संसारभरि नै अनेकन् किसिमका चुम्बनहरु गरिन्छन् । ठाउँअनुसार चुम्बन गर्ने तरिका फरक छन् तर संसारभरि नै चुम्बन चाहिँ अवश्य गरिन्छ ।

संसारभरिका १६८ संस्कृतिहरूको अध्ययन गर्दा तिनले ओठमा चुम्बन गर्ने गरेको पाइयो । अमेरिकाको लस भेगासमा रहेको नेभाडा विश्वविद्यालयमा एन्थ्रोपोलोजीका प्राध्यापक विलियम जान्कोवियाकको दाबीमा बालबालिकालाई गरिने चुम्बन र सामाजिक कार्यक्रममा स्वागत गरिने चुम्बनबाहेक संसारका ४६ प्रतिशतले ओठ जोडेर गरिएको चुम्बनलाई रोमान्टिक अर्थमा बुझ्छन् ।

यो संसारमा चुम्बन किन महत्त्वको छ ? यसको शुरुवात कसरी भयो होला ? वैज्ञानिकहरू अझै खोजीमा छन् ।

मान्छेलाई चुम्बन आवश्यक छ ? आवश्यक छ भने यो कसरी शुरु भयो होला ? तपाईंले बालबालिकालाई चुम्बन गर्नुभयो भने उनीहरूले यसलाई मन पराउँछन् । बालबालिकाले पनि तपाईंका ओठ चुस्न रुचाउँछन् । उनीहरूले ओठ र उसकी आमाको स्तनलाई उही रुपमा बुझ्छन् । आमा र तिनका सन्तानको ओठे चुम्बनलाई अनुसन्धाताहरुले ‘प्रिमस्टिकेसन फुड ट्रान्सफर’ नामकरण गरेका छन् । बालबालिकाहरूले ओठ चुस्न मन पराउनु भनेको हाम्रा पुर्खाहरूले बालबालिकालाई खाना चबाएर बालबालिकालाई खुवाउँथे । जसरी चराहरूले मुखैमा चपाएर हालिदिन्छन्, उसैगरी हाम्रा पुर्खाले पनि बालबालिकालाई खाना चपाएर मुखबाट मुखैमा हालिदिन्थे । कतिपय ग्रामीण भेगमा मुखले चपाएर बालबालिकालाई मुखैमा हालिदिने चलन अद्यापि छँदैछ । यस किसिमको क्रियाकलाप चिम्पाञ्जी लगायतका अन्य बाँदरका प्रजातिहरूमा पनि देख्न सकिन्छ ।

चुम्बनले हामीलाई सुदूर अतितको खान्कीको त्यो मिठासको आभास त दिलाएको होइन ?

अर्को एउटा सिद्धान्त पनि कतिपयले प्रचलनमा ल्याउने प्रयास गरे । उनीहरूको भनाइमा, चुम्बन हाम्रो जीवनमा महत्त्वपूर्ण मानिनुका पछाडि हामीले लगाउने कपडाले भूमिका खेलेको छ । पहिला मानिसले ओठको प्रयोग खाने कुराका लागि मात्र प्रयोग गर्थ्यो । यौनिक गतिविधिका लागि यो सबैभन्दा कम प्रयोगमा आउँथ्यो । तर जब मानिसले लुगाको प्रयोग गर्न थाल्यो, छालासँग संसर्ग हुने एउटै मात्र माध्यम ओठ वा अनुहार बन्न पुग्यो । त्यही भएर चुम्बन पछिल्लो समयमा महत्त्वपूर्ण बन्न पुग्यो । यो छुवाई महसुस गर्ने, आत्मियता अनुभूत गर्ने सबैभन्दा सजिलो माध्यम बन्न पुग्यो भन्ने प्राध्यापक जान्कोवियाकको धारणा छ ।

यसलाई समर्थन गर्नेमा लेखिका सेरिल किर्सेनबम पनि हुन्, ‘जुन समाजमा चुम्बनबाट आत्मियता प्रकट गरिँदैन, तिनमा अरु नै किसिमले त्यो भाव प्रकट गरिन्छ । जस्तो कि चार्ल्स डार्बिनले व्याख्या गरेजस्तो ‘मले चुम्बन’ ठ्याक्कै मिल्छ । जहाँ स्त्री–पुरुषले एक झमटमै एकअर्काको सुगन्धको नमुना लिन्छन् ।’

पपुआ न्युगिनीको पूर्वी तटमा रहेको ट्रोब्रियान्ड द्विपमा दुई युवाहरुबीच एकअर्काको ठीकअगाडि उभिन्छन् र आँखीभौ टोक्छन् । अहिलेको समयमा यो त्यति रोमान्टिक नदेखिएला तर उनीहरूका लागि चुम्बनसम्म पुर्याउने एउटा ट्रिक अवश्य हो ।

ओठमा ओठ टोक्ने वा अन्य किसिमका चुम्बनको महत्त्व के हो भने यसले आत्मियता बढाउँछ, एकअर्काको भाव पढ्न सघाउँछ ।

ओठ दबाएर गरिने चुम्बन भने मानव व्यवहारमा मात्र पाइन्छ । मानिसबाहेक अन्य जनावरले यस किसिमको व्यवहार देखाउँदैन । यदि चुम्बन विकासवादी गतिविधि हो भने अन्य जनावरहरूमा यस्तै व्यवहार किन देखिँदैन त ?

बिबिसीकी विज्ञान पत्रकार तथा ‘द मदरल्यान्ड कम्प्लेक्स’की लेखिका मेलिसा होगेनबुम भन्छिन्, ‘मान्छे कसैको नजिक पर्न किन जान्छ ? किनभने उसलाई उसको सुगन्ध चाहिन्छ । त्यो सुगन्धले उसले आफ्नो प्रकारको हो कि होइन भन्ने निश्चित गर्छ । सुगन्धले धेरै प्रकारका सूचनाहरू दिन्छ । मान्छेको स्वास्थ्य, रोगव्याधिको अवस्था, उसको व्यवहार तथा आत्मियता आदि कुरा त्यसैबाट निर्धारित हुन्छ । केही जनावरमा मानिसको भन्दा धेरै सशक्त घ्राणशक्ति हुन्छ । परैबाट उनीहरूले अघिल्तिरको जनावरको अधिकांश कुरा बुझी वा जानिसकेका हुन्छन् । मान्छेमा त्यसको अभाव भएकाले अझै बढी नजिक हुनु र कतिपय अवस्थामा चुम्बनै गर्नु उसको बाध्यता हो ।’