आजभन्दा करीब पाँच हज्जार वर्ष अगाडि नै भगवान् विष्णुको पूर्णावतारका रुपमा धर्तीमा पदार्पण गरेका योगेश्वर श्रीकृष्णको वाणीका रुपमा श्रीमद्भगवद्गीतामा उद्धरित श्लोकहरुले नै स्पष्टसँग नै भनेका छन् वर्तमान नेपाली समाजमा चलिआएको वर्णव्यवस्थाको आधार जन्म नभई गुण एवं कर्म हो ।

ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र यी चार वर्णहरुको निर्माणका बारेमा श्रीकृष्ण भन्दछन्ः
“चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः ।
तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम्” ।।भ.गी.४(१३)।।

यानिकि, श्रीकृष्ण अर्थात् ईश्वरले ब्राह्मणादि चार वर्णहरुको सृष्टि मानिसको प्रकृतिजन्य गुण अनि कर्मका आधारमा गरेका हुन्, जन्मका आधारमा कदापि होइन ।

वर्णको शाब्दिक अर्थ रङ्ग हो । योगशास्त्रमा प्रकृतिका तीन गुणहरु– सत्व, रज, अनि तमलाई तीन रङ्गहरुद्वारा चिनाइने गरिएको छ, क्रमशः सेतो, रातो, र कालो ।

अघिल्लो श्रृंखलामा नै चर्चा भइसकेको छ कि पृथ्वीका प्राणीमात्र नभई स्वर्गमा देवताहरु समेत यस्ता छैनन् जो प्रकृतिबाट उत्पन्न यी तीन गुणहरुको प्रभावबाट मुक्त रहुन् ।

“न तदस्ति पृथिव्यां वा दिवि देवेषु वा पुनः ।
सत्वं प्रकृतिजैर्मुक्तं यदेभिः स्यात्त्रिभिर्गुणैः ” ।।भ.गी.१८(४०)।।

तर, प्रकृतिप्रदत्त ती गुणहरु सदासर्वदा एकनाश रुपमा नै रहने गर्दैनन् मानिसहरुमा । जीवनका आरोह–अवरोहका क्षणहरुमा ती गुण अनि गुणगत प्रवृत्तिहरुमा पनि घटीबढी हुने गर्दछ । फेरि मानिसमा एउटै गुण भरपुर रहने भन्ने पनि होइन । उसका विधिव्यवहारहरुमा कुन गुणको अधिक प्राधान्यता रहने हो, उसको व्यक्तित्व त्यही अनुरुप नै बन्ने भन्ने हो ।

प्रकृतिप्रदत्त सत्व, रज अनि तम यी तीन गुणहरुको स्वभाव अनि तिनले मानिसहरुको व्यक्तित्व निर्माणमा पार्ने प्रभावका बारेमा गीताको चौधौं अध्याय (गुणत्रयभिागयोग)मा बृहद व्याख्या गरेका छन् श्रीकृष्णले ।
सत्वगुणको निर्मल भावका कारण सत्वगुणप्रधान व्यक्तिले सुख एवं शान्तिको प्राप्ति गर्दछ । ।।भ.गी.१४(६)।। रजोगुणको रागमय स्वरुपले गर्दा रजोगुणी व्यक्ति सम्पत्ति आर्जन—व्यय, वस्तुहरुको संग्रह—रक्षा आदि कर्ममा नै दिन—रात लागिरहने गर्दछ । ।।भ.गी.१४(७)।। तमोगुणी अज्ञानी व्यक्ति भने सत्य–असत्यबीचको विवेक गर्ने क्षमता नभएका कारण असावधानी अनि आलस्य र निद्राको शिकार बन्दछ । ।।भ.गी.१४(८।। सारांशमा श्रीकृष्ण भन्दछन् ः

“सत्वं सुखे सञ्जयति रजः कर्मणि भारत ।
ज्ञानमावृत्य तु तमः प्रमादे सञ्जयत्युत” ।।भ.गी.१४(९)।।

तर मानिसहरुमा यी तीन गुणहरुको मात्रा एवं प्रभाव समय–समयमा आरोह–अवरोह भई नै रहेको हुन्छ । तीन गुणहरुमध्ये एकको वृद्धिका कारण अरु गुणहरु दबिएर रहेका पनि हुनसक्दछन् । उदाहरणका लागि, कुनै व्यक्तिले कुनै समयमा सत्वगुणी स्वभाव देखाइरहेको अवस्थामा ऊभित्रका रजोगुणी अनि तामसिक प्रवृत्तिको प्रभाव कम रहेको हुनसक्ने तथ्यतर्फ विचार पुर्याउनुपर्दछ । त्यसैले श्रीकृष्णले भनेका छन्ः

“रजस्तमश्चाभिभूय सत्वं भवति भारत ।
रजः सत्वं तमश्चैव तमः सत्वं रजस्तथा” ।।भ.गी.१४(१०)।।

सत्वगुण बढेको बेला व्यक्ति चेतनशील एवं मननशील बन्ने गर्दछ । ।।भ.गी.१४(११)।। रजोगुण बढेको बेलामा मानिसमा लोभ, स्वार्थ, विषाद, अशान्तिको मात्रामा पनि वृद्धि भएको पाइन्छ । ।।भ.गी.१४(१२)।। अनि तमोगुणको अधिकता भएको अवस्थामा व्यक्ति अनिर्णयको बन्दी बन्ने, उत्तरदायितवबाट भाग्ने, अनुत्साही, आलस्य अनि मोहग्रस्त रही भ्रममा बाँच्ने प्रवृत्ति नै बढ्दै गएको पाइन्छ । ।।भ.गी.१४(१३)।।

यी त भए प्रकृतिप्रदत्त तीन गुणहरुका कारण मानिसहरुको स्वभावका आउने पृथकता भनौं या भिन्न भिन्न रुपमा तिनको व्यकितत्वको निर्माण हुनुका कारण । यिनै त्रिगुणमा रहेका प्रवृत्तिगत भिन्नताका आधारमा नै भन्दा पनि, सत्वगुणको अर्थात् ज्ञानको प्राधान्यता रहने व्यक्ति ब्राह्मण, रजोगुण अर्थात् क्रियाशक्तिको अधिकता रहने मानिस क्षत्रिय, अनि तमोगुण अथवा जडत्वको प्रचुरता रहने मानिस शुद्र मानिन्छ । त्यस्तै वैश्य वर्णमा राजसिक अनि तामसिक प्रवृत्तिको सम्मीश्रण पाइन्छ । यसरी गरिएको वैज्ञानिक परिभाषामा जन्मको आधारमा कोही ब्राह्मण या क्षत्रिय भई माथिल्लो श्रेणीमा रहने अनि कोही भने वैश्य या शुद्रका रुपमा छोइछिटो सहेर तल्लो जातको मानिनुपर्ने या ‘दलित’ रहनुपर्ने भनी कहीं पनि उल्लेख नै छैन ।

गीताको अठाह्रौं अध्यायमा यी त्रिगुणका कारण मानिसहरुमा रहने कर्मका विविधताहरुको अझै विस्तृत व्याख्या गरी त्यसैका आधारमा ब्राह्मणादि चार वर्णहरुको कार्यविभाजन समेत गरेका छन् श्रीकृष्णले । उनी भन्दछन्ः
“ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप ।
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणैः ” ।।भ.गी.१८(४१)।।

सर्वप्रथम ब्राह्मणको वास्तविक कर्मका बारेमा व्याख्या गर्दै श्रीकृष्ण भन्दछन् ः
“शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च ।
ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम्” ।।भ.गी.१८(४२)।।

अर्थात्, मन एवं इन्द्रियहरुको संयम गर्नसक्ने, तपद्धारा आत्मोन्नतिको मार्गमा लाग्न सक्ने, शरीर, मन, वचन सबैमा शुद्धता रहेको, क्षमाशीलता अनि निष्कपट भाव रहेको, शास्त्रको ज्ञान अनि आत्मोन्नतिको विज्ञानमा पारंगत, अनि आस्तिकताले भरपूर व्यक्ति नै साँचो ब्राह्मण हो ।
अब क्षत्रीयको कर्मका बारेमा श्रीकृष्णवाणीः
“शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।
दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम्” ।।भ.गी.१८(४३)।।

अर्थात्, शौर्य एवं तेजले सम्पन्न, धैर्यवान्, दक्ष, युद्ध या संघर्षतर्फ सदा तत्पर, दानशील अनि दृढ आत्मविश्वासले युक्त व्यक्ति नै साँचो क्ष्त्रिय हो ।
वैश्य एवं शुद्र वर्णको कार्यक्षेत्र के त अब?
“कृषिगौरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम् ।
प्रिचर्यात्मकं कर्मं शूद्रस्यापि स्वभावजम्” ।।भ.गी.१८(४४)।।

कृषि, पशुपालन तथा अर्थवाणिज्यका काम वैश्यवर्णका हुन् भने सेवा या परिचर्याका काम शुद्रका हुन् ।

यहाँ कतै पनि जन्मका आधारमा ब्राह्मण, क्षत्रिय, वैश्य या शुद्र बन्ने भन्ने कुरा उल्लेख भएको छैन । न त वर्णका आधारमा कसैलाई सानो–ठूलो, छुत–अछुत नै मानिएको छ । बरु आ–आफ्नो गुण या स्वभावजन्य कर्मको परिपालन गरेर नै सिद्धि प्राप्त गर्न सकिने धारणा छ श्रीकृष्णको । उनी भन्दछन्ः
“स्वे स्वे कर्मण्यभिरतः संसिद्धिं लभते नरः ।
स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु” ।।भ.गी.१८(४५)।।

मनवमात्रको, जुनसुकै जाति या वर्णका भएतापनि, तिनको परमलक्ष्य हो मुक्ति । त्यसका लागि आफ्नो स्वभावजन्य कर्ममा रत हुनु नै पर्याप्त छ । आफ्नो कर्तव्य पालनमा रहेको व्यक्तिले वास्तविक कर्मयोग गरेको हुन्छ । कर्मयोगको मार्गमा दृढ रुपमा लागेको मानिस क्रमशः तमोगुणलाई छोडेर रजोगुण, अनि त्यसबाट पनि अगाडि बढेर सत्वगुणी बनेर आत्मज्ञान हासिल गरी मोक्ष या मुक्तिमार्गतिर बढ्न सक्दछ । त्यसका लागि जन्म नभई कर्मकै आधार हुन्छ । जुनसुकै जाति या वर्णका व्यक्तिले पनि आफ्नो व्यक्तित्वको सकारात्मक विकास गरी मुक्ति पाउन सक्दछ ।

हाम्रा इतिहासपुराणमा नै प्रशस्त आधार छन्, जन्मका आधारमा नभई कर्मका आधारमा जातिगत या वर्णगत योग्यता प्राप्त गरेका । जस्तैः क्षत्रीय जन्मका विश्वरथ राजा विश्वामित्र ऋषि बनेका, शुद्रजन्मा मत्स्यकन्याका पुत्र ऋषि व्यास बनेका, डाँकु रत्नाकर बाल्मीकि बनेका ।

व्यक्तित्वको सकारात्मक विकास गरेर मुक्तिको मार्गतर्फ डो¥याउनकै लागि नै होला, परापूर्वकालदेखि नै हाम्रो सनातन धर्मले मानवजीवनमा चार आश्रमको व्यवस्था गरेको । यसमा जीवनको पूर्वार्ध कर्मयोगका लागि छुट्याइएको छ । लेखपढ गरी आफ्नो पेशा–व्यवसायका लागि आधार तयार गर्नका लागि पहिलो पच्चीस वर्षको ब्रम्हचर्य आश्रम अनि विवाहआदि गरी सन्तानोत्पादन गर्ने अनि आफ्ना पितृ, परिवार, समाज अनि राष्ट्रका लागि कर्तव्यकर्म गर्नका लागि दोस्रो पच्चीस वर्ष (२६ देखि ५०)को गृहस्थ आश्रम । यसरी कर्मयोगद्वारा आफ्नो कर्तव्यधर्म पूरा भइसकेपछि त्यो व्यक्ति ज्ञानप्राप्तिका लागि जीवनको उत्तरार्धमा बानप्रस्थ आश्रम (५१ देखि ७५ वर्ष) अनि त्यसपछि मोक्षमार्गको साधनाका लागि सन्यास आश्रम (७६ देखि १०० वर्ष)मा जान तयार हुन्छ । यसरी १०० वर्षको पूर्ण मानव जीवनलाई नै वैज्ञानिक तवरले विभाजित गरी कर्मयोगको अभ्यासद्वारा नै ज्ञानयोगको सिद्धि हुने आधार तयार हुन्छ भन्ने सटीक उदाहरण प्रस्तुत छ हाम्रै सनातन धर्म–परम्परामा । यही नै हाम्रो सनातन वर्णाश्रम धर्मको वैज्ञानिकताको साँचो प्रमाण हो ।

यी सब तथ्यहरुबाट नै स्पष्ट हुन्छ कि परापूर्वकालमा जन्मका आधारमा नभई कर्मका आधारमा नै वर्णव्यवस्था कायम रहेको थियो । रचनात्मक विचार गर्नसक्ने चिन्तक अनि ऋषिगण ब्राह्मण कहलाइन्थे । राजनीतिज्ञ अनि शासकवर्ग क्षत्रिय मानिन्थे । व्यापारीवर्ग वैश्य अनि श्रमिकवर्ग शुद्र मानिन्थे । हुनसक्दछ, ऋषिका छोरा प्रायः ऋषि नै, राजाका छोरा राजा नै, अनि व्यापारीका छोराले व्यापार नै गर्ने हुँदा जन्मका आधारमा नै यो प्रथा चलेजस्तो भएको अनि त्यही परम्परा केही स्वार्थाीवर्गले समाजमा जबर्जस्ती लाद्न खोजेकाले यो कुसंस्कारले समाजमा जरा गाडेको । तर शास्त्रको राम्रो अध्ययन गर्ने व्यक्तिले बुझ्न–बुझाउन पर्दछ कि वास्तविकता त्यो होइन ।

आजको दिन यही कृष्णवाणीलाई मनन गरेर हाम्रो सनातन धर्मको प्रमुख विशेषता वर्णाश्रम धर्मको वास्तविकता अनि महत्वमाथि सबैले चिन्तन गरौं, यही आग्रह छ मेरो ।