जनवरी १९५३ मा म पाँचौँपल्ट नेपाल गएँ । त्यस दिन नेपाली कविहरू र साहित्यकारहरूको गोष्ठीमा एक जना सहृदय कविले मेरो स्वागत गर्दा ‘विदेशी अतिथि’ भन्ने शब्द प्रयोग गरेथे, त्यस बखत मेरो मन सियो रोपिँदाझैँ चस्क्यो । नेपाल स्वतन्त्र देश हो र उसको स्वतन्त्र राष्ट्रिय एकाइ छ, यसकारण म त्यसलाई भारतकै एउटा प्रदेश मान्दिनँ तर अरू कति कुरा पनि छन् जसले गर्दा म त्यसलाई विदेश पनि मान्न सक्तिनँ । उही हिमाञ्चलका वरदपुत्र हाम्रा पन्त छन् र त्यसकै दोस्रो श्रेष्ठ पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् । यो कसरी हुन सक्ला– पन्तलाई चाहिँ म आफ्नो भनूँ र देवकोटालाई विदेशी ! यसपल्टको यात्रामा देवकोटालाई भेट्टाउनु मेरा लागि अर्को नयाँ आविष्कार भयो । नेपाली साहित्यमा आदिकवि भानुभक्त १८१४ सन् मा जन्मिए र १८६९ सन् मा उनको मृत्यु भयो । नेपाली कविता–साहित्यको थालनी यस किसिमबाट उन्नाइसौँ शताब्दी मध्यदेखि भयो । हिन्दी कवितालाई सोह्रौँ शताब्दीदेखि बीसौँ शताब्दीको मध्यसम्म जेजस्ता अवस्था पार गर्नुपर्‍यो । नेपाली कवितालाई हाम्रो चार शताब्दीको यात्रा एकै शताब्दीमा पूरा गर्नुपर्‍यो तर यस्तो हतारलाई हेरी त्यसलाई अपरिपक्व सम्झिन हुन्न । यसका लागि एउटा प्रमाण महाकवि देवकोटा नै छन् जसमा हामी हाम्रा हिन्दीमा पन्त, प्रसाद, निरालाहरलाई सम्पूर्ण रूपमा पाउने मात्र होइन, बरु हामी उनमा ‘प्रिय–प्रवास’का कवि हरिऔधलाई विकसित रूपमा पाउँछौँ भने अर्कातिर अर्कै महाकवि पनि पाउँछौँ जो अहिलेसम्म हिन्दीमा जन्मेकै छैन । देवकोटा जनताको सरल र सुललित भषामा मुनामदन, कुञ्जिनीका महान् गायक हुन् ।

अनुवादकः राेचक घिमिरे

एकातिर हामी उनका कवितामा यस्तो पाउँछौँ–

समय सुन्दर सान्ध्य सुवर्णको
मदनमन्दिरमा वनपर्णको
जलनिनाद लिँदा ललितांशुका
तल झरिन् पृथिवीतिर मेनका ।।

(शाकुन्तल ३/२६)

अथवा–

यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत
ब्यूँझाऊँ त सुषुप्तभाव अघिका, पर्दा लगाऊँ यता
यो कोलाहल बिर्सिऊँ मृतकको, यो नामको जीवन
पाल्नोस् सज्जनवृन्द यो रसिकको, मीठो छ वृन्दावन ।

(शाकुन्तल ९)

एकातिर हामी उनका यस्ता संस्कृतले लादिएका उदाहरण पाउँछौँ भने कविको आफ्नो प्रिय काव्य मुनामदनको गाउँले गति ‘झ्याउरे’मा चाहिँ हामी कत्ति सरल, कोमल र सरस भाषा पाउँदछौँ–

‘पृथिवीतिर नहेर मुना ! म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु
प्रेमको हीरा छुटेको तल म लिई आउँछु
कसरी खायो आगोले दिदी ! कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ ? ती मुनालाई छातीमा लगाऊँ ?
खरानी तिनको मलाई द्यौन छातीमा लगाऊँ !
हे मेरी आमा ! हे मेरी मुना ! म यहाँ बस्दिनँ !
म यहाँ अब बस्दिनँ आमा ! म यहाँ बस्दिनँ !’
‘‘हे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती
ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती ।’’
पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रुने छैन ! गएर भोलि भेटुँला तिनीलाई !
हे दैव पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !

(मुनामदन)

राहुल सांकृत्यायन

वाल्मीकि करुण रसका महाकवि थिए । ‘रघुवंश’को अजविलाप–प्रसङ्ग पढ्दा कालिदासलाई करुण रसका कवि भन्न सकिन्छ । त्यस्तै देवकोटा पनि खास गरेर करुण रसकै महाकवि हुन् । अरू पुराना सजातीय कविहरूको निजी जीवनका बारेमा हामीलाई केही पनि थाहा नभएकाले तिनका कवितामा उनीहरूको आफ्नो जीवनको प्रभाव कत्तिको परेको छ, हामी ठम्याउन सक्तैनौँ तर देवकोटाको ता बाल्यावस्थादेखि नै दुःख र सङ्घर्षको जीवन बित्यो । अधबैँसे छँदै एक दिन अर्को गरेर उनका तीन ओटा छोरा बिते । यस अवस्थामा– ‘दुःखले सल्केको मुटु लिए तापनि उनी मुखमा जबरजस्ती हाँसो ल्याउन खोज्छन्’ ,भनेर कसैले लेख्छ भने हामीले अचम्म मानिरहनु पर्दैन ।

विगत जीवनको कुनै दिन भीषण दुःखान्त घटना घटेपछि तिनका हृदयमा एउटा वेदन टुसायो र जति-जति उनको उमेर बढ्दै गयो उति-उति त्यो वेदना पनि पलाउँदै गयो, झाँगिँदै पनि गयो । पहिलोपल्ट उनलाई देख्नेबित्तिकै उनी कुनै मर्मान्तक पीडाले छटपटाइरहेका छन् भनेर ठम्याउन जसले पनि सक्तछ । चुरोट तिनको चिरसाथी हो भने भावना चिरसहचरी अनि वेदनाचाहिँ उनको जीवनको वरदान नै भनिदिए पनि हुन्छ ।

कविको जन्म १९०९ सन् (दीपावली, संवत् १९६६) मा काठमाडौँको डिल्लीबजार टोलमा एउटा शिक्षित तर गरीब ब्राह्मण परिवारमा भएको थियो । आफ्नो प्रारम्भिक जीवनका कष्टहरूका बारेमा कवि आफैँले लेखेका छन्, ‘म जब आठ वर्षको उमेरको थिएँ, मेरो दाज्यैजी भर्खरजस्तो इन्ट्रेन्स पास भएर त्यस जवानीको ट्युसनगिरीमा महिनाको तीन सय उपर कमाइरहनुभएको थियो । म उहाँलाई दुनियाँको आदर्शमा ठान्दथेँ । माताजी पनि बराबर ‘त्यसरी पढ्नुपर्छ बाबै ! दाज्यूजस्तै’ भनेर स्नेहको अङ्गुलीले उहाँलाई देखाउने गर्नुहुन्थ्यो ।… ‘पैसा कमाउनुपर्छ, अङ्ग्रेजी पढ्नुपर्छ, मास्टर हुनुपर्छ’को धाईआमाका शिक्षाहरूलाई अक्षरशः अनुसरण गर्न चाहन्थेँ । … म पढ्दै गएँ, बढ्दै गएँ, इन्ट्रेन्सको मोहनीले गोसाइँसाथले पानी बोलाएझैँ कठिन चढाइहरू उकाल्दै लग्यो ।… म लेख्न चाहँदैनथेँ । मलाई ‘पढ्नुपर्छ, पैसा कमाउनुपर्छ’को मोहनीले यताउति हेर्न नदिई लगिरहेकी थिई । घरका चिन्तित बाबुआमाका मुहारहरूबाट शिशुले सूचना सहजै पाउँदछ र दरिद्रताको घरमा शिशुहृदयमा पनि आर्थिक अन्वेषण नै जीवन हो भन्ने सजिलोसँग अङ्कित रहन्छ । म मास्टर हुन चाहन्थेँ, पैसा कमाउन, घर उज्यालो बनाउन, दाइलाई मद्दत गर्न, दूधभात सबैलाई पुर्‍याउन । चाँडै पास गर्नाको धुनमा मैले खेल्न छाडेँ । म भातमा स्वाद पाउँदैनथेँ । मेरो मगज हरहमेसा गाँजा खाएझैँ बाबुराम मास्टरका भूगोलका पाठहरूमा घुमिरहेको हुन्थ्यो । म अङ्ग्रेजी किताबका पत्रहरूको सपना देख्तथेँ, किताबका तकियामा सुत्थेँ । खेलबहाडमा कहिले कहिले चार र छ बजेको बीचमा भाइको साथ ज्यादाजसो आग्लो ठोकेर कोठैमा बस्तथेँ र मिर्मिरेसम्म आँखा पट्टाइरहेकै हुन्थेँ, राति बाह्र बजेसम्म र बिहान पाँच बजेदेखिन् मेरो पढाइ चलिरहेकै हुन्थ्यो र यही किसिमसँग मैले पाँच वर्ष पहिला पासका निमित्त बिताएँ । पढाइ थियो नौ वर्षको, मैले पाँचै वर्षमा खतम गरेँ र यी पाँच वर्षमा मैले भातको स्वाद पाइनँ, अनुहार ऐनामा कम हेरेँ हुँला र पहिला पास नहुन्जेल जुत्ता नलगाउने कबुल गर्ने कुनै स्पर्धाशील साथीसँग आफ्नो धेरै कुरामा सादृश्य राख्तथेँ । मैले दुनियाँसँग बोल्दै बोलिनँ भने पनि हुन्छ… । स्त्री समाजमा म ज्यादै अप्रिय थिएँ किनकि म उनका किनमेल इत्यादिमा एक पाइला चाल्दैनथेँ । पासको धुन सवार थियो । १९२६ सन् मा पहिला पास पटना विश्वविद्यालयमा गरेपछि मेरो नाक अलि ठाडो भयो, तर दिल बुझेन । म अझ पढ्न चाहन्थेँ र बिएको मोहनीले मलाई बोलाउन लाग्यो ।’’

(लक्ष्मी निबन्धसङ्ग्रह पृ. ६१–६५)

कविका पिता तिलमाधव उपाध्याय पण्डित हुनुका साथै संस्कृत र नेपालीका कवि पनि थिए र कविकै रूपमा नेपालका पाँच प्रधानमन्त्रीहरूको दरबारमा तिनको पहुँच थियो । दरबारको मनग्गे सेवा गरे तापनि गरिबीले भने उनलाई कहिल्यै छोडेन । साहित्यकारिता र कवित्व देवकोटाले आफ्नो बाबुकै उत्तराधिकारमा पाएका थिए, यो कुराचाहिँ पक्कै हो । उनकी आमा अमरराज्यलक्ष्मी (मृत्यु १९३७ सन्) पनि कुनै असाधारण महिला थिइनन् ।

घरको नराम्रो हालत छँदै म्याट्रिक पास गरिसकेपछि अझ पढ्न देवकोटा काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना भए । ध्यान दिनुपर्ने कुरा के पनि छ भने कविलाई न्वारनमा तीर्थमाधव भन्ने नाउँ राखिएको थियो तर तिहारको ठूलो चाड लक्ष्मीपूजाका दिन जन्मेका हुनाले उनलाई लक्ष्मीप्रसाद भन्न थालियो र हुँदा-हुँदा त्यही नै उनको नाउँ भयो तर लक्ष्मीको प्रसाद भने उनले कहिल्यै पाएनन् । आजको दुनियाँमा सरस्वतीका वरपुत्रहरूले त्यो पाउनु कहाँ सम्भव हुन्थ्यो र ? कलेजमा उनले आफ्नो विषय अङ्ग्रेजी, अर्थशास्त्र र गणित परिश्रम दुवैले साथ दिएकाले देवकोटालाई पाठ्य विषयमा कत्ति पनि गाह्रो लाग्दैनथ्यो । अङ्ग्रेजी साहित्यमा घुसेपछि तिनको कविहृदय अङ्ग्रेजीका महान् कविहरूतिर आकर्षित हुन थाल्यो । वर्डस्वर्थको कविताले उनी निकै प्रभावित भए । ‘पढ्नुपर्छ, पैसा कमाउनुपर्छ’ भन्ने अठोट लिएर पढाइ चालु गरिरहेका देवकोटाबाट अब कविताले पनि केही समय लिन थाल्यो र उनी साताको कम्तीमा पनि दुई दिन घरमा बसेर कविता लेख्न थाले । अङ्ग्रेजी त भूतले पछ्याएझैँ उनको पिछा गरिरहेकै थियो । त्यसकारण उनले नेपालीका साथै अङ्ग्रेजीमा पनि कविता कोर्नु आवश्यक थियो । अचेल पनि उनी कहिलेकाहीँ अङ्ग्रेजीमा कविता लेख्छन् । उनले लेखेको एउटा पद्यमय नाटक मैले पनि सुनेँ । म आफूलाई त्यसको पारखी त ठान्दिनँ तैपनि भाषा, भाव र छन्दमा अङ्ग्रेजीपट्टि पनि देवकोटाको असाधारण अधिकार छ भनेर त मान्नैपर्छ । बिए पढ्दाखेरि आफूले पढ्नाको साथै उनले दिनको तेह्र घण्टा ट्युसन पनि गर्नुपर्थ्यो अनि कविकै शब्दमा– ‘कमाउनुपर्छ, अङ्ग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ’को मधुरो गाँजा साइकल चढाएर सहर र पुछार घुमउँथ्यो । म नेपाली बोल्दैनथेँ, नेपाली बोल्नेसँग बोल्दैनथेँ, मलाई यस्तो लाग्थ्यो मानौँ नेपालीमा लवजै छैनन्, भावै व्यक्त हुँदैन, मानौँ नेपाली विद्वान्‌को भाषा नै होइन ।… म अङ्ग्रेजीमा विचार गर्दथेँ र अङ्ग्रेजीमै बोल्दथेँ ।’ यसरी घरको अभाव हटाउन सहयोगी हुँदै कविले १९३० सन् मा बिए पास गरे । नेपालमा कुनै कानुनी अदालत थिएन, त्यसकारण वकालत पास गरेर केही फाइदा पनि थिएन, तैपनि देवकोटाले १९३२ सन् मा पटनाबाट बिएल पास गरे र एमएका लागि पनि केही दिन खर्च गरे तर कमाउन छाडेर पटना बसेर पढ्नु असम्भव थियो । त्यसकारण यो सङ्कल्प पनि छोड्नैपर्‍यो ।

‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ जन्मजात कवि बाल्यावस्थामा नै आफ्नो प्रतिभा नदेखाई बस्न किन सक्तथे र ? कवि देवकोटा जब दस वर्षका थिए तिनका मुखबाट यी पङ्क्ति निस्के–

घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिले मर्नु छ हामीलाई

मानौँ यस बालकविताले नै कविलाई बाटो देखाइदिएको थियो । उनका चारैतिर दुःखको बाढी उर्लिरहेको थियो । दुःखसागरसँग बुद्धको पनि साक्षात्कार भएको थियो तर तिनले त्यसलाई हटाउने बाटो पनि पहिल्याएका थिए । कविले त्यसबाट छुटकारा पाउन घमण्ड नगर्ने र अन्त्यमा मर्ने कुराबाट चित्त बुझाएका थिए । उनका कविताको बारेमा आज पनि के भनिन्छ भने, ‘उनका धेरैजसो कृतिहरू दुःखान्त छन् । अथवा सुखान्त भएर पनि जुन-जुन ठाउँमा करुणाको प्राधान्य छ ती ठाउँमा उनी विशेष चमत्कारपूर्ण रूपमा देखिन्छन् ।’ दुःखको भुमरीमा जाकिनेहरूका निम्ति आफैँ दुःखमा हुर्केका कविको हृदयमा अपार संवेदना थियो । गरिब र उपेक्षितहरूको वर्णन गर्न जब उनको कलम चल्दछ त यस्तो लाग्छ मानौँ त्यो कलम आफ्नो निजी बाटामा आफैँ दगुरिरहेको छ । यो कुरा उनीबाट चित्रित मुनामदन, कुञ्जिनी, गोरे आदिमा स्पष्ट देख्न सकिन्छ । कविता मात्र होइन गद्यमा पनि उनको यो संवेदना यसरी व्यक्त हुन्छ– ‘मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । मैले गोसाइँथान–यात्रामा पहाडहरू देखेको थिएँ तर पहाडी जीवन देखेको थिइनँ । बाटामा जो देखियो सो प्रतिविम्बित थिएन । एक दुई झुप्रा, एक दुई बजार, अरू वन, पहाड, बाटोसिवाय देखिएन । … एक ठाउँमा मैले एउटा अलटाले झोपडीमा सिस्नु पकाएर बच्चालाई खुवाउँदी आमासँग सोधेँ, ‘तिमीहरू यहीँ बस्तछौँ ?’ उसले जबाफ दिई, ‘हिउँदमा त यहाँ जमिनै देखिन्न ।’ उसिनेको सिस्नोसँग ढिँडो खान लागेका थिए, काँडाहरू अलिअलि ताताले मर्दा रहेछन् । तैपनि मानव–अन्ननलीमा त्यस्तो काँडेदार पदार्थले कुकुल्ढुक गर्ने ढिँडो घुचेट्तै पुलिसको काम दिएको देख्न मलाई साह्रै नै दयनीय दृश्य देखेझैँ लाग्यो । ती केटाकेटीहरू दुब्ला, ख्याउटे, रातोमाटे रोगनका चिथोर्ने अज्ञानका जङ्गली आश्चर्यजनक आँखा उठाएर मलाई हेर्दथे ।’

देवकोटा नेपालीका पन्त–प्रसाद–निराला तीनै हुन्, यसमा अतिशयोक्ति छैन । निरालाका केही अरू गुणहरू पनि उनमा छन् तर त्यति मात्रामा चाहिँ होइन । निरालालाई राँची लैजाने कुरा मात्रै कैयौँपल्ट चल्यो तर जब देवकोटालाई घरका मान्छेहरूले विक्षिप्त ठानेर राँची लैजाने कुरा उठाए तब उनले कत्ति पनि नाइँनास्ति गरेनन् अनि राँचीको पागलखानामा पनि केही दिन बसेर आए तर उनी पागलचाहिँ होइनन् । असाधारण प्रतिभाले कहिलेकाहीँ पागलपनको सीमारेखालाई मेटाइदिएझैँ देखिन्छ । यही कुरा देवकोटाका बारेम पनि हो । पागल नभए तापनि कहिलेकाहीँ त्यो प्रभाव देखिन्छ । आज ४४ वर्षको उमेरमा उनले नेपाली र अङ्ग्रेजीमा सबै मिलाएर जम्मा असी ओटा किताब लेखे, यीमध्ये छब्बीसओटा हराए रे ! यस कुरामा मैले अचम्म मान्दा कविको साथमा बसेका मित्रमण्डलीले के बताए भने, ‘यसमा अचम्म मान्नुपर्ने कुरो के छ र ? कैयौँ किताब त नेपाली भाषा प्रकाशिनी समितिका हर्ताकर्ताहरूको बेवास्ताले नष्ट भए जहाँ महिनाको एक सय रुपियाँ तलबमा कविले वर्षौँ नोकरी गरेका थिए, फेरि लेख्ने र च्यात्ने त कविको बानी नै छ ।’ एउटा नाटकका कतिपय प्रसङ्गहरू कविले त्यसै दिन सुनाएका पनि थिए । त्यहाँ के कुरा थाहा भयो भने उनले पूरा नाटक एक पल्टमै लेखिसिध्याएका थिए, पछि रद्दी कागत चाहिँदा त्यही नाटकलाई च्यातचुत पारेर फ्याँकिदिए । अब फेरि दोहोर्‍याएर यो नाटक लेखिँ दैछ । यसको पनि त्यस्तै गति हुन के बेर ? यस्तो नहोस् भन्नखातिर नेपाली साहित्यप्रेमीहरूले कविका अक्षर कागतमा उत्रनासाथ किताब पूरा हुनेतिर नपर्खीकनै छुट्टै नक्कल सार्दै जानुपर्छ । नेपालका पहाडी क्षेत्रमा ‘गाइने’ नाउँ भएका चारण गायकजाति छन्, तिनका गीत ज्यादै नै लोकप्रिय हुन्छन् । देवकोटाले गाइने–गीत नामक एक काव्य लेखेका थिए, जुन हराउनाले सहृदयीहरूलाई ज्यादै नै थक्कथक्क लागेको छ । लेख्तै, च्यात्तै, बिर्सँदै कैयौँ वर्ष बिताएपछि २५ वर्षको उमेरमा १९३४ सन् मा शारदाको पहिलो अङ्कमा कविको ‘गरीब’ शीर्षक कविता छापियो । त्यही नै उनको पहिलो प्रकाशित कविता हो तर यसभन्दा पहिले नै १९३३ सन् (सौर आषाढ १५) को रोपाइँजात्राको बेला किसान ठिटीहरूले गाएको झ्याउरे गीत सुनेर कविको हृदय लोकगीततिर आकृष्ट भएको थियो । उनले त्यसै लयमा १९३३–३४ सन् मा मुनामदन खण्डकाव्य लेखेका थिए । आफ्नो यस लोककाव्यको उनी विशेष पक्ष लिन्छन् र झ्याउरेलाई उनी कति माया गर्छन् भन्ने कुरा मुनामदनकै तलका यी पङ्क्तिहरूबाट थाहा पाइन्छ–

क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको !
यो खेतभित्र बिरुवा रोपौँ नदेखी खनेको
फुलेर जाओस् वैलेर जाओस् ईश्वर–इच्छा हो,
पयरमुनि नकुल्च भाइ ! यो मेरो भिक्षा हो ।
यो फुलिजाओस् यो फैलिजाओस् ! वसन्त डाकन,
झ्याउरो भनी नगर हेला हे प्यारा सज्जन !
नरम गरोस् चरम–चुली उडाई पुर्‍याओस्,
निर्मल बाना लहरजस्ता अधर चलाओस्
पछाड छातीमा यो टक्कराओस्, डाँडाले दोहोर्‍याऊन् ।

कविले आफ्नो यस पहिलो काव्यमा नै जताततै स्वाभाविकता र लालित्यको परिचय दिएका छन् । नायक मदन आफ्नी प्यारी मुनालाई छाडेर तिब्बत (भोट) को यात्रामा जान्छ । तिब्बतका डाँडाकाँडा र ह्लासामा दलाई लामाको दरबारको कति राम्रो वर्णन तलका यी पङ्क्तिहरूमा देखिन्छन्–

डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार,
भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार,
कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको,
सिम्सिमे पानी, बतास चीसो बरफझैँ डुलेको ।
मसाने खम्बा लामाका गुब्बा शिर गोल खौरेका
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका
स्याउला चीसा ओछ्यान खासा जाडोले बज्ने दाँत
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात
आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदानतिर पोटाला मनी ह्लासा नै मुस्कायो
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको
सुनको छाना, दरबार अजङ्ग त्यो दलै लामाको
चौरीको पर्दा बुद्धको मूर्ति सुनमा कुँदेको
रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको,
शीतल पानी, हरिया पात, हिउँका टाकुरा
शिरीष फूल फुलेको सेतो, रुखका आँकुरा
कीचूको खोला, लिङ्कारको दृश्य, अम्बानको महल
यूतोक स्याम्पा, त्यो फूल राम्रो, त्यो ह्लासा झल्मल
ती हस्तिहाडसरिका सेता भोटिनी भर्खरका
आँखाका, काला, नौनीको छाला, त्यो ह्लासा सहरका ।’

नायक मदन ज्यादै दुःखपूर्ण दिनहरू बिताएपछि जब घर फर्क्यो त्यस बेला वियोगिनी मुनाले सधैँका निम्ति यस संसारबाट बिदा लिइसकेकी थिई । कविले यसको बडो मार्मिक वर्णन गरेका छन् । वर्णन विस्तृत छ, त्यसका एक एक पङ्क्तिहरूबाट करुण रसको मूल फुट्दै जान्छ । प्यारीको बिछोडले गर्दा छियाछिया भएको छाती लिएको मदन आफ्नी दिदीसँग सोध्छ-

कस्तो छ मेरी ती मुनालाई ? हेरेर को आयो ?
पानीको घुट्को ती माग्दी होलिन्, कसले पिलायो ?

दिदीः हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न
मदनः ती निकी भइन् निरोगी भइन् औषधि चाहिन्न ?
दिदीः हे प्यारा भाइ, म हेर्न जान्थेँ, बाटो नै पाइन्न !
मदनः ती निकी भइन् आउन्नन् किन ? यो मेरो अवस्था !
दिदीः खोज्दिहुन् तिनी आउन भाइ ! पाउन्नन् ती रस्ता !
मदनः गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?
दिदीः बादल पारि, उज्यालो भारी, मुलुक जहाँ छ ?
मदनः हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छन् भनन !
ती मुना मेरी पृथिवीमाथि अझ छन् भनन, मुना, अझ छन् भनन !
दिदीः पृथिवी वारि, पृथिवी पारि ती मुना अझ छिन्,
फूलमा हाँस्छिन् जलमा नाच्छिन् ! तारामा चम्कन्छिन्
कोयली कण्ठ बोल्दछ तिन्को आँखा छ उज्यालो
शीतमा रून्छिन्, उदास हुन्छिन्, देखिन्छ तुँवालो ।
मदनः मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छन् भनन !
मावलभित्र छन् मेरी मुना, आउँछिन् भनन !
कुनै दिन दिदी ! आउँछिन् भनन !
दिदीः हे मेरा भाइ ! ती मुना छैनन् पृथ्वी वारिमा,
दुःखको लेश नहुने देश कल्पना पारिमा,
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा !
मदनः निठुरी दिदी ! निठुरी दिदी ! मार्यौ नि मलाई !!
आशाको फूल यतिका दिन आँखामा झुलाई
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई !
हे मेरी मुना ! मेरी मेरी मुना ! छाडेर गयौ नि
पूजाको मन्दिर प्राणकी अंजीर, तिमी नै थियौ नि !

हे मेरी प्राण ! तिमी नै थियौ नि, प्राण ! छाडेर गयौ नि !
दैवले हान्यो शिरमा मेरो निठुरी घनले,
के गरी सहुँ ? के गरी रहुँ ? जिउँदो मनले, सहनसीमा नाघेको मनले,
हे मेरी दिदी ती मुनालाई हेर्दछु एकै छिन्,
ती मुनालाई डाकन दिदी ! हेर्दछु एकै छिन् !
हे मेरी मुना ! हे मेरी मुना ! ओह्र्लेर आऊन,
हे मेरी रानी ! मुहार तिम्रो म देख्न पाऊन, मुना ओह्र्लेर आऊन !

मुनामदनपछि जुन किताबहरू छापिए तिनमा १९३४ सन् मा सावित्री–सत्यवान् (नाटक), १९३६ मा प्रसिद्ध प्रबन्ध, १९३७ मा शाकुन्तल (महाकाव्य), सुलोचना (महाकाव्य) र कुञ्जिनी (खण्डकाव्य) अनि १९३९ मा लक्ष्मी निबन्धसङ्ग्रह हुन् । देवकोटा बडो तीव्र गतिले रचना गर्दछन् । यसको उदाहरण चौबीस सर्गको महाकाव्य शाकुन्तल छ, यसलाई अड्डाको कामबाट फुर्सद पाएका बेलामा लेखेर उनले तीन महिनामा पूरा गरे । सुलोचना महाकाव्य ता उनले दसै दिनमा सिध्याएका थिए । यस्तो हतपतमा लेखेर कवितामा कतै लतपत भएको छ कि भन्न पनि शाकुन्तलका पङ्क्तिहरू पढेपछि हामी सक्तैनौँ । महाकाव्यहरू लेख्ता उनी नेपाली भाषा प्रकाशिनी समितिका जागिरे थिए । त्यहाँ भाषा र व्याकरणसम्बन्धी समितिकै नियमहरूमा बाँधिएर उनले लेख्नुपर्थ्यो नत्र ता शाकुन्तलको अनुहार अर्कै हुन्थ्यो होला ।

कामवाणले घायल भएकी शकुन्तलासँग उसकी साथी प्रियंवदाले कुरा गर्दाका यी केही पङ्क्तिहरू हेर्नुस्–

स्वादु प्राकृत प्रवृत्ति-तत्परा
हास्य–चारु–अधरा प्रियंवदा
बैँसमिष्ट नखरासितै कुरा
गर्नलाइ चतुरी प्रियाऽधरा
गर्दछिन् मधुर प्रश्न आलिमा
मिष्टभवप्रतिनादकन्दरा
मोहिनी मृदुल–भार–मन्दिरा

‘बोल्दिनौ किन सँगी ! शकुन्तला ?’
झुक्तछन् नजर निम्न लाम्चिला
छैन हास्य–छवि बैँस–चञ्चला
मञ्जरी–कुसुम–रुद्ध भै गला
मूक छौ कि भन कण्ठकोकिला ?
या फुलेर मृदु बैँस सुन्तला ?
खोज्छ प्रेम भँवरा सुमञ्जुला ?
के छ उत्तर खुला शकुन्तला ?’

देवकोटाले कविता, कथा, नाटक, निबन्ध सबै फाँटमा सफलतापूर्वक कलम चलाएका छन् । भाषाका त ती जादुगरै हुन्, यो कुरा नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेखिएका उनका कृतिहरूबाट थाहा पाइन्छ । नयाँ-नयाँ शब्दहरूबाट उनले नेपाली भाषाको भण्डार निकै नै भरिदिएका छन् । यसो गर्दा तिनले खालि संस्कृतको मात्र सहारा लिएनन्, बरु नेपालका कुनाकाप्चामा लुकेर बसेका सयौँ शब्दहरूको उद्धार गरेर सफलतापूर्वक तिनको प्रयोग गरेका छन् । इल, आलु आदि प्रत्ययहरूलाई जोडेर उनले सयकडौँ शब्दहरू बनाइदिए, यस्तो देखेर पुराना विद्वान्‌हरू सुरुमा नाक खुम्च्याउँथे र हाँसो उडाउँथे तर आज तिनै शब्दहरू धमाधम नेपाली भाषामा प्रयोग भइरहेका छन् । लक्ष्मीप्रसाद देवकोटाजस्ता महान् प्रतिभालाई पाएर नेपाल र नेपाली साहित्य धन्य भएको छ । पन्त–प्रसाद–निरालाको पङ्क्तिमा उनलाई उभ्याएर हामी पनि आफूलाई गौरवान्वित ठान्दछौँ ।

(अनुवादककाे टिप्पणीः भारतको नयाँ दिल्लीबाट वर्ष ९ संख्या १, सन् १९५३ मईमा प्रकाशित आजकल पत्रिकामा राहुल सांकृत्यानकाे याे लेख छापिएपछि नेपालमा यसकाे निकै ठूलाे चर्चा भयाे । महाकविलाई भारतका चर्चित विद्वान कविहरूकाे दाँजाेमा राखिएकाे भनेर कलेज स्कुलहरूमा पनि पढाइ हुन थाल्याे । तर त्याे पत्रिकामा के लेखिएकाे थियाे भन्ने कुरा नेपाली पाठकले पढ्न पाएका थिएनन् । साहित्यिक पत्रकारकाे नाताले याे कुराकाे चासाे मलाई हुनु स्वाभाविक थियाे । खाेजी गर्दा उक्त पत्रिका कतै पाइएन । संयाेगवस साहित्यकार जनकलाल शर्माले याे पत्रिका कतैबाट संकलन गर्नु भएकाे रहेछ । यसलाई मैले अनुवाद गरेर वि.सं. २०३३ पुस-माघ, वर्ष १४, अङ्क ४ मा ‘रचना’को महाकवि लक्ष्मीप्रसाद देवकोटा विशेषाङ्कमा प्रकाशन गरेँ । आफैँ सम्पादक भएका नाताले यसमा अनुवादककाे नाम राख्नु उचित ठानिनँ । पछि याे लेख मूलस्रोत र नेपाली अनुवादककाे नामबिना नै विभिन्न पत्रिकाहरूमा छापिन थाल्याे । यसअघि नागरिक पत्रिकामा अनुवादककाे नाम बिना छापिएकाे यही लेख साहित्यपाेस्टमा पनि स्रोत नखुलाई अन्य व्यक्तिकै नाममा प्रकाशित भएपछि याे टिप्पणी सम्पादककाे अनुराेधमा थपिएकाे हाे ।)