हुन त तपाईंले यो लेख कुनै ग्याजेटबाटै पढिरहनुभएको होला तर पनि हामी तपाईंलाई ग्याजेटशून्य जिन्दगी बनाउनुहोस् भनेर सम्झाउँदैछौँ ।
हामी ग्याजेटप्रति यति बढी आशक्त हुन थालेका छौँ कि यसका फाइदाभन्दा बेफाइदा बढी देखिन थालेको छ ।
अझ गएको वर्षदेखि भएको बन्दाबन्दी र कोरोना भाइरसको आतंकले त हामीलाई ग्याजेट जत्तिको प्रिय कोही र केही देखिन छाडेको छ ।
हामीले गर्ने अधिकांश कामदेखि शारीरिक अभ्याससम्मका लागि हामीले ग्याजेटतिरै मुख ताक्ने गरेका छौँ ।
केहीले यसको उपचार पनि खोज्न थालेका छन् । जस्तो कि, आना रेडमनलाई नै लिनुस् । उनी र उनका प्रेमी ग्याजेटबाट यति दिक्क माने कि उनीहरु जंगलमा क्याम्पिङ गर्न निस्किए । त्यसभन्दा अगाडि उनीहरुले आफ्ना सारा ग्याजेटलाई एउटा खाममा बन्द गरिदिए ।
जनसम्पर्क अधिकृतका रुपमा काम गर्ने २९ वर्षीया रेडमन भन्छिन्, केही दिनका लागि ग्याजेटशून्य जीवन बाँच्नु मेरा लागि लोभलाग्दो कुरा थियो ।’
कोभिडका कारण भएका लकडाउनका बेला काममै जानुपर्ने बाध्यता पनि थिएन । त्यस्तो बेलामा उनी र उनका साथी जंगलतिर घुम्न निस्किए । यो समय जति राम्रो ‘डिजिटल डिटक्स’का लागि अरु कुनै थिएन ।
रेडमन र उनका साथीजस्तै लाखौँका संख्यामा यस्तो अभियानमा निस्कन थालेका छन् । धेरै जना त डिजिटल लतका कारण आजित भइसके । यस्तो लतबाट मुक्ति पाउन बेलाबेलामा मोबाइल तथा डिजिटल डिटक्सीकरणका लागि उनीहरु घरबाट हिँडिदिने गरेका छन् ।
त्यसो त तपाईं डिजिटल लतमा पर्नुभएको छ भने त्यस्तो लतबाट मुक्त गर्ने अनेकन् किसिमका एप पनि बनेका छन् । तपाईंले फलानो समयदेखि फलानो समयसम्म मोबाइल नचलोस् भनिदिनुस्, उसले त्यसलाई बन्दाबन्दीमा राखिदिन्छ । त्यति मात्र होइन, कतिपय रिट्रिट सेवा दिने कम्पनीहरु खुलेका छन्, जहाँ तपाईंलाई केही पनि डिजिटल सामान चलाउने सुविधा दिइँदैन । ज्यादै सीमित ठाउँ र सीमित अवधिका लागि मात्र वाइफाई सुविधा दिइन्छ । कतिपय यस्ता रेस्टुराँ पनि खुलेका छन्, जसले तपाईं छिर्नेबित्तिकै तपाईंको मोबाइल टेबुलमा राख्न मनाही गरिदिन्छन् ।
ग्याजेटशून्यताको माग बढ्दै
पछिल्लो समय ग्याजेटबाट मुक्ति दिलाउने किसिमका सेवा र सुविधाहरुको माग बढ्दै जान थालेको छ । सन् २०१८ मा बेलायत र अमेरिकामा चार हजार भन्दा बढी मानिसहरुमाझ गरिएको सर्भेमा शोधकर्ता कम्पनी जिडब्ल्युआईले २० प्रतिशत मानिस डिजिटल डिटक्स गरेको बताएका थिए । त्यस्तै ७० प्रतिशत भन्दा बढीले अनलाइनमा कमभन्दा काम गर्नु परोस् भनी इच्छा व्यक्त गरेका थिए ।
बेलायतको एउटा स्टार्टअप कम्पनी अनप्लग्डले लन्डन नजिकै एउटा कोठाको सुविधा दिने गरेको छ । त्यो कोठामा ग्याजेट र वाइफाईको कुनै सुविधा दिइँदैन । त्यहीँ रेडमन र उनका प्रेमी यतिबेला बास बसिरहेका छन् । अनप्लग्डको शुरुवात सन् २०२० मा गरिएको थियो । यसका सहसंस्थापक हेक्टर ह्युज भन्छन्, ‘हाम्रो क्याबिन वर्षभरि नै भरियो र यसको सफलताका कारण अब देशभरिका अन्य पाँच ठाउँमा यस्तै सुविधा दिने योजनाका साथ काम थालिएको छ ।’
ह्युज भन्छन्, ‘मानिसहरु साँच्चिकै ब्रेक चाहन्छन् । लकडाउनको असरले गर्दा उनीहरु स्क्रिनमा बढीभन्दा बढी समय दिइरहेका थिए । हामीले क्याबिन सहरी क्षेत्रभन्दा एक घण्टा टाढाको ठाउँमा बनाएका छौँ । मानिसहरु यस्ता ठाउँमा जाँदा आफ्नो फोनलाई एउटा डिब्बामा बन्द गरिदिन्छन् र हामी उनीहरुलाई एउटा नक्सा र एउटा नोकिया फोन दिन्छौँ । तीन रातका लागि उनीहरुलाई त्यो ठाउँमा छाडिदिन्छौँ ।’
जंगलमा एक साता बिताएपछि आफूलाई आनन्द लागेको बताउनेहरुको ताँतीले ह्युज पनि खुसी छन् । उनीहरुसँग ग्याजेट नहुनाले छुट्टीको रमाइलो दोब्बर तेब्बर भएर आएको प्रतिक्रिया ह्युजले पाइरहेका छन् ।
वाहियातका अध्ययन !
सन् २०१९ मा बेलायतको लोगबरो विश्वविद्यालयमा भएको एउटा अध्ययनले २४ घण्टाभन्दा बढी समयसम्म स्मार्टफोनबाट टाढा रहँदा मूड र दुश्चिन्तामा कुनै असर परेको थिएन । यस्तै एउटा अध्ययन अक्सफोर्ड विश्वविद्यालयले यसै वर्ष गरेको थियो । उनीहरुले यस अध्ययनमा के पाए भने एक दिन सोसल मिडिया छाडिदिँदा मानिसहरुको आत्मसम्मान या सन्तोषको स्तरमा कुनै फरक परेको थिएन ।
यस अध्ययनको मुख्य शोधकर्ता अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटमा एस्कपेरिमेन्टल साइकोलजिस्ट एन्ड्रयु प्रिजबिल्स्की भन्छन्, ‘डिजिटल प्रविधिको सम्भावित मानसिक प्रभावका बारेमा प्रायः बढाई चढाई प्रस्तुत गर्ने गरिएको छ ।’
उनी भन्छन्, ‘सम्भवतः तपाईंको फोन अफ गरिदिँदा तपाईं खुसी हुनुहोला । हामी मानिसको जात कस्तो हुन्छ भने बेग्लाबेग्लै चिजहरुका साथ हामी बेग्लाबेग्लै किसिमले सन्तुलन र तालमेल बनाउने प्रयास गर्छौं । जस्तो हामी आफ्ना बुवासँग बेग्लै किसिमको व्यवहार गर्छौं, आफ्ना श्रीमान्सँग बेग्लै अनि आफ्ना शिक्षकसँग पनि बेग्लै व्यवहार गर्छौं । तपाईंले सधैँ सन्तुलन बनाउनुपर्ने भएकाले आफूलाई त्यो अवस्थामा ढाल्नु हुन्छ । ठीक यही कुरा यी डिजिटल सामग्रीमा पनि अपनाउनु हुन्छ । त्यसैले डिजिटल डिटक्स भन्ने कुरा वाहियात मात्र हुन् ।’
इन्टरनेटमा एक मिनेटमा के के भइसक्छ ?
इमेलः
एक मिनेटमा संसारभरि १८ करोड निजी तथा औपचारिक इमेल पठाइन्छन् । जिमेलका अतिरिक्त आउटलुक, याहु र एओएलजस्ता इमेल सित्तैमा प्रयोग गरिन्छ भने अन्य पैसा तिरेर लिइएका इमेल पनि हुन्छन् । ती सबैमा आउने इमेल प्रति मिनेट १८ करोडभन्दा बढी नै हुने गरेका छन् ।
ह्वाट्स एप
एक मिनेटमा ह्वाट्स एपमा ४.१ करोड म्यासेज पठाइन्छन् । सबैभन्दा व्यस्त चाहिँ नयाँ वर्षको पूर्वसन्ध्यामा हुने गर्छ । यहाँ एकअर्काले सबैलाई ह्याप्पी न्यु इयर भन्न चाहन्छन् ।
युट्युब
संसारको सबैभन्दा ठूलो भिडियो प्लेटफर्म युट्युबमा हरेक मिनेट ४५ लाख भिडियो हेरिन्छ । गीत सुन्नका लागि पनि युट्युबै प्रयोग हुने गरेको छ ।
गुगल
गुगलका अघिल्तिर कुनै पनि सर्च इन्जीन टिक्न पाएनन् । हरेक मिनेट गुगलमा ३८ लाख खोजी गरिन्छ । र, पनि यसको सर्भर कहिल्यै क्र्यास भएको सुन्नु भएको छ ?
फेसबुक
हरेक मिनेटमा १० लाख मानिस फेसबुकमा लग इन गर्छन् । ६० सेकेन्डमा १० लाख मानिसलाई सम्हाल्नका लागि कत्रो ठूलो सर्भर चाहिँदो हो, सोच्नुस् त !
ट्वीटर
एक मिनेटमा ट्वीटरमा ८७ हजार ५०० ट्वीट गरिन्छ । ट्वीटर फेसबुक जत्तिको सफल नमानिए पनि सामाजिक मुद्दामा ट्वीटरको ह्यासट्यागको अर्थ हुने गरेको छ ।
इन्स्टाग्राम
यसमा हरेक मिनेट ३ करोड ४७ लाख २ हजार २२ तस्बिर अपलोड गर्ने गरिन्छ ।
एप स्टोर
गुगल प्ले र एप्पल एप स्टोर दुवैमा प्रत्येक मिनेट तीन लाख ९० हजार एप लाउनलोड गर्ने गरिन्छ । गीत सुन्नदेखि खाना बनाउनदेखि सपिङ गर्नसम्मलाई यहाँ एप उपलब्ध छ ।
टिन्डर
अनलाइन डेटिङ एप टिन्डरमा हरेक मिनेट १४ लाख पटक स्वाइप गन्छि । प्रयोगकर्ताले कसैलाई मन पराए पनि यहाँ स्वाइप गरिन्छ, मन नपराए पनि स्वाइप गरिन्छ ।
नेटफ्लिक्स
हरेक मिनेट नेटफ्लिक्समा ६,९४,४४४ घण्टाको भिडियो हेर्ने गरिन्छ ।
सपिङ
हरेक मिनेट इन्टरनेटबाट किनमेल गर्नका लागि भनेर १० लाख डलर खर्च गरिन्छ । अमेरिकामा अमेजनपछि इबे र वालमार्ट सबैभन्दा बढी अनलाइन किनमेल गरिने कम्पनी हुन् ।
स्न्यापच्याट
एक मिनेटमा यो एपमा २१ लाख वटा स्न्याप बनाइन्छ । युवाहरुमाझ यो निकै लोकप्रिय छ । यसमा विभिन्न फिल्टरहरु हुन्छन्, जसमा सेल्फी लिएपछि ती फिल्टर प्रयोग गरी आफूलाई सुन्दर बनाउने र ती सुन्दर तस्बिर हेरेको केही मिनेटमा आफैँ डिलिट हुने भएकाले यो युवामाझ लोकप्रिय भएको हो ।
जिफी
यहाँ हरेक मिनेट ४८ लाख जिफ बनाइन्छ । दुई वर्षयता जिफी निकै सफल भएको देखिन्छ । सोसल मिडियामा जिफ बनाएर पोस्ट गर्न यसलाई प्रयोग गर्न थालिएको छ ।
विच्याट
चीनको म्यासेजिङ एप विच्याटमा एक मिनेटमा १.८ करोड म्यासेज पठाइन्छ । चीनमा गुगल, फेसबुक, ह्वाट्स एप आदि प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले चीनसँग सम्बन्धित प्रायः सबैले यो प्रयोग गर्ने गरेका छन् ।
ट्वीच
एमेजनको लाइभ स्ट्रिमिङ भिडियो प्लेटफर्म हो यो । यहाँ हरेक मिनेट १० भिडियो हेरिन्छ । यसका कयौँ भिडियो गेम ट्युटोरियल टुलका रुपमा पनि प्रयोग गरिन्छ ।
भनेपछि सारा संसार यस्ता कुराहरूमा यति व्यस्त छ कि आफू व्यस्त छु भन्ने नै मानिसले थाहा पाइरहेका छैनन् । त्यसैले पनि ग्याजेटशून्य जीवनप्रति केहीको आकर्षण बढेको हो कि ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।