आज पनि कुरा कथाको । तर कुरा ‘साना’ कुराको ।
साना कुरा?
काभ्रेको यात्रामा थियौँ । एकजना मित्रले बासगँ भेट गराए । बाको उचाइ निकै होचो ।
पछि कुरा चल्यो – नेपालमा कविताको आकार हेरेर तिनलाई छोटा कविता, लामा कविता भन्ने चलन छ । यसैबीच एक जना साथीले भन्नुभयो— ‘अब आकार हेरेर अघि भेटेका बूढा बालाई सानो मान्छे भन्नू? कविता कविता हो । छोटो वा लामो हुँदैन ।’
कुरा कथाको । कथामा पनि यस्तै भइरहेको छ । कति किताब देखेँ, जसमा लेखिएको हुन्छ— फालानामा ‘लामा’ कथाको सङ्ग्रह । पढ्यो— आकार त लामो छ । भित्र भुतोभाङ नाइँ ।
अब त्यो कथा सारमा लामो हो त?
हामीकहाँ आकार देख्यो कि लघु, गुरु, भीमकाय, यामानको, लामा, छोटा, होचा, पुड्का, बौना…केके भनेर विशेषण थपिहाल्ने रोग छ । अथवा, शक्ति छ भनौँ । विशेषणका धनी, जसश्रोतका जस्तै ।
जसले पनि यस्तो चलन चलाए, तनले अलिकति नकाम त गरेकै हुन् । चारपाँच हरफका कविता लेख्छु आफैँ पनि । विशेषणले हैरान पर्छु । कल्पनै नगरेका आकारवाची विशेषण आइदिन्छन् । हजमोला गोजीमा बोकेरै हिँड्नु कि बोल्नु?
बोल्नु भन्छन् केही साथीहरू ।
मान्यता आआफ्नै । मलाई आफू जे कुरामा विश्वास गर्छु, त्यो बोकेर हिँड्ने अधिकार त छ नि । हो, त्यसै अधिकारको प्रयोग गर्दै, कुनै पनि रचनालाई आकारको हिसाबले लामा, छोटा, लघु, दीर्घ…आदि विशेषण प्रयोग गर्ने कित्तामा उभिन्नँ । प्रस्टै ।
तर आज गर्न खोजेको कुरा अर्कै हो । कुरो त सानै कुराको हो । कुरो कथाको हो । तर, कुरो बेग्लै छ । ए आर एम्मोनले ‘अल्ज अल’ शीर्षकको कविता लेखे । साना कुराको कुरा । साना अक्षरको, ध्वनिको । कुरा के छ— सबैभन्दा सानो कुरो, परमाणुले, ब्रह्माण्ड बन्छ ।
कथालाई अनेक कुराले महान बनाउँछ । तर अचेल कथाले भन्दा पनि कथाकारको नाउँले महान बनाउँछ भन्ने भ्रमले पो मारेको छ त । अँ, जातले पनि । विचार समूहले । सबैलाई थाहै छ ।
भो, त्यता लागिनँ ।
तर एउटा गाँठी कुरा छ । अस्ति एउटा लेखमा तर्क गरेको थिएँ— कविताको पूणर् वजन एकदुई हरफमा हुन्छ, बाँकी त वातावरण निर्माणको उपक्रम हो । कविताको त्यही ‘सेन्टर अफ मास’ कालजयी बन्ने हो । सम्झनामा बस्ने हो । सूक्ति हुने हो ।
कथामा पनि यस्तै केही हुने रहेछ । एक पाठकको अनुभव ।
महान भनिएका कथाको महानता धेरै पक्षमा निहित होला । ठूलो विचार होला तिनमा । क्रान्ति होला । दर्शन होला । अनेक वादहरूको केन्द्रीय भाव होला । के के होला, के के ।
तर, महान भनिएका, र साहित्यको इतिहासमा साँच्चिकै अब्बल भनिएका, र प्रकाशित भएको दशकौँ अथवा शताब्दिऔँसम्म पनि अनिवार्य पढ्नै पर्ने कथाको सूचीमा आउने कथामा ससाना केही कुरा हुँदारहेछन्, जसलाई निकाल्दिने हो भने, कथा उभिन्छ वा उभिँदैन, थाहा हुँदैन । शरीरमा प्राणजस्तो । प्राण कत्रो हुन्छ, खोई आकार र वजन कसैले नापेको देखिएन । सुनिएन पनि । आउन त आउलान् यस्ता पनि कोही अलख निरञ्जन— प्राणको आकार नाप्ने । तर अहिलेसम्म प्राण बारे एउटा कुरा त प्रस्टै छ — यो अदृश्य छ । यही अदृश्य आत्मा नहुँदा शरीर मृत घोषित हुन्छ ।
कथामा निकै सूक्ष्म केही हुन्छ, जसको अभावमा कथा निष्प्राण भइदिन्छ । मेरो तर्क, त्यही सूक्ष्म कुराले मात्रै उक्त कथा महान बनाएको भन्ने होइन । तर, त्यो सूक्ष्म कुराले उक्त कथालाई प्राण दिन्छ भन्ने कुरा त पक्कै पनि गरेको हुँ । प्राण हुने सबै महान त हुँदैनन् नि ।
केही विदेशी कथाका कुरा गर्छु । केही नेपाली कथाका ।
केट चोपेँको एउटा कथा छ— ‘स्टोरी अफ एन आवर ।’ यानि, एक घन्टाको कथा । पुरुषवादी हैकमबाट आजित भएकी मल्लार्ड, श्रीमान् घर नफर्कंदा अप्रत्याशित खुसीले गदगद छिन् । एउटा न्यास्रो पनि कतै छ, भित्र । तर, खुसी बढी छ । हराए भनिएका मल्लार्ड, एक दिन एक्कासि फर्किन्छन् । हराएको मान्छे आउनुको खुसी, तर मन नपरोको मान्छे आउनुको दुःखका बीच श्रीमती मल्लार्ड बेहोस हुन्छिन् । यस घटनाका लागि लेखिकाले एउटा वाक्य खर्च गरेकी छिन्— द जोय द्याट किल्स । यानि, त्यो प्राण हर्ने आह्लाद ।
प्राण हर्ने आह्लाद ! कति वर्ष व्याख्या गर्नु? र नि, यो कस्तो वाक्य ! यसलाई निकाल्दिऔँ । कथा कतै उभिँदैन ।
सानो कुरा । ठूलो काम । कत्रो हो कत्रो !
‘मधेसतिर’ — विश्वेश्वरप्रसाद कोइराला । ओेरालो जाँदा ती बिधवाले सबैलाई चिउरा र चाकु बाँडिन् । बाँडेकी हुन् । तर गोरेलाई, आफ्नै भागबाट थपेर अरूलाई भन्दा दिइन् । किन?
यो कुरामा त किन ध्यान दिने र? वीपीको कथा पो हो त?
तर नि, यत्ति कुरा यस कथाबाट हटाइदिऊँ र हेरौँ । बिधवाले गोरेलाई अरूलाई भन्दा अलि बढी दिनुमा जुन मनोविज्ञान छ, त्यसै मनोविज्ञानको यो कथा उभिएको छ । बिधावाको हृदय । जवान गोरे । लगानी । पिँधका मान्छेको जीवन-बीमा ।
सानो कुरा । ठूलो काम । कत्रो हो कत्रो !
हामी सबैले पढेको पुष्कर शम्शेरको कथा ‘परिबन्ध’ । परिबन्धमा परेर रने जेल जाने भो । मारिने भो । कथा । मारिन लानुभन्दा अघाडि श्रीमती सेतीलाई भन्छ— राम, तर मलाई एउटा कुराको सन्तुष्टि छ । अरूका अगाडि म दोषी भए पनि तिम्रो अगाडि म निर्दोष छु । मलाई त्यति भए पुग्छ ।
मुटु फुटाउने कुरा । सानो कुरा । ठूलो कुरा । कथा परिबन्धको हो भनेर पढिरहन्छौँ, पढाइरहन्छौँ । तर नि, अर्को कथा छ यहाँनिर । जो सबैभन्दा निकट हुन्छ, उसका आँखामा निर्दोष हुनु बाँच्नुभन्दा पनि ठूलो कुरा हो । यो दृष्टिबाट यस कथालाई खासै पढिएन । कथाको सेन्टर अफ मास कतै अदृश्य भएर गयो ।
सदात हसन मन्तोको कथा — तित्वालको कुकुर । भारतीय र पाकिस्तानी सेनाको शिविर वल्लो डाँडा र पल्लो डाँडामा । बीचमा खाँेच । एउटा बेवारिश कुकुर उता आइपुग्छ । पाकिस्तानी होला भन्ठान्छन् । फेरि उता । भारतीय होला ठान्छन् । दुवैतिर शङ्का । ताडना । प्रताडना । अन्त्यमा एउटा पाकिस्तानी सिपाहीले गोली ठोक्छ र भन्छ— ‘साला, कुकुरको मृत्यु मर्यो ।’
केवल हास्य रसको कुरा होइन । वाक्यको वजनको कुरा हो । सानो कुरा । ठूलो कुरा । ठूलो ताल्चामा सानो चाबीको काम । कथालाई पाठकहरूमाझ स्मरणीय बनाइरहने एउटा सूत्र ।
चेखबको कथा – वाङ्का । हजुरबाले यो गर्, त्यो गर् भनेर दिक्क लाए भन्ठान्ने एउटा ठिटो सहर जान पाउँदा मक्ख । सरहमा के के भयो, त्यो कथा भो । तर, एउटा वाक्य छ, मुटु फुटाइरहने । सहरमा, नयाँ मालिकबाट धेरै चुटाइ खाएपछि वाङ्काले हजुरबालाई चिठी लेख्छ । भन्छ— हजुरबा मलाई यहाँबाट निकाल्नुस् । बरू म हजुरको जति पिटाइ खान पनि तयार छु ।
आखिर त्यो, मेरा आफ्ना हजुरबाको चुटाइ हुने छ ।
कमलो छ हाम्रो मुटु । प्याट्ट फुट्न कति पो बल लाग्छ र?
तर फुटाउने लेखक पो अलि कम छन् । तर छन् ।
कतिले मस्तिष्क फुटाइदिन्छन् । कतिले मान्यता ।
पोषण पाण्डको कथा सम्झन्छु – ‘अग्लो अग्लो पहाड ।’ कथानक भन्दिनँ । पटक्कै । तर एउटा कुरा मुटुमा गड्छ । एउटा पात्रले भन्छ— हामी धेरै अर्थहीन शब्द बोलेर शब्दको दुरुपयोग गर्छौ । मान्छेहरू एउटै वाक्य बोलेर अनेक गर्छन् । यात्रारत दुई पात्रले एउटा बटुवालाई बाटो सोध्छन् । संवाद यस्तो छ ।
— ए दाइ, यो बाटो कहाँ पुग्छ हँ?
— द्योराली ।
— तिमीले बोल्ने वाक्यमा दश वटा शब्द हुन्छन्; त्यसमा दशवटा त कष्टप्रद शिष्टाचारैै हुन्छ । उसको त यौटै शब्द, एउटै वाक्य । द्यौराली ।
कथाको प्रणतत्त्व । यो तत्त्व नभए पनि कथा कथै हुन्छ । कथा यस बारेमा होइन । कथको विषय अर्कै हो । तर, यति सूक्ष्म कुराले यस कथालाई अमरत्व प्रदान गरेको छ । आज तपाईंहामीले चर्चा किन गर्यौँ त, अन्यथा?
भिक्षुको कुरा गरेर थाक्दिनँ । ‘एउटा सानो साथी’ कथाको कथानक भन्दिनँ । सबैले पढेको कथा, मैले दोहोर्याउँदा बोर हुन्छ । तर एउटा कुरा छ, सम्झनुपर्ने । यात्राभरि लेखकसँग खेलेको बालक, उसको गन्तव्यको स्टेशन आएपछि त छुट्टिन्छ नि ।
अनि भिक्षु लेख्छन— ‘चाहेर पनि कसैले कसैलाई जिन्दगीभर साथ दिन सक्दैन ।’
यस कथाको यो पक्ष मलाई सालोचक महेश कार्की क्षितिजले सम्झाएका हुन् । पछि मैले यो कथा अङ्ग्रेजीमा अनुवाद गरेँ । अनि रोएँ । मनभित्र बसेको छ यो कथा ।
कुरो त सानै हो । तर मुटुछेड कुरा । सियोको टुप्पोजस्तै सत्य । आज पनि सम्झिरहन्छौँ भिक्षुलाई । हुरुक्कै हुन्छौँ ।
एउटा ज्यादै लोकप्रिय कथाको कुरा गर्छु । पारिजातको ‘मैले नजन्माएको छोरो’ । कथा त सबैलाई थाहै छ । तर, आफूले कल्पनामा साँचेको बालकलाई, मानसपुत्र मानेको बच्चालाई भट्टीमा देख्दा, चुरोट वा रक्सी पिउँदै गरेको देख्दा वा वेश्यावृत्तितिर उन्मुख भएको देख्दा कस्तो हुन्छ होला? भनिएको छ—‘…तर मलाई रोगले पनि छोड्दै गएको जस्तो लाग्छ, पसिना आएपछि छुट्ने जरोजस्तो…मेरो छातीबाट एउटा गह्रौ ढुङ्गा हटिसकेको छ ।”
आइँ । रिस उठ्नुपर्ने होइन र? छाती पिटेर रुनुपर्ने होइन र? आफैँलाई वा आफ्नो भाग्यलाई सराप्नुपर्ने होइन र? कठैबरा, मेरो अति समान्य चिन्तन । मैले भए, आफ्नो कथामा त्यस्तै लेखिहाल्थेँ ।
तर म पारिजातको कथामा छु भन्ने नै पो भुलेछु ।
अनि कि, एउटा भ्रम टुट्नुको आनन्द । कथाबाट, यो बोझ हटेको कुरा हटाइदिऊँ, र रुवाबासी थपिदिऊँ । अनि कथा पढौँ ।
भो, नपढौँ त्यसरी ।
सानो कुरा । तह तह अर्थ । एउटा कथा महान केके कुराले बन्छ, त्यसको ठोस उत्तर त नहोला कि । अथवा होला पनि । तर, थाहा भएन ।
तर नि, समयको घेरो नाघेर कथाभित्रको कुनै कुरा किन बारम्बार सम्झनामा आइरहन्छ? कुरा त्यहाँ हुन्छ ।
त्यसैले अस्तिदेखि भन्दै आयौँ — घटना लेखेर कथा हुँदैन । घटना जत्रोसुकै किन नहोस्, अथवा महानताको शिखर वाला किन नहोस्, त्यो घटना नै हुन्छ । कथा हुँदैन । कथामा, त्यो सानो कुरा, सियाको टुप्पो, महानताको चाबी हो, जो पढेपछि पनि लामो समयसम्म दिमागमा गाडिएर बस्छ, र जतिपल्ट सम्झियो, उतिपल्ट नयाँ नयाँ अर्थ दिइरहन्छ ।
कति गाह्रो । तर फेरि, कति सजिलो । सानो कुरो गर्नु छ । के गाह्रो?
अचम्मको कथा छ डाक्टर राजेन्द्र विमलको । शीर्षक – ‘पोस्टमार्टम ।’ कथामा, एउटा बेवारिशे लाश भेटिएको छ । पोस्टमार्टम गर्ने डाक्टरले उसका आँखाबाट फिल्मका जस्ता लामा लामा रिल पो तानेर निकाल्छन् । एक जना डाक्टर रिललाई घामतिर देखाएर हेर्छन् । अभूतपूर्व आश्चर्य । कथामा भनिएको छ— “तिनमा ठूला ठूला महलका नक्साहरू थिए, फरियाका नमुनाहरू थिए, सुनचाँदीका गहनाका डिजाइनहरू थिए, केटाकेटीका फ्रक, प्यान्ट र सुरवालका तस्बिरहरू थिए, स्कुटर र मोटरका मोडेलहरू थिए…रिल झिकेपछि आँखाका खोपिल्टामा आँसुको विशाल र अथाह दहजस्तो देखिन्थ्यो ।
उफ्, पानी । पूरा हुन नसकेका सपनाले भरिएका आँखा । ऊ, एक शिक्षक । मर्नुका अनेका कारणमध्येका दुई कारणको उल्लेख गर्छु— अति संवेदनशीलता, अति आदर्शवाद ।
यो कथा । मसिना मसिना मसिना मसिना कुराले अर्कै उचाइमा पुगेको । सम्झिरहनुपर्ने कथा । म त आफैँ मास्टर हुँ, कसरी बिर्सूंला । पढौँ न खोजेर । हस?
नारायण ढकालको एउटा कथा छ— ‘भट्टीमा उमिरहेकी बूढी ।’ बूढेसकालमा बूढासँग झगडा गरेकी । राति बालुवा बेच्ने, दिउँसो उँघ्ने । बम्बई पनि बसेर फर्केकी — बम्बईबूढी । गाँठी कुरो कहाँ छ भने नि— बालुवा बेच्न सहज पार्दिने शर्तमा बूढी, कुन पुलिससँग सुत्न गएकी रे, अनि बूढो रिसाएको रे । अनि, अस्ति एकचोटि चैँ बूढाले नै भनेर सुत्न पठाएको रे । बूढाले पठाएर जानु, र आफ्नै विवेकले जानुमा फरक । लामो कथा हो यो । तर, यो कथाको वजन, यहाँ वणर्ित सम्बन्धमा देखिएको विरोधासमा पुगेर अडिएको छ ।
एलबी क्षेत्रका अनेक कथामध्ये एउटा कथा छ ‘जगदीश भाइ’ । जगदीश भाइ— घरमा काम गर्ने सहयोगी । आउने-जाने पाहुनाले पनि माया गर्ने, दुईचार पैसा दिने । एकपल्ट आएकी पाहुना, चलचित्रकी हिरोइन् हुन् भन्ने भ्रममा खूब सेवा गर्छ । जाने बेलामा उनी आफ्नै धुनमा निस्किन्छिन् । जगदीशमा पाहुनाप्रति वितृष्णा आउला भन्ने डरले मालिक आफँैले केही पैसा दिन्छन्, र मेडमले दिन लाएको भन्दिन्छन् । एउटा मनोविज्ञानले यसरी पुनः पुनः बाँचिरहने आधार पाउँछ । हाँसिरहने आधार पाउँछ ।
कथामा ध्यानै नदिइएका यी साना साना कुरा । कथाका कुरा गरिरहँदा ठूलाठूला कुरा गरिए । आयाम खडा गरेका कुरा । क्रान्तिका । अधिकारका । आमूल परिर्वनका । नयाँ दर्शनका । विश्व-ब्रह्माण्डका । अचम्मका प्रयोगका ।
यी त ठूला कुरा भइगए । तिनमा पनि मेरो समर्थन छ । तर आफू सानो मान्छे । मलाई त सानै कुरामा प्रेम छ ।
एउटा आम मान्छेको स्मृतिपटल, जीवनका ससाना करिङमिरिङ कुराहरूले नै भरिएको हुन्छ । त्यहाँ, हामीले लेखेका कथाले बास पाउनु निकै कठिन कुरा हो । तर, लेख्ने आम मान्छे, र दिमागमा बस्ने ठूलाबडाको ! यही मात्र त गर्न त भएन नि । कि भयो?
अस्ति एकजना मित्रले भने— ठूलाले शासन चलाउनँछन् । नीति बनाउँछन् । तिनलाई बुझाउने होनि त कुरो ।
कुरो ठिक । बेठिक भन्दा खतरा छ ।
तर नि, उसो भा, आम मान्छेका लागि चैँ साहित्यको प्रयोजन के छ?
आम मान्छ भनेको अचम्मको कुरा हो । हत्केला फुटेर धाँजै धाँजा परेका हुन सक्छन् । ती धाँजाहरूका बीचबाट जीवन देखाइदिन्छन् ।
अलि माथि त कुरा बेग्लै (होला) ।
एक दिन माइतीघर मण्डलामा थिएँ । माथिका, ठूला मान्छेको सवारी हुँदैछ भनेर पुलिस आयो र हामीलाई भन्यो — हट, हट, हट । हामी किनारतिर लाग्यौँ । ठूला मान्छेको सवारी हेर्छु नै भनेर किनारमा उभिएँ । हेर्छु नै भन्ने अठोट ।
केही मिनेटपछि कानै खाने गरी आवाज गर्दै आयो गाडीको लश्कर । बीचमा ठूला मान्छेको सवारी ।
म पनि जानता । म पनि नागरिक । मैले त हेर्छु नै ठूला मान्छेलाई । उनले पनि त मलाई देख्नुपर्छ भन्ठानेँ । अनि छाती तानेर उभिएँ ।
आयो गाडी । कालो सिसा । के देखियो होला र बाहिरको संसार? देखिनु पर्छ पनि र?
तै पनि हेरेँ । ठम्याएँ हौ ! दर्शन भयो । तर कालो सिसाभित्र उहाँ फोनमा व्यस्त हुनुहुन्थ्यो । हामीलाई देख्नुभएन ।
यानि, जनता देख्नुभएन ।
यानि, देश देख्नुभएन ।
उहाँहरूले बनाएको नीतिले चल्नु एउटा कुरा ।
फुटेका हत्केलाका धाँजाले देखाएको जीवनमा हाँसो उमारेर बाँच्नु अर्कै कुरा ।
कथामा यी धाँजाहरूबीच जीवनको नदी बग्छ कि बग्दैन? प्रश्न एक ।
कथामा सानै सपना देख्न बानी परेकाहरूको आँगन अटाउँछ कि अटाउँदैन? प्रश्न दुई ।
क्रान्ति र परिवर्तनको कुरा नगरी महान हुन्छ कि हुँदैन कथा?
प्रजातन्त्र, दर्शन, अध्यात्म र मोक्षको कुरा नगर्ने कथा महान हुन्छ कि हुँदैन?
थाह भएन । हास पनि कसरी?
कथाको महानताको प्रश्न, खास यी प्रश्नभन्दा अलि माथि छ । अलि पर पनि छ । त्यहाँ, आम मान्छेका उछ्वास बस्छन् । र, तिनको स्मृतिका अनेक किरिङमिरिङका बीच ती कथा एउटा गहिरो स्मृति बनेर बस्छन् ।
माथि त, धेरैजसो अवस्थामा व्यापार हुन्छ ।
तल, जीवनको खेती हुन्छ ।
कहाँ उभिने? कता उभ्याउने कथालाई?
आँखा साना हुँदैमा सपना साना हुँदैनन् ।
बग्दैमा आँसु, बग्दैनन् सपना ।
आँखा, सपना, आँसु । हाँसो पनि । तर अलिखित जीवनका पानाहरूबाट ।
कथा त्यहाँ उभ्याउनु पर्छ । कथालाई त्यहाँ उभ्याउन लेभी तिर्नु पर्दैन । टेक्स लाग्दैन ।
कथाका साना कुरा । ठूलो असर ।
कथा हुनुको सार । माथि, धेरै धेरै माथि । समयको भँगालो चिरेर, अर्कै शिखरतिर ।
केथलिन नोरिस, ‘ए ब्युटिफुल प्लेस’ नाम गरेको एउटा निबन्धमा लेख्छिन्— “जीवनका कठोर सङ्घर्षहरूबाट अमेरिकी आदिवासीहरूले के सिकेका छन् भने, समुदायलाई अर्को समुदायको हस्तक्षेपबाट सुरक्षित रहनका लागि कथा चाहिन्छ ।”
कुरा गहिरो छ ।
र यो गहिरो, आम मान्छेको जीवनवृत्तमा छ ।
त्यसैले, यो सानो कुरामा छ । यानि, यो सबैभन्दा ठूलो कुरामा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।