कति कमाइस् पैसा ?

हरेक देशको आफ्नै पैसा हुन्छ । पैसालाई अर्थशास्त्रमा मुद्राको अर्थमा लिइन्छ । नेपालीमा भने पैसा भनेको नेपाली मुद्रा गणनाको सबैभन्दा सानो एकाइ पनि हो । अर्थात् पैसाको ठुलो र सानो दुबै अर्थ हुन्छ । ‘कति कमाइस् पैसा ?’ भनेर कसैले कसैलाई सोध्दा ‘एक पैसा पनि कमाएको छैन’ भन्ने जवाफ आयो भने दुई पटक आएको पैसाले अर्थमा अनकातान भिन्नता देखाउँछ ।

अरु चिजवस्तुको मूल्य नाप्ने पैसाको आफ्नै मूल्य हुन्छ । अरुको मूल्य बढ्दै जान्छ, पैसाको घट्दो छ । त्यसैले कमाइको सन्दर्भमा दिइने उत्तरमा सुका, मोहोर रुप्ये हुँदै नकमाएको परिमाण ठुलोतिर बढ्दै गएको छ । मुद्रास्फीति, अवमूल्यन र अधिमूल्यन जस्ता पारिभाषिक शब्दावली पैसाको वस्तुसँगको वा एक देशको पैसाको मूल्य अर्को देशको पैसासँग तुलना गरेर हिसाब निकालिने परिपाटीलाई अर्थ्याउने धेरै प्राविधिक अर्थात् अर्थशास्त्र र वित्तशास्त्रका शब्द हुन् ।

अचम्मको कुरो के छ भने पैसोको मूल्य घट्दै जाँदा त्यसको हिसाब वा कारोबारको गणना वा सङ्ख्या भने बढ्दै जान्छ । त्यसको मापन (अ)सन्तुष्टिबाट गर्न सकिन्छ । पहिले पहिले एक पैसोले दिने सन्तुष्टि अहिले एक सय ‘रुप्ये’ले पनि नदिने अवस्था आउँदैछ । हामीले सुन्दाका लखपति अहिले अर्बपति, खर्बपति … बन्ने ध्याउन्नमा छन् र पनि सन्तुष्ट छैनन् । मान्छेलाई कति पिरोलो !

केदार वाशिष्ठ

वस्तु विनिमयको सुधारिएको रूपमा धातु विनियम पैसोको कारोबारका रूपमा आएको हो । त्यसमा एकरूपता र सर्वग्राह्यपन धारण गराउन सिक्का बनाई प्रचलनमा ल्याइयो । परिवहनका लागि पनि यो अनिवार्य थियो । समाज देशका रूपमा परिवर्तन हुन थालेपछि सिक्कालाई कानुनी र शासकीय शक्तिआरुढ वस्तु देखाउन सिक्कामा त्यसै अनुरूपका चित्र-सङ्केत राख्न थालियो । भाषा मान्छेको सबैभन्दा महत्त्वपूर्ण वस्तु र सङ्केत चिह्नको व्यवस्था रहेका कारण भाषालाई पनि सिक्कामा टङ्कण गर्न थालियो ।

बुद्धकालीन पैसो

हालको नेपालमा सबैभन्दा पहिलो पैसो इसापूर्व ५०० तिर शाक्य महाजनपदबाट सुरु भएको मानिन्छ । तर त्यसको टकमरी हालको लुम्बिनी आसपास भएको होइन भन्ने मत छ, अर्थात् प्रचलन मात्र हो । बुद्धको जन्मस्थल लुम्बनी र त्यसको आसपासको क्षेत्रमा पर्ने शाक्य महाजनपदहरूमा प्रचलनमा रहेको सिक्का हालै मात्र भारतीय भूमिमा पाइएका हुन् । त्यसपछि कुषाणकालका स्वर्ण सिक्का दिनार प्रयोगमा आएको पूर्वी नेपालको सप्तकोसी तटमा रहेको बराह क्षेत्रमा राखिएको गुठीसम्बन्धी अभिलेखमा पाइन्छ ।

इसापूर्व ५०० तिरको शाक्य महाजनपदमा प्रचलनमा रहेको मानिएको सिक्का

काठमाडौं उपत्यका र आसपासका राज्यहरुमा भने लिच्छविकालदेखिका मुद्रा पण र पुराणका नाममा प्रचलनमा थिए । तिनलाई शासकको नामबाट मानाङ्क, गुणाङ्क जस्ता नाम दिएर प्रचलनमा ल्याइएको थियो । मानदेवले चलाएको मुद्रा मानाङ्क हो । यो मुद्राका अगाडि र पछाडि गुप्त लिपिमा ‘श्री मानाङ्क’ र पछाडि ‘श्री भोगिनी’ लेखिएको छ । नेपाली मुद्रामा भाषाको प्रयोग त्यसै बेलादेखिको हो ।

मल्लकालमा विसं १६७१ मा कान्तिपुरका राजा महेन्द्र मल्लले चाँदीका ठुला र साना मोहोर प्रचलनमा ल्याए तर त्योभन्दा अगाडि दोलखाका राजा इन्द्रदेव सिंहले चाँदीको सिक्का निकालिसकेका थिए । यी सिक्कामा देवनागरी लिपिमा नै राजाको प्रशस्ति लेखिएको थियो । सुनको सिक्का निकाल्ने कान्तिपुरका राजा जयप्रकाश मल्ल रहे । शाहकालका पनि सिक्काको प्रचलन बढ्यो तर विश्वका अरु देशमा कागजी मुद्रा वा नोटको चलन बढिसकेको थियो ।

कागजी नोटका ७५ वर्ष

नेपालमा आफ्नै नोट चल्न थालेको ७५ वर्ष पुरा भएको छ । राणा प्रधानमन्त्री जुद्धशमशेरले सदर मुलुकी खाना स्थापना गरेर २००२ असोज १ देखि नेपालमा कागजी नोट चलाएका हुन् । त्यसअघिसम्म नेपालमा सिक्काको प्रचलन हुन्थ्यो । पछिल्ला सिक्काहरुमा पनि भाषाको प्रयोग बढ्दै गएको थियो । तर कागजी नोट प्रचलनमा आउन थालेपछि भाषिक प्रयोग निकै हुने गरेको छ ।

सिक्कामा भन्दा बढी स्थान हुने र छपाइमा सहज हुने हुँदा नोटमा भाषाका अतिरिक्त धेरै कुरा अङ्कित हुने गर्दछन् । नोट आर्थिक मूल्य रहेको र अरु धेरै विषय समेटिएको ज्यादै प्राविधिक कागज हो । हामी हेर्दा त्यसलाई कागज देख्छौं, र त्यसको आर्थिक मूल्यमा दङ्ग पर्छौँ तर एउटा कागजी नोटको मूल्य आर्थिकभन्दा अरु धेरै महत्त्वको हुन्छ । देहायको तालिकामा प्रस्तुत ११ दरका २८ किसिमका नोटको अध्ययन गर्दा नेपालको विविध विशेषता तिनमा पाइन्छ । हालसम्म निष्कासन भएका नोट भने १५० प्रकारका छन् ।

नेपालमा निष्कासन भएका केही नोट र तिनमा पाइने विशेषता

नोट दर कला, संस्कृति, धार्मिक सम्पदा जीवजन्तु हिमाल अन्य
१ मोरू मन्दिर, कलश, चन्द्रसूर्य घुँडा टेकेर बसेको हात्ती, सर्प हिमशृङ्खला दुई खुकुरी, शंख
पाटनस्थित महाबौद्ध अन्नपूर्ण शृङ्खला रोटेपिङ, निशाना छाप, घर
पशुपतिनाथ मन्दिर कस्तुरी मृग अमादब्लम
बज्रयोगिनी मन्दिर, लक्ष्मीको मूर्ति चितुवा
५ मोरू बाघ निशाना छाप, श्रीपेच
स्वयम्भुनाथ स्तुप सगरमाथा
पाटनस्थित तुसाहिटीको मूर्ति अन्नपूर्ण दोस्रो र लमजुङ हिमाल गह्रैगह्रा परेको खेत
तलेजु भवानी मन्दिर चौँरी याक धलवागिरि
काष्ठमण्डप वन्य याक सगरमाथा हुम्ला जिल्लाको लिमी क्षेत्र
१० मोरू गुह्येश्वरी मन्दिर दुई रुखमा बसेका दुई मयुर, दुई सर्प निशाना छाप, श्रीपेच
१० सहस्रनागको सिंहासनमा ध्यानमग्न बुद्धको मूर्ति सिंहदरबारको अग्रभाग
१० चाँगुको गरुडनारायण कृष्णसार सगरमाथा
२० कृष्ण मन्दिर जरायो सगरमाथा
२० कृष्ण मन्दिर दुई वटा बाह्रसिंगा सगरमाथा
२५ हनुमानढोका दरबार कोइली गाई माछापुच्छ्रे
५० रामजानकी मन्दिर झारल सगरमाथा
५० अशोकस्तम्भ जोडी डाँफे] माछापुच्छ्रे दुई कलश, स्वर्णजयन्ती लोगो]
५० रामजानकी मन्दिर हिमचितुवा सगरमाथा
१०० मोरू पशुपतिनाथ मन्दिर गैँडा नागको तोरण
१०० भक्तपुर दरबार चोकको स्वर्णद्वार, ५५ झ्याले दरबार सगरमाथा, ल्होत्से, नुप्से निशाना छाप
१०० न्यातपोल देवल गैँडा हिमालय शृङ्खला देवी तारा
१०० अशोकस्तम्भ गैँडा र बच्चा गैँडा सगरमाथा मायादेवी र नेपालको नक्सा
२५० हनुमानढोका दरबार कैली गाई माछापुच्छ्रे
५०० त्याङबोचे गुम्बा जोडी बाघ अमादब्लम इन्द्र
५०० त्याङबोचे गुम्बा बाघ अमादब्लम, सगरमाथा कुबेर
१००० हारती माता र स्वयम्भुनाथ स्तुप, देवी भवानी मत्ता हात्ती अन्नपूर्ण हिमशृङ्खला घान्द्रुकका परम्परागत घर
१००० हारती माता र स्वयम्भुनाथ स्तुप, देवी भवानी जुम्ल्याहा हात्ती सगरमाथा

स्रोत : श्याम खतिवडा, नेपालका आधुनिक मुद्राहरु : एक समीक्षा, २०७८ मा आधारित । (मोरू नलेखिएका रूपैयाँ हुन् ।)

यी मात्र होइन, नोटको सुरक्षा बेग्लै विषय बन्दछ । त्यस्तो सुरक्षाका प्रावधान पनि नोटमा हुन्छन् । यहाँ ती व्यापक विषयको चर्चा नगरी नोटको भाषाको अध्ययनबाट नेपाली भाषाको अध्ययन गरिएको छ । नोटको भाषिक प्रयोगमा वर्ण, शब्द, वाक्य; अङ्क; र लेख्यचिह्न रहेका देखिन्छन् ।

मोरुको कहानी

२००२ असोज १ गते पहिलो पटक एकैदिन ५, १० र १०० दरका नोट निष्कासन भए । तिनलाई अहिलेको जस्तो ‘रुपैयाँ’ नभनी ‘मोरु’ भनिएको थियो । अर्थात् नेपाली भाषामा पैसापछि रुपैयाँ भन्ने भाषाको साटो ‘मोरु’ थियो । तिनमा ‘मोरु’ मात्र हाम्रो भाषाको विषय थिएन । तिन किसिमका नोटमा लेखिएको भाषा फरक फरक थियो ।

मोरु ५ मा

“श्री नेपाल सर्कार

यसको रुपैया भुक्तान माग्न आएमा सदर मुलुकी खाना बाट मोरु ५.

मोरु पाँच

तुरन्त पाउने छ”

पछाडिको भागमा

“मोरु पाँच.”

मोरू १० मा

“श्री.

नेपाल सर्कार.

मोरु दस.

तुरन्त पाउनेछ.”

पछाडिको भागमा वायाँतिर

“मोरु दस.

RUPPES TEN.

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी. मोरु दस”

मोरु १०० मा

“श्री

नेपाल सर्कार.

मोरु एक शय

तुरन्त पाउनेछ.”

पछाडिको भागमा

“नेपाल सर्कार.

मोरु एक शय

RUPEES ONE HUNDRED

मोरु एक शय”

यी तीन नोटमा तीन भाषा – नेपाली अङ्ग्रेजी र संस्कृतको प्रयोग भएको छ । त्यसबेलाको सरकारलाई ‘नेपाल सर्कार’ भन्ने गरिएको देखिन्छ । हाल ‘सर्कार’ होइन ‘सरकार’ चल्छ । यी नोटबाट त्यसबेलाको नेपाली भाषामा पूर्णविराम चिह्न (।) को साटो अङ्ग्रेजी र हिन्दीमा जस्तो थोप्लो (.) दिने गरेको बुझिन्छ तर त्यसको प्रयोगमा एकरूपता छैन । ५ को नोटमा दुई ठाउँमा र १० र १०० मा धेरै ठाउँमा (.) प्रयोग छ । एउटै नोट १० को मा ‘मोरु दश’ लेख्दा कतै प्रयोग छ कतै छैन ।

सरकार “सर्कार” रहेन

यी नोट प्रचलनमा रहेकै बेला नेपालको राजनीतिक व्यवस्थामा आमूल परिवर्तन भयो । २००७ सालमा जहाँनिया राणाशासन ढलेर प्रजातन्त्र स्थापना भयो । त्यसपछि २००८ मा फेरि नोट निष्कासन भयो । नोटमा दस्तखत गर्ने खजान्ची जनकराज पाण्डेबाट भरतराज पाण्डे बदलिए तर दर र भाषा बदलिएन, सच्चिएन पनि ।

फेरि २०१० भदौ २९ गते नयाँ खजान्ची पं. नरेन्द्रराज पाण्डेले दस्तखत गरेको मोरु १ निष्कासन भयो । त्यसमा “श्री नेपाल सरकार” लेखियो, सरकार ‘सर्कार’ रहेन । लेख्य चिह्नमा पूर्णविराम वा थोप्लो कुनै रहेन । यसका अगाडि र पछाडिको भागमा एक रुपैयाँको सिक्काको क्रमशः अगाडिको र पडाडिको भाग पनि छापियो । त्यसमा अगाडिको भागमा ‘श्री श्री श्री त्रिभुवन वीर विक्रम शाहदेव २००८’ र पछाडिको भागमा ‘श्री श्री श्री गो र ख ना थ’ र त्यसको बिचमा गोलाकारभित्र माथि ‘श्री भ वा नी’ र तल ‘ए क रु पै याँ’ र फेरि तल ‘ने पा ल’ लेखिएको थियो । यसबाट राजाको नाममा श्री ५ लेख्ने चलन भए पनि पैसामा भने श्री ३ मात्र प्रयोग भएको देखिन्छ ।

२०१० मा नै निष्कासन भएका अरु दरका नोटमा पनि सरकार नै लेखियो । यस मितिपछिका नोटमा अर्को महत्त्वपूर्ण भाषिक परिवर्तन ‘तुरन्त पाउनेछ’ मा ‘तुरन्त पाइनेछ’ भनी गरियो । पूर्णविरामको साटो प्रयोग हुँदै आएको थोप्लो वा फुलस्टप पनि धेरै नै कम प्रयोगमा आयो । आँशिक थोप्लोको चलन २०१३ सम्म रह्यो ।

नेपाल राष्ट्र बैङ्क : केन्द्रीय बैङ्क

२०१३ वैशाख १४ गते केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्क स्थापना भई मुद्रा निष्कासन र व्यवस्थापन नेपाल राष्ट्र बैङ्कबाट हुन थाल्यो । नेपाल सरकारको जमानतमा पहिलो गभर्नर हिमालय शमशेर जबराको दस्तखतमा २०१६ फागुन ७ गते मोरु १, ५, १०, १०० का नोट निष्कासन भए । तिनमा कुनै नोटमा पनि पूर्णविराम वा फुलस्टप केही प्रयोग भएन ती नोटमा लेखिएको थियो :

“नेपाल राष्ट्र बैङ्क

नेपाल सरकारको जमानत प्राप्त …”

मोरु १ मा भने अङ्ग्रेजीमा RE.1 लेखियो । लामो समयसम्म १ को नोटमा मात्र अङ्ग्रेजीमा RE. लेख्ने प्रचलन रह्यो । २०२८ मा वैशाख १५ गते र २०३१ वैशाख १४ गते नयाँ डिजाइनमा आउँदा पनि RE.1 लेखियो अरु दरका नोटमा कि त अङ्क कि अक्षरमा रोमन लिपिमा लेखिएको छ ।

श्री ५ को सरकार

२०१९ जेठ २९ मोरु १० र १०० दरका नोट निष्कासन भए । पञ्चायती व्यवस्था आएपछिका तिनमा ‘नेपाल सरकार’को ठाउँमा ‘श्री ५ को सरकार’ तर ‘रुपैया भुक्तान माग्न आएमा नेपाल राष्ट्र बैङ्कबाट ‘मोरु’ दिने वचनवद्धताको भाषा थियो ।

मोरुबाट रुपैयाँ

२०२०/०२१ मा पाँच रुपैयाँको नोट निष्कासन भयो र ‘मोरु’को प्रचलन हट्यो । यो कार्य मन्त्रिपरिषद्को निर्णयबाट भएको बुझिन्छ । “नेपाली रुपैयाँ शब्द प्रचलन गर्दा कतै मो.रु. कतै ने.रु. भन्ने चलाएको र मो.रु. भन्दा ने.रु. नै सार्थक हुने भएकाले अब उप्रान्त सबै ठाउँहरुमा नेपाली रुपैयाँ (ने.रु.) लेख्नु भनी तत्कालीन श्री ५ को सरकारको मिति २०१५ चैत्र ३ गते भएको निर्णय खारेज गरी सबै मन्त्रालय, विभाग, अड्डा तथा अदालतहरुमा खडा गरिने लेनदेन कारोबारको लिखतपत्र इत्यादिमा नेपाली रुपैयाँ (ने.रु.) को बदलामा रुपैयाँ (रु.) मात्र लेख्ने भनी तत्कालीन श्री ५ को सरकारबाट मिति २०२० भाद्र १४ गते भएको निर्णय” पाइन्छ (खतिवडा, उही पृ. ३२) । तर २०१५ सालमा नै त्यस्तो ने.रु. लेख्ने निर्णय भएको भए पनि नेपाली रुपैयाँ (ने.रु.) भनी नोट प्रचलनमा भने आएको देखिँदैन ।

२०२६ पुस १४ गतेदेखि पहिलो पटक एक हजारको नोट प्रचलनमा आयो । त्यसमा ‘ह’ लेखाइ विशेष किसिमको थियो । २०३१ पुस १४ गते जारीमा मात्र ‘ह’ सामान्य लेखाइमा आयो ।

नाम नै गलत : राप्ट्र बैङ्क

२०२७ जेठ २९ मा छापिएका १० को नोटमा नेपाल राष्ट्र बैङ्कको नाम नै गलत छापियो । क/१ देखि क/१० सम्मका नोटमा नेपाल ‘राप्ट्र’ बैङ्क छापिएकोमा क/११ देखि क/४० सम्मकामा भने नेपाल ‘राष्ट्र बैङ्क’ भनेर सच्याएर छापियो ।

२०३८ वैशाख १४ गते दुई रुपियाँको पहिलो नोट निष्कासन तर अक्षरमा लेखाइमा ‘दुइ’ (ह्रस्व) लेखियो । २०३९, २०४२, २०४६, २०४८, २०५३, २०५७ मा जारीमा पनि ‘दुइ’ नै रह्यो, सुधार भएन बरु २०५३ चैत २८ मा २५० को नोट निष्कासन हुँदा त्यसमा पनि “दुइ शय पचास” लेखियो ।

२०३९ कात्तिक २२ गते ‘रुपैयाँ बीस’ (दीर्घ) लेखियो । त्यो दरको नोट २०४२, २०४५, २०५०, २०५४, २०५६, २०५७, २०५९, २०६१, २०६३, २०६६, २०६७, २०७० मा जारी हुँदा पनि दीर्घ बीस नै लेखिएकोमा २०७३ पुस १ मा ‘बिस’ (ह्रस्व) लेखियो र २०७७ मा पनि ह्रस्व नै भएको छ ।

बन्यो

नोटमा सुकी वा सिक्काको आकृति पनि छाप्ने चलन थियो । त्यसमा “गो र ष ना थ” लेख्ने गरिएको थियो । तथापि २००८ मा निष्कासन भएको मोरु १ मा सिक्काको आकृति पनि राख्दा त्यसमा भने “गो र ख ना थ” नै लेखिएको थियो । पछिका अरु नोटमा भने ‘ष’ नै प्रचलनमा रहेको मा २०३८ वैशाख १४ देखि २ र १००, १००० को नोटमा सुकी चिह्नमा रहेको ‘गो र ष ना थ’ को ठाउँमा ‘गो र ख ना थ’ लेखियो अर्थात ‘ष’ ‘ख’मा परिणत भयो । नेपाली भाषामा वर्णको परिवर्तनको यो महत्त्वपूर्ण विशेषता हो ।

तुरन्तको अवधि सकियो

२०६१ कात्तिक २ गते २० विभिन्न दरका नोट जारी भए । ती नोट जारी हुँदा केही शब्दको म्याद भुक्तान भयो । तिनमा ‘भुक्तान’ आफै ‘भुक्तानी’ भयो, ‘तुरन्त’ पनि ‘तुरुन्त’ भयो । त्यसअघि नै ‘पाउनेछ’ ‘पाइने छ’ भएकोमा अब ‘पाइनेछ’ भयो । ‘शय’ पनि ‘सय’ बन्यो  र फेरि २०६७ वैशाख ३ देखि ‘शय’ नै भयो ।

फेरि नेपाल सरकार

२०६२/२०६३ को आन्दोलनले फेरि राजनीतिक व्यवस्था परिवर्तन गरेर गणतन्त्र स्थापना गर्यो । त्यसपछि २०६३ असोज ६ गते निष्कासन भएका नोटमा ‘श्री ५ को सरकार’ को साटो ‘नेपाल सरकार’ लेख्न थालियो । राजाको चित्रको स्थानमा सगरमाथा र श्रीपेचको स्थानमा लालीगुराँस प्रयोग भए ।

नेपाली नोटमा सङ्क्षिप्त चिह्न पनि प्रयोग भएको छ । नेपाल सरकारको मिति २०६४ पुस १५ को निर्णय अनुसार कामु गभर्नर कृष्णबहादुर मानन्धरको दस्तखत राखी रु. १०००। को नोट मुद्रण गर्न स्वीकृति प्राप्त भएपछि जारी नोटमा ‘का.मु. गभर्नर’ भनी लेखियो । २०६४ चैत २५ देखि निष्कासन भएको रु. १००० को नोटमा का.मु. गभर्नर कृष्णबहादुर मानन्धरको दस्तखत भएको हो ।

नोटमा वर्ष उल्लेख

२०७० भदौ १८ गतेदेखि निष्कासन भएका नोटमा नोटको छपाइ वर्ष पनि लेख्न थालियो । रु. १०० को नोटमा गभर्नरको दस्तखतभन्दा तल किनारामा ‘वि.सं. २०६९’ र पछाडिको भागको सोही ठाउँ पर्ने गरी तल ‘2012 A.D.’ लेख्न थालियो । १०० को नोटमा भने ‘LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA’ पनि लेखियो ।

२०७७ साउन ७ गते निष्कासन भएको १००० को नोटमा दृष्टिविहीनका लागि पनि चिन्ने विशेष सुविधा थपियो । त्यस नोटको अग्रभागको दायाँतर्फ तल्लो भागमा 1000 को मुनि दृष्टिविहीनको सुविधाका लागि छामेर चिन्न सकिने गरी अङ्ग्रेजीमा ‘M’ लेखियो ।

नोट जस्तै चलायमान

नोट आर्थिक कारोबारका लागि मूल्य अङ्कित र कानुनी प्रत्याभूति गरिएको साङ्केतिक मुद्रा हो । तर नोटमा आर्थिक पक्ष मात्र नहुने कुरा स्पष्ट भएको छ । नोट अर्थात् पैसा स्थिर हुँदैन । यो जति चलायमान हुन्छ त्यति नै आर्थिक अवस्था सुदृढ भएको मानिन्छ । त्यसैले चाँडो चाँडो चल्ने हुनाले भएर हो कि हामी पनि नोटलाई गम्भीरतापूर्वक अध्ययन गर्दैनौँ । फेरि प्रचलनमा रहेका सबै नोट हामीसँग हुँदैनन् पनि ।

अध्ययनमा वास्तविक नोटको अध्ययन गरिएको होइन ।  प्रचलनमा रहेका जति वास्तविक नोट रहने गरी यो लेखक धनी पनि छैन (हालसम्म जारी नोट १२ खर्बभन्दा बढी रूपियाँका छन्) र लेखेर कमिँदैन भन्ने पनि जानकार छ । यसमा नोटका चित्रहरु र मुख्य विशेषता उल्लेख गर्दै श्याम खतिवडाले लेख्नुभएको ज्यादै नै महत्वपूर्ण पुस्तक ‘आधुनिक नेपाली मुद्राहरू : एक समीक्षा’मा छापिएका नोटका फोटाको अध्ययन गरिएको छ । प्रयोग गर्न अनुमति दिनुभएकामा उहाँलाई हार्दिक धन्यवाद !

नोटको चरित्र स्थिर नभए जस्तै नोटमा प्रयोग भएको भाषामा पनि गतिशीलता यसमार्फत पाउन सकिन्छ । भाषा भनेको जड होइन परिवर्तनशील हुन्छ भन्ने नोटको अध्ययनले स्पष्ट गरेको छ । नेपाली भाषामा परिवर्तनशीलताको विशेषता छ र त्यसलाई रोक्न सकिन्न भन्ने पनि यसले स्पष्ट गर्दछ ।