भौतिक आधार वा प्रविधि रहेका हुन्छन् ।

निःतान्त व्यक्तिगत कुरा

भाषा प्राणीजगत् सबैको हुन्छ । फरक यति हो कुनैको मूकभाषा होला त कुनैको व्यक्त रूपको । सबै प्राणीको भाषा मान्छे जातको प्राणीले बुझ्छ र बुझ्नै पर्छ भन्ने पनि छैन । सम्बन्धित प्राणीको समुदायका सबैले आआफ्नो भाषा बुझेकै हुन्छन् । त्यसै अनुसार व्यवहार गर्छन् । जस्तो मान्छेका समुदायहरुले आआफ्नो भाषा बुझ्छन्, बुझाउँछन् र जीवन चलाउँछन् ।

मान्छेका पनि सबै समुदायले सबैका समुदायका भाषा बुझ्दैनन् । हरेक समुदायका भाषा बेग्लाबेग्लै छन् । अझ राज्य वा राष्ट्रका भाषा हुँदै अन्तरराष्ट्रिय भाषासमेत प्रचलनमा छन् । यो सबै भाषाको अनिवार्य आवश्यकताका आधारको भाषिक स्वरूप विस्तार हो । त्यसैले भाषा समाज र समुदायको अपरिहार्य वस्तु हो ।

फेरि समुदाय निर्माणका बेग्लै संरचना छन् । जस्तो कि एउटा भाषा बोल्नेको समुदाय, एउटा भूक्षेत्रमा बस्नेको समुदाय, एउटा जाति वा आदिबासी मानिसको समुदाय आदि । तर त्यस्तो सबै समुदाय व्यक्ति/व्यक्तिबाट बन्ने भएकाले व्यक्तिले बोल्ने बोलीको समुच्चय समुदायको भाषिका हुँदै बेग्लाबेग्लै समुदायमा सम्पर्कका लागि प्रयोग हुने सम्पर्क भाषा वा अझ ठुलो समुदायमा फैलँदा अन्तरराष्ट्रिय भाषा पनि बन्दछ । ती सबैको प्रयोजनको लक्ष्य फेरि व्यक्तितर्फ नै केन्द्रित हुन्छ । त्यसैले भाषा निःतान्त व्यक्तिगत कुरा हो ।

भाषा व्यक्तिगत वस्तु भए पनि भाषाका बारेमा धेरै व्यक्ति भाषा के हो र यसले कसरी काम गर्छ भन्नेमा कम जानकार हुन्छन् । भाषाको प्रयोग र उपयोग व्यक्तिबाट हुन्छ खालि दुई सन्दर्भमा : बुझ्न र बुझाउन ।

के बुझाउने ? के बुझ्ने ?

मान्छेको स्वभाव अनुसार हरेक आफ्नो विचार अरूमा सार्न र अरूका पनि विचार आफूले लिन हरतरहले लाग्छ । त्यसका लागि सबैभन्दा पहिलो उपयोगी वस्तु भाषा नै हुन्छ । भाषाकै प्रयोग गरेर मान्छेले यो मनका कुरा त्यो मनमा सार्छ र त्यो मनका कुरा यो मनमा तान्छ । यसलाई विचारको आदान प्रदान वा विचार विनिमय भनेर बुझिन्छ । अर्थात् विचारलाई साटासाट गर्ने र अनि व्यक्तिगत र सामूहिक व्यवहार चलाउने माध्यम भाषा हो ।

केदार वाशिष्ठ

मान्छे स्वभावैले आत्मकेन्द्री हुन्छ तर समाज वा समुदायको सदस्य भएका नाताले उसमा केही दायित्व पनि रहेका हुन्छन् । फेरि चेतना शक्तिको आधार र नैतिक नियमका आधारमा ऊ लोककल्याणतिर नलागी हुँदैन । त्यसैले भाषाको व्यवहार लोककल्याणका लागि हुन्छ । त्यसका लागि उसले हरतरहका प्रयत्न गर्छ, बोल्छ, लेख्छ, इसारा गर्छ वा अरू पनि ध्वनि वा सङ्केत निकाल्छ । यो प्रक्रिया भाषा सञ्चार हो । भाषा सञ्चारका लागि अहिले धेरै सहयोगी वस्तु पाइन्छन् ती प्रविधि हुन् । प्रविधि भाषाका लागि अनिवार्य र सहयोगी दुबै खालका हुन्छन् । प्रविधिको सहयोगमा भाषालाई वाक् प्रतीकहरुले अर्थ्याइरहेका हुन्छन् ।

विचार विनिमयका लागि हुने मानव प्रयत्नलाई यादृच्छिक वाक् प्रतीकहरूका आधारमा कथ्य वा लेख्य चिह्नहरूको माध्यमबाट प्रकट हुने सञ्चार व्यवस्था नै भाषा हो । यस आधारमा भाषिक कार्यमा मानव मनको निर्देशन, मस्तिष्कीय धारणा, मनको निर्देशन, उच्चारण अवयवको सक्रियता, ध्वनि सङ्केतहरूको प्रसार श्रवणेन्द्रीयको माध्यमबाट मस्तिष्कीय ग्रहणका लागि श्रव्य वा दृश्य माध्यमको प्रयोग जस्ता कुराहरू संलग्न हुन्छन् र विचार विनिमय हुन्छ ।

मान्छेको सहयोगी प्रविधि

मानवका समस्या समाधान र आवश्यकता पूर्तिका लागि उपयोगी कला र शिल्पको संयोजनमा आविष्कार गरिएका र प्रयोगमा ल्याइएका उपकरण, स्रोत र पद्धति प्रविधि हुन् । प्रविधि मानव उत्पत्ति र विकासका चरणहरुमा सुरुदेखि नै मानिसको सहयोगी साधनका रूपमा रहेको थियो । समयक्रम र परिवर्तित सन्दर्भका कारण प्रविधिको सामान्यीकरणले अहिले प्रविधि जस्ता नलाग्ने कुरा पनि तत्कालीन समय र सन्दर्भका प्राविधिक आविष्कार थिए ।

आवश्यकता बढ्दै जाँदा र नयाँ खोजी पनि हुँदै गर्दा नयाँ प्रविधिको पनि आविष्कार भइरहेको हुन्छ । प्रविधि शब्दले व्यापक अर्थमा कुनै पनि समस्याको समाधान गर्न, समस्या समाधानका लागि पहिले भइरहेका समाधानका उपायहरूको सुधार गर्न तथा लक्ष्य प्राप्तिका लागि निर्माण, परिमार्जन, प्रयोग गर्ने ज्ञान, साधन, उपकरण, मेसिन र संगठन प्रणालीलाई बुझाउँछ । प्रविधिले मानिसका असीमित आवश्यकताहरू पूर्ति गर्न र काममा सहजीकरण गर्न सहयोग गर्छ । भाषाको प्रयोगमा मान्छेमा रहेका विभिन्न अङ्ग नै प्रविधिका रूपमा प्रयोग भइरहेका हुन्छन् । तर कसरी ?

भाषिक आधार

भाषा र प्रविधिका आआफ्नै सार्वभौम परिभाषा र विशेषता छन् । यस्तो हुँदाहुँदै पनि भाषा मानवीय वस्तु भएकाले मानव अङ्ग वा अवयवमा नै यसको आधारभूत कुरा खोज्नु उचित र सान्दर्भिक हुन्छ । यसको चर्चा र विश्लेषणको परम्परा पनि लामो छ ।

भाषाको मानसिक र भौतिक पक्ष रहने कुरा पूर्वीय तथा पाश्चात्य भाषिक अध्ययन परम्परामा पाइन्छ । पूर्वीय व्याकरणकार पाणिनिदेखि आधुनिक पाश्चात्य भाषावैज्ञानिक नोम चम्स्कीसम्मले मन वा मस्तिष्कका आधारमा भाषाको मानसिक र भौतिक आधारको चर्चा गरेका छन् । तिनलाई भाषामा प्रविधिको आधारका रूपमा लिन सकिन्छ । पाणिनि शिक्षामा भनिएको छ :

आत्मा बुध्दया समेत्यर्थान्मनो युङ्ते विवक्षया

मनः कायाग्निमाहन्ति स प्रेरयति मारूतम्

मारुतस्तूरसि चरन्मन्द्रं जनयति स्वरम्

…………………………………

सोदीर्णो मुध्न्र्याभिहतो वक्त्रमापद्य मरूत

वर्णन् जनयत्ते….।

टङ्कप्रसाद न्यौपानेले यसलाई यसरी अर्थ्याएका छन् : पहिले आत्माले बुद्धिसँग मिलेर अर्थ (वस्तु) लाई प्राप्त गरेर बोल्ने इच्छाले मनलाई खटाउँछ । मनले शरीरका अग्नि (शक्ति) लाई दबाब दिन्छ । (त्यस दबाबबाट) वायु प्रेरित हुन्छ । प्रेरित वायु (श्वास वायु) फोक्सामा पुग्दै कोमल मन्द स्वरहरूलाई जन्म दिन्छ । फेरि बाहिर गएर मूर्धामा ठोकिएर फर्कन्छ र मुखमार्गबाट बाहिर निस्कँदै वर्ण वा ध्वनि निकाल्छ ।

अझ यसको अलि सरल रूप यस्तो हुन्छ : मनमा उब्जेको वस्तुको इच्छित रूपले शरीरको अग्नि (शक्तिलाई) प्रेरित गरी दिन्छ । त्यसबाट वायु उत्पन्न हुन्छ । वायुले फोक्सो र स्वर उत्पन्न गर्ने अवयवहरूमा घर्षण हुँदै ध्वनि उत्पन्न गर्दछ । फोक्सो र उच्चारण अङ्गहरुमा सासको प्रवाहले भाषालाई मूर्तता दिन्छ ।

यसबाट भाषाको प्रकटीकरणमा दुई आधार रहेको पाउन सकिन्छ । भाषा व्यक्तिको मनको कुरा हुने हुँदा यसको मानसिक आधार रहेको हुन्छ भने प्रकटीकरण भौतिक आधारबाट हुन्छ । दुवैलाई उच्चारण अवयवले संयोजन गरेको हुन्छ । यसलाई चित्रमा यसरी देखाउन सकिन्छ ।

व्यक्त भाषाको काम अर्थबोध गराउनु हो । यस परिप्रेक्ष्यमा भौतिक आधार भावाभिव्यक्तिको साधन हो भने मानसिक आधार साध्य हो । कुनै कुराको सन्देश दिनु वक्ताको मानसिक अभिप्राय हुन्छ । त्यसैले अर्थ बोध गराउनु अभिव्यक्तिको साध्य हो । मानसिक र भौतिक दुबै आधार वाणीका आधार रूप हुन् । मानसिक आधारलाई भित्री वाणी (Inner Speech) र भौतिक आधारलाई प्रकटीकृत वाणी (Outer Speech) पनि भनिन्छ ।

नोम चम्स्की भाषिक आधारलाई मस्तिष्कको संरचना र मानिसले बोल्दा प्रकट हुने वाक्यको संरचनाका आधारमा व्याख्या गर्न सकिने बताउँछन् । उनका अनुसार मानव मस्तिष्क भाषा ग्रहण गर्ने संयन्त्र (Language acquisition device) हो । यसैमा भाषाका वाक्यको आन्तरिक संरचनाको प्रशोधन भई उच्चारण अवयवहरूको सहयोगले बाह्य रूपमा वाक्यको प्रकटीकरण हुन्छ र भाषिक सञ्चार हुन्छ । चित्रबाट यसरी बुझाउन सकिन्छ :

कुनै पनि वक्ताले आफ्नो मातृभाषा वा अन्य कुनै खास भाषामा सञ्चार गर्न पनि सर्वप्रथम उसले मस्तिष्कमा नै उक्त भाषाको व्याकरणका नियमहरू अनुरूप वाक्यको प्रशोधन गरी बाह्य सञ्चार गर्दछ । यसो गर्दा भाषाका सार्वभौम नियमका अतिरिक्त सम्बन्धित भाषाका मौलिक नियम तथा विशेषताको पनि सहायता लिइएको हुन्छ । त्यसपछि मात्र कर्ता, कर्म, लिङ्ग, वचन, पुरुष, काल, पक्ष आदिको सङ्गतिका आधारमा मस्तिष्कमा प्रशोधित वाक्य उत्पादन हुन्छ ।

यस प्रक्रियामा वाक्यको आन्तरिक संरचना मानसिक र बाह्य संरचना भौतिक आधार हुन्छ । चम्स्कीको विचारमा आफ्ना जैविक पूर्वप्रवणताका आधारमा नै शिशुले कुनै भाषाका व्याकरणको ज्ञान प्राप्त गर्छ । भाषाको उत्पादनशील विशेषता पनि हुन्छ । त्यसैले सीमित शब्दबाट असीमित विषयमा भाषिक अभिव्यक्ति हुन्छ र असीमित भाषिक सामग्रीको उत्पादन हुन्छ ।

तथापि यस्तो उत्पादन भाषिक पक्ष रहेका वस्तु उत्पादन जस्तो होइन । अर्थात् पुस्तक तथा क्यासेटहरूको पुनरूत्पादन र बहुउत्पादन जस्तो होइन । लेख्य रूपमा रहने त्यस्तो सामग्री पुस्तकाकार रूपमा र टेप रेकर्डहरूमा कथ्य रूपमा रहने श्रव्य सामग्रीलाई अनन्त कालसम्म पढ्न र सुन्न पाइने कुरा प्रविधिले सहज बनाइदिएको मात्र हो । त्यसअघि भाषा उत्पन्न हुँदादेखि नै मस्तिष्कमा नै उत्पादन हुने भाषिक सामग्री दैवी प्रविधिको अकल्पनीय पक्ष हो ।

अर्थ ग्रहणका सन्दर्भमा आधारहरू

वक्ताले भनेको कुरा श्रोताले ग्रहण गरेर अर्थ ग्रहण गर्ने सन्दर्भमा पनि मानसिक र भौतिक आधार बुझ्न सकिन्छ । वक्ताले भनेको कुरा श्रोताले ग्रहण गर्ने क्रममा विभिन्न माध्यम मार्फत व्यक्त भएको भाषा श्रोताको कानमा पुग्दछ । त्यसरी बाह्य कर्ण, मध्य कर्ण र अन्तःकर्ण हुँदै व्यक्त भाषा श्रोताको मस्तिष्कमा पुग्दछ । फेरि मस्तिष्कमा रहेका ध्वनि, वर्ण र शब्दको अर्थबोध गर्दै सङ्केतका पूर्वबिम्बहरूसँग भएको प्रशोधनले अर्थ ग्रहण गर्दछ । त्यसैले वक्ताले आगो भनेको शब्दलाई श्रोताले तातो पोल्ने बल्ने रातो पदार्थ भनी अर्थ प्रहण गर्दछ । यस कुरालाई तलको चित्रमा प्रस्तुत गर्न सकिन्छ :

भाषामा अर्थ सर्वोपरि हुन्छ र त्यसका लागि विचार निर्देशक तत्त्वका रूपमा रहन्छ । ध्वनि यन्त्र/अवयवहरू त्यसका सहयोगी साधन हुन् । भाषाविद् फर्डिन्यान्ड डी सस्युरले विचार र ध्वनिको संयोजनकबाट रूप बन्ने तर त्यस्तो रूप पदार्थ नहुने बताएका छन् । वास्तवमा यो शाब्दिक आकृति हो, जुन भाषिक बिम्बबाट मानिसको स्मृतिपटलमा बन्दछ । त्यसैले भाषा विचार र ध्वनिलाई जोड्ने कडी हो ।

भाषिक प्रयोजनमा ध्वनि र विचार दुवै एउटा कागजका पानाका अगाडि र पछाडिका भाग हुन्, जसलाई कुनै हालतमा अलग गर्न सकिँदैन । भाषाको प्रयोगमा वक्ता र श्रोता दुई पक्ष (लेख्दा लेखक र पाठक) अनिवार्य हुन्छन् । तिनमा हुने भाषिक प्रक्रियामा वक्ता/प्रेषक, सन्दर्भ, सङ्केतन, माध्यम, विसङ्केतन, श्रोता/प्रापकको संलग्नता हुन्छ । सङ्केतन, माध्यम र विसङ्केतन महत्त्वपूर्ण प्राविधिक पक्ष हुन् ।

मस्तिष्क भाषाको प्रशोधनशाला

यसलाई अब यसरी टुङ्ग्याऔँ । भाषा व्यक्तिगत र सामूहिक सम्पत्ति हो र यो विचार विनिमयको माध्यम हो । विचार विनिमय गर्दा उच्चारण अङ्गहरुद्वारा उच्चारण भई यादृच्छिकताका आधारमा भाषाले अर्थबोध गराउँछ । त्यसका लागि आधार वा बाह्य पक्ष आवश्यक पर्दछ । त्यसलाई भाषामा उपयोगी प्रविधिका रूपमा बुझ्नु पर्दछ ।

मस्तिष्क आफैमा एउटा भाषाको प्रशोधनशाला हो । अर्थात् बोल्ने वा लेख्ने भाषाका वर्ण, अक्षर, शब्दमा भाषाका नियमहरु लगाएर पहिले दिमागमा नै बोल्नु पर्ने वा लेख्नु पर्ने भाषिक शब्द वा वाक्य बनेर मात्र बोली वा लेखाइमा प्रकट हुन्छ । अनि अरू प्रविधिको प्रयोगबाट अर्कोले सुन्छ वा पढ्छ ।

बाह्य प्रविधि चाक्षुस साधनको रूपमा लिपि र श्रोत्रीय साधनका रूपमा ध्वनि एवम् विविध वैज्ञानिक उपकरणसमेत पर्दछन् । अर्थात् मानवीय भाषिक सञ्चारका सहयोगी साधन बनेका छन् । अन्य मानवीय आवश्यकताहरू पूर्तिका लागि अन्य साधन, औजार वा उपकरण तथा कल कारखानाको विकास भए जस्तै विचार विनिमय गर्ने मानवीय आवश्यकता पूर्ति गर्न भाषाको विकास भएको हो ।

भाषाको भौतिक पक्ष मानवको मानसिक र भौतिक (शारीरिक अङ्ग) पक्षसँग पनि अभिन्न रूपमा गाँसिएको छ । यस आधारमा मन वा मस्तिष्कमा आउने भाषाको अव्यक्त पक्ष मानसिक आधार वा प्रविधि र व्यक्त ध्वनि, वर्ण, शब्द, वाक्य आदि भाषाका भौतिक आधार वा प्रविधि रहेका हुन्छन् । तिनैको प्रयोग गरेर मान्छे यो मनका कुरा त्यो मनका सार्छ र त्यो मनका कुरा यो मनमा तान्छ ।

प्रतिक्रिया
Loading...